प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ६ पृ. ८-९
  • छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • नम्र हुन सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१९
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • समस्याको सामना गर्न सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ६ पृ. ८-९
छोराले आफ्नी आमालाई कुर्न लगाउँदै

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌

चुनौती

  • तपाईंको छोरा दस वर्ष मात्रै भयो तर ऊ घमन्डी छ!

  • सबैले उसलाई विशेष व्यवहार गरेको ऊ चाहन्छ।

तपाईं सोच्नुहोला, “हैन! उसलाई के भा’को? आफूबारे राम्रो सोच्नु त ठीकै हो तर अरूलाई मान्छे नै नगन्‍ने त हुनु भएन नि!”

छोराछोरीको आत्मसम्मानमा चोट नपुऱ्‍याई तिनीहरूलाई नम्र हुन सिकाउनु सम्भव छ?

राजकुमारीजस्तै बसिरहेकी छोरीको अगाडि आमाबुबा घुँडा टेक्दै

तपाईंले के बुझ्नुपर्छ?

हालैका वर्षहरूमा आमाबुबालाई छोराछोरीको जुनसुकै इच्छा-आकाङ्‌क्षा पूरा गर्न प्रोत्साहन दिइन्छ। छोराछोरीले कुनै प्रशंसनीय काम नगरे तापनि खुलेर तिनीहरूको प्रशंसा गर्न प्रोत्साहन दिइन्छ अनि सुधार्न र अनुशासन दिन हतार गर्नु हुँदैन पनि भनिन्छ। छोराछोरीलाई तिनीहरू विशेष छन्‌ भन्‍ने महसुस गराइयो भने तिनीहरूको आत्मसम्मान बढ्‌छ भनेर सोच्ने गरिन्छ। तर यसको नतिजा कस्तो भएको छ? युवाहरूको व्यवहारसम्बन्धी लेखिएको एउटा किताबa यस्तो भन्छ: “आत्मसम्मान बढाउने होडबाजीले केटाकेटीलाई सन्तुलित विचारधारा राख्न र खुसी हुन मदत गर्नुको साटो आफूबारे मात्र सोच्ने व्यक्‍ति बनाएको छ।”

प्रशंसनीय काम नगरे पनि बढ्‌तै प्रशंसा गरेर हुर्काइएका छोराछोरी निराशा र असफलताको सामना गर्न तयार नभएको देखिन्छ। साथै तिनीहरूको कमीकमजोरी औंल्याइदिंदा तिनीहरूलाई त्यो स्विकार्न गाह्रो हुन्छ। तिनीहरूलाई आफ्नै इच्छा-आकाङ्‌क्षामा मात्र ध्यान दिन सिकाइएको हुनाले पछि वयस्क हुँदा आफूले गाँसेको सम्बन्ध स्थायी बनाउन गाह्रो लाग्न सक्छ। यसले गर्दा तिनीहरूमध्ये थुप्रै अचाक्ली चिन्ता गर्ने समस्याको र निराशाको सिकार हुन्छन्‌।

छोराछोरीलाई तिनीहरू विशेष छन्‌ भनेर बारम्बार बताउँदैमा तिनीहरूले साँचो आत्मसम्मान विकास गरिरहेका हुँदैनन्‌। बरु तिनीहरूले हासिल गरेका उपलब्धिको लागि मनैदेखि प्रशंसा गर्दा साँचो आत्मसम्मान विकास गर्न सक्छन्‌। त्यसो गर्न छोराछोरीले आफैलाई सर्वेसर्वा ठानेर मात्र पुग्दैन। तिनीहरूले कुनै खास सिप सिक्नुपर्छ, अभ्यास गर्नुपर्छ र त्यो सीपलाई तिखार्दै लैजानुपर्छ। (हितोपदेश २२:२९) आफ्नो मात्र होइन, अरूको आवश्‍यकताबारे पनि ख्याल राख्नुपर्छ। (१ कोरिन्थी १०:२४) यसो गर्न नम्रता चाहिन्छ।

तपाईं के गर्न सक्नुहुन्छ?

अनावश्‍यक रूपमा प्रशंसा नगर्नुहोस्‌। तपाईंकी छोरीले स्कुलको परीक्षामा राम्रो अङ्‌क ल्याएकी छे भने उसको प्रशंसा गर्नुहोस्‌। यदि उसले राम्रो अङ्‌क ल्याएकी छैन भने सीधै शिक्षकलाई आरोप नलगाउनुहोस्‌। यसरी शिक्षकलाई नै दोष दिनुभयो भने ऊ नम्र हुन सिकिरहेकी हुँदिन। बरु अर्को पटक राम्रो अङ्‌क ल्याउन के गर्न सकिन्छ भनेर सिकाउनुहोस्‌। उसले वास्तवमै उपलब्धि हासिल गरेकी छे भने मात्र प्रशंसा गर्नुहोस्‌।

आवश्‍यक परेको बेलामा सच्याउनुहोस्‌। यसको मतलब छोराछोरीले गरेको हरेक गल्ती औंल्याउनुपर्छ भन्‍ने होइन। (कलस्सी ३:२१) तर गम्भीर गल्ती गर्दा भने तिनीहरूलाई सुधार्नुपर्छ। त्यसैगरि तिनीहरूको गलत मनोवृत्ति पनि सच्याउनुपर्छ। यसो नगरेमा तिनीहरूलाई पछि गएर आफ्नो बानी सुधार्न वा आफूलाई परिवर्तन गर्न गाह्रो हुन सक्छ।

उदाहरणको लागि, तपाईंको छोराको धाक लगाउने बानी छ। उसलाई सच्याइएन भने ऊ घमन्डी हुँदै जान्छ अनि बिस्तारै अरूबाट टाढा हुन थाल्छ। त्यसैले धाक लगाउँदा सबैले नराम्रो भन्छन्‌ र लाजमा पर्नुपर्छ भन्‍ने कुरा छोरालाई बुझाउनुहोस्‌। (हितोपदेश २७:२) अनि आफूलाई बढ्‌तै महत्त्व नदिने व्यक्‍तिले आफ्नो खुबीबारे ढ्‌वाङ्‌ फुक्दै हिंड्‌दैन भन्‍ने कुरा पनि सिकाउनुहोस्‌। यसरी मायालु तरिकामा उसलाई सच्याउने कोसिस गर्नुभयो भने उसको आत्मसम्मानमा चोट नपुऱ्‍याईकन नम्र हुन सिकाउन सक्नुहुन्छ।—बाइबल सिद्धान्त: मत्ती २३:१२

जीवनमा आइपर्ने उतारचढावको सामना गर्न छोराछोरीलाई तयार पार्नुहोस्‌। छोराछोरीको सबै इच्छा पूरा गरिदिइयो भने तिनीहरूलाई नम्र हुन गाह्रो हुन्छ। त्यसैले तपाईंले किन्‍न नसक्ने कुनै कुरा छोराछोरीले मागेमा आफ्नो कमाइअनुसार खर्च गर्नु किन महत्त्वपूर्ण छ, सिकाउनुहोस्‌। कतै घुम्न जाने अथवा बिदाको योजनाहरू रद्द गर्नुपऱ्‍यो भने जीवनमा यस्ता परिस्थिति आइराख्छन्‌ भन्‍ने कुरा बुझाउनुहोस्‌। तपाईंले यस्तै खालका परिस्थितिको सामना कसरी गर्नुहुन्छ, त्यो पनि बताउनुहोस्‌। छोराछोरीलाई हरेक गाह्रा कुराहरूदेखि जोगाउनुको सट्टा पछि वयस्क हुँदा आइपर्ने चुनौतीहरूको लागि तयार पार्नुहोस्‌।—बाइबल सिद्धान्त: हितोपदेश २९:२१.

अरूलाई दिनको लागि प्रोत्साहन दिनुहोस्‌। छोराछोरीलाई “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भन्‍ने कुरा सिकाउनुहोस्‌। (प्रेषित २०:३५) कसरी? किनमेल गर्न, कतै जान वा मर्मतसम्भार गर्नको लागि मदत गर्नुपर्ने व्यक्‍तिहरूको सूची छोराछोरीसँगै बसेर बनाउन सक्नुहुन्छ। अनि त्यस्ता व्यक्‍तिहरूलाई मदत गर्न आफ्नो छोराछोरीलाई सँगै लैजान सक्नुहुन्छ। तपाईंले अरूलाई मदत गर्दा पाउनुभएको आनन्द र सन्तुष्टि छोराछोरीले पनि देख्न सक्नेछन्‌। यसरी तपाईंले आफ्नै उदाहरणद्वारा छोराछोरीलाई नम्र हुन सिकाउन सक्नुहुन्छ। यो नै सबैभन्दा प्रभावकारी तरिका हो।—बाइबल सिद्धान्त: लूका ६:३८.

थप जानकारीको लागि हाम्रो वेबसाइट jw.org/ne मा जानुहोस्‌ र “स्वार्थी संसारमा विचारशील छोराछोरी” भन्‍ने लेख हेर्नुहोस्‌।

a Generation Me

मूल शास्त्रपद

  • “जसले आफूलाई उचाल्छ, ऊ होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।”—मत्ती २३:१२.

  • “दासलाई बाल्यकालदेखि नै खूब लाडप्यार गऱ्‍यो भने आखिरमा त्यो कृतघ्न हुन्छ।”—हितोपदेश २९:२१.

  • “दिने गर।”—लूका ६:३८.

अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नुहोस्‌

बाइबल भन्छ: “वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:३, ४.

छोराछोरीलाई हुर्काउँदा यस सिद्धान्त अँगाल्न सिकाएका छौं भने आफूभन्दा अरू कुनै न कुनै तरिकामा श्रेष्ठ छन्‌ भन्‍ने कुरा तिनीहरूले मानिलिन्छन्‌। अन्ततः नम्रताले तपाईंको छोराछोरीलाई आफूबारे मात्र सोच्ने संसारको मनोभावबाट अलग रहन मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने