प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ७/८ pp. २८-३०
  • रीसलाई किन नियन्त्रणमा राख्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रीसलाई किन नियन्त्रणमा राख्ने?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जब असिद्ध मानवहरू रीसाउँछन्‌
  • मसीहीहरूले लेखा दिनुपर्छ
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • रिसले तपाईंलाई नपछारोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ७/८ pp. २८-३०

बाइबलको दृष्टिकोण

रीसलाई किन नियन्त्रणमा रा?

सुरुआतै नराम्रो थियो। अशोकले आफ्नी नयाँ दुलही शीलालाईa यसो भन्दै झपारे, “अबउसो यस घरको प्रमुख म हुँ, आलेटाले काम गरेर मलाई दिक्क पार्ने होइन। तिनले पत्नीलाई सोफामा बस्न लगाएर लगभग ४५ मिनेट जति हपारे। दुर्वचन बोल्नु त तिनीहरूको वैवाहिक जीवनको सामान्य कुरा हुन गयो। हाय, अशोकको रीसाहा बानी झन्‌ चर्कियो। तिनले बिस्तारै ढोका बन्द गर्न कहिल्यै जानेनन्‌। भान्साको टेबल मुड्‌कीले ठटाउँथे अनि अरूको ज्यान नै खतरामा पार्नेगरि स्टेरियिङ ह्वीललाई हिर्काउँदै जंगली पाराले गाडी हाँक्थे।

अपसोचको कुरा, यस्तो घटना प्रायः बारम्बार भइरहन्छ भनेर तपाईंलाई पनि राम्ररी थाह छ। के यस मान्छेले रीस गर्नु ठीकै थियो वा रीस नियन्त्रण गर्न नसकेको हो? के रीस गर्नै हुँदैन? कतिबेला रीस नियन्त्रण गर्न गाह्रो हुन्छ? कुन बेला यसले सीमा नाघ्छ?

नियन्त्रित रीस उचित हुनसक्छ। उदाहरणार्थ, अनैतिकतामा डुबेका पुरातन शहरहरू सदोम र गमोरामाथि परमेश्‍वरको रीस दन्क्यो। (उत्पत्ति १९:२४) किन? किनभने त्यस शहरका बासिन्दाहरू हिंसा र पतित यौन प्रचलनमा लागेका थिए भनेर पूरै प्रान्तलाई थाह थियो। जस्तै, स्वर्गदूतीय सन्देशवाहकहरू धर्मी मानिस लूतकहाँ आउँदा एक हूल वृद्ध तथा जवानहरूले ती पाहुनाहरूलाई सामूहिक बलात्कार गर्न खोजे। तिनीहरूको घोर अनैतिकताप्रति यहोवाले रीस पोखाउनु न्यायसंगत थियो।—उत्पत्ति १८:२०; १९:४, ५, ९.

आफ्नो पिताझैं उचित कारणमै सिद्ध मानिस येशू ख्रीष्ट पनि कतिपय अवसरमा रीसाउनुभयो। यरूशलेमको मन्दिर परमेश्‍वरले रोज्नुभएका मानिसहरूले उपासना गर्ने थलो हुनु पर्नेथियो। यो “प्रार्थनाको घर” हुनेथियो जहाँ मानिसहरूले आ-आफ्नो बलिदान र भेटी परमेश्‍वरलाई चढाउनसक्थे अनि त्यहाँ तिनीहरूले परमेश्‍वरको मार्ग सिक्न र पाप क्षमा पाउनसक्थे। भनौं भने मन्दिरमा तिनीहरूले परमेश्‍वरसँग कुराकानी गर्नसक्थे। तर येशूकालीन धर्मगुरुहरूले त्यस मन्दिरलाई “व्यापारको घर” र “डाँकूहरूको ओडार” बनाए। (मत्ती २१:१२, १३; यूहन्‍ना २:१४-१७) तिनीहरूले त्यहाँ बलिदान चढाउने पशुहरू बेचेर नाफा कमाउँथे। वास्तवमा तिनीहरूले त्यहाँ आउने मानिसहरूलाई ठगिरहेका थिए। यसर्थ, परमेश्‍वरको पुत्रले ती ठगहरूलाई आफ्नो पिताको घरबाट धपाउनु एकदमै मनासिब थियो। येशू रीसाउनु अस्वाभाविक थिएन!

जब असिद्ध मानवहरू रीसाउँछन्‌

असिद्ध मानिसहरू पनि कहिलेकाहीं उचित कारणले रीसाउनसक्छन्‌। मोशालाई के भयो विचार गर्नुहोस्‌। भर्खरै मात्र इस्राएलीहरूलाई चमत्कारपूर्ण ढंगमा मिश्रबाट छुटकारा दिइएको थियो। यहोवाले मिश्रीहरूमाथि दश विपत्ति खन्याउनुभएर मिश्रका झूटा देवताहरूभन्दा आफू शक्‍तिशाली हुनुहुन्छ भनेर स्पष्ट पार्नुभएको थियो। त्यसपछि उहाँले लाल समुद्रलाई दुइ भाग बनाएर यहूदीहरूलाई उम्कने बाटो दिनुभयो। तत्पश्‍चात्‌, तिनीहरूलाई सीनै पर्वततिर डोऱ्‍याउनुभयो जहाँ तिनीहरूलाई सिंगै राष्ट्रमा संगठित गराइयो। मध्यस्थकर्ताको हैसियतमा मोशा परमेश्‍वरका व्यवस्थाहरू लिन पर्वतमा उक्ले। यहोवाले मोशालाई अरू व्यवस्थाहरूसितै “आफ्ना औंलाले” ढुंगाको पाटीमा लेख्नुभएको दश आज्ञा पनि दिनुभयो। तथापि, मोशा पर्वतबाट ओर्लंदा के देखे? मानिसहरूले सुनको बाछोलाई पुजिरहेका थिए! तिनीहरूले सबै थोक कत्ति चाँडै भुले! केही हप्ता मात्रै त भएको थियो। “मोशालाई साह्रै रीस” उठ्‌नु उचित थियो। तिनले ढुंगाका ती पाटीलाई भुइँमा बजारेर टुक्राटुक्रा पारे अनि बाछोको मूर्ति नष्ट गरे।—प्रस्थान ३१:१८; ३२:१६, १९, २०.

पछि गएर मानिसहरूले पानी खान नपाएको गुनासो गर्दा मोशाले रीस थाम्न सकेनन्‌। रीसको झोंकमा तिनले आफ्नो सुविख्यात नम्रता वा विनयलाई क्षणभरमै माटोमा मिलाए। यसो गर्दा ठूलो गल्ती हुनगयो। यहोवालाई इस्राएलीहरूको प्रबन्धकर्ताको रूपमा महिमा गर्नुको साटो मोशाले ती इस्राएलीहरूसित रूखो बोले अनि आफ्नो दाइ हारून र आफैलाई प्रबन्धकर्ताको श्रेय दिए। यसर्थ, यतिबेला परमेश्‍वरले मोशालाई पाठ सिकाउनु उचित ठान्‍नुभयो। तिनलाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न दिइने थिएन। मरीबामा भएको यो घटनाबाहेक मोशाले रीस काबूमा राख्न नसकेको थप उल्लेख पाइँदैन। स्पष्टतः तिनले पाठ सिके।—गन्ती २०:१-१२; व्यवस्था ३४:४; भजन १०६:३२, ३३.

त्यसैकारण, परमेश्‍वर र मानिसबीच भिन्‍नता छ। यहोवाले ‘आफ्नो रीस रोक्न’ सक्नुहुन्छ र उहाँलाई “रीस गर्नमा ढीलो” भनेर भन्‍नु ठीकै हो किनभने उहाँको प्रमुख गुण रीस होइन प्रेम हो। उहाँको रीस जहिले पनि धार्मिक, न्यायसंगत र नियन्त्रित हुन्छ। (प्रस्थान ३४:६; यशैया ४८:९; १ यूहन्‍ना ४:८) सिद्ध मानिस येशू ख्रीष्टले पनि सधैं आफ्नो रीसलाई काबूमा राख्न सक्नुभयो। उहाँलाई “विनयी” भनिएको छ। (मत्ती ११:२९) अर्कोतर्फ, असिद्ध मानिसहरूलाई रीस नियन्त्रण गर्न गाह्रो भएको छ। उदाहरणका लागि, विश्‍वासी मोशालाई समेत रीसलाई काबूमा राख्न गाह्रो भयो।

भनौं भने, रीसलाई नियन्त्रणमा नराख्दा त्यसको परिणाम के हुन्छ भनेर पनि मानिसहरूले राम्ररी सोच्न सक्दैनन्‌। रीसलाई काबूमा नराख्दा नराम्रा परिणामहरू हुनसक्छन्‌। उदाहरणका लागि, लोग्नेले मुड्‌की ठटाएर भित्तामा प्वाल पारुञ्जेलसम्मको रीस आफ्नी स्वास्नीमाथि पोखाउँदा कस्ता परिणामहरू हुन्छन्‌? धनको नाश। हातमा चोट लाग्नसक्छ। तर त्योभन्दा पनि तिनको त्यस्तो रीसको झोंकले पत्नीबाट पाउने प्रेम र आदरमाथि कस्तो असर पार्नेछ? केही दिनभित्रै त्यो भित्ता मरम्मत गर्न सकिएला अनि हात पनि केही हप्ताभित्रै निको होला तर पत्नीको हृदयमा पुनः भरोसा र आदरको पालुवा पलाउन कति समय लाग्नेछ?

हो, रीसलाई काबूमा राख्न नसक्दा दुःखद परिणाम भोग्ने मानिसहरूको उदाहरण बाइबलमा टन्‍नै छ। त्यसमध्ये केहीलाई हेरौं। आफ्नो भाइको हत्या गरेकोले कयिन निर्वासित हुनुपऱ्‍यो। शकेमलाई मार्दा शिमोन र लेवीले आफ्नो पिताबाट श्राप पाए। उज्जियाह आफूलाई सुधार्न खोजिरहेका पूजाहारीहरूसित क्रोधित हुँदा यहोवाले तिनलाई कोर लगाइदिनुभयो। योना ‘रीसाउँदा’ यहोवाले तिनलाई सुधार्नुभयो। तिनीहरूले रीस गर्दा त्यसको लेखा दिनुपऱ्‍यो।—उत्पत्ति ४:५, ८-१६; ३४:२५-३०; ४९:५-७; २ इतिहास २६:१९; योना ४:१-११.

मसीहीहरूले लेखा दिनुपर्छ

त्यस्तैगरि, आज पनि मसीहीहरूले परमेश्‍वर र केही हदसम्म सँगी विश्‍वासीहरूप्रति गरेको कार्यको लागि लेखा दिनैपर्छ। यो कुरा बाइबलमा रीसलाई बुझाउन प्रयोग गरिएको युनानी शब्दहरूबाट देख्न सकिन्छ। ती प्रयोग गरिएका दुइ शब्दमध्ये एउटा ओर्गे हो। साधारणतया यसलाई “क्रोध” भनी अनुवाद गरिएको छ। यसले खासगरि जानाजानी बदलाको ध्येय राखेर त्यसको लागि योजनासमेत बनाउने विचारलाई बोध गराउँछ। यसर्थ, पावलले रोमका मसीहीहरूलाई यसरी आग्रह गरे: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई [ ओर्गे] स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” मसीहीहरूलाई आफ्ना भाइहरूप्रति नराम्रो विचार मनमा राख्नुको साटो ‘खराबीलाई भलाइले जित्न’ प्रोत्साहन दिइएको छ।—रोमी १२:१९, २१.

बाइबलमा रीसलाई बुझाउन बारम्बार प्रयोग गरिएको अर्को शब्द थाइमोस हो। यो मूल शब्दले “मुख्यतः हावा, पानी, भूमि, पशुप्राणी वा मानिसको हिंसात्मक गतिविधिलाई बुझाउँछ।” त्यसैले यो शब्दलाई “दुष्ट भावनाको तीव्र विस्फोट,” “रीसको झोंक,” वा “मनोशान्ति भंग गर्ने अनि घरपरिवारमा अशान्ति र पीरमर्का थोपर्ने कोलाहलपूर्ण आवेग” भनेर विभिन्‍न ढंगमा वर्णन गरिएको छ। ज्वालामुखी कुनै सूचनाबिनै पड्‌कनसक्छ अनि तातो खरानी, चट्टानको टुक्रा र लाभा निक्लेर मानिसहरूलाई घाइते, अंगभंग पार्न र मार्नसक्छ। कुनै पनि पुरुष वा स्त्रीले रीस काबूमा राख्न सकेन भने परिणाम त्यस्तै हुन्छ। गलाती ५:२० मा पावलले थाइमोस-को बहुवचन रूप चलाएका छन्‌। त्यहाँ तिनले “क्रोधलाई” व्यभिचार, लुच्च्याइँ र मतवालीपनजस्ता “शरीरका काम[सित]” (पद १९) सूचीबद्ध गर्छन्‌। निश्‍चय, यस लेखको सुरुमा बताइएको अशोकको आचरणले “क्रोध[बारे]” स्पष्ट पार्छ।

तसर्थ, प्रश्‍न उठ्‌छ—कुनै व्यक्‍तिले कसैलाई वा अरूको सम्पत्ति विरुद्ध बारम्बार हिंसात्मक कार्य गर्छ भने, मसीही मण्डलीले त्यस्तो व्यक्‍तिप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? अनियन्त्रित रीस विनाशक हुन्छ र यसले हिंसा गर्न लगाउँछ। त्यसैकारण येशूले यसो भन्‍नु ठीकै थियो: “जो कोही आफ्ना भाइसित रीसाउला, त्यो इन्साफको योग्य हुनेछ।” (मत्ती ५:२१, २२) पतिहरूलाई यस्तो सल्लाह दिइएको छ: “पत्नीलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ।” “झट्ट रीस गर्ने” व्यक्‍ति मण्डलीमा निरीक्षक हुन योग्यको हुँदैन। त्यसैकारण, रीस नियन्त्रण गर्न नसक्नेहरूलाई मण्डलीमा उदाहरणीय भन्‍न मिल्दैन। (कलस्सी ३:१९; तीतस १:७; १ तिमोथी २:८) वास्तवमा, क्रोध नियन्त्रण गर्न नसक्ने व्यक्‍तिको मनोवृत्ति, आचरण र अरूलाई कत्तिको धक्का पुऱ्‍याएको छ, ती सब विचार गरेर तिनलाई मण्डलीबाट बहिष्कारसमेत गर्न सकिन्छ। कस्तो भयानक परिणाम, हैन र?

सुरुमा उल्लेख गरिएको अशोकले के आफ्नो रीसलाई नियन्त्रणमा राखे? के तिनले विनाशमा पुऱ्‍याउने आवेगलाई काबूमा राख्नसके? अपसोचको कुरा, तिनको चिच्याहट काबूमा आउनुको साटो झन्‌ पो चर्किंदै गयो। अरूलाई मात्र औंला ठड्याउने तिनको बानीले तिनलाई कुटपिट गर्न समेत उस्कायो। श्रीमतीको शरीरमा सजिलै देख्न सकिने नीलडामहरू ढाकछोप गर्न खोजेर अशोकले आफूलाई असल मानिस देखाउने प्रयास गरे। यद्यपि, आखिर लात हान्‍ने, घुस्सा दिने, जगल्टाउने तिनको व्यवहार पुनः झन्‌ झन्‌ चर्किंदै गयो। शीला अहिले अशोकसित छुटेर बसेकी छिन्‌।

यस्तो परिणामलाई रोक्न सकिन्थ्यो। अरू थुप्रै यस्ता परिस्थितिहरूमा रीसलाई नियन्त्रण गर्न सकिएको छ। तसर्थ, येशू ख्रीष्टको सिद्ध उदाहरण पछ्याउनु अत्यन्त महत्त्वपूर्ण छ। उहाँ रीसलाई नियन्त्रण गर्न कहिल्यै असफल हुनुभएन। उहाँ जहिले पनि उचित कारणले नै रीसाउनुभयो। साथै उहाँले रीसलाई सधैं काबूमा राख्नुभयो। पावलले हामीलाई यस्तो बुद्धिमत्तापूर्ण सल्लाह दिए: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌।” (एफिसी ४:२६) हामी मानिसले सीमा नाघ्नु हुँदैन र जे रोप्छौं त्यही कटनी गर्छौं भन्‍ने कुरा विनम्रतापूर्वक स्वीकाऱ्‍यौं भने, रीसलाई काबूमा राख्नुपर्ने हर कारण बुझ्नेछौं।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

शावल दाऊदको ज्यान लिने प्रयास गर्छन्‌ Doré Bible Illustrations/Dover Publications, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने