प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 अगस्त pp. २०-२५
  • यहोवाको मण्डलीमा तपाईँको स्थान छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको मण्डलीमा तपाईँको स्थान छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मण्डलीमा हामी प्रत्येकको भूमिका छ
  • मण्डलीमा तपाईँको स्थान छ भन्‍ने कुरा बुझ्नुहोस्‌
  • मण्डलीको उत्थान गर्न आफूसित भएको वरदान प्रयोग गर्नुहोस्‌
  • मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मण्डलीले यहोवाको प्रशंसा गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मण्डली सुदृढ होओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवाको मण्डलीमा अरूको स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 अगस्त pp. २०-२५

अध्ययन लेख ३४

यहोवाको मण्डलीमा तपाईँको स्थान छ!

“जसरी शरीर एउटै छ तर यसका अङ्‌गहरू धेरै छन्‌ अनि शरीरका अङ्‌गहरू धेरै भए तापनि शरीर एउटै हो, ख्रिष्ट पनि त्यस्तै हुनुहुन्छ।”—१ कोरि. १२:१२.

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

परिचयa

१. हामीले कस्तो सुअवसर पाएका छौँ?

यहोवाको मण्डलीको भाग हुन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! हामी शान्तिप्रिय र आनन्दित मानिसहरूले भरिएको आध्यात्मिक प्रमोदवनमा बसिरहेका छौँ। यहोवाको मण्डलीमा तपाईँको स्थान के हो?

२. प्रेषित पावलले आफ्ना केही पत्रमा कस्तो उदाहरण चलाए?

२ प्रेषित पावलले परमेश्‍वरको प्रेरणा पाएर लेखेका केही पत्रमा चलाएको एउटा उदाहरणबाट मण्डलीमा आफ्नो स्थानबारे हामी धेरै कुरा सिक्न सक्छौँ। ती प्रत्येक पत्रमा पावलले मण्डलीलाई मानव शरीरसित तुलना गरे। तिनले मण्डलीका भाइबहिनीलाई चाहिँ शरीरका अङ्‌गहरूसित तुलना गरे।—रोमी १२:४-८; १ कोरि. १२:१२-२७; एफि. ४:१६.

३. यस लेखमा हामी कुन तीन वटा पाठ सिक्नेछौँ?

३ यस लेखमा हामी पावलले चलाएको उदाहरणबाट सिक्न सक्ने तीन वटा महत्त्वपूर्ण पाठबारे छलफल गर्नेछौँ। पहिलो, यहोवाको मण्डलीमा हामी प्रत्येकको स्थानb छ भनेर सिक्नेछौँ। दोस्रो, मण्डलीमा आफ्नो स्थान के हो भनेर बुझ्न गाह्रो भइरहेको छ भने हामी के गर्न सक्छौँ, त्यसबारे छलफल गर्नेछौँ। अनि तेस्रो, परमेश्‍वरको मण्डलीमा आफूले पाएको भूमिका पूरा गर्न हामी किन व्यस्त रहनुपर्छ भनेर बुझ्नेछौँ।

यहोवाको मण्डलीमा हामी प्रत्येकको भूमिका छ

४. रोमी १२:४, ५ बाट हामी के सिक्न सक्छौँ?

४ पावलले चलाएको उदाहरणबाट हामीले सिक्न सक्ने पहिलो पाठ भनेको यहोवाको परिवारमा हामी प्रत्येकको महत्त्वपूर्ण स्थान छ। पावल आफ्नो उदाहरण यसरी सुरु गर्छन्‌: “जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्‌ग छन्‌ तर सबै अङ्‌गको काम एउटै हुँदैन, त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्‌गहरू हौँ।” (रोमी १२:४, ५) पावलले के भन्‍न खोज्दै थिए? मण्डलीमा सबैको भूमिका फरक-फरक छ तर हामी प्रत्येक नै बहुमूल्य छौँ।

मण्डलीमा सबैको भूमिका फरक-फरक छ तर हामी प्रत्येक नै बहुमूल्य छौँ (अनुच्छेद ५-१२ हेर्नुहोस्‌)d

५. यहोवाले मण्डलीलाई के-कस्ता “वरदान” दिनुभएको छ?

५ मण्डलीमा स्थान पाएकाहरूबारे सोच्दा तपाईँ हामीमाझ अगुवाइ लिइरहेकाहरूलाई सबैभन्दा पहिला सम्झनुहुन्छ होला। (१ थिस्स. ५:१२; हिब्रू १३:१७) हुन पनि यहोवाले आफ्नो मण्डलीलाई ख्रिष्टमार्फत “वरदानको रूपमा पुरुषहरू” दिनुभएको छ। (एफि. ४:८) “वरदानको रूपमा पुरुषहरू”-मा परिचालक निकायका सदस्यहरू, परिचालक निकायका नियुक्‍त सहयोगीहरू, शाखा समितिका सदस्यहरू, परिभ्रमण निरीक्षकहरू, विभिन्‍न स्कुलका प्रशिक्षकहरू, मण्डलीका एल्डरहरू र सहायक सेवकहरू पर्छन्‌। यी भाइहरू यहोवाका बहुमूल्य भेडाहरूको हेरचाह गर्न र मण्डलीको हितको लागि सेवा गर्न पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका छन्‌।—१ पत्रु. ५:२, ३.

६. पहिलो थिस्सलोनिकी २:६-८ अनुसार पवित्र शक्‍तिद्वारा नियुक्‍त भाइहरू के गर्न प्रयत्न गर्छन्‌?

६ यी भाइहरू मण्डलीमा विभिन्‍न जिम्मेवारी सम्हाल्न पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका छन्‌। जसरी शरीरका विभिन्‍न अङ्‌गहरू, जस्तै: हात र खुट्टाको कामले पूरै शरीरलाई फाइदा हुन्छ, त्यसैगरि पवित्र शक्‍तिद्वारा नियुक्‍त भाइहरूको कडा मेहनतले गर्दा पूरै मण्डलीको हित हुन्छ। तिनीहरू आफ्नै महिमा खोज्दैनन्‌। बरु आफ्ना भाइबहिनीको उत्थान गर्न र उनीहरूलाई बलियो पार्न प्रयत्न गर्छन्‌। (१ थिस्सलोनिकी २:६-८ पढ्‌नुहोस्‌) यस्ता निःस्वार्थी र आध्यात्मिक रूपमा परिपक्व भाइहरू दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौँ।

७. पूर्ण-समय सेवामा लागेका थुप्रै भाइबहिनीले कस्ता आशिष्‌ पाएका छन्‌?

७ मण्डलीका कोही-कोही मिसनरी, विशेष अग्रगामी वा नियमित अग्रगामीको रूपमा सेवा गर्न नियुक्‍त हुन्छन्‌। संसारभरि थुप्रै भाइबहिनीले प्रचार गर्ने र चेला बनाउने कामलाई नै आफ्नो करिअर बनाएका छन्‌। यस काममा भाग लिएर तिनीहरूले थुप्रैलाई ख्रिष्ट येसुको चेला बन्‍न मदत गरेका छन्‌। प्रायजसो यी पूर्ण-समय प्रचारकहरूसित भौतिक कुराहरू थोरै मात्र हुन्छ तर यहोवाले तिनीहरूलाई इनामस्वरूप थुप्रै आशिष्‌ दिनुभएको छ। (मर्कु. १०:२९, ३०) यी प्रिय भाइबहिनी हाम्रो लागि असाध्यै बहुमूल्य छन्‌ र तिनीहरू पनि मण्डलीको भाग भएकोमा खुसी छौँ।

८. सुसमाचार प्रचार गर्ने प्रत्येक प्रकाशक यहोवाको लागि किन बहुमूल्य छन्‌?

८ के नियुक्‍त भाइहरू र पूर्ण-समय सेवकहरूले मात्र मण्डलीमा स्थान पाएका छन्‌? त्यसो त होइन। सुसमाचार प्रचार गर्ने प्रत्येक प्रकाशक परमेश्‍वर र मण्डलीको लागि बहुमूल्य छन्‌। (रोमी १०:१५; १ कोरि. ३:६-९) वास्तवमा मण्डलीको एउटा सबैभन्दा महत्त्वपूर्ण लक्ष्य भनेको मानिसहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको चेला बनाउनु हो। (मत्ति २८:१९, २०; १ तिमो. २:४) मण्डलीसित सङ्‌गत गर्ने बप्तिस्मा गरेका र नगरेका सबै प्रकाशकले चेला बनाउने कामलाई प्रथम स्थान दिने प्रयास गर्छन्‌।—मत्ति २४:१४.

९. हाम्रा ख्रिष्टियन बहिनीहरूको हामी किन मोल गर्छौँ?

९ यहोवाले ख्रिष्टियन बहिनीहरूलाई मण्डलीमा महत्त्वपूर्ण स्थान दिएर उनीहरूको सम्मान गर्नुभएको छ। यहोवाको मण्डलीमा वफादार भई सेवा गर्ने पत्नीहरू, आमाहरू, विधवाहरू र अविवाहित बहिनीहरूको उहाँ मोल गर्नुहुन्छ। धर्मशास्त्रमा यहोवालाई खुसी तुल्याएका थुप्रै उदाहरणीय स्त्रीबारे चर्चा गरिएको छ। तिनीहरूले बुद्धि, विश्‍वास, जोस, साहस, उदारता र असल काम गर्ने सन्दर्भमा राम्रो उदाहरण बसालेका छन्‌। (लुका ८:२, ३; प्रेषि. १६:१४, १५; रोमी १६:३, ६; फिलि. ४:३; हिब्रू ११:११, ३१, ३५) हाम्रो मण्डलीमा पनि यस्तै सुन्दर गुणहरू भएका ख्रिष्टियन बहिनीहरू दिनुभएकोमा हामी यहोवालाई धेरै धन्यवाद दिन्छौँ।

१०. हाम्रा वृद्ध भाइबहिनीको हामी किन मोल गर्छौँ?

१० हाम्रो मण्डलीमा भएका थुप्रै वृद्ध भाइबहिनी पनि हाम्रो लागि आशिष्‌ हुन्‌। केही मण्डलीमा आफ्नो पूरै जीवन वफादार भई यहोवाको सेवा गरेका वृद्ध भाइबहिनीहरू छन्‌। अरू केही वृद्धवृद्धाले भने भर्खर-भर्खर मात्र यहोवाबारे सुन्‍न पाएका छन्‌। जेहोस्‌, हाम्रा यी भाइबहिनीले वृद्धावस्थाले गर्दा थुप्रै शारीरिक समस्या झेलिरहेका हुन सक्छन्‌। यी समस्याहरूले गर्दा तिनीहरू मण्डलीमा र प्रचारकार्यमा आफूले चाहेजति गर्न सक्दैनन्‌। तैपनि यी वृद्ध भाइबहिनी प्रचारकार्यमा सकेजति गर्छन्‌ अनि आफूसित भएको पूरै शक्‍ति खर्च गरेर अरूलाई प्रोत्साहन र तालिम दिन्छन्‌। त्यति मात्र होइन तिनीहरूले जीवनमा बटुलेका अनुभवहरूबाट पनि हामी लाभ उठाउँछौँ। तिनीहरू यहोवा र हाम्रो लागि साँच्चै अनमोल छन्‌!—हितो. १६:३१.

११-१२. तपाईँको मण्डलीका जवान भाइबहिनीबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभएको छ?

११ हाम्रा जवान भाइबहिनीबारे पनि सोच्नुहोस्‌। सैतानको अधीनमा भएको र त्यसको दुष्ट सोचाइको प्रभावमा परेको यस संसारमा तिनीहरूले हुर्कँदै जाँदा थुप्रै चुनौतीको सामना गर्नुपर्छ। (१ युह. ५:१९) तर यी जवान भाइबहिनीले सभामा टिप्पणी दिएको, प्रचारकार्यमा भाग लिएको र साहसी भई आफ्नो विश्‍वासको पक्षमा बोलेको देख्दा हामी सबैले प्रोत्साहन पाउँछौँ। हो, यहोवाको मण्डलीमा तपाईँ जवान भाइबहिनीको महत्त्वपूर्ण स्थान छ।—भज. ८:२.

१२ तर हाम्रा केही भाइबहिनीलाई आफू पनि मण्डलीको महत्त्वपूर्ण अङ्‌ग हुँ भनेर स्विकार्न गाह्रो लाग्छ। यहोवाको मण्डलीमा हामी प्रत्येकको स्थान छ भनेर बुझ्न हामीलाई केले मदत गर्छ? अब त्यसबारे विचार गरौँ।

मण्डलीमा तपाईँको स्थान छ भन्‍ने कुरा बुझ्नुहोस्‌

१३-१४. कसै-कसैलाई आफू मण्डलीको लागि बहुमूल्य छैनँ जस्तो किन लाग्न सक्छ?

१३ पावलले चलाएको उदाहरणबाट सिक्न सक्ने दोस्रो पाठबारे विचार गरौँ। तिनले आज थुप्रैले सामना गरिरहेको एउटा समस्यामा हाम्रो ध्यान खिचेका छन्‌। त्यो हो, थुप्रैलाई आफू मण्डलीको लागि बहुमूल्य छु भन्‍ने कुरा स्विकार्न गाह्रो लाग्छ। पावल यस्तो लेख्छन्‌: “खुट्टाले ‘म हात होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ’ भन्दैमा के त्यो शरीरको भाग हुँदैन? अनि कानले ‘म आँखा होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ’ भन्दैमा के त्यो शरीरको भाग हुँदैन?” (१ कोरि. १२:१५, १६) पावल के भन्‍न खोज्दै थिए?

१४ यदि तपाईँले आफूलाई मण्डलीका अरू भाइबहिनीसित तुलना गर्नुभयो भने आफू मण्डलीको लागि केही कामको छैनँ जस्तो लाग्न सक्छ। कोही-कोही सिकाउन, व्यवस्थित तरिकाले काम गर्न वा अरूलाई प्रोत्साहन र सान्त्वना दिन सिपालु हुन सक्छन्‌। तपाईँलाई आफू त्यत्तिको सिपालु छैनँ जस्तो लाग्ला। यसबाट तपाईँ नम्र हुनुहुन्छ भन्‍ने देखिन्छ। (फिलि. २:३) तर होसियार हुनुहोस्‌! यदि तपाईँ जहिले पनि आफूलाई विशेष खुबी भएका कुनै भाइबहिनीसित तुलना गर्नुहुन्छ भने तपाईँ निराश मात्र हुनुहुनेछ। पावलले बताएको जस्तै तपाईँलाई मण्डलीमा आफ्नो कुनै स्थान छैन जस्तो लाग्न सक्छ। यस्तो भावनासित लड्‌न तपाईँलाई केले मदत गर्छ?

१५. पहिलो कोरिन्थी १२:४-११ अनुसार हामीले आफूसित भएको वरदानबारे कुन कुरा मनमा राख्नुपर्छ?

१५ यो कुरा मनमा राख्नुहोस्‌: यहोवाले प्रथम शताब्दीका केही ख्रिष्टियनलाई अद्‌भुत कामहरू गर्न पवित्र शक्‍तिको वरदान दिनुभएको थियो तर सबैले एउटै किसिमको वरदान भने पाएका थिएनन्‌। (१ कोरिन्थी १२:४-११ पढ्‌नुहोस्‌) यहोवाले उनीहरूलाई विभिन्‍न वरदान र क्षमता दिनुभएको थियो तर उहाँको लागि प्रत्येक ख्रिष्टियन नै बहुमूल्य थिए। आज हामीले ती ख्रिष्टियनहरूले जस्तै अद्‌भुत कामहरू गर्न पवित्र शक्‍तिको वरदान पाएका छैनौँ। तर यो सिद्धान्तको रूपमा हामीलाई पनि लागू हुन्छ। हामी सबैसित एउटै किसिमको सीप छैन होला तर हामी प्रत्येक नै यहोवाको लागि बहुमूल्य छौँ।

१६. प्रेषित पावलको कुन सल्लाह हामीले लागू गर्नुपर्छ?

१६ आफूलाई अरू ख्रिष्टियनसँग तुलना गर्नुको साटो हामीले प्रेषित पावलले परमेश्‍वरको प्रेरणाद्वारा दिएको यो सल्लाह लागू गर्नुपर्छ: “हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गला. ६:४.

१७. पावलको सल्लाह लागू गऱ्‍यौँ भने हामीलाई कस्तो लाभ हुन्छ?

१७ पावलको सल्लाह लागू गऱ्‍यौँ र आफ्नै काम जाँच्यौँ भने हामीले आफूमा कुनै विशेष वरदान र क्षमता भएको याद गर्न थाल्छौँ होला। उदाहरणको लागि, कुनै एल्डर मञ्चबाट भाषण दिन त्यत्ति सिपालु छैनन्‌ होला तर तिनी चेला बनाउने काममा प्रभावकारी हुन सक्छन्‌। अथवा तिनी मण्डलीका अरू एल्डरजस्तो व्यवस्थित तरिकाले काम गर्न सक्दैनन्‌ होला तर तिनी मायालु गोठालोको रूपमा चिनिन्छन्‌, जससित भाइबहिनीहरू बाइबलआधारित सल्लाह माग्न सजिलो महसुस गर्छन्‌। अथवा तिनले अतिथि-सत्कार गर्ने सन्दर्भमा राम्रो नाम कमाएका हुन सक्छन्‌। (हिब्रू १३:२, १६) हामीले आफूसित कस्तो क्षमता र वरदान छ भनेर राम्रोसित बुझेका छौँ भने आफूले पनि मण्डलीको लागि केही योगदान दिन सक्छु भन्‍ने महसुस गर्नेछौँ। अनि आफूसित भन्दा फरक वरदान भएका भाइहरूको ईर्ष्या पनि गर्नेछैनौँ।

१८. हामी आफ्नो क्षमतालाई कसरी तिखार्न सक्छौँ?

१८ यहोवाको मण्डलीमा हामीले जुनसुकै स्थान पाएको भए तापनि हामी सबै नै यहोवाको सेवामा प्रगति गर्न र आफ्नो क्षमतालाई तिखार्न इच्छुक हुनुपर्छ। हामीले अझ प्रगति गर्न सकोस्‌ भनेर यहोवाले आफ्नो सङ्‌गठनमार्फत राम्रो तालिमको प्रबन्ध गर्नुभएको छ। उदाहरणको लागि, मध्यहप्ताको सभामा हामी प्रचारकार्यमा अझ प्रभावकारी हुन मदत गर्ने निर्देशनहरू पाउँछौँ। के तपाईँ यस तालिमबाट पूरापूर फाइदा उठाउँदै हुनुहुन्छ?

१९. राज्य प्रचारकहरूका लागि स्कुलमा जाने लक्ष्य तपाईँ कसरी हासिल गर्न सक्नुहुन्छ?

१९ हामीलाई तालिम दिने अर्को उत्कृष्ट प्रबन्ध भनेको राज्य प्रचारकहरूका लागि स्कुल हो। यस स्कुलमा जान चाहनेहरूले पूर्ण-समय सेवा गरिरहेको हुनुपर्छ र उनीहरू २३ देखि ६५ वर्षबीचको हुनुपर्छ। तपाईँलाई आफू यो लक्ष्यसम्म कहिल्यै पुग्न सक्दिनँ जस्तो लाग्न सक्छ। यस स्कुलमा के-के कारणले जान सक्दिनँ भनेर सूची बनाउनुको साटो तपाईँ किन जान चाहनुहुन्छ, त्यसको सूची बनाउनुहोस्‌। अनि यस स्कुलको लागि चाहिने योग्यता हासिल गर्न राम्रो योजना बनाउनुहोस्‌। यहोवाको मदत र आफ्नो कडा मेहनतले गर्दा तपाईँले असम्भव जस्तो लागेको कुरा पनि गर्न सक्नुहुनेछ।

मण्डलीको उत्थान गर्न आफूसित भएको वरदान प्रयोग गर्नुहोस्‌

२०. रोमी १२:६-८ बाट हामी के सिक्न सक्छौँ?

२० पावलले चलाएको उदाहरणबाट सिक्न सक्ने तेस्रो पाठ रोमी १२:६-८ मा पाइन्छ। (पढ्‌नुहोस्‌) फेरि पनि पावलले मण्डलीमा भएकाहरूले फरक-फरक वरदान पाएका छन्‌ भनेर बताएका छन्‌। तर यहाँ भने हामीले आफूसित भएको जुनसुकै वरदान मण्डलीको उत्थान गर्न र यसलाई बलियो पार्न प्रयोग गर्नुपर्छ भनेर तिनले जोड दिएका छन्‌।

२१-२२. रोबर्ट र फेलिसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

२१ रोबर्टc भन्‍ने एक जना भाइको उदाहरण विचार गर्नुहोस्‌। केही समय विदेशी भूमिमा सेवा गरेपछि तिनलाई आफ्नै देशको बेथेलमा सेवा गर्न खटाइयो। हुनत तिनलाई तिनमा कुनै कमी भएकोले असाइनमेन्ट परिवर्तन भएको होइन भनेर आश्‍वासन दिइएको थियो तैपनि तिनले यसो भने: “मैले आफैबारे राखेको गलत दृष्टिकोण अर्थात्‌ म असफल भएँ भन्‍ने भावना हटाउन धेरै महिना लाग्यो। कहिलेकाहीँ त बेथेल सेवा छोडूँ कि जस्तो पनि लाग्थ्यो।” तिनी आफ्नो सेवामा कसरी फेरि आनन्दित हुन सके? हामी अहिलेको असाइनमेन्टमा अझै उपयोगी हुन सकोस्‌ भनेर परमेश्‍वरले हामीलाई पुरानो असाइनमेन्टमा तालिम दिनुभएको हो भनेर एक जना एल्डरले तिनलाई सम्झाए। विगतलाई मात्र सम्झेर बसिरहनुको साटो अहिले आफूले गर्न सक्ने कुरामा ध्यान दिन थाल्नुपर्छ भनेर रोबर्टले बुझे।

२२ भाइ फेलिस एपिस्कोपोले पनि त्यस्तै चुनौतीको सामना गरे। तिनी र तिनकी पत्नीले १९५६ मा गिलियड स्कुलबाट स्नातक गरे अनि बोलिभियामा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरे। सन्‌ १९६४ मा तिनीहरूको छोरा जन्मियो। फेलिसले यसो भने: “आफूलाई असाध्यै मन परेको असाइनमेन्ट छोड्‌न हामीलाई निकै गाह्रो भयो। लगभग एक वर्ष त म आफूलाई धिक्कार्दै बसेँ। तर यहोवाको मदतले गर्दा मैले आफ्नो सोचाइ बदल्न सकेँ अनि बुबा बनेपछिको नयाँ जिम्मेवारीलाई स्विकार्न थालेँ।” के तपाईँले पनि रोबर्ट र फेलिसले जस्तै महसुस गर्नुभएको छ? अहिले आफूसित पहिलाको सुअवसर नभएकोले के तपाईँ निराश हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो ध्यान अन्तै मोड्‌नुहोस्‌ अनि यहोवा र आफ्ना भाइबहिनीको लागि अहिले के गर्न सक्नुहुन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ खुसी हुनुहुनेछ। आफूसित भएको वरदान र क्षमता प्रयोग गरेर अरूलाई मदत गर्ने काममा व्यस्त रहनुहोस्‌। यसरी मण्डलीको उत्थान हुने काममा लाग्दा तपाईँ आनन्दित हुनुहुनेछ।

२३. हामीले के गर्न समय निकाल्नुपर्छ? अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२३ हामी प्रत्येक नै यहोवाको नजरमा बहुमूल्य छौँ। हामी उहाँको परिवारको सदस्य भएको उहाँ चाहनुहुन्छ। भाइबहिनीको उत्थान गर्न हामी के गर्न सक्छौँ भनेर मनन गऱ्‍यौँ अनि त्यसको लागि कडा मेहनत गऱ्‍यौँ भने हामीले मण्डलीमा आफ्नो कुनै स्थान छैन भनेर महसुस गर्ने सम्भावना कम हुन्छ। तर मण्डलीका अरू भाइबहिनीलाई हेर्ने हाम्रो दृष्टिकोणबारे चाहिँ के भन्‍न सकिन्छ? हामी उनीहरूलाई माया र आदर गर्छौँ भनेर कसरी देखाउन सक्छौँ? अर्को लेखमा हामी यो महत्त्वपूर्ण विषयबारे छलफल गर्नेछौँ।

तपाईँले यी पदहरूबाट के सिक्नुभयो?

  • रोमी १२:४, ५

  • १ कोरिन्थी १२:१५, १६

  • रोमी १२:६-८

गीत २४ आऊ न यहोवाको पर्वतमा

a हामी सबै जना यहोवा हामीलाई बहुमूल्य ठान्‍नुहुन्छ भनेर महसुस गर्न चाहन्छौँ। तर कहिलेकाहीँ हामीलाई आफू यहोवाको लागि केही कामको छैनँ जस्तो लाग्न सक्छ। यस लेखले मण्डलीमा हामी प्रत्येकको महत्त्वपूर्ण स्थान छ भनेर बुझ्न मदत दिनेछ।

b थप व्याख्या: यहोवाको मण्डलीमा हामीले पाएको स्थानले मण्डलीको उत्थान गर्न र यसलाई बलियो बनाउन हामीले खेल्ने भूमिकालाई बुझाउँछ। यो हाम्रो जात, सम्प्रदाय, आर्थिक स्तर, सामाजिक ओहदा, रहनसहन वा शैक्षिक योग्यतामा निर्भर हुँदैन।

c नाम परिवर्तन गरिएको छ।

d चित्रको व्याख्या: यी तीन वटा तस्बिरमा मण्डलीको सभा सुरु हुनुअघि, सभाको दौडान र सभा सिद्धिएपछिको दृश्‍य देखाइएको छ। तस्बिर १: एक एल्डर नयाँ व्यक्‍तिलाई न्यानो स्वागत गर्छन्‌, एक जवान भाइ माइकहरू मिलाउँछन्‌ र एक बहिनी एक जना वृद्ध दिदीसँग कुरा गर्छिन्‌। तस्बिर २: साना-ठूला सबैले प्रहरीधरहरा अध्ययनमा टिप्पणी दिन्छन्‌। तस्बिर ३: एक दम्पती राज्यभवनको सरसफाइमा भाग लिन्छन्‌। एउटी आमा आफ्नी छोरीलाई अनुदान खसाल्न मदत गर्छिन्‌। एक जवान भाइ साहित्यहरू मिलाउँछन्‌ र एक भाइ वृद्ध दिदीलाई प्रोत्साहन दिन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने