अध्याय ४३
तोकिएको विषयवस्तु प्रयोग गर्नुहोस्
बाइबलमा ख्रीष्टियन मण्डलीलाई मानव शरीरसित तुलना गरिएको छ। प्रत्येक अङ्ग उत्तिकै आवश्यक छन् तैपनि “सबै अङ्गको काम एउटै हुँदैन।” यसैलाई ध्यानमा राख्दै हामीलाई सुम्पिएको जुनसुकै जिम्मेवारी पूरा गर्नुपर्छ। कुनै विषयमा भाषण दिने वा छलफल गर्ने जिम्मेवारी पाएका छौं भने विषयवस्तु राम्ररी बुझ्नुपर्छ र राम्ररी प्रस्तुत गर्नुपर्छ। अर्को विषयवस्तु रोचक छ भन्ठानेर आफूलाई दिइएको विषयवस्तुको महत्त्वलाई कम गर्नुहुँदैन। (रोमी १२:४-८) विश्वासी र बुद्धिमान् दास वर्गले “ठीक समयमा” आध्यात्मिक भोजन उपलब्ध गराउने जिम्मेवारी पाएको छ। (मत्ती २४:४५) आफ्नो क्षमता प्रयोग गर्दै ती दास वर्गबाट प्राप्त निर्देशनअनुसार भाषण विस्तार गरेका छौं भने हामीले त्यस प्रबन्धप्रति कदर देखाइरहेका हुन्छौं। साथै मण्डलीको सम्पूर्ण गतिविधि पनि व्यवस्थित हुन्छ।
के-के समावेश गर्न सक्छौं? ईश्वरतान्त्रिक सेवा स्कूलमा तपाईंलाई कुनै विषय तोकेरै दिइएको छ भने विषयबाहिर नजानुहोस्। त्यही विषयभित्र रहेर भाषणलाई विस्तार गर्नुहोस्। तपाईंको भाषण कुन प्रकाशनमा आधारित हुनुपर्छ, अक्सर त्यसको स्रोत खुलाइएको हुन्छ। तर त्यसको स्रोत खुलाइएको छैन भने तपाईंलाई इच्छा लागेको कुनै पनि प्रकाशनबाट जानकारी बटुल्न सक्नुहुन्छ। नबिर्सनुहोस्, भाषणको तयारी गर्दा आफ्नो सम्पूर्ण भाषण तोकिएको विषयभित्रै छ कि छैन, त्यो तपाईंले पक्का गर्नुपर्छ। भाषणमा के-के समावेश गर्ने, त्यो पक्का गर्दा श्रोतालाई पनि नबिर्सनुहोस्।
स्रोतसामग्रीमा दिइएको जानकारी राम्ररी अध्ययन गर्नुहोस् र शास्त्रपदहरू राम्ररी केलाउनुहोस्। त्यसपछि उक्त जानकारीलाई श्रोताले फाइदा उठाउन सक्नेगरि अझै प्रभावकारी तरिकामा कसरी प्रस्तुत गर्न सकिन्छ, त्यो विचार गर्नुहोस्। छापिएको विषयवस्तुबाट दुईवटा वा सकिन्छ भने तीनवटा बुँदा छान्नुहोस् र त्यसलाई भाषणको मुख्य-मुख्य बुँदाको रूपमा प्रयोग गर्नुहोस्। त्यसैगरि तपाईंले पढ्ने अनि छलफल गर्ने विचार गरेका पदहरू पनि त्यही स्रोतबाट छान्नुहोस्।
तपाईंले कति विषयवस्तु ढाक्नुपर्छ? प्रभावकारी तरिकामा जति बुँदा प्रस्तुत गर्न सक्नुहुन्छ, त्यति मात्र। जानकारीको ओइरो लगाएर प्रभावकारी ढङ्गमा सिकाउने कलालाई नै ओझेलमा नपार्नुहोस्। कुनै-कुनै विषयवस्तु तपाईंको भाषणको उद्देश्यसित मेल खाँदैन भने उद्देश्य हासिल गर्न सकिने अंशमा मात्र ध्यान दिनुहोस्। दिइएको स्रोतसामग्रीबाट श्रोताले सबैभन्दा धेरै फाइदा उठाउन सक्ने र केही सिकेको महसुस हुने बुँदाहरू मात्र प्रयोग गर्नुहोस्। यस अध्यायमा दिइएको बुँदामा काम गर्नुको उद्देश्य भाषणमा कत्ति जानकारी दिन सक्नुहुन्छ, त्यो होइन; तोकिएको विषयवस्तुमा नै सीमित भएर कसरी भाषणको तयारी गर्नुहुन्छ, त्यो हो।
तपाईंले भाषण दिनुको अर्थ तोकिएको विषयवस्तुको सारांश बताउनु होइन। तपाईंले कुनै खास बुँदाबारे बताउने, त्यसबारे थप जानकारी दिने, उदाहरण दिएर बुझाउने र सकिन्छ भने लागू गर्ने तरिका पनि बताउने योजना बनाउनुपर्छ। थप विचार प्रस्तुत गर्दा तोकिएकै विषयवस्तुको महत्त्वपूर्ण बुँदा विस्तार गर्नुपर्छ; अर्कै विषयवस्तु प्रयोग गर्नुहुँदैन।
शिक्षकको रूपमा योग्यता हासिल गरेका भाइहरूलाई समयमा सेवा सभामा सिकाउने जिम्मेवारी दिइन्छ। आफूलाई दिइएको विषयवस्तुबाट प्रस्तुत नगरी अर्कै स्रोतबाट भाषण दिनुहुँदैन भनेर तिनीहरूले बुझेका हुन्छन्। त्यसैगरि जनभाषण दिने भाइहरूले पनि दिइएको रूपरेखाअनुसारै भाषण दिनुपर्छ। रूपरेखाबाट भाषण दिंदा लचकता अपनाउन सकिन्छ तर विस्तार गर्नुपर्ने मुख्य बुँदाहरू, प्रयोग गर्न सकिने तर्कहरू र भाषणलाई समर्थन गर्ने पदहरू त्यहाँ प्रस्टै दिइएको हुन्छ। दिइएको विषयवस्तुलाई नै भाषणको आधार बनाउन सिक्दा भविष्यमा अरू भाषण पनि दिन तयार भइरहेको हुन्छ।
यस्तो तालिमले तपाईंलाई प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न पनि मदत गर्छ। तपाईंले अध्ययनको दौडान चाखलाग्दो तर विषयसँग नमिल्ने कुरा बताउनुको साटो अध्ययन गरिने विषयवस्तुमै ध्यान केन्द्रित गर्न सिक्नुहुनेछ। तपाईंले यस अध्यायको आशय बुझ्नुभएको छ भने बाइबल विद्यार्थीलाई थप जानकारी दिनुहुँदैन भनेर जिद्दी गर्नुहुनेछैन; बरु आवश्यकताअनुसार थप जानकारी दिनुहुनेछ।