प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ७२
  • येशूले ७० जनालाई पठाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले ७० जनालाई पठाउनुहुन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ७२

अध्याय ७२

येशूले ७० जनालाई पठाउनुहुन्छ

इस्वी संवत्‌ ३२ को शरद्‌ ऋतु हो। येशूले बप्तिस्मा गरेको पूरा तीन वर्ष भइसकेको छ। हालै मात्र उहाँ र उहाँका चेलाहरूले यरूशलेममा झुप्रोबासको चाडमा भाग लिनुभएको छ। सम्भवतः अहिले पनि उहाँहरू त्यहीं छेउछाउको इलाकामै हुनुहुन्छ। यथार्थमा येशू आफ्नो सेवाको कामको बाँकी छ महिना यहूदिया अथवा यर्दन नदीको ठीक पारिपट्टि पेरियाको जिल्लामा बिताउनुहुन्छ। यो क्षेत्रमा पनि प्रचार गर्नु आवश्‍यक छ।

यो साँचो हो इस्वी संवत्‌ ३० को निस्तार-चाडपछि येशूले करिब आठ महिनाजति यहूदियामा प्रचार गर्न बिताउनुभयो। तर इस्वी संवत्‌ ३१ को निस्तार-चाडमा यहूदीहरूले उहाँलाई मार्ने प्रयास गरेपछि उहाँले डेढ वर्ष प्रायः गालीलमा मात्र शिक्षा दिनुभयो। त्यसै अवधिभित्र उहाँले प्रचारकहरूको एउटा विशाल र राम्ररी प्रशिक्षित सङ्‌गठन खडा गर्नुभयो। यसप्रकारको सङ्‌गठन उहाँसित पहिले थिएन। अतः उहाँ अब यहूदियामा अन्तिम पटक व्यापक साक्षी दिने अभियान सुरु गर्नुहुन्छ।

येशूले ७० जना चेलाहरूलाई छानेर तिनीहरूलाई दुई-दुई जना गरी पठाउँदै यो अभियान सुरु गर्नुहुन्छ। यसप्रकार क्षेत्रमा काम गर्नका निम्ति राज्य प्रचारकहरूको जम्मा ३५ वटा टोलीहरू छन्‌। यिनीहरू ती प्रत्येक सहर र ठाउँहरूमा अघि-अघि जान्छन्‌, जहाँ स्पष्टतः येशू आफ्ना प्रेषितहरूका साथ जाने विचार गर्दै हुनुहुन्छ।

यी ७० जनालाई सभाघरहरूमा जाने निर्देशन दिनुको सट्टा येशूले तिनीहरूलाई घर-घरमा जान भन्‍नुहुन्छ: “जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब पहिले यसो भन: ‘यो घरमा शान्ति छाओस्‌।’ यदि शान्ति चाहने व्यक्‍ति त्यहाँ रहेछ भने तिमीहरूले कामना गरेको शान्ति ऊमाथि रहनेछ।” तिनीहरूको सन्देश के हुनुपर्छ? येशू भन्‍नुहुन्छ: “ ‘परमेश्‍वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ’ भनेर तिनीहरूलाई सुनाओ।” सत्तरी जनाको गतिविधिबारे म्याथ्यु हेनरीज कमेन्टरी भन्‍ने किताब यसो भन्छ: “आफ्ना मालिकजस्तै तिनीहरू जहाँ-जहाँ जान्थे, त्यहाँ-त्यहाँ घर-घर गएर प्रचार गर्थे।”

एक वर्षअघि येशूले १२ जनालाई गालीलमा प्रचार अभियानमा पठाउँदा दिएको जस्तै निर्देशन यी ७० जनालाई पनि दिनुहुन्छ। घरधनीलाई सन्देश सुनाउन तिनीहरूलाई तयार पार्दा, ती ७० जनाले सामना गर्नुपर्ने विरोधबारे मात्रै उहाँले चेतावनी दिनु हुन्‍न तर बिरामीहरूलाई निको पार्न सक्ने शक्‍ति पनि तिनीहरूलाई दिनुहुन्छ। यसप्रकार केही समयपछि येशू त्यहाँ आइपुग्दा त्यस्तो चमत्कारपूर्ण कार्यहरू गर्न सक्ने चेलाहरूका गुरुलाई भेट्‌न धेरै मानिसहरू इच्छुक हुनेछन्‌।

ती ७० जनाको प्रचारकार्य र त्यसपछि येशूले गर्नुभएको सेवा थोरै समयसम्म मात्र चल्छ। चाँडै नै राज्य-प्रचारकहरूका ३५ वटा टोली येशूकहाँ फर्किन थाल्छन्‌ र हर्षित भएर तिनीहरू भन्छन्‌: “प्रभु, हामीले तपाईंको नाम लिंदा दुष्ट स्वर्गदूतहरूसमेत हाम्रो वशमा आए।” सेवाको कामको यत्ति राम्रो रिपोर्ट सुनेर येशू अवश्‍य खुसी हुनुहुन्छ किनभने उहाँ प्रत्युत्तरमा भन्‍नुहुन्छ: “बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखें। हेर, मैले तिमीहरूलाई सर्प अनि बिच्छीहरूलाई आफ्नो पैतालामुनि कुल्चने र शत्रुको सबै शक्‍तिमाथि विजयी हुने अख्तियार दिएको छु।”

अन्तको समयमा परमेश्‍वरको राज्य स्थापित भएपछि सैतान र त्यसका दूतहरू स्वर्गबाट फालिनेछन्‌ भनी येशूलाई थाह छ। त्यतिबेला मानिसहरूले पनि अदृश्‍य दुष्ट स्वर्गदूतहरूलाई धपाउन सक्षम भएका कुराले भविष्यमा हुने त्यस घटनालाई अझ निश्‍चित पार्छ। यसैकारण भविष्यमा सैतान स्वर्गबाट फ्याँकिने कुराबारे येशू ठोकुवासाथ भन्‍नुहुन्छ। तसर्थ ती ७० जनालाई सर्प र बिच्छीहरू कुल्चिन दिएको अधिकार लाक्षणिक मात्र हो। तथापि येशू भन्‍नुहुन्छ: “दुष्ट स्वर्गदूतहरू तिमीहरूको वशमा आए भनी नरमाओ, बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।”

उहाँका यी नम्र सेवकहरूलाई यसप्रकारको शक्‍तिशाली ढङ्‌गमा बुबाले प्रयोग गर्नुभएकोमा येशू अत्यन्तै हर्षित हुँदै सबैका सामुन्‍ने आफ्ना बुबाको प्रशंसा गर्नुहुन्छ। आफ्ना चेलाहरूतर्फ फर्केर उहाँ भन्‍नुहुन्छ: “धन्य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखिरहेका कुराहरू देख्छन्‌। म तिमीहरूलाई भन्छु, धेरै भविष्यवक्‍ता र राजाहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्‌ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्‍ने इच्छा गरेका थिए तर सुन्‍न पाएनन्‌।” लूका १०:१-२४; मत्ती १०:१-४२; प्रकाश १२:७-१२.

▪ आफ्नो सेवाको कामको तीन वर्षमा येशूले कहाँ प्रचार गर्नुभयो र आखिरी छ महिना उहाँ कुन क्षेत्रमा प्रचार गर्न बिताउनुहुन्छ?

▪ मानिसहरू फेला पार्न येशूले ७० जनालाई कहाँ पठाउनुहुन्छ?

▪ सैतान स्वर्गबाट खसेको देखें भनी येशू किन भन्‍नुहुन्छ?

▪ सर्प र बिच्छीहरूलाई ७० जनाले कुन अर्थमा कुल्चिन सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने