अध्याय ४१
अरूले बुझ्नेगरि बताउनुहोस्
बोल्दाखेरि जानकारी मात्र दिने उद्देश्य नराख्नुहोस्। विषयवस्तु श्रोताले बुझ्नेगरि प्रस्तुत गर्ने प्रयास गर्नुहोस्। यसो गर्दा मण्डलीमा होस् वा अरू मानिससित, तपाईं प्रभावकारी रूपमा कुराकानी गर्न सक्नुहुन्छ।
अरूले बुझ्नेगरि बोल्ने हो भने विभिन्न पक्षलाई ध्यान दिनुपर्छ। त्यसमध्ये केही पक्षबारे अध्याय २६ को “विषयवस्तुलाई तर्कसङ्गत तरिकामा विस्तार गर्नुहोस्” शीर्षकअन्तर्गत छलफल गऱ्यौं। अरूचाहिं अध्याय ३० को “चासो देखाउनुहोस्” शीर्षकअन्तर्गत छलफल गरेका थियौं। यस अध्यायमा चाहिं हामी थप केही बुँदा विचार गर्नेछौं।
सजिलो शब्द र सजिलैसित बुझिने शैली प्रयोग गर्नुहोस्। सजिलो शब्द अनि छोटो वाक्य प्रयोग गर्दा प्रभावकारी रूपमा कुराकानी गर्न सकिन्छ। मानिसले सजिलै बुझ्न सक्ने गरी दिइएको भाषणको बेजोड नमुना येशूले डाँडामा दिएको उपदेश हो। त्यो उपदेश जुनसुकै पृष्ठभूमिका अथवा जुनसुकै ठाउँमा बस्ने मानिसले पनि सजिलै बुझ्न सक्थे। येशूले भनेको कुरा तिनीहरूको निम्ति नौलो थियो। तैपनि तिनीहरूले बुझे। किनभने उहाँले हामी सबैलाई चासोलाग्ने विषयमा बताउनुभयो। जस्तै: कसरी आनन्दित हुने, अरूसितको सम्बन्ध कसरी राम्रो बनाउने, फिक्री कसरी हटाउने, जीवनको अर्थ कसरी खोज्ने आदि। उहाँले एकदमै सजिलो भाषामा आफ्ना विचारहरू व्यक्त गर्नुभयो। (मत्ती अध्या. ५-७) बाइबलमा लामो, छोटो अनि फरक-फरक तरिकाको वाक्य पाइन्छ। तपाईंको मुख्य उद्देश्य विचार स्पष्ट अनि बुझिनेगरि व्यक्त गर्ने हुनुपर्छ।
गाह्रो विषयलाई पनि सजिलैसित बुझिने शैलीमा बताउनुभयो भने त्यो छर्लङ्गै हुन्छ। सजिलैसित बुझिने शैलीमा कसरी प्रस्तुत गर्न सकिन्छ? श्रोतालाई अनावश्यक जानकारी दिएर अलमलमा नपार्नुहोस्। मुख्य बुँदालाई समर्थन गर्नेगरि विषयवस्तु क्रमबद्ध तरिकामा मिलाउनुहोस्। मुख्य पदहरू विचार पुऱ्याएर छान्नुहोस्। एउटा पद पढेर छलफल गरिसकेपछि मात्र अर्को पद पढ्नुहोस्। तीनथुप्रो शब्द प्रयोग गरेर राम्रो विचारलाई नै ओझेलमा नपार्नुहोस्।
बाइबल अध्ययन सञ्चालन गर्दा पनि यी सिद्धान्त लागू गर्नुहोस्। एकैपटक सबै कुरा बेलीबिस्तार नलगाउनुहोस्। विद्यार्थीलाई मुख्य विचारहरू स्पष्टसित बुझ्न मदत गर्नुहोस्। पछि तिनले व्यक्तिगत अध्ययनबाट अनि सभाहरूबाट थप कुरा आफै बुझ्नेछन्।
विषयवस्तुलाई सजिलै बुझिनेगरि प्रस्तुत गर्ने हो भने तपाईंले राम्ररी तयार गर्नुपर्छ। अरूले बुझ्ने तरिकामा बताउन पहिला आफैले राम्ररी बुझेको हुनुपर्छ। कुनै कुरा तपाईं आफैले राम्रोसँग बुझ्नुभएको छ भने अरूलाई त्यसबारे कारण खुलाएर बुझाउन सक्नुहुन्छ। साथै विषयवस्तु आफ्नै शब्दमा बताउन सक्नुहुन्छ।
नौला शब्द व्याख्या गर्नुहोस्। श्रोताले कुनै विषय राम्ररी बुझेको चाहन्छौं भने नौला शब्दको अर्थ खुलाउनुपर्छ। श्रोताले ‘त्यति त बुझिहाल्छन् नि’ अथवा ‘यति पनि बुझ्दैनन्’ भन्ने नठान्नुहोस्। बाइबल पढेको कारण तपाईंले प्रयोग गर्ने शब्द अरूलाई नौलो लाग्न सक्छ। “बाँकी रहेका ती मानिसहरू,” “विश्वासी र बुद्धिमान् दास,” “अरू भेडा” अनि “ठूलो भीड”-जस्ता शब्दले मानिसको कुनै खास समूहलाई बुझाउँछ भनेर यहोवाका साक्षीहरूसित सङ्गत नगर्नेहरूलाई व्याख्या नगरेसम्म थाह हुँदैन। (रोमी ११:५; मत्ती २४:४५; यूह. १०:१६; प्रका. ७:९) त्यसैगरि यहोवाका साक्षीहरूको सङ्गठनबारे राम्रो ज्ञान नभएका व्यक्तिहरूले पनि “प्रकाशक,” “अग्रगामी,” “क्षेत्रीय निरीक्षक” र “स्मरणार्थ” जस्ता शब्दको अर्थ नबुझ्न सक्छन्।
बाइबलमा भएका केही शब्द यहोवाका साक्षीबाहेक अरूले पनि प्रयोग गर्छन्। ती शब्दहरूको पनि कहिलेकाहीं अर्थ खुलाउनुपर्ने हुन्छ। धेरैजसो मानिसहरू “आरमागेडोन” शब्दलाई आणविक विध्वंस भन्ठान्छन्। तिनीहरू “परमेश्वरको राज्य” हृदयभित्रको कुरा हो वा “परमेश्वरको राज्य” स्वर्गमा छ तर त्यसको सरकार छैन भन्ने सोच्छन्। कुनै-कुनै बाइबलमा “पवित्र आत्मा” भनेर अनुवाद गरिएको “पवित्र शक्ति” व्यक्ति हो र यो त्रिएकको भाग हो भनेर लाखौंलाई सिकाइएको छ। थुप्रैले बाइबलको नैतिक स्तरलाई बेवास्ता गर्ने भएकोले बाइबलले “अवैध यौनसम्बन्धदेखि भाग” भन्नुको अर्थ के हो, त्यो कुरासमेत तिनीहरूलाई बुझाइदिनुपर्छ।—१ कोरि. ६:१८.
बाइबल नपढेसम्म मानिसहरूलाई “अब्राहाम,” “पावल” अथवा “लूका” को हो, थाह हुँदैन। त्यसैले ती व्यक्तिहरू को हुन् भनेर चिनाउन तपाईंले तिनीहरूको नामअघि इस्राएलीहरूका कुलपिता, ख्रीष्टका प्रेषित अथवा बाइबल लेखक भनेर थप्नुपर्ने हुन सक्छ।
बाइबलमा उल्लेख गरिएको प्राचीन समयको नापतौल वा संस्कृति बुझ्न पनि श्रोतालाई मदत गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, नूहको जहाजको लम्बाइ ३०० हात, चौडाइ ५० हात अनि उचाइ ३० हात थियो भन्दा श्रोतालाई बुझ्न गाह्रो हुन सक्छ। (उत्प. ६:१५) तर यो विवरणलाई अहिलेको चलनअनुसार बताउनुभयो भने श्रोताले सजिलै बुझ्न सक्नेछन्।
आवश्यकताअनुसार व्याख्या गर्नुहोस्। श्रोताले कुनै विषय प्रस्टसित बुझेको चाहनुहुन्छ भने खास शब्दको सही अर्थ बताएर मात्र पुग्दैन। एज्राको पालामा यरूशलेममा व्यवस्थाको पुस्तक पढेर सुनाइँदा त्यसको व्याख्या पनि गरिन्थ्यो। मानिसले व्यवस्थाले भन्न खोजेको कुरा राम्ररी बुझून् भनेर लेवीहरूले पढेको कुराको अर्थ बुझाइदिन्थे र मानिसले भोगिरहेको परिस्थितिमा उक्त व्यवस्था कसरी लागू हुन्छ, त्यो पनि बताइदिन्थे। (नहे. ८:८, १२) तपाईं पनि त्यस्तै गर्नुहोस्। पढिसकेको पद व्याख्या गर्नुहोस् र त्यसलाई लागू गर्ने तरिका बुझाइदिनुहोस्।
पुनर्जीवित भइसकेपछि येशूले हालै भएका घटना धर्मशास्त्रमा लेखिएअनुसारै भएका हुन् भनेर चेलाहरूलाई व्याख्या गरिदिनुभयो। तिनीहरू यी घटनाका साक्षी भएकोले तिनीहरूको जिम्मेवारीबारे पनि उहाँले जोड दिनुभयो। (लूका २४:४४-४८) त्यसैगरि तपाईंले पनि मानिसहरूलाई तिनीहरूले सिकेका कुराले तिनीहरूको जीवनमा कस्तो असर पार्नुपर्छ, त्यो बुझ्न मदत दिंदा पढेको कुराले जीवनमा प्रभाव पार्नुको अर्थ तिनीहरूले अझ राम्ररी बुझ्नेछन्।
हृदय कसरी मुछिएको छ? तपाईंले राम्रोसँग व्याख्या गर्नुभएको हुन सक्छ, तैपनि मानिसहरूको बुझ्ने क्षमतालाई अरू कुराले पनि असर गर्न सक्छ। कसै-कसैको मन तयार छैन भने भनिएको कुराको अर्थ तिनीहरूले बुझ्न सक्दैनन्। (मत्ती १३:१३-१५) कुनै विषयलाई शारीरिक दृष्टिकोणले हेर्ने व्यक्तिहरूले आध्यात्मिक कुराहरूलाई मूर्खतापूर्ण सम्झन्छन्। (१ कोरि. २:१४) त्यतिखेर भने यस्तो मनोवृत्ति देखाउने मानिससित कुरा टुङ्ग्याउनु नै बेस हुन्छ।
तर जीवन ज्यादै कष्टपूर्ण भएकोले पनि कहिलेकाहीं कसै-कसैको मन तयार हुँदैन। तिनीहरूलाई बाइबल सत्य सुन्ने मौका दिइरह्यौं भने समयमा तिनीहरूको मन तयार हुन सक्छ। येशूले उहाँलाई कोर्रा लगाइनेछ र मारिनेछ भनेर प्रेषितहरूलाई बताउँदा तिनीहरूले बुझेनन्। किन? तिनीहरूले यस्तो होला भनेर आशा गरेका थिएनन् र तिनीहरू येशूलाई त्यस्तो भएको पनि चाहँदैन थिए। (लूका १८:३१-३४) तर समयमा ती ११ प्रेषितले येशूले बताएको कुरा बुझे र येशूले सिकाएबमोजिम नै काम गरेर कुरा बुझेको प्रमाण दिए।
असल उदाहरणको असर। हाम्रो बोलीले मात्र होइन, कामले गर्दा पनि मानिस हाम्रो कुरा बुझ्न सक्छन्। पहिलो पटक राज्यभवनमा आउँदा त्यतिखेर सुनेको कुरा आफूलाई याद नभएको तर भाइबहिनीले आपसमा देखाएको प्रेम भने याद भएको कुरा थुप्रै मानिस बताउँछन्। त्यसैगरि हामी खुसी भएको देखेर पनि थुप्रै घरधनी बाइबल सत्य सुन्न तयार भएका छन्। यहोवाका मानिसहरूले कठिन अवस्थामा पनि आपसमा देखाएको कोमल-स्नेह र अरूलाई देखाएको चासो देखेर कोही-कोही हामी साक्षीहरूले मानेको धर्म सत्य हो भन्ने निष्कर्षमा पुगेका छन्। त्यसैले अरूलाई बाइबल सत्य बुझ्न मदत गर्दा बाइबल सत्य कसरी व्याख्या गर्दै हुनुहुन्छ र कस्तो उदाहरण बसाल्दै हुनुहुन्छ, विचार गर्नुहोस्।