प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 अक्टोबर pp. ८-१३
  • ‘अन्तको दिनको’ पनि अन्तिम समयमा व्यस्त भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘अन्तको दिनको’ पनि अन्तिम समयमा व्यस्त भइरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘अन्तको दिनको’ अन्तमा कस्ता घटनाहरू हुनेछन्‌?
  • प्रचारकार्यमा व्यस्त भइरहनुहोस्‌
  • चेला बनाउन प्रयास गरिरहनुहोस्‌
  • झूटो धर्मबाट पूर्णतया अलग रहनुहोस्‌
  • हामीले के सिक्यौँ?
  • “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 अक्टोबर pp. ८-१३

अध्ययन लेख ४०

‘अन्तको दिनको’ पनि अन्तिम समयमा व्यस्त भइरहनुहोस्‌

“अटल र स्थिर होओ, प्रभुको काममा सधैँ व्यस्त भइरहो।” —१ कोरि. १५:५८.

गीत ५८ शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!

परिचयa

१. हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनेर किन विश्‍वस्त छौँ?

के तपाईँ सन्‌ १९१४ पछि जन्मनुभयो? त्यसो हो भने तपाईँले आफ्नो पूरै जीवन यस युगको “अन्तको दिनमा” बिताउनुभएको छ। (२ तिमो. ३:१) येसुले यस समयमा हुने घटनाहरूबारे गर्नुभएको भविष्यवाणी हामीले सुनेका छौँ। जस्तै: युद्ध, अनिकाल, भूकम्प, महामारी, बढ्‌दो दुष्टता र यहोवाका जनहरूमाथि सतावट। (मत्ति २४:३, ७-९, १२; लुका २१:१०-१२) प्रेषित पावलले अन्तको समयका मानिसहरूको व्यवहारबारे गरेको भविष्यवाणी पूरा भइरहेको पनि हामीले देखेका छौँ। (“अहिले मानिसहरू कस्ता छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌) “आखिरी समयमा” बाँचिरहेका छौँ भनेर हामी यहोवा साक्षीहरू विश्‍वस्त छौँ।—मिका ४:१.

अहिले मानिसहरू कस्ता छन्‌?

“आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने अनि परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने।”—२ तिमो. ३:१-५.

२. हामीले कस्ता प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ?

२ सन्‌ १९१४ पछि धेरै समय बितिसकेकोले हामी पक्कै ‘अन्तको दिनको’ पनि अन्तिम समयमा बाँचिरहेका छौँ। अन्त एकदमै नजिक भएकोले हामीले केही महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउनु आवश्‍यक छ। जस्तै: ‘अन्तको दिनको’ अन्तमा कस्ता घटनाहरू हुनेछन्‌? ती घटना नहोउन्जेल हामीले के गरेको यहोवा चाहनुहुन्छ?

‘अन्तको दिनको’ अन्तमा कस्ता घटनाहरू हुनेछन्‌?

३. पहिलो थिस्सलोनिकी ५:१-३ मा गरिएको भविष्यवाणीअनुसार राष्ट्रहरूले कस्तो घोषणा गर्नेछन्‌?

३ पहिलो थिस्सलोनिकी ५:१-३ पढ्‌नुहोस्‌। पावलले “यहोवा परमेश्‍वरको दिन”-बारे उल्लेख गरे। यस पदमा बताइएको “यहोवा परमेश्‍वरको दिन”-ले “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍वसाम्राज्यमाथिको आक्रमणदेखि लिएर आरमागेडोनसम्मको समयावधिलाई बुझाउँछ। (प्रका. १६:१४, १६; १७:५) त्यो “दिन” सुरु हुनुअघि राष्ट्रहरूले “शान्ति र सुरक्षा” छाएको घोषणा गर्नेछन्‌। कहिलेकाहीँ विश्‍वनेताहरूले राष्ट्रहरूबीचको सम्बन्ध सुधार्ने विषयमा कुरा गर्दा यस्तै अभिव्यक्‍ति प्रयोग गर्छन्‌।b तर बाइबलमा उल्लेख गरिएको “शान्ति र सुरक्षा”-को घोषणा भने फरक हुनेछ। किन? किनभने त्यो घोषणा हुँदा विश्‍वनेताहरूले संसारलाई सुरक्षित बनाउन सफल भए भनेर मानिसहरूले सोच्नेछन्‌। तर वास्तवमा “महासङ्‌कष्ट”-मा तिनीहरूमाथि “एक्कासि विनाश” आइपर्नेछ।—मत्ति २४:२१.

कफी पसलमा ग्राहकहरू टिभीमा “शान्ति र सुरक्षा”-को घोषणा देखेर अचम्म मान्छन्‌ तर प्रचारकार्यको दौडान एकछिन कफी पिउन गएका साक्षी दम्पती भने बहकिँदैनन्‌

राष्ट्रहरूले गर्ने “शान्ति र सुरक्षा”-को घोषणा सुनेर नबहकिनुहोस्‌ (अनुच्छेद ३-६ हेर्नुहोस्‌)h

४. (क) “शान्ति र सुरक्षा”-को घोषणाबारे हामीलाई के थाह छैन? (ख) त्यसबारे हामीलाई के थाह छ?

४ हो, हामीलाई “शान्ति र सुरक्षा”-को घोषणासम्बन्धी केही कुरा थाह छ। तर त्यसबारे हामीलाई थाह नभएका कुराहरू पनि छन्‌। जस्तै: के-कस्ता कारणले नेताहरूले त्यो घोषणा गर्नेछन्‌ वा कसरी गर्नेछन्‌ भनेर हामीलाई थाह छैन। अनि त्यो एउटा मात्र घोषणा हुनेछ अथवा शृङ्‌खलाबद्ध रूपमा गरिने घोषणाहरू हुनेछन्‌ भनेर हामीलाई थाह छैन। तर जेहोस्‌ हामीलाई यो कुरा थाह छ, विश्‍वनेताहरूले साँच्चै विश्‍वशान्ति स्थापना गर्न सक्छन्‌ भन्‍ने बहकाउमा हामी पर्नु हुँदैन। बरु त्यो घोषणाबारे हामी चनाखो रहनुपर्छ भनेर बाइबलमा बताइएको छ। त्यो घोषणा “यहोवा परमेश्‍वरको दिन” सुरु हुनै लागेको सङ्‌केत हुनेछ!

५. “यहोवा परमेश्‍वरको दिन”-को लागि तयार रहन १ थिस्सलोनिकी ५:४-६ ले हामीलाई कसरी मदत गर्छ?

५ पहिलो थिस्सलोनिकी ५:४-६ पढ्‌नुहोस्‌। हामी “यहोवा परमेश्‍वरको दिन”-को लागि कसरी तयार रहन सक्छौँ भनेर पावलले बताएका छन्‌। ‘बाँकी अरू मानिसहरूजस्तै हामी निदाउनु हुँदैन।’ बरु हामी ‘जागा बस्नुपर्छ’ र सचेत रहनुपर्छ। उदाहरणको लागि, हामी संसारको राजनैतिक मामिलामा तटस्थ रहनुपर्छ र त्यसमा नमुछिन होसियार हुनुपर्छ। यदि त्यसमा मुछियौँ भने हामी ‘संसारका हुन’ पुग्छौँ। (युह. १५:१९) परमेश्‍वरको राज्यले मात्र विश्‍वशान्ति ल्याउन सक्छ भनेर हामीलाई थाह छ।

६. हामीले अरूलाई के गर्न मदत गर्नुपर्छ र किन?

६ आफू जागा रहनुको साथै हामीले अरूलाई पनि जागा रहन मदत गर्नु आवश्‍यक छ। पछि हुने घटनाको विषयमा बाइबलमा गरिएको भविष्यवाणीबारे हामी अरूलाई पनि बताउन चाहन्छौँ। मानिसहरूले महासङ्‌कष्ट सुरु भइसकेपछि यहोवाको उपासना गर्न थाल्दा निकै ढिलो भइसकेको हुनेछ भन्‍ने कुरा याद राखौँ। त्यसैले प्रचार गर्नु अहिले निकै जरुरी छ!c

प्रचारकार्यमा व्यस्त भइरहनुहोस्‌

एक जना व्यक्‍ति सार्वजनिक साक्षीकार्यमा एक दम्पतीबाट पर्चा स्विकार्छन्‌

परमेश्‍वरको राज्यले मात्र संसारलाई साँच्चै सुरक्षित बनाउन सक्छ भनेर हामी प्रचार गर्छौँ (अनुच्छेद ७-९ हेर्नुहोस्‌)

७. अहिले हामीले के गरेको यहोवा चाहनुहुन्छ?

७ “यहोवा परमेश्‍वरको दिन” सुरु हुन थोरै समय मात्र बाँकी छ। त्यसैले अहिले हामी प्रचारको काममा व्यस्त भएको उहाँ चाहनुहुन्छ। हो, हामी ‘प्रभुको काममा सधैँ व्यस्त भइरहनुपर्छ।’ (१ कोरि. १५:५८) अन्तको समयमा हामीले गर्ने कामबारे येसुले भविष्यवाणी गर्नुभएको थियो। अन्तको दिनमा घट्‌ने मुख्य घटनाहरूबारे बताउनुहुँदा उहाँले यसो पनि भन्‍नुभयो, “साथै सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।” (मर्कु. १३:४, ८, १०; मत्ति २४:१४) सोच्नुहोस्‌ त, हरेक पटक प्रचारकार्यमा भाग लिँदा तपाईँले त्यो भविष्यवाणी पूरा गर्न मदत गरिरहनुभएको हुन्छ!

८. राज्य प्रचारकार्य कसरी अघि बढिरहेको छ?

८ राज्य प्रचारकार्यमा भइरहेको वृद्धिबारे हामी के भन्‍न सक्छौँ? वर्षैपिच्छे अझ धेरै मानिसले राज्यको सुसमाचार सुन्दै छन्‌। उदाहरणको लागि, अन्तको दिनमा राज्य प्रकाशकहरूको सङ्‌ख्यामा संसारभरि भइरहेको वृद्धिबारे विचार गर्नुहोस्‌। सन्‌ १९१४ मा ४३ देशमा ५ हजार १ सय ५५ प्रकाशक थिए। अहिले २४० देशमा लगभग ८५ लाख प्रकाशक छन्‌! तैपनि हाम्रो काम अझै सकिएको छैन। परमेश्‍वरको राज्यले मात्रै मानिसजातिको सबै समस्याको समाधान गर्नेछ भन्‍ने सन्देश हामीले सुनाइरहनुपर्छ।—भज. १४५:११-१३.

९. हामीले किन राज्य सन्देश प्रचार गरिरहनुपर्छ?

९ राज्य प्रचारको काम यहोवाले पुग्यो नभन्‍नुभएसम्म चलिरहनेछ। यहोवा परमेश्‍वर र येसु ख्रिष्टबारे सिक्न मानिसहरूसित कति समय बाँकी छ? (युह. १७:३) त्यो त हामीलाई थाह छैन। तर महासङ्‌कष्ट सुरु नहोउन्जेलसम्म “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूसित अझै पनि सुसमाचार स्विकार्ने मौका छ भनेर हामीलाई थाह छ। (प्रेषि. १३:४८) ढिलो हुनुअघि नै हामी कसरी यी मानिसहरूलाई मदत गर्न सक्छौँ?

१०. मानिसहरूलाई सत्य सिकाउन यहोवाले हामीलाई कस्ता कुराहरू उपलब्ध गराउनुभएको छ?

१० मानिसहरूलाई सत्य सिकाउन चाहिने सबै कुरा यहोवाले आफ्नो सङ्‌गठनमार्फत हामीलाई उपलब्ध गराउनुभएको छ। उदाहरणको लागि, मध्यहप्ताको सभा-बाट हामी हरेक हप्ता तालिम पाउँछौँ। पहिलो भेट अनि पुनःभेटमा कसरी कुरा गर्न सकिन्छ भनेर हामी यस सभाबाट सिक्छौँ। साथै बाइबल अध्ययन कसरी गर्ने भनेर पनि यस सभाले सिकाउँछ। यहोवाको सङ्‌गठनले हामीलाई शिक्षण सामग्री पनि उपलब्ध गराएको छ। त्यसमा भएका सामग्रीहरूले हामीलाई निम्न कुराहरू गर्न मदत गर्छ:

  • कुराकानी सुरु गर्न,

  • मानिसहरूको चासो जगाउन,

  • मानिसहरूलाई बाइबलबारे अझै सिक्न उत्प्रेरित गर्न,

  • बाइबल अध्ययनमार्फत सत्य सिकाउन अनि

  • इच्छुक व्यक्‍तिहरूको ध्यान हाम्रो वेबसाइटतर्फ खिच्न र तिनीहरूलाई हाम्रो राज्यभवनमा आउन निम्तो दिन।

यी सामग्रीहरू हुनु मात्र पर्याप्त छैन, हामीले यसको प्रयोग पनि गर्नुपर्छ।d उदाहरणको लागि, चासो दिने व्यक्‍तिसँग राम्रो कुराकानी भएपछि तिनलाई पर्चा वा पत्रिका दिनुभयो भने तपाईँले अर्को पटक तिनलाई नभेटेसम्म तिनले त्यो प्रकाशन पढ्‌न सक्छन्‌। हरेक महिना राज्य प्रचारकार्यमा व्यस्त हुनु हामी प्रत्येकको जिम्मेवारी हो।

११. अनलाइन बाइबल अध्ययन पाठहरू किन तयार पारिएका हुन्‌?

११ यहोवाले मानिसहरूलाई सत्य सिक्न मदत गरिरहनुभएको अर्को माध्यम हो, jw.org® मा भएका अनलाइन बाइबल अध्ययन पाठहरू। यी पाठहरू किन तयार पारिएका हुन्‌? हरेक महिना हजारौँ मानिसहरू बाइबलको कुरा सिक्नको लागि इन्टरनेटमा खोजी गर्छन्‌। हाम्रो वेबसाइटमा भएका पाठहरूले मानिसहरूलाई परमेश्‍वरको वचनको सत्य सिक्न चासो जगाउँछ। हामीले भेट्‌ने कोही-कोही मानिसहरू बाइबल अध्ययनको प्रस्ताव स्विकार्न हिचकिचाउन सक्छन्‌। त्यस्ता मानिसहरूलाई हाम्रो वेबसाइटको यो भाग देखाउनुहोस्‌ अथवा तिनीहरूलाई यी पाठहरूको लिङ्‌क पठाउनुहोस्‌।e

१२. अनलाइन बाइबल अध्ययन पाठहरूबाट कस्ता कुरा सिक्न सकिन्छ?

१२ अनलाइन बाइबल अध्ययन पाठहरूमा यस्ता विषयहरू छलफल गरिएका छन्‌: “बाइबल र यसका ग्रन्थकार,” “बाइबलका मुख्य पात्रहरू,” र “बाइबलले दिने आशा।” यी विषयहरू अध्ययन गरेर यस्ता पाठहरू सिक्न सकिन्छ:

  • बाइबलको शिक्षाले मानिसहरूलाई कसरी मदत गर्न सक्छ?

  • यहोवा, येसु र स्वर्गदूतहरू को हुन्‌?

  • परमेश्‍वरले मानिसहरू किन सृष्टि गर्नुभयो?

  • दुष्टता र दुःख किन छ?

यी पाठहरूले यहोवाले कसरी निम्न कुराहरू गर्नुहुनेछ भनेर पनि सिकाउँछ:

  • दुःखकष्ट र मृत्यु हटाउनुहुनेछ

  • मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ अनि

  • असफल मानव सरकारहरूलाई हटाएर आफ्नो राज्य स्थापना गर्नुहुनेछ।

१३. के अनलाइन पाठहरू बाइबल अध्ययनको सट्टामा गरिएको प्रबन्ध हो? व्याख्या गर्नुहोस्‌।

१३ अनलाइन पाठहरू बाइबल अध्ययनको सट्टामा गरिएको प्रबन्ध होइन। येसुले हामीलाई चेला बनाउने सुअवसर दिनुभएको छ। इच्छुक मानिसहरूले यी पाठहरू अध्ययन गर्नेछन्‌, आफूले सिकेको कुराको मोल गर्नेछन्‌ र बाइबलबारे अझै सिक्न चाहनेछन्‌ भनेर हामी आशा गर्छौँ। यस्तो भएमा सायद तिनीहरू बाइबल अध्ययन गर्न पनि तयार हुनेछन्‌। हरेक पाठको अन्तमा पाठकलाई कुनै एक जना यहोवाको साक्षीसित बाइबल अध्ययन गर्नको लागि निवेदन भर्न प्रोत्साहन दिइएको छ। बाइबल अध्ययन गर्नको लागि हाम्रो वेबसाइटमा हरेक दिन संसारभरिबाट औसतमा २३० भन्दा धेरै अनुरोध आउँछ! त्यसैले यहोवाको कुनै एक जना साक्षीसित व्यक्‍तिगत रूपमा अध्ययन गर्नु साँच्चै महत्त्वपूर्ण छ!

चेला बनाउन प्रयास गरिरहनुहोस्‌

१४. मत्ति २८:१९, २० मा येसुले दिनुभएको निर्देशनअनुसार हामीले के गर्न सक्दो प्रयास गर्नुपर्छ र किन?

१४ मत्ति २८:१९, २० पढ्‌नुहोस्‌। बाइबल अध्ययन सञ्चालन गर्दा हामीले मानिसहरूलाई येसुको ‘चेला बनाउन अनि उहाँले आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाउन’ सक्दो प्रयास गर्नुपर्छ। मानिसहरूले यहोवा र उहाँको राज्यलाई समर्थन गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर हामीले तिनीहरूलाई बुझाउनुपर्छ। मतलब तिनीहरूलाई आफूले सिकिरहेको कुरा जीवनमा लागू गरेर, यहोवालाई आफ्नो जीवन समर्पण गरेर अनि बप्तिस्मा गरेर सत्यलाई आफ्नो बनाउन प्रोत्साहन दिनुपर्छ। त्यसो गरेको खण्डमा मात्र तिनीहरू यहोवाको दिनमा बच्नेछन्‌।—१ पत्रु. ३:२१.

१५. हामी के गर्न चाहँदैनौँ र किन?

१५ सुरुमा चर्चा गरिएजस्तै यस युगको अन्त हुन अब धेरै समय बाँकी छैन। यसैकारण ख्रिष्टको चेला बन्‍ने कुनै इच्छा नभएकाहरूलाई अध्ययन गराइरहेर हामी आफ्नो बहुमूल्य समय खेर फाल्न चाहँदैनौँ। (१ कोरि. ९:२६) हाम्रो काम अत्यन्तै महत्त्वपूर्ण छ! अझ थुप्रै मानिसले राज्यको सन्देश सुन्‍न बाँकी छ, त्यसैले ढिलो हुनुअघि नै तिनीहरूलाई मदत गरौँ।

झूटो धर्मबाट पूर्णतया अलग रहनुहोस्‌

१६. प्रकाश १८:२, ४, ५, ८ अनुसार हामी सबैले के गर्नुपर्छ? (फुटनोट पनि हेर्नुहोस्‌)

१६ प्रकाश १८:२, ४, ५, ८ पढ्‌नुहोस्‌। यी पदहरूमा यहोवाले आफ्ना उपासकहरूबाट चाहनुहुने अर्को कुरा उल्लेख गरिएको छ। सबै साँचो ख्रिष्टियन महान्‌ बेबिलोनबाट पूर्णतया अलग रहनुपर्छ। सत्य सिक्नुअघि बाइबल विद्यार्थी कुनै झूटो धर्मको सदस्य थिए होलान्‌। तिनले त्यस धर्मको क्रियाकलापमा भाग लिएका हुन सक्छन्‌। अथवा तिनले त्यस सङ्‌गठनको लागि चन्दा पनि दिएका हुन सक्छन्‌। तर यदि तिनी बप्तिस्मा नगरेका प्रकाशकको रूपमा योग्य हुन चाहन्छन्‌ भने तिनले झूटो धर्मसित आफ्नो सम्बन्ध पूरै तोडेको हुनुपर्छ। तिनले आफू जाने गरेको चर्चलाई र यदि महान्‌ बेबिलोनसित सम्बन्ध भएको कुनै सङ्‌गठनमा आबद्ध छन्‌ भने त्यसलाई पनि राजीनामा पत्र बुझाउनुपर्छ वा तिनीहरूसित पूरै सम्बन्ध तोड्‌नुपर्छ।f

१७. ख्रिष्टियनहरूले कस्तो प्रकारको जागिर खानु हुँदैन र किन?

१७ साँचो ख्रिष्टियनले आफूले खाइरहेको जागिर कुनै पनि तवरमा महान्‌ बेबिलोनसित सम्बन्धित नभएको कुरा पक्का गर्नुपर्छ। (२ कोरि. ६:१४-१७) उदाहरणको लागि, तिनी चर्चमा जागिर खाँदैनन्‌। साथै कुनै कम्पनीमा काम गर्ने (जस्तै: बिजुली वा धाराको काम गर्ने) ख्रिष्टियनले झूटो धर्मको लागि प्रयोग गरिने भवनमा धेरै काम गर्दैनन्‌। यदि तिनको आफ्नै व्यवसाय छ भने तिनले महान्‌ बेबिलोनसित सम्बन्धित कुनै पनि संस्थाबाट आएको काम लिँदैनन्‌ वा त्यस्तो कामको लागि टेन्डर हाल्दैनन्‌। ख्रिष्टियनहरू किन यस्तो दृढ अडान लिन्छन्‌? किनभने परमेश्‍वरको नजरमा अशुद्ध कुनै पनि धार्मिक सङ्‌गठनको काम वा पापमा तिनीहरू मुछिन चाहँदैनन्‌।—यसै. ५२:११.g

१८. काम गर्ने सन्दर्भमा एक भाइले कसरी बाइबल सिद्धान्तअनुसारै अडान लिए?

१८ केही वर्षअघि, आफ्नै व्यवसाय भएका एक एल्डरलाई एक जना ठेकदारले त्यही सहरको एउटा चर्चमा काठको एउटा सानो काम गर्ने प्रस्ताव राखे। ती भाइले चर्चहरूमा काम गर्ने प्रस्तावलाई सधैँ इन्कार गरेको कुरा त्यस ठेकदारलाई थाह थियो। तर यसपटक भने त्यस ठेकदारलाई एक जना सिकर्मी जसरी भए पनि चाहिएको थियो। तैपनि ती भाइले बाइबल सिद्धान्तअनुसारै अडान लिए अनि त्यो काम गर्न इन्कार गरे। अर्को हप्ता स्थानीय पत्रिकामा एक जना सिकर्मीले त्यस चर्चमा क्रस राखिरहेको फोटो छापियो। यदि ती भाइले आफ्नो अडानमा सम्झौता गरेका भए त्यस पत्रिकामा तिनको फोटो छापिने थियो। त्यसो भएको भए सङ्‌गी ख्रिष्टियनहरूमाझ ती भाइले कमाएको नाममा कलङ्‌क लाग्ने थियो। साथै यहोवालाई कत्ति दुःख लाग्ने थियो, कल्पना गर्नुहोस्‌ त।

हामीले के सिक्यौँ?

१९-२०. (क) हामीले के सिक्यौँ? (ख) हामीले अझ कस्ता कुराहरू सिक्नुपर्छ?

१९ बाइबलको भविष्यवाणीअनुसार निकट भविष्यमा संसारमा हुने अर्को उल्लेखनीय घटना भनेको राष्ट्रहरूले गर्ने “शान्ति र सुरक्षा”-को घोषणा हो। यहोवाले हामीलाई पहिल्यै बताउनुभएकोले राष्ट्रहरूले साँचो र चिरकालीन शान्ति हासिल गर्नेछैनन्‌ भनेर हामीलाई थाह छ। त्यो घटना हुनु र एक्कासि विनाश आइपर्नुअघि हामीले के गर्नुपर्छ? हामीले निरन्तर राज्यको सन्देश प्रचार गरेको र अझै चेला बनाउन प्रयास गरेको यहोवा चाहनुहुन्छ। त्यसको साथै हामी झूटो धर्मबाट पूर्णतया अलग रहनुपर्छ। त्यसमा महान्‌ बेबिलोनसित सम्बन्धित सबै सङ्‌गठनबाट अलग्गिनु र त्यससित सम्बन्धित कुनै प्रकारको जागिर नखानु समावेश छ।

२० ‘अन्तको दिनको’ अन्तिम समयमा अरू घटनाहरू पनि घट्‌नेछन्‌। त्यो समयमा हामीले अरू कुरा पनि गरेको यहोवा चाहनुहुन्छ। ती के हुन्‌ र निकट भविष्यमा घट्‌ने सबै घटनाको लागि हामी कसरी तयार रहन सक्छौँ? अर्को लेखमा यी कुराहरू बुझ्नेछौँ।

तपाईँले यी कुराहरूबारे के सिक्नुभयो:

  • “शान्ति र सुरक्षा”-को घोषणाबारे?

  • राज्यको सन्देश प्रचार गर्ने र चेला बनाउने कामको महत्त्वबारे?

  • झूटा धार्मिक सङ्‌गठनहरूबाट अलग रहने तरिकाबारे?

गीत ७१ सेना हौँ यहोवाका!

a चाँडै विश्‍वनेताहरूले “शान्ति र सुरक्षा” छाएको घोषणा गर्नेछन्‌। त्यो घोषणा महासङ्‌कष्ट सुरु हुनै लागेको चिन्ह हुनेछ। तर त्यो घोषणा नहोउन्जेल हामीले के गरेको यहोवा चाहनुहुन्छ? यस लेखमा यो प्रश्‍नको जवाफ पाउनेछौँ।

b उदाहरणको लागि, संयुक्‍त राष्ट्र सङ्‌घले “अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने” दाबी गरेको कुरा आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

c यसै अङ्‌कको “परमेश्‍वरले गर्नुहुने न्याय—के उहाँले सधैँ समयमै चेतावनी दिनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

d शिक्षण सामग्री कसरी प्रयोग गर्ने भनेर थाह पाउन अक्टोबर २०१८ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “सत्य सिकाउनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

e यी पाठहरू हाल अङ्‌ग्रेजी र पोर्चुगिज भाषाहरूमा उपलब्ध छन्‌। पछि अरू भाषामा पनि उपलब्ध हुनेछन्‌।

f झूटो धर्मसँग सम्बन्धित सङ्‌गठनहरूले आयोजना गरेका युवा शिविरहरू वा मनोरञ्जनात्मक गतिविधिबाट पनि अलग रहनु आवश्‍यक छ। जस्तै: वाइ एम सि ए (ख्रिष्टियन युवा सङ्‌घ) अनि वाइ डब्लु सि ए (ख्रिष्टियन युवती सङ्‌घ)। यससित आबद्ध स्थानीय सङ्‌घहरूले आफ्नो कार्यक्रम धर्मसित सम्बन्धित नभएको दाबी गरे तापनि वास्तवमा यी सङ्‌गठनहरूले आफ्नो धर्मको सिद्धान्त अनि उद्देश्‍यलाई प्रवर्धन गरिरहेका हुन्छन्‌।

g धार्मिक सङ्‌गठनसित सम्बन्धित जागिर खाने विषयमा विस्तृत धर्मशास्त्रीय जानकारीको लागि अप्रिल १५, १९९९ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

h चित्रको व्याख्या: कफी पसलमा ग्राहकहरू टिभीमा देखाइएको “ब्रेकिङ न्युज”-मा “शान्ति र सुरक्षा”-को घोषणा देखेर अचम्म मान्दै। प्रचारकार्यको दौडान एकछिन कफी पिउन गएका साक्षीहरू त्यो खबर देखेर बहकिँदैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने