परमेश्वरलाई प्रेम गर्नुको अर्थ के हो?
लगभग छ हजार वर्षअघि प्रथम मानव शिशु जन्म्यो। तिनी जन्मेपछि तिनकी आमा, हव्वाले भनिन्: “परमप्रभुको आशीर्वादले एक पुरुष प्राप्त गरें।” (उत्पत्ति ४:१) आफ्नो विद्रोहको कारण मृत्युदण्ड पाइसके तापनि हव्वाको यस अभिव्यक्तिले तिनी र तिनको पति आदम यहोवाको ईश्वरत्वबारे अझै सजग थिए भन्ने कुरा प्रकाश पार्छ। पछि तिनीहरूले दोस्रो छोरा जन्माए। ती केटाहरूको नाउँ कयिन र हाबिल राखियो।
आदम र हव्वाका छोराहरूले हुर्कंदै जाँदा निस्सन्देह यहोवाको सृष्टिबाट मात्रै पनि उहाँको प्रेमबारे धेरै कुरा सिके। प्रकृतिका सुन्दर रंगहरू र विविध प्रकारका जनावर तथा बोटबिरुवाहरूको तिनीहरूले आनन्द उठाए। परमेश्वरले तिनीहरूलाई जीवन मात्र दिनुभएको थिएन तर जीवनको आनन्द उठाउने क्षमता पनि दिनुभयो।
तिनीहरूले आफ्ना आमाबाबुलाई सिद्ध सृष्टि गरिएको र यहोवाको सुरुको उद्देश्य मानवहरू सधैंभरि बाँचोस् भन्ने थियो भनेर सिके। सम्भवतः आदम र हव्वाले तिनीहरूलाई अदनको सुन्दर बगैंचाबारे बयान गरे र प्रमोदवनरूपी घरबाट किन निकालिएको भनेर तिनीहरूले जसोतसो बताउनु परेको हुनसक्छ। उत्पत्ति ३:१५ मा लिपिबद्ध ईश्वरीय भविष्यवाणीबारे पनि कयिन र हाबिल सजग थिए होलान्। उहाँलाई प्रेम गर्ने र उहाँप्रति वफादार साबित हुनेहरूका फाइदाको निम्ति यहोवाले तोकिएको समयमा सबै विवादलाई समाधान गर्ने कुरा त्यस भविष्यवाणीद्वारा व्यक्त गर्नुभयो।
यहोवा अनि उहाँका गुनहरूबारे सिक्दा कयिन र हाबिललाई परमेश्वरको अनुग्रह प्राप्त गर्ने इच्छा जागेको हुनुपर्छ। त्यसैले तिनीहरू यहोवालाई भेटी चढाउन उहाँसामु पुगे। बाइबल विवरणले यसो भन्छ: “केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए। हाबिलले पनि आफ्ना भेड़ाका बगालबाट पहिले जन्मेका पाठाहरू र तिनका उत्तम भाग ल्याए।”—उत्पत्ति ४:३, ४.
परमेश्वरको अनुग्रह पाउने तिनीहरूको इच्छाले उहाँसित सम्बन्ध कायम राख्ने जग बसाल्यो। अन्ततः कयिनले परमेश्वर विरुद्ध विद्रोह गरे भने हाबिल साँचो प्रेमले प्रेरित भई नै रहे। हाबिलले यहोवाको व्यक्तित्व र उद्देश्यहरूबारे पहिल्यै ज्ञान प्राप्त नगरेको भए परमेश्वरसित त्यस्तो सम्बन्ध कहिल्यै कायम गर्ने थिएनन्।
तपाईं पनि यहोवालाई चिन्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईंले बाइबलबाट परमेश्वर संयोगवश कुनै उद्देश्यबिना सृष्टि गर्ने निर्जीव शक्ति नभई वास्तविक व्यक्ति हुनुहुन्छ भनेर सिक्न सक्नुहुन्छ। (तुलना गर्नुहोस् यूहन्ना ७:२८; हिब्रू ९:२४; प्रकाश ४:११) बाइबलले हामीलाई यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनेर पनि सिकाउँछ।—प्रस्थान ३४:६.
“आज्ञापालन बलिदानभन्दा उत्तम हो”
कयिन र हाबिलको उदाहरणले देखाएझैं परमेश्वरबारे ज्ञान हासिल गर्नु र उहाँसित घनिष्ठ सम्बन्ध राख्ने इच्छा गर्नु मात्रै पर्याप्त छैन। हो, ती दुवै दाजुभाइ भेटीसहित परमेश्वरसामु पुगे। तथापि, “परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो। तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो।”—उत्पत्ति ४:३-५.
यहोवाले कयिनको बलिदान किन अस्वीकार गर्नुभएको? तिनले चढाएको भेटीमा के केही कमी थियो? कयिनले पशु बलिदानको साटो “भूमिको उब्जनी” ल्याएकोले के यहोवाले अपमानित महसुस गर्नुभएको हो? त्यसो हो भनेर किटान गर्नु मिल्दैन। पछि परमेश्वरले खुशीसाथ उहाँका थुप्रै उपासकहरूले चढाएको अन्न र अन्य फलफूलहरूको भेटी स्वीकार्नुभयो। (लेवी २:१-१६) त्यसोभए, स्पष्टतः कयिनको हृदयमा केही खराबी थियो। यहोवाले कयिनको हृदय पढ्न सक्नुहुन्थ्यो र उहाँले तिनलाई यस्तो चेताउनी दिनुभयो: “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? यदि तैंले असल गरेनस् भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ।”—उत्पत्ति ४:६, ७.
परमेश्वरलाई साँचो प्रेम गर्नुको अर्थ भेटी चढाउनु मात्रै होइन। त्यसैकारण यहोवाले कयिनलाई “असल” गर्न प्रोत्साहित गर्नुभयो। परमेश्वर आज्ञाकारिता चाहनुहुन्थ्यो। परमेश्वरप्रतिको त्यस्तो आज्ञाकारिताले कयिनलाई सृष्टिकर्तासित मायालु सम्बन्ध राख्नको निम्ति असल जग बसाल्न मदत गर्नेथियो। बाइबलमा आज्ञाकारिताको महत्त्वलाई यी शब्दहरूद्वारा यसरी जोड दिएको छ: “होमबलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञापालननै रूचाउनु हुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु साँढ़-भेड़ाको बोसोभन्दा असल हो।”—१ शमूएल १५:२२.
आज्ञाकारिताको यो महत्त्वबारे १ यूहन्ना ५:३ का शब्दहरूले अझ पुष्टि दिन्छ। त्यहाँ यसो भनिएको छ: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्।” यहोवाप्रति प्रेम देखाउने सर्वोत्तम तरिका उहाँको अख्तियारको अधीनमा बस्नु हो। यसको अर्थ, बाइबलका नैतिक सिद्धान्तहरू पालन गर्नु हो। (१ कोरिन्थी ६:९, १०) यसको अर्थ, असल कुरालाई प्रेम गर्नु र खराब कुरालाई घृणा गर्नु हो।—भजन ९७:१०; १०१:३; हितोपदेश ८:१३.
परमेश्वरप्रति प्रेम प्रकट गर्ने एउटा महत्त्वपूर्ण तरिका छिमेकीलाई प्रेम गर्नु हो। बाइबलले हामीलाई यसो भन्छ: “यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु,’ भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्नसक्तैन।”—१ यूहन्ना ४:२०.
परमेश्वरसित घनिष्ठ हुनु सम्भव छ
केहीले यसो भन्लान्, ‘म परमेश्वरको उपासना गर्छु। उहाँका नियमहरू पालन गर्छु। आफ्ना सँगी मानिसहरूसित निष्पक्ष व्यवहार गर्छु। म ती सबै गर्छु। तैपनि म परमेश्वरसित घनिष्ठ भएको महसुस गर्दिनँ। मैले उहाँलाई प्रगाढ प्रेम गरेको जस्तो लाग्दैन। त्यसैले म आफू एकदमै दोषी महसुस गर्छु।’ केहीले आफूलाई यहोवासित घनिष्ठ सम्बन्ध राख्न योग्य ठान्दैनन्।
यहोवाप्रति समर्पण गरेको झन्डै ३७ वर्षपछि एक मसीहीले यसो लेखे: “जीवनमा निकै चोटि मैले भित्री हृदयदेखि नभई झारा टार्ने रूपमा मात्र यहोवाको सेवा गरिरहेको जस्तो लाग्यो। तर यहोवाको सेवा गर्नु नै सही कुरा हो भनेर मलाई थाह थियो र उहाँलाई सेवा गर्न कहिल्यै छाडिनँ। तथापि, हरेक चोटि कोही मानिसको ‘हृदय यहोवाप्रतिको प्रेमले प्रफुल्लित भयो’ भन्ने पढ्दा म यसरी सोच्ने गर्थें ‘मैले त यस्तो कहिल्यै महसुस गरिनँ, ममा के गल्ती छ?’” हामी परमेश्वरसित कसरी घनिष्ठ हुनसक्छौं?
तपाईं कसैलाई साँच्चै प्रेम गर्नुहुन्छ भने, तपाईं त्यस व्यक्तिबारे धेरै सोच्नुहुन्छ। तिनीसित नजीक हुने गहिरो इच्छा राख्नुहुन्छ किनभने तपाईं तिनलाई मन पराउनुहुन्छ। तपाईं तिनलाई जति बढी भेट्नुहुन्छ, जति बढी कुराकानी गर्नुहुन्छ र तिनीबारे सोच्नुहुन्छ, त्यति नै बढी तपाईंको प्रेम बढ्दै जान्छ। यो सिद्धान्त परमेश्वरप्रति तपाईंले प्रेम खेती गर्ने सम्बन्धमा पनि लागू हुन्छ।
भजन ७७:१२ मा प्रेरित लेखक यसो भन्छन्: “म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” परमेश्वरप्रति प्रेम खेती गर्न मनन गर्नु अत्यावश्यक छ। उहाँ अदृश्य हुनुभएकोले विशेषगरि यो कुरा आवश्यक छ। तर तपाईं उहाँबारे जति बढी सोच्नुहुन्छ, त्यत्ति नै तपाईंलाई उहाँ वास्तविक लाग्नेछ। तब मात्र तपाईंले हार्दिक र स्नेही सम्बन्ध विकास गर्न सक्नुहुनेछ किनभने उहाँ तपाईंको निम्ति वास्तविक हुनुहुनेछ।
यहोवाका तौरतरिका र व्यवहारहरूबारे बारम्बार मनन गर्ने तपाईंको झुकाउ तपाईं उहाँको कुरा कत्तिको सुन्नुहुन्छ, त्यसमा भर पर्छ। तपाईंले नियमित तवरमा उहाँको वचन, बाइबल पढेर अनि अध्ययन गरेर उहाँको कुरा सुन्नुहुन्छ। भजनरचयिताले आनन्दित मानिसबारे यसो भन्छन्, “परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ।”—भजन १:१, २.
अर्को महत्त्वपूर्ण तत्त्व प्रार्थना हो। त्यसैकारण बाइबलले हामीलाई बारम्बार प्रार्थना गर्न अर्थात् “हर समय” ‘प्रार्थनाको निम्ति फुर्सत निकाल्न’ ‘प्रार्थनामा अटुटसँग लागिरहन’ र ‘निरन्तर प्रार्थना गरिरहन’ प्रोत्साहित गर्छ। (एफिसी ६:१८; १ कोरिन्थी ७:५; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) यहोवालाई निरन्तर प्रार्थना गऱ्यौं भने हामी उहाँको प्रिय हुनेछौं र उहाँले सुन्नुहुन्छ भन्ने आश्वासनले हामीलाई उहाँप्रति नजीक खिंच्नेछ। भजनरचयिताले यस्तो घोषणा गर्दै त्यसको पुष्टि दिए: “परमप्रभुमा म प्रेम राख्तछु, किनभने उहाँले मेरो सोर र मेरो अन्तरबिन्ती सुन्नुभएको छ। किनभने उहाँले आफ्नो कान मतिर थाप्नुभएको छ, यसकारण म बाचुञ्जेल उहाँको पुकारा गर्नेछु।”—भजन ११६:१, २.
प्रेमको परमेश्वरको अनुकरण गर्ने
यहोवाले हाम्रो भलाइ गर्नुहुन्छ। यस ब्रह्माण्डको सृष्टिकर्ता हुनुभएकोले उहाँले निश्चय पनि धेरै कुराको हेरविचार गर्नुपर्छ। यद्यपि, उहाँ जति नै गरिमामय हुनुभए तापनि उहाँले अझै आफ्ना मानव सृष्टिहरूको हेरचाह गर्नुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। (१ पत्रुस ५:६, ७) यो कुरालाई निम्न शब्दहरूद्वारा भजनरचयिताले यसरी पुष्टि दिन्छन्: “हे प्रभो, हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईंको नाउँ कति उत्तम छ! जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं[ले] नियुक्त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?”—भजन ८:१, ३, ४.
तथापि, कसरी यहोवाले मरणशील मानिसलाई मनमा राख्नुहुन्छ? बाइबल यसरी जवाफ दिन्छ: “यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्ने हेतुले परमेश्वरले आफ्ना एक[लो] पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।”—१ यूहन्ना ४:९, १०.
हाम्रो पापको प्रायश्चितको निम्ति प्रबन्ध गर्नुभएको बलिदान परमेश्वरको प्रेमको उत्कृष्ट प्रमाण कसरी भयो? सो बुझ्न अदनको बगैंचामा के भएको थियो हामी हेरौं। आदम र हव्वाले यहोवाको नियम पालन गरेर सधैंभरि सिद्ध जीवनको प्रत्याशा राख्ने या उहाँको विद्रोह गरेर मृत्यु भोग्ने हो, त्यो निर्णय गर्नु परेको थियो। तिनीहरूले विद्रोह गर्न रोजे। (उत्पत्ति ३:१-६) तिनीहरूले त्यसो गरेर सारा मानिसजातिलाई पनि मृत्युमा होमे। (रोमी ५:१२) आफ्नो निम्ति निर्णय गर्ने हाम्रो सुअवसरलाई तिनीहरूले अहंकारीपूर्वक लुटे। हामी कसैले पनि निर्णय गर्ने अवसर पाएनौं।
तथापि, मानिसको दुर्गतिलाई विचार गर्दै यहोवाले मायालु ढंगमा मरणशील मानिसलाई मनमा राख्नुभएको छ। यहोवाले आफ्नो पुत्र येशू ख्रीष्टको बलिदानरूपी मृत्युद्वारा हामी सबैलाई आफ्नो निम्ति जीवन वा मृत्यु, आज्ञाकारिता वा विद्रोह छनौट गर्ने कानुनी आधार दिनुभएको छ। (यूहन्ना ३:१६) यो यहोवाले हामी आफैलाई अदालतमा आफ्नो न्याय गर्ने मौका दिनुभएको अर्थात् प्रतीकात्मक रूपमा भन्ने हो भने अदनमा फर्केर आफै निर्णय गर्ने सुअवसर दिनुभएको जस्तै हो। यो अहिलेसम्म प्रकट गरिएको उत्कृष्ट प्रेम हो।
आफ्नो जेष्ठ पुत्रलाई अपराधीसरह अपमान, यातना दिएर झुण्डाएको हेर्नुपर्दा यहोवाले कति पीडा महसुस गर्नुभयो होला, विचार गर्नुहोस्। अनि परमेश्वरले हाम्रोनिम्ति ती सबै सहनुभयो। हामीलाई प्रेम गर्न यहोवा अग्रसर हुनुभएको थाह पाएपछि हामी उहाँलाई प्रेम गर्न उत्प्रेरित र उहाँको खोजी गर्न उत्तेजित हुनुपर्ने हो। (याकूब १:१७; १ यूहन्ना ४:१९) बाइबलले हामीलाई यसरी आमन्त्रित गर्छ: “परमप्रभु र उहाँको शक्तिको खोजी गर। उहाँको दर्शन सधैं खोज। उहाँले गर्नभएको उहाँका आश्चर्य कामहरू, र उहाँको मुखको इन्साफ सम्झ।”—भजन १०५:४, ५.
परमेश्वरसित व्यक्तिगत र मायालु सम्बन्ध राख्नु, उहाँको साथी हुनु अस्वाभाविक कुरा होइन। यो प्राप्त गर्न सकिन्छ। हो, हामीले परमेश्वरप्रतिको हाम्रो प्रेमलाई मानव नातासित दाँज्न सक्दैनौं। हामीले आफ्नो पति वा पत्नी, आमाबाबु, भाइबहिनी, छोराछोरी वा साथीहरूप्रति महसुस गर्ने प्रेम र परमेश्वरप्रतिको हाम्रो प्रेममा भिन्नता छ। (मत्ती १०:३७; १९:२९) यहोवाप्रतिको प्रेममा हाम्रो भक्ति, उपासना र बिनासर्तको समर्पण समावेश छ। (व्यवस्था ४:२४) अरू कुनै सम्बन्धमा यी सबै समावेश हुँदैन। तर त्यसो भए तापनि परमेश्वरप्रति हामी डरसहित श्रद्धेय तरिकामा बलियो र प्रगाढ भावनाहरूको विकास गर्नसक्छौं।—भजन ८९:७.
कयिन र हाबिलजस्तै, तपाईं असिद्ध भए तापनि तपाईंसित आफ्नो सृष्टिकर्तालाई प्रेम गर्ने क्षमता छ। कयिनले विद्रोह गर्ने छनौट गरेर शैतानलाई साथ दिए अनि प्रथम मानव हत्यारा भए। (१ यूहन्ना ३:१२) त्यसको विपरीत हाबिललाई यहोवाले विश्वासी र धर्मी मानिसको रूपमा सम्झनुहुनेछ अनि सन्निकट प्रमोदवनमा इनामस्वरूप जीवन दिनुहुनेछ।—हिब्रू ११:४.
तपाईं पनि छनौट गर्न सक्नुहुन्छ। परमेश्वरको आत्मा र उहाँको वचनको मदतद्वारा तपाईंले परमेश्वरलाई “आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले [साँच्चै] प्रेम” गर्न सक्नुहुनेछ। (व्यवस्था ६:५) परिणामस्वरूप यहोवाले तपाईंलाई प्रेम गरी नै रहनुहुनेछ किनभने “उहाँलाई खोज्नेहरूलाई [उहाँ] प्रतिफल दिनुहुन्छ।”—हिब्रू ११:६.
[पृष्ठ ७-मा भएका चित्र]
हाबिलको भेटी परमेश्वरलाई ग्रहणयोग्य थियो