पत्रिका प्रस्तुत गर्ने आफ्नै तरिका तयार गर्नुहोस्
१ सामयिक तथा जानकारीमूलक लेखहरूको लागि हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाको मूल्यांकन गर्छौं। यसमा विश्वघटनाहरूदेखि लिएर “परमेश्वरका गहिरा गहिरा कुराहरू” समावेश गरिएका हुन्छन्। (१ कोरि. २:१०) यहोवाले क्रमिक रूपमा सत्यबारे प्रकाश पार्दै ल्याउनुभएका थुप्रै नयाँ तथा उत्थानदायी कुराहरू यी पत्रिकाहरूमा पढेको हामीले बिर्सेका छैनौं। (हितो. ४:१८) यथासम्भव हरेक अवसरमा यी पत्रिकाहरूको प्रति दिन वा ग्राहक बन्न प्रस्ताव राखेर व्यापक तवरमा वितरण गर्न हामी उत्सुक हुन चाहन्छौं।
२ आफ्नो प्रचार इलाकाको विश्लेषण गर्नुहोस्: तपाईंको प्रचार इलाकामा कस्ता प्रकारका मानिसहरू बस्छन्? तिनीहरू व्यस्त जीवन बिताउँछन् भने तपाईंले आफ्नो प्रस्तुतिलाई छोटो-मीठो बनाउनुपर्छ। तपाईंको प्रचार इलाकाका मानिसहरूको जीवन त्यति व्यस्त छैन भने तपाईंले अलि धेरै कुराहरू बताउन सक्नुहुन्छ। धेरैजसो घरधनीहरू दिनमा काम गर्छन् भने, अपराह्ण वा गोधूलिमा ती घरहरूमा जाँदा बढी सफलता पाउन सक्नुहुन्छ। तपाईंले कोही कोहीलाई सडक वा पसल पसलको साक्षीकार्यद्वारा भेट्न सक्नुहुन्छ। कुनै कुनै प्रकाशकहरूले बसबिसौनी वा रेल स्टेशन र पार्कहरूमा मानिसहरूलाई अनौपचारिक रूपमा भेटेर राम्रा नतिजाहरू पाएका छन्।
३ पत्रिकाहरूसित परिचित हुनुहोस्: प्रत्येक अंक पाउने बित्तिकै पढ्नुहोस्। तपाईंको प्रचार इलाकाका मानिसहरूको ध्यानाकर्षण गर्ने खालका लेखहरू छान्नुहोस्। तिनीहरू कस्ता विषयहरूप्रति चासो लिन्छन्? तपाईंले प्रस्तुत गर्ने भनी विचार गर्नुभएको लेखबाट उद्धरण गर्न सकिने कुनै एक बुँदा खोज्नुहोस्। चासो जगाउने कुनै एक प्रश्नबारे सोच्नुहोस्। अवसर पाएमा घरधनीलाई पढेर सुनाउन सामयिक हुने शास्त्रपद छान्नुहोस्। घरधनीलाई ग्राहक बन्न प्रेरित गर्नुका साथै पुनःभेटको लागि आधार तयार पार्न तपाईं के भन्न सक्नुहुन्छ, त्यसबारे सोच्नुहोस्।
४ परिचय तयार पार्नुहोस्: आफ्नो परिचय दिन र वार्तालाप सुरु गर्न चलाउने विचार गर्नुभएका शब्दहरू होशियारीपूर्वक छान्नुहोस्। यस्तो टिप्पणीसाथ कुरा सुरु गर्दा कसै कसैले सफलता पाएका छन्: “मैले यस पत्रिकामा एक रोचक लेख पढेको छु। म यो अरूसित बाँड्न चाहन्छु।” आफूले कुरा गर्न भनी सोचेको बुँदालाई केन्द्रित गर्ने प्रश्न गर्दै धेरैले वार्तालाप सुरु गर्छन्। उदाहरणका लागि:
५ व्याप्त हिंसाबारे प्रकाश पारेको लेख देखाउँदै हुनुहुन्छ भने तपाईं यस्तो प्रश्न गर्न सक्नुहुन्छ:
▪ “लुटिने वा कुनै हानि भोग्ने डरबिना राती सुत्नसक्न के चाहिन्छ जस्तो लाग्छ?” यस समस्याको समाधानबारे तपाईंसित केही जानकारी भएको बताउनुहोस्। यस समाधानले अरू सबै प्रकारका सामाजिक गोलमालसमेत चाँडै हटाउनेछ। त्यस्तो आशा प्रस्तुत गरिएको पत्रिकाबाट देखाउनुहोस्। तपाईं फर्केर जानुहुँदा ज्ञान पुस्तकको अध्याय १ तर्फ घरधनीको ध्यान खिच्न सक्नुहुन्छ।
६ पारिवारिक जीवनबारे लेख प्रस्तुत गर्नुहुँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “अधिकांश आमाबाबुहरू आजकल छोराछोरी हुर्काउनु असाध्यै चुनौतीपूर्ण भएको महसुस गर्छन्। यससम्बन्धी थुप्रै पुस्तकहरू लेखिएका छन् तर विशेषज्ञहरू आफै एकअर्कोको मतसित सहमत छैनन्। भरपर्दो डोऱ्याइ दिनसक्ने कोही छ?” बाइबलमा पाइने बुद्धिमत्तापूर्ण सल्लाह प्रदर्शन गर्ने कुनै एक खास टिप्पणी पत्रिकाबाट बताउनुहोस्। पुनःभेट गर्नुहुँदा छोराछोरीहरू हुर्काउने विषयमा ज्ञान पुस्तकको पृष्ठ १४५-८ मा दिइएका धर्मशास्त्रीय विचारहरू छलफल गर्नुहोस्।
७ सामाजिक समस्याहरूको लेख देखाउनुहुँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “हामी बाँचिरहेको तनाउपूर्ण समयले गर्दा थुप्रै मानिसहरू दबाबमा परेको महसुस गर्छन्। के हामी यसरी नै बाँचोस् भन्ने परमेश्वरको अभिप्राय थियो र?” आजका समस्याहरू कसरी सामना गर्ने भनेर देखाउने वा फिक्रीमुक्त भविष्यको प्रतीक्षा गर्न कारणहरू दिने लेखलाई औंल्याउनुहोस्। अर्को भेटमा ज्ञान पुस्तकको पृष्ठ ४-५ को चित्र र क्याप्सन देखाउँदै छलफल गर्नुहोस् अनि त्यसपछि सोझै गृह बाइबल अध्ययन थाल्नुहोस्।
८ घरधनीलाई सुहाउँदो प्रस्तुति गर्नुहोस्: तपाईंले विभिन्न रुचि तथा पृष्ठभूमि भएका मानिसहरू भेट्नुहुनेछ। हरेक घरधनीअनुसार काँटछाँट गर्न मिल्ने एउटा मुख्य प्रस्तुति तयार गर्नुहोस्। तपाईंले भन्नुहुने कुरालाई पुरुष, स्त्री, वृद्ध वा जवान अनुकूल कसरी बनाउने, मनमा राख्नुहोस्। तपाईंले भन्नुपर्ने कुराबारे कुनै कठोर नियमहरू छैनन्। राम्रो परिणाम प्राप्त गर्न तपाईंलाई जुन प्रस्तुति सजिलो लाग्छ, त्यही भन्नुहोस्। यद्यपि, उत्साही हुनुहोस्, हृदयदेखि बोल्नुहोस् र राम्ररी सुन्नुहोस्। “नियुक्त भएकाहरू[ले]” तपाईंको निष्कपटता बुझ्नेछन् र राम्ररी सुन्नेछन्।—प्रे. १३:४८.
९ एकअर्कोलाई मदत गर्नुहोस्: आपसमा विचारहरू आदानप्रदान गर्दा हामी नयाँ तरिकाहरू सिक्छौं। सँगै प्रस्तुतिहरूको अभ्यास गर्दा हामीले अनुभव र आत्मविश्वास पाउँछौं। (हितो. २७:१७) आफूले बताउने कुराको पूर्वाभ्यास गरेमा तपाईंलाई ढोकामा त्यो कुरा भन्न सजिलो हुनेछ। आमाबाबुले आफ्नो छोराछोरीलाई तयारी गर्न मदत पुऱ्याउनु, प्रस्तुतिहरू अभ्यास गर्दा सुन्न तथा उन्नति गर्न सल्लाह दिन तिनीहरूलाई समय दिनु अत्यावश्यक छ। नयाँ व्यक्तिहरूले बढी अनुभवी प्रकाशकहरूसित काम गरेर फाइदा उठाउनसक्छन्।
१० पत्रिका प्रस्तुत गर्ने सन्दर्भमा आफ्नै तरिका तयार पार्दा गाह्रो हुनु नपर्ने हो। किनभने यो त खालि एउटा खास प्रस्तुति मनमा तयार गरेर त्यसलाई रोचक ढंगमा व्यक्त गर्नु मात्रै हो। आफू अग्रसर हुँदै पहिल्यै विचार गरेमा तपाईंले सकारात्मक प्रतिक्रिया पाइने राम्रो प्रस्तुति तयार पार्न सक्नुहुनेछ।
११ विश्वभरि परमेश्वरको राज्य सन्देश फैलाउने प्रमुख तरिकाहरूमध्ये पत्रिका वितरण पनि एउटा हो। तपाईंले निष्कपट व्यक्तिहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को प्रति दिनुभयो वा ग्राहक बनाउनुभयो भने ती पत्रिकाहरू आफै बोल्छन्। पत्रिकाहरूको महत्त्व र तिनीहरूको सन्देशले कसरी जीवन बचाउनसक्छ, सधैं सम्झनुहोस्। यस्तै प्रकारको ‘भलाई र सहयोगले’ नै यहोवा एकदमै प्रसन्न हुनुहुनेछ।—हिब्रू १३:१६.