गोलमाल संसार माझ तिनीहरूले शान्ति पाए
यस पत्रिकाको आवरण पृष्ठमा बोस्निया र हर्जगोभिनामा भइरहेको भीषण युद्धको दृश्य छ। के त्यस्तो ठाउँमा शान्ति पाइएला? पाइन्छ भनेर सुन्दा तपाईंलाई छक्क लाग्ला। यो विरहलाग्दो मुलुकका रोमन क्याथोलिक, इस्टर्न अर्थोडक्स र मुसलमान समुदायहरू स्वायत्त भूमिका लागि लडिरहेका छन्। थुप्रै मानिसहरू शान्ति चाहन्छन् र केहीले पाएका पनि छन्।
सराइभो निवासी डोरेम परिवार यहोवाका साक्षीहरू थिए। आफ्नो शहरमा अशान्ति छाएको भए तापनि तिनीहरू नियमित रूपले आफ्ना छिमेकीहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउने गर्थे। (मत्ती २४:१४) किन? किनभने शान्तिको लागि मानिसले आशा गर्नसक्ने एक मात्र वास्तविक अनि उत्तम राज्य, स्वर्गमा स्थापित भइसकेको परमेश्वरको राज्य हो भनेर तिनीहरूलाई थाह थियो। प्रेरित पावलले “मिलापको (शान्ति, न्युव) सुसमाचार” भनी सम्बोधन गरेको समाचारमाथि यहोवाका साक्षीहरू पूर्ण भरोसा गर्छन्। (एफिसी २:१७) बोजो र हेना डोरेमजस्ता थुप्रै मानिसहरूले गर्दा आज बोस्निया र हर्जगोभिनामा धेरैले शान्ति पाइरहेका छन्।
साँचो शान्ति आउँदैछ
डोरेम परिवारबारे अझ धेरै कुरा भन्नु बाँकी नै छ। तर, त्यसअघि परमेश्वरको राज्यमाथि भरोसा गर्न सिक्ने अर्को दम्पतीबारे कुरा गरौं। तिनीहरू हुन्, आर्टर र एरिना। आफ्ना दुइ साना छोराहरूसित यिनीहरू पहिलेको सोभियत गणराज्यमा बस्थे। गृहयुद्ध सुरु हुँदा आर्टर पनि रणभूमिमा उत्रिए। यद्यपि, केही समय नबित्दै तिनले आफूसित प्रश्न गर्नथाले, ‘म आफ्नै छिमेकीहरूसित किन लड्दैछु?’ तिनले आफ्नो देश छाडे र निकै कठिनाइहरू जेल्दै सपरिवार इस्टोनिया पुगे।
एक पटक सेन्ट पिटर्सबर्ग जाँदा आर्टरले यहोवाका साक्षीहरूलाई भेटे र परमेश्वरको राज्यबारे सुनेर प्रभावित भए। चाँडै सारा मानवजातिमाथि परमेश्वरको राज्यको मात्र शासन स्थापना गर्ने यहोवाको इच्छा छ। (दानियल २:४४) त्यसपछि यो पृथ्वी शान्तिमय स्थल हुनेछ, गृहयुद्ध वा अन्तरराष्ट्रिय विवादहरू हुनेछैनन्। यो समयबारे यशैयाले यसरी भविष्यवाणी गरे: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.
साक्षीले देखाएको बाइबल अध्ययन सहायक पुस्तकमा भावी शान्तिमय पृथ्वीको चित्र देखेर आर्टरले आफू पनि कुनै समय त्यस्तै ठाउँमा बस्ने गरेको बताए। यद्यपि, गृहयुद्धले गर्दा त्यो ठाउँ तहसनहस भएको छ। अहिले इस्टोनियामा आर्टर र तिनको परिवारले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर परमेश्वरको राज्यबारे अझ धेरै कुरा सिक्दैछन्।
गोलमालबीच शान्ति
भजन ३७:३७ यसो भन्छ: “सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्मालाई हेर, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ।” वास्तवमा, परमेश्वरको दृष्टिमा निष्कलंक र धर्मी ठहरिने मानिसहरूले भविष्यमा मात्र शान्ति पाउने होइनन्। तिनीहरूले अहिल्यै शान्ति अनुभव गर्न सक्छन्। कसरी? त्यसका लागि पल नाउँ गरेको मानिसको अनुभवलाई विचार गर्नुहोस्।
पल दक्षिणपश्चिम इथोपियाको सुदूर शरणार्थी शिविरमा बस्छन्। वास्तवमा तिनी छिमेकी मुलुकका निवासी हुन्। शरणार्थी हुनअघि तिनले स्वदेशमा यहोवाका साक्षीलाई भेटेका थिए। तेल कम्पनीमा काम गर्ने यो साक्षीले पललाई द ट्रुथ ड्याट लिड्स टु इटरनल लाइफa (अनन्त जीवनतर्फ डोऱ्याउने सत्य) नामक बाइबल अध्ययन सहायक पुस्तक दिएका रहेछन्। त्यसपछि पलले तिनलाई फेरि कहिल्यै भेटेनन्। तैपनि पलले त्यो पुस्तक राम्ररी पढ्न थालेछन्। गृहयुद्ध सुरु भएपछि तिनी इथोपियाको शरणार्थी शिविरमा भागे र आफूले सिकेका कुराहरू त्यहाँका मानिसहरूलाई सुनाउन थाले। केही मानिसहरूले तिनको कुरा सत्य हो भनी स्वीकारे। अनि यिनीहरूले पनि आफूले सिकेका कुराहरू चाँडै शिविरका अरूलाई प्रचार गर्न थाले।
त्यसबीच पलले वाच टावर सोसाइटीको मुख्यालयसित मदत मागे। अदिस अबाबाबाट एक जना मसीही सेवक मदतका लागि पठाइए। त्यहाँ ३५ जना मानिसहरू परमेश्वरको राज्यबारे अझ धेरै कुरा सिक्न तयार भई पर्खेको देख्दा यो सेवक छक्कै परे। त्यसपछि तिनीहरूलाई नियमित तवरमा मदत दिने प्रबन्ध मिलाइयो।
पलजस्ता मानिसहरूले शान्ति पाएका छन् भनेर कसरी भन्न सकिन्छ? हो, तिनीहरूको जीवन सजिलो छैन तर तिनीहरू परमेश्वरमाथि भरोसा गर्छन्। यो संसारको गोलमालले असर गर्दा तिनीहरू बाइबलको निम्न सल्लाह पालन गर्छन्: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” फलस्वरूप, संसारमा विरलै पाइने सन्तुष्टि तिनीहरूले पाएका छन्। प्रेरित पावलले फिलिप्पीको मण्डलीलाई दिएको सल्लाह तिनीहरूमा पनि लागू हुन्छ: “परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” निस्सन्देह, तिनीहरू “शान्तिका परमेश्वर” यहोवासित घनिष्ठ महसुस गर्छन्।—फिलिप्पी ४:६, ७, ९.
वर्तमान शान्ति
येशू ख्रीष्ट, परमेश्वरको राज्यको सिंहासनारूढ राजा हुनुहुन्छ र उहाँलाई बाइबलमा “शान्तिको राजकुमार” भनेर सम्बोधन गरिएको छ। (यशैया ९:६) उहाँबारे एक पुरातन अगमवक्ताले यसो भने: “उहाँले अन्यजातिहरूसित शान्तिको कुरा गर्नुहुनेछ। उहाँको राज्य समुद्रसम्म र महानदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ।” (जकरिया ९:१०) यस्ता प्रेरित शब्दहरूले होसे नाउँ गरेको मानिसमाथि गहिरो प्रभाव पाऱ्यो।
कुनै समय होसे जेलमा थिए। तिनी आतंकवादी थिए र प्रहरी छाउनी पड्काउन लाग्दा पक्राउमा परेका थिए। तिनको विचारमा दंगाफसाद नगरेसम्म सरकारलाई देश सुधार्न बाध्य गराउन सकिंदैन थियो। होसे जेल छँदा यहोवाका साक्षीहरूले तिनकी पत्नीसित बाइबल अध्ययन गर्न थालेछन्।
पछि जेलबाट छुटेपछि होसेले पनि बाइबल अध्ययन गरे र छिट्टै भजन ८५:८ का निम्न शब्दहरू तिनीमाथि लागू हुनथाल्यो: “परमप्रभु परमेश्वरले के भन्नुहुनेछ, त्यो म सुन्नेछु। किनकि उहाँले आफ्ना प्रजा र आफ्ना पवित्र जनलाई शान्तिको वचन भन्नुहुन्छ।” तथापि, उपरोक्त पदले अन्तमा यस्तो चेताउनी दिन्छ: “तर तिनीहरू फेरि मूर्ख काम गर्न नलागून्।” यहोवाको शान्ति खोज्ने व्यक्ति आफूखुशी वा परमेश्वरको इच्छा विरुद्ध चल्दैन।
आज होसे र तिनकी पत्नी मसीही सेवकहरू हुन्। पहिले आफैले बनाएको बम पड्काएर होसेले समस्या समाधान गर्न खोजेका थिए। तर अहिले पतिपत्नी दुवै जना ती समस्याहरूको समाधानको रूपमा यहोवाको राज्यप्रति अरूको ध्यानाकर्षण गर्छन्। तिनीहरू बाइबलमा लेखेका कुरा विश्वास गर्न इच्छुक छन्, जहाँ यसो भनिएको छ: “जे असल छ त्यही परमेश्वरले दिनुहुनेछ।” (भजन ८५:१२) निस्सन्देह, होसे आफूले पड्काउन खोजेको प्रहरी छाउनीमा हालै फेरि गए। किन? त्यहाँ बस्ने परिवारहरूलाई परमेश्वरको राज्यबारे कुरा गर्न।
शान्तिप्रिय मानिस
भजन ३७:१०, ११ मा बाइबलले यसो भन्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” कस्तो गौरवमय प्रत्याशा!
यद्यपि, स्मरण रहोस्, यहोवाको शान्ति केवल “नम्रहरू[का]” लागि हो। शान्ति खोज्नेहरूले शान्तिप्रिय हुन सिक्नुपर्छ। न्यु जील्याण्ड निवासी किथको विषयमा त्यस्तै भन्न सकिन्छ। मानिसहरूले किथलाई “ठूलो जीउडाल र प्रभावशाली व्यक्तित्वका धनी तर झोंकी अनि निहुँखोजा मानिस” भन्थे। तिनी गुण्डाहरूको सदस्य थिए र किल्लाजस्तो घरमा बस्थे। कोही आगन्तुक नआओस् भनेर तिनले तीनवटा पाले कुकुरसमेत राखेका थिए। तिनका छ जना छोराछोरीकी आमा, तिनकी पत्नीसित पहिल्यै पारपाचुके भइसकेको थियो।
किथले यहोवाका साक्षीहरूलाई भेट्दा सुसमाचारको गहिरो प्रभाव पऱ्यो। छिट्टै तिनी आफ्ना छोराछोरीसहित साक्षीहरूका सभाहरू धाउन थाले। तिनले कम्मरसम्म पुग्ने लामो कपाल काटे र आफ्ना पुराना साथीहरूलाई परमेश्वरको राज्यबारे बताउन थाले। तिनीहरूमध्ये केहीले बाइबल अध्ययन पनि गर्न थाले।
सारा संसारका लाखौं सोझा मानिसहरूले जस्तै किथले पनि प्रेरित पत्रुसका निम्न शब्दहरू लागू गर्न थालेका थिए: “जसले जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्न इच्छा गर्दछ, . . . खराबीबाट फर्केर त्यो असल पछि लागोस्। [त्यसले शान्ति खोजेर त्यसको पछि लागोस्, न्युव]” (१ पत्रुस ३:१०, ११) किथको पूर्व पत्नी तिनीसित पुनः विवाह गर्न राजी भइन्। अहिले किथ “शान्ति खोजेर त्यसको पछि” लाग्न सिकिरहेका छन्।
यहोवाको शान्तिले धेरैको जीवन बचाएको छ। जसमा पहिलेको सोभियत संघमा जन्मिएका एक जना भूतपूर्व खेलाडी पनि समावेश छन्। यो मानिसले ओलम्पिक प्रतियोगितामा समेत पदकहरू जितेका थिए। तर पछि निराश भएर लागू पदार्थ तथा मदिरा सेवन गर्न थाले। तिनले साइबेरिया श्रम शिविरमा तीन वर्ष जेल सजाय काटे, जहाजमा लुकेर क्यानाडा पुगे र दुइ पटक त लागू पदार्थ सेवनले गर्दा झन्डै मरेका थिए। यसरी १९ वर्ष बिताएपछि एक दिन जीवनको साँचो उद्देश्य पत्ता लगाउने मदतका लागि तिनले परमेश्वरसित प्रार्थना गरे। समयमा रुसी भाषा बोल्ने साक्षीहरूसित तिनले बाइबल अध्ययन गरे र आफ्ना प्रश्नहरूको जवाफ पाए। अन्य लाखौं मानिसहरूले जस्तै अहिले यो मानिसले परमेश्वर र आफ्नै मनको शान्ति पाएको छ।
पुनरुत्थानको आशा
अन्तमा, फेरि एकपल्ट सराइभोका बोजो र हेना डोरेमको कुरा गरौं। यो दम्पतीको माग्दालेना नाउँ गरेकी पाँच वर्षीया छोरी थियो। गत जुलाई महिना प्रचारमा जाँदा तीनै जना गोलाबारीमा परेर मरे। त्यसोभए, तिनीहरूले अरूलाई प्रचार गरेको शान्ति खै कहाँ गयो? के तिनीहरूको मृत्युले तिनीहरूको शान्ति असली थिएन भनेर देखायो?
कदापि देखाएन! यो रीतिरिवाजमा दुःखदायी घटनाहरू भइरहन्छन्। हो, कोही बम, गोलाबारीमा परेर मर्छन्। कोही रोग र दुर्घटनामा परेर मर्छन्। कोही बुढेसकालले गर्दा मर्छन्। परमेश्वरको शान्ति पाउने मानिसहरू यस्ता घटनाहरूबाट वञ्चित हुँदैनन्। तर त्यस्ता घटनाहरूको सम्भाव्यताले तिनीहरूलाई आशाविहीन तुल्याउँदैन।
येशूले आफ्नो मित्र मार्थालाई यस्तो प्रतिज्ञा गर्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ।” (यूहन्ना ११:२५) यहोवाका सबै साक्षीहरूजस्तै डोरेम परिवारले पनि यसलाई विश्वास गर्थे। आफू मरे पनि डोरेम परिवारसित साँचो शान्तिमय पृथ्वीमा पुनरुत्थानको आशा थियो। हो, यहोवा परमेश्वरले “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.
आफ्नो मृत्यु हुनअघि येशूले अनुयायीहरूलाई यस्तो भन्नुभएको थियो: “म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। . . . तिमीहरूको हृदय विचलित नहोस्।” (यूहन्ना १४:२७) डोरेम परिवार सँगसँगै हामी पनि रमाउँछौं। किनभने तिनीहरूसित शान्ति थियो र पुनरुत्थानपछि अझ धेरै शान्ति पाउनेछन्। थुप्रै मानिसहरूले शान्तिको परमेश्वर, यहोवाको उपासना गरेकोमा हामी खुशी छौं। तिनीहरूले मनोशान्ति पाएका छन्। तिनीहरूले परमेश्वरको शान्तिको आनन्द उठाउँछन्। अरूसित शान्ति कायम राख्छन्। अनि शान्तिमय भविष्यप्रति तिनीहरू ढुक्क छन्। हो, यो गोलमाल संसारमा बाँच्नु परे तापनि तिनीहरूले शान्ति पाएका छन्। निस्सन्देह, आत्मा र सत्यताले परमेश्वरको उपासना गर्ने सबैले शान्तिको आनन्द उठाउँछन्। तपाईंले पनि त्यस्तो शान्ति पाओस्।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ ७-मा भएको चित्र]
गोलमाल संसारमा बाँच्नु परे तापनि तिनीहरूले शान्ति पाएका छन्