प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१५ pp. २७-३१
  • ‘यहोवाको मार्ग ठीक छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवाको मार्ग ठीक छ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा निष्कपट उपासना चाहनुहुन्छ
  • परमेश्‍वर आफ्ना जनहरूलाई वफादार प्रेम देखाउनुहुन्छ
  • सधैं यहोवाको बाटो हेर्नुहोस्‌
  • यहोवाको मार्ग सधैं ठीक छ
  • पापीहरू यहोवातर्फ फर्कन सक्छन्‌
  • यहोवाको ठीक मार्गमा हिंडिरहनुहोस्‌
  • होशेको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१५ pp. २७-३१

‘यहोवाको मार्ग ठीक छ’

“परमप्रभुको मार्ग ठीक छन्‌। धर्मी जन त्यसैमा हिंडनेछन्‌।” —होशे १४:९.

१, २. यहोवाले इस्राएलीहरूलाई कस्तो रूपमा छान्‍नुभयो तर पछि तिनीहरू कस्ता भए?

अगमवक्‍ता मोशाको समयमा यहोवाले इस्राएलीहरूलाई धार्मिक जनहरूको रूपमा छान्‍नुभयो। तर ईसापूर्व आठौं शताब्दीको सुरुसम्ममा इस्राएलीहरूको अवस्था यति बिग्रिसकेको थियो कि परमेश्‍वरले तिनीहरूलाई घोर कुकर्मको दोषी पाउनुभयो। होशे अध्याय १० देखि १४ बाट यो कुरा स्पष्ट हुन्छ।

२ इस्राएलीहरूको हृदय कपटले भरिएको थियो। दस-गोत्रे राज्यका मानिसहरूले ‘अधर्म जोतेका’ र अन्याय कटनी गरेका थिए। (होशे १०:१, १३) यहोवा यसो भन्‍नुहुन्छ: “जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्यारो गरें, र मिश्र देशबाट मैले मेरो छोरालाई बोलाएँ।” (होशे ११:१) परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभयो तर तिनीहरूले झूट र छल गरेर त्यस उपकारको साटो तिरे। (होशे ११:१२) त्यसैकारण यहोवाले तिनीहरूलाई यस्तो सल्लाह दिनुभयो: “तँ आफ्ना परमेश्‍वरतिर फर्की। कृपा र न्याय कायम राख्‌।”—होशे १२:६.

३. विद्रोही सामरियालाई के हुने थियो तर के गरेको खण्डमा इस्राएलीहरूले दया पाउन सक्थे?

३ विद्रोही सामरिया र यसका राजाको अन्त्य विपत्तिजनक हुने थियो। (होशे १३:११, १६) तर होशेको भविष्यवाणीको अन्तिम अध्याय यस्तो आग्रहका साथ सुरु हुन्छ: “ए इस्राएल, परमप्रभु आफ्ना परमेश्‍वरतिर फर्केर आइज।” इस्राएलीहरूले पश्‍चात्ताप गरेर माफी मागेको खण्डमा परमेश्‍वरले दया देखाउनुहुने थियो। साथै, तिनीहरूले ‘यहोवाको मार्ग ठीक छ’ भनी स्वीकारेर त्यसैमा हिंड्‌नु पनि उत्तिकै जरुरी थियो।—होशे १४:१-६, ९.

४. होशेको भविष्यवाणीमा पाइने कस्ता सिद्धान्तहरूमा हामी ध्यान दिनेछौं?

४ होशेको भविष्यवाणीको यस भागमा परमेश्‍वरसित हिंड्‌न हामीलाई मदत गर्ने थुप्रै सिद्धान्त छन्‌। हामी यी कुराहरूमा ध्यान दिनेछौं: (१) यहोवा निष्कपट उपासना चाहनुहुन्छ, (२) परमेश्‍वर आफ्ना जनहरूलाई वफादार प्रेम देखाउनुहुन्छ, (३) हामीले सधैं यहोवाको बाटो हेर्नुपर्छ, (४) यहोवाको मार्ग सधैं ठीक हुन्छ र (५) पापीहरू पनि यहोवातर्फ फर्कन सक्छन्‌।

यहोवा निष्कपट उपासना चाहनुहुन्छ

५. परमेश्‍वर हामीबाट कस्तो सेवा चाहनुहुन्छ?

५ हामीले यहोवालाई चोखो र निष्कपट ढङ्‌गमा पवित्र सेवा चढाएको उहाँ चाहनुहुन्छ। तर इस्राएल फल नफलाउने “बिग्रिएको दाखको बोट” भइसकेको थियो। झूटो उपासना गर्न इस्राएलका बासिन्दाहरूले ‘वेदीहरूको संख्या बढाएका’ थिए। ती धर्मत्यागीहरूले अशुद्ध उपासना गर्न स्मारकजस्ता देखिने खामाहरू समेत बनाएका थिए। यहोवाले ती वेदीहरू भत्काउनुहुने थियो र यस्ता खामाहरू ढाल्नुहुने थियो।—होशे १०:१, २.

६. परमेश्‍वरसित हिंड्‌ने हो भने हामी कस्तो हुनु हुँदैन?

६ यहोवाका सेवकहरूमाझ कपटीहरूको लागि कुनै ठाउँ छैन। तर इस्राएलीहरूलाई के भएको थियो? ‘तिनीहरू कपटी भएका थिए’! परमेश्‍वरप्रति समर्पित जनहरूको रूपमा तिनीहरूले यहोवासित करार बाँधेका थिए। तापनि उहाँले तिनीहरू कपटी भएको पाउनुभयो। यसबाट हामी के सिक्न सक्छौं? हामीले पनि परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसकेका छौं भने, हामी कपटी हुनु हुँदैन। हितोपदेश ३:३२ यस्तो चेतावनी दिन्छ, “जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।” परमेश्‍वरसित हिंड्‌न हामीले “शुद्ध हृदयबाटको प्रेम, असल विवेक र निष्कपट विश्‍वास” देखाउनै पर्छ।—१ तिमोथी १:५.

परमेश्‍वर आफ्ना जनहरूलाई वफादार प्रेम देखाउनुहुन्छ

७, ८. (क) परमेश्‍वरको वफादार प्रेम पाइरहन हामीले के गर्नुपर्छ? (ख) हामीले गम्भीर गल्ती गरेका छौं भने के गर्नुपर्छ?

७ निष्कपटसाथ ठीक तरिकामा यहोवाको उपासना गऱ्‍यौं भने उहाँको करुणा अथवा वफादार प्रेम पाउनेछौं। बरालिएका इस्राएलीहरूलाई यसो भनिएको थियो: “आफ्ना धर्मको निम्ति बिउ रोप, दयाअनुसार [“करुणा,” NW] कटनी गर। तिमीहरूको बाँझो बारी जोत, किनकि परमप्रभुलाई खोज्ने समय यही हो, र उहाँ आएर तिमीहरूमाथि उद्धारको वृष्टि खन्याउनुहुनेछ।”—होशे १०:१२.

८ इस्राएलीहरूले पश्‍चात्ताप गरेर यहोवालाई खोजेका भए अवस्था निक्कै राम्रो हुने थियो! उहाँले तिनीहरूलाई ‘उद्धारको वृष्टि खन्याउनुहुने’ थियो अर्थात्‌ खुसीसाथ धार्मिकतामा निर्देशन दिनुहुने थियो। हामीले गम्भीर गल्ती गरेका छौं भने, क्षमाको लागि उहाँलाई प्रार्थना गर्नुका साथै मसीही प्राचीनहरूबाट आध्यात्मिक मदत खोज्दै यहोवालाई खोजौं। (याकूब ५:१३-१६) परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइ पनि खोजौं किनभने “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।” (गलाती ६:७, ८) ‘आत्माको लागि रोप्यौं’ भने परमेश्‍वरको वफादार प्रेम पाइरहनेछौं।

९, १०. होशे ११:१-४ इस्राएललाई कसरी लागू भयो?

९ यहोवा आफ्ना जनहरूसित सधैं मायालु व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। यस कुराको प्रमाण होशे ११:१-४ मा पाइन्छ, जहाँ यस्तो लेखिएको छ: “जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्यारो गरें, र मिश्र देशबाट मैले मेरो छोरालाई बोलाएँ। . . . तिनीहरूले बाल देवताहरूलाई बलि चढाउँदैरहे, र खोपिएका मूर्तिहरूका निम्ति धूप बाल्दैरहे। तापनि एप्रैमलाई [इस्राएलीहरूलाई] हिंडन सिकाउने ता मनै थिएँ। मैले तिनीहरूलाई काखमा बोकें। तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्‌। मैले तिनीहरूलाई मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोऱ्‍याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउनसम्म म झूकें।”

१० यहाँ इस्राएललाई एउटा सानो बच्चासित तुलना गरिएको छ। यहोवाले इस्राएलीहरूलाई हात समातेर मायालुपूर्वक हिंड्‌न सिकाउनुभयो। अनि उहाँले तिनीहरूलाई “मायाको डोरी[ले]” डोऱ्‍याउनुभयो। कस्तो मन छुने दृश्‍य! आफ्नो बच्चालाई पहिलो पटक हिंड्‌न सिकाइरहेको आमा वा बुबाको रूपमा आफूलाई कल्पना गर्नुहोस्‌। तपाईंले बच्चातिर हात फैलाउनुभएको छ। तपाईं पनि पुरातन इस्राएलमा हुनुभएको भए त्यतिबेलाका अरू आमाबाबुले जस्तै तपाईंले पनि आफ्नो बच्चालाई हिंड्‌न सिकाउँदा ऊ नलडोस्‌ भनेर डोरी समात्न लगाएर डोऱ्‍याउनुहुने थियो। हो, तपाईंप्रति यहोवाको प्रेम पनि यत्तिकै कोमल छ। तपाईंलाई “मायाको डोरी[ले]” डोऱ्‍याउन पाउँदा उहाँलाई खुसी लाग्छ।

११. परमेश्‍वर ‘जुवा उतारिदिने व्यक्‍तिजस्तै’ हुनुभयो, कसरी?

११ इस्राएलीहरूसित व्यवहार गर्दा यहोवा ‘काँधबाट जुवा उतारिदिएर खुवाउन झुक्ने’ व्यक्‍तिजस्तै हुनुभयो। जनावरले सजिलैसित खान सकोस्‌ भनेर जुवा उतारिदिने वा झिकिदिने व्यक्‍तिले जस्तै परमेश्‍वरले व्यवहार गर्नुभयो। इस्राएलीहरूले परमेश्‍वरप्रतिको अधीनताको जुवा भाँचेपछि भने तिनीहरू आफ्ना शत्रुहरूको दमनकारी जुवाको अधीनमा परे। (व्यवस्था २८:४५, ४८; यर्मिया २८:१४) हामी कहिल्यै पनि हाम्रो प्रमुख शत्रु शैतानको फन्दामा परेर त्यसको दमनकारी जुवाको पीडा नभोगौं। बरु, हाम्रो मायालु परमेश्‍वरसित वफादार भई हिंडिरहौं।

सधैं यहोवाको बाटो हेर्नुहोस्‌

१२. होशे १२:६ अनुसार परमेश्‍वरसित हिंडिरहन के गर्नुपर्छ?

१२ परमेश्‍वरसित हिंडिरहन सधैं उहाँको बाटो हेर्नै पर्छ। इस्राएलीहरूलाई यसो भनिएको थियो: “तँ आफ्ना परमेश्‍वरतिर फर्की। कृपा र न्याय कायम राख्‌, र निरन्तर आफ्ना परमेश्‍वरको बाटो हेर्‌।” (होशे १२:६) हो, करुणा देखाएर, न्याय गरेर अनि ‘निरन्तर परमेश्‍वरको बाटो हेरेर’ इस्राएलीहरूले पश्‍चात्ताप गरेको र यहोवातर्फ फर्केको प्रमाण दिन सक्थे। परमेश्‍वरसित हिंडेको जतिसुकै समय भए तापनि करुणा देखाउन, न्याय गर्न र परमेश्‍वरको बाटो हेर्न हामी कटिबद्ध हुनै पर्छ।—भजन २७:१४.

१३, १४. होशे १३:१४ मा बताइएको कुरा पावलले कसरी लागू गरे र यसबाट हामी यहोवाको बाटो हेर्नुपर्ने कस्तो कारण पाउँछौं?

१३ इस्राएलीहरूबारे होशेले गरेको भविष्यवाणीमा परमेश्‍वरको बाटो हेर्नुपर्ने विशेष कारण दिइएको छ। यहोवाले यसो भन्‍नुभयो, “के म तिनीहरूलाई पातालको शक्‍तिदेखि छुटाऊँ? के म तिनीहरूलाई मृत्युदेखि मुक्‍त गरूँ? ए मृत्यु, तेरो विध्वंसक-प्रकोप कहाँ छ, ए चिहान्‌, तेरो नाश गर्ने शक्‍ति कहाँ छ?” (होशे १३:१४) परमेश्‍वरले इस्राएलीहरूलाई त्यति नै बेला मृत्युबाट मुक्‍त गर्नुहुने थिएन। तर अन्तमा उहाँले मृत्युलाई सदाको लागि निल्नुहुनेछ र यसलाई नाकाम तुल्याउनुहुनेछ।

१४ होशेको भविष्यवाणीबाट उद्धरण गर्दै पावलले अभिषिक्‍त सँगी विश्‍वासीहरूलाई यस्तो लेखे: “जब यस विनाशीले अविनाशी धारण गरेको, र मरणशीलले अमर धारण गरेको हुन्छ, तब लेखिएको त्यो कुरो पूरा हुनेछ, ‘मृत्यु विजयमा निलियो। ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?’ मृत्युको खील पाप हो, र पापको शक्‍ति व्यवस्था हो। तर परमेश्‍वरलाई धन्यवाद होस्‌, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” (१ कोरिन्थी १५:५४-५७) यहोवाले येशूलाई मृत्युबाट ब्यूँताउनुभयो। परमेश्‍वरको सम्झनामा हुनेहरूको पुनरुत्थान हुनेछ भन्‍ने कुराको त्यो एउटा सान्त्वनादायी ग्यारेण्टी थियो। (यूहन्‍ना ५:२८, २९) परमेश्‍वरको बाटो हेर्ने कस्तो राम्रो कारण! पुनरुत्थानको आशाबाहेक अरू कुराले पनि हामीलाई परमेश्‍वरसित हिंड्‌ने उत्प्रेरणा दिन्छ।

यहोवाको मार्ग सधैं ठीक छ

१५, १६. सामरियाबारे कस्तो भविष्यवाणी गरिएको थियो र त्यो भविष्यवाणी कसरी पूरा भयो?

१५ ‘यहोवाको मार्ग ठीक छ’ भन्‍ने कुरामा विश्‍वस्त भयौं भने यसले परमेश्‍वरसित हिंडिरहन हामीलाई मदत गर्छ। सामरियाका बासिन्दाहरू परमेश्‍वरको धार्मिक मार्गमा हिंडेनन्‌। अन्तमा तिनीहरूले आफ्नो पापको र यहोवामाथिको विश्‍वास कमजोर पारेकोमा दण्ड पाउने थिए। तिनीहरूबारे यस्तो भविष्यवाणी गरिएको थियो: “सामरियाले आफ्नो दोषको दण्ड भोग्नेछ, किनभने आफ्ना परमेश्‍वरको विरुद्धमा त्यो वागी भयो। तिनीहरू तरवारले काटिनेछन्‌। तिनीहरूका बालकहरू पछार्दै मारिनेछन्‌, औ तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिदिनेछन्‌।” (होशे १३:१६) सामरियालाई जित्ने अश्‍शूरीहरूले साँच्चै यस्तो विभत्स काम गर्न सक्थे भनी ऐतिहासिक विवरणहरूले देखाउँछन्‌।

१६ इस्राएलको दस-गोत्रे राज्यको राजधानी सामरिया थियो। तर यहाँ सामरियाले त्यस राज्यको सम्पूर्ण इलाकालाई पनि बुझाउन सक्छ। (१ राजा २१:१) ईसापूर्व ७४२ मा अश्‍शूरी राजा शाल्मानेसर पाँचौंले सामरिया सहरलाई घेरा हाले। ईसापूर्व ७४० मा सामरिया पतन भएपछि त्यहाँका धेरै गन्‍नेमान्‍ने व्यक्‍तिहरूलाई मेसोपोटामिया र मादी देशमा निर्वासनमा लगियो। सामरियालाई शाल्मानेसर पाँचौंले जितेका थिए वा तिनका उत्तराधिकारी सार्गोन द्वितीयले, त्यो कुरा पक्का छैन। (२ राजा १७:१-६, २२, २३; १८:९-१२) तर सार्गोनको रेकर्डमा भने २७,२९० जना इस्राएलीलाई माथिल्लो युफ्रेटिस र मादी देशमा निर्वासनमा लगिएको विवरण छ।

१७. परमेश्‍वरका स्तरहरूलाई हल्कासित लिनुको सट्टा हामीले के गर्नुपर्छ?

१७ यहोवाको ठीक मार्गमा हिंड्‌न चुक्दा सामरियाका बासिन्दाहरूले दुःखद्‌ नतिजा भोग्नुपऱ्‍यो। परमेश्‍वरको समर्पित सेवक भएर पनि हामीले पाप गरिरह्‍यौं र जानाजानी परमेश्‍वरका नियमहरू भङ्‌ग गरेर उहाँका धार्मिक स्तरहरूलाई हल्कासित लियौं भने हामीले पनि दुःखद्‌ नतिजाहरू भोग्नेछौं। यस्तो दुष्ट मार्गमा हामी कहिल्यै नहिंडौं! बरु, हामी सबैजना प्रेरित पत्रुसका यी शब्दहरू अनुरूप चल्ने प्रयास गरौं: “तिमीहरूमध्ये कसैले पनि ज्यानमारा, अथवा चोर, अथवा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैं दुःख नभोग, तर कसैले ख्रीष्टयानजस्तो भएर दुःख भोग्दछ भनेता त्यसले शर्म नमानोस्‌, तर त्यहीचाहिं नाउँमा परमेश्‍वरलाई त्यसले धन्यवाद चढाओस्‌।”—१ पत्रुस ४:१५, १६.

१८. हामी कसरी ‘परमेश्‍वरलाई धन्यवाद चढाइरहन सक्छौं’?

१८ मनखुसी गर्नुको सट्टा उहाँको ठीक मार्गमा हिंडेर हामी ‘परमेश्‍वरलाई धन्यवाद चढाइरहन्छौं।’ कयिनले हत्या गरे किनभने तिनी आफ्नै इच्छाअनुसार चले अनि पापले तिनलाई पक्रनै लागेको छ भन्‍ने यहोवाको चेतावनीलाई बेवास्ता गरे। (उत्पत्ति ४:१-८) बालामले मोआबी राजाबाट ज्याला लिएर इस्राएललाई सराप्ने असफल प्रयास गरे। (गन्ती २४:१०) अनि मोशा र हारूनको अख्तियारको विद्रोह गरेको कारण परमेश्‍वरले लेवी कोरह र अरूलाई मार्नुभयो। (गन्ती १६:१-३, ३१-३३) हामी कयिनको ज्यानमारा ‘मार्गमा हिंड्‌न, ज्यालाको निम्ति बालामको गल्तीमा लालचसाथ फस्न, र विरोधमा कोरहजस्तै नष्ट हुन’ कदापि चाहँदैनौं। (यहूदा ११) तर हामीमध्ये कसैले गम्भीर पाप गरिहाल्यौं भने पनि होशेको भविष्यवाणीले हामीलाई सान्त्वना दिन्छ।

पापीहरू यहोवातर्फ फर्कन सक्छन्‌

१९, २०. पश्‍चात्तापी इस्राएलीहरूले कस्तो बलिदान चढाउन सके?

१९ गम्भीर पाप गरेर ठक्कर खाएका व्यक्‍तिहरू समेत यहोवातर्फ फर्कन सक्छन्‌। होशे १४:१, २ मा हामी यस्तो आग्रह गरिएको पाउँछौं: “ए इस्राएल, परमप्रभु आफ्ना परमेश्‍वरतिर फर्केर आइज, किनकि तँ आफ्नो अधर्मले गर्दा पतित भएको छस्‌। तिमीहरूका आफ्नो कुरा लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, ‘सबै अधर्म दूर गरेर जे असल छ त्यही ग्रहण गर्नुहोस्‌। यसरी हामी बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति चढाउनेछौं।’ ”

२० पश्‍चात्तापी इस्राएलीहरूले परमेश्‍वरलाई ‘बाछाहरू चढाएझैं आफ्नो ओठको स्तुति चढाउन’ सके। ती निष्कपट प्रशंसाका बलिदान थिए। यसै भविष्यवाणीलाई सङ्‌केत गर्दै पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “उहाँद्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) आज परमेश्‍वरसित हिंड्‌न र उहाँलाई यस्तो बलिदान चढाउन पाउनु ठूलो सम्मानको कुरा हो।

२१, २२. पश्‍चात्तापी इस्राएलीहरूले कस्तो पुनर्स्थापनाको अनुभव गर्ने थिए?

२१ इस्राएलीहरूले मनपरी गर्न छाडे अनि परमेश्‍वरतर्फ फर्केर उहाँलाई ‘बाछाहरू चढाएझैं आफ्नो ओठको स्तुति चढाए।’ फलस्वरूप, यहोवाले प्रतिज्ञा गर्नुभए अनुरूपै तिनीहरूले आध्यात्मिक पुनर्स्थापना अनुभव गरे। होशे १४:४-७ यसो भन्छ: “तिनीहरू मबाट तर्किगएकोमा म [यहोवा] तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई अपार प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि हटिगएकोछ। म इस्राएलको निम्ति शीतझैं हुनेछु। त्यो लिली फूलझैं फूल्नेछ, र लबानोनझैं त्यसको जरा फैलिनेछ। त्यसका हाँगाहरू फैलिनेछन्‌ र त्यसको शोभा भद्राक्षको रूखझैं हुनेछ। त्यसको बास्ना लबानोनको झैं हुनेछ। तिनीहरू फर्किआएर मेरो छाहारीमा बस्नेछन्‌। तिनीहरू अन्‍नझैं बढ्‌नेछन्‌, र दाखको बोटझैं फल्ने-फूल्नेछन्‌। तिनीहरूको बास्ना लबानोनको दाखमद्यजस्तै हुनेछ।”

२२ पश्‍चात्तापी इस्राएलीहरू आध्यात्मिक तवरमा निको हुने थिए र फेरि परमेश्‍वरको माया पाएर आनन्दित हुने थिए। यहोवाले तिनीहरूलाई प्रशस्त आशिष्‌ दिनुहुने थियो। त्यस अर्थमा उहाँ तिनीहरूका लागि स्फूर्तिदायी शीतझैं हुनुहुने थियो। उहाँका पुनर्स्थापित जनहरूको ‘शोभा भद्राक्षको रूखको शोभाझैं’ हुने थियो। अनि तिनीहरू परमेश्‍वरको मार्गमा हिंड्‌ने थिए। हामी पनि यहोवा परमेश्‍वरसित हिंड्‌न कटिबद्ध छौं। उसोभए हामीले चाहिं के गर्नुपर्ला त?

यहोवाको ठीक मार्गमा हिंडिरहनुहोस्‌

२३, २४. होशेको पुस्तकका अन्तिम पदहरूमा कस्तो प्रोत्साहनदायी भविष्यवाणी गरिएको छ र यसले हामीलाई कस्तो असर पार्नुपर्छ?

२३ परमेश्‍वरसित हिंडिरहने हो भने हामीले ‘माथिबाटको ज्ञान’ लिनै पर्छ र उहाँको ठीक मार्गअनुसार सधैं चल्नै पर्छ। (याकूब ३:१७, १८) होशेको भविष्यवाणीको अन्तिम पद यसो भन्छ: “जो ज्ञानी छ त्यसले यी कुराहरू बुझोस्‌। जो बुद्धिमान छ त्यसले यी कुराहरू जानोस्‌। किनभने परमप्रभुको मार्ग ठीक छन्‌। धर्मी जन त्यसैमा हिंडनेछन्‌, तर अपराधीहरू तिनमा ठक्कर खाएर लोट्‌नेछन्‌।”—होशे १४:९.

२४ यस संसारको बुद्धि र स्तरअनुसार चल्नुको सट्टा परमेश्‍वरको बुद्धिमानी र ठीक मार्गमा हिंड्‌न कटिबद्ध होऔं। (व्यवस्था ३२:४) होशे ५९ वर्ष वा त्योभन्दा धेरै समयसम्म परमेश्‍वरको ठीक मार्गमा हिंडे। आफूले बताएको कुरा बुद्धिमान्‌ र ज्ञानी व्यक्‍तिहरूले बुझ्नेछन्‌ भन्‍ने कुरा थाह पाएको कारण तिनले ईश्‍वरीय सन्देश विश्‍वासीपूर्वक घोषणा गरे। हामी नि? जबसम्म यहोवाले हामीलाई साक्षी दिने मौका दिनुहुन्छ तबसम्म हामी बुद्धिमानीपूर्वक उहाँको असीम दयालाई स्वीकार्ने व्यक्‍तिहरू खोजिरहनेछौं। “विश्‍वासी र बुद्धिमान दास[लाई]” सक्दो सहयोग गर्दै यसो गर्न पाएकोमा हामी खुसी छौं।—मत्ती २४:४५-४७.

२५. होशेको भविष्यवाणीको छलफलले हामीलाई के गर्न मदत गर्नुपर्छ?

२५ हामीले होशेको भविष्यवाणी छलफल गरिसिध्यायौं। नयाँ संसारमा पाइने अनन्त जीवन मनमा राख्दै परमेश्‍वरसित हिंडिरहन यस भविष्यवाणीले हामीलाई मदत गर्नुपर्छ। (२ पत्रुस ३:१३; यहूदा २०, २१) वाह! हाम्रो अगाडि कत्ति राम्रो आशा! ‘यहोवाको मार्ग ठीक छ’ भनेर मुखले मात्र होइन तर यसको अर्थअनुसारै चलेको कुरा आफ्नो वचन र कामद्वारा देखायौं भने हाम्रो त्यो आशा निश्‍चय साकार हुनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरलाई शुद्ध उपासना चढायौं भने उहाँले हामीसित कस्तो व्यवहार गर्नुहुनेछ?

• हामीले किन सधैं यहोवाको बाटो हेर्नुपर्छ?

• यहोवाको मार्ग ठीक छ भनेर तपाईं विश्‍वस्त हुन सक्नुको कारण के हो?

• हामी कसरी यहोवाको ठीक मार्गमा हिंडिरहन सक्छौं?

[पृष्ठ २८-मा भएको चित्र]

मसीही प्राचीनहरूको आध्यात्मिक मदत स्वीकार्नुहोस्‌

[पृष्ठ २९-मा भएको चित्र]

होशेको भविष्यवाणीले पुनरुत्थान गर्ने यहोवाको प्रतिज्ञामा विश्‍वास गर्न हामीलाई मदत दिन्छ

[पृष्ठ ३१-मा भएका चित्रहरू]

अनन्त जीवनलाई मनमा राख्दै परमेश्‍वरसित हिंडिरहनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने