विश्वदर्शन
नक्कली औषधीदेखि सावधान
वर्षेनी १६ अरब अमेरिकी डलर बराबरको नक्कली औषधीको व्यवसाय हुन्छ। यो व्यापार धमाधम बढ्दैछ। पेरिसबाट प्रकाशित हुने समाचारपत्र ली मण्ड-अनुसार “विश्व स्वास्थ्य संघको (डब्लु एच ओ) अनुमानअनुसार वर्षेनी संसारभरि बिक्री हुने औषधीहरूमा ७ प्रतिशत त नक्कली हुन्छ।” ब्राजिलमा बिक्री हुने ३० प्रतिशत र अफ्रिकामा ६० प्रतिशत औषधी नक्कली हुन्। नक्कली औधषीहरूमा औषधीको मात्रा प्रायः एकदम कम, कुनै कामै नलाग्ने पदार्थबाट बनाइएको र कुनै चाहिं विषाक्त हुन्छ। उदाहरणका लागि, ली मण्ड-ले उल्लेख गरेअनुसार नाइजरमा फैलिएको मष्तिष्क ज्वरोको महामारीलाई लिन सकिन्छ। त्यहाँ दिइएको हजारौं खोपमा पानी सिवाय अरू केही थिएन। त्यस्तैगरि नाइजेरियामा एन्टिफ्रिज भएको झोल औषधी खाँदा १०९ जना केटाकेटी मरे। उक्त समाचारपत्र बताउँछ, “यी औषधीहरू सुपथ मूल्यमा उपलब्ध हुने भएकोले अस्पतालहरू पनि यस्तै औषधी किन्न तम्सिन्छन्।” फितलो र भ्रष्ट कानुनी कारवाहीले कतिपय देशका स्वास्थ्य अधिकारीहरूलाई यस समस्याको निराकरण गर्न गाह्रो भइरहेको छ।
हड्डीका व्यापारीहरू
“युद्धग्रस्त काबुलका निमुखा बासिन्दाहरूले चिहान खनेर हड्डीहरू झिक्ने र ती कुखुराको दानामा प्रयोग गर्न बेच्ने गरेका छन्” भनी रोइटर्स समाचार सेवा बताउँछ। हड्डीमा क्याल्सियम, फोस्फेट र कार्बोनेट प्रचुर मात्रामा पाइने हुनाले यो जनावरलाई खुवाउने दाना, साबुन र खाने तेल बनाउन पनि प्रयोग गरिन्छ। छ किलोग्राम अस्थिपञ्जर ५० सेन्ट जति मूल्यमा बेच्न सकिन्छ। त्यही पैसा पनि त्यस अति गरिब शहरको लागि धेरै नै हो। चौध वर्षीय फजदीन भन्छन्, “यो राम्रो व्यवसाय हो। हुन त म प्रायजसो जनावरहरूका हाडखोर बटुल्छु तर मान्छेका हाडहरू यहाँ सजिलै पाउन सकिन्छ।” दुःखको कुरा, अफगानिस्तानमा वर्षौंको गृहयुद्धको कारण यो हड्डी सर्वसुलभ भएको छ।
यो घडीले समय मात्र बताउने होइन
रियो द जेनेरियोको यु ग्लोबु समाचारपत्रअनुसार त्यहाँको एउटा विश्वविद्यालय प्रवेश परीक्षामा डिजिटल घडी प्रयोग गरेर जाँचमा चोरेको कारण ७७ जना परीक्षार्थीहरूलाई जाँचबाट निलम्बन गरियो। त्यस्ता नाडी घडीहरूले टेलिफोन पेजरले जस्तै काम गर्छन्। तर तिनीहरूले टेलिफोन नम्बरहरू भर्नुको सट्टा परीक्षामा सोधिएका प्रश्नहरूका सही जवाफहरू राखेका छन्। उक्त अखबारले बताएअनुसार परीक्षार्थीहरूले त्यस्तो एउटा घडी किन्न १४,००० अमेरिकी डलर सम्म खर्च गरे। तर चाखलाग्दो कुरा, धेरै पहिले अर्थात् सन् १९८७ मै बेलाइत र वेल्समा विद्यालयका परीक्षा नियन्त्रण निकायले शिक्षकहरूलाई सूचित गर्दै परीक्षार्थीले कम्प्युटरयुक्त नाडीघडी चलाएर जाँचमा चोरी गर्नसक्ने भएकोले सजग रहन आग्रह गरेको थियो।
विकृत दृष्टि
ऐनामा अनुहार हेर्नेहरू आफूले देखेको प्रतिबिम्ब वास्तविक नै ठान्छन्। तर केही मानिसहरू ऐनामा हेर्दा आफ्नो शरीरको कुनै एउटा अंग विकृतजस्तो भान हुने एक प्रकारको समस्याबाट पीडित छन्। क्यानाडास्थित ब्रिटिश कोलम्बियाको द प्रोभिन्स यसो भन्छ, “वास्तवमा ठीकै भएको कुनै अंगलाई पनि बढ्तै नियालिरहँदा एकदम नसुहाउँदो छ भन्ने भान पर्नु नै समस्याको जड हो।” न्यु योर्कका मनोचिकित्सक एरिक हलेन्डरले भनेअनुसार त्यस्तो समस्या भएका मानिसहरूलाई यत्ति धेरै मानसिक चिन्ता हुन्छ, २५ प्रतिशत जतिले त यसैको कारण आत्महत्या गर्न खोज्छन्।
उल्लेखनीय कटनी
रोइटर्स समाचार सेवाले दिएको प्रतिवेदनअनुसार “चीनको इतिहासमै पहिलो पटक बालीनालीको काममा मेशिन प्रयोग गरेर सबैभन्दा बढी गहुँ बाली भित्राइएको छ।” त्यस समाचार सेवाले बताएअनुसार ८ लाखभन्दा बढी मेशिनहरू त्यस काममा प्रयोग गरिएका थिए। चीनमा सा.यु.पू. १३०० भन्दा केही समयअघि पहिलो पटक गहुँ उब्जाउन सुरु गरिएको थियो। त्यति बेलादेखि अहिलेसम्म निजी खेतहरूमा परिवारका सदस्यहरू मिलेर प्रायजसो मेशिन प्रयोग नगरिकनै गहुँ उब्जाइन्छ। संसारको कुल जनसंख्याको २० प्रतिशतभन्दा बढी मानिसहरू चीनमै बसोबास गर्छन् तर यहाँको जम्मा ७ प्रतिशत जमीन मात्र खेतीयोग्य छ। त्यसकारण “कृषि अधिकारीहरू त्यस देशको जग्गाहरूमा मेशिन प्रयोग गर्नुपर्छ भनेर जोड दिन हत्तारिरहेका छन्” भनी उक्त प्रतिवेदनले बतायो।
सिंगापुरका विद्यार्थीहरू सर्वोत्कृष्ट
संसारभरिको शिक्षाको गुणस्तर पत्ता लगाउन ४१ देशहरूका पाँच लाखभन्दा बढी विद्यार्थीहरूलाई ९० मिनेट लामो जाँच लिइएको थियो। परिणाम? हिसाब र विज्ञानमा सिंगापुरले संसारमा सबैभन्दा उत्तम विद्यार्थीहरू पैदा गर्दैछ भनी परीक्षाको अंकले देखायो। सिंगापुरपछि हिसाबमा उत्कृष्ट दश देशहरूमा दक्षिण कोरिया, जापान, हङकङ, बेल्जियम, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, स्वीजरल्याण्ड, नेदरल्याण्ड्स र स्लोभेनिया थिए। विज्ञानमा दश उत्कृष्ट देशहरूका नामावली यसप्रकार थियो—सिंगापुर, चेक गणतन्त्र, जापान, दक्षिण कोरिया, बुल्गेरिया, नेदरल्याण्ड्स, स्लोभेनिया, अस्ट्रिया, हंगेरी र बेलाइत। जम्मा ३४,०००,०० जति मात्र जनसंख्या भएको देश अरू सबै देशलाई पछि पारेर कसरी सर्वोत्कृष्ट हुन सकेको होला? शायद कडा परिश्रमले गर्दा नै हुनुपर्छ। सिंगापुरका विद्यार्थीहरू गृहकार्य गर्न प्रत्येक दिन औसतन ४.६ घण्टा बिताउँछन्। जबकि, संसारभरका विद्यार्थीहरूले सालाखाला २ देखि ३ घण्टा मात्र गृहकार्य गर्छन् भनी एसियावीक प्रतिवेदन दिन्छ।
शल्यक्रिया गर्दा शल्यकक्षको तापक्रम घटाइएन
क्यालिफोर्निया विश्वविद्यालयमा हालै एउटा अध्ययन गरिएको थियो। हावामा भएका ब्याक्टेरियाको कारण संक्रमण हुनसक्ने खतराबाट बच्न अस्पतालका शल्यक्रिया कक्षहरूमा तापक्रम कम गरियो। उक्त अध्ययनअनुसार त्यसो गर्दा खतरा झन् तेब्बर भयो भनी एनेस्थेसियोलोजिष्ट डा. डेनियल सेसलरले बताए। उनी भन्छन्, “घाउहरूमा खासगरि हावामा पाइने ब्याक्टेरियाको कारण संक्रमण हुँदैन। बरु, बिरामीको रोग प्रतिरोध क्षमता कम भएर शरीरभित्र अथवा छालामा ब्याक्टेरियाले छिट्टै संक्रमण गर्छ।” शल्यक्रिया गरिने चिसो कक्षले गर्दा बिरामीको शरीरको तापक्रम साढे दुइ डिग्री सेल्सियससम्म कम हुनसक्छ। शरीरको न्यून तापक्रमले अक्सिजनयुक्त रगत सञ्चार गर्न ढिलो हुन्छ। तर संक्रमण विरुद्ध लड्न रक्तसञ्चार हुनु अत्यावश्यक छ। सेसलर भन्छन्, “रोग प्रतिरोध गर्न कोष र इन्जाइमहरू अत्यावश्यक हुन्छ। शरीर चिसो हुँदा तिनीहरूले राम्ररी काम गर्न सक्दैनन्।” सेसलर र उनका सहकर्मीहरूले अर्को कुरा पनि पत्ता लगाए। त्यो के हो भने, यस तरिकाबाट संक्रमणको मात्रा कम हुने मात्र होइन, तर शल्यक्रियाको दौडान सामान्य तापक्रममा राखिएका बिरामीहरू त्यस्तै शल्यक्रिया गर्ने अरू बिरामीहरूभन्दा झन्डै तीन दिन पहिल्यै घर फर्किन सके।