प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ९/१ pp. १४-१८
  • मसीही परिवारले वृद्धहरूको मदत गर्दछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीही परिवारले वृद्धहरूको मदत गर्दछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको समयमा वृद्धहरूको हेरचाह
  • दया पाउन को योग्य छ?
  • वृद्धहरूको हेरचाह गर्नमा परिवारको भूमिका
  • हेरचाह गर्नमा मण्डलीको भूमिका
  • मण्डलीको लागि एउटा राम्रो सम्पत्ति
  • वृद्धहरूको हेरचाह—एउटा मसीही जिम्मेवारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • वृद्धहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • वृद्धहरूको आदर गरौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ९/१ pp. १४-१८

मसीही परिवारले वृद्धहरूको मदत गर्दछ

“बुढेसकालमा मलाई नत्याग्नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोड्‌नुहोस्‌।”—भजनसंग्रह ७१:९.

१. धेरै संस्कृतिहरूमा वृद्धहरूप्रति कस्तो व्यवहार गरिन्छ?

द वल स्ट्रीट जर्नल-ले भन्यो: “सर्वेक्षणअनुसार प्रत्येक सातजना मध्ये छ जना (८६%) वृद्धहरूमाथि आफ्नै परिवारबाट दुर्व्यवहार गरिएको हुन्छ।” मर्डन मच्योरिटी भन्‍ने पत्रिकाले भन्यो: “अमेरिकाको अखबारहरूमा भर्खरै मात्र प्रकट भएको सबैभन्दा आधुनिक प्रकारको हिंसा [पारिवारिक हिंसा] वृद्धहरूमाथिको दुर्व्यवहार हो।” हो, धेरै समाजहरूमा वृद्धहरू अचाक्ली दुर्व्यवहार र अवहेलनाका शिकार हुन पुगेका छन्‌। अहिले हाम्रो समयमा साँच्चै नै धेरै मानिसहरू “स्वार्थी . . . बैगुणी, अपवित्र, स्वाभाविक प्रेम रहितका” छन्‌।— २ तिमोथी ३:१-३.

२. हिब्रू शास्त्र अनुसार यहोवाले वृद्धहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

२ यद्यपि पुरातन इस्राएलमा वृद्धहरूलाई त्यसरी व्यवहार गर्नु भनिएको थिएन। व्यवस्थामा यसो भनिएको थियो: “बुढा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।” बुद्धिले भरिएका ईश्‍वरप्रेरित हितोपदेशहरू भएको पुस्तकले हामीलाई यसरी सल्लाह दिन्छ: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।” यसले यस्तो आज्ञा दिन्छ: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्‌, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्‌।” मोशाको व्यवस्थाले बूढा-बूढी दुवै व्यक्‍तिहरूलाई आदर र मर्यादा दिन सिकायो। स्पष्टतया, यहोवाले वृद्धहरूको आदर भएको चाहनु हुन्छ।—लेवी १९:३२; हितोपदेश १:८; २३:२२.

बाइबलको समयमा वृद्धहरूको हेरचाह

३. युसूफले आफ्नो वृद्ध बाबुप्रति कस्तो दया देखाए?

३ आदर शब्दहरूमा मात्र होइन तर दयापूर्ण कार्यहरूमा पनि देखाउनु पर्ने थियो। युसूफले आफ्नो वृद्ध बाबुप्रति ठूलो अनुकम्पा देखाए। याकूबले कनानदेखि मिश्रसम्म ३०० किलोमिटरको यात्रा गरोस्‌ भनेर तिनी चाहन्थे। अतः युसूफले याकूबकहाँ “मिश्रका असल असल चीजहरू लादिएका दश गधा, तिनका बाबुका निम्ति सफरमा खानलाई सामल-तुमल, रोटी र अनाजसमेत लादिएका दशवटा गधैनी” पठाइदिए। याकूब गोशेनमा आइपुगेपछि, युसूफ तिनलाई भेट्‌न गए र “याकूबको गलामा अङ्‌गालो हालेर निकै बेरसम्म रोइरहे।” युसूफले आफ्नो बाबुप्रति गहिरो स्नेह दर्शाए। वृद्धहरूलाई हेरचाह गर्नुपर्ने कस्तो प्रेरणीय उदाहरण!—उत्पत्ति ४५:२३; ४६:५, २९.

४. अनुसरण गर्न रूथ एउटा राम्रो उदाहरण किन हो?

४ वृद्धहरूलाई दया देखाउने सम्बन्धमा अनुसरण गर्न सक्ने अर्को सुन्दर उदाहरण रूथ हो। अन्यजाति भए तापनि तिनी आफ्नी बूढी यहूदी सासू नाओमीसङ्‌गै बसिन्‌। तिनले आफ्ना मानिसहरूलाई त्यागे र आफ्नो लागि अर्को पति नपाउन सक्ने खतरा मोलिन्‌। नाओमीले आफ्नै मानिसहरूकहाँ फर्क भनी आग्रह गर्दा बाइबलमा उल्लिखित सबैभन्दा राम्रा शब्दहरूमा तिनले यसरी जवाफ दिइन्‌: “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहींनै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीं मर्नेछु, र त्यहींनै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले हामीलाई अलग गर्नेछैन भनी परमप्रभु तपाईंका परमेश्‍वरको सामने म यो गंभीर शपथ खाएर भन्छु।” (रूथ १:१६, १७) निस्सन्तान विधवी भाउजुलाई विवाह गर्ने प्रबन्धअनुसार आफूभन्दा बढी उमेरको बोअजसित विवाह गर्न राजी हुँदा रूथले राम्रा गुणहरू देखाइन्‌।—रूथ, अध्यायहरू २ देखि ४.

५. मानिसहरूसित व्यवहार गर्दा येशूले कस्ता गुणहरू देखाउनुभयो?

५ अरू मानिसहरूसित व्यवहार गर्दा येशूले त्यस्तै उदाहरण छाड्‌नुभयो। उहाँ धीरजी, अनुकम्पापूर्ण, दयालु र स्फूर्तिदायी व्यक्‍ति हुनु हुन्थ्यो। अठ्‌तीस वर्षदेखि अपाङ्‌ग भएर हिंड्‌न नसकेको एकजना व्यक्‍तिमाथि उहाँले गहिरो चासो देखाउनुभयो र निको पारिदिनुभयो। उहाँले विधवाहरूलाई दया देखाउनुभयो। (लूका ७:११-१५; यूहन्‍ना ५:१-९) शूलीको कष्टदायी मृत्युको वेदना सहँदा सम्भवतः भर्खरै ५० वर्ष पुगेकी आफ्नी आमाको हेरविचारको प्रबन्ध गरिदिनुभयो। आफ्ना कपटी शत्रुहरू बाहेक सबैको लागि उहाँ स्फूर्तिदायी साथी हुनुहुन्थ्यो। त्यसैकारण त, उहाँले भन्‍न सक्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।”—मत्ती ९:३६; ११:२८, २९; यूहन्‍ना १९:२५-२७.

दया पाउन को योग्य छ?

६. (क) विशेष हेरचाह पाउने योग्य को छन्‌? (ख) हामीले आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौं?

६ अरूहरूको हेरचाह गर्ने सन्दर्भमा यहोवा परमेश्‍वर र उहाँको पुत्र येशू मसीहले त्यस्ता राम्रा उदाहरणहरू छोडिदिनुभएको हुनाले समर्पित मसीहीहरूले पनि त्यही नमुना अनुकरण गर्नु सुहाउँदो छ। हाम्रो माझमा पनि धेरै सालसम्म मेहनत गरेका र बोझले लादिएका केही व्यक्‍तिहरू छन्‌। तिनीहरू उमेर ढल्किदै गरेका हाम्रा भाइ-बहिनीहरू हुन्‌। तिनीहरूमध्ये केही हाम्रा आमाबाबुहरू अथवा हजुरबुबा तथा हजुरआमा होलान्‌। के हामी तिनीहरूलाई हलकासँग लिन्छौं? के हामी तिनीहरूलाई मदत वा सहारा दिइरहेका छौं? अथवा के हामी तिनीहरूको विस्तृत अनुभव र बुद्धिको साँच्चै नै मूल्याङ्‌कन गर्दछौं? हो, वृद्धावस्थामा प्राय हुने अनौठो स्वभाव र कमजोरीहरूको कारण कसै कसैले हाम्रो धीरजको नै जाँच गर्न सक्छ। तर आफैलाई सोध्नुहोस्‌, ‘त्यस्तै परिस्थितिहरू हुँदा म कस्तो हुनेछु?’

७. वृद्धहरूप्रति समानुभूति देखाउनु पर्ने आवश्‍यकतालाई कुन उदाहरणले देखाउँछ?

७ एकजना जवान केटीले वृद्धहरूलाई देखाएको दयाबारे मध्य-पूर्वको एउटा हृदयस्पर्शी कथा छ। हजुरआमाले भान्छामा सघाइरहेकी थिइन्‌ तर दुर्घटनावश तिनले चीनीयाँ माटाले बनेको प्लेट खसाले र फुटाइन्‌। आफ्नै बेहोसीपनाको कारण तिनी दिक्क थिइन्‌; उनकी छोरी त झन्‌ झोक्किन्‌। तिनले आफ्नी छोरीलाई बोलाईन्‌ र हजुरआमाको निम्ति नफुट्‌ने काठको प्लेट किन्‍न नजिकैको पसलमा पठाइन्‌। छोरी चाहिंले दुइवटा प्लेट किनेर ल्याइन्‌। यो देखेर उनकी आमाले कडा भएर सोधिन्‌: “तिमीले दुइवटा प्लेट किन किन्यौ?” नातिनीले हिचकिचाउँदै जवाफ दिइन्‌: “एउटा हजुरआमाको लागि र अर्को बूढी भएपछि तपाईंको लागि।” हो, यस संसारमा हामी सबै जना एकदिन बूढा बूढी हुन्छौं। के हामीलाई अरूहरूले धीरज र दयापूर्ण व्यवहार गरेको मूल्याङ्‌कन गर्दैनौं र?—भजनसंग्रह ७१:९.

८, ९. (क) हाम्रा माझमा भएका वृद्धहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? (ख) भर्खर मात्र मसीही भएका केही व्यक्‍तिहरूले कुन कुरा याद गर्नुपर्छ?

८ हाम्रा धेरैजसो वृद्ध भाइ बहिनीहरूले बितेको समयमा मसीही सेवकाईमा विश्‍वासी भएर सेवा गरेका लामो रेकर्डलाई नबिर्सनुहोस्‌। तिनीहरू साँच्चै नै हाम्रो आदर, दया, मायालु मदत र प्रोत्साहनका योग्य छन्‌। एकजना बुद्धिमान मानिसले ठीकै भनेका थिए: “फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” पुरुष र स्त्रीको त्यस्तो फुलेको केशलाई आदर गर्नुपर्छ। यस्ता केही वृद्ध लोग्नेमानिस र स्वास्नीमानिसहरू अहिले पनि विश्‍वासी अग्रगामीहरू भएर सेवा गरिरहेका छन्‌ र अरू धेरैहरू चाहिं मण्डलीहरूमा विश्‍वासी भएर प्राचीनहरूको हैसियतमा सेवा गरिरहेका छन्‌; केही चाहिं परिभ्रमण अध्यक्षहरू भएर अनुकरणीय काम गर्दछन्‌।—हितोपदेश १६:३१.

९ पावलले तिमोथीलाई सल्लाह दिए: “बुढा मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तैगरि र आफूभन्दा कान्छाहरूलाई चाहिं भाइसमान गरी सम्झाउ। आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं, र कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर सम्झाऊ।” (१तिमोथी५:१, २) विशेषगरि, अनादरपूर्ण संसारबाट भर्खरै निस्केर मसीही मण्डलीमा आएका व्यक्‍तिहरूले प्रेममा आधारित पावलका शब्दहरूलाई हृदयङ्‌गम गर्नुपर्छ। जवानहरू हो, स्कूलमा तपाईंहरूले देख्नुभएका खराब मनोवृत्तिहरूको अनुकरण नगर्नुहोस्‌। पाको उमेरका साक्षीहरूको मायालु सल्लाहलाई अस्वीकार नगर्नुहोस्‌। (१ कोरिन्थी १३:४-८; हिब्रू १२:५, ६, ११) तथापि, खराब स्वास्थ्य अथवा आर्थिक समस्याहरूको कारण वृद्धहरूलाई मदत चाहिंदा तिनीहरूलाई मदत दिने प्राथमिक जिम्मेवारी कसको हो?

वृद्धहरूको हेरचाह गर्नमा परिवारको भूमिका

१०, ११. (क) बाइबल अनुसार कसले वृद्धहरूको हेरचाह गर्न अगुवाई लिनुपर्छ? (ख) वृद्धहरूको हेरचाह गर्न सधैं किन सजिलो हुँदैन?

१० सुरु सुरुका मसीही मण्डलीमा विधवाहरूको हेरचाह गर्ने सम्बन्धमा समस्याहरू खडा भयो। त्यस्ता आवश्‍यकताहरूको पूर्ति गर्नुपर्छ भनेर प्रेरित पावलले कसरी सङ्‌केत गरे? तिनले भने: “विधवाहरूलाई, जो साँच्चिनै विधवा छन्‌, आदर गर। तर कुनै विधवाका छोरा-छोरी अथवा नाति-नातिनीहरू छन्‌ भने, पहिले तिनीहरूले आफ्नै परिवारमा दया देखाउन्‌ र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्‌, किनकि यो परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ। तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासको इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:३, ४, ८.

११ मदत चाहिएको बेलामा, सर्वप्रथम परिवारका निकट सदस्यहरूले वृद्धहरूको मदत गर्नुपर्छ।a यसप्रकार हुर्किसकेका छोरीछोरीहरूले तिनीहरूका आमाबाबुले तिनीहरूलाई वर्षौंदेखि देखाएको प्रेम, मेहनत र हेरचाहको लागि मूल्याङ्‌कन देखाउन सक्छन्‌। यसो गर्न सजिलो नहोला। मानिसहरू बूढा-बूढी हुँदै गएपछि स्वाभाविकतः सुस्त हुँदै जान्छन्‌ र केही त काम गर्न समेत असमर्थ हुन्छन्‌। अरूहरू चाहिं सायद चालै नपाइकन आफ्नोबारे मात्र सोच्ने र अति नै माग गर्ने हुन सक्छन्‌। तर हामी स-साना केटाकेटी हुँदा के हामी आफ्नै मात्र सोच्ने र माग गर्ने खालका थिएनौं र? र त्यत्तिबेला के हाम्रा आमाबाबुहरू हामीलाई मदत गर्न इच्छुक थिएनन्‌ र? अब बुढेसकालमा तिनीहरूको परिस्थिति अर्कै भएको छ। त्यसोभए, के कुराको खाँचो छ? दया र धीरजको।—१ थिस्सलोनिकी २:७, ८ तुलना गर्नुहोस्‌।

१२. मसीही मण्डलीका वृद्धहरू—साथै अरू व्यक्‍तिहरूको हेरचाह गर्न कस्ता गुणहरूको खाँचो छ?

१२ प्रेरित पावलले यसप्रकार व्यावहारिक सल्लाह दिए: “यसकारण परमेश्‍वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” यस्तो प्रकारको दया र प्रेम हामीले मण्डलीमा देखाउनुपर्छ भने के परिवारमा झन्‌ बढी देखाउनु पर्दैन र?—कलस्सी ३:१२-१४.

१३. वृद्ध आमाबाबु र हजुरबुबा तथा हजुरआमा बाहेक अरू कसलाई पनि मदतको खाँचो हुन सक्छ?

१३ कहिलेकाहीं यसप्रकारको सहायता आमाबाबु अथवा हजुरबुबा तथा हजुरआमाहरूलाई मात्र नभएर अरू वृद्ध नातेदारहरूलाई पनि आवश्‍यक हुन सक्छ। निस्सन्तान केही वृद्ध व्यक्‍तिहरूले मिसनरी सेवा, परिभ्रमण सेवा र अन्य प्रकारका पूर्ण समयका कार्यकलापहरूमा धेरै वर्षहरू बिताइसकेका छन्‌। तिनीहरूले निष्कपटकासाथ आफ्नो जीवनमा राज्यलाई प्रथम स्थान दिएका छन्‌। (मत्ती ६:३३) यसकारण तिनीहरूप्रति दयालु मनोवृत्ति देखाउनु उपयुक्‍त कुरा होइन र? निस्सन्देह, वाच टावर सोसाइटीले बेथेलका वृद्ध सदस्यहरूको जुन ढङ्‌गमा हेरचाह गर्छ, त्यो हाम्रो लागि एउटा राम्रो उदाहरण हो। बेथेलको मुख्य कार्यालय ब्रुक्लिनमा र सोसाइटीका अरू शाखाहरूमा थुप्रै वृद्ध भाइ बहिनीहरूले हेरचाह गर्न खटाइएका परिवारका अरू प्रशिक्षित सदस्यहरूबाट दिनहुँ हेरचाह पाउँछन्‌। आफ्नै आमाबाबुहरू र हजुरबुबा तथा हजुरआमाहरू सरह ती वृद्ध व्यक्‍तिहरूको हेरचाह गर्न तिनीहरू आनन्दित छन्‌। यसको अलावा, वृद्धहरूका अनुभवबाट तिनीहरूले धेरै कुराहरू पनि सिक्छन्‌।—हितोपदेश २२:१७.

हेरचाह गर्नमा मण्डलीको भूमिका

१४. सुरु सुरुका मसीही मण्डलीमा वृद्धहरूको हेरचाह गर्न कस्तो प्रबन्ध गरिएको थियो?

१४ आजकल धेरै देशहरूमा वृद्धहरूलाई पेन्सन दिनुको साथै सरकारले नै स्वास्थ सेवा प्रबन्ध गरी दिने व्यवस्था छ। तिनीहरूको अधिकार छ भने, मसीहीहरूले यी प्रबन्धहरूको पूरा फाइदा उठाउन सक्छन्‌। तथापि, प्रथम शताब्दीमा त्यस्ता कुनै प्रबन्धहरू थिएनन्‌। तसर्थ, निस्सहाय विधवाहरूको मदत गर्न त्यतिबेलाको मसीही मण्डलीले सकारात्मक कदम चाले। पावलले यसप्रकार निर्देशन दिए: “साठी उमेरमनिकी एउटै पुरुषकी स्त्री भएकी विधवाको नाउँ फिरिस्तिमा नलेखिओस्‌। असल कामहरूमा नाउँ चलेकी, यदि तिनले छोरा-छोरीहरू हुर्काएकी छन्‌, तिनले परदेशीहरूको सत्कार गरेकी छन्‌, पवित्र जनहरूका खुट्टा धोएकी छन्‌, दुःखीहरूको उपकार गरेकी छन्‌, जुनसुकै पनि असल काममा ध्यान दिएकी छन्‌ भने मात्र।” यसर्थ, वृद्धहरूलाई मदत गर्ने सम्बन्धमा मण्डलीको पनि भूमिका छ भनेर पावलले देखाए। आध्यात्मिक कुराहरूमा मन लगाएका तर छोरा-छोरीहरू सच्चाइमा नभएका स्त्रीहरू त्यस्ता मदत पाउन योग्य थिए।—१ तिमोथी ५:९, १०.

१५. सरकारले दिने प्रबन्धहरू प्राप्त गर्न पनि मदतको किन खाँचो हुन सक्छ?

१५ सरकारले नै वृद्धहरूको लागि सेवा पुऱ्‍याउने प्रबन्धहरू उपलब्ध भएका ठाउँहरूमा त्यसप्रकारको सुविधा प्राप्त गर्न धेरै कागजपत्रको कामहरू गर्नुपर्ने हुन्छ। यी कामहरू निरूत्साहित पार्ने खालका हुन सक्छन्‌। यस्तो बेलामा ती वृद्धहरूलाई त्यस्ता सेवा प्राप्त गर्न दर्खास्त राख्न, लिन जान अथवा अझ राम्रो सेवा प्राप्त गर्न मण्डलीका अध्यक्षहरूले मदत दिने प्रबन्ध गरिदिनु उपयुक्‍त हुन्छ। कहिलेकाहीं परिस्थितिहरूमा फेरबदल हुँदा पेन्सनमा बढोत्तरी हुन सक्छ। तर वृद्धहरूको राम्रो हेरचाह गरियोस्‌ भनेर अध्यक्षहरूले व्यवस्थित गर्न सक्ने अरू थुप्रै व्यावहारिक कुराहरू छन्‌। तिनीहरूमध्ये केही कुराहरू के के हुन्‌?

१६, १७. मण्डलीमा भएका वृद्धहरूप्रति हामीले कस्ता बेग्लाबेग्लै ढङ्‌गमा अतिथि सत्कार गर्न सक्छौं?

१६ बाइबलको समयदेखि आतिथ्य गर्ने चलन थियो। आज पनि मध्य पूर्वमा एक कप चिया अथवा कफी मात्र दिएर भए पनि अपरिचित व्यक्‍तिको अतिथि सत्कार गरिन्छ। यसकारण, पावलले यसो लेखेकोमा छक्क पर्नु पर्ने कुनै कारण छैन: “पवित्र जनहरूका अभावहरूमा सहायता देओ, अतिथि-सत्कार कायम राख।” (रोमी १२:१३) आतिथ्य अर्थ बुझाउन प्रयोग गरिएको युनानी शब्द फिलोक्जेनिया-को अक्षरशः अर्थ “अपरिचित व्यक्‍तिहरूप्रति प्रेम (स्नेह अथवा दया)” हो। एकजना मसीहीले अपरिचितहरूलाई त अतिथि सत्कार गर्नुपर्छ भने आफूसङ्‌ग एउटै विश्‍वासमा भएकाहरूलाई अझ बढी देखाउनु पर्दैन र? एकजना वृद्धलाई भोजनको निम्ति निम्तो दिनाले उसलाई दैनिक कार्यक्रमको एकोहोरोपना महसुस हुँदैन। तपाईंले आयोजना गर्नुहुने सामाजिक जमघटहरूमा बुद्धि र अनुभव चाहनुहुन्छ भने वृद्धहरूलाई पनि समावेश गर्नुहोस्‌।—लूका १४:१२-१४ तुलना गर्नुहोस्‌।

१७ वृद्धहरूलाई प्रोत्साहन दिन सक्ने धेरै तरिकाहरू छन्‌। तपाईं राज्य भवन अथवा सम्मेलनहरूमा जाँदा एउटा गाडीको प्रबन्ध गर्नुहुँदैछ भने के तपाईं त्यस्तो सुविधाको आवश्‍यकता हुने वृद्धहरूलाई पनि समावेश गर्नुहुन्छ? तिनीहरूले नै मदत मागोस्‌ भनेर कुरेर नबस्नुहोस्‌। तिनीहरूलाई मदत दिन आफै अघि सर्नुहोस्‌। व्यावहारिक मदत दिने अर्को तरिका किनमेल गरिदिनु पनि हो। अथवा तिनीहरू सक्छन्‌ भने किनमेल गर्न जाँदा आफूसगैं तिनीहरूलाई लग्न सक्छौं? तर यसरी आफूसँग लग्दा आवश्‍यक भएमा तिनीहरूलाई आराम गर्ने र ताजा हुने विश्राम स्थलहरू छ कि छैन याद गर्नुहोस्‌। यसो गर्न निस्सन्देह धैर्य र दयाको आवश्‍यकता हुन्छ तर एकजना वृद्धले दिने साँचो कृतज्ञता अति नै इनामदायी हुनसक्छ।—२ कोरिन्थी १:११.

मण्डलीको लागि एउटा राम्रो सम्पत्ति

१८. वृद्धहरू मण्डलीका लागि किन आशिष हुन्‌?

१८ मण्डलीमा सेतो र फुलेको (साथै उमेरले गर्दा मुडुलो भएको) कपाल भएका व्यक्‍तिहरू हेर्न पाउनु कस्तो आशिषको कुरा हो! यसको अर्थ जवानहरूको जोश र जाँगरको माझमा बुद्धि र अनुभव—अर्थात्‌ मण्डलीको साँचो सम्पत्ति पनि फाटफुट छन्‌। तिनीहरूको ज्ञान इनारबाट तान्‍नु पर्ने चिसो पानी जस्तै हो। यो हितोपदेश १८:४-मा लेखिएको जस्तै छ: “मानिसको मुखको वचन पानीको भलजस्तै हो, तर बुद्धिको कूवाको पानी गहिरो हुन्छ।” आफ्नो कदर भएको र मूल्याङ्‌कन गरिएको महसुस गर्न पाउनु वृद्धहरूको निम्ति कस्तो प्रोत्साहनदायी कुरा हो!—भजनसंग्रह ९२:१४ तुलना गर्नुहोस्‌।

१९. आफ्ना वृद्ध आमाबाबुहरूको निम्ति कसै कसैले कस्ता त्यागहरू गरेका छन्‌?

१९ पूर्ण-समय सेवकाईमा लागेका केही व्यक्‍तिहरूले आफ्ना वृद्ध तथा बिरामी आमाबाबुहरूको हेरचाह गर्नु पर्ने आवश्‍यकता देखेका छन्‌। अतः आफूले पाएका बिशेषाधिकारहरूलाई त्यागेर घर फर्कनु पर्ने महसुस तिनीहरूले गरेका छन्‌। पहिला मिसनरी भैसकेका तर अझ पनि पूर्ण-समय सेवकाईमा नै लागिरहेका एक मिसनरी दम्पती तिनीहरूको वृद्ध आमाबाबुहरूको हेरचाह गर्न घर फर्के। तिनीहरूले २० वर्षभन्दा बढी समयदेखि आफ्ना आमाबाबुहरूको हेरचाह गरिरहेका छन्‌। चार वर्षअघि त्यस मिसनरी भाइको आमालाई वृद्धाश्रममा राख्नुपऱ्‍यो। अहिले ६० वर्ष पुगिसकेका त्यस पतिले आफ्नी ९३ वर्ष पुगेकी आमालाई दिनहुँ भेट्‌न जान्छन्‌। तिनी यसो भन्छन्‌: “म तिनलाई कसरी छाड्‌न सक्छु र? तिनी मेरी आमा हुन्‌।” अन्य उदाहरणहरूमा चाहिं वृद्ध व्यक्‍तिका छोराछोरीहरू आफ्नो सेवामा लागि नै रहोस्‌ भनेर मण्डलीहरू र अरू व्यक्‍तिहरू तिनीहरूको हेरचाह गर्न अघि सरेका छन्‌। त्यस्तो निस्स्वार्थ प्रेम पनि प्रशंसनीय छ। वृद्धहरू अवहेलित नहोस्‌ भनेर हरेक परिस्थितिलाई सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। आफ्नो वृद्ध आमाबाबुहरूलाई तपाईं प्रेम गर्नुहुन्छ भनी देखाउनुहोस्‌—प्रस्थान २०:१२; एफिसी ६:२, ३.

२०. वृद्धहरूको हेरचाह गर्ने सन्दर्भमा यहोवाले हाम्रो लागि कस्तो उदाहरण दिनु भएको छ?

२० साँच्चै नै, हाम्रा वृद्ध भाइ र बहिनीहरू परिवार अथवा मण्डलीका मुकुट हुन्‌। यहोवाले भन्‍नुभयो: “तिमीहरूको बुढेसकालमा पनि म उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थामा पनि म तिमीहरूलाई बोक्नेछु। मैले बनाएको हुँ, र म बोक्नेछु। म बोकेर हिंड्‌नेछु र बचाउनेछु।” मसीही परिवारमा पनि हाम्रा वृद्ध भाइ र बहिनीहरूप्रति हामी त्यस्तै धैर्य र हेरचाह देखाऔं।—यशैया ४६:४; हितोपदेश १६:३१. (w93 9/1)

[फुटनोट]

a वृद्धहरूको मदत गर्न परिवारका सदस्यहरूले के गर्न सक्छन्‌ भनेर विस्तृत जानकारी पाउन डिसेम्बर १, १९८७ को अङ्‌ग्रेजी द वाचटावर-मा पृष्ठहरू १३-१८ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

▫ वृद्धहरूको हेरचाह गर्ने सन्दर्भमा बाइबलमा कस्ता उदाहरणहरू छन्‌?

▫ हामीले वृद्धहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ?

▫ परिवारका सदस्यहरूले आफ्ना प्रिय वृद्ध जनहरूको कसरी हेरचाह गर्न सक्छन्‌?

▫ वृद्धहरूको हेरचाह गर्न मण्डलीले के गर्न सक्छ?

▫ वृद्धहरू हामी सबैका निम्ति किन आशिष हुन्‌?

[पृष्ठ १६-मा भएको चित्र]

रूथले वृद्ध नाओमीलाई दया र आदर देखाइन्‌

[पृष्ठ १७-मा भएको चित्र]

वृद्धहरू मण्डलीका मूल्यवान सदस्यहरू हुन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने