अनन्त जीवनमा लाने एकमात्र मार्ग
“बाटो, सत्य, र जीवन मैं हुँ।”—यूहन्ना १४:६.
१, २. येशूले अनन्त जीवनको मार्ग केसँग तुलना गर्नुभयो अनि उहाँको उदाहरणको आशय के हो?
येशूले डाँडाको ख्यातिप्राप्त उपदेशमा अनन्त जीवनको मार्गलाई साँघुरो ढोकाबाट भित्र पस्ने बाटोसित तुलना गर्नुभयो। ध्यान दिनुहोस्, येशूले यो जीवनको मार्ग सजिलो छैन भनी जोड दिनुभयो। उहाँले भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं [अनन्त] जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।”—मत्ती ७:१३, १४.
२ के तपाईंले यो उदाहरणको आशय बुझ्नुभयो? जीवनमा लैजाने एउटै मात्र बाटो वा मार्ग छ र त्यो भेट्टाउन अनि त्यो बाटोमा ठोकर नखाई हिंड्न प्रयासको खाँचो पर्नेछ भनी त्यस उदाहरणले देखाउँछ हैन? त्यसोभए, अनन्त जीवनमा लाने एक मात्र मार्ग कुन हो?
येशू ख्रीष्टको भूमिका
३, ४. (क) हाम्रो मुक्तिमा येशूको महत्त्वपूर्ण भूमिका छ भनेर बाइबलले कसरी औंल्याउँछ? (ख) मानिसजातिले पुनः अनन्त जीवन पाउनेछ भनी परमेश्वरले सर्वप्रथम कहिले भन्नुभयो?
३ स्पष्टतः त्यो मार्गमा येशूको पनि विशेष प्रकारको महत्त्वपूर्ण भूमिका छ भनी प्रेरित पत्रुसले यस्तो घोषणा गरे: “नता अरू कसैबाट मुक्ति छ, किनकि स्वर्गमनि मानिसहरूमा [येशूबाहेक] अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।” (प्रेरित ४:१२) त्यसै गरी, प्रेरित पावल घोषणा गर्छन्: “परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) येशू आफैले अनन्त जीवनमा लाने एक मात्र मार्ग उहाँ नै हुनुहुन्छ भनेर यसरी घोषणा गर्नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ।”—यूहन्ना १४:६.
४ अतः अनन्त जीवन सम्भव तुल्याउन येशूले निर्वाह गर्नुहुने भूमिकालाई हामीले राम्ररी बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। अतः आउनुहोस्, हामी उहाँको भूमिकालाई अझ गहिरिएर हेरौं। आदमले पाप गरेपछि मानिसजातिले पुनः अनन्त जीवन पाउनेछ भनेर यहोवाले सर्वप्रथम कहिले भन्नुभयो के तपाईंलाई थाह छ? आदमले पाप गर्ने बित्तिकै। आउनुहोस्, मानवजातिको मुक्तिदाताको रूपमा येशू ख्रीष्ट आउनुहुनेछ भनेर कसरी भविष्यवाणी गरियो, जाँचौं।
प्रतिज्ञा गरिएको सन्तान
५. हव्वालाई बहकाउने साँपलाई कसरी चिन्नसक्छौं?
५ परमेश्वरले प्रतीकात्मक भाषामा प्रतिज्ञा गरिएको मुक्तिदाता चिनाउनुभयो। हव्वालाई निषेधित फल खान लगाएर परमेश्वरको आज्ञा उल्लंघन गर्न बहकाउने “साँपलाई” दण्डाज्ञा सुनाउनुहुँदा उहाँले त्यो मुक्तिदाता चिनाउनुभयो। (उत्पत्ति ३:१-५) निस्सन्देह, त्यो साँपको पछाडि अर्कै व्यक्ति थियो। त्यो शक्तिशाली आत्मिक प्राणी थियो जसलाई बाइबलमा “वृद्ध साँप, दियाबल र शैतान” भनेर चिनाइएको छ। (प्रकाश १२:९) शैतानले हव्वालाई बहकाउन यो छट्टू प्राणीलाई चलायो। तसर्थ, परमेश्वरले शैतानलाई दण्डाज्ञा सुनाउनुहुँदा यसो भन्नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले [स्त्रीको सन्तानले] तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”—उत्पत्ति ३:१५.
६, ७. (क) “सन्तान” जन्माउने स्त्री को हुन्? (ख) प्रतिज्ञा गरिएको सन्तान को हो अनि उनले के गर्नेछन्?
६ शैतानले दुश्मनी वा घृणा गर्ने यो “स्त्री” को हुन्? प्रकाश अध्याय १२ मा “वृद्ध साँप” चिनाइएझैं शैतानले घृणा गर्ने यो स्त्री पनि चिनाइएको छि। पद १ मा उनलाई “सूर्य पहिरेकी, चन्द्र खुट्टामनि र शिरमा बाह्रवटा ताराको मुकुट लाएकी स्त्री” भनी वर्णन गरिएको छ। यो स्त्रीले परमेश्वरका विश्वासी स्वर्गदूतहरूको स्वर्गीय संगठनलाई बुझाउँछिन् भने उनले जन्माउने “बालक[ले]” परमेश्वरको राज्यलाई बुझाउँछ जसको राजा येशू ख्रीष्ट हुनुहुन्छ।—प्रकाश १२:१-५.
७ त्यसोभए, उत्पत्ति ३:१५ मा उल्लिखित शैतानको “शिर” कुच्याएर मार्ने स्त्रीको यो “सन्तान” को हो त? परमेश्वरले कन्या केटीको गर्भ मार्फत स्वर्गबाट चमत्कारी ढंगमा पठाउनुभएको मानिस येशू हुनुहुन्छ। (मत्ती १:१८-२३; यूहन्ना ६:३८) प्रकाश अध्याय १२ ले प्रकट गरेझैं यो सन्तान अर्थात् येशू ख्रीष्टले पुनरुत्थान हुनुभएको स्वर्गीय शासकको रूपमा शैतानमाथि विजय हासिल गर्न नेतृत्व लिनुहुनेछ र प्रकाश १२:१० मा भनेझैं “हाम्रा परमेश्वरको . . . राज्य र उहाँको ख्रीष्टको अख्तियार” हुनेछ।
८. (क) परमेश्वरले सुरुको उद्देश्यलाई लिएर कुन नयाँ कुराको प्रबन्ध मिलाउनुभयो? (ख) परमेश्वरको नयाँ सरकार को को मिलेर बनिएको छ?
८ अतः परमेश्वरले पार्थिव प्रमोदवनमा मानिसहरूले अनन्त जीवन पाओस् भन्ने सुरुको उद्देश्यलाई लिएर प्रबन्ध गर्नुभएको नयाँ कुरा, येशू ख्रीष्टले शासन गर्नुहुने यो राज्य पनि हो। शैतानले विद्रोह गर्ने बित्तिकै यहोवाले यस नयाँ राज्य सरकार मार्फत दुष्टताका सम्पूर्ण असरहरू हटाउने प्रबन्ध मिलाउनुभयो। यो सरकार आफू एक्लैले चलाउने होइन भनी येशूले पृथ्वीमा हुनुहुँदा बताउनुभयो। (लूका २२:२८-३०) मानिसजातिबाटै अरू मानिसहरू छानिनेथिए र तिनीहरूले स्त्रीको सहायक सन्तानको रूपमा उहाँसित स्वर्गमा शासन गर्नेथिए। (गलाती ३:१६, २९) पृथ्वीको पापी मानिसजातिबाट छानिएका येशूका यी सहशासकहरू १,४४,००० हुनेछन् भनेर बाइबल बताँउछ।—प्रकाश १४:१-३.
९. (क) येशू मानिसको रूपमा पृथ्वीमा देखा पर्नु किन आवश्यक थियो? (ख) येशूले दियाबलका कार्यहरू कसरी निष्फल पार्नुभयो?
९ तथापि, त्यो राज्यले शासन थाल्नुअघि उक्त सन्तानको प्रमुख भाग येशू ख्रीष्ट पृथ्वीमा देखा पर्नु अत्यावश्यक थियो। किन? किनकि यहोवाले उहाँलाई “शैतानका कामहरू नष्ट पार्नालाई [वा निष्क्रिय पार्न]” नियुक्त गर्नुभएको थियो। (१ यूहन्ना ३:८) शैतानका ती कामहरूमध्ये आदमलाई पाप गर्न उस्काउनु पनि समावेश थियो जसले गर्दा आदमका सन्तानहरूले पाप र मृत्युको दण्ड भोग्नुपऱ्यो। (रोमी ५:१२) येशूले आफ्नो जीवन छुडौतीको लागि अर्पण गर्नुभएर दियाबलका कार्यहरूलाई निष्फल पार्नुभयो। यसप्रकार, येशूले मानिसजातिलाई पाप र मृत्युको दण्डबाट मुक्त गर्नुभएर अनन्त जीवनको मार्ग खोल्नुभयो।—मत्ती २०:२८; रोमी ३:२४; एफिसी १:७.
छुडौतीले के पूरा गऱ्यो
१०. येशू र आदम कसरी समान हुनुहुन्थ्यो?
१० येशूको जीवन स्वर्गबाट स्त्रीको कोखमा सारियो। अतः उहाँ आदमको पापको कुनै कलंक नलागेको सिद्ध मानव हुनुहुन्थ्यो। उहाँ यस पृथ्वीमा सधैंभरि बाँच्न सक्नुहुन्थ्यो। आदमलाई पनि त्यस्तै गरी यस पृथ्वीमा अनन्त जीवन बिताउन सकोस् भनेर सिद्ध सृष्टि गरिएको थियो। यही कुरा ध्यानमा राख्दै प्रेरित पावलले यसो लेखे: “ ‘पहिलो मानिस आदम जीवित प्राणी भयो। पछिल्लो आदम [येशू ख्रीष्ट] जीवन दिने आत्मा हुनुभयो।’ पहिलो मानिस पृथ्वीबाटको, माटाको हो। दोस्रो मानिस स्वर्गबाटको हो।”—१ कोरिन्थी १५:४५, ४७.
११. (क) आदम र येशूले गर्दा मानिसजातिमाथि कस्तो प्रभाव पऱ्यो? (ख) हामीले येशूको बलिदानप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
११ यी दुई पुरुष अर्थात् पृथ्वीका मात्र दुई सिद्ध पुरुषबीचको तुलना गर्दा येशूले “सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो” भनेर बाइबलमा बताइएको छ। (१ तिमोथी २:६) उहाँ कुन मोल बराबरको हुनुहुन्थ्यो? आदम सिद्ध हुँदाखेरिको मोल बराबर! प्रथम आदमको पापले गर्दा सम्पूर्ण मानव परिवारले मृत्युदण्ड पायो। “पछिल्लो आदमको” बलिदानले हामी सधैंभरि बाँच्न सकोस् भनेर पाप र मृत्युबाट छुटकारा प्रदान गर्ने आधार तयार पाऱ्यो। येशूको बलिदान कत्ति अनमोल रहेछ! प्रेरित पत्रुस यसो भन्छन्: “नाश हुने पदार्थहरू, अर्थात् चाँदी अथवा सुनले . . . किनिएका होइनौं।” बरु, पत्रुस बताउँछन्: “थुमाको जस्तो निष्कलंक, निर्दोष र अनमोल रगतले, अर्थात् ख्रीष्टको रगतले किनिएका हौं।”—१ पत्रुस १:१८, १९.
१२. बाइबलले हामी मृत्युको दासत्वबाट कसरी मुक्त हुनेछौं भनेर बताउँछ?
१२ बाइबलमा मानव परिवार मृत्युको दासत्वबाट कसरी मुक्त हुनेछ भनेर सुन्दर शब्दहरूमा वर्णन गरिएको छ। बाइबल भन्छ: “जसरी [आदमको] एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनालाई इन्साफ आइलाग्यो, त्यसैगरी धार्मिकताको एउटै कामद्वारा [येशूले मृत्युसमेत सामना गरेर देखाउनुभएको निष्ठा] सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनालाई अनुग्रहको वरदान आयो। किनकि जसरी एउटै मानिसको [आदमको] अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको [येशूको] आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन्।”—रोमी ५:१८, १९.
गौरवमय प्रत्याशा
१३. धेरैले सधैंभरि बाँच्नेबारे के सोच्छन्?
१३ परमेश्वरको यो प्रबन्धले हामीलाई असाध्यै खुसी बनाउनुपर्ने हो! मुक्तिदाताको प्रबन्ध गरिएकोमा के तपाईं हर्षित हुनुहुन्छ? “के तपाईंलाई सधैंभरि बाँच्न मनपर्छ?” यो प्रश्न थुप्रैलाई सोधिएको थियो र प्राप्त नतिजा सं.रा.-को एउटा प्रमुख शहरको अखबारमा छापियो। तपाईं जवाफ सुनेर छक्क पर्नुहोला, ६७.४ प्रतिशतले आफू सधैंभरि बाँच्न नचाहेको कुरा बताए। तिनीहरूले किन सधैंभरि बाँच्न चाहँदैनन् भन्ने जवाफ दिए? स्पष्टतः अहिले मानिसहरूले थुप्रै समस्याहरू झेल्नुपरेकोले। एक जनाले यसो भने: “मलाई २०० वर्ष बाँच्ने कुनै रहर छैन।”
१४. सधैंभरि बाँच्नु किन पूर्णतया आनन्दमय हुनेछ?
१४ यद्यपि, बाइबलले रोगबिमार, वृद्धावस्था र अन्य दुःखकष्टहरूले भरिएको संसारमा सधैंभरि बाँच्ने कुरा गरिरहेको होइन। किनकि शैतानले गर्दा उत्पन्न भएका त्यस्ता सबै समस्याहरू परमेश्वरको राज्यको राजा येशूले हटाउनुहुनेछ। बाइबलअनुसार परमेश्वरको राज्यले यस संसारका सबै दमनकारी राज्यहरूलाई “चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।” (दानियल २:४४) त्यतिबेला येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभएको प्रार्थनाअनुरूप परमेश्वरको “इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा” हुनेछ। (मत्ती ६:९, १०) पृथ्वीबाट सारा खराबी हटाइसकेपछि परमेश्वरको नयाँ संसारमा येशूको छुडौतीका लाभहरू पूर्णतया अनुभव गर्न सकिनेछ। हो, त्यतिबेला बाँच्ने सबैले सिद्ध स्वास्थ्य पाउनेछन्!
१५, १६. परमेश्वरको नयाँ संसारमा कस्ता अवस्थाहरू हुनेछन्?
१५ परमेश्वरको नयाँ संसारमा बाँचिरहेका मानिसहरूमा बाइबलका यी शब्दहरू लागू हुनेछन्: “तब त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन् बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।” (अय्यूब ३३:२५) त्यतिबेला बाइबलको यो प्रतिज्ञा पनि पूरा हुनेछ: “अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लंगड़ा मृगझैं उफ्रनेछ, र गूंगाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३५:५, ६.
१६ यसो सोच्नुहोस्, हाम्रो उमेर ८०, ८०० वा त्योभन्दा बढी नै किन नहोस्, हाम्रो शरीर सधैं स्वस्थ रहनेछ। बाइबलले प्रतिज्ञा गरेझैं “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें’।” त्यतिबेला यो प्रतिज्ञा पनि पूरा हुनेछ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—यशैया ३३:२४; प्रकाश २१:३, ४.
१७. परमेश्वरको नयाँ संसारमा मानिसहरूले कस्ता कस्ता कामहरू गर्ने प्रत्याशा गर्नसक्छौं?
१७ सृष्टिकर्ताले हाम्रो मस्तिष्क सिक्ने असीमित क्षमतासहित बनाउनुभएको छ र त्यो नयाँ संसारमा पूर्ण रूपले प्रयोग गर्नसक्छौं। हामीले त्यतिबेला के के मात्र गर्नसक्नेछैनौं, कल्पना गर्नुहोस्! असिद्धै भए पनि मानिसहरूले अहिले यसै पृथ्वीमा पाइने मालताल चलाएर थुप्रै कुराहरू बनाएका छन्। जस्तै—सेलुलर फोन, माइक्रोफोन, घडी, पेजर, कम्प्युटर, हवाईजहाज इत्यादि। यही ब्रह्माण्डका वस्तुहरू प्रयोग गरेर ती बनाइएका हुन्। आउँदै गरेको पार्थिव प्रमोदवनमा अनन्त जीवन पाइने हुँदा सृजनशील कामहरू गर्ने प्रशस्त मौका हुनेछ!—यशैया ६५:२१-२५.
१८. परमेश्वरको नयाँ संसारमा किन जीवन कहिल्यै झर्कोलाग्दो हुनेछैन?
१८ हाम्रो जीवन झर्कोलाग्दो पनि हुनेछैन। हामीले हजारौं चोटि खाइसकेको भए तापनि पुनः खाना खाने प्रतीक्षा गर्छौं। हामी सिद्ध भएपछि पार्थिव प्रमोदवनका स्वादिला उत्पादनहरू अझ आनन्द मानी मानी खानेछौं। (यशैया २५:६) सधैंभरि पृथ्वीका जीवजन्तुहरूको हेरचाह गर्ने अनि सूर्यास्त, पहाड, नदीनाला तथा उपत्यकाहरूको रोमाञ्चकारी दृश्यहरूको आनन्द उठाउनसक्नेछौं। साँच्चै, परमेश्वरको नयाँ संसारमा जीवन पट्टाइलाग्दो वा एकोहोरो हुनेछैन!—भजन १४५:१६.
परमेश्वरले चाहनुहुने कुराहरू पूरा गर्ने
१९. परमेश्वरले दिनुहुने जीवनको उपहार प्राप्त गर्न केही आवश्यकताहरू पूरा गर्नुपर्छ भनेर विश्वास गर्नु किन तर्कसंगत छ?
१९ प्रमोदवनमा परमेश्वरले दिनुहुने अनन्त जीवनको उपहार पाउने आशा चाहिं गर्ने तर केही नगरी हात बाँधेर बस्न मिल्छ र? के परमेश्वरले हामीबाट केही चाहनु तर्कसंगत होइन र? पक्कै हो। परमेश्वरले त्यो उपहार हामीलाई त्यत्तिकै दिनुहुन्न। उहाँले त्यो हाम्रो सामु राखिदिनुभएको छ तर हामी अग्रसर भएर त्यो लिनुपर्छ। हो, प्रयासको खाँचो छ। तपाईं पनि त्यस जवान धनी शासकले येशूलाई सोधेजस्तै सोध्नुहुन्छ होला: “अनन्त जीवनको हकदार हुनालाई मैले के गर्नुपर्छ?” अथवा झ्यालखानाका फिलिप्पी हाकिमले प्रेरित पावललाई सोधेजस्तै प्रश्न गर्नुहुन्छ होला: “मैले के गरेदेखि उद्धार पाउनसक्छु?”—मत्ती १९:१६; प्रेरित १६:३०.
२०. अनन्त जीवनको लागि एउटा अत्यावश्यक कुरा के हो?
२० येशूले आफ्नो मृत्यु हुनुभन्दा अघिको रात पितालाई प्रार्थना गर्नुहुँदा हामीले गर्नुपर्ने एउटा काम उल्लेख गर्नुभयो। उहाँले यसरी प्रार्थना गर्नुभयो: “अनन्त जीवन यही यो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) अनन्त जीवन सम्भव तुल्याउनुहुने यहोवा र हाम्रोलागि मर्नुहुने येशू ख्रीष्टको ज्ञान लिनु के व्यवहारिक माग होइन र? तथापि, यस्तो ज्ञान लिएर मात्र पुग्दैन।
२१. हामीबाट माग गरिएअनुसार विश्वास गरिरहेका छौं भनेर कसरी देखाउनसक्छौं?
२१ बाइबल यसो भन्छ: “जसले पुत्रमाथि विश्वास गर्छ, त्यसमा अनन्त जीवन छ।” त्यसपछि अझ यसो भन्छ: “जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” (यूहन्ना ३:३६) तपाईं आफ्नो जीवनलाई परिवर्तन गर्नुका साथै परमेश्वरको इच्छाअनुसार ढालेर पुत्रमाथि विश्वास देखाउन सक्नुहुन्छ। तपाईं हिंडिरहनुभएको गलत मार्ग छोडेर परमेश्वरलाई मन पर्ने काम गर्नुपर्छ। तपाईंले प्रेरित पत्रुसको यो आग्रह पालन गर्नुपर्छ: “पश्चाताप गर्नुहोस्, र फर्कनुहोस्, र तपाईंहरूका पाप मेटिओस्, औ प्रभुका उपस्थितिबाट आरामको समय आओस्।”—प्रेरित ३:१९.
२२. येशूको पाइलामा टेकेर हिंड्नुमा कस्ता कदमहरू समावेश छन्?
२२ हामीले येशूमाथि विश्वास राख्यौं भने मात्र अनन्त जीवन पाउनसक्छौं भनेर कहिल्यै नबिर्सौं। (यूहन्ना ६:४०; १४:६) हामी ‘उहाँको पाइलामा टेकेर हिंड्दा’ येशूमाथि विश्वास राख्छौं भनी देखाउँछौं। (१ पत्रुस २:२१) यसो गर्नुमा के विथोलित छ? येशूले परमेश्वरलाई प्रार्थना गर्नुहुँदा यस्तो उद्गार गर्नुभयो: “हेर्नुहोस्, हे परमेश्वर, तपाईंकै इच्छा पूरा गर्नालाई म आएको छु।” (हिब्रू १०:७) अतः परमेश्वरको इच्छा गर्न र यहोवालाई आफ्नो जीवन समर्पण गर्न येशूको अनुकरण गर्नु अत्यावश्यक छ। त्यसपछि येशूले बप्तिस्मा लिनुभएजस्तै हाम्रो समर्पणलाई पानीको बप्तिस्माद्वारा जाहेर गर्नुपर्छ। (लूका ३:२१, २२) यस्तो कदम चाल्नु एकदमै उचित छ। किनकि “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ” भनी प्रेरित पावल बताउँछन्। (२ कोरिन्थी ५:१४, १५) कुन अर्थमा? प्रेमले गर्दा येशूले आफ्नो जीवन हाम्रो खातिर अर्पण गर्नुभयो। के यसले हामीलाई उहाँमाथि विश्वास राख्न करमा पार्दैन र? हो, उहाँले आफूलाई अरूको खातिर अर्पण गर्नुभएको मायालु उदाहरण पछ्याउन यसले हामीलाई करमा पार्नुपर्छ। ख्रीष्ट परमेश्वरको इच्छा गर्न बाँच्नुभयो। त्यसै गरी, हामी पनि आफ्नो निम्ति नभई परमेश्वरको इच्छा गर्न बाँच्नुपर्छ।
२३. (क) जीवन पाउनेहरू केमा थपिन्छन्? (ख) मसीही मण्डलीमा हुनेहरूले कस्ता आवश्यकताहरू पूरा गर्नुपर्छ?
२३ त्यतिमै कुरा टुंगिदैन। बाइबल बताउँछ, सा.यु. ३३ पेन्तिकोसका दिन ३,००० ले बप्तिस्मा लिएपछि तिनीहरू “थपिए।” केमा थपिए? “तिनीहरू प्रेरितहरूका शिक्षा संगति, संयुक्त भोज र प्रार्थनामा लागिरहे” भनी लूका बताउँछन्। (प्रेरित २:४१, ४२) हो, तिनीहरू बाइबल अध्ययन तथा संगतिको लागि भेला भए अनि मसीही मण्डलीमा थपिए वा त्यसको भाग भए। प्रारम्भिक मसीहीहरू आध्यात्मिक निर्देशन प्राप्त गर्न सभाहरूमा नियमित तवरमा उपस्थित हुन्थे। (हिब्रू १०:२५) अहिले यहोवाका साक्षीहरूले पनि त्यसै गर्छन् अनि ती सभाहरूमा उपस्थित हुन तिनीहरू तपाईंलाई प्रोत्साहन दिन चाहन्छन्।
२४. ‘साँच्चैको जीवन’ के हो अनि यो कसरी र कहिले वास्तविकता हुनेछ?
२४ अहिले लाखौं मानिसहरू जीवनसम्म पुऱ्याउने साँघुरो बाटोमा हिंडिरहेका छन्। यो साँघुरो बाटोमा हिंडिरहन मेहनत गर्नुपर्छ! (मत्ती ७:१३, १४) यो कुरा पावलले हार्दिक आग्रह गर्दा औंल्याए: “विश्वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख, जसमा तिमीलाई बोलावट भएको थियो।” यो लडन्त लड्न ‘साँच्चै जीवन पक्री राख्नुपर्छ।’ (१ तिमोथी ६:१२, १९) त्यो जीवन आदमको पापले गर्दा पीडा अनि दुःखकष्टले भरिएको अहिलेको जीवन होइन। बरु, त्यो त परमेश्वरको नयाँ संसारमा पाइने जीवन हो जुन यो रीतिरिवाज हटेपछि यहोवा परमेश्वर र उहाँको पुत्रलाई प्रेम गर्ने सबैको खातिर ख्रीष्टको छुडौतीको बलिदान कार्यान्वयन हुँदा वास्तविकतामा परिणत हुनेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ उत्पत्ति ३:१५ मा उल्लिखित साँप, स्त्री र सन्तान को हुन्?
◻ येशू कसरी आदम बराबरको हुनुहुन्छ अनि छुडौतीले के सम्भव तुल्यायो?
◻ कुन कुराले गर्दा परमेश्वरको नयाँ संसार अति आनन्दमय हुनेछ भनेर तपाईं आशा गर्नुहुन्छ?
◻ परमेश्वरको नयाँ संसारमा बाँच्न हामीले कस्ता आवश्यकताहरू पूरा गर्नुपर्छ?
[पृष्ठ १०-मा भएको चित्र]
स-साना केटाकेटी तथा वृद्धहरू सबैलाई अनन्त जीवनमा लाने एक मात्र मार्ग येशू हुनुहुन्छ
[पृष्ठ ११-मा भएको चित्र]
परमेश्वरले तोक्नुभएको समयमा वृद्धहरू मस्त जवानीको बेलामा जस्तै हुनेछन्