तपाईंको सृष्टिकर्ता—उहाँ कस्तो हुनुहुन्छ, सिक्नुहोस्
“म तेरै सामने मेरो सारा विभव देखाउनेछु, र तेरै सामने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु।”—प्रस्थान ३३:१९.
१. सृष्टिकर्ता आदरको योग्य किन हुनुहुन्छ?
बाइबलको अन्तिम पुस्तकका लेखक प्रेरित यूहन्ना सृष्टिकर्ताबारे यस्तो गहन घोषणा गर्छन्: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” (प्रकाश ४:११) यस अघिको लेखमा बताइएझैं आधुनिक विज्ञानले पत्ता लगाएका कुराहरूले सबै थोक सृष्टि गर्नुहुने सृष्टिकर्तामाथि विश्वास गर्ने थप कारणहरू दिन्छ।
२, ३. (क) मानिसहरूले सृष्टिकर्ताबारे के जान्नु आवश्यक छ? (ख) सृष्टिकर्तालाई व्यक्तिगत रूपमा भेट्नु किन युक्तिसंगत छैन?
२ सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार्नु जति महत्त्वपूर्ण छ उति नै उहाँ कस्तो हुनुहुन्छ अर्थात् उहाँ मानिसहरूलाई आकर्षित गर्नसक्ने व्यक्तित्व र तौरतरिकाहरू भएको वास्तविक व्यक्ति हुनुहुन्छ भनेर जान्नु पनि महत्त्वपूर्ण छ। उहाँ कस्तो हुनुहुन्छ भनी तपाईंले जति नै राम्ररी जान्नुभएको भए तापनि उहाँलाई अझ राम्ररी चिन्नु के फाइदाजनक छैन र? तर त्यसो गर्न हामीले सहमानवहरूलाई भेटेझैं उहाँलाई व्यक्तिगत रूपमा भेट्नु आवश्यक छैन।
३ ताराहरू तथा ताराभन्दा सानो आकारको सूर्यको स्रोत यहोवा हुनुहुन्छ। के तपाईं सूर्यको नजिक जाने कोसिस गर्न सक्नुहुन्छ? असम्भव! अधिकांश मानिसहरू घामलाई हेर्न वा धेरैबेर घाममा बस्दा शक्तिशाली किरणहरूले डढ्ला भनेरसमेत सचेत हुन्छन्। सूर्यको तापक्रम लगभग १,५०,००,००० डिग्री सेल्सियस (२,७०,००,०००°F.) छ। प्रत्येक सेकेण्डमा यो अग्निले करिब ४० लाख टन उर्जा उत्पादन गर्छ। यसको एक भाग मात्र पृथ्वीमा ताप र प्रकाशको रूपमा आउँछ तर त्यो जीवन धान्नको निम्ति प्रशस्त छ। यस्ता आधारभूत कुराहरूले विस्मयकारी शक्ति भएको परमेश्वरप्रति हाम्रो ध्यानाकर्षण गर्नुपर्ने हो। त्यसैकारण यशैयाले ‘उहाँको [सृष्टिकर्ता] शक्तिको बड़प्पन अनि उहाँको सामर्थ्यबारे’ लेख्नसके।—यशैया ४०:२६.
४. मोशाले के बिन्ती गरे अनि यहोवाले कस्तो जवाफ दिनुभयो?
४ तथापि, इस्राएलीहरूले सा.यु.पू. १५१३ मा मिश्र छोडेको केही महिनापछि मोशाले सृष्टिकर्तालाई गरेको बिन्ती तपाईंलाई थाहा छ? तिनले यसो भने: “बिन्ती छ, मलाई तपाईंको महिमा देखाउनुहोस्।” (प्रस्थान ३३:१८) परमेश्वर सूर्यको स्रोत हुनुहुन्छ भन्ने कुरा सम्झनुभयो भने उहाँले मोशालाई किन यसो भने, बुझ्न सक्नुहुन्छ: “तैंले मेरो अनुहार हेर्नसक्तैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्तैन।” सृष्टिकर्ता सिनै पर्वतबाट “नजाउञ्जेल” उहाँले मोशालाई लुक्ने ठाउँ दिनुभयो। तब मोशाले परमेश्वरको “पछिको भाग” अर्थात् सृष्टिकर्ताको महिमा वा उपस्थितिको झलक देखे।—प्रस्थान ३३:२०-२३; यूहन्ना १:१८.
५. सृष्टिकर्ताले कुन तरिकामा मोशाको बिन्तीको जवाफ दिनुभयो अनि त्यसले के देखाउँछ?
५ सृष्टिकर्तालाई अझ राम्ररी चिन्ने मोशाको इच्छा त्यसै खेर गएन। स्पष्टतः परमेश्वर मोशाको सामनेबाट जानुभएर स्वर्गदूतद्वारा यस्तो घोषणा गर्नुभयो: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने” हुनुहुन्छ। (प्रस्थान ३४:६, ७) यसले हाम्रो सृष्टिकर्तालाई अझ राम्ररी चिन्नुमा उहाँको भौतिक शरीर हेर्नु होइन तर उहाँ कस्तो हुनुहुन्छ, उहाँको व्यक्तित्व कस्तो छ अनि उहाँका विशिष्ट गुण के के हुन् भनेर थाहा पाउनु समावेश छ भनी देखाउँछ।
६. हाम्रो रोग प्रतिरोध प्रणाली कसरी आश्चर्यलाग्दो छ?
६ यसो गर्ने एउटा तरिका, परमेश्वरले सृष्टिमा प्रयोग गर्नुभएका उहाँका गुणहरूलाई ध्यान दिनु हो। तपाईंको रोग प्रतिरोध प्रणालीलाई विचार गर्नुहोस्। साइन्टिफिक अमेरिकन-ले रोग प्रतिरोधसम्बन्धी लेखमा यसो भन्यो: “जन्मनु अघिदेखि मृत्युसम्म रोग प्रतिरोध प्रणाली सधैं क्रियाशील हुन्छ। अनेकन् अणु तथा कोषिकाहरूले . . . हामीलाई परजीवी र रोगजन्य कीटाणुहरूबाट बचाउँछ। यो प्रतिरोध प्रणालीबिना मानिसहरू जीवित रहन सक्दैनन्।” यो प्रणालीको स्रोत के हो? उक्त पत्रिकाको एउटा लेख यसो भन्छ: “निपुणतासाथ अन्तरक्रिया गरिरहने अनेकन् अद्भुत कोषिकाहरूले शरीरलाई सूक्ष्म जैविकी तथा रोगजन्य जीवाणुहरूबाट बचाउँछ। ती कोषिकाहरू गर्भधारण भएको लगभग नौ महिनापछि विकास हुन्छन्।” गर्भवती महिलाले आफ्नो गर्भको शिशुलाई केही हदसम्म रोग प्रतिरोध क्षमता प्रदान गर्छिन्। पछि, तिनले आफ्नो शिशुलाई स्तनपानद्वारा पनि रोग प्रतिरोध कोषिका तथा उपयोगी रासायनिक तत्त्वहरू दिन्छिन्।
७. हाम्रो रोग प्रतिरोध प्रणालीबारे हामी के विचार गर्नसक्छौं अनि कस्तो निष्कर्षमा पुग्नसक्छौं?
७ कुनै पनि आधुनिक औषधीले प्रदान गर्न नसक्ने सुरक्षा तपाईंको रोग प्रतिरोध प्रणालीले प्रदान गर्नसक्छ भन्ने निष्कर्षमा पुग्ने जायज कारण छ। तसर्थ, आफैलाई सोध्नुहोस्, ‘यसले यस्तो प्रणालीको सुरुआतकर्ता तथा प्रबन्धकर्ताबारे के बताउँछ?’ यो प्रणाली “गर्भधारण भएको नौ महिनापछि विकास हुन्छ” अनि नवजात शिशुलाई रोगबाट बचाउँछ। यसले पक्कै पनि बुद्धि र पूर्वविचार झल्काउँछ। तर के यो प्रणालीबाट हामी सृष्टिकर्ताबारे अझ बढी जान्नसक्छौं? जनताहरूलाई स्वास्थ्य सेवा पुऱ्याउन जिन्दगीभर जुट्ने अल्बर्ट श्वाइट्जर तथा अन्य व्यक्तिहरूबारे हामी के भन्नसक्छौं? हामी साधारणतया त्यस्ता मानिसहरूलाई गुणी ठान्छौं। तुलना नै गर्ने हो भने, धनी र गरिब दुवैलाई रोग प्रतिरोध प्रणाली दिनुहुने सृष्टिकर्ताबारे के भन्नसक्छौं? स्पष्टत: उहाँ मायालु, निष्पक्ष र न्यायी हुनुहुन्छ। के यो मोशाले सृष्टिकर्ताबारे सुनेको कुरासित मेल खाँदैन र?
उहाँ कस्तो हुनुहुन्छ, उहाँ प्रकट गर्नुहुन्छ
८. यहोवाले आफूलाई कुन तरिकामा पनि प्रकट गर्नुहुन्छ?
८ तथापि, हाम्रो सृष्टिकर्तालाई राम्ररी चिन्ने अर्को तरिका पनि छ। त्यो हो, बाइबलद्वारा चिन्नु। यो तरिका एकदमै महत्त्वपूर्ण छ किनकि विज्ञान र ब्रह्माण्डले कहिल्यै प्रकट गर्न नसकेका तथा अन्य कुराहरू बाइबलमा स्पष्टसित बताइएको छ। यसको एउटा उदाहरण हो, सृष्टिकर्ताको व्यक्तिगत नाउँ। बाइबलले मात्र सृष्टिकर्ताको नाउँ र त्यसको अर्थ बताउँछ। बाइबलको हिब्रू हस्तलिपिमा उहाँको नाउँ लगभग ७,००० पटक प्रयोग गरिएको छ। यो नाउँ चारवटा व्यञ्जनमा YHWH अथवा JHVH लेख्न सकिन्छ जसलाई अंग्रेजीमा साधारणतया जेहोभा भनिन्छ।—प्रस्थान ३:१५; ६:३.
९. सृष्टिकर्ताको व्यक्तिगत नाउँको अर्थ के हो अनि त्यसबाट हामी कस्तो निष्कर्ष निकाल्नसक्छौं?
९ सृष्टिकर्तालाई राम्ररी चिन्नको लागि उहाँ “सृष्टिकर्ता” अथवा अस्पष्ट “म हुँ ” मात्र होइन भनेर हामीले बुझ्नुपर्छ। उहाँको व्यक्तिगत नाउँले यो कुरा औंल्याउँछ। हिब्रू क्रियाबाट आएको उहाँको नाउँको अर्थ “हुनु” अथवा “हुनुहुनेछ” हो।a (उत्पत्ति २७:२९; उपदेशक ११:३ तुलना गर्नुहोस्) परमेश्वरको नाउँले “उहाँले हुन दिनुहुन्छ” भन्ने बुझाउँछ अनि उहाँले उद्देश्य रच्नुका साथै पूरा पनि गर्नुहुन्छ भनी जोड दिन्छ। हामीले उहाँको नाउँ जान्नुका साथै प्रयोग गरेर उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ अनि उहाँको उद्देश्य वास्तविकतामा परिणत हुनेछ भनी अझ राम्ररी बुझ्नसक्छौं।
१०. हामी उत्पत्तिको विवरणबाट कस्तो महत्त्वपूर्ण समझ प्राप्त गर्नसक्छौं?
१० बाइबल, परमेश्वरका उद्देश्यहरू तथा उहाँको व्यक्तित्वबारे ज्ञानको स्रोत हो। उत्पत्तिको विवरणअनुसार, एकताक परमेश्वरसँग मानिसहरूको शान्तिमय सम्बन्ध थियो अनि मानिसहरूसँग लामो र अर्थपूर्ण जीवन बिताउने प्रत्याशा थियो। (उत्पत्ति १:२८; २:७-९) यहोवाले आफ्नो नाउँको अर्थअनुसार काम गर्नुभएर मानिसजातिले धेरै अघिदेखि सहँदै आएको दुःखकष्ट तथा निराशा हटाउनुहुनेछ भनी हामी निश्चित हुनसक्छौं। हामी उहाँको उद्देश्यको पूर्तिबारे यसो पढ्छौं: “यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्यो। यसै आशामा, कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:२०, २१.
११. हामीले किन बाइबल विवरणहरू विचार गर्नुपर्छ अनि ती विवरणहरूमा के पाइन्छ?
११ बाइबलले हाम्रो सष्टिकर्तालाई राम्ररी चिन्ने मदत पनि दिनसक्छ। किनभने उहाँले पुरातन इस्राएलीहरूसँग गर्नुभएको क्रिया अनि प्रतिक्रियाहरूबारे बाइबलले बताउँछ। उदाहरणका लागि, विरोधी आरामी सेनाहरूको सेनापति नामान र एलीशासित सम्बन्धित घटनालाई विचार गर्नुहोस्। दोस्रो राजा अध्याय ५ मा उक्त विवरण पढ्नुहुँदा, कैद गरिएकी एउटी इस्राएली ठिटीले इस्राएलमा बस्ने एलीशाको मदतद्वारा नामानको कोर निको हुनसक्छ भनेकी कुरा तपाईंले थाहा पाउनुहुनेछ। एलीशाले आफ्नो हात उठाएर चमत्कारी ढंगमा रोग निको पार्ला भन्ने आशासहित नामान तिनीकहाँ गए। त्यसको विपरीत, एलीशाले नामानलाई यर्दन नदीमा डुबुल्की मार्न लगाए। नामानले आफूभन्दा कम महत्त्वको व्यक्तिको कुरा पालन गर्नुपरे तापनि नदीमा डुबुल्की मारेपछि तिनको रोग निको भयो। नामानले एलीशालाई बहुमूल्य उपहारहरू दिए तर तिनले लिन इन्कार गरे। पछि एलीशाको नोकरले लुकीछिपी नामानलाई भेटे अनि झूट बोलेर तिनीबाट केही बहुमूल्य वस्तुहरू लिए। तिनको बेइमानीले गर्दा तिनलाई कोर लाग्यो। यो इमानदारी तथा बेइमानबारे एउटा रोमाञ्चकारी विवरण हो र यसबाट हामी पाठ सिक्नसक्छौं।
१२. एलीशा र नामानसित सम्बन्धित विवरणबाट हामी सृष्टिकर्ताबारे के भन्नसक्छौं?
१२ यस विवरणले ब्रह्माण्डको महान् सृष्टिकर्ता भइकन पनि उहाँले सानी ठिटीको कुरा सुन्नुभयो भनेर घतलाग्दो तरिकामा बताउँछ। केटाकेटीहरूको कुरालाई ध्यानै नदिने आजका थुप्रै संस्कृतिका मानिसहरूभन्दा उहाँ भिन्नै हुनुहुन्छ। सृष्टिकर्ताले एउटा जात वा राष्ट्रका मानिसहरूलाई मात्र अनुग्रह गर्नुहुन्न भनेर पनि उक्त विवरणले देखाउँछ। (प्रेरित १०:३४, ३५) चाखलाग्दो कुरा, मानिसहरूले रोग निको पार्न अतीतका तथा अहिलेका केही “रोग निवारकहरूले” जस्तो चटक देखाएको आशा गर्नुको सट्टा सृष्टिकर्ताले अद्भुत बुद्धि चलाउनुभयो। कोर कसरी निको पार्ने भनी उहाँलाई थाहा थियो। उहाँले छलकपट विफल तुल्याउनुभएर पनि अन्तरदृष्टि र न्याय प्रदर्शित गर्नुभयो। के यो घटना पनि मोशाले यहोवाको व्यक्तित्वबारे सुनेको कुरासँग मेल खाँदैन र? उक्त बाइबल विवरण छोटो भए तापनि हामी यसबाट सृष्टिकर्ता कस्तो हुनुहुन्छ भनेर धेरै कुरा सिक्नसक्छौं!—भजन ३३:५; ३७:२८.
१३. बाइबल विवरणहरूबाट हामी कसरी मूल्यवान् पाठ सिक्नसक्छौं, व्याख्या गर्नुहोस्।
१३ इस्राएलको अकृतज्ञता र परमेश्वरले त्यसप्रति देखाउनुभएको प्रतिक्रियाका अन्य विवरणहरूले यहोवाले मानिसहरूप्रति साँच्चै चासो राख्नुहुन्छ भन्ने प्रमाण दिन्छ। इस्राएलीहरूले बारम्बार परमेश्वरको परीक्षा गरे, उहाँको चित्त दुखाए अनि उहाँलाई दुःख दिए भनी बाइबल बताउँछ। (भजन ७८:४०, ४१) यसर्थ, सृष्टिकर्ताका पनि भावनाहरू छन् अनि उहाँ मानिसहरूको कामकुरामा चासो लिनुहुन्छ। चिरपरिचित व्यक्तिहरूको विवरणबाट पनि धेरै कुरा सिक्नसक्छौं। दाऊदलाई इस्राएलको राजा हुन छान्नुहुँदा परमेश्वरले शमूएललाई यसो भन्नुभयो: “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:७) हो, परमेश्वरले हामी भित्र कस्तो छौं त्यो हेर्नुहुन्छ, हाम्रो बाहिरी रूप होइन। कस्तो सान्त्वनादायी कुरा!
१४. हिब्रू धर्मशास्त्र पढ्दा हामी कस्तो फाइदा प्राप्त गर्नसक्छौं?
१४ बाइबलका ३९ वटा पुस्तकहरू येशू जन्मनुभन्दा पहिल्यै लेखिएका हुन् अनि ती पढ्न लाभदायक छन्। ती पुस्तकहरू पढ्नुको उद्देश्य बाइबल विवरणहरू वा बाइबल इतिहासबारे सिक्ने मात्र हुनु हुँदैन। हाम्रो सृष्टिकर्ता कस्तो हुनुहुन्छ भनेर साँच्चै सिक्न चाहन्छौं भने यस्तो विचार गर्दै ती विवरणहरू मनन गर्नुपर्छ, ‘यो विवरणले उहाँको व्यक्तित्वबारे के बताउँछ? यो विवरणमा स्पष्टतः उहाँको कुन चाहिं गुण झल्किन्छ?’b यसो गर्नाले बाइबलमाथि शंका गर्नेहरूलाई समेत बाइबल ईश्वरप्रेरित हो भनी बुझ्न मदत मिल्नसक्छ। फलतः तिनीहरूले यसको ग्रन्थकारलाई अझ राम्ररी चिन्नसक्छन्।
महान् शिक्षकले हामीलाई सृष्टिकर्ता चिन्ने मदत दिनुहुन्छ
१५. येशूका कार्य तथा शिक्षाहरू किन शिक्षामूलक हुनुपर्ने हो?
१५ हो, सृष्टिकर्ताको अस्तित्वमाथि शंका गर्ने वा परमेश्वरबारे अस्पष्ट धारणा हुनेहरूलाई बाइबलबारे त्यति धेरै ज्ञान नहोला। सायद तपाईंले त्यस्ता मानिसहरू पनि भेट्नुभएको होला जसलाई मोशा र मत्तीमा को पहिला जन्मियो भनेर अत्तोपत्तो छैन अनि येशूका कार्य वा शिक्षाहरूबारे पटक्कै थाहा छैन। यो एकदमै दुःखलाग्दो कुरा हो किनकि महान् शिक्षक येशूबाट सृष्टिकर्ताबारे थुप्रै कुरा सिक्न सकिन्छ। परमेश्वरसित घनिष्ठ सम्बन्ध भएको हुँदा सृष्टिकर्ता कस्तो हुनुहुन्छ भनेर उहाँले बताउन सक्नुहुन्थ्यो। (यूहन्ना १:१८; २ कोरिन्थी ४:६; हिब्रू १:३) अनि उहाँले बताउनु पनि भयो। भनौं भने, उहाँले एक चोटि यसो भन्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूहन्ना १४:९.
१६. येशूले सामरी स्त्रीसँग गर्नुभएको कुराकानीले के देखाउँछ?
१६ यो उदाहरण विचार गर्नुहोस्। यात्राले गर्दा थकित हुनुभए तापनि येशूले एक चोटि सुखारनजिक सामरी स्त्रीसित कुरा गर्नुभयो। उहाँले ‘पितालाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्ने’ आवश्यकता औंल्याउनुहुँदै त्यस स्त्रीलाई गहन सत्य सिकाउनुभयो। त्यतिखेरका यहूदीहरूले सामरीहरूलाई वर्जित गर्थे। त्यसको विपरीत, येशूले सबै राष्ट्रका निष्कपट पुरुष तथा स्त्रीलाई स्वीकार्ने यहोवाको इच्छुकता झल्काउनुभयो। एलीशा र नामानसित सम्बन्धित घटनामा पनि हामीले त्यही कुरा देख्यौं। आजको संसारमा व्याप्त संकीर्ण धार्मिक एकोहोरोपनलाई यहोवा मन पराउनुहुन्न भन्ने कुराले हामीलाई आश्वासन दिनुपर्ने हो। परपुरुषसँग जीवन बिताइरहेकी स्त्रीलाई सिकाउन येशू इच्छुक हुनुभएको तथ्यलाई पनि ध्यान दिनसक्छौं। येशूले त्यस स्त्रीलाई तिरस्कार गर्नुको सट्टा इज्जतसित कुरा गर्नुभयो। त्यसपछि, अन्य सामरीहरूले पनि येशूको कुरा सुने अनि यसो भने: “उहाँ साँच्चिनै संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले थाह पायौं।”—यूहन्ना ४:२-३०, ३९-४२; १ राजा ८:४१-४३; मत्ती ९:१०-१३.
१७. लाजरसको पुनरुत्थानले कुन कुरा औंल्याउँछ?
१७ येशूका कार्य तथा शिक्षाहरूसित परिचित भएर कसरी सृष्टिकर्ताबारे सिक्नसक्छौं, अर्को उदाहरण विचार गरौं। यो घटना येशूको मित्र लाजरसको मृत्युसित सम्बन्धित छ। येशूले त्यसअघि मृतकलाई पुनर्जीवित गर्नसक्ने आफ्नो शक्ति देखाइसक्नुभएको थियो। (लूका ७:११-१७; ८:४०-५६) तथापि, लाजरसकी दिदी मरियम रोइरहेको देखेर येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो? येशू “आत्मामा अति विचलित भएर दुःखित हुनुभयो।” उहाँ भावशून्य हुनुभएन वा पन्छिनुभएन; उहाँ “रुनुभयो।” (यूहन्ना ११:३३-३५) अनि उहाँ भावनामा बहनुभएको मात्र थिएन। उहाँ ठोस कदम चाल्न उत्प्रेरित हुनुभयो र लाजरसको पुनरुत्थान गर्नुभयो। यसले उहाँका प्रेरितहरूलाई सृष्टिकर्ताका भावना र कार्यहरू बुझ्न कति मदत गऱ्यो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। यसले हामी तथा अरूलाई पनि सृष्टिकर्ताको व्यक्तित्व र तौरतरिकाहरू बुझ्न मदत गर्नुपर्ने हो।
१८. मानिसहरूले बाइबल अध्ययनबारे कस्तो विचार राख्नुपर्छ?
१८ बाइबल अध्ययन गर्दा अनि हाम्रो सृष्टिकर्ताबारे अझ बढी सिक्दा लज्जित हुनुपर्ने कुनै कारण छैन। बाइबल कुनै अप्रचलित पुस्तक होइन। राम्ररी बाइबल अध्ययन गर्ने अनि येशूसित घनिष्ठ हुने एक जना व्यक्ति यूहन्ना हुन्। तिनले पछि यसो लेखे: “हामी जान्दछौं, कि परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ, कि जो सत्यको हुनुहुन्छ उहाँलाई हामी चिन्छौं, र हामी उहाँमै छौं, जो सत्यको हुनुहुन्छ, अर्थात् उहाँको पुत्र येशू ख्रीष्टमा। सत्यको परमेश्वर र अनन्त जीवन उहाँनै हुनुहुन्छ।” (१ यूहन्ना ५:२०) ध्यान दिनुहोस्, “सत्यको परमेश्वर” अर्थात् सृष्टिकर्ताको ज्ञान हासिल गर्न “समझ” चलाउनाले “अनन्त जीवन[तर्फ]” डोऱ्याउनसक्छ।
तपाईं अरूलाई उहाँबारे सिक्न कसरी मदत गर्न सक्नुहुन्छ?
१९. शंकालु मानिसहरूलाई मदत गर्न कस्तो कदम चालिएको छ?
१९ हाम्रो चासो राख्नुहुने अनुकम्पापूर्ण सृष्टिकर्ता हुनुहुन्छ भनी विश्वास गर्न अनि उहाँ कस्तो हुनुहुन्छ भनेर बुझ्न केही मानिसहरूलाई थुप्रै प्रमाणहरू चाहिन्छ। सृष्टिकर्ताको अस्तित्वमाथि शंका गर्ने वा उहाँबारे बाइबलले बताउने भन्दा बेग्लै दृष्टिकोण राख्ने करोडौं मानिसहरू छन्। तपाईं तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? यहोवाका साक्षीहरूको सन् १९९८/९९ जिल्ला तथा अन्तरराष्ट्रिय अधिनेशनमा थुप्रै भाषाहरूमा एउटा प्रभावकारी साधन विमोचन गरियो। त्यो हो, के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? नामक पुस्तक।
२०, २१. (क) सृष्टिकर्ता पुस्तक कसरी सफलता साथ प्रयोग गर्न सकिन्छ? (ख) सृष्टिकर्ता पुस्तक कसरी प्रभावकारी साबित भएको छ, अनुभवहरू बताउनुहोस्।
२० यो प्रकाशनले सृष्टिकर्तामाथिको हाम्रो विश्वास बढाउन अनि उहाँको व्यक्तित्व तथा तौरतरिकाहरूको मूल्यांकन गर्न मदत गर्नेछ। किन यसबारे हामी यत्तिको ढुक्क हुनसक्छौं? किनभने यही उद्देश्यलाई ध्यान दिएर के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? नामक पुस्तक तयार पारिएको छ। सम्पूर्ण पुस्तकको मूल विषय “तपाईंको जीवनलाई कुन कुराले अझ अर्थपूर्ण बनाउनसक्छ?” भन्ने अध्यायले झल्काउँछ। यसका विषयवस्तुहरू निकै पढेलेखेका मानिसहरूलाई समेत चाखलाग्ने ढंगमा प्रस्तुत गरिएका छन्। यद्यपि, यसले हामी सबैको चाहनाहरू समेटेको छ। सृष्टिकर्ताको अस्तित्वमाथि शंका गर्ने पाठकहरूको निम्ति रोचक तथा सशक्त विषयवस्तु छ। यो पुस्तकले सृष्टिकर्तामाथि सबैको विश्वास हुन्छ जस्तो भान पर्ने गरी जानकारी प्रस्तुत गरेको छैन। आधुनिक वैज्ञानिक आविष्कार तथा धारणाहरूको प्रयोग गरिएको देखेर सृष्टिकर्तामाथि शंका गर्नेहरू आकर्षित हुनेछन्। ती तथ्यहरूले परमेश्वरमाथि विश्वास गर्नेहरूको विश्वास पनि अझ बलियो बनाउनेछ।
२१ यो नयाँ पुस्तक अध्ययन गर्दा यसको केही अंशमा परमेश्वरको व्यक्तित्व प्रकाश पार्ने बाइबल इतिहासको सारांश पाइन्छ जसले पाठकहरूलाई राम्ररी परमेश्वरलाई चिन्न मदत गर्नेछ। यसलाई पढिसकेका मानिसहरूले यो कुरा कसरी तिनीहरूको जीवनमा सत्य साबित भएको छ भनी बताएका छन्। (पृष्ठ २५-६ को लेख हेर्नुहोस्।) यो पुस्तकसित परिचित हुनुका साथै अरूलाई सृष्टिकर्ताबारे जान्न मदत दिन यसको सदुपयोग गर्नुहुँदा तपाईंमा पनि यो कुरा सत्य साबित हुन सकोस्।
[पाटिप्पणी]
a क्याथोलिक बिबलिकल क्वाटरली-को प्रमुख सम्पादक हुँदा जेसुएट शास्त्रविद् एम. जे. ग्रन्थेनरले यो क्रिया र यसका सदृश्य क्रियाले “परमेश्वरको अस्पष्ट अस्तित्व होइन तर सधैं स्पष्ट अर्थात् वास्तविक रूप प्रस्तुत गर्छ” भनी बताए।
b आमाबाबुहरूले आफ्ना छोराछोरीलाई बाइबलका विवरणहरू बताउँदा यस्ता प्रश्नहरू सोधेर मदत गर्नसक्छन्। फलतः केटाकेटीहरूले परमेश्वरलाई राम्ररी चिन्नुका साथै उहाँको वचन मनन गर्न पनि सिक्नेछन्।
के तपाईंले सम्झनुभयो?
◻ सीनै पर्वतमा मोशा कसरी यहोवासँग अझ राम्ररी परिचित भए?
◻ परमेश्वर कस्तो हुनुहुन्छ भनेर थाहा पाउने एउटा सहायक बाइबल अध्ययन किन हो?
◻ बाइबल पढ्दा सृष्टिकर्ताको नजिक हुन हामी के गर्नसक्छौं?
◻ तपाईंले सृष्टिकर्ता पुस्तक कुन तरिकामा सदुपयोग गर्ने योजना बनाउनुभएको छ?
[पृष्ठ २०-मा भएको चित्र]
हाम्रो रोग प्रतिरोध प्रणालीले सृष्टिकर्ताबारे के बताउँछ?
[पृष्ठ २१-मा भएको चित्र]
टेट्राग्रामाटनलाई (हिब्रूमा परमेश्वरको नाउँ) ठूलो अक्षरमा लेखिएको मृत सागर पाण्डुलिपिको एक अंश
[स्रोत]
साभार, Shrine of the Book, Israel Museum, Jerusalem
[पृष्ठ २३-मा भएको चित्र]
रोइरहेकी मरियमप्रति येशूले देखाउनुभएको प्रतिक्रियाबाट के सिक्नसक्छौं?