प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 १०/१ pp. २८-३२
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असल मित्रताको आधार के हो?
  • असल मित्र कसरी बनाउन सक्छौं?
  • मित्रता कहिले तोड्‌नुपर्ने हुन्छ
  • असल मित्रता कायम राख्नुहोस्‌
  • तपाईं चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ३. परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • कसरी गाँस्न सकिन्छ होला मित्रता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 १०/१ pp. २८-३२

प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌

“यी कुरा म तिमीहरूलाई आज्ञा गर्दछु, कि तिमीहरू आपसमा प्रेम गर।”—यूह. १५:१७.

१. प्रथम शताब्दीका ख्रीष्टियानहरू किन घनिष्ठ मित्र भइरहनै पर्थ्यो?

पृथ्वीमा आफ्नो अन्तिम रात येशूले आफ्ना वफादार चेलाहरूलाई एकअर्काको मित्र भइरहन प्रोत्साहन दिनुभयो। तिनीहरूबीचको प्रेमबाट नै तिनीहरू उहाँका अनुयायीहरू हुन्‌ भनेर चिनिने कुरा त्यसदिन साँझ उहाँले बताउनुभयो। (यूह. १३:३५) आइपर्ने परीक्षा सहन र येशूले अब खटाउने काम पूरा गर्न चाहन्थे भने तिनीहरू आपसमा घनिष्ठ भइरहनै पर्थ्यो। निश्‍चय नै प्रथम शताब्दीका ख्रीष्टियानहरू परमेश्‍वरप्रतिको अटुट भक्‍ति र एकअर्काप्रतिको वफादारीको लागि चिनिन्थे।

२. (क) हामी के गर्न कटिबद्ध छौं र किन? (ख) हामी कुनकुन प्रश्‍नमाथि छलफल गर्नेछौं?

२ प्रथम शताब्दीका ख्रीष्टियानहरूले बसालेको उदाहरणलाई अहिले पनि पछ्याइरहेको विश्‍वव्यापी संगठनका सदस्यहरूमाझ हुन पाउनु कत्ति ठूलो आनन्द! आपसमा साँचो प्रेम देखाउनू भन्‍ने येशूको आज्ञा पालन गर्न हामी कटिबद्ध छौं। तर यस आखिरी दिनमा धेरैजसो मानिस वफादार छैनन्‌ र स्वाभाविक प्रेम पनि देखाउँदैनन्‌। (२ तिमो. ३:१-३) तिनीहरूले गाँस्ने मित्रता प्रायः खोक्रो र स्वार्थी हुन्छ। साँचो ख्रीष्टियानको हाम्रो परिचयलाई कायम राख्न हामी त्यस्ता मानिसहरूजस्तो फिटिक्कै हुनुहुँदैन। त्यसोभए निम्न कुरालाई विचार गरौं: असल मित्रताको आधार के हो? असल मित्र कसरी बनाउन सक्छौं? कस्तो बेला मित्रता तोड्‌नुपर्ने हुन सक्छ? उत्थानदायी मित्रता कसरी कायम राख्न सक्छौं?

असल मित्रताको आधार के हो?

३, ४. एकदमै बलियो मित्रताको आधार के हो र किन?

३ एकदमै बलियो मित्रता यहोवाप्रतिको प्रेममा आधारित हुन्छ। राजा सुलेमानले लेखे: “मानिस एकलै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्नसक्छन्‌, तर दुई जनाले ता रोक्नसक्छन्‌। औ तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।” (उप. ४:१२) मित्रतामा यहोवालाई तेस्रो सुता बनायौं भने त्यो मित्रता अटुट हुन्छ।

४ हो, यहोवालाई प्रेम नगर्नेहरू पनि आफूले गाँसेको मित्रतामा ढुक्क छन्‌। तर मित्रता गाँस्नेहरूले यहोवालाई प्रेम गर्छन्‌ भने त्यो मित्रता मजबुत हुन्छ। असमझदारी भयो भने पनि साँचो मित्रहरू यहोवालाई प्रसन्‍न तुल्याउनेगरि आपसमा व्यवहार गर्छन्‌। साँचो ख्रीष्टियानहरूबीच फूट ल्याउन खोज्दा तिनीहरूको मित्रता तोड्‌न सकिंदो रहेनछ भनेर परमेश्‍वरका विरोधीहरूले थाह पाउनेछन्‌। यहोवाका सेवकहरूले एकअर्कालाई धोका दिनुको सट्टा मृत्यु भोग्न तयार भएको कुरा इतिहासले देखाएको छ।—१ यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।

५. रूथ र नाओमीबीचको मित्रता किन अटुट थियो?

५ निस्सन्देह, यहोवालाई प्रेम गर्नेहरूसित गाँसिएको मित्रताले हामीलाई एकदमै ढुक्क बनाउँछ। रूथ र नाओमीको मित्रता विचार गर्नुहोस्‌। तिनीहरूबीचको मित्रता बाइबलमा लिपिबद्ध सबैभन्दा प्रशंसनीय विवरणहरूमध्ये एउटा हो। तिनीहरूको मित्रता अटुट हुनुको कारण के थियो? यसको कारण रूथले नाओमीलाई भनेको यो कुराबाट स्पष्ट हुन्छ: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌। . . . मृत्युबाहेक अरू कुनै कुराले हामीलाई अलग गर्नेछैन भनी परमप्रभु तपाईंका परमेश्‍वरको सामने म यो गम्भीर शपथ खाएर भन्छु।” (रूथ १:१६, १७) कुरा स्पष्ट छ, रूथ अनि नाओमीले परमेश्‍वरलाई गहिरो प्रेम गर्थे र त्यहीबमोजिम एकअर्कासित व्यवहार गर्थे। फलस्वरूप दुवैले यहोवाबाट आशिष्‌ पाए।

असल मित्र कसरी बनाउन सक्छौं?

६-८. (क) अटुट मित्रता केको परिणाम हो? (ख) मित्र बनाउन तपाईं कसरी अग्रसर हुन सक्नुहुन्छ?

६ असल मित्रता संयोगले बन्‍ने होइन भनेर रूथ र नाओमीको उदाहरणबाट स्पष्ट हुन्छ। दुवैको मित्रताको आधार यहोवाप्रतिको प्रेम थियो। तर अटुट मित्रता परिश्रम र आत्म-त्यागको परिणाम हो। यहोवाको सेवा गर्ने साक्खै दाजुभाइ तथा दिदीबहिनीले पनि घनिष्ठ मित्र हुन परिश्रम गर्नुपर्छ। त्यसोभए तपाईं असल मित्र कसरी बनाउन सक्नुहुन्छ?

७ अग्रसर हुनुहोस्‌। प्रेरित पावलले रोमको मण्डलीका आफ्ना मित्रहरूलाई “पवित्र जनहरूका अभावहरूमा सहायता देओ, अतिथि-सत्कार कायम राख” भनेर प्रोत्साहन दिए। (रोमी १२:१३) तसर्थ असल मित्र बनाउन अतिथि सत्कार गर्न मिल्ने हरेक मौकाको सदुपयोग गर्नुपर्छ। अरू कसैले तपाईंको लागि अतिथि सत्कार गरिदिन सक्दैन। (हितोपदेश ३:२७ पढ्‌नुहोस्‌ ) मण्डलीका विभिन्‍न भाइबहिनीलाई चिया खान मात्र बोलाएर पनि तपाईं साथी बनाउन सक्नुहुन्छ। मण्डलीका सदस्यहरूलाई अतिथि सत्कार गर्ने बानी बसाल्न सक्नुहुन्छ कि?

८ साथी बनाउन अग्रसर हुन सक्ने अर्को तरिका फरक-फरक भाइबहिनीलाई प्रचारमा जान बोलाउनु हो। अपरिचित मानिसको ढोकामा आफ्नो साथीले मनदेखि यहोवाप्रतिको प्रेम व्यक्‍त गरेको देख्दा के तपाईं तिनीसित अझै नजिकिएको महसुस गर्नुहुन्‍न र?

९, १०. पावलले कस्तो उदाहरण बसाले र हामी कसरी तिनको अनुकरण गर्न सक्छौं?

९ स्नेह देखाउन ठूलो मनको हुनुहोस्‌। (२ कोरिन्थी ६:१२, १३ पढ्‌नुहोस्‌) तपाईंलाई मण्डलीमा साथी नै छैन जस्तो लागेको छ कि? त्यसो हो भने, साथी बनाउनेबारे कतै तपाईंको दृष्टिकोण साँघुरिएको त होइन? स्नेह देखाउने सन्दर्भमा पावलले ठूलो मनको भएर असल उदाहरण बसाले। कुनै समय तिनी गैर-यहूदीहरूसित मित्रता गाँस्ने कुरा कल्पनासमेत गर्न सक्दैनथे। तर तिनी “अन्य जातिहरूको प्रेरित” भए।—रोमी ११:१३.

१० यसबाहेक पावलले आफ्नै उमेरकाहरूलाई मात्र साथी बनाएनन्‌। उदाहरणको लागि, उमेर र पृष्ठभूमि भिन्‍न भए तापनि पावल र तिमोथी घनिष्ठ मित्र भए। आज थुप्रै जवान केटाकेटी मण्डलीका पाको उमेरका भाइबहिनीसितको मित्रतालाई अनमोल ठान्छन्‌। बीस वर्ष नाघिसकेकी भेनिसा भन्छिन्‌: “मेरो ५० वर्ष नाघिसकेकी मन मिल्ने साथी हुनुहुन्छ। आफ्ना दौंतरीलाई भन्‍न सक्ने सबै कुरा उहाँलाई भन्‍न सक्छु। अनि उहाँ मेरो असाध्यै ख्याल राख्नुहुन्छ।” यस्तो मित्रता कसरी गाँसिन्छ? भेनिसा भन्छिन्‌: “यस्तो मित्रता गाँस्न मैले प्रयास गर्नुपऱ्‍यो। म हात बाँधेर बसिरहिनँ।” आफ्नै उमेरकाहरूलाई मात्र साथी नबनाएर अरूलाई पनि साथी बनाउन के तपाईं इच्छुक हुनुहुन्छ? तपाईंको प्रयासमा यहोवाले पक्कै पनि इनाम दिनुहुनेछ।

११. जोनाथन र दाऊदको उदाहरणबाट हामी के सिक्न सक्छौं?

११ वफादार हुनुहोस्‌। सुलेमानले भने: “साँचो मित्रले सधैं प्रेम गर्छ, र दुःखमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।” (हितो. १७:१७, NW) यी शब्दहरू रचना गर्दा सुलेमानले उनका पिता र जोनाथनबीचको मित्रतालाई सम्झेको हुनुपर्छ। (१ शमू. १८:१) राजा शाऊल आफ्नो शेषपछि छोरा जोनाथन इस्राएलको सिंहासनमा बसेको चाहन्थे। तर यस सुअवसरको लागि यहोवाले दाऊदलाई छान्‍नुभएको कुरा जोनाथनले स्वीकारे। शाऊलले दाऊदको ईर्ष्या गरे तर जोनाथनले गरेनन्‌। दाऊदले प्रशंसा पाउँदा तिनी रिसाएनन्‌ न त शाऊलले दाऊदबारे फैलाएको झूटलाई पत्याए। (१ शमू. २०:२४-३४) के हामी जोनाथनजस्तै छौं? हाम्रा मित्रहरूले सुअवसर पाउँदा के हामी खुसी हुन्छौं? तिनीहरूलाई गाह्रोसाह्रो पर्दा सान्त्वना र मदत दिन्छौं? कुनै साथीबारे नचाहिंदो कुरा सुन्यौं भने के तुरुन्तै पत्याइहाल्छौं? वा जोनाथनले जस्तै वफादार भई आफ्नो मित्रको पक्ष लिन्छौं?

मित्रता कहिले तोड्‌नुपर्ने हुन्छ

१२-१४. केही बाइबल विद्यार्थीहरू कस्तो चुनौती सामना गर्छन्‌ र हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं?

१२ बाइबल विद्यार्थीले आफ्नो जीवनशैली परिवर्तन गर्न थाल्दा मित्रतासम्बन्धी चुनौती सामना गर्नुपर्ने हुन सक्छ। सायद तिनका मन पर्ने साथीहरू बाइबलको नैतिक स्तरअनुसार जीवन बिताउँदैनन्‌। विगतमा तिनीहरूसित निकै समय बिताउने र रमाइलो गर्ने गर्थे होलान्‌। अब भने साथीहरूको गतिविधि आफ्नो लागि हानिकारक हुने र तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस तिनले गर्लान्‌। (१ कोरि. १५:३३) तर तिनीहरूसित संगत नगर्दा कतै धोका दिइरहेको छु कि जस्तो लाग्न सक्छ।

१३ यस्तो चुनौती सामना गरिरहनुभएको बाइबल विद्यार्थी हुनुहुन्छ भने नबिर्सनुहोस्‌, तपाईंले जीवनमा परिवर्तन गर्दा साँचो मित्र खुसी हुनेछन्‌। तिनी पनि तपाईंसँगै यहोवाबारे सिक्न इच्छुक हुन सक्छन्‌। अर्कोतर्फ साथी भइटोपल्नेहरू चाहिं तपाईं तिनीहरूसित “ज्यादै उपद्रवहरूमा” नलागेकोले तपाईंबारे “खराबी बोल्दछन्‌।” (१ पत्रु. ४:३, ४) वास्तवमा धोकेबाज तपाईं होइन ती साथीहरू हुन्‌।

१४ यहोवालाई प्रेम नगर्ने साथीहरूले बाइबल विद्यार्थीहरूलाई त्याग्दा उनीहरूले महसुस गर्ने मित्रताको अभाव मण्डलीका साथीहरूले पूरा गरिदिन सक्छन्‌। (गला. ६:१०) सभामा आउँदै गरेका त्यस्ता बाइबल विद्यार्थीहरूलाई के तपाईंले व्यक्‍तिगत रूपमा चिन्‍नुभएको छ? के तपाईं बेलाबेलामा प्रोत्साहन दिन सक्नेगरि तिनीहरूसित संगत गर्न सक्नुहुन्छ?

१५, १६. (क) साथीले यहोवाको सेवा गर्न छोड्‌दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (ख) यहोवाप्रतिको प्रेमको प्रमाण हामी कसरी दिन सक्छौं?

१५ तर मण्डलीकै साथीले यहोवालाई पिठ्यूँ फर्काउने निर्णय गऱ्‍यो, सायद तिनलाई मण्डलीबाट बहिष्कार नै गर्नुपर्ने भयो भने नि? त्यस्तो परिस्थितिमा असाध्यै दुःख लाग्न सक्छ। मन मिल्ने साथीले यहोवाको सेवा गर्न छोड्‌दा आफूलाई कस्तो लाग्यो, एउटी बहिनी यसरी बताउँछिन्‌: “म त मरेतुल्य भएँ। मलाई लाग्थ्यो, उसको विश्‍वास बलियो छ तर होइन रहेछ। परिवारलाई खुसी पार्न मात्र यहोवाको सेवा गरेकी थिई कि? त्यसपछि मैले आफ्नै मनसाय केलाएर हेरें। के म सही मनसायले यहोवाको सेवा गरिरहेकी छु?” ती बहिनीले यो परिस्थितिको सामना कसरी गरिन्‌? तिनी भन्छिन्‌: “मैले आफ्नो भारी यहोवामा बिसाएँ। संगठनभित्र साथीहरू दिनुभएकोले मात्र होइन, म यहोवालाई नै माया गर्छु भनेर उहाँलाई देखाउन चाहन्छु।”

१६ संसारका साथीहरूको पक्षमा खडा हुन्छौं भने परमेश्‍वरको मित्र हुने आशा गर्न सक्दैनौं। चेला याकूबले लेखे: “संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो भन्‍ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।” (याकू. ४:४) यहोवाप्रति वफादार छौं भने साथी गुमाउनु पर्दाको चोट सहन यहोवाले मदत गर्नुहुन्छ भन्‍ने भरोसा गर्दै उहाँप्रतिको प्रेमको प्रमाण दिन सक्छौं। (भजन १८:२५ NRV पढ्‌नुहोस्‌) निष्कर्षमा ती बहिनी भन्छिन्‌: “मैले बुझें, यहोवालाई वा हामीलाई प्रेम गर्न कसैलाई जबरजस्ती गर्न सक्दैनौं। आखिर त्यो व्यक्‍तिगत छनौटको कुरा हो।” तर मण्डलीभित्र उत्थानदायी मित्रताको आनन्द उठाउन हामी के गर्न सक्छौं?

असल मित्रता कायम राख्नुहोस्‌

१७. असल मित्रहरू आपसमा कसरी कुरा गर्छन्‌?

१७ खुलस्त कुराकानीले मित्रता घनिष्ठ हुन्छ। रूथ र नाओमी, दाऊद र जोनाथन, अनि पावल र तिमोथीबारे बाइबल विवरण पढ्‌दा असल मित्रहरूले आपसमा खुलस्त र आदरपूर्वक कुरा गरेको तपाईंले याद गर्नुहुनेछ। एकअर्कासित कुराकानी गर्ने सम्बन्धमा पावलले लेखे: “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” विशेषगरि “बाहिर रहेकाहरूतर्फ” अर्थात्‌ ख्रीष्टियान भाइबहिनीबाहेक अरूसित हामीले कसरी कुराकानी गर्नुपर्छ, त्यसबारे पावल बताइरहेका थिए। (कल. ४:५, ६) अरूसित त आदरपूर्वक कुरा गर्नुपर्छ भने मण्डलीभित्रकाहरूसित झन्‌ कत्ति आदरपूर्वक कुरा गर्नुपर्ला!

१८, १९. ख्रीष्टियान मित्रहरूबाट पाउने सल्लाहलाई हामीले कसरी लिनुपर्छ र एफिससका प्राचीनहरूले यस सन्दर्भमा कस्तो उदाहरण बसाले?

१८ असल मित्रहरू एकअर्काको विचारको कदर गर्छन्‌। त्यसैले तिनीहरूबीचको कुराकानी अनुग्रहसहितको र खुलस्त हुनुपर्छ। बुद्धिमान्‌ राजा सुलेमानले लेखे: “अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो।” (हितो. २७:९, NRV) साथीबाट पाएको जुनसुकै सल्लाहलाई के तपाईं त्यसरी नै लिनुहुन्छ? (भजन १४१:५ पढ्‌नुहोस्‌) तपाईंको कुनै कार्यप्रति साथीले चिन्ता व्यक्‍त गर्दा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? माया गरेको ठान्‍नुहुन्छ वा रुष्ट हुनुहुन्छ?

१९ एफिसस मण्डलीका प्राचीनहरूसित प्रेरित पावलको घनिष्ठ सम्बन्ध थियो। पावलले उनीहरूमध्ये कतिपयलाई सच्चाइमा भर्खर आउँदादेखि चिनेको हुनुपर्छ। तथापि उनीहरूलाई अन्तिम चोटि भेट्‌दा तिनले खुलस्त सल्लाह दिए। उनीहरूले कस्तो प्रतिक्रिया देखाए? पावलका मित्रहरू रुष्ट भएनन्‌। बरु आफूहरूलाई चासो देखाएकोमा तिनीप्रति आभारी भए र यहाँसम्म कि तिनलाई फेरि भेट्‌न नपाउने कुरा सुन्दा उनीहरू रोए।—प्रेरि. २०:१७, २९, ३०, ३६-३८.

२०. मायालु साथीले के गर्नेछ?

२० असल मित्रहरूले सल्लाह स्वीकार्ने मात्र होइन दिने पनि गर्छन्‌। हो, अरूको काममा हात नहाली खुरुखुरु “आफ्नो-आफ्नो काम” कहिले ‘गर्नुपर्छ’ त्यो बुझ्नु जरुरी छ। (१ थिस्स. ४:११) अनि हामी प्रत्येकले “परमेश्‍वरलाई आफ्ना-आफ्ना लेखा दिनुपर्नेछ” भनेर पनि मानिलिनै पर्छ। (रोमी १४:१२) तर आवश्‍यक पर्दा मायालु मित्रले आफ्नो सँगीलाई यहोवाका स्तरहरूबारे दयालु भएर सम्झाउनेछन्‌। (१ कोरि. ७:३९) उदाहरणको लागि, अविवाहित साथी अर्कै विश्‍वासका व्यक्‍तिसित भावनात्मक रूपमा नजिकिन थालेको याद गर्नुभयो भने तपाईं के गर्नुहुन्छ? मित्रता टुट्‌ला भन्‍ने डरले केही नभनी चुपो लागेर बस्नुहुन्छ कि? अथवा तपाईंको सल्लाह साथीले बेवास्ता गरेमा के गर्नुहुन्छ? गलत कदम चालेको मित्रलाई मदत गर्न असल मित्रले मायालु गोठालोहरूको मदत खोज्छ। यसो गर्न साहस चाहिन्छ। तर यहोवाको प्रेममा आधारित मित्रता सधैंको लागि तोडिने होइन।

२१. कहिलेकाहीं हामी सबै के गर्छौं तर मण्डलीमा बलियो मित्रता कायम गर्नु किन आवश्‍यक छ?

२१ कहिलेकाहीं साथीले हामीमा “केही दोष” दिने “कारण” भेट्टाउलान्‌ अनि तिनीहरूले पनि हामीलाई रीस उठ्‌ने कुरा गर्लान्‌ वा भन्लान्‌। याकूबले लेखे: “धेरै कुरामा हामी चुक्‍तछौं।” (कल. ३:१३; याकू. ३:२) तर साँचो मित्रहरू आफूविरुद्ध गरिएको गल्ती गन्दैनन्‌ बरु एकअर्कालाई पूर्णतया क्षमा दिन्छन्‌। खुलस्त कुराकानी गरेर अनि मनमा केही नराखी क्षमा दिएर मित्रता बलियो बनाउनु कत्ति आवश्‍यक! यस्तो प्रेम देखायौं भने त्यो “सिद्धताको गाँठो” हुनेछ।—कल. ३:१४. ( w 09 10/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• असल मित्र कसरी बनाउन सक्छौं?

• मित्रता कहिले तोड्‌नुपर्ने हुन सक्छ?

• बलियो मित्रता कायम राख्न के गर्नैपर्छ?

[पृष्ठ २९-मा भएको चित्र]

रूथ र नाओमीबीचको अटुट मित्रताको आधार के थियो?

[पृष्ठ ३०-मा भएको चित्र]

के तपाईं नियमित रूपमा अतिथि सत्कार गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने