प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १०/१ pp. २२-२६
  • प्रेमले साहसी बनाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमले साहसी बनाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “प्रेम परमेश्‍वरबाटको हो”
  • व्यवहारमा देखिएको साहस र प्रेम
  • तपाईंको प्रेम नसेलाओस्‌
  • साहसी भई समस्याको सामना गर्नुहोस्‌
  • गल्ती गर्नेहरूलाई यहोवाकहाँ फर्किन प्रेमले मदत गर्छ
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • देऊ न साहस
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १०/१ pp. २२-२६

प्रेमले साहसी बनाउँछ

“परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।”—२ तिमोथी १:७.

१, २. (क) मायाले मानिसलाई के गर्न प्रेरित गर्छ? (ख) येशूले देखाउनुभएको साहस किन उल्लेखनीय थियो?

भर्खरै विवाह गरेका एक दम्पती अस्ट्रेलियाको पूर्वी सहर नजिकैको समुद्रमा स्कुबा डाइभिङ गर्दै थिए, अर्थात्‌ समुद्र मुनिमुनि पौडिरहेका थिए। उनीहरू समुद्रको सतहमा निस्किनै लाग्दा, अचानक भयङ्‌करको सेतो सार्क श्रीमती भएतिर आयो। साहस बटुलेर श्रीमान्‌ले श्रीमतीलाई अर्कैतिर धकेलेर बचाए तर आफू भने शार्कको मुखमा परे। श्रीमान्‌को अन्त्येष्टिमा ती विधवाले भनिन्‌: “आफ्नो ज्यान दिएर उहाँले मलाई बचाउनुभयो।”

२ हो, मायाले मानिसलाई असामान्य साहस देखाउन प्रेरित गर्छ। येशू ख्रीष्ट आफैले पनि भन्‍नुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढता प्रेम कसैको हुँदैन।” (यूहन्‍ना १५:१३) त्यसो भनेको २४ घण्टा पनि नबित्दै येशूले एक जनाको लागि मात्र होइन, सारा मानिसजातिको लागि आफ्नो जीवन अर्पण गर्नुभयो। (मत्ती २०:२८) छिनभरमै साहसी भएर येशूले आफ्नो जीवन अर्पण गर्नुभएको थिएन। मानिसहरूले खिसी र नराम्रो व्यवहार गर्नेछन्‌, झूटो आरोप लगाएर शासनाको खम्बामा झुन्ड्याई मार्नेछन्‌ भन्‍ने कुरा येशूलाई पहिल्यै थाह थियो। यस्तो परिणाम सामना गर्न येशूले आफ्ना चेलाहरूलाई यसो भनेर तयार पार्नुभयो: “हेर, हामी यरूशलेमतिर उक्लिरहेका छौं, र मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूकहाँ सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌, र अन्यजातिहरूकहाँ सुम्पिदिनेछन्‌, औ तिनीहरूले उसलाई गिल्ला गर्नेछन्‌, र उसलाई थुक्नेछन्‌, र उसलाई कोर्राबाजी गर्नेछन्‌ र उसलाई मार्नेछन्‌, औ तीन दिन पछि उ फेरि बिउँतनेछ।”—मर्कूस १०:३३, ३४.

३. कुन कुराले येशूलाई असाधारण साहस देखाउन उत्प्रेरित गऱ्‍यो?

३ कुन कुराले येशूलाई असाधारण साहस देखाउन उत्प्रेरित गऱ्‍यो? विश्‍वास र परमेश्‍वरको भयले। (हिब्रू ५:७; १२:२) तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, परमेश्‍वर अनि आफ्ना सँगी मानिसहरूप्रतिको प्रेमले येशूलाई साहसी हुन मदत गरेको थियो। (१ यूहन्‍ना ३:१६) विश्‍वास र परमेश्‍वरको भय त हुनुपर्छ नै, यसबाहेक ख्रीष्टजस्तै मायालु हुने प्रयास गऱ्‍यौं भने हामी पनि साहसी हुन सक्नेछौं। (एफिसी ५:२) हामी कसरी यस्तो प्रेम बढाउन सक्छौं? यस प्रश्‍नको जवाफ पाउन हामीले प्रेमको स्रोत को हुनुहुन्छ, चिन्‍नुपर्छ।

“प्रेम परमेश्‍वरबाटको हो”

४. यहोवा प्रेमको स्रोत हुनुहुन्छ भन्‍न सकिने आधार के छ?

४ यहोवा प्रेमको मूर्त रूप र यसको स्रोत हुनुहुन्छ। प्रेरित यूहन्‍नाले लेखे: “हे प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाटको हो। प्रेम गर्ने हरेक परमेश्‍वरबाट जन्मेको हुन्छ, र परमेश्‍वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:७, ८) यसकारण, सही ज्ञान लिनुका साथै सच्चा मनले आज्ञाकारी भई यसै ज्ञानअनुसार जीवन बिताएर यहोवाको नजिक भयौं भने मात्र उहाँसित जुन किसिमको प्रेम छ, त्यस्तै प्रेम हामीमा पनि बढ्‌न सक्छ।—फिलिप्पी १:९; याकूब ४:८; १ यूहन्‍ना ५:३.

५, ६. ख्रीष्टसित जुन प्रकारको प्रेम थियो, त्यस्तै प्रेम बढाउन कुन कुराले येशूका प्रारम्भिक चेलाहरूलाई मदत गऱ्‍यो?

५ एघार जना विश्‍वासी प्रेरितसँग अन्तिम प्रार्थना गर्दा, परमेश्‍वरलाई चिन्‍नु र प्रेम बढाउँदै लैजानुबीचको सम्बन्ध येशूले यसो भनेर प्रस्ट पार्नुभयो: “मैले तिनीहरूलाई तपाईंको नाउँ परिचित गराएँ, औ परिचित गराउनेछु, र जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा होस्‌, र म तिनीहरूमा होऊँ।” (यूहन्‍ना १७:२६) आफू र आफ्नो पिताबीच जस्तो प्रेम थियो, त्यस्तै प्रेम बढाउन येशूले आफ्ना चेलाहरूलाई मदत गर्नुभयो। कसरी? मुखले मात्र होइन तर परमेश्‍वरको नाउँले चित्रण गर्ने उहाँका उच्च गुणहरू झल्काएर। त्यसैकारण त येशूले भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूहन्‍ना १४:९, १०; १७:८.

६ ख्रीष्टसित जुन प्रकारको प्रेम थियो, त्यो परमेश्‍वरकै पवित्र आत्माको फल थियो। (गलाती ५:२२) ख्रीष्टले प्रतिज्ञा गर्नुभएअनुसारै इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन प्रारम्भिक मसीहीहरूले पवित्र आत्मा पाए। त्यतिखेर उनीहरूले, येशूले सिकाउनुभएका थुप्रै कुरा सम्झन सके र धर्मशास्त्रमा बताइएका कुरा पनि अझ छर्लङ्‌गसित बुझे। धर्मशास्त्रका गहिरा-गहिरा कुरा बुझेपछि ती मसीहीहरूले परमेश्‍वरलाई अझ बढी प्रेम गरे। (यूहन्‍ना १४:२६; १५:२६) नतिजा कस्तो भयो? आफ्नो ज्यानको पर्वाह नगरी उनीहरूले साहसी र जोसिलो भई सुसमाचार प्रचार गरे।—प्रेरित ५:२८, २९.

व्यवहारमा देखिएको साहस र प्रेम

७. मिसनरी यात्रामा सँगै निस्केको बेला पावल र बर्णाबासले के कस्तो परिस्थितिको सामना गरे?

७ प्रेरित पावलले लेखे: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।” (२ तिमोथी १:७) आफूले अनुभव गरेको कुरा पावलले बताइरहेका थिए। मिसनरी यात्रामा सँगै निस्केको बेला तिनी र बर्णाबासले के कस्तो परिस्थितिको सामना गर्नुपऱ्‍यो, विचार गर्नुहोस्‌। एन्टिओक, आइकोनियम र लिस्त्रालगायत अरू थुप्रै सहरमा उनीहरूले प्रचार गरे। जुन-जुन सहरमा प्रचार गरे, त्यहाँका केही मानिस सच्चाइमा आए भने, केहीले चर्को विरोध गरे। (प्रेरित १३:२, १४, ४५, ५०; १४:१, ५) अझ लिस्त्रामा त उत्तेजित भीडले पावललाई ढुंगाले हिर्काए र मऱ्‍यो होला भनी छोडिदिए। “तर चेलाहरू तिनका वरिपरि उभिरहेका हुँदा तिनी उठेर शहरभित्र पसे, र भोलिपल्ट बर्णाबासको साथमा निस्केर डर्बीमा गए।”—प्रेरित १४:६, १९, २०.

८. पावल र बर्णाबासले देखाएको साहसले उनीहरू मानिसहरूलाई गहिरो प्रेम गर्थे भन्‍ने कुरा कसरी देखायो?

८ ‘झन्डै ज्यान गयो’ भनेर के पावल डराए? अथवा के बर्णाबासले प्रचार गर्नै छाडे? त्यस्तो केही भएन! डर्बीमा “धेरै जनतालाई चेला” बनाएपछि, उनीहरू “लिस्त्रा, आइकोनियम हुँदै एन्टिओकमा फर्के।” किन? किनभने भर्खर सच्चाइमा आएका व्यक्‍तिहरूको विश्‍वास बलियो बनाउन उनीहरूलाई प्रोत्साहन दिनुपरेको थियो। पावल र बर्णाबासले भने: “अनेक कष्ट सही परमेश्‍वरको राज्यमा पस्नैपर्छ।” कुरा स्पष्ट छ, ख्रीष्टका साना ‘भेडाहरूप्रतिको’ गहिरो प्रेमले उनीहरूलाई त्यतिबिघ्न साहसी बनाएको थियो। (प्रेरित १४:२१-२३; यूहन्‍ना २१:१५-१७) भर्खरै खडा गरेका मण्डलीहरूमा प्राचीनहरू नियुक्‍त गरेपछि पावल र बर्णाबासले प्रार्थना गरे र “तिनीहरूले विश्‍वास गरेका प्रभुको [“यहोवाको,” NW] जिम्मामा सुम्पिदिए।”

९. पावलले गरेको मायाप्रति एफिससका प्राचीनहरूले कस्तो प्रतिक्रिया देखाए?

९ पावल मायालु र साहसी भएको कारण त्यसबेलाका मसीहीहरूले तिनलाई औधी माया गरे। एफिससमा तीन वर्ष बस्दा तिनले निकै विरोध सहनुपऱ्‍यो। त्यहाँका प्राचीनहरूसित सभा भएको बेला के भयो, सम्झिनुहोस्‌। (प्रेरित २०:१७-३१) परमेश्‍वरले सुम्पनुभएको बगालको राम्रोसँग हेरचाह गर्न प्रोत्साहन दिइसकेपछि पावलले ती प्राचीनहरू सँगसँगै घुँडा टेकी प्रार्थना गरे। त्यसपछि “तिनीहरू सबै अन्‍ना-धुन्‍नसँग रोए, र पावललाई अङ्‌गालो हालेर चुम्बन गरे। सबैभन्दा बढता विलाप गरेको ता, ‘तिनीहरूले उनको मुख फेरि कहिल्यै पनि देख्नेछैन’ भन्‍ने कुरा उनले गरेको कारण हो।” ओहो! ती भाइहरूले पावललाई कति धेरै माया गरेका! साँच्चै भन्‍नुपर्दा, त्यहाँका प्राचीनहरूले पावल र बर्णाबासलाई जानै दिएका थिएनन्‌। तर पावल र तिनीसँगै यात्रामा निस्केका साथीहरू ‘बिदा भएर’ नगई नहुने थियो।—प्रेरित २०:३६–२१:१.

१०. यहोवाका साक्षीहरूले आज एक-अर्काका लागि साहसी भई प्रेम देखाएका छन्‌, कसरी?

१० परिभ्रमण निरीक्षक, मण्डलीका प्राचीन तथा अरू धेरैलाई आज पनि भाइबहिनीहरू धेरै माया गर्छन्‌ किनकि यहोवाका भेडाहरूका खातिर उनीहरू साहसी भई काम गर्छन्‌। उदाहरणको लागि, गृह-युद्धले जर्जर भएका देशहरूमा अथवा सुसमाचार प्रचार गर्न प्रतिबन्ध लगाइएका ठाउँमा ज्यान जाने र कैदमा पर्ने खतरा भए पनि परिभ्रमण निरीक्षक तथा उनीहरूका श्रीमतीले मण्डलीहरूको भ्रमण गरेका छन्‌। यस्तै गरी, आफ्ना सँगी साक्षीहरूलाई धोका नदिएको अथवा आध्यात्मिक खाना तयार गरिने ठाउँ नबताएको कारण अरू कतिपय साक्षीलाई तानाशाह शासक र तिनीहरूका मतियारहरूले दिनुसम्म दुःख दिएका छन्‌। सुसमाचार प्रचार गर्न बन्द नगरेकोले अथवा मसीही सभाहरूमा लगातार गइरहेको कारण अरू हजारौं भाइबहिनीलाई चाहिं सताइएको, यातना दिइएको र मारिएको समेत छ। (प्रेरित ५:२८, २९; हिब्रू १०:२४, २५) यस्ता साहसी भाइबहिनीको विश्‍वास र प्रेम हामी पनि अनुकरण गर्न सकौं!—१ थिस्सलोनिकी १:६.

तपाईंको प्रेम नसेलाओस्‌

११. शैतानले कसरी यहोवाका साक्षीहरू विरुद्ध आध्यात्मिक युद्ध लड्‌छ र यसको लागि साक्षीहरू कस्तो हुनुपर्छ?

११ शैतान यस पृथ्वीमा फ्याँकिएपछि यहोवाका सेवकहरूमाथि रिस पोख्न त्यो जाइलाग्यो। किन? किनभने ती सेवकहरूले ‘परमेश्‍वरको आज्ञा पालन गरेको, र येशूको साक्षी दिएको’ त्यसले देखिसहेन। (प्रकाश १२:९, १७) परमेश्‍वरका सेवकहरूलाई आक्रमण गर्ने शैतानको एउटा चाल हो, सतावट। तर यस चालको परिणाम अक्सर उल्टो हुने गरेको छ किनकि जत्ति सतावट आउँछ, परमेश्‍वरका जनहरूबीचको मसीही प्रेमको बन्धन उत्ति नै कसिलो हुन्छ र उनीहरूमध्ये धेरै जना अझ जोसिला हुन्छन्‌। शैतानको अर्को चाल हो, पापी मानव झुकावतिर लोभ्याउनु। यस चालमा नफस्न निकै साहसी हुनुपर्छ किनभने यो लडन्त मनमा, ‘छली र भ्रष्ट’ हृदयभित्र हुने कुइच्छा विरुद्धको लडन्त हो।—यर्मिया १७:९; याकूब १:१४, १५.

१२. परमेश्‍वरप्रतिको हाम्रो प्रेम कमजोर बनाउन शैतानले कसरी “संसारको आत्मा” चलाउँछ?

१२ शैतानले चलाउने अर्को शक्‍तिशाली हतियार हो: “संसारको आत्मा,” जुन आत्माले संसारका मानिसहरूको जस्तै झुकाव राख्न अथवा तिनीहरूले जस्तै व्यवहार गर्न उक्साउँछ तर संसारको आत्मा परमेश्‍वरको पवित्र आत्माजस्तो पटक्कै होइन। (१ कोरिन्थी २:१२) संसारको आत्माले लोभी हुन र भौतिक कुरा थुपार्न जोड दिन्छ, जुन “आँखाको अभिलाषा” मात्र हो। (१ यूहन्‍ना २:१६; १ तिमोथी ६:९, १०) भौतिक कुरा र पैसा हानिकारक वस्तु होइन तर यी कुरालाई हामीले परमेश्‍वरलाई भन्दा बढ्‌ता प्रेम गर्न थाल्यौं भने, शैतानको जीत हुन्छ। संसारको आत्माको शक्‍ति वा ‘मालिकले’ पापी शरीरलाई आकर्षित गर्छ, यो छली हुनुका साथै हामीलाई फसाउन लागिपर्छ र यो आत्मा हावाजस्तै जताततै छ। त्यसकारण संसारको आत्माले तपाईंको हृदयलाई पनि असर पार्ला, होसियार हुनुहोस्‌!—एफिसी २:२, ३; हितोपदेश ४:२३.

१३. नैतिक रूपमा स्वच्छ रहने हाम्रो साहसको जाँच हुन सक्छ, कसरी?

१३ तर संसारको दुष्ट आत्माको प्रतिकार र तिरस्कार गर्ने हो भने, नैतिक रूपमा स्वच्छ रहनु खाँचो छ। जस्तो: छाडा दृश्‍य आउँदा सिनेमा हलबाट फुत्त बाहिर निस्कन, कम्प्युटर वा टिभी बन्द गर्न साहस चाहिन्छ। साथीहरूको लहैलहैमा लागेर नबिग्रिन अनि खराब संगतबाट टाढा रहन पनि साहस नभई हुँदैन। त्यसै गरी, स्कूलको साथी, अफिसको साथी, छिमेकी अनि आफन्तहरूले खिसी गर्दा समेत परमेश्‍वरको व्यवस्था र उहाँका सिद्धान्तहरू पालन गरिरहन साहसी हुनै पर्छ।—१ कोरिन्थी १५:३३; १ यूहन्‍ना ५:१९.

१४. संसारको आत्माले असर पारेको छ भने के गर्नुपर्छ?

१४ त्यसकारण, परमेश्‍वर र हाम्रा आध्यात्मिक भाइबहिनीलाई अझ बढी प्रेम गर्नु एकदमै महत्त्वपूर्ण छ। कतै संसारको आत्माले तपाईंलाई असर पारिरहेको छ कि, बुझ्न आफ्ना लक्ष्यहरू र जीवनशैली केलाएर हेर्नुहोस्‌। अलिकति मात्र असर पारेको छ भने पनि यसलाई चट्ट हटाउन र यसबाट जोगिन साहसको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। हामीले गर्ने यस्तो निष्कपट बिन्ती यहोवा अवश्‍य सुन्‍नुहुन्छ। (भजन ५१:१७) यसबाहेक, यहोवाको आत्मा संसारको आत्माभन्दा धेरै नै शक्‍तिशाली छ भन्‍ने कुरा नबिर्सनुहोस्‌।—१ यूहन्‍ना ४:४.

साहसी भई समस्याको सामना गर्नुहोस्‌

१५, १६. ख्रीष्टसित जुन किसिमको प्रेम थियो, त्यस्तो प्रेमले हामीलाई समस्याहरू सामना गर्न कसरी बल दिन सक्छ? एउटा उदाहरण बताउनुहोस्‌।

१५ यहोवाका सेवकहरूले सामना गर्ने अरू चुनौतीहरू हुन्‌: असिद्धता र बुढ्यौलीका असरहरू। असिद्ध र वृद्ध भएकोले हामी बिरामी हुन्छौं, शारीरिक रूपमा अशक्‍त हुन्छौं र निराशाजस्ता अरू थुप्रै समस्याले पनि पिरोल्छ। (रोमी ८:२२) तर ख्रीष्टसित जुन किसिमको प्रेम थियो, त्यस्तो प्रेमले हामीलाई यस्ता समस्याहरू सामना गर्न बल दिन्छ। उदाहरणको लागि, जाम्बियाका एक साक्षी परिवारकी नामाङगोल्बालाई विचार गर्नुहोस्‌। दुई वर्षको उमेरमा नामाङगोल्बा शारीरिक रूपमा अशक्‍त भइन्‌। तिनी भन्छिन्‌, “मेरो रूप देखेर अरूले के भन्लान्‌ भनेर मलाई अप्ठ्यारो लाग्थ्यो। तर आध्यात्मिक भाइबहिनीले मलाई सकारात्मक हुन मदत गर्नुभयो। फलस्वरूप, मलाई अप्ठ्यारो लाग्न छोड्यो र समयमा मैले बप्तिस्मा पनि लिएँ।”

१६ हुन त, नामाङगोल्बासित ह्विलचेयर छ तर बालुवै-बालुवा भएको फोहोर बाटोमा ह्विलचेयर नगुडेको बेला तिनी हात र घुँडा टेकेर हिंड्‌छिन्‌। अवस्था गाह्रो छ तैपनि वर्षको दुई महिना तिनी सहायक अग्रगामी सेवा गर्छिन्‌। नामाङगोल्बाले एउटा घरमा प्रचार गर्दाको कुरा हो, तिनको कुरा सुनेर घरधनी त रुन पो थालिन्‌। तर किन? बहिनी नामाङगोल्बाको विश्‍वास र साहस देखेर घरधनीको मनै पग्लिएछ। खुसीको कुरा, तिनका पाँच जना बाइबल विद्यार्थीले बप्तिस्मा लिइसकेका छन्‌ भने, एक जनाचाहिं प्राचीनको रूपमा सेवा गर्दैछन्‌। के यो यहोवाले आशिष्‌ वर्षाउनुभएको प्रमाण होइन? बहिनी नामाङगोल्बा भन्छिन्‌: “खुट्टा कटकट दुखिरहन्छ तर यसले गर्दा यहोवाको सेवा गर्नदेखि म पछि हट्‌दिनँ।” यी बहिनी त एउटा नमुना मात्र हुन्‌। संसारमा यिनीजस्ता थुप्रै साक्षी छन्‌, जो शारीरिक रूपमा अशक्‍त भए पनि आध्यात्मिकतामा अत्यन्त बलिया छन्‌। परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले उनीहरूलाई बलियो हुन मदत गरेको हो। यहोवाको नजरमा यस्ता भाइबहिनीहरू अति अमूल्य छन्‌!—हाग्गै २:७.

१७, १८. रोगबिमार अनि अरू समस्याहरूले पिरोल्दा लत्तो नछाड्‌न कुन कुराले धेरैलाई मदत गरेको छ? आफ्नो मण्डलीका केही उदाहरण बताउनुहोस्‌।

१७ हतपत निको नहुने रोग लाग्यो भने पनि लत्तो छोड्‌न मन लाग्न सक्छ वा निराशाले छोप्न सक्छ। एउटा मण्डलीको प्राचीन भन्छन्‌, “म जाने मण्डली पुस्तक अध्ययनमा एउटी बहिनीलाई मधुमेह, अर्कीलाई क्यान्सर र अरू दुई जनालाई गम्भीर किसिमको बाथ रोग लागेको छ। अर्की एउटी बहिनीलाई चाहिं लुपस र फ्राइबोमायालजिया भएको छ। कहिलेकाहीं उनीहरू साह्रै निराश देखिन्छन्‌। तरैपनि सिकिस्त बिरामी भएको बेला अथवा अस्पतालमा भर्ना भएको बेला मात्र उनीहरू सभाहरू आउँदैनन्‌। नत्र त उनीहरू एउटै पनि सभा छुटाउँदैनन्‌। उनीहरू सबै क्षेत्र सेवकाईमा पनि नियमित रूपमा आउँछन्‌। उनीहरूलाई हेर्दा पावलले भनेको यो कुरा मलाई याद आउँछ: “दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” उनीहरूले देखाएको प्रेम र साहसको म कदर गर्छु। मलाई लाग्छ, आफ्नो स्वास्थ्य स्थितिले उनीहरूलाई जीवनप्रति सही दृष्टिकोण राख्न र बढी महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न मदत गरेको छ।”—२ कोरिन्थी १२:१०.

१८ यदि तपाईं शारीरिक रूपमा अशक्‍त हुनुहुन्छ र रोगबिमार अथवा अरू समस्याले पनि सताइरहेको छ भने, निराश नहुन मदतको लागि “निरन्तर प्रार्थना” गर्नुहोस्‌। (१ थिस्सलोनिकी ५:१४, १७) हो, जीवनमा उतारचढाव आउँछ तर यस्तो बेला प्रोत्साहनजनक अनि आध्यात्मिक कुरा, त्यसमा पनि विशेष गरी हाम्रो अमूल्य राज्य आशामा मन लाउने कोसिस गर्नुहोस्‌। एउटी मसीही बहिनीले भनिन्‌, “मेरो लागि क्षेत्र सेवकाई ओखती हो।” हो, अरूलाई सुसमाचार सुनाउँदा आफू सकारात्मक हुन सकेको अनुभव तिनीसित छ।

गल्ती गर्नेहरूलाई यहोवाकहाँ फर्किन प्रेमले मदत गर्छ

१९, २०. (क) यहोवाकहाँ फर्किने साहस बटुल्न पाप गरेका व्यक्‍तिहरूलाई कुन कुराले मदत गर्न सक्छ? (ख) अर्को लेखमा कुन विषय छलफल गर्नेछौं?

१९ आध्यात्मिक रूपमा कमजोर अथवा पाप गरेका व्यक्‍तिहरूलाई यहोवाकहाँ फर्किन सजिलो हुँदैन। तर यस्ता व्यक्‍तिहरूले साँच्चै पश्‍चात्ताप गरेर यहोवा परमेश्‍वरलाई पहिला जस्तै फेरि प्रेम गर्न थालेमा यहोवाकहाँ फर्किने आँट आउनेछ। उदाहरणको लागि, संयुक्‍त राज्य अमेरिकामा बसोबास गर्ने मार्योलाईa विचार गर्नुहोस्‌। मार्योले मसीही मण्डलीसित संगत गर्न छाडे, जँड्याहा भए र लागूऔषधको कुलतमा फसे। हुँदा-हुँदा बीस वर्षपछि त तिनी जेलसमेत परे। मार्यो भन्छन्‌: “मैले आफ्नो भविष्यबारे घोरिएर सोचें र बाइबल फेरि पढ्‌न थालें। समयमा मैले यहोवाका गुणहरू, त्यसमा पनि विशेष गरी उहाँको दया राम्रोसँग महसुस गरें, जसको लागि म अक्सर प्रार्थना गर्थें। जेलबाट छुटेपछि पुराना साथीहरूसित संगत गर्न छाडें, मसीही सभाहरूमा जान थालें र अन्तमा फेरि यहोवाको साक्षी हुन सकें। मैले जे रोपें, शारीरिक रूपमा त्यसको कटनी गर्दैछु। तैपनि म दुःखी छैन किनभने अब मसित उज्जवल भविष्यको आशा छ। यहोवाले मलाई क्षमा गरेर ठूलो अनुग्रह देखाउनुभयो। त्यसको लागि म उहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु।”—भजन १०३:९-१३; १३०:३, ४; गलाती ६:७, ८.

२० मार्यो जुन स्थितिमा पुगे, त्यस्तै स्थितिमा भएकाहरूले यहोवाकहाँ फर्किन कडा मेहनत गर्नुपर्छ। तर बाइबल अध्ययन, प्रार्थना अनि मनन गरेर यहोवालाई पहिलाजस्तै प्रेम गर्न थालेपछि त्यो प्रेमले उनीहरूलाई साहसी हुन र कटिबद्ध भई अघि बढ्‌न मदत गर्नेछ। परमेश्‍वरको राज्य आशाले मार्योलाई पनि बलियो बनायो। हो, प्रेम, विश्‍वास, परमेश्‍वरको भय र आशाले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। अर्को लेखमा हामी यो अमूल्य आध्यात्मिक उपहार आशाबारे अझ गहिरिएर छलफल गर्नेछौं। (w 06 10/1)

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• प्रेमले येशूलाई उल्लेखनीय साहस देखाउन प्रेरित गऱ्‍यो, कसरी?

• आफ्ना सँगी भाइहरूप्रतिको प्रेमले पावल र बर्णाबासलाई कस्तो असाधारण साहस दियो?

• कुन-कुन कुरा चलाएर शैतानले हाम्रो मसीही प्रेम कमजोर बनाउन खोज्छ?

• परमेश्‍वरप्रतिको प्रेमले हामीलाई कस्ता समस्याहरू सहन साहसी बनाउन सक्छ?

[पृष्ठ २३-मा भएको चित्र]

मानिसहरूप्रतिको प्रेमले पावललाई स्थिर रहन साहसी बनायो

[पृष्ठ २५-मा भएको चित्र]

परमेश्‍वरका नीतिनियम पालन गर्न साहस चाहिन्छ

[पृष्ठ २५-मा भएको चित्र]

नामाङगोल्बा सुटुटु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने