अध्ययन लेख २१
गीत २१ गरिरहौँ खोजी राज्यको पहिले!
सधैँभरि रहिरहने सहरको प्रतीक्षा गर्नुहोस्
“हामी आउँदै गरेको सहरको उत्कट प्रतीक्षा गर्दै छौँ।”—हिब्रू १३:१४.
सिक्न सकिने कुरा
हामी हिब्रू अध्याय १३ बाट अहिलेको लागि र भविष्यको लागि उपयोगी हुने कस्ता कुराहरू सिक्न सक्छौँ?
१. येसुले यरुसलेमबारे कस्तो भविष्यवाणी गर्नुभयो?
येसु ख्रिष्टले आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि एउटा भविष्यवाणी गर्नुभएको थियो। यरुसलेम र त्यसको मन्दिर विनाश हुँदा त्यस भविष्यवाणीको पहिलो पूर्ति भयो। उहाँले ‘यरुसलेमलाई सैनिकहरूले घेर्नेछन्’ भनेर चेतावनी दिनुभएको थियो। (लुका २१:२०) उहाँले चेलाहरूलाई सैनिकहरूले यरुसलेम घेरेको देख्नेबित्तिकै त्यहाँबाट भागी हाल पनि भन्नुभयो। येसुको भविष्यवाणी साँच्चै पूरा भयो। रोमी सैनिकहरूले यरुसलेमलाई घेरा हाले।—लुका २१:२१, २२.
२. पावलले यहुदिया र यरुसलेमका ख्रिष्टियनहरूलाई के सम्झाए?
२ रोमी सेनाले यरुसलेमलाई घेर्नुभन्दा केही वर्षअघि प्रेषित पावलले एउटा पत्र लेखे। त्यस पत्रलाई अहिले हिब्रूको किताब भनिन्छ। त्यस पत्रमा पावलले दिएका सल्लाहहरूले यहुदिया र यरुसलेमका ख्रिष्टियनहरूलाई चाँडै हुन लागेको घटनाको लागि तयार रहन मदत गर्ने थियो। चाँडै के हुन लागेको थियो? यरुसलेमको विनाश। त्यो विनाशबाट बच्न ती ख्रिष्टियनहरू आफ्नो घरबार र व्यापार व्यवसाय छोडेर भाग्नुपर्ने थियो। त्यसैले पावलले यरुसलेम सहरबारे यस्तो लेखे: “यहाँ हामीसित सधैँभरि रहिरहने सहर छैन।” त्यसपछि तिनले अझै यसो भने: “बरु हामी आउँदै गरेको सहरको उत्कट प्रतीक्षा गर्दै छौँ।”—हिब्रू १३:१४.
३. ‘साँचो जग भएको सहर’ के हो? हामी किन त्यसको प्रतीक्षा गर्छौँ?
३ यरुसलेम र यहुदिया छोडेर जाने निर्णय गरेका ख्रिष्टियनहरूलाई थुप्रैले खिसीटिउरी र गिल्ला गरे होलान् तर त्यस्तो निर्णय गर्दा तिनीहरूको ज्यान जोगियो। आज हामीलाई पनि थुप्रैले गिल्ला गर्छन् किनभने हामी पैसा नै सबथोक हो भन्ने सोचाइ राख्दैनौँ। अनि अहिले संसारमा भइरहेका समस्याहरू मानिसले समाधान गर्न सक्छ भन्ने कुरामा पनि भरोसा गर्दैनौँ। तर मानिसहरूले जतिसुकै गिल्ला गरे पनि हामी यस संसारका कुराहरूमा किन भरोसा राख्दैनौँ? किनभने यस दुष्ट संसारको चाँडै विनाश हुनेछ भनेर हामीलाई थाह छ। हामी “साँचो जग भएको त्यस सहरको” अर्थात् “आउँदै गरेको” परमेश्वरको राज्यकोa प्रतीक्षामा छौँ। (हिब्रू ११:१०; मत्ति ६:३३) यस लेखको हरेक उपशीर्षकमा हामी यी कुराहरू छलफल गर्नेछौँ: (१) प्रेषित पावलको सल्लाहले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई ‘आउँदै गरेको सहरको प्रतीक्षा गर्न’ कसरी मदत गऱ्यो? (२) पावलले तिनीहरूलाई भविष्यमा हुने घटनाहरूको लागि कसरी तयार पारे? (३) पावलको सल्लाह आज हाम्रो लागि पनि किन उपयोगी छ?
तपाईँलाई कहिल्यै नत्याग्नुहुने परमेश्वरमाथि भरोसा राख्नुहोस्
४. ख्रिष्टियनहरूको लागि यरुसलेम किन महत्त्वपूर्ण ठाउँ थियो?
४ प्रथम शताब्दीका ख्रिष्टियनहरूको लागि यरुसलेम एउटा महत्त्वपूर्ण ठाउँ थियो। इस्वी संवत् ३३ मा त्यही सहरमा पहिलो ख्रिष्टियन मण्डली स्थापना भएको थियो र परिचालक निकाय पनि त्यहीँ थियो। यसबाहेक त्यहाँका थुप्रै ख्रिष्टियनहरूको आफ्नै घर थियो र तिनीहरूले केही भौतिक सम्पत्ति पनि जोरजाम गरेका थिए। तर तिनीहरू यरुसलेमबाट मात्र होइन यहुदियाबाटै भाग्नुपर्नेछ भनेर येसुले पहिला नै बताइसक्नुभएको थियो।—मत्ति २४:१६.
५. पावलले ख्रिष्टियनहरूलाई चाँडै हुन लागेको घटनाबारे कसरी तयार पारे?
५ पावल ख्रिष्टियनहरूलाई चाँडै हुन लागेको घटनाको लागि तयार बनाउन चाहन्थे। त्यसैले तिनले उनीहरूलाई यहोवा यरुसलेमप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर बुझ्न मदत गरे। यरुसलेमको मन्दिर, त्यहाँ पुजारीहरूले चढाउने सेवा र बलिदानहरू यहोवाको नजरमा अपवित्र भइसकेको थियो। (हिब्रू ८:१३) साथै त्यस सहरका धेरैजसोले मसीहलाई तिरस्कार गरेका थिए। त्यसैले यरुसलेमको मन्दिर साँचो उपासनाको केन्द्र रहेन र त्यो चाँडै नै विनाश हुने थियो।—लुका १३:३४, ३५.
६. पावलले हिब्रू १३:५, ६ मा ख्रिष्टियनहरूलाई बताएको कुरा किन समय सुहाउँदो थियो?
६ पावलले हिब्रूहरूलाई पत्र लेख्दा यरुसलेम निकै चहलपहल हुने व्यस्त सहर थियो। त्यतिबेलाका एक जना रोमी लेखकले यरुसलेमलाई “पूर्वको सबैभन्दा प्रख्यात सहर” भने। विभिन्न ठाउँका यहुदीहरू हरेक वर्ष चाडहरू मनाउन यरुसलेममा आउँथे। त्यसैले त्यहाँको अर्थतन्त्र एकदमै फस्टाउँदो थियो। त्यहाँका केही ख्रिष्टियनहरूले पनि निकै पैसा कमाइरहेका थिए होलान्। सायद यही कारणले गर्दा पावलले त्यहाँका ख्रिष्टियनहरूलाई यसो भने: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।” (हिब्रू १३:५, ६ पढ्नुहोस्; व्यव. ३१:६; भज. ११८:६) त्यसपछि तिनले यहोवाले आफ्ना प्रत्येक सेवकलाई दिनुभएको यो आश्वासन धर्मशास्त्रबाट उद्धरण गरे: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” यरुसलेम र यहुदियाका ख्रिष्टियनहरूको लागि यो आश्वासनले ठूलो अर्थ राख्ने थियो। किन? किनभने पावलको पत्र पाएको केही समयपछि नै तिनीहरूले आफ्नो घरबार, व्यापार-व्यवसाय र प्रायजसो सरसम्पत्ति छोडेर जानुपर्ने थियो। त्यसपछि तिनीहरूले नयाँ ठाउँमा सबै कुराको चाँजोपाँजो मिलाउनुपर्ने थियो र त्यो पक्कै सजिलो हुने थिएन।
७. हामीले किन अहिल्यैदेखि यहोवामाथि पूरा भरोसा राख्नुपर्छ?
७ हाम्रो लागि पाठ: अब चाँडै के हुनेछ? “महासङ्कष्ट” सुरु हुनेछ। (मत्ति २४:२१) यस दुष्ट संसारको विनाश हुनेछ। त्यसैले प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै हामी जागा र तयार रहनुपर्छ। (लुका २१:३४-३६) महासङ्कष्टको दौडान हामीले केही वा सबै सम्पत्ति गुमाउनुपर्ने हुन सक्छ। त्यतिबेला हामीले यहोवामा पूरा भरोसा राख्नुपर्छ र उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर ढुक्क हुनुपर्छ। तर अहिले पनि हामी यहोवामाथि पूरा भरोसा राखेको देखाउन सक्छौँ। आफूलाई सोध्नुहोस्, ‘के मेरो जीवनशैली र लक्ष्यहरूबाट मैले धनसम्पत्तिमा होइन, यहोवामा भरोसा राखेको देखिन्छ?’ (१ तिमो. ६:१७) हुनत हामी प्रथम शताब्दीमा भएको घटनाबाट पाठ सिक्न सक्छौँ। तर महासङ्कष्टमा हामीले पहिले कहिल्यै नभोगेको कठिनाई भोग्नुपर्नेछ। त्यसोभए महासङ्कष्ट सुरु हुँदा हामीले के गर्नुपर्छ भनेर कसरी थाह पाउन सक्छौँ?
अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी हुनुहोस्
८. येसुले चेलाहरूलाई कस्तो निर्देशन दिनुभएको थियो?
८ पावलको पत्र पाएको केही वर्षपछि ख्रिष्टियनहरूले यरुसलेमलाई रोमी सैनिकहरूले घेरेको देखे। अब तिनीहरू त्यहाँबाट भाग्नुपर्ने थियो किनभने यरुसलेम सहर चाँडै विनाश हुने थियो। तर तिनीहरू भागेर कहाँ जानुपर्थ्यो? (मत्ति २४:३; लुका २१:२०, २४) येसुले यति मात्र भन्नुभएको थियो: “यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।” (लुका २१:२१) यरुसलेम वरपर थुप्रै डाँडाहरू थिए। त्यसोभए तिनीहरू कुन डाँडामा भाग्नुपर्ने थियो?
९. ख्रिष्टियनहरूलाई कुन डाँडामा भाग्ने होला जस्तो किन लागेको हुन सक्छ? (नक्सा पनि हेर्नुहोस्।)
९ यरुसलेम वरपरका केही डाँडाहरू यी हुन्: सामरियाका डाँडाहरू, गालिलका डाँडाहरू, हर्मोन डाँडा, लेबनानका डाँडाहरू र यर्दन पारिका डाँडाहरू। (नक्सा हेर्नुहोस्।) ती पहाडी इलाकाहरूमा भएका केही सहरहरू सुरक्षित देखिन्थे। जस्तै, गाम्ला सहर। त्यो सहर अग्लो डाँडामा थियो। त्यसैले केही यहुदीहरूले त्यस ठाउँमा शत्रुहरूले हतपती आक्रमण गर्न सक्दैनन् भन्ने सोचेको हुनुपर्छ। तर पछि रोमीहरूले त्यस सहरमा आक्रमण गरे र त्यहाँ बस्ने थुप्रैले ज्यान गुमाए।b
प्रथम शताब्दीका ख्रिष्टियनहरू भागेर जान सक्ने डाँडाहरू थुप्रै थिए तर सबै नै सुरक्षित भने थिएनन् (अनुच्छेद ९ हेर्नुहोस्)
१०-११. (क) यहोवाले ख्रिष्टियनहरूलाई कसरी डोऱ्याउनुभएको हुन सक्छ? (हिब्रू १३:७, १७) (ख) अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी हुँदा नतिजा कस्तो भयो? (चित्र पनि हेर्नुहोस्।)
१० त्यतिबेला यहोवाले ख्रिष्टियनहरूलाई मण्डलीमा अगुवाइ लिइरहेकाहरूमार्फत डोऱ्याउनुभयो जस्तो देखिन्छ। इतिहासकार युसिबियसले यस्तो लेखे: “परमेश्वरले यरुसलेमका नियुक्त पुरुषहरूलाई भागेर कहाँ जाने भनेर प्रकट गर्नुभयो। त्यसपछि तिनीहरूले मण्डलीका मानिसहरूलाई युद्ध सुरु हुनुअघि नै सहर छोडेर पेरिया भनिने इलाकाको पेला सहरमा भागेर जान निर्देशन दिए।” ख्रिष्टियनहरू भागेर पेला सहर जानु उपयुक्त देखिन्थ्यो किनभने त्यो सहर यरुसलेमबाट धेरै टाढा थिएन र त्यहाँ सजिलै पुग्न सकिन्थ्यो। साथै पेला सहरका प्रायजसो बासिन्दा यहुदी थिएनन्। त्यसैले त्यहाँ यहुदीहरू र रोमीहरूबीच युद्ध चर्किने सम्भावना कम थियो।—नक्सा हेर्नुहोस्।
११ मण्डलीमा ‘अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी’ भएका ख्रिष्टियनहरू पेलामा भागे। (हिब्रू १३:७, १७ पढ्नुहोस्।) आज्ञाकारी भएकोले तिनीहरूको ज्यान जोगियो। तिनीहरूले “साँचो जग भएको त्यस सहरको” अर्थात् परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेकोले यहोवाले तिनीहरूलाई त्याग्नुभएन।—हिब्रू ११:१०.
पेला सुरक्षित ठाउँ थियो (अनुच्छेद १०-११ हेर्नुहोस्)
१२-१३. यहोवाले आफ्ना जनहरूलाई कठिन समयमा कसरी डोऱ्याइरहनुभएको छ?
१२ हाम्रो लागि पाठ: अगुवाइ लिइरहेका पुरुषहरू चलाएर यहोवा आफ्ना जनहरूलाई स्पष्ट निर्देशन दिनुहुन्छ। यहोवाले गाह्रो अवस्थामा आफ्ना जनहरूलाई डोऱ्याउन वफादार पुरुषहरू चलाउनुभएको थुप्रै उदाहरण बाइबलमा पाइन्छ। (व्यव. ३१:२३; भज. ७७:२०) अहिले पनि यहोवाले अगुवाइ लिइरहेका पुरुषहरूलाई चलाएर हामीलाई डोऱ्याइरहनुभएको छ भन्ने प्रशस्त प्रमाण पाउँछौँ।
१३ उदाहरणको लागि, कोभिड-१९ महामारी सुरु हुँदा ‘अगुवाइ लिइरहेकाहरूले’ आवश्यक निर्देशन दिए। एल्डरहरूले भाइबहिनीको आध्यात्मिक आवश्यकता कसरी पूरा गर्ने भन्नेबारे निर्देशनहरू पाए। महामारी सुरु भएको केही महिनापछि नै हामीले इन्टरनेट, टिभी र रेडियोमार्फत ५०० भन्दा बढी भाषामा अधिवेशनको कार्यक्रम प्रसारण गऱ्यौँ। त्यो साँच्चै ऐतिहासिक अधिवेशन थियो। त्यो महामारीले सारा विश्वलाई ठप्प पाऱ्यो तर हामीले आध्यात्मिक भोजन भने पाइरह्यौँ। त्यसैले हामी एकजुट रहिरहन सक्यौँ। भविष्यमा जस्तोसुकै गाह्रो अवस्था आइपरे तापनि यहोवाले अगुवाइ लिइरहेकाहरूलाई बुद्धिमानी निर्णय गर्न मदत गरिरहनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ। महासङ्कष्टको लागि तयार रहन र त्यस्तो गाह्रो अवस्थामा बुद्धिमानीपूर्वक चल्न यहोवामाथि भरोसा राख्नु र उहाँका आज्ञाहरू पालन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसबाहेक हामीसित अरू कस्ता गुणहरू पनि हुनुपर्छ?
भ्रातृप्रेम देखाउनुहोस् र अतिथि-सत्कार गर्नुहोस्
१४. यरुसलेमको विनाश नजिकिँदै जाँदा ख्रिष्टियनहरूले कस्ता गुणहरू देखाउनुपर्थ्यो? (हिब्रू १३:१-३)
१४ महासङ्कष्ट सुरु भएपछि हामीले भाइबहिनीलाई पहिलाभन्दा धेरै प्रेम देखाउनुपर्नेछ। त्यतिबेला हामीले यरुसलेम र यहुदियाका ख्रिष्टियनहरूको उदाहरण अनुकरण गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई प्रेम देखाउँदै आएका थिए। (हिब्रू १०:३२-३४) तर यरुसलेमको विनाश नजिकिँदै जाँदा तिनीहरूले अझ धेरै “भ्रातृप्रेम”c देखाउनुपरेको र “अतिथि-सत्कार” गर्नुपरेको थियो। (हिब्रू १३:१-३ पढ्नुहोस्।) त्यसरी नै यस दुष्ट संसारको अन्त नजिकिँदै जाँदा हामीले एकअर्कालाई झन् धेरै भ्रातृप्रेम देखाउनुपर्नेछ।
१५. यरुसलेमबाट भागेपछि ख्रिष्टियनहरूले किन एकअर्कालाई भ्रातृप्रेम देखाउनुपर्थ्यो र अतिथि-सत्कार गर्नुपर्थ्यो?
१५ रोमी सैनिकहरूले यरुसलेम घेरे तर तिनीहरू अचानक फर्केर गए। त्यतिबेला ख्रिष्टियनहरूले भाग्ने मौका पाए। तिनीहरूले आफूसित थोरै कुराहरू मात्र लैजान सके। (मत्ति २४:१७, १८) तिनीहरूलाई यात्राको दौडान अनि पेलामा पुगिसकेपछि पनि सबै कुराको चाँजोपाँजो मिलाउन एकअर्काको साथ चाहिने थियो। त्यतिबेला ख्रिष्टियनहरूलाई थुप्रै चोटि एकअर्काको मदत चाहिएको हुनुपर्छ। त्यस्तो अवस्थामा तिनीहरूले एकअर्काप्रति साँचो भ्रातृप्रेम देखाउने र अतिथि-सत्कार गर्ने मौका पाए।—ति. ३:१४.
१६. खाँचोमा परेका भाइबहिनीलाई हामी कसरी प्रेम देखाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१६ हाम्रो लागि पाठ: हामी भाइबहिनीलाई प्रेम गर्छौँ। त्यसैले हामी तिनीहरूलाई आवश्यक मदत दिन अग्रसर हुन्छौँ। हालैका युद्धहरू र प्राकृतिक प्रकोपले गर्दा हाम्रा थुप्रै भाइबहिनीहरू शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। हाम्रा अरू थुप्रै भाइबहिनीहरूले ती मर्कामा परेकाहरूको आध्यात्मिक र भौतिक आवश्यकताहरू खुसीसाथ पूरा गरिदिएका छन्। युद्धले गर्दा आफ्नो घर छोड्नुपरेको युक्रेनकी एउटी बहिनीले यसो भनिन्: “यहोवाले हामीलाई भाइबहिनीहरू चलाएर डोऱ्याउनुभएको अनि मदत गर्नुभएको महसुस गरेका छौँ। युक्रेन, हङ्गेरी अनि अहिले यहाँ जर्मनीका भाइबहिनीहरूले हामीलाई न्यानो स्वागत गर्नुभयो र मदत दिनुभयो।” भाइबहिनीहरूको अतिथि-सत्कार गर्दा र तिनीहरूको आवश्यकता पूरा गरिदिँदा हामी यहोवा सँगसँगै मिलेर काम गरिरहेका हुन्छौँ।—हितो. १९:१७; २ कोरि. १:३, ४.
शरणार्थी भाइबहिनीलाई हाम्रो मदत चाहिन्छ (अनुच्छेद १६ हेर्नुहोस्)
१७. हामीले अहिलेदेखि नै किन भ्रातृप्रेम देखाउनुपर्छ र अतिथि-सत्कार गर्नुपर्छ?
१७ महासङ्कष्टको दौडान हामीले एकअर्कालाई अझ धेरै मदत गर्नुपर्नेछ। (हब. ३:१६-१८) त्यसैले यहोवाले हामीलाई अहिलेदेखि नै भ्रातृप्रेम देखाउन र अतिथि-सत्कार गर्न तालिम दिँदै हुनुहुन्छ।
भविष्यमा के हुनेछ?
१८. हामी कसरी हिब्रू ख्रिष्टियनहरूको अनुकरण गर्न सक्छौँ?
१८ येसुले दिनुभएको निर्देशनअनुसारै डाँडाहरूतिर भागेका ख्रिष्टियनहरू यरुसलेमको विनाशबाट जोगिए। तिनीहरूले सहर छोड्नुपऱ्यो तर यहोवाले तिनीहरूलाई कहिल्यै त्याग्नुभएन। हामीबारे चाहिँ के भन्न सकिन्छ? भविष्यमा हुने घटनाहरूबारे हामीलाई एक-एक कुरा थाह छैन। तर येसुले हामीलाई त्यो समयको लागि तयार रहन चेतावनी दिनुभएको छ। (लुका १२:४०) साथै हामीले पावलले हिब्रू ख्रिष्टियनहरूलाई लेखेका सल्लाहहरू पनि पढ्न पाएका छौँ। ती सल्लाहहरू त्यतिबेला जति उपयोगी थिए, आज पनि त्यति नै उपयोगी छन्। अनि यहोवाले हामीलाई कुनै हालतमा नछोड्ने र कहिल्यै नत्याग्ने आश्वासन पनि दिनुभएको छ। (हिब्रू १३:५, ६) त्यसैले हामी सधैँभरि रहने सहर अर्थात् परमेश्वरको राज्यको प्रतीक्षा गरिरहौँ। त्यसो गऱ्यौँ भने यस राज्यले ल्याउने आशिष्हरू हामी आफैले अनुभव गर्न पाउनेछौँ।—मत्ति २५:३४.
गीत १५७ शान्ति सधैँलाई!
a पुरातन समयमा साधारणतया राजाले सहरहरूमा शासन गर्थे। अनि त्यस्तो सहरलाई राज्य भनिन्थ्यो।—उत्प. १४:२.
b यो घटना ख्रिष्टियनहरू यहुदिया र यरुसलेमबाट भागेको धेरै समय नबित्दै इस्वी संवत् ६७ मा भयो।
c “भ्रातृप्रेम” भनेर अनुवाद गरिएको शब्दले आफ्नै परिवारका सदस्यहरूबीच हुने प्रेमलाई बुझाउँछ। तर पावलले मण्डलीका भाइबहिनीबीच हुने न्यानो प्रेमलाई बुझाउन त्यही शब्द प्रयोग गरेका छन्।