पाठकहरूका प्रश्नहरू
पहिलो यूहन्ना ४:१८ मा हामी यो लेखिएको पाउँछौं: “प्रेममा डर हुँदैन, तर पूर्ण प्रेमले ता डरलाई हटाउँछ।” तर पत्रुसले के लेखे भने, “भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्वरसँग डराओ।” (१ पत्रुस २:१७) अब यी दुइ पदहरूलाई कसरी मेल गराउन सकिन्छ?
पत्रुस र यूहन्ना दुवै जना स्वयम् येशू ख्रीष्टद्वारा शिक्षा पाउने प्रेरितहरूमध्ये थिए। तसर्थ, तिनीहरूले लेखेका कुरा बेसंगत छैनन् भनेर ढुक्क हुनसक्छौं। माथि उद्धृत पदहरूको समाधानबारे के भन्न सकिन्छ भने, ती दुइ प्रेरितहरूले बेग्लाबेग्लै किसिमका भयबारे बताइरहेको हुँदा त्यसको अर्थ पनि बेग्लै छन्।
सर्वप्रथम पत्रुसको सल्लाहमाथि ध्यान देऔं। प्रसंगले देखाएअनुसार पत्रुस आफ्ना संगी मसीहीहरूलाई अख्तियारवालाहरूप्रति देखाउनुपर्ने मनोवृत्तिबारे प्रेरित सल्लाह दिंदैथिए। अर्को शब्दमा भन्ने हो भने, कुनै कुनै क्षेत्रमा देखाउनुपर्ने अधीनताबारे उचित मनोवृत्ति के हो, सोबारे तिनी टिप्पणी गर्दैथिए। तसर्थ, तिनले राजा, बडाहाकिमजस्ता सरकारी अख्तियारवालाहरूको अधीनमा बस्न मसीहीहरूलाई सुझाव दिए। (१ पत्रुस २:१३, १४) पत्रुस अझै यो लेख्छन्: “सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर।”—१ पत्रुस २:१७.
तसर्थ, प्रसंगबाटै के स्पष्ट हुन्छ भने पत्रुसले मसीहीहरूलाई “परमेश्वरसँग डराओ” भन्दा परमेश्वरप्रति हाम्रो गहिरो श्रद्धापूर्ण आदर अर्थात् सर्वोच्च अख्तियारवालालाई अप्रसन्न तुल्याउने भय हुनुपर्छ भन्न खोजेका थिए।—हिब्रू ११:७ तुलना गर्नुहोस्।
अब प्रेरित यूहन्नाको टिप्पणीबारे के भन्न सकिन्छ? उपरोक्त पदभन्दा अघि १ यूहन्ना ४ अध्यायमा यूहन्नाले झूटा अगमवक्ताजस्ता मानिसहरूका “आत्मा [प्रेरित अभिव्यक्तिहरू, न्युव]” बारे सल्लाह दिएका थिए। निस्सन्देह, त्यस्ता अभिव्यक्तिहरू यहोवा परमेश्वरबाट आएको हुनसक्दैन; वास्तवमा ती अभिव्यक्तिहरू दुष्ट संसारका हुन् वा त्यसलाई प्रतिबिम्बित गर्छ।
यसको विपरीत अभिषिक्त मसीहीहरू “परमेश्वरबाटका” हुन्। (१ यूहन्ना ४:१-६) त्यसैकारण, यूहन्नाले यस्तो आग्रह गरे: “हे प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाटको हो।” स्वयम् परमेश्वर प्रेम देखाउन अग्रसर हुनुभयो। उहाँले “हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।” (१ यूहन्ना ४:७-१०) यस्तो प्रेमप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?
स्पष्ट छ, आफ्नो मायालु परमेश्वरसित हामी एक हुनुपर्छ। हामी उहाँसित भयभीत हुनुपर्ने वा उहाँलाई प्रार्थना गर्नदेखि थरथर काँप्नुपर्ने कुनै कारण छैन। अघिल्लो पदमा यूहन्नाले यो सल्लाह दिएका थिए: “हाम्रो हृदयले हामीलाई दोष दिंदैन भनेता हामीलाई परमेश्वरतर्फ साहस हुन्छ। औ हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं।” (१ यूहन्ना ३:२१, २२) हो, असल अन्तस्करण छ भने, खुलस्त भएर परमेश्वरसित प्रार्थना गर्नसक्छौं, बलै गुमाउनेगरि डराउनुपर्ने वा उहाँलाई प्रार्थना गर्न हिचकिचाउनुपर्ने आवश्यकता छैन। यहोवाप्रतिको प्रेमले गर्दा हामी खुलस्त भई उहाँलाई पुकार्छौं वा प्रार्थना गर्छौं। यस सम्बन्धमा “प्रेममा डर हुँदैन।”
त्यसोभए आउनुहोस्, दुइ किसिमको भयलाई एकै ठाउँमा गाँसौं। एक जना मसीहीसित सधैं यहोवाप्रति श्रद्धेय भय हुनुपर्छ। यो भय उहाँको स्थान, शक्ति र न्यायप्रतिको गहिरो आदरले गर्दा उत्पन्न भएको हुनुपर्छ। तर हामी परमेश्वरलाई आफ्नो पिता सम्झी प्रेम पनि गर्छौं र उहाँसित घनिष्ठ महसुस गर्छौं अनि खुलस्त भई उहाँलाई प्रार्थना गर्छौं। एक जना बालक आफ्नो मायालु आमाबाबुको सामु पर्न नडराएजस्तै हामी पनि उहाँसित भयभीत हुने होइन तर उहाँलाई प्रार्थना गर्नसक्छौं भनेर निर्धक्क हुनसक्छौं।—याकूब ४:८.