के दियाबलले हामीलाई बिरामी पार्छ?
मानिसहरू बिरामी भनेको हुनै नपर्ने हो। परमेश्वरले हामीलाई सिद्ध स्वास्थ्यसहित सधैंभरि बाँच्न सृष्टि गर्नुभएको थियो। आत्मिक प्राणी अर्थात् शैतानले हाम्रो प्रथम आमाबाबु आदम र हव्वालाई पाप गर्न लगाएर मानिसजातिमाथि बिरामी, दुःखकष्ट र मृत्यु ल्यायो।—उत्पत्ति ३:१-५, १७-१९; रोमी ५:१२.
यसको मतलब हरेक प्रकारका रोगबिमार आत्मिक प्राणीले गर्दा भएका हुन् त? यसअघिको लेखमा उल्लेख गरिएझैं थुप्रैले रोगबिमारको कारण त्यही हो भन्छन्। नाबालक ओमाजीकी बज्यैले पनि यस्तै विश्वास गर्थिन्। के ओमाजीलाई झाडापखाला लाग्नुको कारण अदृश्य शक्तिहरू नै हुन् त? कहिलेकाहीं उष्ण कटिबन्धीय ठाउँहरूमा यही झाडापखालाले गर्दा स-साना केटाकेटीहरूको ज्यान जाने गर्छ।
शैतानको भूमिका
बाइबलले यसको सुस्पष्ट जवाफ दिन्छ। प्रथमतः हाम्रा पितृहरूको आत्माले जीवितहरूलाई केही असर गर्दैन भनेर बाइबल बताउँछ। मरेपछि मानिसहरूले “केही पनि जान्दैनन्।” तिनीहरूको मृत्युपछि आत्मा जीवित रहँदैन। तिनीहरू त चिहानमा अचेत हुन्छन् जहाँ “नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) मृतहरूले कुनै हालतमा पनि जिउँदाहरूलाई बिरामी बनाउनसक्दैनन्!
तथापि, दुष्टात्माहरू छन् भनी बाइबल बताउँछ। यस ब्रह्माण्डको प्रथम विद्रोही आत्मिक प्राणी थियो जसलाई शैतान भनिन्छ। अन्य आत्मिक प्राणीहरू पनि त्यसको पछि लागे। तिनीहरूलाई प्रेत भनिन्छ। के शैतान र त्यसका प्रेतहरूले मानिसलाई बिरामी बनाउनसक्छन्? तिनीहरूले गर्दा मानिसहरू बिरामी भएका छन्। येशूले मानिसहरूबाट भूत निकाल्नुभएर पनि चमत्कारहरू गर्नुभयो। (लूका ९:३७-४३; १३:१०-१६) तथापि, येशूले निको पार्नुभएका धेरैजसो व्यक्तिहरू वास्तवमा प्रेतहरूले गर्दा बिरामी भएका थिएनन्। (मत्ती १२:१५; १४:१४; १९:२) त्यसै गरी, आज पनि अलौकिक कारणहरूले नभई प्राकृतिक कारणहरूले गर्दा मानिसहरू सामान्यतया बिमार हुन्छन्।
भूतप्रेतबारे नि के भन्न सकिन्छ? हितोपदेश १८:१० हामीलाई यस्तो आश्वासन दिन्छ: “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्।” याकूब ४:७ यसो भन्छ: “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” हो, परमेश्वरले आफ्ना विश्वासी जनहरूलाई भूतप्रेत तथा अन्य अलौकिक शक्तिहरूबाट बचाउन सक्नुहुन्छ। येशूले “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” भन्नुको तात्पर्य त्यो पनि हो।—यूहन्ना ८:३२.
कसै कसैले प्रश्न गर्लान्, ‘अय्यूबलाई के भएको त? के तिनलाई दुष्ट आत्माले नै बिरामी बनाएको होइन र?’ हो, अय्यूबलाई शैतानले नै बिरामी बनाएको हो भनी बाइबल बताउँछ। तर अय्यूबको घटना असामान्य थियो। अय्यूबले शैतानको प्रत्यक्ष आक्रमणबाट धेरै समयअघिदेखि ईश्वरीय सुरक्षा पाइरहेका थिए। शैतानले अय्यूबमाथि विपत्ति ल्याउन यहोवालाई चुनौती दियो। यस चुनौतीमा ठूलो विवाद मुछिएको हुनाले यहोवाले आफ्नो उपासकलाई पूर्ण सुरक्षा दिनुभएन।
तथापि, परमेश्वरले शैतानलाई मनपरी गर्न दिनुभएन। उहाँले अय्यूबलाई दुःख दिने अनुमति दिनुभएपछि शैतानले तिनलाई केही समयसम्म बिरामी बनाउनसक्थ्यो तर ज्यानै लिनचाहिं पाउने थिएन। (अय्यूब २:५, ६) अन्ततः अय्यूबमाथि आइपरेको दुःखकष्टको अन्त भयो अनि तिनको निष्ठाले गर्दा यहोवाले प्रशस्त आशिष् दिनुभयो। (अय्यूब ४२:१०-१७) अय्यूबको निष्ठाले प्रमाणित गरेका सिद्धान्तरहरू धेरै समयअघि बाइबलमा लिपिबद्ध गरिएका छन् अनि त्यो सबैलाई स्पष्ट थाह छ। फेरि कसैलाई यसरी जाँच्नु आवश्यकता छैन।
शैतानले कसरी काम गर्छ?
शैतान र मानिसहरू बिरामी हुनुको एउटै मात्र सम्बन्ध छ। त्यो हो, शैतानले प्रथम मानव दम्पतीलाई प्रलोभन देखाएर पापमा फसायो। सबै रोग बिमारको प्रत्यक्ष कारण शैतान र त्यसका प्रेतहरू होइनन्। तथापि, शैतानले हामीलाई आफ्नो स्वास्थ्यमा हानि पुऱ्याउने मूर्ख निर्णयहरू गर्न अनि हाम्रो विश्वासको सम्झौता गर्न लगाउनसक्छ। त्यसले आदम र हव्वालाई टुनामुना गरेन, हत्या गरेन वा बिमारी बनाएन। त्यसले त परमेश्वरको आज्ञा उल्लंघन गर्न हव्वालाई फुस्लायो अनि हव्वाको कुरा सुनेर आदम पनि अनाज्ञाकारी भए। परिणामस्वरूप, तिनीहरूमाथि रोग बिमार र मृत्यु आइपऱ्यो।—रोमी ५:१९.
मोआबको सिमानामा बसोबास गर्ने इस्राएल राष्ट्र आफ्नोलागि खतरा हुनसक्ने भएकोले एक चोटि मोआबको राजाले अविश्वासी अगमवक्ता बिलामलाई पैसा दिएर त्यस राष्ट्रलाई सराप दिन लगाए। बिलामले इस्राएललाई सराप्न खोजे तर सकेनन् किनकि त्यस राष्ट्रमाथि यहोवाको छत्रछायाँ थियो। तब मोआबीहरूले इस्राएललाई मूर्तिपूजा र यौन अनैतिकतामा फसाउने चाल चले। इस्राएल त्यसमा फस्यो अनि यहोवाको सुरक्षा गुमायो।—गन्ती २२:५, ६, १२, ३५; २४:१०; २५:१-९; प्रकाश २:१४.
प्राचीन समयको यस घटनाबाट हामी महत्त्वपूर्ण पाठ सिक्नसक्छौं। दुष्ट आत्माहरूको प्रत्यक्ष आक्रमणबाट बच्न परमेश्वरका विश्वासी उपासकहरूले ईश्वरीय मदत पाउँछन्। तथापि, शैतानले मानिसहरूलाई आफ्नो विश्वासको सम्झौता गर्न लगाउने कोसिस गर्नसक्छ। त्यसले अनैतिकतामा फसाउने कोसिस गर्नसक्छ। अथवा गर्जने सिंहजस्तै गरी त्यसले मानिसहरूलाई परमेश्वरको सुरक्षाबाट बञ्चित हुने कामकुरा गर्न लगाउने कोसिस गर्नसक्छ। (१ पत्रुस ५:८) त्यसैकारण त प्रेरित पावल शैतानलाई “मृत्युका सामर्थ्य भएको” भन्छन्।—हिब्रू २:१४.
ओमाजीलाई रोगबिमार लाग्न नदिन तिनकी बज्यैले हाउलाई जन्तर र बुटी प्रयोग गर्न कर गरिन्। हाउले हार मानेर सासूको कुरा सुनेकी भए के हुनेथियो? यहोवा परमेश्वरमाथि तिनको पूर्ण भरोसा छैन भन्ने देखिने थियो अनि तिनले त्यसउप्रान्त परमेश्वरको सुरक्षा पाउने आशा पनि गर्न सक्दैनथिन्।—प्रस्थान २०:५; मत्ती ४:१०; १ कोरिन्थी १०:२१.
शैतानले अय्यूबलाई पनि मनाउने कोसिस गऱ्यो। त्यसले अय्यूबको छोराछोरी, धनसम्पत्ति र तिनको स्वास्थ मात्र नाश गरेन। अय्यूबलाई आफ्नै पत्नीले पनि खराब सल्लाह दिइन्। तिनले यसो भनिन्: “परमेश्वरलाई सरापेर मरे असल हुन्छ।” (अय्यूब २:९) त्यसपछि तिनीकहाँ आएका तीन “मित्रहरू[ले]” अय्यूब आफैले गर्दा तिनलाई रोग लागेको हो भनी विश्वास दिलाउने भरमग्दुर प्रयास गरे। (अय्यूब १९:१-३) शैतानले अय्यूबको यस्तो कमजोर अवस्थाको नाजायज फाइदा उठाएर तिनलाई निरुत्साहित बनाउने अनि यहोवाको धार्मिकतामाथिको तिनको भरोसा ढलपल गराउने प्रयास गऱ्यो। तैपनि आफ्नो एक मात्र आशाको रूपमा अय्यूबले यहोवामाथि भरोसा गरिरहे।—भजनसंग्रह ५५:२२ तुलना गर्नुहोस्।
बिरामी हुँदा हामी पनि निराश हुनसक्छौं। त्यस्तो अवस्थामा शैतानले हामीलाई विश्वासको सम्झौता हुने कामकुरा गर्न लगाउने कोसिस गरिहाल्छ। तसर्थ, बिरामी हुँदा हामीले दुःखकष्ट भोग्नुको मुख्य कारण कुनै अलौकिक शक्ति नभई जन्मजात असिद्धता हो भन्ने कुरा नबिर्सनु महत्त्वपूर्ण छ। तपाईंलाई थाहै होला, मृत्यु हुनुभन्दा धेरैअघि नै विश्वासी इसहाकको आँखा कमजोर भएर देख्न नसक्ने भइसकेका थिए। (उत्पत्ति २७:१) तिनको आँखा दुष्ट आत्माले नभई वृद्धावस्थाले गर्दा कमजोर भएका थिए। सुत्केरी बेथा लाग्दा राहेलको मृत्यु भयो, तर तिनको मृत्युको कारण शैतान नभई कमजोर स्वास्थ्य थियो। (उत्पत्ति ३५:१७-१९) अन्ततः सबै विश्वासी वृद्ध जनहरूको मृत्यु भयो। तर तिनीहरू मन्त्रतन्त्र वा सरापले गर्दा नभई वंशानुगत असिद्धताले गर्दा मरे।
हामीमाथि आइपर्ने हरेक रोगबिमारमा अदृश्य आत्माहरूको प्रत्यक्ष प्रभाव छ भन्ने विचार गर्नु एकप्रकारको पासोमा पर्नु हो। यस्तो विचारले अदृश्य आत्माहरूप्रति नकारात्मक भय उत्पन्न गर्नसक्छ। फलतः बिमार हुँदा हामी प्रेतहरूदेखि अलग्ग रहनुको सट्टा तिनीहरूलाई खुसी बनाउनतिर लाग्नसक्छौं। शैतानले हामीलाई त्रसित बनाएर तन्त्रमन्त्र गर्न लगाउँछ भने हामीले सत्य परमेश्वर यहोवालाई धोका दिइरहेका हुनेछौं। (२ कोरिन्थी ६:१५) हामी परमेश्वरप्रति श्रद्धेय भयद्वारा डोऱ्याइएको हुनुपर्छ, उहाँको विरोधीप्रतिको अन्धविश्वासमा आधारित भयद्वारा होइन।—प्रकाश १४:७.
नाबालक ओमाजीसित दुष्ट आत्माहरूबाट बच्ने उत्तम सुरक्षा छँदैछ। प्रेरित पावलअनुसार परमेश्वरले तिनलाई “पवित्र” ठान्नुहुन्छ किनकि तिनकी आमा यहोवामा विश्वास गर्छिन्। तिनले आफ्नी छोरीलाई यहोवाले पवित्र आत्माद्वारा मदत दिऊन् भनेर प्रार्थना गर्न सक्छिन्। (१ कोरिन्थी ७:१४) सत्य ज्ञान पाएकी हुँदा हाउले ओमाजीलाई निको पार्न जन्तरमा भर पर्नुको सट्टा प्रभावकारी उपचार खोज्न सकिन्।
बिमार हुनुका विभिन्न कारणहरू
थुप्रै मानिसहरू प्रेतात्माहरूमा विश्वास गर्दैनन्। तिनीहरू बिरामी हुँदा पैसा छ भने डाक्टरकहाँ जान्छन्। निस्सन्देह, बिरामी डाक्टरकहाँ गएर पनि निको नहुनसक्छ। डाक्टरहरू चमत्कार गर्नसक्दैनन्। तर अन्धविश्वास गर्ने थुप्रै बिरामीहरू निको हुनसक्ने भए तापनि ढिलो भइसकेपछि मात्र डाक्टरकहाँ जाने गर्छन्। तिनीहरूले पहिला त प्रेतात्माहरूद्वारा निवारण गर्ने प्रयास गर्छन् अनि त्यसले काम नगरेपछि मात्र अन्तमा डाक्टरकहाँ जान्छन्। यसैकारण, थुप्रै मानिसहरू अकालमै मृत्युको मुखमा पर्छन्।
अरू कतिको चाहिं अज्ञानताले गर्दा अकाल मृत्यु हुन्छ। तिनीहरूलाई रोगका लक्षणहरू थाह हुँदैन अनि रोग रोकथाम गर्न चाल्नुपर्ने व्यवहारिक कदमहरू पनि जान्दैनन्। ज्ञानले अनावश्यक दुःखकष्टबाट बच्न मदत गर्छ। उल्लेखनीय कुरा के छ भने, शिक्षित आमाहरूको भन्दा अशिक्षित आमाहरूको बच्चाहरू रोगबिमारको कारण बढी मर्छन्। हो, अज्ञानताले ज्यानै लिनसक्छ।
रोगबिमारको अर्को कारण हो, हेलचेक्य्राइँ। उदाहरणका लागि, खानामा कीराफट्यांग्रा आउन दिनाले वा हात नधोइकन खाना पकाउनाले थुप्रै मानिसहरू बिरामी हुन्छन्। औलो प्रभावित इलाकाहरूमा झूल नलगाई सुत्नु पनि खतरनाक हुन्छ।a स्वास्थ्यको सन्दर्भमा अक्सर यो भनाइ साँचो साबित भएको छ, “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस।”
छाडा जीवनशैलीले गर्दा पनि लाखौं मानिसहरू बिरामी हुन्छन् अनि अकालमै मर्छन्। मतवालापन, यौन अनैतिकता, लागू पदार्थको दुर्व्यसन अनि सुर्ती सेवनले थुप्रैको स्वास्थ्य बिगारेको छ। के कुनै व्यक्ति यस्ता कुलतले गर्दा बिरामी भयो भने, तिनलाई कसैले तन्त्रमन्त्र गरेको अथवा आत्माले आक्रमण गरेको हो र? होइन। आफ्नै कारणले गर्दा बिरामी भएका हुन्। आत्माहरूलाई दोष दिनु भनेको त आफूले मनपरी बिताएको जीवनशैलीले गर्दा आइपरेका परिमाणहरूबाट पन्छिन खोज्नु हो।
निस्सन्देह, कुनै कुनै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। उदाहरणका लागि, हामी रोगजन्य कीटाणु वा प्रदूषणको सिकार हुनसक्छौं। ओमाजीलाई पनि यसै भएको थियो। तिनलाई झाडापखाला लाग्नुको कारण तिनकी आमालाई थाह थिएन। अरूको जस्तो तिनका बच्चाहरू घरीघरी बिरामी हुँदैनन् किनकि तिनले आफ्नो घर तथा आँगन सफासुग्घर राख्छिन् अनि खाना पकाउनुअघि आफ्नो हात धुन्छिन्। तर सबै केटाकेटीहरू कहिलेकाहीं त बिरामी भइहाल्छन्। करिब २५ विभिन्न प्रकारका जीवाणुहरूले गर्दा झाडापखाला लाग्छ। तीमध्ये कुन जीवाणुले गर्दा ओमाजीलाई झाडापखाला लाग्यो, सायद कसैले कहिल्यै थाह पाउने छैनन्।
चिरकालीन समाधान
मानिसहरू बिरामी हुनुमा परमेश्वरको दोष छैन। “कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” (याकूब १:१३) यहोवाको कुनै उपासक बिरामी भयो भने उहाँले आध्यात्मिक बल दिनुहुन्छ। “परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सह्माल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भजनसंग्रह ४१:३) हो, यहोवा अनुकम्पापूर्ण हुनुहुन्छ। उहाँ हामीलाई दुःखित बनाउन होइन तर मदत गर्न चाहनुहुन्छ।
निस्सन्देह, यहोवासँग रोग बिमारको स्थायी समाधान छ। त्यो हो, येशूको मृत्यु र पुनरुत्थान। येशूको छुडौतीको बलिदानको आधारमा सोझो हृदय भएका मानिसहरूले पापी अवस्थाबाट छुटकारा पाउन सक्छन् र अन्ततः पार्थिव प्रमोदवनमा सिद्ध स्वास्थ्य र अनन्त जीवन पाउनेछन्। (मत्ती ५:५; यूहन्ना ३:१६) येशूले गर्नुभएका चमत्कारहरू परमेश्वरको राज्यले गर्ने निवारणको सानो झलक मात्र थियो। परमेश्वरले शैतान र त्यसका प्रेतहरू पनि हटाउनुहुनेछ। (रोमी १६:२०) साँच्चै, यहोवालाई विश्वास गर्नेहरूका लागि उहाँले अद्भुत कुराहरू साँचेर राख्नुभएको छ। यति हो, हामी धीरजी हुनुपर्छ र हतारिनु हुँदैन।
त्यतिञ्जेल परमेश्वरले बाइबल र विश्वासी उपासकहरूको विश्वव्यापी भ्रातृत्वद्वारा व्यवहारिक बुद्धि र आध्यात्मिक निर्देशन दिनुहुन्छ। उहाँ हामीलाई स्वास्थ्य समस्याहरू खडा गर्ने कुलतहरू त्याग्ने तरिकाहरू बताउनुहुन्छ। अनि समस्याले घेर्दा हामीलाई मदत गर्ने साँचो मित्रहरू पनि उहाँले दिनुहुन्छ।
अय्यूबलाई फेरि विचार गर्नुहोस्। अय्यूब झाँक्रीकहाँ गएको भए त्यो एकदमै नसुहाउँदो काम हुनेथियो! त्यसो गरेका भए तिनले परमेश्वरको सुरक्षा गुमाउने थिए अनि कठोर परीक्षापछि पाउने सबै आशिष्हरू गुमाउनेथिए। परमेश्वरले अय्यूबलाई बिर्सनुभएन अनि हामीलाई पनि बिर्सनुहुनेछैन। चेला याकूब यसो भन्छन्, “तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ।” (याकूब ५:११) हरेस खाएनौं भने हामीले पनि परमेश्वरले तोक्नुभएको समयमा अद्भुत आशिष्हरू पाउनेछौं।
नाबालक ओमाजीलाई के भयो त? तिनकी आमाले प्रहरीधरहरा-को सहायक पत्रिका ब्यूँझनुहोस्!-मा पढेकी सरल पुनर्जलीय उपचारबारे लेख सम्झिन्।b तिनले उक्त लेखमा दिइएका निर्देशनहरूअनुसार नून र चिनीपानी तयार गरिन् र ओमाजीलाई खुवाइन्। अहिले यो सानी बच्ची तन्दुरुस्त छिन्।
[फुटनोटहरू]
a झन्डै ५० करोड मानिसहरू औलोद्वारा संक्रमित छन्। यस रोगद्वारा वर्षेनी करिब २० लाख मानिसहरूको मृत्यु हुन्छ र मर्ने प्रायजसो मानिसहरू अफ्रिकाका हुन्।
b सेप्टेम्बर २२, १९८५ को ब्यूँझनुहोस्! पृष्ठ २४-५, “जीवन रक्षक नून र चिनीपानी!”
[पृष्ठ ७-मा भएका चित्रहरू]
यहोवाले रोगबिमारको स्थायी समाधान गर्ने प्रबन्ध मिलाउनुभएको छ