सबै कुराको अन्त नजिकै आएकोले शुद्ध मनको हुनुहोस्
१ यहोवाको दिन “चोर आएझैं” अर्थात् अचानक, तुरुन्त, चालै नपाउने गरी आउनेछ भनी परमेश्वरको वचनले पटक-पटक बताएको छ। (१ थिस्स. ५:२; मत्ती २४:४३; २ पत्रु. ३:१०; प्रका. ३:३; १६:१५) येशूले यसो भन्नुभयो, “यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४४) अन्त नजिकिंदै जाँदा हामी कसरी आफ्नो आध्यात्मिक तत्परतालाई कायम राख्न सक्छौं? यसो गर्न सकिने तरिका प्रेरित सल्लाहमा पाउन सकिन्छ: “शुद्ध मनको . . . रहो।”—१ पत्रु. ४:७.
२ शुद्ध मनको हुनुमा कामकुरालाई यहोवाको दृष्टिकोणबाट हेर्नु समावेश छ। (एफि. ५:१७) यसले हामीलाई वर्तमान रीतिरिवाजमाझ आफूलाई “प्रवासी र परदेशीजस्तै” ठान्न मदत गर्छ। (१ पत्रु. २:११) यसले हामीलाई साँच्चै महत्त्वपूर्ण कुरा बुझ्न, प्राथमिकताहरू तय गर्न र सही निर्णयहरू गर्न मदत गर्छ।—फिलि. १:१०.
३ आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्: आध्यात्मिक लक्ष्यहरू राखेर त्यसलाई प्राप्त गर्दा त्यसले हामीलाई शुद्ध मनको हुन मदत गर्छ। के तपाईंका आध्यात्मिक लक्ष्यहरू छन्? के तपाईं त्यो प्राप्त गर्न अघि बढिरहनुभएको छ? के तपाईंले दिनहुँ बाइबल पढ्ने, सबै मसीही सभाहरूमा उपस्थित हुने, प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-का प्रत्येक अंक पढ्ने वा सेवकाईमा अझ बढी भाग लिने कोसिस गरिरहनुभएको छ? आफूलाई उपयुक्त हुने लक्ष्यहरू राख्नुभयो, दृढ निश्चयी भई त्यसको पछि लाग्नुका साथै आफ्नो प्रयासमा यहोवाको आशिष् माग्नुभयो भने, परिणाम देखेर तपाईं तीन छक पर्नुहुनेछ।
४ एक जना प्राचीनले एक जवान दम्पतीलाई उनीहरूको आध्यात्मिक लक्ष्यबारे सोधे। उक्त प्रश्नले उनीहरूलाई आफ्नो जीवन सरल बनाएको र आफूले काढेको ऋण तिरिहालेको खण्डमा अग्रगामी गर्न सकिने रहेछ भनी महसुस गरायो। उनीहरूले त्यसै गर्ने लक्ष्य राखे। उनीहरूले परिश्रम गरेर ऋण तिरे अनि आफ्नो समय तथा शक्ति खर्च हुने अनावश्यक क्रियाकलापहरू कम गर्ने तरिका खोजे। ठीक एक वर्षपछि उनीहरूले आफ्नो लक्ष्य हासिल गर्न सके। परिणाम के भयो? पति यसो भन्छन्: “लक्ष्य नहुँदो हो त, अहिले हामी जुन अवस्थामा छौं, यहाँसम्म आइपुग्ने थिएनौं। अहिले हामी औधी खुसी छौं। हाम्रो जीवन शान्त र सन्तोषजनक छ। जीवनको साँचो अर्थ र उद्देश्य छ।”
५ यहोवाको दिनको प्रतीक्षा गरुन्जेल, शुद्ध मनको भएर अनि परमेश्वरको इच्छा गर्ने कार्यमा ध्यान केन्द्रित गरेर हामी आफ्नो आध्यात्मिक तत्परतालाई कायम राखिराख्न सकौं।—ती. २:११-१३.