सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकप्रति चासो बढाउनुहोस्
१ मानिसहरूको घर-घरमा जाँदा प्रायः तिनीहरू यस “जगत्का चिन्ता” मा चुर्लुम्म डुबेका भेट्छौं। (मर्कू. ४:१९) विचारोद्दीपक प्रस्तुतिद्वारा तिनीहरूको चासो जगाउने चुनौती हाम्रो सामू खडा भएको छ। प्रारम्भमा अधिकांश मानिसहरूले हाम्रो समाचारमा थोरै चासो देखाउन सक्छन्। तिनीहरूको जीवनलाई छुने त्यस्तो केही भन्न सक्यौं भने शायद राज्य समाचारमा हामीले अलि बढी चासो जगाउन सक्छौं होला। वार्तालाप सुरु गर्ने एउटा कुञ्जी सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट रोचक विषय छान्नु हो। त्यसोभए तपाईं के भन्न सक्नुहुन्छ?
२ तपाईंले यसरी कुरा गरे कसो होला:
▪“तपाईंसँग शक्ति भएको भए अहिले हाम्रो समयमा देखिएको कुन चाहिं चिन्ताजनक समस्यालाई सुधार्नु हुन्थ्यो? [जवाफ दिने मौका दिनुहोस्, उपयुक्त देखिएमा धेरैले त्यस्तै महसुस गर्छन् भनी सहमति जनाउनुहोस्।] हाल देखापरेका थुप्रै जटिल समस्याहरूको समाधान भेट्टाउन खै, संसारका नेताहरूले अहिलेसम्म कुनै सफलता पाएजस्तो देखिंदैन। तर मानवजातिलाई पिरोल्ने सबै समस्याहरूको अन्त गर्नसक्ने र गर्नुहुने व्यक्ति हुनुहुन्छ। हेर्नुहोस् त, यहाँ भजनसंग्रह १४५:१६ मा के भनिएको छ। [शास्त्रपद पढ्नुहोस् र पृष्ठ ११-१३ का चित्रहरू देखाउनुहोस्।] यहाँ पृष्ठ १४ को अनुच्छेद १४ मा हामीले भर्खरै छलफल गरेको प्रश्न सोधिएको छ र साथै यो प्रश्न पनि गर्छ: ‘तर यी सबै कहिले हुनेछन् त?’” सोही पुस्तकले उक्त प्रश्नको जवाफ दिन्छ भनी बताउनुहोस् र चन्दास्वरुप रु. २० मा पुस्तक पेश गर्नुहोस्।
३ अथवा तपाईंले यसो भने पनि हुन्छ:
▪“आफ्नो प्रिय जनको मृत्यु हुँदा महसुस हुने शून्यपनको अनुभव तपाईंलाई पनि थाहै होला। शायद त्यसले तपाईंलाई दुःखी र असाध्यै असहाय महसुस पनि गरायो होला। मनमा यस्ता प्रश्नहरू पनि खेलाउनुभयो होला: [पृष्ठ ७६, अनुच्छेद १ मा दिइएका प्रश्नहरू पढ्नुहोस्।] यी प्रश्नहरूको जवाफ पाउँदा के मनै हलुङ्गो हुँदैन र? मरिसकेका व्यक्तिहरूका लागि बाइबलले बलियो आशा दिन्छ भनी थाहा पाउनु शायद तपाईंको लागि प्रोत्साहनजनक हुनसक्छ। [यूहन्ना ५:२८, २९ पढ्नुहोस्।] मृतकहरू के कस्तो अवस्थामा छन् र भविष्यमा तिनीहरूका लागि के आशा छ भनी बुझ्न यस पुस्तकले हामीलाई मदत गर्छ।” सङ्क्षेपमा अध्याय ८ र २० मा भएका कुराहरू उल्लेख गर्नुहोस्। घरधनीलाई पुस्तक हेर्ने मौका दिनुहोस् र पुस्तक लिने प्रस्ताव राख्नुहोस्।
४ तपाईंले अनौपचारिक साक्षी दिने मौका पाउन सक्ने निकै सम्भावना हुनसक्छ। यदि त्यसो हो भने, आफ्नै शब्दमा तल दिएजस्तै केही भने हुन्छ:
▪“आज संसारमा चारैतिर निकै समस्याहरू देखिन्छन् र अवश्य तपाईंको पनि आफ्नै समस्याहरू होलान्। दुःखको कुरा, प्रायजसो सोझाहरू नै समस्याको पेलाइमा पर्छन् जस्तो छ। के परमेश्वरले यी सबै दुःख-कष्टको कहिल्यै अन्त गर्नुहोला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरको सेवा गर्नेहरूलाई उहाँ आफैले के गर्ने प्रतिज्ञा गर्नुभएको छ भनी म तपाईंलाई देखाउन चाहन्छु। [भजनसंग्रह ३७:४० पढ्नुहोस् र पढेपछि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ ९९ खोल्नुहोस्।] परमेश्वरले किन दुष्टता रहने अनुमति दिनुभएको र कसरी त्यसको अन्त गर्नुहुनेछ भनी यस पुस्तकले बताउँछ।”
५ तपाईं सानै उमेरको प्रकाशक हुनुहुन्छ भने पृष्ठ १५६-८ मा दिइएका चित्रहरूमा आधारित प्रस्तुति चलाउन सक्नुहुन्छ। तपाईंले यसरी कुरा थाले कसो होला:
▪“के तपाईं यस्तो संसारमा बाँच्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] तपाईंले देख्नुभएका यी सबै चित्रहरू परमेश्वरको वचन, बाइबलमा दिइएको प्रतिज्ञामा आधारित छन्। [चित्रसँगै उल्लिखित शास्त्रपद औंल्याउनुहोस्।] सारा पृथ्वीलाई प्रमोदवन बनाउनेछु भनी परमेश्वरले गर्नुभएको प्रतिज्ञाबारे अझ धेरै कुरा बुझ्न यो पुस्तकले तपाईंलाई मदत गर्नसक्छ। यसमा जीवनरक्षक जानकारी भएकोले यसलाई पढ्न समय खर्च गर्नु मनासिब छ।”—यूहन्ना १७:३.
६ पुस्तक पेश गर्दा सकारात्मक र उत्साही हुनुहोस्। पुस्तकप्रति चासो जगाउनुहोस् र हाम्रो अद्भुत राज्य आशा बाँड्नुहोस्।