प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१५ pp. २७-३१
  • “तपाईंको राज्य आओस्‌”—तर कहिले?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंको राज्य आओस्‌”—तर कहिले?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घोडसवारहरू देखा पर्छन्‌
  • खराबी झन्‌झनै बढ्‌दै छ
  • यो पुस्ता बितेर जानेछैन
  • ख्रीष्ट चाँडै विजयी हुनुहुनेछ
  • “तपाईंको राज्य आओस्‌”
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • “संसारको अन्त” नजिक छ!
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१५ pp. २७-३१
येशू सेतो घोडामा सवार हुनुहुन्छ र उहाँले मुकुट लगाउनुभएको छ

“तपाईंको राज्य आओस्‌” तर कहिले?

“जब तिमीहरू यी सबै कुरा देख्छौ तब ऊ नजिकै, ढोकामै छ भनी जान।”—मत्ती २४:३३.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • सन्‌ १९१४ देखिको विश्‍वघटनाले बाइबल भविष्यवाणी पूरा भइरहेको छ भनेर कसरी देखाउँछ?

  • संसारको अवस्था किन झन्‌झनै बिग्रँदै छ?

  • अन्त नजिकै छ भनेर थाह पाउँदा तपाईंलाई कस्तो लाग्छ?

१, २. (क) के कारण अगाडि नै भएको कुरा हामी देख्न सक्दैनौं? (ख) परमेश्‍वरको राज्यबारे हामीलाई के थाह छ?

एउटै घटनाको समान विवरणलाई मानिसहरूले सधैं एउटै तरिकाले सम्झन्छन्‌ भन्‍ने छैन। रोग खुट्ट्याएपछि डाक्टरले ठ्‌याक्कै के भने, सम्झन कुनै-कुनै बिरामीलाई गाह्रो हुन सक्छ। अथवा कसै-कसैले आफ्नै आँखाअघि भएको साँचो वा चस्मासमेत भेट्टाउन सक्दैनन्‌। किन? एक किसिमको अन्धोपनले गर्दा यस्तो हुने गर्छ। अनुसन्धानकर्ताअनुसार एकै पटकमा थुप्रै काम गर्ने कोसिस गर्दा अगाडि नै भएको कुरा देख्न सक्दैनौं। हाम्रो मस्तिष्कले एक पटकमा एउटा कुरामा मात्र ध्यान दिन सक्छ।

२ त्यसैगरि संसारमा भइरहेका घटनाको अर्थ नबुझेर आज थुप्रै मानिस “अन्धोसरह” भएका छन्‌। सन्‌ १९१४ देखि संसारमा ठूलो परिवर्तन आएको छ भनेर तिनीहरू स्वीकार्लान्‌ तर तिनीहरूलाई त्यसको वास्तविक कारण थाह छैन। बाइबलको विद्यार्थी भएकोले हामीलाई चाहिं १९१४ मा येशू स्वर्गमा राजा हुनुभएपछि परमेश्‍वरको राज्य सुरु भयो भनेर थाह छ। तर “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌” भन्‍ने प्रार्थनाको पूरा जवाफ अहिलेसम्म पाएका छैनौं। (मत्ती ६:१०) यो दुष्ट युग नामेट भएपछि त्यस प्रार्थनाको पूरा जवाफ पाउनेछौं। त्यसपछि मात्र परमेश्‍वरको इच्छा स्वर्गमा पूरा भएझैं पृथ्वीमा पनि पूरा हुनेछ।

३. बाइबलको अध्ययन गरेकोले हामीलाई के थाह छ?

३ परमेश्‍वरको वचन नियमित रूपमा अध्ययन गरेकोले भविष्यवाणीहरू पूरा भइरहेका छन्‌ भनेर हामीलाई थाह छ। आममानिस र हामीबीच कत्ति भिन्‍नता! तिनीहरू आफ्नै संसारमा व्यस्त छन्‌। त्यसैकारण ख्रीष्टले १९१४ देखि राज्य गर्दै हुनुहुन्छ र चाँडै यस दुष्ट संसार नाश गर्नुहुनेछ भन्‍ने स्पष्ट प्रमाणलाई बेवास्ता गर्छन्‌। आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘पृथ्वीमा भइरहेका घटनाहरूले यस संसारको अन्त एकदमै नजिक छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनेर दशकौंअघि जत्ति ढुक्क थिएँ अहिले पनि त्यत्ति नै ढुक्क छु?’ हालसालै साक्षी बनेको भए तापनि तपाईंको ध्यान केमा केन्द्रित छ? तपाईंको जवाफ जेसुकै होस्‌, पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुनेछ भनेर किन ढुक्क हुन सक्छौं, तीनवटा महत्त्वपूर्ण कारण विचार गरौं।

घोडसवारहरू देखा पर्छन्‌

४, ५. (क) सन्‌ १९१४ देखि येशू के गर्दै हुनुहुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) येशूको पछि लागेका तीन घोडसवारले केलाई चित्रण गर्छ? यो भविष्यवाणी कसरी पूरा भएको छ?

४ येशूलाई १९१४ मा स्वर्गमा मुकुट दिइयो। प्रकाश अध्याय ६ को भविष्यवाणीमा उहाँलाई सेतो घोडामा सवार राजाको रूपमा चित्रण गरिएको छ। राजा हुनेबित्तिकै उहाँ सैतानको दुष्ट संसारलाई नामेट पार्न अघि बढ्‌नुभयो। (प्रकाश ६:१, २ पढ्‌नुहोस्‌) भविष्यवाणीअनुसार परमेश्‍वरको राज्यले शासन सुरु गरेपछि संसारको अवस्था झनै बिग्रनेथियो। युद्ध, अनिकाल, रोगबिमार पहिलेभन्दा धेरै हुनेथिए र मृत्युका अन्य कारण पनि बढ्‌नेथिए। उक्‍त भविष्यवाणीमा यी विपत्तिहरूलाई येशू ख्रीष्टको पछि-पछि आइरहेका तीन घोडसवारद्वारा चित्रण गरिएको छ।—प्रका. ६:३-८.

५ भविष्यवाणी गरिएझैं युद्धले गर्दा ‘पृथ्वीबाट शान्ति हरण भयो।’ थुप्रै राष्ट्रले एकसाथ काम गर्ने र शान्ति कायम गर्ने सन्धि गरे तापनि त्यस्तो हुन सकेन। प्रथम विश्‍वयुद्ध पृथ्वीबाट शान्ति हरण गर्ने युद्धको सुरु मात्र थियो। सन्‌ १९१४ पछि आर्थिक र वैज्ञानिक क्षेत्रमा थुप्रै प्रगति भए तापनि खानेकुराको अभावले गर्दा अशान्ति मच्चिरहेको छ। महामारी र प्राकृतिक प्रकोपले गर्दा वर्षेनी लाखौंको मृत्यु हुन्छ भन्‍ने कुरालाई कसैले नकार्न सक्दैनन्‌। यी घटनाहरूले पहिलेभन्दा झनै खतरनाक रूप लिएको छ, यस्ता घटना पहिलेभन्दा धेरै भइरहेका छन्‌ र पहिलेभन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन्‌। यस्तो हुनुको कारण के तपाईंलाई थाह छ?

प्रकाशको पुस्तकमा बताइएका चार घोडसवारमध्ये तीन घोडसवार

घोडसवारहरू देखा परेपछि संसारको अवस्था झन्‌झनै बिग्रन थाल्यो (अनुच्छेद ४, ५ हेर्नुहोस्‌)

६. बाइबल भविष्यवाणीको पूर्तिमा कसले ध्यान दिइरहेका थिए? भविष्यवाणी पूरा हुँदा तिनीहरूले के गरे?

६ प्रथम विश्‍वयुद्ध र स्पेनिश फ्लूको कारण थुप्रै मानिसको ध्यान खलबलियो। तर अभिषिक्‍त ख्रीष्टियनहरू १९१४ मा अन्यजातिको समय अर्थात्‌ “राष्ट्रहरूलाई दिइएको समय” पूरा हुन्छ भनेर उत्सुकतासाथ पर्खंदै थिए। (लूका २१:२४) ती अभिषिक्‍त ख्रीष्टियनहरूलाई बाइबलको यो भविष्यवाणी ठ्‌याक्कै कसरी पूरा हुन्छ भनेर त थाह थिएन तर १९१४ मा परमेश्‍वरको राज्यसम्बन्धी महत्त्वपूर्ण घटना हुनेछ भनेरचाहिं थाह थियो। बाइबल भविष्यवाणी पूरा भएको बुझ्नेबित्तिकै तिनीहरूले परमेश्‍वरको शासन सुरु भइसक्यो भनेर साहसी भई घोषणा गर्न थाले। परमेश्‍वरको राज्यबारे सुनाएकोले तिनीहरूलाई क्रूरतासाथ सताइयो। यो पनि बाइबल भविष्यवाणी पूरा भएको चिन्ह थियो। त्यसपछिका वर्षहरूमा परमेश्‍वरको राज्यका शत्रुहरूले कानुन, हिंसा, झ्यालखाना आदिको सहारा लिएर प्रचारकार्य रोक्न खोजे। कतिपयले प्रचारकार्यमा भाग लिनेहरूलाई मृत्युदण्डसमेत दिए।—भज. ९४:२०; प्रका. १२:१५.

७. संसारमा भइरहेको घटनाको कारण धेरैजसोले किन बुझेका छैनन्‌?

७ परमेश्‍वरको राज्यले स्वर्गमा शासन गरिरहेको छ भन्‍ने थुप्रै प्रमाण भए तापनि धेरैजसोले किन स्वीकारेका छैनन्‌? विश्‍वघटनाले बाइबल भविष्यवाणी पूरा भइरहेको प्रमाण दिन्छ भनेर परमेश्‍वरका सेवकहरूले घोषणा गरेको वर्षौं भए तापनि मानिसहरू किन बुझ्दैनन्‌? कतै तिनीहरूले आफूले चाहेको कुराहरू मात्र देखेका हुन्‌ कि? (२ कोरि. ५:७) आफ्नै दिनचर्यामा असाध्यै व्यस्त भएकोले परमेश्‍वरले गरिरहनुभएको कुरा बुझ्न नसकेका पो हुन्‌ कि? (मत्ती २४:३७-३९) तिनीहरूमध्ये कसै-कसैको ध्यान सैतानको संसारको सोचाइ र लक्ष्यले गर्दा खलबलिएको हो कि? (२ कोरि. ४:४) परमेश्‍वरको राज्यले के गरिरहेको छ भनेर बुझ्न हामीलाई विश्‍वासका साथै पछिसम्मको कुरा देख्न सक्ने क्षमता चाहिन्छ। अहिले के भइरहेको छ भनेर देख्न सकेकोमा हामी असाध्यै आनन्दित छौं।

खराबी झन्‌झनै बढ्‌दै छ

८-१०. (क) दोस्रो तिमोथी ३:१-५ कसरी पूरा भइरहेको छ? (ख) खराबी बढ्‌दै छ भनेर किन भन्‍न सक्छौं?

८ परमेश्‍वरको राज्यले चाँडै पृथ्वीमाथि शासन गर्नेछ भनेर हामीलाई थाह हुनुको दोस्रो कारण हो: संसार पहिलेभन्दा खराब भएको छ र झन्‌झनै खराब हुँदै गइरहेको छ। लगभग १०० वर्षदेखि हामीले २ तिमोथी ३:१-५ का शब्दहरू पूरा हुँदै आएको देखेका छौं। यी पदहरूमा उल्लेख गरिएका आनीबानी संसारभर नै व्याप्त भइरहेको छ। तपाईंलाई पनि त्यस्तै लाग्दैन र? आउनुहोस्‌, केही उदाहरण विचार गरौं।—२ तिमोथी ३:१, १३ पढ्‌नुहोस्‌।

९ सन्‌ १९४० वा १९५० को दशकमा मानिसहरूलाई जे कुराले स्तब्ध पार्थ्यो, त्यसलाई आज काम गर्ने ठाउँ, मनोरञ्जन, खेलकुद र फेसन जगत्‌मा भइरहेको घटनासित तुलना गर्नुहोस्‌। जतासुकै घोर हिंसा र घोर अनैतिकता छ। मानिसहरू हिंस्रक, अनैतिक र क्रूर व्यवहार देखाउन तँछाडमछाड गरिरहेका छन्‌। सन्‌ १९५० को दशकमा थुप्रैलाई नपच्ने टिभी कार्यक्रमहरू अहिले परिवारै मिलेर हेर्न थालेका छन्‌। अनि समलिङ्‌गीहरूले मनोरञ्जन र फेसन जगत्‌मा ठूलो प्रभाव पार्छन्‌ र त्यस्तो जीवनशैलीलाई बढावा दिन्छन्‌ भन्‍ने कुरा थुप्रैले स्वीकार्छन्‌। तर यी कुराहरूलाई परमेश्‍वर कस्तो नजरले हेर्नुहुन्छ, हामीलाई चाहिं थाह छ।—यहूदा १४, १५ पढ्‌नुहोस्‌।

१० साथै, विगतमा युवाहरूले देखाउने विद्रोही मनोभावलाई आजका युवाहरूले देखाउने मनोभावसित दाँज्नुहोस्‌। उदाहरणको लागि, १९५० को दशकमा आमाबाबुहरू छोराछोरीले चुरोट खालान्‌, रक्सी पिउलान्‌ वा उत्ताउलो किसिमले नाच्लान्‌ भनेर चिन्ता गर्थे। तर आजभोलि भने यस्ता समाचार सामान्य भइसके: १५ वर्षे विद्यार्थीले आफ्ना साथीहरूलाई गोली हान्दा दुईको मृत्यु, १३ घाइते; रक्सीले मात्तिएका युवाहरूको समूहद्वारा नौ वर्षीया बालिकाको निर्ममतासाथ हत्या र उनका बुबा र दाइमाथि आक्रमण। अर्को रिपोर्टअनुसार एउटा एसियाली मुलुकमा १० वर्षको अवधिमा जे-जति अपराध भए, आधाजसोमा युवाहरूको हात थियो। अवस्था झन्‌झनै बिग्रँदै छ भन्‍ने कुरालाई कसले पो अस्वीकार गर्न सक्छ र?

११. अवस्था बिग्रँदै गइरहेको छ भन्‍ने कुरालाई धेरैजसोले किन याद गर्दैनन्‌?

११ प्रेषित पत्रुसले यसो भन्‍नु ठीकै थियो: “अन्तको दिनमा, आफ्ना कुइच्छाहरू पूरा गर्न गिल्ला गर्नेहरू गिल्ला गर्दै देखा पर्नेछन्‌ र भन्‍नेछन्‌: ‘उहाँले प्रतिज्ञा गर्नुभएको उहाँको उपस्थिति खोइ? किनकि सृष्टिको सुरुवातदेखि सबै कुरा जसरी चल्दै आएको थियो, हाम्रा पुर्खाहरू मृत्युको चिर निद्रामा परेको दिनदेखि यता पनि त्यसरी नै चलिरहेको छ।’” (२ पत्रु. ३:३, ४) कोही-कोही किन यस्तो प्रतिक्रिया देखाउँछन्‌? हामी कुनै कुरालाई जति धेरै हेर्छौं, त्यो त्यति नै सामान्य लाग्न थाल्छ। हाम्रो घनिष्ठ साथीको व्यवहारमा एकाएक परिवर्तन आउँदा हामी स्तब्ध हुन्छौं। तर वर्षौंको दौडान आममानिसको मनोवृत्ति र नैतिकता बिस्तारै खस्केको हामीलाई यादै नहुन सक्छ। तर यस्तो परिवर्तन पनि खतरनाक छ।

१२, १३. (क) संसारमा भइरहेको घटना देखेर हामी किन निराश हुनुपर्दैन? (ख) “असाध्यै कठिन समय”-को सामना गर्न हामीलाई केले मदत गर्नेछ?

१२ अन्तको दिन “असाध्यै कठिन” हुनेछ भनेर पावलले चेतावनी दिए। (२ तिमो. ३:१) तर त्यस्तो परिस्थितिको सामना गर्नै नसकिने त होइन। हामी जस्तोसुकै निराशा वा डरसित डट्‌न सक्छौं। यहोवा, उहाँको शक्‍ति र ख्रीष्टियन मण्डलीको मदत पाएर हामी उहाँप्रति वफादार भइरहन सक्छौं। उहाँले हामीलाई “असाधारण शक्‍ति” दिनुहुनेछ।—२ कोरि. ४:७-१०.

१३ अन्तको दिनबारे भविष्यवाणी गर्दा पावलले “थाह पाइराख” भने। यी शब्दहरूले उक्‍त भविष्यवाणी पूरा हुनेछ भन्‍ने कुराको ग्यारेन्टी दिन्छ। यहोवाले यस युगको अन्त नगरुन्जेल संसारको अवस्था झन्‌झनै बिग्रँदै जानेछ भनेर हामीलाई थाह छ। सही र गलतसम्बन्धी स्तर खस्कँदै जाँदा समाज र राष्ट्रहरू धराशायी भएको हामीले इतिहासबाट सिकेका छौं। सही र गलतसम्बन्धी स्तर अहिले जति पहिला कहिल्यै खस्केको थिएन। किन यस्तो भइरहेको छ भनेर थुप्रैलाई वास्तै छैन। तर १९१४ देखिको घटनाले परमेश्‍वरको राज्यले चाँडै खराबीको अन्त गर्नेछ भनी देखाउँछ भनेर हामी पक्का हुनुपर्छ।

यो पुस्ता बितेर जानेछैन

१४-१६. परमेश्‍वरको राज्य चाँडै ‘आउनेछ’ भनेर हामी ढुक्क हुन सक्ने तेस्रो कारण के हो?

१४ अन्त नजिकै छ भनेर हामीलाई ढुक्क बनाउने तेस्रो कारण हो, परमेश्‍वरका जनहरूको इतिहास। उदाहरणको लागि, परमेश्‍वरको राज्यले स्वर्गमा शासन थाल्नुअघि वफादार अभिषिक्‍त ख्रीष्टियनहरूको समूहले परमेश्‍वरको सेवा गरिरहेको थियो। सन्‌ १९१४ मा आफ्नो आशा साकार नहुँदा तिनीहरूले के गरे? तिनीहरूमध्ये धेरैजसोले वफादार भई निरन्तर यहोवाको सेवा गरे अनि परीक्षा र सतावट सहे। वर्षौंको दौडान, धेरैजसो अभिषिक्‍त ख्रीष्टियन जीवनको अन्तसम्मै वफादार भएका छन्‌।

१५ सैतानको संसारको अन्तबारे भविष्यवाणी गर्दा येशूले यसो भन्‍नुभयो: “यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।” (मत्ती २४:३३-३५ पढ्‌नुहोस्‌) येशूले “यो पुस्ता” भन्‍नुहुँदा अभिषिक्‍त ख्रीष्टियनहरूको दुइटा समूहबारे कुरा गर्दै हुनुहुन्थ्यो भनेर हामीले बुझेका छौं। पहिलो समूह १९१४ मा जीवित थियो र ख्रीष्टले त्यही वर्ष राजाको रूपमा शासन सुरु गर्नुभयो भनेर तिनी हरूले बुझेका थिए। त्यतिमात्र होइन, तिनीहरू १९१४ मा वा त्यसअघि नै पवित्र शक्‍तिद्वारा अभिषेक भइसकेका थिए।—रोमी ८:१४-१७.

१६ “यो पुस्ता”-को दोस्रो समूहमा पर्ने अभिषिक्‍त ख्रीष्टियनहरू पहिलो समूहका समकालीन हुन्‌। पहिलो समूहका अभिषिक्‍त ख्रीष्टियनहरू पृथ्वीमा जीवित छँदा नै दोस्रो समूहमा पर्नेहरू जन्मिसकेका थिए। त्यति मात्र होइन, यिनीहरू पवित्र शक्‍तिद्वारा अभिषेक पनि भइसकेका थिए। त्यसैले आजका सबै अभिषिक्‍त ख्रीष्टियन येशूले भन्‍नुभएको “यो पुस्ता”-मा पर्दैनन्‌। आज दोस्रो समूहका व्यक्‍तिहरू पनि वृद्ध भइसकेका छन्‌। तर महासङ्‌कष्ट सुरु हुनुअघि “यो पुस्ता”-को केही सदस्य “कुनै पनि हालतमा बितेर जानेछैन” भनी येशूका शब्दहरूबाट पक्का हुन सक्छौं। (मत्ती २४:३४) परमेश्‍वरको राज्यको राजाले चाँडै दुष्टहरूको विनाश गर्नुहुनेछ र न्यायले बास गर्ने नयाँ संसार ल्याउनुहुनेछ भन्‍ने कुरामा यसले हामीलाई अझै ढुक्क बनाउँछ।—२ पत्रु. ३:१३.

ख्रीष्ट चाँडै विजयी हुनुहुनेछ

१७. यस लेखमा छलफल गरिएका बाइबल भविष्यवाणीहरूबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

१७ हामीले छलफल गरेका बाइबल भविष्यवाणीहरूबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? येशूले भन्‍नुभएझैं हामीलाई अन्त हुने दिन र समय थाह छैन। (मत्ती २४:३६; २५:१३) तर पावलले बताएझैं “बेला” भने थाह पाउन सक्छौं। (रोमी १३:११ पढ्‌नुहोस्‌) अहिले हामी त्यही बेलामा बाँचिरहेका छौं। बाइबल भविष्यवाणीमा अनि यहोवा र येशू ख्रीष्ट के गर्दै हुनुहुन्छ भन्‍ने कुरामा ध्यान दियौं भने यस दुष्ट युगको अन्त नजिकै छ भन्‍ने कुराको स्पष्ट प्रमाण बुझ्नेछौं।

१८. येशू ख्रीष्टलाई राजाको रूपमा स्वीकार्न इन्कार गर्नेहरूलाई के हुनेछ?

१८ सेतो घोडामा सवार येशू ख्रीष्टको अख्तियार स्वीकार्न इन्कार गर्नेहरू अब छिट्टै आफ्नो गल्ती स्वीकार्न बाध्य हुनेछन्‌। आउनै लागेको न्यायदण्डदेखि तिनीहरू उम्कन सक्नेछैनन्‌। धेरै जना भयभीत हुँदै यसरी कराउनेछन्‌: “को खडा हुन सक्छ?” (प्रका. ६:१५-१७) प्रकाश अध्याय ७ ले यस प्रश्‍नको जवाफ दिन्छ। अभिषिक्‍त ख्रीष्टियनहरू र यसै पृथ्वीमा बस्ने आशा भएको “ठूलो भीड” त्यसबेला “खडा” हुनेछन्‌। किन? किनकि तिनीहरूले परमेश्‍वरको अनुमोदन पाएका हुन्छन्‌। त्यसपछि “ठूलो भीड” महासङ्‌कष्टबाट जोगिनेछ र नयाँ संसारमा प्रवेश गर्नेछ।—प्रका. ७:९, १३-१५.

१९. अन्त नजिकै छ भन्‍ने कुरामा ढुक्क भएकोले तपाईं के पर्खंदै हुनुहुन्छ?

१९ हाम्रो समयमा पूरा भइरहेका बाइबल भविष्यवाणीहरूमा ध्यान दिइरह्‍यौं भने सैतानको संसारले हाम्रो ध्यान खलबलाउन सक्नेछैन। संसारमा भइरहेका घटनाको अर्थ नबुझेर अन्धोसरह हुनेछैनौं। चाँडै ख्रीष्ट विजयी हुनुहुनेछ र आरमागेडोनमा यस खराब संसारलाई नाश गर्नुहुनेछ। (प्रका. १९:११, १९-२१) त्यसपछि हामी कत्ति खुसी हुनेछौं, कल्पना गर्नुहोस्‌।—प्रका. २०:१-३, ६; २१:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने