भाइबहिनीहरूलाई राम्ररी चिन्नुहोस्
१ साँचो मित्र दाज्यूभाइभन्दा नजिकको हुन्छ भनेर बाइबल वर्णन गर्छ। यस्तो मित्रले सधैं प्रेम र विश्वास देखाउँछ अनि दुःखमा परेको बेला आफ्नो साथीलाई सहयोग गर्छ। (हितो. १७:१७; १८:२४) एकअर्कालाई राम्ररी चिन्ने अनि प्रेम गर्ने प्रयास गऱ्यौं भने हामी मण्डलीमा त्यस्ता थुप्रै मित्रहरू पाउँछौं।—यूह. १३:३५.
२ सभाहरूअघि र पछि हाम्रा भाइबहिनीहरूसँग परिचित हुने निकै मौकाहरू पाउँछौं। न्यानो र जीवन्त मित्रताको आनन्द उठाउन सभा सुरु हुनुभन्दा अलि अगावै आउने अनि सभापछि केही समय बस्ने गरे कसो होला? अनुभवी बूढाबूढी र केटाकेटी वा बोल्न संकोच मान्नेहरूलगायत विभिन्न किसिमका भाइबहिनीहरूसँग संगत गरेर तिनीहरूसँग कुराकानी गर्नुहोस्।
३ कुराकानी थाल्नुहोस्: भाइबहिनीहरूलाई नमस्ते अथवा सञ्चै हुनुहुन्छ मात्र भन्ने नगर्नुहोस्। क्षेत्र सेवकाईमा प्राप्त गर्नुभएको अनुभव, हालैको पत्रिकामा दिइएको चाखलाग्दो विषय वा भर्खरै सिद्धिएको सभाबारे कुरा गर्न सक्नुहुन्छ। भाइबहिनीहरूको कुरा ध्यान दिएर सुन्नुभएर, उनीहरूले प्राप्त गरेका अनुभव तथा सिकिरहेका कुराहरू बताउन लगाउनुभएर उनीहरूबारे धेरै थाह पाउन सक्नुहुन्छ। यहोवाबारे कसरी थाह पाउनुभयो भनेर सोध्नाले मात्र पनि धेरै कुरा थाह पाउन सकिन्छ। कसै कसैले आफ्नो जीवनमा विश्वासलाई दरिलो पार्ने अनुभवहरू भोगेका छन् भने अरू थुप्रैले चाहिं कल्पनासमेत गर्न नसक्ने परिस्थितिहरू अहिले भोगिरहेका छन्। यी यथार्थ बुझ्नसक्यौं भने साँचो मित्रको हैसियतमा अरूको आवश्यकता बुझ्न र त्यसप्रति कदम चाल्नसक्छौं।
४ मित्र बनाउनुहोस्: आफ्नी छोरीको मृत्युपछि एउटी बहिनीलाई पुनरुत्थानसित सम्बन्धित राज्य गीत गाउन साह्रै गाह्रो पर्थ्यो। तिनी यसो भन्छिन्, “एकचोटि पल्लो छेउमा बसिरहेकी बहिनीले मलाई रोएको देखिन्। तिनी मेरो नजिकै आइन् अनि मलाई अंगालो हालेर बाँकी गीत मसित गाइन्। मेरो हृदयमा भाइबहिनीहरूप्रति अगाध माया जाग्यो अनि सभाहरूको प्रबन्ध भएकोमा साह्रै खुसी भएँ। भाइबहिनीहरू भेला हुने ठाउँ अर्थात् राज्य भवनमा हामीले साँच्चै मदत पाउँदा रहेछौं।” चाहिएको बेलामा सान्त्वना दिएर अनि सधैं नै प्रोत्साहन दिएर हामी हाम्रा भाइबहिनीहरूसँग मित्रैलो हुनुपर्छ।—हिब्रू १०:२४, २५.
५ आउनुहोस्, यो थोत्रो संसार जति दमनकारी हुँदै जान्छ उति हामी हाम्रा भाइबहिनीहरूलाई राम्ररी चिन्ने संकल्प गरौं। यसरी आपसमा आदनप्रदान गरिएको साँचो प्रोत्साहन सबैको निम्ति आशिष् साबित हुनेछ।—रोमी १:११, १२.