प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अक्टोबर पृ. १४-१५
  • औलो यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • औलो यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ औलो के हो?
  • २ औलो कसरी फैलिन्छ?
  • ३ तपाईं कसरी जोगिन सक्नुहुन्छ?
  • औलोको उही पुरानै उपायबाट रोकथाम
    ब्यूँझनुहोस्‌!—१९९७
  • परजीवीहरूबाट आफूलाई जोगाउनुहोस्‌!
    ब्यूँझनुहोस्‌!—१९९९
  • शंखे ज्वरो—के यसको उन्मूलन गर्न सकिएला?
    ब्यूँझनुहोस्‌!—१९९७
  • रोगहरूबाट मुक्‍त संसार
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अक्टोबर पृ. १४-१५

औलो यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

विश्‍व स्वास्थ्य सङ्‌गठनका अनुसार सन्‌ २०१३ मा १९ करोड ८० लाखभन्दा धेरै मानिस औलोबाट (मलेरिया) सङ्‌क्रमित भए र लगभग ५ लाख ८४ हजार जनाले ज्यान गुमाए। पाँच जना रोगीमध्ये झन्डै चार जना पाँच वर्षमुनिका बालबालिका थिए। संसारभरका लगभग १०० देश र इलाकामा औलो डरलाग्दो समस्या बनेको छ। यस रोगले झन्डै ३ अरब २० करोड मानिसलाई खतरामा पारेको छ।

१ औलो के हो?

औलो परजीवीबाट सर्ने रोग हो। यो रोग लाग्दा ज्वरो आउने, काम्ने, पसिना आउने, टाउको दुख्ने, जीउ दुख्ने, वाकवाक लाग्ने र बान्ता हुनेजस्ता लक्षणहरू देखिन्छ। यी लक्षणहरू परजीवीको किसिम र सङ्‌क्रमण भएको समयावधिअनुसार हरेक ४८ देखि ७२ घण्टामा फेरि देखा पर्छ।

२ औलो कसरी फैलिन्छ?

  1. मानिसको शरीरमा औलो परजीवी कसरी फैलिन्छ भनेर देखाउने चित्र

    १. पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि प्लाज्मोडिया भनिने औलो परजीवी मानिसको रगतमा प्रवेश गर्छ।

  2. २. सङ्‌क्रमित व्यक्‍तिको कलेजोको कोषहरूमा परजीवी पुग्छ र त्यहाँ परजीवीको सङ्‌ख्या बढ्‌दै जान्छ।

  3. ३. कलेजोका कोषहरू फुट्‌छन्‌ अनि परजीवीले सङ्‌क्रमित व्यक्‍तिको रातो रक्‍तकोषलाई आक्रमण गर्छ। रातो रक्‍तकोषमा यी परजीवीहरूको सङ्‌ख्या अझ बढ्‌दै जान्छ।

  4. औलो परजीवीले रातो रक्‍तकोषलाई आक्रमण गर्छ अनि ती कोषहरू फुट्‌छन्‌

    ४. रातो रक्‍तकोष पनि फुट्‌छ जसले गर्दा परजीवीहरूले अरू रातो रक्‍तकोषलाई आक्रमण गर्छ।

  5. ५. यसरी रातो रक्‍तकोषलाई आक्रमण गर्ने अनि रक्‍तकोष फुट्‌ने चक्र चलिरहन्छ। हरेक पटक रातो रक्‍तकोष फुट्‌दा सङ्‌क्रमित व्यक्‍तिमा औलोका लक्षणहरू देखा पर्छ।

३ तपाईं कसरी जोगिन सक्नुहुन्छ?

औलोको प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ भने . . .

  • झुल प्रयोग गर्नुहोस्‌।

  • झुल कीटनाशकयुक्‍त हुनुपर्छ।

  • झुल प्वाल परेको वा च्यातिएको हुनुहुँदैन।

  • झुललाई डस्नाले राम्ररी च्याप्नुपर्छ।

  • घरमा डी डी टी (लामखुट्टेनाशक रासायनिक पदार्थ) छर्कनुहोस्‌।

  • सम्भव छ भने झ्याल-ढोकामा जाली राख्नुहोस्‌। लामखुट्टे भगाउन एसी वा पङ्‌खा प्रयोग गर्नुहोस्‌।

  • शरीर पूरै ढाक्ने फिक्का रङ्‌गको लुगा लगाउनुहोस्‌।

  • सम्भव छ भने लामखुट्टे स्याउँस्याउँती हुने झाडीतिर नजानुहोस्‌। पानी जम्मा हुने ठाउँमा लामखुट्टेको प्रजनन हुने भएकोले त्यस्ता ठाउँतिर नजानुहोस्‌।

  • औलो सङ्‌क्रमित हुनुहुन्छ भने तुरुन्तै उपचार गराउनुहोस्‌।

लामखुट्टे र मानिसमा सर्ने औलोको चक्र

सङ्‌क्रमित लामखुट्टेले टोक्दा मानिसमा औलो परजीवी सर्न सक्छ। साथै सङ्‌क्रमण नभएको लामखुट्टेले सङ्‌क्रमित व्यक्‍तिलाई टोक्दा पनि त्यो लामखुट्टेलाई औलो परजीवी सर्न सक्छ। यसरी सङ्‌क्रमित लामखुट्टेले अर्को व्यक्‍तिलाई परजीवी सार्न सक्छ।

औलोको प्रकोप भएको ठाउँमा जाँदै हुनुहुन्छ भने . . .

  • भ्रमण गर्नुअघि नै त्यस ठाउँको वर्तमान अवस्थाबारे जानकारी लिनुहोस्‌। ठाउँअनुसार औलो परजीवी फरक-फरक हुन्छ। त्यसैले कुन औषधी सबैभन्दा राम्रो हुन्छ भन्‍ने कुरा परजीवीको किसिममा भर पर्छ। डाक्टरलाई आफ्नो स्वास्थ्य अवस्थाबारे बताएर सावधान हुनुपर्ने क्षेत्रहरूबारे जानकारी लिनु बुद्धिमानी हुन्छ।

  • भ्रमणको दौडान, यस लेखमा दिइएको निर्देशन पालन गर्नुहोस्‌।

  • औलो सङ्‌क्रमित भएमा तुरुन्तै उपचार गराउनुहोस्‌। सङ्‌क्रमित भएको एकदेखि चार हप्ताभित्र लक्षणहरू देखा पर्न सक्छ भन्‍ने कुरा याद गर्नुहोस्‌।

तपाईंले गर्न सक्ने थप कुरा

  1. १. सरकार वा समाजले आयोजना गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूबाट लाभ उठाउनुहोस्‌।

  2. २. आधिकारिक स्रोतबाट मात्र औषधी किन्‍नुहोस्‌। (निम्नस्तरीय वा नक्कली औषधीले रोग लम्ब्याउँछ वा मृत्युसम्म पुऱ्‍याउन सक्छ।)

  3. ३. लामखुट्टे प्रजनन हुने थलोलाई घर वरपरबाट हटाउनुहोस्‌।

औलो प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ वा यस्तो ठाउँमा गएर आउनुभएको हो भने निम्न लक्षणहरूलाई हल्कासित नलिनुहोस्‌ . . .

  • अत्यधिक ज्वरो आउने

  • पसिना आउने

  • काम्ने

  • टाउको दुख्ने

  • मांसपेशी दुख्ने

  • थकित हुने

  • वाकवाक लाग्ने

  • बान्ता आउने

  • पखाला लाग्ने

औलोको उपचार गरिएन भने रक्‍तअल्पता हुने अनि तुरुन्तै जीवन गुमाउने स्थितिसम्म पुग्न सक्छ। त्यसैले लक्षण बिग्रँदै जानुअघि नै तुरुन्तै उपचार गर्नुहोस्‌। विशेषगरि बच्चा र गर्भवतीहरूले चाँडै उपचार गर्नुपर्छ।a

a थप जानकारीका लागि अगस्त ८, १९९८ को ब्यूँझनुहोस्‌! पत्रिकाको पृष्ठ २२-२५ हेर्नुहोस्‌।

के तपाईंलाई थाह थियो?

अफ्रिकाको नक्शामाथि घडी

अफ्रिकामा औलोले गर्दा हरेक मिनेट एक बालकको मृत्यु हुन्छ

  • बालबालिका र गर्भवती महिलालाई औलो लागेमा गम्भीर समस्या हुने सम्भावना धेरै हुन्छ।

  • अफ्रिकामा औलोले गर्दा हरेक मिनेट एक बालकको मृत्यु हुन्छ।

  • कुनै-कुनै अवस्थामा रगत लिएकोले पनि औलो सरेको पाइएको छ। (g15-E 07)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने