प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग ८: विद्यार्थीलाई संगठनतर्फ डोऱ्याउने
१. हरेक हप्ता बाइबल अध्ययनमा यहोवाको संगठनबारे एउटा कुरा सिकाउनु किन लाभदायी कुरा हो?
१ बाइबल अध्ययन सञ्चालन गर्नुको हाम्रो लक्ष्य धार्मिक सिद्धान्तबारे सिकाउनु मात्र नभई विद्यार्थीलाई मसीही मण्डलीको भाग हुन मदत गर्नु पनि हो। (जक. ८:२३) यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? भन्ने पुस्तिकाले हामीलाई यसो गर्न मदत दिन सक्छ। नयाँ बाइबल विद्यार्थीहरूलाई यसको एक प्रति दिनुहोस् र उनीहरूलाई यो पढ्ने प्रोत्साहन दिनुहोस्। साथै, यहोवाको संगठनबारे एउटा कुरा सिकाउन हरेक हप्ता अध्ययनको दौडान केही मिनेट समय छुट्याउनुहोस्।
२. तपाईं कसरी बाइबल विद्यार्थीहरूलाई मण्डलीका सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिन सक्छौं?
२ मण्डलीका सभाहरू: बाइबल विद्यार्थीहरूले परमेश्वरको संगठनप्रति मूल्याङ्कन देखाउन सक्ने एउटा प्रमुख तरिका हामीसितै मण्डलीका सभाहरूमा सरसंगति गरेर हो। (१ कोरि. १४:२४, २५) त्यसकारण, पाँचवटा साप्ताहिक सभाहरूबारे एउटा-एउटा गर्दै तपाईं उनीहरूलाई बुझाउन सक्नुहुन्छ। आउने हप्ताको जनभाषणको विषय बताउनुहोस्। उनीहरूलाई प्रहरीधरहरा अध्ययन र मण्डली पुस्तक अध्ययनमा छलफल गरिने विषयवस्तु देखाउनुहोस्। ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाबारे बताउनुहोस्। स्कूलमा आफ्नो असाइनमेन्ट भएको बेला तपाईं यसलाई उनीहरूसित पूर्वाभ्यास गर्न सक्नुहुन्छ। सभामा प्रस्तुत गरिएका उल्लेखनीय बुँदाहरू सुनाउनुहोस्। सभाहरूमा के-के हुन्छन् भन्ने कुरा कल्पना गर्न उनीहरूलाई मदत दिन हाम्रा प्रकाशनहरूमा भएका चित्रहरू चलाउनुहोस्। बाइबल अध्ययन सुरु भएदेखि नै सभाहरूमा उपस्थित हुन उनीहरूलाई आमन्त्रित गर्नुहोस्।
३. संगठनको कस्ता पक्षहरूबारे हामी छलफल गर्न सक्छौं?
३ स्मरणार्थ, सम्मेलन र क्षेत्रीय निरीक्षकको भ्रमण नजिकै आउँदा यी प्रबन्धहरूबारे बताउन र त्यसका लागि उत्साह जगाउन केही मिनेट भए पनि समय निकाल्नुहोस्। यस्ता प्रश्नहरूको क्रमिक रूपमा जवाफ दिनुहोस्: हामीलाई किन यहोवाका साक्षीहरू भनिन्छ? आफू भेला हुने ठाउँलाई हामी किन राज्यभवन भन्छौं? प्राचीन तथा सेवकाई सेवकहरूको कर्तव्य के हो? प्रचारकार्य तथा प्रचार गर्ने इलाकाको व्यवस्था कसरी मिलाइन्छ? हाम्रा साहित्यहरू कसरी उत्पादन गरिन्छन्? संगठनको लागि खर्च कसरी जुटाइन्छ? कामको निरीक्षणको गर्ने सन्दर्भमा शाखा कार्यालय अनि परिचालक निकायले कस्ता भूमिकाहरू खेल्छन्?
४, ५. हामीसित भएका भिडिओहरूले कसरी संगठनप्रति मूल्याङ्कन बढाउन सक्छन्?
४ निर्देशनमूलक भिडिओहरू: बाइबल विद्यार्थीहरूले यहोवाको अद्भुत संगठनबारे बुझ्न सक्ने अर्को तरिका हाम्रा भिडिओहरूमार्फत हो। यी भिडिओहरूले उनीहरूलाई पृथ्वीको अन्तसम्म (अङ्ग्रेजी) पुऱ्याउन सक्छन्, भाइहरूको विश्वव्यापी संगति-सित (अङ्ग्रेजी) परिचित गराउन सक्छन् र हामी कसरी ईश्वरीय शिक्षाद्वारा एकताबद्ध (अङ्ग्रेजी) छौं भन्ने कुरा बुझ्न मदत गर्न सक्छन्। पाँच वर्षदेखि हाम्रा पत्रिका तथा अन्य साहित्यहरू पढ्दै आएकी एउटी महिला जेहोभाज् विट्नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम भन्ने भिडिओ हेरेर रोइन्। आफूकहाँ आउने साक्षीहरूमाथि त तिनले पहिल्यैदेखि भरोसा गरेकी थिइन् तर यो भिडिओ हेरेपछि तिनले संगठनमाथि पनि भरोसा गर्न सकिन्छ भन्ने महसुस गरिन्। तिनीसित औपचारिक रूपमा अध्ययन सुरु भयो र त्यसको अर्को हप्ता तिनी राज्यभवनमा हुने सभाहरूमा उपस्थित भइन्।
५ हरेक हप्ता विद्यार्थीसित केही मिनेट समय बिताउनुका साथै उपलब्ध औजारहरू चलाएर हामी क्रमिक रूपमा बाइबल विद्यार्थीहरूलाई आज यहोवाले चलाइरहनुभएको संगठनतर्फ डोऱ्याउन सक्छौं।