अध्याय ४६
चिरपरिचित अवस्थालाई दृष्टान्तको रूपमा प्रयोग गर्नुहोस्
तपाईंले बताउने दृष्टान्त छलफल गरिरहेको विषयसित मिलेको हुनै पर्छ। दृष्टान्तलाई एकदमै प्रभावकारी बनाउने हो भने श्रोताको अवस्थासित पनि मिलेको हुनै पर्छ।
कुनै समूहसित कुरा गर्दै हुनुहुन्छ भने त्यहाँ भएका श्रोताअनुसार तपाईं कस्तो दृष्टान्त छान्नुहुन्छ? येशूले के गर्नुभयो? भीडसँग कुरा गर्दा होस् वा चेलाहरूसँग कुरा गर्दा, येशूले इस्राएलका मानिसहरूलाई अनौठो लाग्ने अरू ठाउँको जीवनशैलीलाई दृष्टान्तको रूपमा बताउनुभएन। त्यसो गरेको भए येशूका श्रोताहरूलाई कालो अक्षर भैंसी बराबर भनेझैं हुन्थ्यो। उदाहरणको लागि येशूले मिश्रको राजघरानाको जीवनशैलीबारे बताउनुभएन वा भारतको धार्मिक रीतिरिवाजबारे पनि कुरा गर्नुभएन। तर उहाँले सबै देशका मानिसहरूले जानेबुझेका कामकुराबारे दृष्टान्त बताउनुभयो। लुगामा टालो सिलाउने, व्यापार गर्ने, बहुमूल्य कुरा गुमाउने र विवाह भोजमा उपस्थित हुनेबारे उहाँले दृष्टान्त बताउनुभयो। विभिन्न परिस्थितिमा मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्, त्यो उहाँले बुझ्नुभयो र त्यसैअनुसार दृष्टान्त प्रयोग गर्नुभयो। (मर्कू. २:२१; लूका १४:७-११; १५:८, ९; १९:१५-२३) येशूले खासगरि इस्राएलमा नै प्रचार गर्नुभएकोले त्यहाँका मानिसहरूको दैनिक जीवनसित सम्बन्धित कुरालाई नै दृष्टान्तको रूपमा चलाउनुभयो। त्यसैकारण उहाँले खेती-किसानी, भेडाले गोठालोप्रति देखाउने प्रतिक्रिया र मद्य भण्डार गर्न जनावरको छाला प्रयोग गर्ने जस्ता कुराहरू उल्लेख गर्नुभयो। (मर्कू. २:२२; ४:२-९; यूह. १०:१-५) उहाँले सबैलाई थाह भएको ऐतिहासिक घटनातर्फ पनि श्रोताको ध्यान खिच्नुभयो। जस्तै, पहिलो मानव जोडीको सृष्टि, नूहको दिनको जलप्रलय, सदोम र गमोराको विनाश, लूतकी पत्नीको मृत्यु इत्यादि। (मत्ती १०:१५; १९:४-६; २४:३७-३९; लूका १७:३२) दृष्टान्त छान्दा के तपाईं पनि आफ्ना श्रोताको दैनिक गतिविधि र तिनीहरूको सांस्कृतिक पृष्ठभूमिलाई ध्यान दिनुहुन्छ?
थुप्रै श्रोतासित होइन तर एक-दुई जनासँग वा केही मानिससित कुरा गर्दै हुनुहुन्छ भने तपाईंले कस्तो दृष्टान्त बताउनुपर्छ? त्यहाँ उपस्थित श्रोतालाई सुहाउने दृष्टान्त बताउने कोसिस गर्नुहोस्। सुखार नजिकै सामरी आइमाईसित कुरा गर्दा येशूले “जीवन दिने पानी,” “कहिल्यै तिर्खाउनेछैन,” “पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ” जस्ता अलङ्कार प्रयोग गर्नुभयो। यस्ता कुरा ती आइमाईका लागि नौला थिएनन्। (यूह. ४:७-१५) माछा मार्ने जाल धोइरहेका मानिसहरूसित कुरा गर्दा येशूले माछा मार्ने कामसँग सम्बन्धित अलङ्कार प्रयोग गर्नुभयो। (लूका ५:२-११) माथिका दुवै घटनामा येशूले खेती-किसानीबारे दृष्टान्त चलाउन सक्नुहुन्थ्यो, किनभने तिनीहरू खेती-किसानी गरिने इलाकामा नै बसोबास गरिरहेका थिए। तर तिनीहरूले दिनदिनै गरिरहेको कामलाई सङ्केत गर्दै दृष्टान्त चलाउँदा त्यो औधी प्रभावकारी साबित भयो र तिनीहरूको मनमा ठप्प बस्यो। तपाईं पनि त्यस्तै गर्ने प्रयास गर्नुहोस्।
येशू ‘इस्राएलको घरानाका हराएका भेडाहरूलाई’ मात्र खोज्न आउनुभएको थियो। तर पावललाई भने इस्राएलीहरूलाई मात्र होइन, जाति-जातिका मानिसहरूलाई पनि खोज्न पठाइयो। (मत्ती १५:२४; प्रेषि. ९:१५) के यसले गर्दा पावलको कुरा गर्ने शैलीमा फरक पऱ्यो? पक्कै पनि। कोरिन्थका ख्रीष्टियनहरूलाई पत्र लेख्दा पावलले दौडमा भाग लिनेहरूबारे बताए, मूर्तिलाई चढाइएको खानेकुराबारे उल्लेख गरे र विजय यात्राबारे कुरा गरे। यी सब अन्यजातिका मानिसहरूका लागि चिरपरिचित विषय थिए।—१ कोरि. ८:१-१०; ९:२४, २५; २ कोरि. २:१४-१६.
अरूलाई सिकाउँदा के तपाईं पनि येशू र पावलले जस्तै राम्ररी सोचविचार गरेर दृष्टान्त र उदाहरण छान्नुहुन्छ? श्रोताको पृष्ठभूमि र दैनिक क्रियाकलापमा पनि विचार पुऱ्याउनुहुन्छ? पक्कै पनि प्रथम शताब्दीपछि संसारले धेरै पटक काँचुली फेरिसक्यो। टेलिभिजन हेरेर मानिसहरू संसारको हालखबर थाह पाउन सक्छन्। देश-विदेशको घटना मानिसहरूलाई प्रायः नौलो लाग्दैन। यदि तपाईंको इलाकाका मानिसहरू संसारको अवस्थासँग परिचित छन् भने त्यस्तै घटनालाई दृष्टान्तको रूपमा बताउँदा केही बिग्रँदैन। तैपनि मानिसलाई तिनीहरूको जीवनसित सम्बन्धित कुरा दृष्टान्तको रूपमा बताउँदा तिनीहरूको मन छुन सकिन्छ। जस्तै: तिनीहरूको घर, परिवार, काम, खानेकुरा, त्यहाँको मौसम इत्यादि।
श्रोतालाई बुझाउन निकै व्याख्या गर्नुपर्ने खालको दृष्टान्त बताउँदै हुनुहुन्छ भने सायद तपाईं श्रोतालाई थाह नभएको कुराको दृष्टान्त दिंदै हुनुहुन्छ। त्यस्ता दृष्टान्त प्रयोग गर्दा भाषणबाट दिनुपर्ने निर्देशन नै ओझेलमा पर्न सक्छ। परिणाम, श्रोताले तपाईंको दृष्टान्त सम्झिरहन सक्लान् तर तपाईं बाइबलबाट जुन कुरा बताउन चाहनुहुन्थ्यो, त्यो भने सम्झन सक्दैनन्।
येशूले जटिल कुरासँग तुलना गर्दै दृष्टान्त दिनुभएन बरु दैनिक जीवनका घटनाहरूसित सम्बन्धित सामान्य किसिमको दृष्टान्त बताउनुभयो। उहाँले ठूला कुरा बुझाउन साना कुराको उदाहरण दिनुभयो, जटिल कुरा बुझाउन सरल कुराको उदाहरण दिनुभयो। दैनिक जीवनका घटनाहरूसित बाइबल सत्यलाई जोड्दै उहाँले मानिसहरूलाई बाइबल सत्य सजिलै स्वीकार्न र त्यसलाई सम्झिरहन मदत दिनुभयो। हाम्रो लागि कस्तो गजबको उदाहरण!