अध्याय ५०
मनको गहिराइसम्म पुग्ने प्रयास गर्नुहोस्
तपाईंले मानिसहरूलाई प्रचार गरेर मात्र पुग्दैन; तिनीहरूको मनको गहिराइसम्म पुग्ने प्रयास पनि गर्नुपर्छ। मानिसहरूको बाहिरी रूपको ठीक विपरीत कुरालाई बुझाउन बाइबलमा मन अर्थात् हृदय शब्द प्रयोग गरिएको छ। लाक्षणिक हृदयले मानिसको भित्री व्यक्तित्वलाई अर्थात् तिनी कस्तो महसुस गर्छन्, के-के सोच्छन्, किन त्यसरी सोच्छन् र त्यस्तो सोचाइले तिनको काममा कस्तो असर गर्छ, त्यस कुरालाई बुझाउँछ। सत्यको बीउ पनि यही लाक्षणिक हृदयमा रोपिन्छ। (मत्ती १३:१९) अनि यही हृदयबाट परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।—हितो. ३:१; रोमी ६:१७.
तपाईंले सिकाएको कुरा मनको गहिराइसम्म पुगोस् भन्ने चाहनुहुन्छ भने यी उद्देश्यलाई याद राख्नुहोस्। (१) श्रोताको मनमा पहिल्यैदेखि कुन कुराले प्रभाव पारेको छ, त्यो थाह पाउन सुझबुझ चलाउनुहोस्। (२) प्रेम र परमेश्वरको डर जस्ता सकारात्मक गुणहरूमा जोड दिनुहोस्। (३) यहोवा परमेश्वरलाई पूर्णतया खुसी पार्न सक्ने हुन श्रोतालाई तिनको भित्री मनसाय केलाउन प्रोत्साहन दिनुहोस्।
सुझबुझ चलाउनुहोस्। कुनै-कुनै मानिसले अहिलेसम्म बाइबल सत्य नस्वीकार्नुका कारण विभिन्न हुन सक्छन्। बाइबल अध्ययन सञ्चालन गर्दा तपाईंले विद्यार्थीको पूर्वाग्रह हटाएर त्यस्तो गलत धारणा निर्मूल पार्न तथ्यहरू पेस गर्नुपर्ने हुन सक्छ अथवा प्रमाण मात्र दिए पनि पुग्न सक्छ। आफैलाई सोध्नुहोस्: ‘मानिसलाई परमेश्वरको मार्गनिर्देशन चाहिने भएकोले तपाईंको विद्यार्थीले पनि उहाँको मार्गनिर्देशन चाहिन्छ भनेर बुझेका छन्? तिनी बाइबलको कुन-कुन कुरामा विश्वास गर्छन् र कुन-कुन कुरामा विश्वास गर्दैनन्? तिनी यस्तो निष्कर्षमा आइपुग्नुको कारण के हो? बाइबल सत्य थाह पाएपछि पूरा गर्नुपर्ने जिम्मेवारीहरू स्वीकार्नदेखि रोक्ने इच्छाविरुद्ध सङ्घर्ष गर्न के तिनलाई मदत चाहिन्छ?’
मानिसहरू कुनै खास कुरामा किन विश्वास गर्छन् भनेर पत्ता लगाउनु सधैं सजिलो हुँदैन। हितोपदेश २०:५ यसो भन्छ: “अर्काको मनको विचार गहिरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” समझ अर्थात् सुझबुझ सजिलै थाह पाउन नसकिने कुरालाई तानेर निकाल्ने क्षमता हो। सुझबुझ चलाउनको लागि राम्ररी अवलोकन गर्नुपर्छ र अरूको ख्याल राख्ने बानी बसाल्नुपर्छ।
हरेक कुरा बोलेर मात्र व्यक्त गरिंदैन। कुनै खास विषयमा कुरा गर्दा विद्यार्थीको अनुहारको भाव वा स्वरमा व्यक्त भएको भाव परिवर्तन हुन सक्छ। तपाईंका छोराछोरी छन् भने तिनीहरूको बानी-बेहोरामा परिवर्तन आउनुको कारण तपाईं तुरुन्तै थाह पाइहाल्नुहुन्छ। यस्ता सङ्केतलाई बेवास्ता नगर्नुहोस्। किनकि यसबाटै मानिसको हृदयमा भएको कुरा थाह पाउन सकिन्छ।
सोचविचार गरेर सोधिएका प्रश्नहरूले मानिसको मनभित्रको कुरा निकाल्न मदत गर्छ। तपाईं यस्ता प्रश्न सोध्न सक्नुहुन्छ: “तपाईंलाई . . . -बारे कस्तो लाग्छ?” “केले गर्दा तपाईं . . . -बारे विश्वस्त हुनुहुन्छ?” “. . . भयो भने तपाईं के गर्नुहुन्छ?” तर मानिसहरूलाई प्रश्नको ओइरो नै नलगाउनुहोस्। प्रश्न सोध्नुअघि कौशलतासाथ यसो भन्न सक्नुहुन्छ: “तपाईंलाई एउटा कुरा सोधूँ कि?” मानिसको मनको कुरा निकाल्नु साह्रै गाह्रो छ। हतार गर्नुहुँदैन। अक्सर मानिसको भरोसा जितिसकेपछि मात्र तिनी आफ्नो मनको कुरा पोख्न तयार हुन्छन्। तर तपाईंले प्रश्न गरेको तरिकाबाट तिनलाई तिनको निजी मामिलामा हात हालेको महसुस नगराउन तपाईंले होस पुऱ्याउनुपर्छ।—१ पत्रु. ४:१५.
अरूको कुरा सुनेर त्यसैअनुसार प्रतिक्रिया देखाउने बेला पनि सुझबुझ चलाउनुपर्छ। याद गर्नुहोस्, तपाईंको उद्देश्य हो—मानिसहरूको मनको कुरा बुझ्नु। यसो गर्दा बाइबलको कुनचाहिं विवरण देखाउँदा तिनीहरूलाई उत्प्रेरित गर्न सकिन्छ, पक्का गर्न सक्नुहुन्छ। अरूको दृष्टिकोण गलत हो भनेर उदाङ्ग पार्ने सकसकी तुरुन्तै हटाउनुहोस्। बरु तिनीहरूले भनेको कुरामा कस्तो भावना लुकेको छ, त्यो बुझ्न सुझबुझ चलाउनुहोस्। यसो गर्नुभयो भने अब भन्नुपर्ने कुरा बुझ्न सक्नुहुन्छ। विद्यार्थीले पनि तपाईंले तिनको कुरा बुझ्नुभएको छ भन्ने महसुस गर्दै तपाईंको कुरा अझै गम्भीर भएर सोच्नेछन्।—हितो. १६:२३.
थुप्रै श्रोतासामु बोल्दै हुनुहुन्छ भने पनि तपाईंले व्यक्तिविशेषलाई केही हदसम्म उत्प्रेरणा दिन सक्नुहुन्छ। श्रोतालाई हेरेर बोल्नुभयो, तिनीहरूको अनुहारको भाव पढ्न सक्नुभयो र तिनीहरूलाई सोच्न लगाउने प्रश्न सोध्नुभयो भने श्रोतालाई तपाईंको कुरा कस्तो लाग्दैछ भनेर बुझ्न सक्नुहुनेछ। तपाईंलाई श्रोताको अवस्थाबारे राम्ररी थाह छ भने त्यसप्रति चासो देखाउनुहोस्। मण्डलीका अधिकांश श्रोताको मनोवृत्ति कस्तो छ, त्यसलाई ध्यान दिंदै परमेश्वरको वचनबाट तर्क गर्नुहोस्।—गला. ६:१८.
फाइदाजनक छ भन्ने महसुस गराउनुहोस्। कुनै व्यक्ति कुन कुरामा विश्वास गर्छन्, कुन कुरामा विश्वास गर्दैनन् अनि किन त्यसमा विश्वास गर्छन् भनेर बुझ्नुभयो भने तपाईं त्यसैअनुसार आफ्नो कुरा अघि बढाउन सक्नुहुन्छ। पुनर्जीवित भइसकेपछि येशूले हालै भएका घटनाहरूबारे “धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा” चेलाहरूको मन छोएको थियो। (लूका २४:३२) कुनै व्यक्तिसित कुरा गर्दै हुनुहुन्छ भने तपाईंले पनि तिनका अनुभवहरूको र तिनका चाहनाहरूको परमेश्वरको वचनसित के सम्बन्ध छ भनेर बुझाउने प्रयास गर्नुपर्छ। “यो नै सत्य हो” भनेर स्पष्टसित बुझ्दा विद्यार्थीको मन छुन्छ र तिनले फाइदा उठाउन सक्छन्।
यहोवा परमेश्वरको भलाइ, प्रेम, असीम अनुग्रह अनि उहाँको मार्गको सत्यताबारे जोड दिनुभयो भने परमेश्वरलाई माया गर्न श्रोतालाई मदत गरिरहनुभएको हुनेछ। परमेश्वरले तिनीहरूमा भएको कुनचाहिं गुण मन पराउनुहुन्छ भनेर बुझाउनुभयो भने तिनीहरूले परमेश्वरसित व्यक्तिगत सम्बन्ध गाँस्न सम्भव रहेछ भनेर विश्वास गर्नेछन्। भजन १३९:१-३, लूका २१:१-४ र यूहन्ना ६:४४ जस्ता बाइबल पदहरूबारे मनन गरेर अनि यहोवा आफ्ना वफादार सेवकहरूलाई माया गर्नुहुन्छ भनेर श्रोतालाई बुझ्न मदत गरेर तपाईं त्यसो गर्न सक्नुहुन्छ। (रोमी ८:३८, ३९) यहोवा हाम्रा गल्तीहरूलाई मनमा राखिरहनुहुन्न बरु हाम्रो सम्पूर्ण जीवनशैली, शुद्ध उपासनाप्रतिको हाम्रो जोस र उहाँको नामप्रतिको हाम्रो माया याद गर्नुहुन्छ भनेर व्याख्या गर्नुहोस्। (२ इति. १९:२, ३; हिब्रू ६:१०) उहाँलाई हाम्रो स-साना कुरासमेत थाह छ र उहाँले अचम्मलाग्दो तरिकामा “चिहानमा हुनेहरू सबै”-लाई पुनर्जीवन दिनुहुनेछ। (यूह. ५:२८, २९; लूका १२:६, ७) मानिसजाति परमेश्वरको स्वरूपमा बनेकोले परमेश्वरका गुणहरूबारे छलफल गर्दा मानिसहरू अक्सर चासो देखाउँछन्।—उत्प. १:२७.
मानिसलाई परमेश्वरको नजरले हेर्न सिक्दा तिनीहरूको मन छुन सकिन्छ। परमेश्वरले हामीलाई त व्यक्तिविशेषको रूपमा चासो देखाउनुहुन्छ भने अरूलाई पनि तिनीहरूको पृष्ठभूमि, जात वा मुलुकको बाबजुद त्यस्तै चासो देखाउनुहुन्छ भनेर सोच्नु तार्किक छ। (प्रेषि. १०:३४, ३५) कुनै मानिस यस्तो निष्कर्षमा पुगे भने बाइबलको बलियो आधारमा तिनले मनमा भएको घृणा र भेदभावको भावना पूरै हटाउन सक्छन्। यहोवाको इच्छा बुझ्दै गएपछि तिनी अरूसँग शान्तिमा बस्न सिक्नेछन्।
परमेश्वरको डर मान्न पनि तपाईंले अरूलाई मदत गर्नुपर्छ। (भज. १११:१०; प्रका. १४:६, ७) यस्तो गहिरो श्रद्धा वा परमेश्वरको डरले आफ्नै बलबर्कतले गर्न नसकिने काम गर्न उत्प्रेरित गर्छ। यहोवाका अद्भुत कार्य र उहाँको अपार करुणाबारे छलफल गरेर यहोवालाई अप्रसन्न पार्ने काम गर्नदेखि रोक्ने स्वस्थकर भय विकास गर्न तपाईं अरूलाई मदत गर्न सक्नुहुन्छ।—भज. ६६:५; यर्मि. ३२:४०.
तिनीहरूको आचरणले यहोवालाई फरक पार्छ भनेर श्रोताले बुझेका छन् कि छैनन्, पक्का गर्नुहोस्। परमेश्वरको भावना छ र उहाँले दिएको निर्देशनप्रति हामीले देखाउने प्रतिक्रियाले उहाँलाई कि खुसी बनाउन सक्छ, कि दुःखी बनाउन सक्छ। (भज. ७८:४०-४२) सैतानले परमेश्वरलाई दिएको चुनौतीको जवाफ दिन तिनीहरूको आचरण महत्त्वपूर्ण छ भनेर बुझाउनुहोस्।—हितो. २७:११.
यहोवाको इच्छाबमोजिम चल्नु फाइदाजनक छ भनेर बुझ्न श्रोतालाई मदत गर्नुहोस्। (यशै. ४८:१७) यसो गर्ने एउटा तरिका परमेश्वरको बुद्धिमानी सल्लाह लत्याउँदा, अझ भनौं भने क्षणभरको लागि मात्र लत्याउँदासमेत शारीरिक र भावनात्मक रूपमा कस्तो नतिजा भोग्नुपर्छ, त्यो कुरा औंल्याइदिनु हो। पापले हामीलाई कसरी परमेश्वरबाट टाढा बनाउँछ, अरूलाई बाइबल सत्य सिकाउनदेखि कसरी रोक्छ र हामीलाई अरूको अधिकार खोस्ने व्यक्ति कसरी बनाउँछ, त्यो व्याख्या गर्नुहोस्। (१ थिस्स. ४:६) परमेश्वरका नियमहरू पालन गरेकोले तिनीहरूले के-कस्ता आशिष् पाएका छन्, त्यसको कदर गर्न श्रोतालाई मदत गर्नुहोस्। यहोवाको स्तरबमोजिमको असल काम गर्दा थुप्रै दुःख-कष्टबाट जोगिन सक्छौं भन्ने तथ्यप्रति अझै कृतज्ञ हुन मदत गर्नुहोस्। कुनै व्यक्तिले परमेश्वरको इच्छाबमोजिम चल्नु बुद्धिमानी हो भनेर विश्वास गरिसकेपछि तिनले यहोवाका मार्ग विपरीतका प्रत्येक कुरालाई घृणा गर्नेछन्। (भज. ११९:१०४) यहोवाको आज्ञा पालन गर्नु बोझिलो छैन। बरु आज्ञा पालन गर्नु यहोवाप्रति भक्ति देखाउने एउटा तरिका हो भनेर तिनले बुझ्नेछन्।
कुनै कुरा जाँच्न अरूलाई मदत गर्नुहोस्। आध्यात्मिक तवरमा प्रगति गर्दै जाने हो भने मानिसहरूले आफ्नो मन जाँच्नुपर्छ। यसो गर्न बाइबलले कसरी मदत गर्छ, तिनीहरूलाई बताउनुहोस्।
बाइबलमा आज्ञा, सल्लाह, ऐतिहासिक घटना र भविष्यवाणीहरू मात्र छैनन् भनेर बुझ्न श्रोतालाई मदत गर्नुहोस्। बाइबलले परमेश्वरको विचार पनि प्रकट गर्छ। याकूब १:२२-२५ मा परमेश्वरको वचनलाई ऐनासँग तुलना गरिएको छ। बाइबलमा लेखिएको कुराप्रति र यहोवाले आफ्नो उद्देश्य पूरा गर्ने तरिकाप्रति हामी जस्तो प्रतिक्रिया देखाउँछौं त्यसले हाम्रो हृदयको अवस्था प्रकट गर्छ। यसरी “मन जाँच गर्ने” परमेश्वरले हामीलाई नियाल्ने तरिका बाइबलले प्रकट गरेको छ। (हितो. १७:३) यस कुरालाई मनमा राख्न श्रोतालाई प्रोत्साहन दिनुहोस्। परमेश्वरले हाम्रो लागि बाइबलमा कस्ता कुराहरू जोगाएर राख्न लगाउनुभयो र उहाँलाई अझै खुसी बनाउन आफ्नो जीवनमा कस्ता छाँटकाँट गर्नुपर्छ, त्यो विचार गर्न श्रोतालाई आग्रह गर्नुहोस्। यहोवाले हामीमा आवश्यक छाँटकाँट गर्दा उहाँलाई साथ दिने हो भने बाइबल पढ्नुपर्छ। किनकि बाइबल पढ्दा यहोवालाई हाम्रो “मनको विचार र आशय” जाँच्न दिइरहेका हुन्छौं। यो तथ्य बुझ्न श्रोतालाई मदत गर्नुहोस्।—हिब्रू ४:१२; रोमी १५:४.
केही बाइबल विद्यार्थी आफूले सिकेको कुरा अनुरूपै गर्न चाहलान् तर अरूले के भन्लान् भनेर तिनीहरू चिन्ता गर्छन्। तिनीहरूले आफूमा जरा गाडेर बसेको कुनै खास शारीरिक लालसा हटाउन सङ्घर्ष गरिरहेका हुन सक्छन्। अथवा तिनीहरूले परमेश्वरको पनि सेवा गर्ने अनि संसारका रीतिथितिहरूमा पनि भाग लिने गरेर दुई डुङ्गामा खुट्टा हालिरहेका हुन सक्छन्। यसरी दोमनको भएर बस्दा के-कस्ता खतरा आइपर्छन् भनेर औंल्याउनुहोस्। (१ राजा १८:२१) आफ्नो मन जाँचिदिन अनि शुद्ध पारिदिन यहोवालाई प्रार्थना गर्नुहोस् भनेर तिनीहरूलाई आग्रह गर्नुहोस्।—भज. २६:२; १३९:२३, २४.
तिनीहरूले गरिरहेको सङ्घर्ष यहोवा बुझ्नुहुन्छ र त्यस्तो सङ्घर्षबारे बाइबलमा लेखिएको छ भनेर बताउनुहोस्। (रोमी ७:२२, २३) त्रुटिपूर्ण हृदयको झुकावले वशमा पार्न नपाओस् भनेर होसियार हुन तिनीहरूलाई मदत गर्नुहोस्।—हितो. ३:५, ६; २८:२६; यर्मि. १७:९, १०.
कुनै खास काम गर्नुको मनसाय जाँच्न प्रत्येक श्रोतालाई प्रोत्साहन दिनुहोस्। तिनलाई यस्तो प्रश्न सोध्न सिकाउनुहोस्: ‘म यो किन गर्न चाहन्छु? यहोवाले मेरो लागि गरेका सबै कामको म साँच्चै कदर गर्छु भनेर के यसले देखाउँछ?’ यहोवासित बलियो सम्बन्ध बनाउनु नै हामीले हासिल गर्न सक्ने सबैभन्दा अनमोल सम्पत्ति हो भनेर अझ विश्वस्त हुन मदत गर्नुहोस्।
“सारा मनले” यहोवाको सेवा गर्नुको अर्थ बुझ्न श्रोतालाई मदत गर्नुहोस्। (लूका १०:२७) भन्नुको मतलब तिनीहरूको भावना, इच्छा-आकाङ्क्षा अनि मनसाय सबै नै उहाँको स्तरबमोजिम हुनुपर्छ। त्यसकारण श्रोतालाई तिनीहरूले गरेको कामबारे मात्र होइन तर परमेश्वरको स्तरबमोजिम चल्दा तिनीहरू कस्तो महसुस गर्छन् र उहाँको सेवा गर्नुको मनसाय के हो, त्यो पनि जाँच्न सिकाउनुहोस्। (भज. ३७:४) विद्यार्थीले कुन-कुन क्षेत्रमा उन्नति गर्नुपर्छ भन्ने कुरा बुझिसकेपछि यहोवालाई यसरी प्रार्थना गर्न तिनीहरूलाई प्रोत्साहन दिनुहोस्: “तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।”—भज. ८६:११.
विद्यार्थीले यहोवासित घनिष्ठ सम्बन्ध गाँसिसकेपछि उहाँमाथिको विश्वासले गर्दा उहाँको आज्ञा पालन गर्नेछन्, तपाईंको करले होइन। त्यसपछि तिनी आफैले नै “प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का” गरिरहनेछन्। (एफि. ५:१०; फिलि. २:१२) यसरी मनदेखि आज्ञा पालन गर्दा यहोवा खुसी हुनुहुनेछ।—हितो. २३:१५.
हृदय जाँच्ने र मानिसलाई आफूसित सम्बन्ध गाँस्न खिच्ने व्यक्ति यहोवा स्वयम् नै हुनुहुन्छ भनेर नबिर्सनुहोस्। (हितो. २१:२; यूह. ६:४४) हामी त उहाँका सहकर्मी मात्र हौं। (१ कोरि. ३:९) “मानौं परमेश्वरले हामीमार्फत बिन्ती गरिरहनुभएको छ।” (२ कोरि. ५:२०; प्रेषि. १६:१४) यहोवा मानिसहरूलाई बाइबल सत्य स्वीकार्न जबरजस्ती गर्नुहुन्न। तर हामीले बाइबल खोलेर मानिसहरूलाई बताउँदा तिनीहरूले आफ्नो प्रश्नको वा प्रार्थनाको जवाफ पाएको महसुस गर्नेछन्। यहोवाले नै तिनीहरूलाई यस्तो महसुस गराउनुभएको हो। अरूलाई सिकाउने जस्तोसुकै मौका पाउँदा पनि माथि बताइएको कुरा मनमा राख्नुहोस् र यहोवाको डोऱ्याइ र मदतको लागि बिन्ती गर्नुहोस्।—१ इति. २९:१८, १९; एफि. १:१६-१८.