प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ६/१५ पृ. १७-२१
  • “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वास्तवमा हाम्रो छिमेकी को हो?
  • छिमेकीलाई कसरी प्रेम देखाउन सक्छौं?
  • छिमेकीलाई प्रेम देखाउने विशेष तरिका
  • बाइबलमा प्रेमको परिभाषा
  • छिमेकीलाई आफूलाई जस्तै प्रेम गरिरहनुहोस्‌
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईंको प्रेम कत्तिको व्यापक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?”
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ६/१५ पृ. १७-२१
घाइते मानिसलाई पौवामा ल्याउँदै असल सामरी

“तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”

‘दोस्रो आज्ञाचाहिं यही हो: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”’—मत्ती २२:३९.

तपाईं के भन्‍नुहुन्छ?

  • वास्तवमा हाम्रो छिमेकी को हो?

  • छिमेकीलाई किन प्रेम देखाउनुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौं?

  • पहिलो कोरिन्थी १३:४-८ मा प्रेमबारे के-कस्ता कुरा बताइएका छन्‌?

१, २. (क) व्यवस्थाको दोस्रो महत्त्वपूर्ण आज्ञा कुन हो? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

येशूलाई परीक्षामा पार्ने उद्देश्‍यले एक जना फरिसीले उहाँलाई यसरी सोध्यो, “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?” हामीले अघिल्लो लेखमा छलफल गरेझैं येशूले यसरी जवाफ दिनुभयो, “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू। यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो।” उहाँले अझै यसो भन्‍नुभयो, “दोस्रोचाहिं यही हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”—मत्ती २२:३४-३९.

२ हामीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो। त्यसैले यस्ता प्रश्‍नहरू विचार गर्नु उपयुक्‍त हुन्छ: वास्तवमा हाम्रो छिमेकी को हो? छिमेकीलाई प्रेम गरेको कुरा कसरी देखाउन सक्छौं?

वास्तवमा हाम्रो छिमेकी को हो?

३, ४. (क) छिमेकीलाई प्रेम गर्नु भनेको के हो भनी बुझाउन येशूले कस्तो उदाहरण चलाउनुभयो? (ख) घाइते मानिसलाई सामरीले कसरी मदत गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

३ हामी नजिकै बस्ने अनि हामीलाई मदत गर्ने व्यक्‍तिलाई हामी छिमेकी भन्छौं होला। (हितो. २७:१०) तर आफूलाई परमेश्‍वरको नजरमा असल साबित गर्ने हेतुले एक जना मानिसले प्रश्‍न सोध्दा येशूले कस्तो जवाफ दिनुभयो विचार गरौं। ती मानिसले यसरी सोधे, “वास्तवमा मेरो छिमेकी को हो?” येशूले सामरी छिमेकीको उदाहरण दिनुहुन्छ। (लूका १०:२९-३७ पढ्‌नुहोस्‌) एक जना मानिसलाई डाँकुहरूले हमला गरे, कुटे अनि अधमरो छोडे। त्यस मानिसलाई देखेर इस्राएली पुजारी र लेवीले असल छिमेकीको भूमिका निर्वाह गर्नेछन्‌ भन्‍ने हामीलाई लाग्न सक्छ। तर तिनीहरूले केही नगरी आफ्नो बाटो तताए। बरु त्यस मानिसलाई एक सामरीले मदत गरे। त्यतिबेला यहूदीहरू र सामरीहरू एकअर्कालाई घृणा गर्थे।—यूह. ४:९.

४ सामरीले त्यस मानिसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदिए। त्यस मानिसलाई तिनले पौवामा लगे र पौवाको मालिकलाई दुई दिनार दिए। दुई दिनार एक जना मानिसको दुई दिनको ज्याला बराबर हुन्थ्यो। (मत्ती २०:२) यस उदाहरणबाट त्यो घाइते व्यक्‍तिको छिमेकी वास्तवमा को हो भनेर सजिलै बुझ्न सकिन्छ। येशूको उदाहरणले छिमेकीलाई प्रेम र दया देखाउन सिकाउँछ।

यहोवाका साक्षीहरू प्रकोपको बेला मदत गर्दै

यहोवाका सेवकहरू छिमेकीलाई मदत गर्न अग्रसर हुन्छन्‌ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. प्राकृतिक प्रकोपको बेला यहोवाका सेवकहरूले छिमेकीलाई कसरी प्रेम देखाए?

५ यस “अन्तको दिनमा” सामरी छिमेकीजस्तै दयालु मानिस भेट्टाउन गाह्रो छ। अधिकांश मानिसहरूमा स्वाभाविक स्नेह छैन, उनीहरू निष्ठुर छन्‌ र भलाइलाई प्रेम गर्दैनन्‌। (२ तिमो. ३:१-३) उदाहरणको लागि, प्राकृतिक प्रकोपको बेला अवस्था एकदमै नाजुक हुन सक्छ। सन्‌ २०१२ अक्टोबरमा स्याण्डी नाम गरेको आँधीले न्यु योर्क सहरमा निकै क्षति पुऱ्‍यायो। सहरको एउटा भागमा धेरै असर परेको थियो। त्यहाँका मानिसहरूसित बिजुली बत्ती अनि आवश्‍यक कुराहरू थिएन। यस्तो विपत्तिमा परेका मानिसहरूलाई लुटेराहरूले पनि छोडेनन्‌। तर यहोवाका साक्षीहरू भने भिन्‍नै थिए। छिमेकीलाई प्रेम गर्ने भएकोले तिनीहरूले भाइबहिनीलाई अनि त्यो क्षतिग्रस्त इलाकाका अरू मानिसलाई चाहिने कुरा जुटाइदिए। छिमेकीलाई अरू कस्तो तरिकामा मदत गर्न सक्छौं?

छिमेकीलाई कसरी प्रेम देखाउन सक्छौं?

६. बाइबलबाट छिमेकीलाई कस्तो मदत दिन सक्छौं?

६ आध्यात्मिक मदत दिएर। प्रचारकार्यद्वारा छिमेकीलाई “धर्मशास्त्रबाट पाइने सान्त्वना” दिन सक्छौं। (रोमी १५:४) बाइबलबाट राज्यको सुसमाचार सुनाउँदा प्रेम देखाइरहेका हुन्छौं। (मत्ती २४:१४) “आशा दिनुहुने परमेश्‍वर”-बाट आएको सन्देश घोषणा गर्न पाउनु कत्ति ठूलो सुअवसर!—रोमी १५:१३.

७. सुनौलो नियम भनेको के हो अनि यो नियम पालन गर्दा हामीले कस्तो आशिष्‌ पाउन सक्छौं?

७ सुनौलो नियम पालन गरेर। येशूले सुनौलो नियम के हो भन्‍नेबारे यसो भन्‍नुभयो, “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू, किनकि यही नै व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षाको सार हो।” (मत्ती ७:१२) येशूको सल्लाहअनुसार अरूसित व्यवहार गर्दा हामी व्यवस्था (उत्पत्तिदेखि व्यवस्थासम्म) र भविष्यवक्‍ताहरूको शिक्षाअनुरूप (हिब्रू धर्मशास्त्रका भविष्यसूचक किताबहरू) चलिरहेका हुन्छौं। यस्ता लेखोटहरूले अरूलाई प्रेम देखाउँदा परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ भनेर देखाउँछ। उदाहरणको लागि, यशैयामार्फत यहोवाले यसो भन्‍नुभयो, “न्याय कायम राख। जे ठीक छ, त्यो गर। . . . त्यो मानिस धन्यको हो जसले यो गर्दछ।” (यशै. ५६:१, २) छिमेकीप्रति प्रेम देखाउँदा र सुनौलो नियम पालन गर्दा हामी आफैले पनि आशिष्‌ पाउनेछौं।

८. हामीले किन शत्रुलाई प्रेम गर्नुपर्छ? यसो गऱ्‍यौं भने के हुनेछ?

८ शत्रुलाई प्रेम गरेर। येशूले भन्‍नुभयो, “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीले आफ्नो छिमेकीलाई प्रेम गर्नू र आफ्नो शत्रुलाई घृणा गर्नू।’ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो। यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ।” (मत्ती ५:४३-४५) प्रेषित पावलले पनि यही कुरा भन्‍न खोज्दै थिए, “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ।” (रोमी १२:२०; हितो. २५:२१) यहोवाले शत्रु र शत्रुको वस्तुभाउलाई समेत प्रेम गर्न इस्राएलीहरूलाई निर्देशन दिनुभएको थियो। (प्रस्थ. २३:५) यस्तो सल्लाह पालन गर्दा पहिला एकअर्कालाई घृणा गर्नेहरू पनि पछि असल साथी बन्‍न सक्थे। हामी ख्रीष्टियनहरू अरूलाई प्रेम देखाउँछौं। त्यसैले हामीलाई घृणा गर्नेहरूले समेत आफ्नो मन परिवर्तन गरेका छन्‌। अझ कोही त यहोवाको सेवकसमेत बनेका छन्‌।

९. भाइबहिनीसित शान्ति कायम गर्ने सन्दर्भमा येशूले के भन्‍नुभयो?

९ ‘सबै मानिससित शान्ति कायम गरिरहेर।’ (हिब्रू १२:१४) यसमा हाम्रा भाइबहिनी पनि पर्छन्‌ किनकि येशूले यसो भन्‍नुभयो, “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्‍ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीं वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।” (मत्ती ५:२३, २४) भाइबहिनीलाई प्रेम देखायौं र शान्ति कायम गर्न तुरुन्तै अग्रसर भयौं भने परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ।

१०. किन अरूको न्याय गर्नु हुँदैन?

१० अरूको न्याय गर्न छोडेर। येशूले भन्‍नुभयो, “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌। किनकि तिमीहरूले जसरी अरूको न्याय गर्छौ त्यसरी नै तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरू जुन नापले नाप्छौ अरूले पनि तिमीहरूलाई त्यही नापले नाप्नेछन्‌। तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिं यादै गर्दैनौ? हेर, जब तिम्रो आफ्नै आँखामा मुढा छ भने तिमी कसरी आफ्नो भाइलाई ‘मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्‍न सक्छौ? ए कपटी हो! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्‌गै देख्नेछौ।” (मत्ती ७:१-५) हामी आफैले धेरै गल्ती गर्ने भएकोले अरूले गल्ती गर्दा तिनीहरूको आलोचना गर्नु हुँदैन भन्‍ने पाठ यसबाट सिक्न सक्छौं।

छिमेकीलाई प्रेम देखाउने विशेष तरिका

११, १२. छिमेकीलाई प्रेम देखाउने विशेष तरिका कुन हो?

११ छिमेकीलाई अर्को एउटा विशेष तरिकामा पनि प्रेम देखाउन चाहन्छौं। येशूले जस्तै हामी पनि राज्यको सुसमाचार सुनाउँछौं। (लूका ८:१) येशूले आफ्ना अनुयायीहरूलाई “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०) येशूको आज्ञा मान्दा हामीले छिमेकीलाई के गर्न मदत गरिरहेका हुन्छौं? विनाशतर्फ लैजाने फराकिलो र खुल्ला बाटो छोड्‌न अनि जीवनतर्फ लैजाने अप्ठेरो बाटोमा हिंड्‌न। (मत्ती ७:१३, १४) हाम्रा यस्ता प्रयासमा यहोवाले आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

१२ येशूले धेरै मानिसलाई परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्न मदत गर्नुभयो। (मत्ती ५:३) अरूलाई “परमेश्‍वरको सुसमाचार” सुनाउँदा हामीले येशूको अनुकरण गरिरहेका हुन्छौं। (रोमी १:१) राज्य सन्देश स्वीकार्नेहरूले येशूको बलिदानद्वारा यहोवासित मिलाप गर्न सक्नेछन्‌। (२ कोरि. ५:१८, १९) सुसमाचार प्रचार गरेर हामीले छिमेकीलाई विशेष तरिकामा प्रेम देखाइरहेका हुन्छौं।

१३. मानिसहरूलाई यहोवाबारे सिकाउन पाउँदा तपाईंलाई कस्तो लाग्छ?

१३ पुनःभेट अनि बाइबल अध्ययनको लागि राम्ररी तयारी गर्दा मानिसहरूलाई यहोवाको आज्ञा मान्‍न राम्ररी सिकाउन सक्नेछौं। अनि बाइबल विद्यार्थीले जीवनमा छाँटकाँट गर्न सक्नेछन्‌। (१ कोरि. ६:९-११) “अनन्त जीवन पाउन लायक” भएकाहरूलाई यहोवाले जीवनमा परिवर्तन गर्न र उहाँसित नजिक हुन मदत गर्दै हुनुहुन्छ। (प्रेषि. १३:४८) यो देख्दा हाम्रो मनै छुन्छ। धेरै मानिस बाइबल अध्ययन गरेपछि रमाउन थालेका छन्‌; चिन्ता फिक्रीमा डुबेकाहरूले यहोवामा भरोसा गर्न थालेका छन्‌। यी नयाँ व्यक्‍तिहरूले परमेश्‍वरसित नजिक हुन प्रयास गरेको देख्न पाउँदा हामीलाई आनन्द लाग्छ। छिमेकीलाई यस्तो विशेष तरिकामा प्रेम देखाउन पाउनु यहोवाको आशिष्‌ हो भनेर के तपाईं मानिलिनुहुन्‍न र?

बाइबलमा प्रेमको परिभाषा

१४. पहिलो कोरिन्थी १३:४-८ मा पावलले प्रेमबारे के भने आफ्नै शब्दमा बताउनुहोस्‌।

१४ पावलले बताएको तरिकामा छिमेकीलाई प्रेम गर्दा यहोवालाई खुसी बनाइरहेका हुन्छौं, समस्याहरू कम गर्न सक्छौं र आनन्दित हुन सक्छौं। पावलले १ कोरिन्थी १३:४-८ मा लेखेका कुरा विचार गर्दा छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने अरू तरिकाबारे पनि थाह पाउन सक्छौं।—पढ्‌नुहोस्‌।

१५. (क) हामी किन धीरजी र दयालु हुनुपर्छ? (ख) हामीले किन डाह गर्नु हुँदैन अनि फुर्ती लगाउनु हुँदैन?

१५ “प्रेम धीरजी र दयालु हुन्छ।” परमेश्‍वरले त्रुटिपूर्ण मानिसहरूसित व्यवहार गर्दा धीरज अनि दया देखाउनुहुन्छ। अरूले गल्ती गर्दा कहिलेकाहीं हामीले विचारै नपुऱ्‍याइ बोल्न सक्छौं अथवा कठोर व्यवहार गर्न पुग्छौं। त्यसैले हामी धीरजी र दयालु हुनु आवश्‍यक छ। परमेश्‍वरको वचनमा “प्रेमले डाह गर्दैन” भनिएको छ। मण्डलीमा केही भाइबहिनीले जिम्मेवारी पाएका हुन सक्छन्‌ अथवा हामीसित नभएको कुरा उनीहरूसित हुन सक्छ। तर हामी भाइबहिनीलाई साँच्चै प्रेम गर्छौं भने उनीहरूको डाह गर्दैनौं। साथै हामी आफै पनि फुर्ती लगाउँदैनौं अनि घमन्डले फुल्दैनौं। “अहंकारी आँखा र घमन्डी हृदय” भएका मानिसहरूलाई यहोवा घृणा गर्नुहुन्छ भनी बाइबल बताउँछ।—हितो. २१:४.

१६, १७. पहिलो कोरिन्थी १३:५, ६ अनुसार छिमेकीलाई कुन-कुन तरिकामा प्रेम देखाउन सक्छौं?

१६ प्रेमले “अभद्र व्यवहार गर्दैन।” छिमेकीलाई प्रेम गर्छौं भने हामी उनीहरूसित झूटो बोल्दैनौं, उनीहरूको सामान चोर्दैनौं अनि यहोवालाई दुःखी बनाउने कुनै कुरा गर्दैनौं। साथै प्रेमले “आफ्नै फाइदा खोज्दैन।” त्यसैले हामी आफैबारे मात्र सोच्दैनौं तर छिमेकीको भलाइबारे सोच्छौं।—फिलि. २:४.

१७ प्रेम “आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन।” कसैले हामीलाई निर्दयी व्यवहार गर्दा हामी तुरुन्तै रिसाउँदैनौ। ‘यो व्यक्‍तिले यति चोटि मेरो मन दुखायो’ भनेर रेकर्ड राख्नु हुँदैन। (१ थिस्स. ५:१५) त्यस्तो इबी राख्छौं भने हाम्रो रिस आगोझैं दन्कनेछ। त्यसले हामी आफैलाई अनि अरूलाई पनि हानि पुऱ्‍याउँछ। (लेवी १९:१८) बरु हामीले क्षमा दिनुपर्छ र फेरि ती कुराहरू सम्झनु हुँदैन। साथै, प्रेम “कुकर्ममा खुसी हुँदैन।” त्यसैले हामीलाई घृणा गर्ने व्यक्‍तिले दुर्व्यवहार भोग्दा हामी खुसी हुँदैनौं।—हितोपदेश २४:१७, १८ पढ्‌नुहोस्‌।

१८. पहिलो कोरिन्थी १३:७, ८ बाट प्रेमबारे के सिक्न सक्छौं?

१८ प्रेमले “सबै कुरा खप्छ।” छिमेकीलाई प्रेम गर्छौं भने तिनले हामीलाई दुःखी बनाउने केही कुरा गर्दा क्षमा दिनेछौं। पावलले प्रेमले “सबै कुरा पत्यार गर्छ” पनि भने। बाइबलमा पढेको कुरा हामी विश्‍वास गर्छौं र यहोवाको सङ्‌गठनबाट सिक्न पाउँदा कृतज्ञ हुन्छौं। प्रेमले “सबै कुराको आशा गर्छ।” हामीसित आशा छ किनभने यहोवाले गर्नुभएको सबै प्रतिज्ञामा हामी भरोसा गर्छौं। अनि मानिसहरूलाई प्रेम गर्ने भएकोले हाम्रो आशाबारे उनीहरूलाई बताउन हामी सकेजति गर्छौं। (१ पत्रु. ३:१५) गाह्रोभन्दा गाह्रो परिस्थितिको सामना गर्नुपर्दा हामी प्रार्थना गर्छौं र परिस्थिति सुध्रन्छ भनेर आशा गर्छौं। प्रेमले “सबै कुरा सहन्छ” भनेर पावलले बताएझैं कसैले हामीविरुद्ध पाप गर्दा र हामीलाई दुःख दिंदा हामी सहन्छौं। तिनले यसो पनि भने, “प्रेम कहिल्यै अन्त हुँदैन।” यहोवाप्रति आज्ञाकारी व्यक्‍तिहरूले छिमेकीलाई सधैं प्रेम देखाउँछन्‌।

छिमेकीलाई आफूलाई जस्तै प्रेम गरिरहनुहोस्‌

१९, २०. छिमेकीलाई प्रेम देखाउन बाइबलको कुन सल्लाहले मदत गर्छ?

१९ बाइबलको सल्लाह पालन गरेर हामी छिमेकीलाई प्रेम देखाइरहन सक्छौं। हामीले सबै मानिसलाई प्रेम देखाउनुपर्छ, चाहे तिनीहरू जुनसुकै ठाउँबाट आएको होस्‌ वा तिनीहरूको संस्कृति जस्तोसुकै होस्‌। हामीले येशूले भन्‍नुभएको कुरा पनि सम्झनुपर्छ, “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) परमेश्‍वर र येशू दुवैले हामीले छिमेकीलाई प्रेम गरेको चाहनुहुन्छ। छिमेकीलाई प्रेम देखाउन गाह्रो भएको बेला यहोवालाई प्रार्थना गरेर पवित्र शक्‍ति माग्न सक्छौं। यसो गऱ्‍यौं भने यहोवाको आशिष्‌ पाउनेछौं र मायालु व्यवहार गरिरहन सक्नेछौं।—रोमी ८:२६, २७.

२० छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने आज्ञालाई “शाही व्यवस्था” भनिन्छ। (याकू. २:८) मोशाको व्यवस्थाको केही आज्ञा उल्लेख गरेपछि पावलले यसो भने, “अरू सम्पूर्ण आज्ञाहरूको सार यस वचनमा पाइन्छ, अर्थात्‌ ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन; त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।” (रोमी १३:८-१०) त्यसकारण छिमेकीलाई प्रेम देखाइरहौं।

२१, २२. परमेश्‍वर र छिमेकीलाई किन प्रेम देखाउनुपर्छ?

२१ हामीले छिमेकीलाई किन प्रेम देखाउनुपर्छ भन्‍ने कुरा मनन गर्दा येशूले आफ्नो बुबाबारे बताउनुभएको यो कुरा सम्झनु बेस हुन्छ, “उहाँले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि भला र दुष्ट दुवैमाथि पानी वर्षाउनुहुन्छ।” (मत्ती ५:४३-४५) हाम्रो छिमेकी भला होस्‌ वा दुष्ट, हामीले तिनलाई प्रेम देखाउनुपर्छ। माथि चर्चा गरेझैं छिमेकीलाई प्रेम देखाउने विशेष तरिका राज्य सन्देश सुनाउनु हो। बाइबलबाट सिकेको कुरा लागू गरेमा तिनले परमेश्‍वरको साथी बन्‍ने विशेष अवसर पाउन सक्नेछन्‌।

२२ कुनै सर्त नराखी यहोवालाई प्रेम गर्नुपर्ने थुप्रै कारण हामीले पायौं। साथै छिमेकीलाई प्रेम देखाउन सक्ने थुप्रै तरिकाबारे पनि थाह पायौं। परमेश्‍वर र छिमेकीलाई प्रेम देखाउँदा सबैभन्दा ठूलो दुइटा आज्ञा पालन गरिरहेका हुन्छौं। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, हामीले स्वर्गमा बस्नुहुने बुबा यहोवालाई खुसी बनाइरहेका हुन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने