तर्तियस—पावलको विश्वासी लेखनदास
तर्तियसले एउटा कठिन कार्य गर्नुपरेको थियो। रोमका मसीहीहरूलाई लामो पत्र लेख्न प्रेरित पावल तिनलाई लेखनदास बनाउन चाहन्थे। यो सजिलो काम हुनेथिएन।
प्रथम शताब्दी सा.यु. मा लेखनदास काम गर्नु किन यत्तिको गाह्रो थियो? लेखनदासको काम कसरी गरिन्थ्यो? त्यतिबेला कस्ता लेखन सामग्रीहरू उपलब्ध थिए?
पुरातन समयका लेखनदासहरू
पुरातन ग्रेको-रोमी समाजमा विभिन्न प्रकारका लेखनदासहरू थिए। केही पुरुषहरू सरकारी लेखनदासहरू थिए र तिनीहरू कुलपिताको कार्यालयमा सरकारी कर्मचारीको हैसियतमा सेवा गर्थे। अनि त्यस्ता लेखनदासहरू पनि थिए जो सार्वजनिक स्थलहरूमा बसेर आमजनताको सेवा गर्थे। धनीमानीहरूले निजी लेखनदासहरू (प्रायजसो दासहरू) राख्ने गर्थे। त्यसपछि, यस्ता व्यक्तिहरू पनि हुन्थे जसले राजीखुशी आफ्ना साथीहरूका लागि पत्रहरू लेखिदिन्थे। विद्वान् इ. रान्डोल्फ रिचर्डस्अनुसार यी अनौपचारिक लेखनदासहरूका दक्षता “बेग्लाबेग्लै हुन्थे, कसैलाई लेखनसम्बन्धी आधारभूत कुराहरू मात्र थाह हुन्थ्यो भने कोही चाहिं सही, उचित मनमोहक चिठी लेख्न खप्पिस हुन्थे।”
क-कसले लेखनदासहरूको हातबाट काम लिन्थे? सर्वप्रथम, ज-जसले लेखपढ गर्न जानेका थिएनन्। धेरैजसो पुरातन करारनामा र व्यापारिक पत्रहरूमा सानो टिप्पणी पनि समावेश गरिएको हुन्थ्यो र आफूलाई काम सुम्पने व्यक्तिले लेखपढ गर्न नजानेको हुँदा यस कागजात लेखेको हुँ भनी लेखनदासले पुष्टि गर्थे। लेखनदासबाट काम लिनुको दोस्रो कारण थेबेस, मिश्रको पुरातन पत्रबाट पुष्टि हुन्छ। आस्क्लपियाडिस नाउँ गरेका मानिसको सन्देश दिन लेखिएको यो पत्रको अन्तमा यी शब्दहरू थिए: “अर्माको छोरा, एभ्मलसले तिनको लागि लेखेका हुन् . . . किनभने ऊ अलि ढिलो लेख्छ।”
यद्यपि, लेखनदास प्रयोग गर्नुको मुख्य कारण लेखपढ गर्न जान्नु र नजान्नु मात्र थिएन जस्तो देखिन्छ। बाइबल टिप्पणीकार जोन एल. मेकेन्जीअनुसार, “कागजात पढ्न सकिन्थ्यो कि सकिंदैनथियो, कुनै चिन्ताको विषय थिएन तर अक्षर राम्रो हुनुपर्थ्यो, असाध्यै राम्रो नभए पनि सफा चाहिं हुनैपर्थ्यो” र यसैकारण मानिसहरू लेखनदासहरू राख्ने गर्थे। लामो तथा विस्तृत पद्यांशहरू लेख्नुपर्दा शिक्षित व्यक्तिहरूलाई पनि वाक्क लाग्थ्यो। शास्त्रविद् जे. ए. एश्लीमान भन्छन्, लेखनदास राख्नसक्ने व्यक्ति “लेख्ने काम गर्नु नपर्दा दंग पर्थ्यो र दास अर्थात् पेशेवर प्रतिलिपिकहरूलाई यो कामको जिम्मा लाउँथे।” यसबाहेक, लेखन सामग्री तथा काम गर्ने वातावरणलाई विचार गर्दा मानिसहरूले आफै पत्र लेख्न नचाहनुको कारण सजिलै बुझ्नसक्छौं।
प्रथम शताब्दी सा.यु. मा सामान्यतया पपाइरसमा लेख्ने गरिन्थ्यो। यसको डाँठको गुदीलाई लामो लामो गरी काटेर पातलो पत्रहरू लिइन्थ्यो। एउटा पत्र बिछ्याइन्थ्यो। अर्को पत्र समकोण हुनेगरि पहिलो पत्रको माथि राखिन्थ्यो। यो दुइटा पत्रलाई थिचेर टाँसिन्थ्यो अनि “कागजको” एक पत्र तयार हुन्थ्यो।
यस्तो पत्रमा लेख्नु सजिलो थिएन। यो चिल्लो नभई रेशा रेशा निस्केको हुन्थ्यो। शास्त्रज्ञ आन्जेलो पेन्नाअनुसार “पपाइरसका सोस्ने रेशाहरूले गर्दा मसी फैलन्थ्यो र दुइटा मसिनो पत्रबीचको कापमा सबैभन्दा बढी फैलिन्थ्यो।” फल्याकमाथि त्यो पपाइरसको पाता राखिन्थ्यो। लेखनदासले एउटा हातले फल्याक समाती भुइँमा पलेटी कसेर त्यसमा लेख्नुपर्थ्यो। तिनी अनुभवी थिएनन् वा लेखन सामग्री पनि त्यत्तिको राम्रो थिएन भने चराको प्वाँखजस्तै सुइरो वा निगालोको कलमले पपाइरसमा प्वाल पार्न सक्थ्यो, पाना च्यातिन सक्थ्यो वा अक्षरै नबुझिने हुनसक्थ्यो।
मोसो र चोप मिसाएर मसी बनाइन्थ्यो। यसलाई चारपाटे पाताजस्तो बनाएर बेचिन्थ्यो र लेख्नुअघि मसीदानीमा पानी हालेर घोल्नुपर्थ्यो। तर्तियसजस्ता लेखनदासहरूसित चक्कु र ओसिलो स्पन्ज पनि हुन्थ्यो। चक्कु चाहिं निगालोको कलम तिखार्न अनि ओसिलो स्पन्ज चाहिं गल्ती सच्याउन। असाध्यै ध्यान दिएर अक्षरहरू लेख्नुपर्थ्यो। त्यसकारण छिटछिटो लेख्न गाह्रै हुन्थ्यो।
‘म तर्तियसको सलाम’
रोमीहरूलाई लेखेको पत्रको अन्तमा समावेश शुभकामनाहरूमध्ये एउटा पावलको लेखनदास तर्तियसको हो। तिनले लेखे: “यो चिट्ठी लेख्ने, म, तर्तियसले प्रभुमा तिमीहरूलाई सलाम गर्दछु।” (रोमी १६:२२) पावलले लेखेका पत्रहरूमध्ये यसमा मात्र लेखनदासको स्पष्ट उल्लेख गरिएको छ।
हामीलाई तर्तियसबारे त्यति धेरै कुरा थाह छैन। “प्रभुमा” भनी तिनको अभिवादनबाट तिनी एक विश्वासी मसीही हुनुपर्छ भन्ने निष्कर्षमा पुग्नसक्छौं। शायद तिनी कोरिन्थ मण्डलीका सदस्य थिए र रोमका थुप्रै मसीहीहरूलाई चिन्थे। बाइबल शास्त्रज्ञ जुझेप्पा बार्बाल्योको अनुमानअनुसार तर्तियस दास वा फुकुवा थिए होलान्। किन? किनभने एउटा कारण त “प्रतिलिपिकहरू प्रायजसो यस्तै मानिसहरू हुन्थे; र साथै तिनको ल्याटिन नाउँ . . . दास तथा फुकुवाहरूबीच असाध्यै सामान्य नाउँ थियो।” बार्बाल्यो भन्छन्, “त्यसकारण तिनी ‘नाउँ मात्रको’ पेशेवर थिएनन् बरु सँगी कामदार थिए जसले पावललाई सबैभन्दा लामो तथा सुस्पष्ट पत्र लेख्न मदत गरे। तिनले प्रदान गरेको यस्तो अमूल्य सेवाको कारण पावलले आफ्नो समय र शक्ति बचाउन सके।”
तर्तियसको यो काम साँच्चै मूल्यवान् छ। बारूकले यर्मिया र सिल्वानसले पत्रुसको लागि यस्तै काम गरेका थिए। (यर्मिया ३६:४; १ पत्रुस ५:१२) ती सँगी कामदारहरूले कस्तो महान् सुअवसर पाए!
रोमीहरूलाई लेख्दा
शायद कोरिन्थमा गायसको पाहुना हुँदा पावलले रोमीहरूलाई पत्र लेखे। यो सा.यु. ५६ तिरको कुरा हुनुपर्छ, जब प्रेरित पावल तेस्रो मिसनरी यात्रा गर्दैथिए। (रोमी १६:२३) पावलले आफ्नो लेखनदासको रूपमा तर्तियसलाई नै चलाए भनी हामी ठोकुवा गरेर भन्नसक्छौं तर कसरी चलाए त्यो चाहिं थाह छैन। तरिका जेसुकै होस्, काम गर्न भने गाह्रै परेको हुनुपर्छ। तर यो कुरामा चाहिं हामी ढुक्क हुनसक्छौं: बाइबलका अन्य पुस्तकहरूजस्तै पावलले रोमीहरूलाई लेखेको पत्र पनि “परमेश्वरबाट प्रेरणा भएको” हो।—२ तिमोथी ३:१६, १७.
यो पत्र लेख्न सिध्याउञ्जेल तर्तियस र पावलले पपाइरसका थुप्रै पानाहरूमा हजारौं शब्दहरू लेखिसकेका थिए। किनारामा थाक लगाउँदै जाँदा यी पाताहरूको मुट्ठा बन्यो र ती शायद ३, ४ मिटर लामो हुन्थ्यो। यो पत्र राम्रोसित बेह्रेर छाप लगाइयो। त्यसपछि पावलले त्यो मुट्ठा रोमको यात्रामा जानै लागेकी सिनक्रियाकी बहिनी, फिबीलाई सुम्पेजस्तो छ।—रोमी १६:१, २.
प्रथम शताब्दीदेखि लेखन सामग्री उत्पादन गर्ने तरिकामा आमूल परिवर्तन भइसकेको छ। तर रोमी मसीहीहरूलाई लेखेको पत्र शताब्दीयौंको दौडान परमेश्वरले सुरक्षित राख्नुभएको छ। पावलको विश्वासी तथा जेहनदार लेखनदास तर्तियसको मदतद्वारा लेखिएको यहोवाको वचनको लागि हामी कत्ति कृतज्ञ हुनसक्छौं!