अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्
१ हामीले जे जान्नु आवश्यक छ, त्यो यहोवाले सिकाउने प्रतिज्ञा गर्नुहुन्छ। उहाँले हामीलाई भजन ३२:८ मा यसरी आश्वस्त पार्नुभएको छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” यो आश्वासन हाम्रोलागि असाध्यै लाभदायक छ। बाइबलको ज्ञानवर्द्धक सल्लाहलाई ध्यान दिएर कसरी अरूले लाभ उठाउनसक्छन्, त्यो हामी तिनीहरूलाई निःस्वार्थ भावले देखाउन चाहन्छौं। (यशै. ४८:१७) सेप्टेम्बरको दौडान भेटेका सबैलाई सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गरेर हामी यसो गर्नसक्छौं। हाम्रा प्रस्तुतिहरूमा बाइबल ज्ञानको पृष्ठभूमि नभएका र बाइबलका शिक्षाहरूलाई विश्वासै नगर्ने व्यक्तिहरूलाई समेत बाइबलको व्यवहारिक मूल्य देखाउनसक्ने विभिन्न तरिकाहरू छन्।
२ आज वैवाहिक समस्याहरूको बिगबिगी भएकोले, “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तकको यस विचारलाई तपाईंले छान्न सक्नुहुन्छ:
▪“मैले वार्तालाप गरेको धेरैजसो मानिसहरू विकट रूपले बढ्दै गरेको वैवाहिक दुःख र पारपाचुकेबारे एकदमै चिन्तित छन्। यस समस्याबारे तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] धेरै जना यसका आधारभूत कारणहरूलाई नियाल्न असफल भएका छन्। वैवाहिक जोडीहरूले निष्कपट प्रयास गरे तिनीहरूको विवाह सुरक्षित हुनुको साथसाथै वास्तविक खुशी पनि तिनीहरूले प्राप्त गर्नसक्छन्। बाइबलमा दिइएको सल्लाहलाई प्रयोग गरेर धेरैले यस सफलताको कुञ्जीलाई भेट्टाएका छन्।” एफिसी ५:२८, २९, ३३ पढ्नुहोस्। पृष्ठ २४३ पल्टाएर १६ र १७ अनुच्छेदहरू छलफल गर्नुहोस्, त्यसपछि पुस्तक प्रस्तुत गर्नुहोस्।
३ छोराछोरीहरूलाई मातापिताबाट उत्कृष्ट समय र प्रशिक्षणको जरुरत पर्छ। यसबारे “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तकबाट तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“हामी सबै हाम्रा जवान छोराछोरीहरूको असल भविष्यबारे चासो राख्छौं। तपाईंको विचारमा छोराछोरीहरूको सुरक्षित भविष्यको लागि आमाबाबुहरूले मदत दिनसक्ने कुन चाहिं मार्ग सर्वोत्तम होला? [जवाफ दिने मौका दिनुहोस्।] लगभग ३,००० वर्षअघि लेखिएको बाइबल उपदेशको यस सल्लाहलाई ध्यान दिनुहोस्: [हितोपदेश २२:६ पढ्नुहोस्।] हुन त हाम्रा छोराछोरीहरूले स्कूलमा दिइने शिक्षाबाट धेरै लाभ उठाउन सक्ने भए तापनि सबैभन्दा अमूल्य प्रशिक्षण चाहिं घरमै आमाबाबुले दिनसक्छन्। यसो गर्न समय, ध्यान र प्रेमको दरकार पर्छ। तर त्यो खेर जाँदैन।” पृष्ठ २४५ पल्टाएर अनुच्छेद २० र २१ छलफल गर्नुहोस्, त्यसपछि यो पुस्तक पारिवारिक वार्तालापहरूको आधारशिलाको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर बयान गर्नुहोस्।
४ पृथ्वी कसरी प्रमोदवनमा परिणत हुनेछ भनी देखाएर “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक तपाईंले प्रस्तुत गर्न सक्नुहुन्छ:
▪“भावी जीवनबारे जान्न तपाईं पक्कै पनि उत्सुक हुनुहुन्छ। धेरै धार्मिक लेखोटहरूले भविष्यबारे बताउँछ। उदाहरणको लागि, बाइबलमा येशूले स्वर्गमा झैं पृथ्वीमा पनि परमेश्वरको इच्छा पूरा होस् भनी प्रार्थना गर्न सिकाउनुभयो। परमेश्वरको इच्छा पूरा हुँदा यो संसार कस्तो हुनेछ? [जवाफ दिने मौका दिनुहोस्।] यहाँलाई एक जना कलाकारले कोरेको प्रमोदवनरूपी संसार देखाउन चाहन्छु। [पृष्ठ १२ र १३ मा दिइएको चित्र देखाउनुहोस्। त्यसपछि, अनुच्छेद १२ मा उद्धृत यशैया ११:६-९ पढेर सुनाउनुहोस्।] के यस्तो संसारमा बस्न पाउनु आनन्ददायी कुरा होइन र? यसप्रकारको पृथ्वीमा तपाईं र तपाईंको परिवार कसरी बस्नसक्छन् भन्ने कुरा यो पुस्तकले तपाईंलाई बताउँछ।”
५ प्रस्तुतिलाई अग्रिम तयारी गर्नु तपाईंको घर-घरको सेवकाईमा हुने सफलताको मुख्य तत्त्व हो। ढोका ढकढकाउनअघि तपाईंले भन्नुपर्ने विशेष शास्त्रीय विचारबारे निश्चित हुनुहोस्। साथै, यदि घरधनीले पुस्तक स्वीकार नगरे पत्रिका वा पर्चाको चाखलाग्दो विषयमाथि छोटो टिप्पणी गरेर त्यसलाई प्रस्तुत गर्ने योजना बनाउनुहोस्। सेप्टेम्बरको दौडान राज्य सच्चाइका बीउहरूलाई छर्न तपाईंले हर अवसरको फाइदा उठाउनुहोस्। (उप. ११:६) यसो गर्नुभयो भने, चीरकालीन लाभहरू उठाउन तपाईंले अरूलाई मदत गरिरहनु भएको हुनुहुनेछ।