प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ३/१५ pp. २४-२८
  • “फरिसी र सदुकीहरूको खमीरबाट बच”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “फरिसी र सदुकीहरूको खमीरबाट बच”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिक बेमेल
  • फरिसीहरू
  • तिनीहरू धार्मिक प्रवर्तकहरू थिए
  • खारिजी
  • सदुकीहरू
  • येशू र उहाँका अनुयायीहरूलाई सताउनेहरू
  • जागा रहनु पर्ने आवश्‍यकता
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “मसँग सिक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ३/१५ pp. २४-२८

“फरिसी र सदुकीहरूको खमीरबाट बच”

येशू ख्रीष्टले १९ शताब्दीअघि ती शब्दहरू उच्चारण गर्नुहुँदा उहाँले हानिकारक धार्मिक शिक्षा र प्रचलनहरूबारे आफ्ना चेलाहरूलाई सतर्क गराउँदै हुनुहुन्थ्यो। (मत्ती १६:६, १२) मर्कूस ८:१५ ले स्पष्टसित यसो भन्छ: “हेरोदको खमीरदेखि बच।” यहाँ किन हेरोदको उल्लेख गरिएको? किनभने केही सदुकीहरू हेरोदवादी राजनैतिक समूहका सदस्य थिए।

त्यस्तो विशेष चेतावनी किन आवश्‍यक पऱ्‍यो? के फरिसी र सदुकीहरू दुवै येशूका प्रत्यक्ष विरोधीहरू थिएनन्‌ र? (मत्ती १६:२१; यूहन्‍ना ११:४५-५०) हो, तिनीहरू विरोधी थिए। यद्यपि, तिनीहरूमध्ये केहीले पछि मसीही धर्म स्वीकार्नेथिए अनि आफ्ना विचारधाराहरू मसीही मण्डलीमा लागू गर्ने प्रयास गर्नेथिए।—प्रेरित १५:५.

त्यस्ता धार्मिक नेताहरूको प्रभावमा हुर्केका हुँदा चेलाहरूले ती नेताहरूको अनुसरण गर्न सक्ने खतरा पनि थियो। त्यस्तो धार्मिक पृष्ठभूमिबाट आएकाले येशूका शिक्षाहरू बुझ्न तिनीहरूको निम्ति कहिलेकाहीं अवरोध साबित भयो।

कुन कुराले गर्दा फरिसी र सदुकीपन्थ यतिको खतरनाक साबित भए? येशूको समयको धार्मिक अवस्थालाई दृष्टिगत गर्नाले हामीलाई त्यसबारे बुझ्न सजिलो पर्छ।

धार्मिक बेमेल

प्रथम शताब्दी सा.यु. को यहूदी सम्प्रदायबारे इतिहासकार माक्स राडनले यसरी लेखे: “यहूदी मण्डलीहरूका आपसी स्वाधीनता वास्तविक थियो र तिनीहरूले त्यो लागू समेत गर्न खोज्थे। . . . मन्दिर तथा पवित्र शहरको श्रद्धालाई प्रायः निकै जोड दिंदा मातृभूमिका तत्कालीन सर्वोच्च अख्तियारवालाहरूमा प्रायजसो कटु घृणा प्रकट हुन सक्थ्यो।”

निस्सन्देह, दुःखद आध्यात्मिक अवस्था! यस्तो अवस्थामा योगदान पुऱ्‍याउने केही तत्त्वहरू के थिए? सबै यहूदीहरू प्यालेस्टाइनमा बस्दैनथे। युनानीहरूले पूजाहारीहरूलाई नेता नभई दासको रूपमा हेर्थे। यस युनानी संस्कृतिको प्रभावले पौरोहित्यसम्बन्धी यहोवाको प्रबन्धलाई तुच्छ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। (प्रस्थान २८:२९; ४०:१२-१५) अनि हामीले शिक्षित जनसाधारण र शास्त्रीहरूलाई पनि बिर्सनु हुँदैन।

फरिसीहरू

फरिसीहरू अर्थात्‌ पेरूशीम-को अर्थ सम्भवतः “छुट्याइएकाहरू” थियो। फरिसीहरू आफूलाई मोशाका अनुयायीहरू ठान्थे। तिनीहरूले आफ्नै भ्रातृत्व वा समूह (हिब्रू, चाबुरा) बनाए। सदस्यको रूपमा स्वीकृत हुन लेवी व्यवस्थाको पवित्रता, अम्हारेट्‌सहरू-सित (अनपढ जनता) घनिष्ठ सम्बन्ध राख्नदेखि अलग्गिने र दसांशहरू नियमानुसार दिने जस्ता आज्ञाहरू दुरुस्तै पालन गर्न त्यस समूहको तीन सदस्यसमक्ष भाकल गर्नुपर्थ्यो। मर्कूस २:१६ मा “फरिसीहरूका शास्त्रीहरू[बारे]” बताइएको छ। यी फरिसीहरूमध्ये केही पेशेवर शास्त्री तथा शिक्षकहरू थिए त केही साधारण जनता नै थिए।—मत्ती २३:१-७.

फरिसीहरू सर्वव्यापी परमेश्‍वरमा विश्‍वास गर्थे। तिनीहरूले यस्ता तर्कहरू गर्थे, “परमेश्‍वर सबैतिर हुनाले उहाँलाई मन्दिरभित्र र बाहिर दुवै ठाउँमा उपासना गर्न सकिन्छ। बलिदानहरूद्वारा मात्र उहाँलाई पुकार्नु पर्छ भन्‍ने छैन। यसप्रकार तिनीहरूले सभाघरलाई उपासना, अध्ययन र प्रार्थनाको थलो बनाए। साथै मन्दिरको प्रतिस्पर्धामा मानिसहरूको जीवनमा सभाघरलाई केन्द्रबिन्दु बनाए।”—इन्साइक्लोपीडिया जुडाइका.

फरिसीहरूमा यहोवाको मन्दिरप्रति मूल्यांकनको कमी थियो। यो कुरा येशूका शब्दहरूबाट बुझ्न सकिन्छ: “धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवा हो, जसले भन्दछन्‌, ‘कसैले मन्दिर छोएर शपथ खायो भने, त्यो केही होइन, तर कसैले मन्दिरको सुन छोएर शपथ लियो भने, त्यो ऋणी ठहर्छ।’ ए मूर्ख र अन्धाहरू, कुन चाहिं ठूलो हो? सुन कि सुनलाई चोख्याउने मन्दिर? ‘औ कसैले वेदी छोएर शपथ खायो भने, त्यो ऋणी हो।’ ए अन्धा हो, कुन चाहिं ठूलो हो? भेटी कि भेटीलाई चोख्याउने वेदी? यसकारण वेदी छोएर शपथ खानेले, त्यसैको र त्यसमाथिका सबै थोकको शपथ लिन्छ।”—मत्ती २३:१६-२०.

आफ्ना तर्कहरूमा फरिसीहरू किन यति भ्रष्ट भए? तिनीहरूले कुन कुरा बेवास्ता गरिरहेका थिए? येशूले यसपछि के भन्‍नुहुन्छ ध्यान दिनुहोस्‌। “औ मन्दिर छोएर शपथ खानेले, त्यसैको र त्यसभित्र वास गर्नेको किरिया हाल्दछ।” (मत्ती २३:२१) यस पदबारे शास्त्रज्ञ इ.पी. सान्डर्सले यस्तो अवलोकन गरे: “पवित्र परमेश्‍वरको उपासना गरिएकोले मात्रै मन्दिर पवित्र भएको होइन तर परमेश्‍वर त्यहाँ उपस्थित हुनुभएकोले हो।” (जुडेइजम: प्राक्टिस एण्ड बिलिफ, ६३ बीसीइ—६६ सीइ) तर परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ भनी विश्‍वास गर्नेहरूलाई उहाँको विशेष उपस्थितिले कुनै खास अर्थ राख्दैनथ्यो।

फरिसीहरू पूर्वनिर्धारित भविष्य र स्वेच्छा दुवैमा विश्‍वास राख्थे। अर्को शब्दमा भन्‍ने हो भने, “सबै कुरा पूर्वनिर्धारित हुन्छ, यद्यपि स्वेच्छा प्रदान गरिएको हुन्छ।” तापनि, आदम र हव्वाले पाप गर्नेछन्‌ भनी पूर्वानिर्धारण गरिएको थियो र औंलामा सानो घाउसमेत हुनु पनि पूर्वनिर्धारित हुन्छ भनी तिनीहरू विश्‍वास गर्थे।

धरहरा भत्केर १८ व्यक्‍तिको मृत्यु भएको घटनाबारे कुरा गर्दा मानिसहरूको त्यस्ता गलत विचारधाराहरूलाई येशूले मनमा राख्नुभएको हुन सक्छ। उहाँले सोध्नुभयो: “के तिमीहरू सम्झन्छौ, कि तिनीहरू [मर्नेहरू] सबै यरूशलेमबासीहरूमध्ये बढ़ता अपराधी थिए?” (लूका १३:४) अधिकांश दुर्घटनाहरू जस्तै यो फरिसीहरूले सिकाएअनुसार भाग्यको दोष नभई “समय र अवसर[को]” परिणाम थियो। (उपदेशक ९:११) ती कथित ज्ञानी व्यक्‍तिहरूले शास्त्रीय आज्ञाहरू कस्तो दृष्टिकोणले लिनेथिए?

तिनीहरू धार्मिक प्रवर्तकहरू थिए

नवीनतम जानकारीहरूअनुरूप हरेक पुस्ताका रब्बीहरूले शास्त्रीय आज्ञाहरू अर्थाउनु पर्छ भनी फरिसीहरू विश्‍वास राख्थे। तसर्थ, इन्साइक्लोपीडिया जुडाइका-अनुसार “नवीनतम विचारधाराहरूसित तोरहका शिक्षाहरू मिलान गर्न वा तोरहमा आफ्ना विचारधाराहरू घुसाउनु वा संकेत दिनु तिनीहरूका लागि कुनै गाह्रो कुरा थिएन।”

प्रायश्‍चित गर्ने वार्षिक दिनमा भने पापहरू प्रायश्‍चित गर्ने शक्‍ति तिनीहरूले पूजाहारीहरूमा नभई त्यस खास दिनमाथि स्थानान्तरण गरे। (लेवी १६:३०, ३३) निस्तार चाडको उत्सवमा निस्तारको थुमालाईभन्दा दाखमद्य र अखमिरी रोटी खाँदै प्रस्थानको विवरण पढ्‌नुलाई तिनीहरूले बढी महत्त्व दिए।

समय बित्दै जाँदा फरिसीहरू मन्दिरमा प्रभावकारी हुन थाले। त्यसपछि तिनीहरूले अन्‍न भित्राउने चाडको रात सिलोआमको पोखरीबाट पानी ल्याउने शोभायात्रा, भोलिपल्ट बिहान बलिदानसरह तर्पण, चाडको समाप्तितिर वेदीमा बैंसको रूख दाइँ गर्ने र व्यवस्थामा कुनै आधार नभएको नियमित प्रार्थना गर्नेजस्ता नियमहरू स्थापना गर्न थाले।

द जुविश इन्साइक्लोपीडिया यसो भन्छ, “विशेषगरि उल्लेखनीय त, विश्राम दिनसम्बन्धी फरिसी प्रवर्तनहरू थिए।” पत्नीले बत्तीहरू बालेर विश्राम दिनलाई स्वागत गर्नुपर्थ्यो। कुनै क्रियाकलापमा गैरकानुनी श्रम प्रयोग भएजस्तो देखिएमा फरिसीहरूले त्यसलाई निषेध गर्थे। तिनीहरूले चिकित्सा उपचारलाई समेत नियन्त्रित गरे र विश्राम दिनमा येशूले चमत्कारपूर्ण ढंगमा निको पार्नु हुँदा चिढिए। (मत्ती १२:९-१४; यूहन्‍ना ५:१-१६) तर शास्त्रीय व्यवस्थाहरूका सुरक्षाको लागि छेकबार वा तगारो बनाउने प्रयासमा यी धार्मिक प्रवर्तकहरूले नयाँ नियमहरू स्थापना मात्र गरेनन्‌।

खारिजी

शास्त्रीय व्यवस्थाहरू स्थगन वा बदर गर्ने अधिकार आफूसित भएको फरिसीहरूले दाबी गरे। ताल्मुदको यस सिद्धान्तमा तिनीहरूको तर्क झल्किन्छ: “सम्पूर्ण तोरहलाई बिर्सनुभन्दा एउटा नियम बदर गर्नु बेस हो।” उदाहरणको लागि, विशेष उत्सवको स्थगनलाई लिन सकिन्छ। विशेष उत्सव नजिकै आउँदा कसैले पनि गरीबहरूलाई सापटी दिनेछैनन्‌ भन्‍ने डरमा त्यो स्थगित गरिएको थियो।—लेवी, अध्याय २५.

अन्य उदाहरणहरू, व्यभिचारिणी शंका गरिएकी स्त्रीको पुर्पक्ष र छिनोफानो नभएको मुद्दा खारेज र प्रायश्‍चित गर्ने प्रक्रियाको स्थगन आदि हुन्‌। (गन्ती ५:११-३१; व्यवस्था २१:१-९) पछि, खाँचोमा परेका आफ्ना आमाबाबुहरूका लागि हेरचाह गर्नुपर्ने शास्त्रीय आवश्‍यकता खारेज गर्न समेत फरिसीहरूले बेर लगाउने थिएनन्‌।—प्रस्थान २०:१२; मत्ती १५:३-६.

येशूले यसप्रकार चेतावनी दिनुभयो: “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार रहो, जो कपट हो।” (लूका १२:१) यी गैरईश्‍वरतान्त्रिक मनोवृत्तिहरूले गर्दा फरिसीपन्थ पूर्णतया कपट्याइँपूर्ण थियो। त्यो पक्कै पनि मसीही मण्डलीभित्र लागू गर्नु हुने कुरा थिएन। तापनि, यहूदी अनुसन्धानहरूले फरिसीहरूलाई सदुकीहरूभन्दा स्वीकार्य ढंगमा प्रस्तुत गर्छ। अब हामी यस रूढीवादी समूहलाई हेरौं।

सदुकीहरू

सम्भवतः सदुकी भन्‍ने नाउँ सुलेमानकालीन मुख्य पूजाहारी सादोकबाट लिइएको हो। (१ राजा २:३५) मन्दिर र पौरोहित्यसम्बन्धी कामकुराहरूको प्रतिनिधित्व गर्ने रूढीवादी समूह सदुकीहरूले गठन गरे। फरिसीहरूजस्तो शिक्षा र भक्‍तिमा आफ्नो अधिकार दाबी नगरिकन सदुकीहरूले आफ्नो अधिकार वंशावली र ओहदामा राख्थे। मन्दिर सा.यु. ७० मा विनाश नहोउन्जेल तिनीहरूले फरिसीहरूका प्रवर्तनहरूको विरोध गरे।

सदुकीहरूले पूर्वनिर्धारित भविष्यका साथै व्यवस्थाको पाँच पुस्तकमा स्पष्टसित उल्लेख नभएको कुनै पनि शिक्षा परमेश्‍वरको वचनमा अन्य कतै लेखिएको भए तापनि त्यसलाई स्वीकार्न समेत इन्कार गरे। वास्तवमा भन्‍ने हो भने, यी विषयहरूमा “विवाद गर्नु तिनीहरू सद्‌गुण” ठान्थे। (द जुविश इन्साइक्लोपीडिया) यसले हामीलाई पुनरुत्थानको विषयमा तिनीहरूले येशूसित गरेको चुनौतीको स्मरण गराउँछ।

सात पतिकी विधवाको उदाहरण चलाएर सदुकीहरूले यस्तो प्रश्‍न गरे: “पुनरुत्थानमा ती सातै जनामध्ये त्यो कसको स्वास्नी हुनेछ?” निस्सन्देह, त्यस काल्पनिक विधवाको १४ वा २१ पतिहरू भएको पनि हुन सक्छ। येशूले तिनीहरूलाई बुझाउनुभयो: “पुनरुत्थानमा नता विवाह गर्दछन्‌, न विवाह गरिदिन्छन्‌।”—मत्ती २२:२३-३०.

सदुकीहरूले मोशाबाहेक अन्य प्रेरित लेखकहरू स्वीकार्न इन्कार गर्छन्‌ भन्‍ने कुरा थाहा पाएर आफ्नो तर्क साबित गर्न येशूले व्यवस्थाको पाँच पुस्तकबाट उद्धरण गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “मुर्दाहरूका विषयमा भने तिनीहरूको पुनरुत्थान हुन्छ भनी के तिमीहरूले मोशाको पुस्तकमा पोथ्राको वृतान्तमा पढ़ेका छैनौ? कसरी परमेश्‍वरले तिनीसित ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकूबका परमेश्‍वर हुँ’ भनी भन्‍नुभएको थियो। उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जिउँदाहरूका हुनुहुन्छ।”—मर्कूस १२:२६, २७.

येशू र उहाँका अनुयायीहरूलाई सताउनेहरू

मसीह आउनेछन्‌ भनी अलिकता मात्र विश्‍वास भएको भए तापनि उहाँलाई पर्खनुभन्दा सदुकीहरू आफै राज्य चलाउन चाहन्थे। रोमसितको सम्झौताअनुरूप सदुकीहरूले मन्दिरको कामकुरा सञ्चालन गर्नेथिए र कुनै पनि कुरामा मसीहले हस्तक्षेप गरेको चाहँदैनथे। आफ्नो ओहदाको लागि तिनीहरूले येशूलाई खतरासरह ठानेकाले उहाँलाई मार्ने दाउपेच रच्न फरिसीहरूसित हात मिलाए।—मत्ती २६:५९-६६; यूहन्‍ना ११:४५-५०.

राजनीति प्रवृत्त हुनाले रोमप्रतिको निष्ठालाई तर्कपूर्ण विवादको विषय बनाउँदै यसो भनेर कराए: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” (यूहन्‍ना १९:६, १२-१५) येशूको मृत्यु र पुनरुत्थानपश्‍चात्‌ मसीही धर्मको फैलावट रोक्न अग्रसर हुने सदुकीहरू थिए। (प्रेरित ४:१-२३; ५:१७-४२; ९:१४) सा.यु. ७० मा मन्दिरको विनाशपश्‍चात्‌ यो समूहको अस्तित्व रहेन।

जागा रहनु पर्ने आवश्‍यकता

येशूको चेतावनी कति उपयुक्‍त साबित भयो! हो, हामीहरू “फरिसी र सदुकीहरूको खमीरबाट” बच्नु आवश्‍यक छ। यो बुझ्न हामीले यहूदी समुदाय र मसीहीजगतको खराब परिणाम मात्र हेरे पुग्छ।

तर यसको विपरीत, संसारभरिका यहोवाका साक्षीहरूको ७५,५०० भन्दा बढी मण्डलीमा दक्ष प्राचीनहरू ‘आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रहन्छन्‌।’ (१ तिमोथी ४:१६) सम्पूर्ण बाइबललाई तिनीहरू परमेश्‍वरको प्रेरित वचनको रूपमा स्वीकार्छन्‌। (२ तिमोथी ३:१६) प्रवर्तकहरू भएर आफ्नै धार्मिक प्रक्रियाहरू प्रवर्धन गर्नुभन्दा यस पत्रिकालाई निर्देशनको प्रमुख साधनको रूपमा प्रयोग गर्ने बाइबल आधारित संगठनको डोऱ्‍याइ अन्तर्गत तिनीहरू एकताबद्ध भएर काम गर्छन्‌।—मत्ती २४:४५-४७.

त्यसको परिणाम? बाइबल बुझ्न, त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्न र त्यसबारे अरूलाई सिकाउँदा संसारभरिका लाखौं व्यक्‍तिहरूको आध्यात्मिकता बढेको छ। यो कसरी सम्पन्‍न भइरहेको छ भनी हेर्न तपाईंको घर नजिकैको यहोवाका साक्षीहरूको मण्डली वा यस पत्रिकाका प्रकाशकलाई लेखे कसो होला?

[पृष्ठ २६-मा भएको पेटी]

येशूले आफ्ना श्रोताहरूलाई ध्यानमा राख्नुभयो

आफ्ना श्रोताहरूको विचारधारालाई ध्यानमा राख्दै येशू ख्रीष्टले स्पष्टसित सिकाउनुभयो। उदाहरणको लागि, फेरि ‘जन्मने’ विषयमा फरिसी निकोदेमसलाई भन्‍नुहुँदा उहाँले त्यसरी सिकाउनुभयो। निकोदेमसले सोधे: “मानिस बूढ़ो भएर कसरी जन्म[न]सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रोचोटि पसेर जन्मनसक्छ?” (यूहन्‍ना ३:१-५) यहूदी धर्म अपनाउनेहरू फेरि जन्मनु आवश्‍यक छ भन्‍ने फरिसीहरूको विश्‍वास र धर्मगुरुहरूको भनाइअनुसार धर्म परिवर्तन गर्नेहरूलाई “नवजात शिशु[सित]” मिलान गरिएको भए तापनि निकोदेमस किन यतिको छक्क परे?

जोन लाइटफुटद्वारा लिखित अ कमेन्टरी अन द न्यु टेस्टामेन्ट फ्रम द ताल्मुद एण्ड हिब्राइका-ले यस्तो अन्तर्दृष्टि प्रदान गर्छ: “इस्राएली हुन चाहिने दक्षतासम्बन्धी यहूदीहरूको सामान्य विचारधाराले . . . अझै पनि फरिसीहरूको मनमा जरा गडेको छ, जो आफ्नो पूर्वाग्रहलाई हटाउन गाह्रो मान्छन्‌। . . . : ‘इस्राएलीहरूसित . . . मसीहको राज्यमा प्रवेश गर्ने हक छ, अतः के यस अभिव्यक्‍तिको अर्थ, नयाँ इस्राएली हुन आमाको कोखमा पुनः पस्नु आवश्‍यक छ भनेको हो?’”—तुलना गर्नुहोस्‌ मत्ती ३:९.

धर्म परिवर्तन गर्नेहरूका निम्ति नयाँ जन्मको आवश्‍यकता निकोदेमसले मानी लिए तापनि प्राकृतिक यहूदीहरूका लागि त्यस्तो प्रक्रिया, अर्थात्‌ कोखमा पुनः प्रवेश गर्नु तिनको दृष्टिकोणमा असम्भव हुनेथियो।

अर्को अवसरमा, येशूले ‘आफ्नो देह खाने र रगत पिउनेबारे’ कुरा गर्नुहुँदा थुप्रै चिढिए। (यूहन्‍ना ६:४८-५५) तर “प्रतीकात्मक अर्थमा कुरा गर्दा यहूदीहरूको निम्ति ‘खाने र पिउनेजस्ता’ शब्दावलीहरू सामान्य कुरा थियो” भनी लाइटफुट इंकित गर्छन्‌। ताल्मुदमा “मसीहलाई खाने” अभिव्यक्‍ति उल्लेख भएको पनि तिनले लेखे।

अतः फरिसी र सदुकीहरूको दृष्टिकोणले प्रथम शताब्दीको यहूदी सोचाइमाथि निकै प्रभाव पारेको थियो। त्यसकारण पूर्ण औचित्यका साथ येशूले सदा आफ्नो श्रोताको ज्ञान र अनुभवलाई विचार पुऱ्‍याउनु हुन्थ्यो। उहाँ महान्‌ शिक्षक हुन सक्नुभएको थुप्रै कारणहरूमध्ये यो पनि एक थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने