यहोवा—हाम्रो कोमल अनुकम्पापूर्ण पिता
“प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु [अनुकम्पापूर्ण, न्युव] हुनुहुन्छ।”—याकूब ५:११.
ब्रह्माण्ड यति ठूलो छ, खगोलशास्त्रीहरूले सबै तारापुञ्जहरू गन्नै सक्दैनन्। हाम्रो तारापुञ्ज अर्थात् आकाशगङ्गा, यति ठूलो छ, मानिसले त्यसमा भएका सबै ताराहरूको गणना गर्न पनि सक्दैनन्। अन्तारेजस्ता केही ताराहरू सूर्यभन्दा हजारौं गुना ठूला र चहकिला हुन्छन्। ब्रह्माण्डका सम्पूर्ण ताराहरूको महान सृष्टिकर्त्ता कति शक्तिशाली हुनुपर्छ! निस्सन्देह, “तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै” ल्याउनुहुने उहाँ नै हुनुहुन्छ। (यशैया ४०:२६) यद्यपि, यही भयानक परमेश्वर “टिठाइमा भरिपूर र कृपालु [अनुकम्पापूर्ण, न्युव]” पनि हुनुहुन्छ। यहोवाका नम्र उपासकहरू र अझ विशेषगरि सतावट, बिमारी, निराशा वा अन्य कठिनाइ भोग्नेहरूका लागि त्यस्तो ज्ञान कति स्फूर्तिदायी हुन्छ!
२ ख्रीष्टका “कोमल-कृपा र सान्त्वना” जस्ता मृदुल भावनाहरूलाई केहीले कमजोरीहरू भनेका छन्। (फिलिप्पी २:१) विकासवादी दर्शनशास्त्रद्वारा प्रभावित हुँदै अरू व्यक्तिका भावनाहरूलाई चोट पुऱ्याएर भए पनि आफूलाई सर्वाधिक मान्यता दिन तिनीहरू सिकाउँछन्। रङ्गमञ्च अथवा खेलकुदका प्रख्यात व्यक्तिहरूका स्वच्छन्द व्यक्तित्त्व हुन्छ जसले आँसु बगाउँदैनन् वा कोमल सहानुभूति देखाउँदैनन्। केही राजनैतिक शासकहरू पनि त्यस्तै व्यवहार गर्छन्। क्रूर शासक नेरोका प्रशिक्षक, स्टोइक दार्शनिक सेनेकाले “दया भनेको कमजोरी हो” भनी जोड दिए। मक्लिनटक र स्ट्रङ्गको साइक्लोपीडिया यसो भन्छ: “स्टोइकवादी प्रभावहरू . . . अहिले वर्तमान समयका मानिसहरूमा समेत परेको देखिन्छ।”
३ यसको विपरीत, मानवजातिको सृष्टिकर्त्ताको व्यक्तित्व हृदयग्राही छ। आफ्नो वर्णन उहाँले मोशालाई यसरी गर्नुभयो: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। . . . दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने।” (प्रस्थान ३४:६, ७) हो, आफ्नो न्यायलाई प्रकाश पार्दै यहोवाले यो विवरण टुङ्ग्याउनुभयो। जानाजानी पाप गर्नेहरूलाई तिनीहरूले भोग्नुपर्ने दण्डबाट उहाँले मुक्त गर्नुहुनेछैन। तरैपनि उहाँले सर्वप्रथम आफूलाई दयालु अथवा अक्षरसः भन्ने हो भने, “दयाले भरिपूर्ण” परमेश्वर भनी चिनाउनुहुन्छ।
४ कहिलेकाहीं “दया” लाई भावशून्य, दण्डबाट वञ्चित गर्ने न्यायिक अर्थमा मात्र हेरिन्छ। तर बाइबल अनुवादहरूलाई तुलना गरेर हेर्दा राकाम भन्ने क्रियाबाट लिइएको हिब्रू विशेषणको गहन अर्थ बुझिन्छ। केही शास्त्रज्ञहरूअनुसार यसको मूल अर्थ “नरम हुनु” हो। सिनोनिम्स् अफ दी ओल्ड टेस्टामेन्ट ले वर्णन गरेनुसार “राकाम” ले “हाम्रा प्रिय जनहरू अथवा हाम्रो मदतको खाँचो पर्ने व्यक्तिहरूको कमजोरी अथवा दुःख देख्दा उत्प्रेरित हुनेजस्ता अनुकम्पाको गहन र कोमल भावनालाई बुझाउँछ।” यस वाञ्छनीय गुणका अन्य हृदयग्राही परिभाषाहरू इन्साइट अन द स्क्रिप्चर्स खण्ड २, पृष्ठ ३७५-९ मा पाइन्छ।
५ परमेश्वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा उहाँको कोमल अनुकम्पा प्रष्ट देखिन्छ। विधवा, टुहुरा र गरीबजस्ता मर्कामा परेकाहरूलाई अनुकम्पापूर्ण व्यवहार गर्नुपर्थ्यो। (प्रस्थान २२:२२-२७; लेवी १९:९, १०; व्यवस्था १५:७-११) दास तथा पशुहरू लगायत सबैले साप्ताहिक विश्राम दिनबाट फाइदा उठाउनु पर्थ्यो। (प्रस्थान २०:१०) यसबाहेक, गरीबलाई कोमलतापूर्वक व्यवहार गर्नेहरूलाई परमेश्वरले याद गर्नुहुन्थ्यो। हितोपदेश १९:१७ ले यसो भन्छ: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।”
ईश्वरीय अनुकम्पाका सीमाहरू
६ इस्राएलीहरूले परमेश्वरको नाउँ धारण गरेका थिए र उहाँकै ‘नाउँमा बनिएको भवन,’ यरूशलेमको मन्दिरमा उपासना गर्थे। (२ इतिहास २:४; ६:३३) तर समय बित्दै जाँदा तिनीहरूले अनैतिकता, मूर्तिपूजा र हत्यालाई अनुमति दिन थाले जसले यहोवाको नाउँमा ठूलो बदनामी ल्यायो। उहाँको अनुकम्पापूर्ण व्यक्तित्वअनुरूप सारा राष्ट्रमाथि विपत्ति ल्याउनुको सट्टा यस खराब परिस्थितिलाई परमेश्वरले धैर्यतापूर्वक सुधार्न खोज्नुभयो। “आफ्नो प्रजा र आफ्ना बासस्थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई दूतहरूद्वारा घरिघरि चेताउनी दिनुभएको थियो। तर परमप्रभुको क्रोध तिनीहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँको दूतहरूलाई हंसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूका गिल्ला गर्न छोड़ेनन्। औ त्यो शान्त हुनैसकेन।”—२ इतिहास ३६:१५, १६.
७ यहोवा अनुकम्पापूर्ण र रीस गर्नमा ढिलो हुनुभए तापनि आवश्यक परेमा उहाँले धार्मिक रीस अवश्य प्रकट गर्नुहुन्छ। त्यतिखेर ईश्वरीय अनुकम्पा चरम-सीमामा पुगिसकेको थियो। त्यसको परिणामबारे हामी यसप्रकार पढ्छौं: “यसैकारण [यहोवाले] तिनीहरूका विरुद्धमा कल्दीहरूका राजालाई ल्याउनुभयो, जसले बासस्थान भित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, औ जवान मानिस कुमारी, वृद्ध कमजोर कसैलाई तिनले छोड़ेनन्। परमेश्वरले ती सबैलाई नबूकदनेसरको हातमा सुम्पिदिनुभयो।” (२ इतिहास ३६:१७) यसप्रकार यरूशलेम र त्यसको मन्दिरको विनाश भयो अनि त्यस राष्ट्रलाई बाबेलको दासत्वमा लगियो।
आफ्नो नाउँको लागि अनुकम्पा
८ वरपरका राष्ट्रहरू यस विपत्तिमा आनन्दित भए। ठट्टा गर्दै तिनीहरूले यसो भने: “यिनीहरू ता परमप्रभुको प्रजा हो, औ उहाँकै देशबाट यिनीहरू आएका हुन्।” यस्तो आलोचनाप्रति अरूको दृष्टिकोणबारे सजग हुनु भएर यहोवाले यसप्रकार घोषणा गर्नुभयो: “मेरो पवित्र नाउँको खातिर . . . म मेरो महान् नाउँलाई पवित्र पार्नेछु . . . जाति जातिहरूले जान्नेछन् कि मनै परमप्रभु [यहोवा, न्युव] हुँ।”—इजकिएल ३६:२०-२३.
९ आफ्नो राष्ट्र ७० वर्षसम्म दासत्वमा परिसकेपछि अनुकम्पापूर्ण परमेश्वर, यहोवाले तिनीहरूलाई छुटाउनुभयो र यरूशलेममा फर्केर मन्दिर पुनःनिर्माण गर्ने मौका दिनुभयो। यसले वरपरका राष्ट्रहरूलाई मुखभरिको जवाफ दियो र तिनीहरू आश्चर्यचकित भएर हेरे। (इजकिएल ३६:३५, ३६) तर दुःखको कुरा, इस्राएल राष्ट्र पुनः खराब रीतिरिवाजहरूमा फँसे। विश्वासी यहूदी, नहेम्याहले परिस्थिति सुधार्न मदत गरे। त्यस राष्ट्रसित परमेश्वरको अनुकम्पापूर्ण व्यवहारलाई जन प्रार्थनामा पुनरावृत्ति गर्दै उनले यसो भने:
१० “तिनीहरू अत्याचारमा पर्दा तिनीहरूले सहायताको लागि तपाईंको पुकारा गरे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो। औ आफ्नो ठूलो करुणा देखाएर तिनीहरूलाई आफ्ना शत्रुहरूबाट बचाउन उद्धारकहरू पठाउनुभयो। तर वरिपरिबाट शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको दृष्टिमा खराबी गरे। औ तपाईंले तिनीहरूलाई शत्रुका हातमा त्याग्नुभयो। उनीहरूले तिनीहरूलाई आफ्नो अधीन गराए। तर फेरि तिनीहरूले सहायताको निम्ति तपाईंलाई पुकारा गरे। औ धेरैपल्ट तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो करुणा देखाएर तिनीहरूलाई उद्धार गर्नुभयो। . . . धेरै वर्षसम्म तपाईंले तिनीहरूसित धीरज धर्नुभयो।”—नहेम्याह ९:२६-३०; यशैया ६३:९, १० पनि हेर्नुहोस्।
११ अन्ततः परमेश्वरको प्रिय पुत्रलाई क्रूरतापूर्वक इन्कार गरेपछि यहूदी राष्ट्रले आफ्नो विशिष्ट स्थान सदाको लागि गुमायो। पन्ध्र सय वर्षभन्दा लामो समयसम्म परमेश्वरले तिनीहरूसित निष्ठापूर्ण सम्बन्ध कायम गर्नुभएको थियो। निस्सन्देह, यहोवा दयाको परमेश्वर हुनुहुन्छ भन्ने तथ्यलाई यसले अनन्त साक्षी दिन्छ। पापी मानिसहरूले आविष्कार गरेका क्रूर भगवानहरू र भावशून्य देवदेवीहरूभन्दा कति भिन्न!
अनुकम्पाको सर्वोत्तम अभिव्यक्ति
१२ आफ्नो प्रिय पुत्रलाई यस पृथ्वीमा पठाउनु परमेश्वरको अनुकम्पाको सर्वोत्तम अभिव्यक्ति थियो। हो, येशूको निष्ठापूर्ण जीवनले यहोवालाई ठूलो आनन्द दियो र दियाबलका झूटा आरोपहरूको मुखभरीको जवाफ पनि प्रदान गऱ्यो। (हितोपदेश २७:११) तर आफ्नो प्रिय पुत्रको क्रूर तथा अपमानजनक मरण हेर्नु पर्दा कुनै मानव आमाबाबुले भोग्नु परेको दुःखभन्दा असह्य अनुभव यहोवालाई भएको हुनुपर्छ। यो एउटा मायालु बलिदान थियो जसले मानवजातिको लागि मुक्तिको बाटो खोलिदियो। (यूहन्ना ३:१६) बप्तिस्मा दिने यूहन्नाका पिता जकरियाले भविष्यवाणी गरेझैं यसले “हाम्रा परमेश्वरको कोमल दया” महिमित गऱ्यो।—लूका १:७७, ७८.
१३ परमेश्वरको पुत्रलाई पृथ्वीमा पठाउनाले पनि यहोवाको व्यक्तित्वबारे मानवजातिलाई स्पष्ट चित्र प्रदान गऱ्यो। तर कसरी? विशेषगरि दरिद्रहरूलाई कोमल अनुकम्पापूर्ण व्यवहार गर्नुभएर येशूले यहोवाको व्यक्तित्वलाई दुरुस्त प्रतिबिम्बित गर्नुभयो! (यूहन्ना १:१४; १४:९) यस सन्दर्भमा सुसमाचारका तीन लेखकहरू मत्ती, मर्कूस र लूकाले युनानी क्रिया स्फ्लाग्ख्निजोमाई प्रयोग गरे, जुन “आन्द्रा” अर्थ बुझाउने युनानी शब्दबाट लिइएको हो। बाइबल शास्त्रज्ञ विलियम बार्क्ले यसप्रकार वर्णन गर्छन्: “यसले कुनै साधारण दया अथवा अनुकम्पा होइन तर आफ्ना आन्तरिक भावनाहरूबाट उत्प्रेरित आवेगलाई वर्णन गर्छ भनी त्यसको मूल शब्दबाटै देखिन्छ। यो अनुकम्पाको लागि युनानी भाषामा चलाइएको सबैभन्दा कडा शब्द हो।” यसलाई “टिठाउनुभयो” अथवा “टिठाउँछु” भनेर बेग्लाबेग्लै अनुवाद गरिएको छ।—मर्कूस ६:३४; ८:२.
जब येशू टिठाउनुभयो
१४ यो दृश्य गालील शहरको हो। औपचारिक चेताउनी नदिइकन “कोरले भरिएको एउटा मानिस” येशूकहाँ आउँछ। (लूका ५:१२) परमेश्वरको व्यवस्थाको आवश्यकताअनुसार “अशुद्ध, अशुद्ध” भनी नकराएकोमा के येशूले उनलाई निर्दयतापूर्वक हप्काउनुहुन्छ? (लेवी १३:४५) हप्काउनुहुन्न। बरु, त्यस मानिसको निस्सहाय बिन्ती येशू सुन्नुहुन्छ: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।” “टिठाएर” येशूले आफ्नो हात बढाउनु हुँदै त्यसलाई छुनुहुन्छ र भन्नुहुन्छ: “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।” त्यस मानिस तत्कालै स्वस्थ हुन्छ। यसप्रकार येशूले चमत्कारपूर्ण, ईश्वर प्रेरित शक्ति मात्र नभई ती शक्तिहरू प्रयोग गर्न उत्प्रेरित गर्ने कोमल भावनाहरू पनि प्रदर्शित गर्नुहुन्छ।—मर्कूस १:४०-४२.
१५ अनुकम्पापूर्ण भावनाहरू प्रदर्शन गर्न के येशूसित बिन्ती गर्नुपर्छ? पर्दैन। केही समयपश्चात् येशूले नाइन शहरबाट निस्किरहेको शवयात्रा भेट्नुहुन्छ। निस्सन्देह, येशूले धेरै शवयात्राहरू देखिसक्नुभएको छ तर यो विशेष कारणले दुःखदायी छ। मृतक, विधवीको एकलौटो छोरा हो। “तिनीमाथि टिठाएर” येशूले नजिकै गएर भन्नुभयो, “नरोऊ।” त्यसपछि तिनको छोरालाई पुनः जीवित गर्ने अद्भुत चमत्कार गर्नुहुन्छ।—लूका ७:११-१५.
१६ उपरोक्त घटनाबाट स्पष्टै सिक्न सकिने पाठ यो हो, जब येशू ‘टिठाउनुहुन्छ’ उहाँले मदतको लागि केही सकारात्मक कदम चाल्नुहुन्छ। अर्को अवसरमा आफ्नो पछि पछि लागिरहेको ठूलो भीडलाई येशूले निरीक्षण गर्नुहुन्छ। मत्ती रिपोर्ट गर्छन्, “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) साधारण मानिसहरूको आध्यात्मिक भोक मेटाउन फरिसीहरूले खास केही गर्दैनन्। बरु, नम्र व्यक्तिहरूलाई थुप्रै अनावश्यक नियमहरूका बोझ बोकाउँछन्। (मत्ती १२:१, २; १५:१-९; २३:४, २३) येशूको कुरा सुन्ने साधारण मानिसहरूप्रति ती फरिसीहरूको दृष्टिकोण तिनीहरूको यस भनाइबाट प्रकट हुन्छ: “व्यवस्था नजान्ने यो भीड़ श्रापित छ।”—यूहन्ना ७:४९.
१७ त्यसको विपरीत, भीडको आध्यात्मिक दुर्गति देखेर येशू टिठाउनुहुन्छ। तर राज्यको समाचारप्रति चासो राख्ने व्यक्तिहरू थुप्रै भएकोले उहाँ प्रत्येकलाई व्यक्तिगत ध्यान दिन सक्नुहुन्न। अतः बढी खेतालाहरूको निम्ति प्रार्थना गर्न चेलाहरूलाई भन्नुहुन्छ। (मत्ती ९:३५-३८) त्यस्ता प्रार्थनाहरूअनुरूप यो समाचारसहित येशूले आफ्ना प्रेरितहरूलाई पठाउनुहुन्छ: “स्वर्गको राज्य नजीकै आइपुगेको छ।” त्यतिबेला दिइएको निर्देशन आज वर्तमान समयसम्म पनि बहुमूल्य निर्देशक साबित भएको छ। निस्सन्देह, मानवजातिको आध्यात्मिक भोकलाई सन्तुष्ट पार्न येशूको अनुकम्पापूर्ण भावनाहरूले उहाँलाई उत्प्रेरित गर्छ।—मत्ती १०:५-७.
१८ अर्को अवसरमा येशू पुनः भीडको आध्यात्मिक आवश्यकताबारे चिन्तित हुनुहुन्छ। यस पटक प्रचार-कार्यको व्यस्त भ्रमणपश्चात् थाकेको हुनाले उहाँ र उहाँका प्रेरितहरू आराम गर्न ठाउँ खोज्नुहुन्छ। तर मानिसहरूले उहाँहरूलाई भेट्टाइहाल्छन्। आफ्नो एकान्तपनमा दखल पुऱ्याएकोमा झिंजो मान्नुको सट्टा येशू “टिठाउनुभयो” भनी मर्कूस रिपोर्ट गर्छन्। येशूका गहन भावनाहरूको कारण के थियो? “तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए।” पुनः येशूले आफ्ना भावनाहरूलाई व्यवहारमा उतार्नुहुन्छ र भीडलाई “परमेश्वरको राज्य” बारे सिकाउन थाल्नुहुन्छ। हो, तिनीहरूको आध्यात्मिक भोक देखेर असाध्यै टिठाउनुभएकोले तिनीहरूलाई सिकाउन आफूलाई चाहिएको आराम पनि उहाँले त्याग्नुभयो।—मर्कूस ६:३४; लूका ९:११.
१९ मानिसहरूको आध्यात्मिक आवश्यकताबारे मुख्यतया चिन्तित हुनु भए तापनि तिनीहरूको शारीरिक आवश्यकतालाई उहाँले कहिल्यै बेवास्ता गर्नुभएन। त्यही अवसरमा उहाँले “निको पार्नु पर्ने जतिलाई निको पार्नुभयो।” (लूका ९:११) अर्को अवसरमा भीड उहाँसितै बसेको धेरै बेर भइसकेको थियो र तिनीहरूका घर टाढा थिए। तिनीहरूका भौतिक आवश्यकता महसुस गर्नुहुँदै येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “भीड़हरूलाई म टिठाउँछु, किनभने तीन दिन भइसक्यो तिनीहरू मसँगै छन्, र तिनीहरूसित खानेकुरो केही छैन। औ यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ, नत्रता तिनीहरू बाटामा मूर्च्छा पर्नेछन्।” (मत्ती १५:३२) सम्भावित दुःखबाट जोगाउन येशूले यहाँ केही गर्नुहुन्छ। उहाँले चमत्कारपूर्ण ढङ्गमा सात वटा रोटी र केही साना माछाहरूबाट हजारौं पुरुष, स्त्री तथा केटाकेटीहरूलाई खुवाउनुहुन्छ।
२० येशू टिठाउनुभयो भनी रिकर्ड गरिएको अन्तिम घटना यरूशलेमको आखिरी यात्रामा हो। निस्तार चाड मनाउन उहाँ सँगसँगै ठूलो भीड लागिरहेको छ। जोरिको नजिकै आइपुग्नु हुँदा बाटोमा दुई अन्धा माग्नेहरू चिच्याउँदै भन्छन्: “हे प्रभु, हामीमाथि दया रहोस्।” भीड तिनीहरूलाई शान्त पार्न खोज्छ तर येशूले तिनीहरूलाई बोलाउनुहुन्छ र तिनीहरू के चाहन्छन् भनी सोध्नुहुन्छ। तिनीहरू बिन्ती गर्छन्: “हामीहरूका आँखा खोलिऊन्।” “टिठाएर” उहाँले तिनीहरूको आँखा छुनुहुन्छ र तिनीहरूले देख्न सक्छन्। (मत्ती २०:२९-३४) यसबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्छौं! येशू आफ्नो पार्थिव सेवकाईको अन्तिम हप्तातिर पुग्दै हुनुहुन्छ। शैतानका कार्यकर्त्ताहरूको हातबाट क्रूर मृत्यु भोग्नुअघि उहाँले सम्पन्न गर्नुपर्ने थुप्रै कार्यहरू छन्। यद्यपि, उहाँले कम महत्त्वपूर्ण मानव आवश्यकताहरूप्रति अनुकम्पापूर्ण कोमल भावनाहरू देखाउन यस महत्त्वपूर्ण घडीको दबाबको कारण रोक्न दिनु हुन्न।
अनुकम्पालाई प्रकाश पार्ने दृष्टान्तहरू
२१ येशूको जीवनका यी विवरणहरूमा प्रयोग गरिएको युनानी क्रिया, स्फ्लाग्ख्निजोमाई, येशूले चलाउनुभएका तीन दृष्टान्तहरूमा पनि प्रयोग गरिएको छ। एउटा कथामा दासले ठूलो ऋण तिर्न थप समयको बिन्ती गर्छ। “टिठाएर” मालिकले ऋण माफी गरिदिन्छ। येशूको छुडौतीको बलिदानमा विश्वास राख्ने प्रत्येक मसीहीको पापको ठूलो ऋण रद्द गर्नुभएर यहोवाले देखाउनुभएको ठूलो अनुकम्पा यस दृष्टान्तले चित्रण गर्छ।—मत्ती १८:२७; २०:२८.
२२ अनि त्यसपछि उडन्ता पुत्रको कथा छ। बरालिएको छोरा घर फर्कंदा के हुन्छ, त्यसलाई याद गर्नुहोस्। “तर त्यो अझै टाढ़ै छँदा त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए, औ दौड़ेर गई त्यसको गलामा तिनले अङालो हालेर त्यसलाई चुम्मन गरे।” (लूका १५:२०) यसले यो देखाउँछ, बरालिएको मसीहीले साँचो पश्चात्ताप देखाएमा यहोवा टिठाउनुहुन्छ र कोमलतापूर्वक उसलाई पुनः स्वीकार्नुहुन्छ। यसप्रकार, हाम्रो स्वर्गमा हुनुहुने पिता, यहोवा “टिठाइमा भरिपूर र कृपालु [अनुकम्पापूर्ण, न्युव] हुनुहुन्छ” भनी यी दुई दृष्टान्तहरूद्वारा येशू देखाउनुहुन्छ।—याकूब ५:११.
२३ स्फ्लाग्ख्निजोमाई को तेस्रो दृष्टान्तरूपी प्रयोग अनुकम्पापूर्ण सामरीसित सम्बन्धित छ, जो लुटपिट गरिएर अधमरो छोडिएको यहूदीको अवस्थाप्रति ‘दयाले भरिए।’ (लूका १०:३३) यी भावनाअनुरूप यस सामरीले त्यस परदेशीलाई मदत गर्न यथाशक्य गरे। कोमलता र अनुकम्पा प्रकट गर्ने सन्दर्भमा साँचो मसीहीहरूले ती उदाहरणहरू पछ्याएको यहोवा अनि येशूले आशा गर्नुहुन्छ भनी यसले प्रकट गर्छ। हामीले यसो गर्न सक्ने केही तरिकाहरू आउँदो लेखमा छलफल गरिनेछ। (w94 11/1)
पुनरावृत्तिका प्रश्नहरू
◻ दयावन्त हुनुको अर्थ के हो?
◻ आफ्नो नाउँको खातिर यहोवाले कसरी अनुकम्पा देखाउनुभयो?
◻ अनुकम्पाको सर्वोत्तम अभिव्यक्ति के हो?
◻ येशूले कुन उल्लेखनीय ढङ्गमा आफ्नो पिताको व्यक्तित्व प्रतिबिम्बित गर्नुहुन्छ?
◻ येशूका अनुकम्पापूर्ण कार्यहरू र उहाँका दृष्टान्तहरूबाट हामी के सिक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
१. नम्र व्यक्तिहरू यहोवा परमेश्वरप्रति किन आकर्षित हुन्छन्?
२. यस संसारका मानिसहरूले कोमल भावनाहरूलाई कुन दृष्टिकोणले हेर्छन्?
३. यहोवाले मोशालाई आफ्नो वर्णन कसरी दिनुभयो?
४. प्रायः “दया” भनी अनुवाद गरिने हिब्रू शब्दको हृदयग्राही अर्थ के हो?
५. मोशाको व्यवस्थामा दया कसरी स्पष्ट देखिन्थ्यो?
६. यहोवाले आफ्ना जनहरूकहाँ अगमवक्ता तथा दूतहरू किन पठाउनु भयो?
७. यहोवाको अनुकम्पा चरम-सीमामा पुग्दा यहूदाको राज्यलाई के भयो?
८, ९. (क) आफ्नो नाउँको खातिर अनुकम्पा देखाउनेछु भनी यहोवाले किन घोषणा गर्नुभयो? (ख) यहोवाका शत्रुहरूको मुख कसरी थुनियो?
१०. नहेम्याहले यहोवाको अनुकम्पालाई कसरी प्रकाश पारे?
११. यहोवा र मानिसहरूका भगवानहरू बीच कस्तो भिन्नता छ?
१२. परमेश्वरको अनुकम्पाको सर्वोत्तम अभिव्यक्ति के थियो?
१३. येशूले कुन महत्त्वपूर्ण ढङ्गमा आफ्नो पिताको व्यक्तित्व प्रतिबिम्बित गर्नुभएको छ?
१४, १५. गालीलको शहरमा येशू कसरी दयाले भरिनुहुन्छ र यसले के देखाउँछ?
१६. आफ्नो पछि लागिरहेको ठूलो भीडप्रति येशू किन टिठाउनुहुन्छ?
१७. भीडप्रति दयाले भरिन येशूलाई कसरी प्रेरित गर्छ र उहाँले त्यहाँ कस्तो दूरदर्शी निर्देशन प्रदान गर्नुहुन्छ?
१८. आफ्नो एकान्तपनमा भीडले दखल दिंदा येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुन्छ र यसबाट हामी कस्तो पाठ सिक्छौं?
१९. भीडको आध्यात्मिक आवश्यकताबाहेक येशूले अझ बढी चासो कसरी देखाउनुभयो?
२०. येशू टिठाउनुभएको अन्तिम रिकर्डबाट हामी के सिक्छौं?
२१. मालिकले उनको दासको ठूलो ऋण माफी गरेकोबाट कुन कुराको चित्रण हुन्छ?
२२. उडन्ता पुत्रको कथाले के चित्रण गर्छ?
२३. मिलनसार सामरीबारे येशूको दृष्टान्तबाट हामी के पाठ सिक्छौं?
[पृष्ठ ६, ७-मा भएको पेटी]
“कोमल मायालु चासो” को सजीव अभिव्यक्ति
अगमवक्ता यर्मियाले चिच्याउँदै भने: “हाय मेरो आन्द्रा, मेरो आन्द्रा!” के उनले खराब खानेकुरा खानाले पेट दुख्यो भनी गुनासो गरिरहेका थिए? थिएनन्। यहूदा राज्यमाथि आउन लागेको विपत्तिप्रति आफ्नो गम्भीर चासो व्यक्त गर्न यर्मियाले हिब्रू उपमा प्रयोग गरिरहेका थिए।—यर्मिया ४:१९, न्युव
यहोवा परमेश्वरसित गहन भावनाहरू हुनाकारण “आन्द्रा,” अथवा “आँत” (मेइम) जनाउन प्रयोग गरिने हिब्रू शब्द उहाँका कोमल भावनाहरू वर्णन गर्न पनि प्रयोग गरिन्छ। उदाहरणको लागि, यर्मियाको समयभन्दा दशकौंअघि इस्राएलको दश कूलका राज्यलाई अश्शूरका राजाले कब्जा गरेका थिए। तिनीहरूको अविश्वासीलोपनको कारण यहोवाले दण्डस्वरूप यसो हुन दिनुभयो। तर निर्वासनमा के परमेश्वरले तिनीहरूलाई बिर्सनुभयो? बिर्सनुभएन। वाचा बाँधिएका आफ्ना जनहरूको हैसियतमा तिनीहरूसित अझै पनि उहाँको गहिरो सम्बन्ध थियो। प्रतिष्ठित कूल एप्रैमको नाउँले सङ्केत गर्दै यहोवाले सोध्नुभयो: “के एप्रैम मेरो प्यारो छोरो हो? के त्यो मेरो लाड़े-बालक हो? किनभने त्यसको विरूद्धमा मैले जतिनै बोले तापनि, त्यसकै याद अझै मलाई आउँछ। यसकारण मेरो हृदय त्यसको लागि मायाले भरिएको छ, [मेरो आन्द्रा मँडारिएको छ, न्युव] म निश्चय त्यसलाई दया गर्नेछु।”—यर्मिया ३१:२०.
“मेरो आन्द्रा मँडारिएको छ” भन्नुहुँदा आफ्ना निर्वासित मानिसहरूप्रति गहिरो भावना व्यक्त गर्न यहोवाले उपमा प्रयोग गर्नुभयो। उन्नाइसौं शताब्दीका बाइबल शास्त्रज्ञ, इ. हेन्डरसनले उक्त पदको यस्तो टिप्पणी लेखे: “फर्किरहेको उड़न्ताप्रति आमाबाबुले देखाउने कोमल भावनाभन्दा हृदयग्राही अभिव्यक्ति अरू केही हुन सक्दैन। त्यही भावना यहाँ यहोवाले व्यक्त गर्नुहुँदैथियो। [मूर्तिपूजक एप्रैमबासीहरू] विरूद्ध उहाँले बोल्नु अनि दण्ड दिनु भए तापनि . . . उहाँले तिनीहरूलाई कहिल्यै बिर्सनुभएन, बरु त्यसको विपरीत अन्ततः तिनीहरू फर्किनेछन् भन्ने प्रत्याशामा आनन्दित हुनुभयो।”
मसीही युनानी शास्त्रमा “आँत” अथवा “आन्द्रा” बुझाउने युनानी शब्दको प्रयोग पनि त्यसरी नै गरिएको छ। प्रेरित १:१८ मा जस्तो त्यो शब्दको शाब्दिक प्रयोग नहुँदा त्यसले स्नेह अथवा अनुकम्पाका कोमल भावनाहरूलाई सङ्केत गर्छ। (फिलेमोन १२) कहिलेकाहीं त्यो शब्दलाई “राम्रो” अथवा “असल” बुझाउने युनानी शब्दसित जोडेर प्रयोग गरिएको हुन्छ। मसीहीहरूलाई “कोमल मनको हुन” प्रोत्साहित गर्न प्रेरितहरू, पावल र पत्रुसले त्यो संयुक्त अभिव्यक्ति प्रयोग गरे। त्यसको अक्षरसः अर्थ, “दयाले भरिनु” हो। (एफिसी ४:३२; १ पत्रुस ३:८) “आँत” बुझाउन प्रयोग गरिने युनानी शब्दलाई पोली भन्ने युनानी शब्दसित पनि जोड्न सकिन्छ। त्यो संयुक्त अभिव्यक्तिको अक्षरसः अर्थ, “धेरै आँत हुनु” हो। यो असाध्यै विरल प्रयोग गरिने युनानी अभिव्यक्ति हो र बाइबलमा एक पटक मात्र प्रयोग गरिएको छ। त्यसले यहोवा परमेश्वरलाई सङ्केत गर्छ। न्यु वर्ल्ड ट्रान्सलेशन ले त्यसलाई यसरी अनुवाद गरेको छ: “यहोवा कोमल स्नेहले भरिपूर हुनुहुन्छ।”—याकूब ५:११.
ब्रह्माण्डको सबैभन्दा शक्तिशाली, यहोवा परमेश्वर अनुकम्पाविहीन मानिसहरूले रचेका क्रूर भगवानहरूभन्दा भिन्न हुनुभएकोमा हामी कति कृतज्ञ छौं! “कोमल अनुकम्पापूर्ण” परमेश्वरको अनुकरण गर्दै साँचो मसीहीहरू एकअर्कासित त्यस्तै व्यवहार गर्न प्रेरित हुन्छन्।—एफिसी ५:१.
[पृष्ठ ४-मा भएको चित्र]
ईश्वरीय अनुकम्पा चरम-सीमामा पुग्दा यहोवाले आफ्ना बरालिएका जनहरूलाई बेबिलोनीहरूको हातबाट परास्त हुन दिनुभयो
[पृष्ठ ५-मा भएको चित्र]
आफ्नो प्रिय पुत्रको मरण हेर्नु पर्दा यहोवा परमेश्वरलाई कसैले नभोगेको पीडा महसुस भएको हुनुपर्छ
[पृष्ठ ९-मा भएको चित्र]
येशूले आफ्नो पिताको अनुकम्पापूर्ण व्यक्तित्वलाई दुरुस्तै प्रतिबिम्बित गर्नुभयो