बाइबल विद्यार्थीहरूलाई राज्यको सुसमाचारको प्रकाशक बन्न मदत गर्नुहोस्
१ येशूले मत्ती २८:१९, २० मा आफ्ना चेलाहरूलाई सुम्पेको जिम्मेवारी भविष्यसम्म चलिरहने थियो। येशूको निर्देशनअनुसार चेलाहरूले अरूलाई चेला बनाउनुपर्थ्यो र ती नयाँ चेलाहरूले पनि क्रमशः अरू चेला बनाउँदै लैजानुपर्थ्यो। यसप्रकार यी चेलाहरूले जगत्को अन्तको समयमा सारा संसारभरि परमेश्वरको राज्यको सुसमाचारको निर्णायक घोषणा गर्नेथिए। अनि अहिले हामी त्यही महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं।—मत्ती २४:१४.
२ हामीले आफ्ना छोराछोरी अथवा अरू जिज्ञासु व्यक्तिसित बाइबल अध्ययन गरिरहेका हुन सक्छौं। हामी आफ्ना यी विद्यार्थीलाई येशू ख्रीष्टको चेला बनाउने जिम्मेवारी स्वीकार्न मदत गर्न चाहन्छौं।—लूका ६:४०.
३ तिनीहरूलाई साक्षी दिन सिकाउहोस्: बाइबल विद्यार्थीलाई आफूले सिकेको कुरा अरूलाई बताउने प्रोत्साहन दिनुहोस्। तिनीहरूलाई प्रचारकार्यसित सम्बन्धित प्रोत्साहनजनक अनुभवहरू सुनाउनुहोस्। छोराछोरीलाई कलिलै उमेरदेखि तालिम दिएर आफ्नो क्षमताअनुसार क्षेत्र सेवामा भाग लिन सिकाउनुहोस्। (भज. १४८:१२, १३) प्रचारकार्यलाई कत्तिको कदर गर्नुहुन्छ, आफ्नो बोली अनि व्यवहारबाट देखाउनुहोस्।—१ तिमो. १:१२.
४ यहोवा उहाँको धार्मिक स्तर स्वीकार्ने अनि त्यसबमोजिम चल्ने मानिसहरूलाई मात्र आफ्नो सेवामा लगाउनुहुन्छ। हो, अनुभवी, समर्पित अनि बप्तिस्माप्राप्त प्रकाशकसित जत्तिकै ज्ञान नयाँ प्रकाशकहरूसित नहोला तर तिनीहरूले बाइबलका आधारभूत शिक्षा विश्वास गरेको हुनैपर्छ र ती बताउन सक्ने पनि हुनैपर्छ। (अर्गनाइज्ड, पृष्ठ ७९-८२ हेर्नुहोस्।) यसबाहेक तिनीहरूले आफूलाई “महान् बेबिलोन”-बाट पूरै अलग गरिसकेको हुनुपर्छ; राजनीतिमा भाग लिन छाडिसकेको हुनुपर्छ अनि नियमित तवरले सभामा गइरहेको हुनुपर्छ।—प्रका. १८:२, ४; यूह. १७:१६; हिब्रू १०:२४, २५.
५ तपाईंको बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य छन् भनेर पक्का हुनुहुन्छ भने, मण्डलीको अध्यक्षलाई खबर गर्नुहोस्। तपाईंको बाइबल विद्यार्थीलाई भेट्न तिनले दुई जना प्राचीन खटाउनेछन्। मण्डलीको बप्तिस्मा अप्राप्त प्रकाशक बन्न तपाईंको विद्यार्थी योग्य छन् कि छैनन्, ती दुई प्राचीनले निर्णय गर्नेछन्। त्यसपछि तपाईंले आफ्नो विद्यार्थीलाई आफूसँगै क्षेत्र सेवामा लगेर तालिम दिने विशेष सुअवसर पाउनुहुनेछ।