प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr chap. १७ pp. १८२-१९१
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु”
  • प्रचारक बन्‍न तालिम
  • भाइहरूलाई विशेष जिम्मेवारी सम्हाल्न तालिम
  • ईश्‍वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • के तपाईंले यहोवाबाट आफूले सकेजति सिक्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०११
  • अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr chap. १७ pp. १८२-१९१

अध्याय १७

परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

विभिन्‍न ईश्‍वरतान्त्रिक स्कुलले परमेश्‍वरका सेवकहरूलाई आफ्नो जिम्मेवारी सम्हाल्न कसरी तयार बनाउँछ

१-३. येशूले अझ धेरै ठाउँमा प्रचार गर्न के गर्नुभयो? हाम्रो मनमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छ?

येशूले दुई वर्ष गालीलभरि प्रचार गर्नुभयो। (मत्ती ९:३५-३८ पढ्‌नुहोस्‌) थुप्रै सहर र गाउँ घुम्दै येशूले सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँ जहाँ-जहाँ प्रचार गर्नुहुन्थ्यो, त्यहाँ-त्यहाँ उहाँको कुरा सुन्‍न भीड जम्मा हुन्थ्यो। त्यसैले उहाँले भन्‍नुभयो: “फसल त प्रशस्त छ।” अझ धेरै खेतालाहरूको आवश्‍यकता थियो।

२ येशूले अझ धेरै ठाउँमा प्रचार गर्न प्रबन्ध मिलाउनुभयो। कसरी? “परमेश्‍वरको राज्यको प्रचार गर्न” आफ्ना १२ प्रेषितहरूलाई पठाएर। (लूका ९:१, २) यो काम कसरी पूरा गर्ने भनेर प्रेषितहरूको मनमा प्रश्‍न उठेको हुन सक्छ। त्यसैले तिनीहरूलाई प्रचार गर्न पठाउनुअघि येशूले तालिम दिनुभयो। उहाँले पनि आफ्नो बुबाबाट तालिम पाउनुभएको थियो।

३ यी कुरालाई विचार गर्दा हाम्रो मनमा यस्ता प्रश्‍न उठ्‌न सक्छ: येशूले आफ्नो बुबाबाट कस्तो तालिम पाउनुभयो? येशूले आफ्ना प्रेषितहरूलाई कस्तो तालिम दिनुभयो? अनि के मसीही राजाले आज पनि आफ्ना चेलाहरूलाई सेवाको काम पूरा गर्न तालिम दिनुभएको छ? छ भने कसरी?

“बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु”

४. यहोवाले येशूलाई कहिले र कहाँ सिकाउनुभयो?

४ आफूले सबै कुरा बुबाबाट सिकेको हो भनेर येशूले स्पष्टै बताउनुभयो। पृथ्वीमा हुँदा येशूले यसो भन्‍नुभयो: “बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु।” (यूह. ८:२८) यहोवाले येशूलाई कहिले र कहाँ सिकाउनुभयो? परमेश्‍वरले येशूलाई अर्थात्‌ आफ्नो जेठो सन्तानलाई सृष्टि गर्नुभएको समयदेखि नै सिकाउन थाल्नुभयो। (कल. १:१५) येशूले आफ्नो बुबासँगै स्वर्गमा अनगिन्ती समय बिताउनुभएको थियो। त्यस दौडान उहाँले महान्‌ गुरु यहोवाको कुरा सुन्‍ने र उहाँका तौरतरिका नियाल्ने मौका पाउनुभयो। (यशै. ३०:२०) येशूले आफ्नो बुबाबाट उहाँको गुण, काम र उद्देश्‍यबारे जे-जति तालिम पाउनुभयो, त्यो अतुलनीय छ।

५. यहोवाले आफ्नो छोरालाई कस्तो तालिम दिनुभयो?

५ यहोवाले आफ्नो छोरालाई तिनले पृथ्वीमा गर्नुपर्ने सेवाको लागि उचित समयमा तालिम दिनुभयो। महान्‌ गुरु र उहाँको जेठो सन्तानबीचको सम्बन्धबारे वर्णन गरिएको एउटा भविष्यवाणी विचार गर्नुहोस्‌। (यशैया ५०:४, ५ पढ्‌नुहोस्‌) यशैयाको यो भविष्यवाणीमा बताइएअनुसार यहोवाले आफ्नो छोरालाई “बिहानैपिच्छे” जगाउनुहुन्छ। उक्‍त भविष्यवाणी पढ्‌दा शिक्षकले आफ्नो विद्यार्थीलाई सिकाउन हरेक बिहान तिनलाई जगाएको कल्पना गर्न सक्छौं। बाइबलसम्बन्धी एउटा किताबमा यस्तो लेखिएको छ: “शिक्षकले आफ्नो विद्यार्थीलाई स्कुलमा लगेझैं यहोवाले येशूलाई पनि स्कुलमा लैजानुहुन्छ र के विषयमा कसरी प्रचार गर्ने भनेर सिकाउनुहुन्छ।” स्वर्गको त्यस “स्कुलमा” यहोवाले आफ्नो छोरालाई “के भन्‍ने र के सिकाउने” भन्‍ने विषयमा तालिम दिनुभयो। (यूह. १२:४९) बुबाले आफ्नो छोरालाई कसरी सिकाउने भनेर पनि तालिम दिनुभयो।a पृथ्वीमा छँदा येशूले प्रचार गर्ने आफ्नो जिम्मेवारी पूरा गरेर मात्र होइन तर आफ्ना चेलाहरूलाई पनि प्रचार गर्न सिकाएर आफूले पाएको तालिमको पूरा सदुपयोग गर्नुभयो।

६, ७. (क) येशूले आफ्ना प्रेषितहरूलाई के तालिम दिनुभयो? यस्तो तालिम पाएकोले तिनीहरू के गर्न सुसज्जित भए? (ख) अहिले हाम्रो समयमा येशूले कस्ता तालिमहरूको प्रबन्ध मिलाउनुभएको छ?

६ सुरुका अनुच्छेदहरूमा चर्चा गरिएझैं येशूले आफ्ना प्रेषितहरूलाई कस्तो तालिम दिनुभयो? मत्ती अध्याय १० अनुसार उहाँले तिनीहरूलाई प्रचारसम्बन्धी खास निर्देशनहरू दिनुभयो। जस्तै: कहाँ प्रचार गर्ने (पद ५, ६), के विषयमा प्रचार गर्ने (पद ७), यहोवामा किन भर पर्ने (पद ९, १०), घरधनीसित कसरी कुरा गर्ने (पद ११-१३), मानिसहरूले कुरा नसुन्दा के गर्ने (पद १४, १५) र विरोधको सामना गर्नुपर्दा के गर्ने (पद १६-२३)।b येशूबाट तालिम पाएको कारण नै प्रेषितहरूले इस्वी संवत्‌ प्रथम शताब्दीमा प्रचारकार्यलाई अघि बढाउन सके।

७ आज हाम्रो समयमा नि? परमेश्‍वरको राज्यको राजा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ। त्यो हो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” गर्ने। (मत्ती २४:१४) यो गहन जिम्मेवारी पूरा गर्न के राजाले हामीलाई तालिम दिनुभएको छ? अवश्‍य छ! हामीले मानिसहरूलाई राम्ररी प्रचार गर्न सकोस्‌ अनि मण्डलीभित्र पनि विभिन्‍न जिम्मेवारी राम्ररी सम्हाल्न सकोस्‌ भनेर राजा येशू ख्रीष्टले स्वर्गबाट विभिन्‍न तालिमहरूको प्रबन्ध मिलाउनुभएको छ।

प्रचारक बन्‍न तालिम

८, ९. (क) ईश्‍वरतान्त्रिक सेवा स्कुलको मुख्य उद्देश्‍य के थियो? (ख) प्रचारको काममा अझ प्रभावकारी हुन मध्यहप्ताको सभाबाट तपाईंले कस्तो मदत पाउनुभएको छ?

८ यहोवाको सङ्‌गठनले सम्मेलन, अधिवेशन र सेवा सभाजस्ता मण्डलीका सभाहरू मार्फत साँचो ख्रीष्टियनहरूलाई प्रचारकार्यको लागि तालिम दिंदै आएको धेरै भइसक्यो। सन्‌ १९४० को दशकदेखि मुख्यालयमा अगुवाइ लिइरहेका भाइहरूले तालिम दिन विभिन्‍न स्कुलहरूको प्रबन्ध मिलाएका छन्‌।

९ ईश्‍वरतान्त्रिक सेवा स्कुल। यो स्कुल सन्‌ १९४३ मा सुरु भयो भनेर हामीले अघिल्लो अध्यायमा पढेका थियौं। यस स्कुलको उद्देश्‍य विद्यार्थीहरूलाई मण्डलीमा राम्रो भाषण दिन सिकाउनु मात्र थिएन। यस स्कुलको मुख्य उद्देश्‍य भनेको परमेश्‍वरका जनहरूलाई बोल्नमा सिपालु बनाएर प्रचारको काममा पठाउनु अनि आफ्नो बोलीद्वारा यहोवाको प्रशंसा गर्न मदत गर्नु थियो। (भज. १५०:६) ईश्‍वरतान्त्रिक स्कुलका सबै विद्यार्थी भाइबहिनीले प्रभावकारी प्रचारक बन्‍ने तालिम पाउँथे। अहिले मध्यहप्ताको सभाद्वारा यस्तो तालिम दिइन्छ।

१०, ११. गिलियड स्कुलमा अहिले क-कसले भाग लिन सक्छन्‌? गिलियड स्कुलको उद्देश्‍य के हो?

१० गिलियड स्कुल। गिलियड स्कुलको पूरा नाम अङ्‌ग्रेजीमा वाचटावर बाइबल स्कुल अफ गिलियड हो। यो स्कुल सोमबार, फेब्रुअरी १, १९४३ मा सुरु भयो। स्कुलको उद्देश्‍य अग्रगामी र अन्य पूर्ण-समय सेवकहरूलाई संसारको जुनसुकै भागमा गएर मिसनरी सेवा गर्न तालिम दिनु थियो। तर सन्‌ २०११ को अक्टोबर महिनादेखि गिलियड स्कुलको उद्देश्‍यमा केही परिवर्तन गरियो। अबदेखि विशेष पूर्ण-समय सेवामा लागिरहेका ख्रीष्टियनहरूलाई मात्र गिलियड स्कुलमा बोलाइनेछ। जस्तै: गिलियड स्कुलको तालिम नपाएका मिसनरी, विशेष अग्रगामी, परिभ्रमण निरीक्षक वा बेथेल सेवक।

११ गिलियड स्कुलको उद्देश्‍य के हो? लामो समयदेखि यस स्कुलमा शिक्षकको रूपमा सेवा गरेका एक जना भाइ यसो भन्छन्‌: “बाइबलको गहिरो अध्ययनद्वारा विद्यार्थीहरूको विश्‍वासलाई अझै दह्रो बनाउने। अनि आफ्नो असाइनमेन्टमा आइपर्न सक्ने चुनौतीहरूको सामना गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न विद्यार्थीहरूलाई मदत गर्ने। साथै गिलियड स्कुल अर्को एउटा मुख्य उद्देश्‍य भनेको विद्यार्थीहरूको मनमा प्रचारको काम गर्ने तीव्र इच्छा जगाउनु हो।”—एफि. ४:११.

१२, १३. गिलियड स्कुलले विश्‍वव्यापी प्रचारकार्यमा कसरी सघाउ पुऱ्‍याएको छ? उदाहरण दिनुहोस्‌।

१२ गिलियड स्कुलले विश्‍वव्यापी प्रचारकार्यमा कसरी सघाउ पुऱ्‍याएको छ? सन्‌ १९४३ यता ८,५०० भन्दा धेरै भाइबहिनीले यस स्कुलबाट तालिम पाइसकेका छन्‌।c अनि गिलियड स्नातकहरूले संसारभरि १७० भन्दा धेरै देशमा मिसनरी सेवा गरिरहेका छन्‌। प्रचारकार्यमा जोसिलो भई असल उदाहरण बसालेर र अरूलाई पनि जोसिलो हुन मदत गरेर मिसनरीहरूले स्कुलमा सिकेको कुरा लागू गरिरहेका छन्‌। मिसनरीहरूले मुठीभर प्रकाशकहरू भएका थुप्रै ठाउँमा प्रचारकार्यलाई अघि बढाएका छन्‌।

१३ जापानमा के भयो, विचार गर्नुहोस्‌। जापानमा दोस्रो विश्‍वयुद्धको बेला सार्वजनिक प्रचारकार्य ठप्पै भएको थियो। सन्‌ १९४९ अगस्त महिनामा त्यहाँ प्रकाशकहरू १० जना पनि थिएनन्‌। तर त्यस वर्षको अन्तमा गिलियडबाट तालिम पाएका १३ जना मिसनरीहरूलाई त्यहाँ पठाइयो। त्यसपछि अरू थुप्रै मिसनरीहरू आए। सुरु-सुरुमा मिसनरीहरूले ठूलठूला सहरहरूमा प्रचार गरे। त्यसपछि तिनीहरू अन्य सहरहरूमा सरे। मिसनरीहरूले आफ्ना बाइबल विद्यार्थी र अरूलाई पनि अग्रगामी सेवा सुरु गर्न प्रोत्साहन दिए। मिसनरीहरूको जोसिलो सेवाले गर्दा धेरै प्रगति भयो। अहिले जापानमा २,१६,००० जना भन्दा धेरै प्रकाशक छन्‌ र तिनीहरूमध्ये झन्डै ४० प्रतिशतले अग्रगामी सेवा गर्दैछन्‌!d

१४. ईश्‍वरतान्त्रिक स्कुलहरूले के कुराको प्रमाण दिन्छ? (पृष्ठ १८८ मा भएको “राज्य सेवकहरूलाई तालिम दिने स्कुलहरू” शीर्षकको पेटी पनि हेर्नुहोस्‌।)

१४ अन्य ईश्‍वरतान्त्रिक स्कुलहरू। अग्रगामी सेवा स्कुल, ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल र अविवाहित भाइहरूका लागि बाइबल स्कुलमा भाग लिएकाहरूले परमेश्‍वरसितको सम्बन्धलाई अझ मजबुत बनाउन र जोसिलो भई प्रचारकार्यमा अगुवाइ लिन मदत पाएका छन्‌।e आफ्ना चेलाहरूलाई प्रचारको काम राम्ररी पूरा गर्न राजा येशूले मदत गर्नुभएको छ भन्‍ने कुराको एउटा सशक्‍त प्रमाण यी स्कुलहरू हुन्‌।—२ तिमो. ४:५.

भाइहरूलाई विशेष जिम्मेवारी सम्हाल्न तालिम

१५. जिम्मेवारी सम्हालिरहेका भाइहरू कसरी येशूको अनुकरण गर्न चाहन्छन्‌?

१५ हामीले अनुच्छेद ५ मा छलफल गरेको यशैयाको त्यो भविष्यवाणी सम्झनुहोस्‌। स्वर्गको “स्कुलमा” छोराले “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो” भनेर सिकेका थिए। (यशै. ५०:४) येशूले आफूले सिकेको कुरा व्यवहारमा लागू गर्नुभयो। पृथ्वीमा हुनुहुँदा उहाँले “कठोर श्रमले थाकेका र भारले दबिएका सबै”-लाई स्फूर्ति दिनुभयो। (मत्ती ११:२८-३०) मण्डलीका जिम्मेवार भाइहरू पनि येशूको अनुकरण गर्दै आफ्ना भाइबहिनीलाई स्फूर्ति दिन चाहन्छन्‌। भाइहरूलाई मदत गर्न विभिन्‍न स्कुलहरूको प्रबन्ध मिलाइएको छ। यी स्कुलहरूबाट पाएको तालिमले गर्दा भाइहरूले प्रभावकारी ढङ्‌गमा सङ्‌गी उपासकहरूलाई मदत गर्न सकेका छन्‌।

१६, १७. राज्य सेवा स्कुलको उद्देश्‍य के हो? (फुटनोट पनि हेर्नुहोस्‌।)

१६ राज्य सेवा स्कुल। यस स्कुलको पहिलो कक्षा मार्च ९, १९५९ का दिन न्यु योर्क राज्यको साउथ लान्सिङमा सुरु भयो। एक महिना लामो कोर्स भएको यो स्कुलमा परिभ्रमण निरीक्षकहरू र मण्डलीका एल्डरहरूलाई बोलाइन्थ्यो। पछि, यस स्कुलमा प्रयोग गरिने पाठ्यसामग्री अङ्‌ग्रेजी भाषाबाट अन्य भाषामा पनि अनुवाद गरियो। अनि बिस्तारै संसारको अन्य भागमा पनि यो स्कुल सञ्चालन हुन थाल्यो।f

जापानमा राज्य सेवा स्कुलमा सिकाउँदै भाइ लोइड ब्यारी, १९७०

जापानमा राज्य सेवा स्कुलमा सिकाउँदै भाइ लोइड ब्यारी, १९७०

१७ राज्य सेवा स्कुलको उद्देश्‍यबारे यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९६२ मा यसो भनिएको थियो: “अहिले संसारमा सबै जना व्यस्त छन्‌। त्यसैले मण्डलीको निरीक्षण गर्ने जिम्मेवारी पाएका भाइहरूले आफ्नो काम र मण्डलीको जिम्मेवारीबीच सन्तुलन कायम राख्न सक्नुपर्छ। यसो गर्दा तिनले मण्डलीका सबैलाई उचित ध्यान दिन सक्नेछन्‌ र तिनीहरूको लागि आशिष्‌ साबित हुनेछन्‌। तर अर्कोतर्फ मण्डलीको काम भन्दै आफ्नो पारिवारिक जिम्मेवारीलाई तिनले पन्छाउन मिल्दैन। तिनले सुझबुझ चलाउनुपर्छ। संसारभरिका मण्डलीमा जिम्मेवारी सम्हालिरहेका भाइहरूले राज्य सेवा स्कुलबाट तालिम पाउने राम्रो मौका पाएका छन्‌। यस स्कुलले तिनीहरूलाई बाइबलमा भनिएअनुसार निरीक्षकको काम पूरा गर्न मदत गर्छ।”—१ तिमो. ३:१-७; ती. १:५-९.

१८. परमेश्‍वरका सबै सेवकले कसरी राज्य सेवा स्कुलबाट लाभ उठाउँछन्‌?

१८ राज्य सेवा स्कुलबाट एल्डर अनि सहायक सेवकहरूले मात्र होइन मण्डलीका सबै सदस्यले लाभ उठाउँछन्‌। कसरी? एल्डर तथा सहायक सेवकहरूले स्कुलमा सिकेको कुरा व्यवहारमा लागू गर्दा तिनीहरू पनि येशू जस्तै स्फूर्तिको स्रोत बन्छन्‌। मायालु एल्डर र सहायक सेवकहरू तपाईंसँग मीठो वचन बोल्छन्‌, तपाईंको कुरा ध्यान दिएर सुन्छन्‌ र प्रोत्साहन दिन तपाईंलाई भेट्‌न आउँछन्‌। (१ थिस्स. ५:११) के तपाईं यी कुराहरूको मोल गर्नुहुन्‍न र? यस्ता योग्य भाइहरू हाम्रो लागि साँच्चै आशिष्‌ हुन्‌!

१९. शिक्षण समितिले अन्य कुन स्कुलहरूको सुपरिवेक्षण गर्छ? ती स्कुलहरूको उद्देश्‍य के हो?

१९ अन्य ईश्‍वरतान्त्रिक स्कुलहरू। परिचालक निकायको शिक्षण समितिले जिम्मेवार भाइहरूको लागि सञ्चालन गरिने अन्य स्कुलहरूको पनि सुपरिवेक्षण गर्छ। यी स्कुलहरूले मण्डलीका एल्डरहरू, परिभ्रमण निरीक्षकहरू र शाखा समितिका भाइहरूलाई विभिन्‍न जिम्मेवारी सम्हाल्न अझ दक्ष बनाउँछ। बाइबलआधारित तालिमबाट भाइहरूले आफ्नो आध्यात्मिकतामा ध्यान दिन र आफ्नो जिम्मामा यहोवाले सुम्पनुभएको बगालसित व्यवहार गर्दा बाइबलका सिद्धान्तहरू लागू गर्न प्रोत्साहन पाउँछन्‌।—१ पत्रु. ५:१-३.

मलावीमा मिनिस्टेरियल ट्रेनिङ स्कुलको पहिलो कक्षा

मलावीमा मिनिस्टेरियल ट्रेनिङ स्कुलको पहिलो कक्षा, २००७

२०. येशूले किन हामी “सबै यहोवाबाट सिकाइएका” हौं भन्‍न सक्नुभयो? तपाईंले के गर्ने अठोट गर्नुभएको छ?

२० मसीही राजा येशू ख्रीष्टले आफ्ना चेलाहरूले राम्रो तालिम पाऊन्‌ भनेर आवश्‍यक प्रबन्ध मिलाउनुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। सबै तालिमको स्रोत यहोवा नै हुनुहुन्छ। उहाँले आफ्नो छोरा येशूलाई सिकाउनुभयो र छोराले आफ्ना चेलाहरूलाई। त्यसैले त येशूले हामी “सबै यहोवाबाट सिकाइएका” हौं भन्‍न सक्नुभयो। (यूह. ६:४५; यशै. ५४:१३) हाम्रो राजा येशूले गर्नुभएका प्रबन्धहरू, चाहे ईश्‍वरतान्त्रिक सेवा स्कुल होस्‌ वा मण्डलीको कुनै सभा वा यस अध्यायमा छलफल गरिएको अन्य कुनै स्कुल होस्‌, ती सबैबाट पूरापूर फाइदा उठाऔं। अनि यी सबै तालिमको मुख्य उद्देश्‍य सेवाको काम राम्ररी पूरा गर्नको लागि हाम्रो आध्यात्मिकतालाई बलियो बनाउनु हो भनेर नबिर्सौं।

a यहोवाले आफ्नो छोरा येशूलाई कसरी सिकाउने भनेर तालिम दिनुभयो भनेर हामी किन भन्‍न सक्छौं? यो कुरा विचार गर्नुहोस्‌: येशू थुप्रै उदाहरण चलाएर सिकाउनुहुन्थ्यो। वास्तवमा भन्‍नुपर्दा यसबारे उहाँ जन्मनुभन्दा धेरैअघि नै भविष्यवाणी गरिएको थियो। (भज. ७८:२; मत्ती १३:३४, ३५) स्पष्ट छ, यहोवाले धेरैअघि नै आफ्नो छोराले उदाहरण र उखानहरू चलाएर सिकाउनेछन्‌ भनेर निश्‍चय गरिसक्नुभएको थियो।—२ तिमो. ३:१६, १७.

b केही महिनापछि येशूले प्रचारकार्यको लागि “अरू सत्तरी जना चेला चुन्‍नुभयो र . . . दुई-दुई गरी” पठाउनुभयो। उहाँले तिनीहरूलाई तालिम पनि दिनुभयो।—लूका १०:१-१६.

c गिलियड स्कुलमा एकचोटि भन्दा धेरै जाने विद्यार्थीहरू पनि छन्‌।

d गिलियड स्कुलका स्नातकहरूले गर्दा भएको उन्‍नतिबारे थप जानकारीको लागि अङ्‌ग्रेजी भाषामा प्रकाशित यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू किताबको अध्याय २३ हेर्नुहोस्‌।

e ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल र अविवाहित भाइहरूका लागि बाइबल स्कुललाई गाभेर राज्य प्रचारकहरूका लागि स्कुल सुरु गरिएको छ।

f केही वर्षको फरकमा हुने राज्य सेवा स्कुलबाट सबै एल्डरहरूले फाइदा उठाउन सक्छन्‌। हालैका वर्षमा यो स्कुलको समयावधि फरक-फरक हुने गरेको छ। सन्‌ १९८४ देखि यस स्कुलमा सहायक सेवकहरूलाई पनि तालिम दिन थालियो।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • येशूले आफ्नो बुबाबाट कस्तो तालिम पाउनुभयो?

  • राजाले आफ्ना चेलाहरूलाई प्रचारक बन्‍न कसरी तालिम दिनुभएको छ?

  • जिम्मेवारी सम्हाल्नको लागि भाइहरूले कस्तो तालिम पाएका छन्‌?

  • राजा येशू ख्रीष्टले प्रबन्ध मिलाउनुभएका तालिमहरूको मोल गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

राज्य सेवकहरूलाई तालिम दिने स्कुलहरू

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य

उद्देश्‍य: प्रकाशकहरूलाई प्रभावकारी प्रचारक र शिक्षक बन्‍न मदत गर्ने।

समयावधि: यो स्कुल निरन्तर चलिरहन्छ।

स्थान: स्थानीय राज्यभवन।

कसरी भाग लिने: मण्डलीसित नियमित तवरले सङ्‌गत गरिरहेका, बाइबल शिक्षा अनि ख्रीष्टियन सिद्धान्तअनुसार जीवन बिताइरहेका सबैले यो स्कुलमा भाग लिन सक्छन्‌। यसमा भाग लिन जीवन र प्रचारकार्य सभाको निरीक्षकसित कुरा गर्नुहोस्‌।

फाइदा: मध्यहप्ताको सभाले हामीलाई अनुसन्धान गर्न अनि तार्किक ढङ्‌गमा कुराकानी गर्न सिकाएको छ। साथै अरूको कुरा सुन्‍नुपर्छ अनि आफ्नो मात्र होइन तर अरूहरूको आध्यात्मिक उन्‍नतिको पनि ख्याल राख्नुपर्छ भनेर हामीले सिकेका छौं।

क्षेत्रीय निरीक्षकको काम गरेर धेरै लामो अनुभव बटुलिसकेका भाइ आर्नी यस्तो टिप्पणी गर्छन्‌: “म सानैदेखि भकभके थिएँ अनि कसैसित आँखा जुधाएर बोल्न सक्दिनथें। तर यो [सभाले] गर्दा मेरो आत्म-विश्‍वास बढ्यो। यसबाट पाएको तालिमले गर्दा मैले अहिले नभकभकाई बोल्न सकेको छु। मण्डलीमा र प्रचारको काममा यहोवाको प्रशंसा गर्न सकेकोमा म असाध्यै खुसी छु।”

ईश्‍वरतान्त्रिक सेवा स्कुलमा बाइबल पढ्‌दै गरेका सानो उमेरका भाइ

मण्डलीका एल्डरहरूका लागि स्कुलg

उद्देश्‍य: मण्डलीका जिम्मेवारीहरू राम्ररी सम्हाल्न र परमेश्‍वरसित बलियो सम्बन्ध राख्न एल्डरहरूलाई मदत गर्ने।

समयावधि: पाँच दिन।

स्थान: शाखा कार्यालयले तोकेको स्थान; प्रायः राज्यभवन वा सम्मेलन भवन।

कसरी भाग लिने: शाखा कार्यालयले एल्डरहरूलाई निम्तो दिन्छ।

फाइदा: अमेरिकामा न्यु योर्कको प्याटर्सनमा भएको ९२ औं कक्षामा भाग लिनेमध्ये केहीको टिप्पणी:

“आफूलाई जाँच्ने अनि यहोवाका भेडाहरूको कसरी हेरचाह गर्ने भन्‍नेबारे थुप्रै कुरा सिकें।”

“यस तालिमबाट सिकेको कुरा म जिन्दगीभर लागू गर्नेछु।”

अग्रगामी सेवा स्कुल

उद्देश्‍य: ‘सेवाको काम राम्ररी पूरा गर्न’ अग्रगामीहरूलाई मदत गर्ने।—२ तिमो. ४:५.

समयावधि: छ दिन।

स्थान: शाखा कार्यालयले तोकेको स्थान; प्रायः राज्यभवन।

कसरी भाग लिने: कम्तीमा एक वर्ष नियमित अग्रगामी सेवा गरेको भाइ वा बहिनीले यो स्कुलको निम्तो पाउँछन्‌। निम्तो पाउनेहरूलाई क्षेत्रीय निरीक्षकले खबर गर्छन्‌। अग्रगामी स्कुलबाट तालिम लिएको पाँच वर्षभन्दा धेरै भइसकेका अग्रगामीहरूले दोस्रो पटक निम्तो पाउँछन्‌।

फाइदा: “यस स्कुलले मलाई अग्रगामी सेवा अनि जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न मदत गरेको छ। म पहिले भन्दा अध्ययन गर्न, सिकाउन अनि बाइबल चलाउन सिपालु भएको छु। मलाई आफू मण्डली भित्र अनि बाहिरका मानिसहरूलाई मदत गर्न अनि एल्डरहरूलाई सहयोग गर्न सक्ने भइसकेको छु जस्तो लाग्छ। यसबाहेक मण्डलीको उत्थान गर्न केही योगदान दिइरहेकी छु भन्‍ने मलाई लाग्छ।”—लिली।

यस स्कुलमा दुई पटक भाग लिइसकेकी ब्रेन्डा भन्छिन्‌: “यस स्कुलबाट पाएको तालिमले गर्दा मैले यहोवाको सेवामा पूरा ध्यान दिन सकेको, अन्तस्करण बलियो भएको अनि अरूलाई मदत गर्न पहिलेभन्दा जोड दिन सकेको छु जस्तो लाग्छ। यहोवा हामीलाई कत्ति धेरै कुरा सिकाउनुहुन्छ!”

नयाँ बेथेल सेवकका लागि स्कुल

उद्देश्‍य: बेथेलमा सेवा गर्न आएका नयाँ भाइबहिनीलाई बेथेल सेवासित परिचित गराउने

समयावधि: चार दिन। प्रत्येक दिन ४ घण्टा

स्थान: बेथेल।

कसरी भाग लिने: बेथेल परिवारको स्थायी सदस्यले वा एक वर्ष वा सोभन्दा धेरै समयको लागि बेथेलमा सेवा गर्ने अनुमति पाएको अस्थायी स्वयम्‌सेवकले यो स्कुलबाट निम्तो पाउँछन्‌।

फाइदा: सन्‌ १९८० को दशकमा यस स्कुलमा भाग लिएका डेमीट्रियस यसो भन्छन्‌: “यो स्कुलमा गएपछि मैले अध्ययन गर्ने राम्रो बानी बसाल्न सकें अनि लामो समयसम्म बेथेलमा सेवा गर्न आफूलाई तयार बनाउन सकें। स्कुलका निरीक्षकहरू, पाठ्यसामग्री अनि व्यावहारिक सर-सल्लाहबाट मैले यहोवाको मायालु चासो महसुस गरें र म बेथेल सेवामा सफल भएको यहोवा चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सकें।”

राज्य प्रचारकहरूका लागि स्कुलh

उद्देश्‍य: पूर्ण-समय सेवकहरूलाई (विवाहित दम्पती, अविवाहित भाइ र बहिनी) यहोवाको सङ्‌गठनमा थप जिम्मेवारी बहन गर्न विशेष तालिम दिने। यो स्कुलबाट स्नातक हासिल गरेका धेरैजसो विद्यार्थीलाई उनीहरूको आफ्नै देशमा आवश्‍यकता धेरै भएको ठाउँमा खटाइन्छ। पचास वर्षमुनिका स्नातकलाई भने अस्थायी विशेष अग्रगामी नियुक्‍त गरेर विकट अनि पृथक क्षेत्रमा गएर प्रचार गर्न खटाइन सक्छ।

समयावधि: दुई महिना।

स्थान: शाखा कार्यालयले तोकेको स्थान; प्रायः राज्यभवन वा सम्मेलन भवन।

प्रचारकार्यमा भाग लिइरहेकी बहिनी

भाइबहिनीहरूले ईश्‍वरतान्त्रिक प्रशिक्षणबाट लाभ उठाएका छन्‌

कसरी भाग लिने: २३ देखि ६५ वर्षबीचका पूर्ण-समय सेवकहरूले आवेदन फाराम भर्न सक्छन्‌। तिनीहरू स्वस्थ अनि आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न सक्ने अवस्थामा हुनुपर्छ। साथै तिनीहरूको मनोवृत्ति यशैयाको जस्तै हुनुपर्छ जसले “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भनेका थिए। (यशै. ६:८) स्कुलमा भाग लिन चाहने अविवाहित भाइ, बहिनी तथा दम्पतीहरूले कम्तीमा दुई वर्ष नटुटाई पूर्ण-समय सेवा गरेको हुनुपर्छ। दम्पतीहरूले विवाह गरेको कम्तीमा दुई वर्ष भइसकेको हुनुपर्छ। अनि भाइहरूले सहायक सेवक वा एल्डरको रूपमा लगातार सेवा गरेको दुई वर्ष भइसकेको हुनुपर्छ। यदि तपाईंको देश वा इलाकाको जिम्मा लिने शाखा कार्यालयले यो स्कुल सञ्चालन गर्ने योजना बनाएको छ भने अधिवेशनमा त्यससम्बन्धी सभा हुन्छ र इच्छुकहरूले त्यस सभामा उपस्थित भएर आवेदन फाराम लिन सक्छन्‌।

फाइदा: अविवाहित भाइहरूका लागि बाइबल स्कुल र ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल गएका थुप्रै विद्यार्थीले स्कुलबाट सिकेका कुराबारे राम्रा-राम्रा टिप्पणी गरेका छन्‌। सन्‌ २०१३ मा परिचालक निकायले यी दुईवटा स्कुललाई गाभेर एउटा स्कुल बनायो। त्यसको नाम हो, राज्य प्रचारकहरूका लागि स्कुल। अबदेखि यो स्कुलबाट अविवाहित बहिनीहरूले पनि लाभ उठाउन सक्नेछन्‌।

गिलियड स्कुल

उद्देश्‍य: यो स्कुलबाट तालिम पाएका विद्यार्थीहरूलाई परिभ्रमण निरीक्षक, मिसनरी वा बेथेल सेवकको रूपमा नियुक्‍त गर्ने। विद्यार्थीहरूलाई आफूले स्कुलमा सिकेको कुरा लागू गरेर प्रचारको काम अथवा शाखा कार्यालयमा दिइएको जिम्मेवारी अझ राम्ररी पूरा गर्न मदत गर्ने।

समयावधि: पाँच महिना।

स्थान: वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु योर्क, अमेरिका।

गिलियड स्कुलमा प्रशिक्षकलाई ध्यान दिएर सुनिरहेका विद्यार्थीहरू

गिलियड स्कुल—प्याटर्सन, न्यु योर्क

कसरी भाग लिने: विशेष पूर्ण-समय सेवा गरिरहेका विवाहित दम्पती, अविवाहित भाइ अनि बहिनीले यो स्कुलको निम्तो पाउँछन्‌। गिलियड स्कुलबाट तालिम नलिई मिसनरी सेवा गरिरहेका भाइबहिनी, विशेष अग्रगामी, परिभ्रमण निरीक्षक र बेथेल सेवकले पनि आफ्नो देशको शाखा समितिबाट आवेदन फाराम भर्न निम्तो पाउन सक्छन्‌। आवेदकहरू अङ्‌ग्रेजी बोल्न, पढ्‌न अनि लेख्न सक्ने हुनुपर्छ।

फाइदा: लेड र मोनिक नाम गरेका अमेरिकी दम्पतीले नयाँ ठाउँमा गएर सेवा गरिरहेको केही वर्ष भइसक्यो। आफूले पाएको तालिमबारे तिनीहरू यसो भन्छन्‌:

लेड: “गिलियड स्कुलको तालिमले गर्दा हामी संसारको जुनसुकै ठाउँमा गएर हाम्रा प्रिय भाइबहिनीहरूसित सेवा गर्न तयार भएका छौं।”

मोनिक: “मैले गिलियड स्कुल गएर परमेश्‍वरको वचन अझ राम्ररी लागू गर्न सिकें। त्यसले गर्दा आफूलाई खटाइएको जुनसुकै ठाउँमा आनन्दित भएर सेवा गर्न सकेकी छु। यसरी आनन्दित हुन सक्नु यहोवाले गर्नुहुने मायाको प्रमाण हो भनेर पनि मैले बुझ्न सकें।”

राज्य सेवा स्कुल

उद्देश्‍य: मण्डलीका भाइबहिनीलाई डोऱ्‍याउन अनि सङ्‌गठनका जिम्मेवारीहरू राम्ररी पूरा गर्न परिभ्रमण निरीक्षक, एल्डर अनि सहायक सेवकलाई मदत गर्ने। (प्रेषि. २०:२८) स्कुलमा मण्डलीको अवस्था अनि आवश्‍यकताहरूबारे छलफल गरिन्छ। यो स्कुल परिचालक निकायको निर्णयअनुसार केही वर्षको फरकमा हुने गर्छ।

समयावधि: हालैका वर्षमा यो स्कुलको समयावधि फरक-फरक हुने गरेको छ।

स्थान: प्रायः राज्यभवन वा सम्मेलन भवन।

कसरी भाग लिने: क्षेत्रीय निरीक्षकले एल्डर र सहायक सेवकहरूलाई निम्तो दिन्छन्‌। परिभ्रमण निरीक्षकलाई शाखा कार्यालयले निम्तो दिन्छ।

फाइदा: “स्कुल छोटो हुने भएकोले एल्डरहरूले थोरै समयमा धेरै कुरा सिक्नुपर्ने हुन्छ। तर यो स्कुलले एल्डरहरूलाई आनन्दित भएर यहोवाको सेवा गर्न र अटल अनि निडर भएर मण्डलीको सक्रिय नेतृत्व लिन मदत गर्छ। यसबाहेक चाहे भर्खरै नियुक्‍त भएको एल्डर होस्‌ वा अनुभवी, यो स्कुलले तिनीहरूलाई अझ प्रभावकारी गोठालो बन्‍न र सबै एल्डरहरूलाई एउटै विचारधारा कायम राख्न सिकाउँछ।”—क्वीन।

“मैले यो स्कुलबाट आफ्नो विश्‍वास बलियो बनाउन र खतराहरूबारे सजग हुन मदत पाएँ। साथै बगालको हेरचाह गर्न चाहिने व्यावहारिक सुझावहरू पनि पाएँ।”—माइकल।

परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीका लागि स्कुलi

उद्देश्‍य: परिभ्रमण निरीक्षकलाई अझ प्रभावकारी ढङ्‌गमा मण्डलीको रेखदेख गर्न अनि ‘बोल्ने र सिकाउने काममा’ दक्ष हुन मदत गर्ने।—१ तिमो. ५:१७; १ पत्रु. ५:२, ३.

समयावधि: एक महिना।

स्थान: शाखा कार्यालयले तोकेको स्थान।

कसरी भाग लिने: शाखा कार्यालयले परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीलाई निम्तो दिन्छ।

फाइदा: “येशूले नै हाम्रो सङ्‌गठनको नेतृत्व लिइरहनुभएको छ भन्‍ने कुरामा हामी पहिलेभन्दा झन्‌ विश्‍वस्त भयौं। मण्डलीको भ्रमण गर्दा भाइबहिनीलाई किन प्रोत्साहन दिनुपर्छ अनि हरेक मण्डलीको एकतालाई कसरी बलियो बनाइराख्नुपर्छ भन्‍ने विषयमा धेरै कुरा सिक्यौं। हुन त परिभ्रमण निरीक्षक भएपछि बेला-बेलामा सल्लाह दिनुपर्छ अनि कहिलेकाहीं अनुशासन पनि। तर हाम्रो मुख्य उद्देश्‍य यहोवाले धेरै माया गर्नुहुन्छ भनेर हाम्रो हरेक भाइबहिनीलाई महसुस गराउनु हो भनेर पनि हामीले सिक्यौं।”—जोएल र कनी, पहिलो कक्षा, अमेरिका, १९९९.

शाखा समितिका सदस्य र तिनीहरूका पत्नीका लागि स्कुल

उद्देश्‍य: शाखा समितिका सदस्यहरूले यो स्कुलबाट बेथेलको सुपरिवेक्षण गर्ने, आफ्नो निगरानीमा पर्ने देश वा इलाकाका मण्डलीहरूको आवश्‍यकता पूरा गर्ने, तिनीहरूको हेरविचार गर्ने र क्षेत्रको निरीक्षण गर्ने तालिम पाउँछन्‌।—लूका १२:४८ख.

समयावधि: दुई महिना।

स्थान: वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु योर्क, अमेरिका।

कसरी भाग लिने: परिचालक निकायको सेवा समितिले शाखा वा उपशाखा समितिका सदस्य र तिनकी पत्नीलाई निम्तो दिन्छ।

फाइदा: लोवेल र क्याराले यस स्कुलको २५ औं कक्षामा भाग लिएका थिए। तिनीहरू अहिले नाइजेरियामा सेवा गरिरहेका छन्‌।

लोवेल भन्छन्‌: “जत्ति नै व्यस्त भए पनि, जुनसुकै काम अह्राइए तापनि यहोवाको इच्छाअनुसार गऱ्‍यौं भने मात्र उहाँ खुसी हुनुहुन्छ भनेर यस स्कुलबाट सिकें।”

स्कुलबाट आफूले सिकेको कुराबारे क्यारा यसो भन्छिन्‌: “पहिला आफैले राम्ररी अध्ययन गरेको छ भने मात्र अरूलाई तिनीहरूले बुझ्ने गरी सजिलो तरिकामा बुझाउन सक्छु भनेर मैले सिकें।”

g अहिले यो स्कुल सबै देशमा सञ्चालन भएको छैन।

h अहिले यो स्कुल सबै देशमा सञ्चालन भएको छैन।

i अहिले यो स्कुल सबै देशमा सञ्चालन भएको छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने