ईश्वरतन्त्रमा गोठाला अनि भेडाहरू
“परमप्रभु [यहोवा न्यु व०] हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु [यहोवा न्यु व०] हाम्रा शासक हुनुहुन्छ, उहाँलेनै हामीलाई बचाउनुहुनेछ।”—यशैया ३३:२२.
ईश्वरतन्त्रको अर्थ परमेश्वरको शासन हो। हामीले आफ्नो जीवनमा गर्ने सानो वा ठूलो हरेक निर्णयमा यहोवाको अख्तियारलाई स्वीकार्नु र उहाँको उपदेश अनि निर्देशनलाई पालन गर्नु यसमा समावेश छ। प्रथम शताब्दीको मसीही-मण्डली एउटा साँचो ईश्वरतन्त्र थियो। त्यतिबेलाका मसीहीहरूले इमान्दारीसाथ यसो भन्न सक्थे: “परमप्रभु [यहोवा न्यु व०] हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु [यहोवा न्यु व०] हाम्रा शासक हुनुहुन्छ। परमप्रभु [यहोवा न्यु व०] हाम्रा राजा हुनुहुन्छ।” (यशैया ३३:२२) त्यस्तैगरि आज यहोवा परमेश्वरको संगठन एउटा वास्तविक ईश्वरतन्त्र हो जसको केन्द्रबिन्दुको रूपमा शेष अभिषिक्त जनहरू रहेका छन्।
कुन कुन तरिकामा हामी आज ईश्वरतान्त्रिक हौं?
२ यहोवाको पार्थिव संगठन एउटा ईश्वरतन्त्र हो भनेर हामी किन भन्नसक्छौं? किनभने जो-जो यस संगठनका हुन् तिनीहरू साँच्चै नै यहोवाको शासनको अधीनमा बस्छन्। तिनीहरू येशू ख्रीष्टको नेतृत्वलाई पालन गर्छन् जसलाई यहोवाले राजा नियुक्त गर्नुभएको छ। उदाहरणको लागि अन्तको समयमा महान ईश्वरतन्त्रवादीले येशूलाई यो स्पष्ट आज्ञा दिनुहुन्छ: “तपाईंको हँसिया पठाएर कटनी गर्नुहोस्, किनकि कटनीको घड़ी आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।” (प्रकाश १४:१५) येशूले यो आज्ञा पालन गर्नुहुन्छ र पृथ्वीको कटनी गर्नुहुन्छ। जोडतोडका साथ सुसमाचार प्रचार गरेर अनि चेला बनाएर मसीहीहरू आफ्नो राजालाई यस महान कार्यमा मदत दिन्छन्। (मत्ती २८:१९; मर्कूस १३:१०; प्रेरित १:८) यसरी तिनीहरू महान ईश्वरतन्त्रवादी यहोवाको पनि सहकर्मीहरू बन्छन्।—१ कोरिन्थी ३:९.
३ आचरणमा पनि मसीहीहरू परमेश्वरको शासनको अधीनमा बस्छन्। येशूले भन्नुभयो: “त्यसका काम परमेश्वरमा भएका हुन् भनी प्रकट होस् भने सत्य काम गर्ने चाहिं ज्योतिमा आउँछ।” (यूहन्ना ३:२१) नैतिक स्तरको सम्बन्धमा कहिल्यै टुङ्गो नलाग्ने विवादहरू आज चलिरहेका छन् तर मसीहीहरूको माझमा भने यस्ता विवादहरूको कुनै ठाउँ छैन। यहोवाले जुन कुरालाई अनैतिक ठान्नुहुन्छ त्यही कुरालाई तिनीहरू पनि अनैतिक ठान्छन् र कुनै संक्रामक घातक रोगझैं त्यसबाट टाढा बस्छन्! तिनीहरू आफ्नो परिवारको रेखदेख गर्छन्, आमाबाबुको आज्ञा पालन गर्छन् र उच्च अख्तियारवालाहरूको अधीनमा पनि बस्छन्। (एफिसी ५:३-५, २२-३३; ६:१-४; १ तिमोथी ५:८; तितस ३:१) यसप्रकार, तिनीहरू परमेश्वर जस्तै ईश्वरतान्त्रिक ढङ्गमा चल्छन्।
४ आदम र हव्वाले प्रमोदवन गुमाए किनभने तिनीहरू असल र खराबको निर्णय आफै गर्न चाहन्थे। येशू यसको ठीक विपरीत हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” मसीहीहरू पनि त्यही खोज्छन्। (यूहन्ना ५:३०; लूका २२:४२; रोमी १२:२; हिब्रू १०:७) इस्राएलका पहिलो राजा शाऊलले यहोवाको आज्ञा मान्न त माने तर आंशिक रूपमा। यसैकारण तिनी तिरस्कृत भए। शमूएलले तिनलाई यसो भने: “आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु साँढ़-भेड़ाको बोसोभन्दा असल हो।” (१ शमूएल १५:२२) प्रचार कार्य वा सभामा नियमित उपस्थित भएर केही हदसम्म यहोवाको इच्छालाई पालन गर्नु अनि अर्कोतिर नैतिकता वा अन्य पक्षहरूमा सम्झौता गर्नु के ईश्वरतान्त्रिक कुरा हो र? कुनै रीतिले पनि होइन! हामी ‘हृदयदेखिनै परमेश्वरको इच्छा पूरा गर्ने’ कोशिश गर्छौं। (एफिसी ६:६; १ पत्रुस ४:१, २) शाऊल जस्तो नभएर हामी परमेश्वरको शासनको पूरा अधीनमा बस्छौं।
एउटा आधुनिक ईश्वरतन्त्र
५ प्राचीन कालमा यहोवाले अगमवक्ता, राजा र प्रेरित जस्ता व्यक्तिहरू मार्फत् शासन गर्नु अनि सच्चाइ प्रकट गर्नुभयो। तर आज यो परिस्थिति छैन; हामीसँग कुनै प्रेरित अगमवक्ता वा प्रेरितहरू छैनन्। बरु आफ्नो शाही उपस्थितिको समयमा अनुयायीहरूको विश्वासी दल अर्थात् “विश्वासी र बुद्धिमान दास”-लाई चिह्नाउनेछु र आफ्नो सारा साम्पत्तिमाथि नियुक्त गर्नेछु भनेर येशूले भन्नुभयो। (मत्ती २४:४५-४७; यशैया ४३:१०) सन् १९१९-मा यो दास शेष अभिषिक्त मसीहीहरू हुन् भनी चिह्नियो। यहोवाका साक्षीहरूको परिचालक निकायले यस दासको प्रतिनिधित्व गर्छ र त्यस समयदेखिन् यो निकाय पार्थिव ईश्वरतन्त्रको केन्द्र भएको छ। संसारभरिको शाखा समिति, परिभ्रमण निरीक्षक र मण्डलीका प्राचीनहरूले परिचालक निकायको प्रतिनिधित्व गर्छन्।
६ ईश्वरतान्त्रिक संगठनलाई सहयोग गर्नु ईश्वरतान्त्रिक अधीनको महत्त्वपूर्ण भाग हो। यस प्रकारको सहयोगले विश्वव्यापी “भाइ-बन्धु”-मा एकता र सुव्यवस्था ल्याउँछ। (१ पत्रुस २:१७) फलस्वरूप त्यसले यहोवालाई प्रसन्न पार्छ जो “गोलमालका परमेश्वर होइन, तर शान्तिका परमेश्वर हुनुहुन्छ।”—१ कोरिन्थी १४:३३.
ईश्वरतन्त्रमा प्राचीनहरू
७ सबै नियुक्त प्राचीनहरूको जस्तोसुकै अख्तियार होस् बाइबलमा निरीक्षक वा प्राचीनहरूका लागि दिइएको योग्यतालाई तिनीहरूले पूरा गर्छन्। (१ तिमोथी ३:१-७; तितस १:५-९) यस बाहेक एफिसीका प्राचीनहरूलाई पावलले लेखेका यी शब्दहरू सबै प्राचीनहरूमाथि लागू हुन्छ: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।” (प्रेरित २०:२८) हो, परमेश्वरबाट आउने पवित्र आत्माद्वारा प्राचीनहरू नियुक्त भएका हुन्छन्। (यूहन्ना १४:२६) तिनीहरूको नियुक्ति ईश्वरतान्त्रिक हो। यस बाहेक तिनीहरूले परमेश्वरको बगालको गोठाला गर्छन्। बगाल प्राचीनहरूको नभइ यहोवाको हो। परमेश्वरको संगठन एउटा ईश्वरतन्त्र हो।
८ एफिसीहरूलाई लेखेको आफ्नो पत्रमा प्रेरित पावलले यसो भन्दै प्राचीनहरूले निर्वाह गर्नु पर्ने सामान्य जिम्मेवारीहरूको रूपरेखा दिए: “उहाँलेनै कुनैलाई प्रेरित, कुनैलाई अगमवक्ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनालाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापन्नमा पवित्र जनहरूको सिद्धता हुनाको निम्ति नियुक्त गर्नुभयो।” (एफिसी ४:११, १२) “ख्रीष्टको शरीरको” प्रारम्भिक अवस्था सँगसँगै प्रेरितहरू र अगमवक्ताहरू टलेर गए। (१ कोरिन्थी १३:८ तुलना गर्नुहोस्।) तर प्राचीनहरू भने अझै पनि प्रचार गर्न, गोठालो गर्न र सिकाउनमा व्यस्त छन्।—२ तिमोथी ४:२; तितस १:९.
९ ईश्वरतन्त्र परमेश्वरको शासन भएको हुनाले प्रभावकारी प्राचीनहरू परमेश्वरको इच्छासँग राम्ररी परिचित हुन्छन्। यहोशूलाई दिनहुँ व्यवस्था पढ्ने आज्ञा दिइएको थियो। त्यस्तैगरि प्राचीनहरूले पनि नियमित रूपमा शास्त्र अध्ययन गर्नु अनि त्यसको सल्लाह लिनु आवश्यक छ र यसका साथै विश्वासी तथा बुद्धिमान दासद्वारा प्रकाशित बाइबलसम्बन्धी साहित्यहरूसित पनि तिनीहरू पूर्ण परिचित हुनुपर्छ। (२ तिमोथी ३:१४, १५) यसमा प्रहरीधरहरा र अवेक! पत्रिकाहरू अनि अन्य प्रकाशनहरू समावेश छन् जसले कुनै निश्चित परिस्थतिमा बाइबलका सिद्धान्तहरू कसरी लागू हुन्छन् भनेर देखाउँछ।a प्राचीनहरूले वाच टावर सोसाइटीका साहित्यहरूमा प्रकाशित निर्देशनहरू जान्नु र पालन गर्नु महत्त्वपूर्ण छ तर तिनीहरू ती निर्देशनहरू पछाडिको शास्त्रीय सिद्धान्तहरूप्रति पनि पूर्ण जानकार हुनुपर्छ। तब मात्र तिनीहरूले शास्त्रीय निर्देशनहरूलाई समझशक्ति र सहानुभूतिसाथ प्रयोग गर्न सक्नेछन्।—मीका ६:८ तुलना गर्नुहोस्।
मसीही मनोभावका साथ सेवा गर्ने
१० लगभग ५५ सा०यु० तिर प्रेरित पावलले कोरिन्थका मण्डलीलाई आफ्नो पहिलो पत्र लेखे। तिनले सह्माल्नु परेको समस्याहरूमध्ये एउटा समस्या मण्डलीमा प्रतिष्ठित हुन खोज्ने मानिसहरूसित सम्बन्धित थियो। पावलले लेखे: “तिमीहरू तृप्त भइसकेका छौ, तिमीहरू धनी भइसकेका छौ, तर तिमीहरूले राज्य गरेका भएता हुनेथियो, र हामी पनि तिमीहरूसितै राज्य गरेका भएता हुनेथियो, र हामी पनि तिमीहरूसितै राज्य गर्नेथियौं।” (१ कोरिन्थी ४:८) सा०यु० प्रथम शताब्दीका सबै मसीहीहरूको स्वर्गमा येशूसँग राजा र पूजाहारी भएर शासन गर्ने आशा थियो। (प्रकाश २०:४, ६) तर स्पष्टतः कोरिन्थीका केही मसीहीहरूले पृथ्वीमा मसीही ईश्वरतन्त्रको कुनै राजा हुँदैन भन्ने कुरालाई बिर्से। यस पृथ्वीका राजाहरू जस्तो भइखानुको सट्टा मसीही गोठालाहरूले यहोवालाई प्रसन्न पार्ने गुण, विनम्रताको खेती गर्छन्।—भजनसंग्रह १३८:६; लूका २२:२५-२७.
११ के विनम्रता कमजोरी हो? अहँ, कुनै रीतिले पनि होइन। स्वयं यहोवा विनम्र हुनुहुन्छ भनेर व्याख्या गरिएको छ। (भजनसंग्रह १८:३५) यहोवाको अधीनमा इस्राएलका राजाहरूले आफ्नो सेनालाई रणभूमिमा उतारे अनि शासन गरे। तर, ‘आफ्ना दाज्यू-भाइहरूका बीचमा घमण्डले फुल्नदेखि’ हरेक राजा सजग हुनुपर्थ्यो। (व्यवस्था १७:२०) पुनरुत्थान भइसक्नुभएको येशू स्वर्गमा राजा हुनुहुन्छ। तथापि, पृथ्वीमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूको पाउ धोइदिनुभयो। कस्तो विनम्रता! त्यस्तैगरि आफ्ना प्रेरितहरू पनि विनम्र होऊन् भनेर देखाउनुहुँदै उहाँले यसो भन्नुभयो: “यदि मैले प्रभु र गुरु भईकन तिमीहरूका खुट्टा धोएको छु भने, तिमीहरूले पनि एक अर्काको खुट्टा धुनुपर्छ।” (यूहन्ना १३:१४; फिलिप्पी २:५-८) सम्पूर्ण गौरव अनि प्रशंसा कुनै मानिसलाई नभइ यहोवालाई दिनुपर्छ। (प्रकाश ४:११) आफू प्राचीन होस् वा नहोस् सबै मसीहीहरूले येशूका यी शब्दहरूको आधारमा आफूलाई सम्झनुपर्छ: “हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं।” (लूका १७:१०) यसको सट्टा अन्य दृष्टिकोण राख्नु अईश्वरतान्त्रिक हो।
१२ मसीही प्राचीनहरूले विनम्रता सँगसँगै प्रेमको खेती गर्छन्। प्रेरित यूहन्नाले प्रेमको महत्त्व देखाउँदै यसो भने: “प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) अरूलाई प्रेम नगर्नेहरू ईश्वरतान्त्रिक हुँदैनन्। परमेश्वरको पुत्रको सम्बन्धमा बाइबलले यसो भन्छ: “संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो।” (यूहन्ना १३:१) पछि मसीही मण्डलीमा परिचालक निकायका सदस्य हुन लागेका ११ जनालाई येशूले यसो भन्नुभयो: “मेरो आज्ञा यही हो, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु।” (यूहन्ना १५:१२) प्रेम नै साँचो मसीहीहरूको चिनारी हो। यसले चूर्ण हृदय भएकाहरू, शोकाकुलहरू र स्वतन्त्रताको चाह गर्ने आध्यात्मिक कैदीहरूलाई आकर्षित गर्छ। (यशैया ६१:१, २; यूहन्ना १३:३५) अतः प्राचीनहरू प्रेम देखाउनमा उदाहरणीय हुनैपर्छ।
१३ आज, प्राचीनहरूलाई निकै जटिल समस्याहरूको मदत मागिन्छ। वैवाहिक जीवनमा हुने कठिनाइहरूले गहिरो जरो गाडेको हुनसक्छ र बारम्बार दोहरिनसक्छन्। जवानहरूको पनि त्यतिकै समस्या छ जसलाई बुझ्न वयस्कहरूलाई समेत कठिन पर्नसक्छ। मानसिक विमारीहरूलाई प्राय बुझ्नै सकिन्दैन। यस्ता कुराहरूको सामना गर्नुपर्दा एक जना प्राचीन शायद द्विविधामा पर्नसक्छ। तर तिनले प्रार्थनापूर्वक यहोवाको बुद्धिमाथि भरोसा राखेमा, बाइबल र विश्वासी तथा बुद्धिमान दासद्वारा प्रकाशित जानकारीहरू खोजीनिती गरेमा अनि त्यस भेडासित विनम्र तथा मायालु व्यवहार गरेमा कठिन से कठिन परिस्थितिमा पनि फाइदाजनक प्रभाव पार्न सक्छु भनेर तिनी निश्चित हुनसक्छ।
१४ यहोवाले आफ्नो संगठनलाई “मानिसहरूमा वरदान”-द्वारा प्रशस्त आशिष दिनुभएको छ। (एफिसी ४:८ न्यु व०) समय समयमा वाच टावर सोसाइटीले थुप्रै हृदयग्राही पत्रहरू प्राप्त गर्छन्। यस्ता पत्रहरूले परमेश्वरको भेडालाई सहानुभूतिका साथ चराउने विनम्र प्राचीनहरूको प्रेमको पुष्टि दिन्छ। उदाहरणको लागि एउटा मण्डलीका प्राचीन यस्तो लेख्छन्: “मलाई यो जत्ति बढी प्रभाव पार्ने वा मण्डलीमा अझैसम्म चर्चित अर्को कुनै परिभ्रमण निरीक्षकको भेट याद छैन। भाइहरूसँग व्यवहार गर्दा सकारात्मक दृष्टिकोण राख्नुपर्ने महत्त्वलाई बुझ्न ती परिभ्रमण निरीक्षकले मलाई मदत गरे र तिनले अरूहरूको प्रशंसा गर्न मलाई जोड दिए।”
१५ निकै टाढाको अस्पतालमा गएर उपचार गराउनु परेकी एउटी बहिनीले यसो भनेर लेखिन्: “घरबाट टाढा अस्पतालमा बिताउनु परेको त्यस डरलाग्दो पहिलो रात एक जना प्राचीनलाई भेट्न पाउनु कति सान्त्वनादायी कुरा थियो! तिनी र अरू भाइहरूले मसित निकै समय बिताए। म रोगी भएको थाहा पाउने संसारका मानिसहरूले समेत यी मायालु र समर्पित भाइहरूको सान्त्वना, हेरचाह र प्रार्थनाबिना शायद म बाँच्ने पनि थिइँन होला भनेर महसुस गरे।” अर्की बहिनी यसो भनेर लेख्छिन्: “मैले जुझ्नु परेको ठूलो निरासाको दौडान प्राचीनहरूले धैर्यतापूर्वक डोऱ्याएको भएर नै म अहिले जीवित छु। . . . एक जना भाइ र तिनकी पत्नी त केही बोल्नै सकेनन्। . . . मेरो अवस्थालाई राम्ररी बुझ्न नसके तापनि तिनीहरूले प्रेमपूर्वक जसरी मेरो हेरचाह गरे त्यसले मलाई साह्रै नै असर गऱ्यो।”
१६ हो, धेरै प्राचीनहरूले प्रेरित पत्रुसको सल्लाहलाई प्रयोगमा ल्याउँदैछन्: “तिमीहरूका जिम्मामा रहेको परमेश्वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्वरको इच्छा बमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ।” (१ पत्रुस ५:१-३) यस्तो ईश्वरतान्त्रिक प्राचीनहरू पाउनु कस्तो आशिषको कुरा हो!
ईश्वरतन्त्रमा भेडाहरू
१७ तथापि, ईश्वरतन्त्रमा प्राचीनहरू मात्र हुँदैनन्। यदि गोठालाहरू ईश्वरतान्त्रिक हुनुपर्छ भने भेडाहरू पनि ईश्वरतान्त्रिक नै हुनुपर्छ। कुन तरिकामा? भनौं भने, गोठालाहरूलाई जुन सिद्धान्तहरूले डोऱ्याउँछ त्यही सिद्धान्तहरूले भेडाहरूलाई पनि डोऱ्याउनुपर्छ। यहोवाको आशिष प्राप्त गर्न प्राचीनहरू मात्र नभइ सबै मसीहीहरू पनि विनम्र हुनुपर्छ। (याकूब ४:६) सबैले प्रेमको खेती गर्नुपर्छ किनभने प्रेम बिना हाम्रो बलिदान यहोवाको निम्ति ग्रहणयोग्य हुँदैन। (१ कोरिन्थी १३:१-३) अनि प्राचीनहरू मात्र नभइ हामी सबै नै “सारा आत्मिक बुद्धि र समझमा उहाँको [यहोवाको] इच्छाको ज्ञानले . . . पूर्ण” हुनुपर्छ।—कलस्सी १:९.
१८ शैतानकै संसारमा भए तापनि विश्वासी रहिरहने कोशिश गर्दा जवान र वृद्ध दुवैले कठिन निर्णयहरू गर्नुपर्ने हुन्छ। लुगाफाटा, सङ्गीत, चलचित्र, र साहित्यप्रतिको संसारिक झुकावले कसै-कसैको आध्यात्मिकतामा चुनौती खडा गर्नसक्छ। अतः हाम्रो सन्तुलन कायम राख्न सतही ज्ञान मात्र भएर पुग्दैन। विश्वासी रहिरहन हामी सही ज्ञानले भरिनुपर्छ। हामीलाई परमेश्वरको वचनले मात्र दिन सक्ने समझशक्ति र बुद्धि चाहिन्छ। (हितोपदेश २:१-५) यसको अर्थ अध्ययन गर्ने असल बानी बसाल्नु, सिकेका कुरामाथि मनन गर्नु र त्यसलाई व्यवहारमा उतार्नु हो। (भजनसंग्रह १:१-३; प्रकाश १:३) पावलले प्राचीनहरूका लागि मात्र नभइ सबै मसीहीहरूका लागि नै यो कुरा लेखेका थिए: “खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।”—हिब्रू ५:१४.
गोठाला र भेडाहरू मिलेर काम गर्छन्
१९ अन्तमा यो भन्नु उचित होला कि प्राचीनहरूलाई सहयोग गर्नेहरूले साँच्चै नै ईश्वरतान्त्रिक मनोभाव देखाएका हुन्छन्। पावलले तिमोथीलाई यसरी लेखे: “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्। विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्।” (१ तिमोथी ५:१७; १ पत्रुस ५:५, ६) प्राचीनको हैसियतमा सेवा गर्न पाउनु एउटा अद्भुत विशेषाधिकार हो तर अधिकांश प्राचीनहरूलाई घर-गृहस्थी चलाउनुपर्ने हुन्छ। तिनीहरू दिनहुँ काममा जानुपर्छ र आफ्नी पत्नी तथा बालबच्चाहरूको रेखदेख गर्नुपर्छ। तिनीहरू सेवा गर्न खुशी छन् तर नचाहिंदो आलोचना वा माग गर्ने नभएर मण्डलीले सहयोग दिएमा तिनीहरूको सेवा सजिलो र अझ इनामदायी हुनेछ।—हिब्रू १३:१७.
२० प्रेरित पावलले यसो भने: “तिमीहरूलाई परमेश्वरको वचन सुनाउने र तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतीजालाई विचार गरेर तिनीहरूको विश्वासको देखा-सिकी गर।” (हिब्रू १३:७) अहँ, पावलले भाइहरूलाई प्राचीनहरूको पछि लाग्ने प्रोत्साहन दिएनन्। (१ कोरिन्थी १:१२) मानिसको पछि लाग्नु ईश्वरतान्त्रिक कुरो होइन। तर त्यस्ता ईश्वरतान्त्रिक प्राचीनको प्रमाणित विश्वासको अनुकरण गर्नु अवश्य बुद्धिमानी कुरा हो, जो प्रचारकार्यमा सक्रिय हुन्छ, नियमित रूपमा सभामा उपस्थित हुन्छ र आफ्नो मण्डलीलाई विनम्र तथा प्रेमपूर्ण व्यवहार गर्छ।
विश्वासको प्रमाण
२१ मानव इतिहासको सबैभन्दा भ्रष्ट समयमा आज एउटा ईश्वरतान्त्रिक संगठन हुनु निश्चय नै महान ईश्वरतन्त्रवादीको शक्तिको प्रमाण हो। (यशैया २:२-५) त्यस्तैगरि यो ती ५० लाख मसीही पुरुष, स्त्री तथा केटाकेटीहरूको विश्वासको पनि प्रमाण हो, जो दैनिक जीवनका समस्याहरूसँग संघर्ष गर्छन् तर यहोवा आफ्नो शासक हो भनेर कहिल्यै भुल्दैनन्। जसरी विश्वासी मोशा “अदृश्यलाई देखेझैं गरी . . . स्थिर रहे” मसीहीहरूको पनि आज त्यस्तै अटल विश्वास छ। (हिब्रू ११:२७) तिनीहरूले ईश्वरतन्त्रमा बाँच्ने विशेषाधिकार पाएका छन् र त्यसका लागि दिनहुँ यहोवालाई धन्यवाद दिन्छन्। (भजनसंग्रह १००:४, ५) यहोवाको रक्षा गर्ने शक्ति अनुभव गर्दै तिनीहरू यो घोषणा गर्न हर्षित छन्: “परमप्रभु [यहोवा न्यु व०] हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु [यहोवा न्यु व०] हाम्रा शासक हुनुहुन्छ। परमप्रभु [यहोवा न्यु व०] हाम्रा राजा हुनुहुन्छ, उहाँलेनै हामीलाई बचाउनुहुनेछ।”—यशैया ३३:२२. (w94 1/15)
[फुटनोट]
a त्यस्ता प्रकाशनहरूमध्ये “पे अटेन्सन टु योरसेल्फ एण्ड टु अल द फ्लक” भन्ने पुस्तक पनि हो, जसमा भएका शास्त्रीय निर्देशनहरू मण्डलीमा नियुक्त निरीक्षक र प्राचीनहरूका लागि हुन्।
बाइबलले के देखाउँछ?
▫ कुन तरिकामा मसीहीहरू ईश्वरतन्त्रको अधीनमा बस्छन्?
▫ ईश्वरतन्त्रलाई आज कसरी संगठित गरिएको छ?
▫ प्राचीनहरूले आफ्नो जिम्मेवारीहरूलाई पूरा गर्न आफैलाई कसरी तयार गर्नुपर्छ?
▫ कुन मसीही गुणहरू मसीहीले खेती गर्नु र प्रकट गर्नु अत्यावश्यक छ?
▫ ईश्वरतन्त्रमा भेडा र गोठालाहरूबीच कस्तो सम्बन्ध हुनुपर्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. प्रथम शताब्दीका मसीहीहरू र आजका मसीहीहरू ईश्वरतन्त्र हुन् भनेर कसरी भन्न सकिन्छ?
२. यहोवाका साक्षीहरू यहोवाको शासनको अधीनमा बस्ने एउटा तरिका के हो?
३. नैतिकताको सम्बन्धमा मसीहीहरू कसरी ईश्वरतन्त्रको अधीनमा बस्छन्?
४. आदम, हव्वा अनि शाऊलले कस्तो गलत मनोवृत्ति देखाए र मसीहीहरूले कसरी भिन्दै मनोवृत्ति देखाउँछन्?
५, ६. आज मानवजातिसित यहोवाले कसरी व्यवहार गर्नुहुन्छ र यस प्रबन्धलाई सहयोग गर्दा कस्तो परिणाम हुन्छ?
७. मसीही प्राचीनहरू ईश्वरतान्त्रिक ढङ्गमा नियुक्त हुन्छन् भनेर किन भन्न सकिन्छ?
८. आज प्राचीनहरूले निर्वाह गर्नु पर्ने सामान्य जिम्मेवारीहरू के के हुन्?
९. मण्डलीमा परमेश्वरको इच्छालाई प्रतिनिधित्व गर्न प्राचीनहरूले आफैलाई कसरी तयार गर्नुपर्छ?
१०. कुन खराब मनोवृत्तिदेखि प्राचीनहरू होशियार हुनुपर्छ र कसरी?
११. (क) विनम्रताका केही अतुलनीय उदाहरणहरू के के हुन्? (ख) प्राचीनहरू र बाँकि सबै मसीहीहरूले आफैलाई कस्तो सम्झनु पर्छ?
१२. प्रेम किन मसीही प्राचीनहरूले खेती गर्नुपर्ने अत्यावश्यक गुण हो?
१३. आजका समस्याहरू कठिन भए तापनि प्राचीनहरूले सबै परिस्थितिमा कसरी फाइदाजनक प्रभाव पार्न सक्छन्?
१४, १५. यहोवाले आफ्ना जनहरूलाई प्रशस्त असल प्राचीनहरूद्वारा आशिषित गर्नुभएको छ भनेर देखाउने केही अभिव्यक्तिहरू के हुन्?
१६. पत्रुसले प्राचीनहरूलाई कस्तो सल्लाह दिन्छन्?
१७. मण्डलीका सबै सदस्यहरूले खेती गर्नुपर्ने केही गुणहरू बताउनुहोस्।
१८. (क) सत्यको सतही ज्ञान मात्र किन पर्याप्त छैन? (ख) हामी सबै जना सही ज्ञानले कसरी भरिन सक्छौं?
१९, २०. प्राचीनहरूलाई सहयोग गर्न सबैलाई के सल्लाह दिइएको छ र किन?
२१. मसीहीहरूले कसरी मोशाको जस्तै अटल विश्वास देखाउँछन्?
[पृष्ठ २८-मा भएको चित्र]
आदम र हव्वाले प्रमोदवन गुमाए किनभने तिनीहरू असल र खराबको निर्णय आफै गर्न चाहन्थे
[पृष्ठ ३०-मा भएको चित्र]
एक जना प्राचीनले भेडासित विनम्र अनि मायालु व्यवहार गरेमा तिनले सधैं फाइदाजनक प्रभाव पार्न सक्छ