स्कूलमा तयार हुनुहोस्
१ हामीहरूमध्ये धेरैजसो आफ्नो दैनिक कामकुरामा व्यस्त हुँदा, हाम्रा जवानहरूले स्कूलमा भिन्दै प्रकारको परिस्थितिको सामना गरिरहेका हुन्छन्। हुनत स्कूलमा रमाइला क्रियाकलापहरू नहुने होइनन् तर त्यसका साथै आशङ्का खडा गर्ने केही कुराहरू पनि हुन्छन्। वर्षेनी नौजवानहरूले भिन्दा भिन्दै शिक्षकहरूसित शिक्षा हासिल गर्नुपर्ने, नयाँ विषय पढ्नु पर्ने र अपरिचित विद्यार्थीहरूसित घनिष्ठ सम्बन्ध राख्नु पर्ने बाध्यताको सामना गर्नुपर्ने हुनसक्छ। हाम्रा जवानहरू स्कूलका अधिकारीहरूलाई सहयोग गर्न र तिनीहरूका सङ्गी विद्यार्थीहरूसित मिलनसार हुन चाहन्छन्। तर आध्यात्मिक तवरमा हानि गर्ने कुनै पनि तत्त्वदेखि सावधान रहनु पर्ने कुरालाई भने तिनीहरूले कहिल्यै बिर्सनु हुँदैन।—१ कोरि. १५:३३.
२ साक्षी केटाकेटी र जवानहरू होशियार हुनुपर्ने प्रमुख कुरा आज धेरैजसो मुलुकहरूको शैक्षिक प्रणालीमा व्याप्त संसारको संक्रामक प्रभाव हो। नैतिक विषयको सन्दर्भमा प्रवर्धन गरिएका सांसारिक स्तरहरू र विचारधाराहरूलाई इन्कार गर्न जवान तथा वृद्ध मसीहीहरू साहसी हुनैपर्छ। तिनीहरूले यहोवाको वचनको सहयोग लिएर अनि त्यसअनुरूप डोऱ्याइ लिएर ‘सजग’ रहनुपर्छ। (भजन. ११९:९) आफ्ना बच्चाहरूलाई उपयुक्त निर्देशनहरू दिन सजग आमाबाबुहरूले स्कूलको पाठ्यक्रममा समाविष्ट विषयहरूको पनि जानकारी लिनुपर्छ। यहोवाका सेवकहरूबाट माग गरिने पवित्रता र शुद्धता विपरीत शिक्षा स्कूलमा वा अन्य कतै सिकाइन्छ भने त्यसबाट अलग्गिनु पर्छ।—१ पत्रु. १:१५, १६.
३ राष्ट्रिय उत्सवहरू, चाडपर्वहरू, खेलकुद वा सामाजिक जमघटहरू जस्ता विषयहरूको सामना गर्नु सामान्य कुरा हो। यी कुराहरूको सन्दर्भमा स्कूल एण्ड जेहोभाज् विट्नेसेज नामक पुस्तिका मसीही युवाहरूको लागि मदतकारी छ। यस पुस्तिकाको एक प्रतिसहित आमाबाबुले शिक्षकहरूसित भेट गर्ने कदम उठाएमा अप्ठ्यारा परिस्थितिहरूलाई परास्त गर्न वा कम गर्न सकिन्छ। यहोवाका साक्षीहरूले कुनै कुनै क्रियाकलापहरूमा किन भाग लिंदैनन् भनी बुझ्न यस पुस्तिकाले शिक्षकहरूलाई मदत दिनेछ भनी तिनीहरूले बताउन सक्छन्। यस्तो जानकारी शिक्षकहरूलाई दिन सकेमा सहयोगात्मक भावना जागृत गराउन सकिन्छ।
४ यस बाहेक, विद्यालयका पाठ्यपुस्तकहरूका साथै स्कूल पुस्तिकाको व्यक्तिगत प्रति सधैं बोक्ने गर्नु बेस हुनेछ। हाम्रो विश्वासमा ध्यानकेन्द्रित हुँदा जिज्ञासा प्रकट गर्ने अरू विद्यार्थीहरूलाई साक्षी दिने मौकाहरू अक्सर प्राप्त हुन्छ। यस बाहेक साक्षी केटाकेटीहरूले सधैं राम्ररी जमानी बसेको र हस्ताक्षर गरेको नविनतम एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड अथवा आइडेन्टिटि कार्ड बोकेर हिंड्ने गर्नुपर्छ। यो सल्लाहलाई प्रयोग गर्नेहरू पक्कै पनि ‘दुःख आएको देखेर जोगिने चतुर मानिसझैं हुनेछन्।’—हितो. २२:३.