सत्य भेटाउनेहरूका लागि आनन्द
आफ्नो भण्डारमा एक फिनल्यान्डबासीले द डिभाइन प्लान अफ दी एजेस् (युगानुयुगको ईश्वरीय योजना) पुस्तक भेटाए। उनले त्यो तुरुन्तै पढ्न थाले र क्षणभरमै मनमनै यसो भने, ‘यो नै सत्य हो; यो नै सत्य हो।’ भण्डारबाट तल ओर्लेपछि उनले आफ्नी पत्नीलाई यसो भने, “मैले साँचो धर्म भेटाएँ।”
यस मानिसले सत्य पाएको तरिकाले गर्दा यो अनुभव अनौठो छ तर यहोवाका थुप्रै साक्षीहरूले यस्तै प्रतिक्रिया व्यक्त गर्नसक्छन्। सत्य भेटाउँदा आफूले पाएको आनन्द तिनीहरू सबैले तपाईंलाई बताउन सक्छन्। निम्न अनुभवहरूले यसलाई प्रकाश पार्छ।
बाइबलका साँचो शिक्षाहरूले आनन्द ल्याउँछ
दोस्रो विश्व-युद्धताका म्युनिक, जर्मनीमा मार्गरिटा कोनिगर हुर्केकी थिइन्। बम प्रहार र बलिरहेका घरहरू जताततै देखिन्थ्यो। उनको दाइ युद्धमा मारिए। क्याथोलिक चर्चका उपासना कार्यक्रमहरूमा उनले जर्मन सिपाहीहरू र नेता हिटलरको लागि प्रार्थनाहरू गरिएको सुनिन्। उनले युद्धपश्चात् विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत संयुक्त राज्यको कलेजमा अध्ययन गर्ने छात्रवृत्ति पाइन्। त्यहाँ मानिसहरू आफूसित मित्रैलो भएको उनले पाइन्। त्यसकारण शान्तिसाथ बस्ने स्वाभाविक चाहना भएका मानिसहरू किन युद्धताका एकअर्कालाई घृणा गर्छन् भनी उनले सोच्न थालिन्। म्युनिक फर्केपछि उनी यहोवाका साक्षीहरूको सम्पर्कमा आइन् र तिनीहरूसित बाइबल अध्ययन गरेर आफ्ना प्रश्नहरूको जवाफ पाइन्। उनी भन्छिन्: “ती कार्यहरूमा दुष्टात्माहरू संलग्न छन् भनी मलाई बाइबलबाट देखाइयो। . . . बाइबलले तिनीहरूलाई ‘संसारका शासकहरू’ र वास्तवमा शैतानले ‘सारा संसारलाई ठगिरहेको छ’ भन्छ। . . . राष्ट्र तथा मानिसहरूको अईश्वरीय, शैतानी कार्यहरू हेर्दा यो जवाफ कति तार्किक र सन्तोषजनक छ!”—एफिसी ६:१२; प्रकाश १२:९.
मार्गरिटा अझै भन्छिन्: “पृथ्वीका समस्याहरू समाधान गर्ने परमेश्वरको प्रबन्धबारे थाह पाउँदा म असाध्यै आनन्दित भएँ। अहँ, यो सांसारिक शिक्षकहरूद्वारा प्रस्तावित कुनै मानव विचारधारा वा प्रशासन मार्फत हुनेछैन। बरु, पृथ्वीका गतिविधिहरूमा नयाँ स्वर्गीय सरकारले अधिकार जमाउनेछ भनी बाइबलले देखाउँछ। . . . येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसप्रकार प्रार्थना गर्न सिकाउनुभयो: ‘तपाईंको राज्य आओस्।’ . . . यो एउटा वास्तविक सरकार हो र यसैद्वारा मात्र साँचो विश्वव्यापी शान्ति हासिल गर्न सकिन्छ भनी मैले बुझ्न थालें।” पाँच अफ्रिकी मुलुकमा झन्डै ३० वर्षसम्म मार्गरिटाले मिसनरीको हैसियतमा सेवा गरेकी छिन्। त्यसमध्ये पछिल्लो १९ वर्ष उवागादोगो, बुर्किना फासोका नम्र मानिसहरूलाई सत्य घोषणा गर्न बिताएकी छिन्।
यस्तो अनुभव मार्गरिटाको मात्र होइन। युद्धरत दुवै पक्षका मसीहीजगतका पादरीहरूले प्रार्थना गरेको थाह पाउँदा थुप्रैले त्यस्तै सकारात्मक प्रतिक्रिया देखाएका छन्। मानव युद्धहरूमा परमेश्वरको कुनै हात छैन तर “सारा संसार त्यस दुष्टको अधीनमा” भएकोले ती हुन्छन् भनी इमान्दार हृदय भएका मानिसहरू बाइबलले दिने स्पष्टीकरण व्यवहारिक छ भनेर बुझ्छन्। साँचो मसीहीहरू “संसारका होइनन्” र त्यसका गतिविधिहरूमा तटस्थ बस्नुपर्छ भनी सत्य खोज्ने यी व्यक्तिहरूले सिक्छन्। यहोवाका साक्षीहरूले त्यस्तो अडान लिइसकेको देखेर यी नवजिज्ञासुहरू सत्य भेटाएको कुरामा विश्वस्त हुन्छन्। परमेश्वरले अहिलेसम्म दुष्टता किन रहिरहन दिनुभएको र चाँडै उहाँले आफ्नो राज्य मार्फत पृथ्वीमा शान्तिमय तथा धार्मिक अवस्था कसरी ल्याउनुहुनेछ भनी सिक्दै जाँदा त्यस्ता व्यक्तिहरूको आशा र आनन्द बढ्छ।—१ यूहन्ना ५:१९; यूहन्ना १७:१६; मत्ती ६:९, १०.
बाइबलका साँचो सिद्धान्तहरूले आनन्द ल्याउँछ
इक्वेडरका दान्यल रोसेरोलाई जीवन अर्थहीन लाग्यो; अतः उनले मद्यपान गर्न थाले। आफूले प्रतीक्षा गर्न सकिने कुरा केवल मृत्यु र डरलाग्दो नरक हो भनी उनको चर्चले सिकाएको थियो। उनले जवाफ दिए, “म आखिरमा जल्नेछु, अतः मलाई पिउन देऊ!” उनको परिवारमा आठ जना थिए र उनले तिनीहरूका लागि कुनै प्रबन्ध गरेका थिएनन्, साथै आफ्नी पत्नी, डेल्यासित सधैं झगडा गरिरहन्थे। एक दिन आइतबार बिहान यहोवाका साक्षीहरू आउँदा उनीहरूको जीवनले नयाँ मोड लियो र उनीहरूले बाइबल अध्ययन गर्न थाले। यहोवाका साक्षीहरूको क्षेत्रीय सम्मेलनमा उपस्थित भएको प्रथम पटकमै आफूले सत्य पाएको उनलाई महसुस भयो। उनी भन्छन्: “संगठनले मलाई भाव विह्वल तुल्यायो। थुप्रै मानिसहरू एकसाथ मिलेर बसिरहेका थिए। भीडमा प्रेमको आभास पाइन्थ्यो। कोही धूम्रपान गर्दैनथे। कसैले फोहर बोली बोल्दैनथे। . . . ‘यो सत्य हो!’ भनी मनमनै भनेको मलाई अझै याद छ। मलाई भावनात्मक तवरमा प्रेरित गर्ने मृत्युको डर वा संसारको अन्तको डर थिएन। यो संगठनको स्वच्छता थियो।”
सम्पूर्ण रोसेरो परिवार यहोवाका साक्षीहरू भए। बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याउँदा उनीहरूको पारिवारिक जीवन र आर्थिक अवस्था सुध्रिन थाल्यो। डेल्या रोसेरो भन्छिन्: “म यो सबै कुराको श्रेय बाइबलको सत्यलाई दिन्छु। परमेश्वरको वचनबिना मेरा बच्चाहरू कहाँ भौंतारिरहेका हुन्थे होलान्? ती सातै जनाले बप्तिस्मा लिइसके र तिनीहरू सन्तुलित छन्। सत्यले मेरो लागि पूर्णतया नयाँ जीवन र नयाँ आनन्द ल्याएको छ।”
यो रोसेरो परिवारको मात्र अनुभव होइन। हाम्रो समयमा धेरै मानिसहरू समस्याग्रस्त छन्। त्यसो हुनुको एउटा कारण, अघिका पुस्ताहरूजस्तै मानिसहरूले बाइबलमा दिइएका नैतिक स्तरहरूको आदर गर्दैनन्। सहिष्णुताको नाउँमा वा परिवर्तित समयमा पुराना नीतिहरू काम नलाग्ने भइसके भनी थुप्रै धर्महरूले यो पद्धति पछ्याएका छन्। अतः अरूजस्तै रोसेरो परिवार पनि बाइबलको डोऱ्याइबिना भौंतारिरहेका थिए। तथापि, त्यस्ता नम्र मानिसहरूले नैतिकता र पारिवारिक जीवनसम्बन्धी परमेश्वरको दृष्टिकोण थाह पाउँदा आफूले सिकेका कुराहरू तुरुन्तै व्यवहारमा ल्याइहाल्छन्। तिनीहरूका कथाहरूबाट हामी त्यसो गर्नुको असल परिणामहरू देख्न सक्छौं।
आनन्द खेती गर्नुपर्छ
तथापि, यसको अर्थ मसीहीहरू सधैं हर्षित हुन्छन् भनेको होइन। स्पष्ट छ, मानिसहरूले साधारणतया सामना गर्ने बेरोजगार, बिमारी र मृत्युजस्ता कठिनाइहरू मसीहीहरूले पनि भोग्छन्। आफ्नै असिद्धता र कमजोरी विरुद्ध मसीहीहरूले पनि निरन्तर संघर्ष गर्नुपर्छ। बाइबलको विवरणअनुसार लूत सदोम शहरका मानिसहरूको “कामुक जीवनबाट अति दुःखित” थिए। दुष्ट परिस्थितिहरू देख्दा विश्वासी मसीहीहरूले त्यस्तै महसुस गर्छन्।—२ पत्रुस २:७, ८.
तथापि, सत्य पाउनेहरूका निम्ति एउटा थप लाभ छ। उदाहरणको लागि, विश्वासी व्यक्ति शोकाकूल हुँदा “आशा नहुने अरू बाँकीहरूले जस्तो शोक” गर्दैन। उनको दुःख असीमित हुँदैन। अन्य समस्याहरूको सन्दर्भमा पनि यो लागू हुन्छ। वर्तमान कठिनाइहरू केवल क्षणिक हुन् भनी सत्य भेटाएको व्यक्तिलाई थाह हुन्छ। कठिनाइहरू सहन आशाले सजिलो बनाउँछ। साथै सन्तुलित जीवनशैलीले पनि मदत गर्छ।—१ थिस्सलोनिकी ४:१३.
पावलले मसीहीहरूलाई यसरी आग्रह गरे: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।” (फिलिप्पी ४:४) हामी सबैले आनन्द प्राप्त गर्नसक्ने भए तापनि त्यो आफूसित नहुन पनि सक्छ भनी यसले देखाउँछ। यस पुरानो रीतिरिवाजका चिन्ताहरू अवरोध साबित हुनसक्छ। यसको अलावा, परमेश्वरको आत्माको फल, आनन्द खेती गर्नुपर्ने आवश्यकताबारे हामीलाई बाइबलले बताउँछ। (गलाती ५:२२) तपाईंले निरन्तर सत्यको ज्ञान लिनुभयो र यसले ल्याउने आध्यात्मिक धनहरू तथा अझै भविष्यमा प्राप्त हुने धनबारे आफूलाई स्मरण गराउनुभयो भने तपाईंको आनन्द कम हुनेछैन। परमेश्वरले मानिसहरूको आँखाबाट ‘आँसु पुछिदिनुहुने’ र ‘शोक, रुवाइ, पीडा फेरि केही नहुने’ समय नजिकिंदै जाँदा आनन्द झन् सुदृढ हुनेछ।—प्रकाश २१:४.
[पृष्ठ ८-मा भएको चित्र]
यहोवाका साक्षीहरूका सम्मेलनहरूमा आनन्द र सुव्यवस्था देखेर धेरै मानिसहरू प्रभावित भएका छन्