मार्च १६-२२, २०२६
गीत २० एक मात्र प्यारो छोरा दियौ
हामीलाई किन फिरौतीको बलिदान चाहिन्छ?
“मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?”—रोमी ७:२४.
सिक्न सकिने कुरा
फिरौतीको बलिदानले गर्दा पापहरूको क्षमा पाउन, त्रुटिरहित हुने आशा पाउन र परमेश्वरसित मिलाप गर्न सम्भव भएको छ।
१-२. हामीलाई केबाट छुटकारा चाहिएको छ र किन? (रोमी ७:२२-२४) (चित्र पनि हेर्नुहोस्।)
यो दृश्य कल्पना गर्नुहोस्। एउटा भवन गर्ल्यामगुर्लुम ढलेको छ र त्यहाँ एक जना मान्छे फसेको छ। ऊ जिउँदै छ तर त्यहाँबाट निस्कन आफैले केही गर्न सक्दैन। त्यसैले कोही आएर आफूलाई त्यहाँबाट निकाल्ने आशामा ऊ हारगुहार गरिरहेको छ। यसो गर्नुबाहेक ऊसित अरू कुनै उपाय छैन।
२ हामी प्रत्येकको अवस्था त्यस्तै छ। कुन अर्थमा? आदमले सृष्टिकर्ता यहोवाको विद्रोह गरेपछि तिनी पापी भए। अनि सन्तान-दरसन्तान गर्दै तिनको पाप सबैमा सर्दै गयो। नतिजास्वरूप सम्पूर्ण मानिसजाति पापको दलदलमा फसे। भत्किएको भवनभित्र फसेको मान्छेजस्तै हामी पनि आफैले केही गर्न नसक्ने अवस्थामा छौँ। प्रेषित पावलले रोमीहरूलाई लेखेको पत्रमा आफ्नो पापपूर्ण अवस्थाको वर्णन गरे। (रोमी ७:२२-२४ पढ्नुहोस्।) तिनले ‘मृत्युतर्फ धकेलिँदै गरेको शरीरबाट’ छुटकारा पाउन सकूँ भनेर बिन्ती गरे। जन्मजातै पाएको पापले गर्दा तिनले लाचार महसुस गरे; पापले तिनलाई मृत्युतर्फ धकेल्दै थियो। (रोमी ६:२३) हामी पनि त्यस्तै दयनीय अवस्थामा छौँ। यस्तो अवस्थाबाट छुटकारा पाउन हामीलाई कसैको मदत चाहिएको छ।
३. फिरौतीको बलिदानले गर्दा के सम्भव भएको छ?
३ पावलले आफ्नो पापपूर्ण अवस्थाबारे मात्र बताएनन्। बरु एउटा आशाको कुरा पनि बताए। “मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?” भनेर प्रश्न सोधेपछि तिनी आफैले यस्तो जवाफ दिए: “हाम्रा प्रभु येसु ख्रिष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्!” (रोमी ७:२५) पावलले यहाँ येसुले चढाउनुभएको फिरौतीको बलिदानबारेa कुरा गर्दै थिए। यस बलिदानले गर्दा (१) पापहरूको क्षमा पाउन, (२) त्रुटिरहित हुने आशा पाउन र (३) यहोवासित मिलाप गर्न सम्भव भएको छ। यी बुँदाहरू छलफल गर्दा हामीलाई “आशा दिनुहुने” यहोवा परमेश्वरप्रतिको प्रेम अझ बढ्नेछ। (रोमी १५:१३) साथै येसुप्रतिको कृतज्ञता पनि बढ्नेछ। किनकि उहाँले “तिर्नुभएको फिरौतीद्वारा हामी मुक्त भयौँ।”—कल. १:१४.
क्षमा पाउन सम्भव भएको छ
४-५. हामी सबैलाई फिरौतीको बलिदान किन चाहिन्छ? (उपदेशक ७:२०)
४ फिरौतीको बलिदानले गर्दा नै हामी पापहरूको क्षमा पाउन सक्छौँ। हामी त्रुटिपूर्ण भएकोले आफ्नो बोली वा व्यवहारमा चुक्छौँ अर्थात् पाप गर्छौं। (उपदेशक ७:२० पढ्नुहोस्।) कुनै-कुनै पाप गम्भीर किसिमका हुन्छन्। जस्तै, मोसाको व्यवस्थाअनुसार व्यभिचार र हत्याजस्ता अपराध गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइन्थ्यो। (लेवी २०:१०; गन्ती ३५:३०, ३१) तर धेरैजसो पाप त्यत्तिको गम्भीर हुँदैन। तैपनि पाप त पाप नै हो। दाउदले यस्तो लेखे: “आफ्नो जिब्रोले पाप नगरूँ भनेर म होसियार भई आफ्नो पाइला चाल्छु।” (भज. ३९:१) हो, कहिलेकाहीँ हामी आफ्नो बोलीद्वारा नै पाप गर्न पुग्न सक्छौँ।—याकु. ३:२.
५ तपाईँले विगतमा भनेका र गरेका कुराहरूबारे सोच्नुहोस् त! के तपाईँलाई आफूले भनेको कुनै कुरा नभनेको भए पनि हुन्थ्यो जस्तो लागेको छ? अथवा आफूले गरेको कुनै गल्तीको लागि पछुतो लागेको छ कि? पक्कै छ होला! बाइबल यसो भन्छ: “यदि हामी ‘हामीमा पाप छैन’ भन्छौँ भने आफैलाई झुक्क्याइरहेका हुन्छौँ र हामीमा सत्य हुँदैन।”—१ युह. १:८.
६-७. यहोवाले हाम्रा पापहरू केको आधारमा क्षमा गर्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
६ यहोवा आफ्नो न्यायको स्तरमा कहिल्यै सम्झौता गर्नुहुन्न। त्यसैले पापको क्षमा दिन एउटा बलियो आधारको आवश्यकता पऱ्यो। त्यसको लागि उहाँले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभयो। (एफि. १:७) हुनत उहाँले फिरौतीको बलिदानको आधारमा हाम्रा पापहरूको क्षमा दिन सक्नुहुन्छ। तर हामीले पाप गरे पनि उहाँ त्यसलाई वास्तै गर्नुहुन्न भन्ने होइन। उहाँ पापलाई घृणा गर्नुहुन्छ।—यसै. ५९:२.
७ मोसाको व्यवस्थाअनुसार इस्राएलीहरूले पापको प्रायश्चित गर्न पशुबलि चढाउनुपर्थ्यो। (लेवी ४:२७-३१; १७:११) ती बलिहरू येसुले चढाउनुहुने उत्कृष्ट बलिदानको पूर्वझलक थियो। उहाँको बलिदानबाट मानिसहरूले थुप्रै लाभ उठाउन सक्ने थिए। त्यही बलिदानको आधारमा यहोवाले आफ्नो न्यायको स्तरलाई नबङ्ग्याइकनै क्षमा दिन सक्नुहुने थियो। पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई लेखेको पत्रबाट तिनले येसुको बलिदानको महत्त्व बुझेका थिए भन्ने देखिन्छ। तिनीहरूले पहिला गरेका पापहरूबारे बताएपछि तिनले यसो भने: “परमेश्वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ, पवित्र पार्नुभएको छ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्तिद्वारा धर्मी ठहराउनुभएको छ।”—१ कोरि. ६:९-११.
८. स्मरणार्थ उत्सव नजिकिँदै जाँदा तपाईँ कुन कुरामा मनन गर्न सक्नुहुन्छ?
८ यस वर्षको स्मरणार्थ उत्सव नजिकै छ। त्यसैले यहोवाको क्षमाले तपाईँको लागि कस्तो अर्थ राख्छ भनेर मनन गर्न समय निकाल्नुहोस्। तपाईँले विगतमा कुनै पाप गर्नुभएको थियो तर पश्चात्ताप गरिसक्नुभयो भने दोषी भावना लिएर बस्नुपर्दैन। किनभने फिरौतीको बलिदानको आधारमा हामी क्षमा पाउन सक्छौँ। तर तपाईँलाई अझै पनि आफूले साँच्चै क्षमा पाएको कुरामा शङ्का लाग्छ भने नि? सायद तपाईँ यसो भन्नुहुन्छ होला, ‘यहोवाले त मलाई क्षमा दिन सक्नुहुन्छ तर मचाहिँ आफूलाई क्षमा दिन सक्दिनँ।’ तपाईँ यस्तो महसुस गर्नुहुन्छ भने यो कुरा नबिर्सनुहोस्: क्षमा दिने कि नदिने, त्यो यहोवाको हातमा छ। अनि कुनै व्यक्ति क्षमा पाउन लायकको छ कि छैन भनेर न्याय गर्ने अधिकार यहोवाले आफ्नो छोरा येसुलाई दिनुभएको छ। उहाँले त्यो अधिकार तपाईँलाई वा अरू कुनै मानिसलाई दिनुभएको छैन। बाइबल भन्छ: ‘यहोवा आफै ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँडिरहेका छौँ भने उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।’ (१ युह. १:६, ७) बाइबलका अरू शिक्षाहरूमा जस्तै यो शिक्षामा पनि हामीले कहिल्यै शङ्का गर्नुपर्दैन। फिरौतीको बलिदानको आधारमा यहोवा हामीलाई कृपा देखाउनुहुन्छ अनि उहाँ “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।”—भज. ८६:५.
त्रुटिरहित हुने आशा पाउन सम्भव भएको छ
९. बाइबलमा प्रयोग गरिएको “पाप” शब्दले केलाई बुझाउँछ? (भजन ५१:५ र फुटनोट)
९ बाइबलमा प्रयोग गरिएको “पाप” शब्दले गलत कामलाई मात्र नभई अवस्थालाई बुझाउँछ। कस्तो अवस्था? हामीले जन्मजात पाएको पापपूर्ण अवस्था। (भजन ५१:५ र फुटनोट पढ्नुहोस्।) यसले गर्दा हामीमा गलत काम गर्ने झुकाव छ। त्यति मात्र नभई पापपूर्ण अवस्थाले गर्दा नै हाम्रो शरीरले यहोवाको सुरुको उद्देश्यअनुसार काम गर्न सक्दैन। त्यसैले हामी बिरामी पर्छौँ, बूढाबूढी हुन्छौँ अनि मर्छौँ। हामीले कहिलेकाहीँ भर्खरै जन्मेको शिशुसमेत बिरामी परेको अनि मरेको देखेका छौँ, जसले कुनै पाप गरेको हुँदैन। साथै खराब मानिसहरूले मात्र होइन, असल मानिसहरूले समेत दुःख र मृत्यु भोगेको पनि हामीले देखेका छौँ। यी सब हुनुको कारण हामीले आदमबाट जन्मजातै पाएको पापपूर्ण अवस्था नै हो।
१०. पापपूर्ण अवस्थाले आदम र हव्वालाई कस्तो असर गऱ्यो?
१० पापपूर्ण अवस्थाले आदम र हव्वालाई कस्तो असर गऱ्यो, एकछिन विचार गरौँ। तिनीहरूलाई नराम्रा भावनाहरूले पिरोल्न थाल्यो। अनि तिनीहरूले परमेश्वरको व्यवस्था उल्लङ्घन गर्दा हुने दुःखद नतिजा भोग्न थाले, जुन व्यवस्था “तिनीहरूको हृदयमा” लेखिएको थियो। (रोमी २:१५) तिनीहरूले आफ्नो भावनामा केही परिवर्तन आएको महसुस गरे र त्यो पक्कै पनि राम्रो परिवर्तन त थिएन। तिनीहरूलाई आफ्नो शरीरका केही अङ्गहरू ढाक्नै पर्छ जस्तो लाग्यो। अनि तिनीहरूले आफूलाई अपराधीजस्तै महसुस गरे। त्यसैले तिनीहरू परमेश्वरको नजरबाट लुके। (उत्प. ३:७, ८) आदम र हव्वालाई जीवनमा पहिलो चोटि दोषी भावना, चिन्ता, डर, पीडा र लाजजस्ता भावनाहरूले पिरोल्न थाल्यो। धेरै होस् वा थोरै, यी भावनाहरूले तिनीहरूलाई मृत्युसम्मै सताउने थियो।—उत्प. ३:१६-१९.
११. पापपूर्ण अवस्थाले हामीलाई कस्तो असर गरेको छ?
११ पापपूर्ण अवस्थाले हामीलाई पनि असर गरेको छ। जस्तै, हामीलाई शारीरिक पीडा हुन्छ अनि दोषी भावना, चिन्ता डर, पीडा र लाजजस्ता भावनाहरूले सताउँछ। हामी कुनै-कुनै समस्या केही हदसम्म कम गर्न सक्छौँ होला तर कतिपय समस्या आफैले समाधान गर्न सक्दैनौँ। किन? किनभने आदम र हव्वाको पापले गर्दा हामी “व्यर्थताको अधीनमा” परेका छौँ। (रोमी ८:२०) व्यक्तिविशेष मात्र होइन, पूरै मानिसजाति यसको अधीनमा परेको छ। उदाहरणको लागि, मानिसहरूले वातावरणलाई जोगाउन, अपराध नियन्त्रण गर्न, गरिबी हटाउन अनि युद्ध रोक्न सक्दो प्रयास गर्दै छन्। तर खासै राम्रो नतिजा हासिल गर्न सकेका छैनन्। तिनीहरूको प्रयास व्यर्थ भएको छ। तर फिरौतीको बलिदानले गर्दा हामीले साँचो आशा पाएका छौँ। कस्तो आशा?
१२. फिरौतीको बलिदानले गर्दा कुन आशा सम्भव भएको छ?
१२ भविष्यमा ‘सृष्टि आफैले पनि गौरवशाली स्वतन्त्रता पाउनेछ’ र यो आशा फिरौतीको बलिदानले गर्दा सम्भव भएको हो। (रोमी ८:२१) सृष्टिले कुन अर्थमा स्वतन्त्रता पाउनेछ? नयाँ संसारमा हामी त्रुटिरहित भएपछि शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ हुनेछौँ। अनि हामीलाई दोषी भावना, चिन्ता डर, पीडा र लाजजस्ता भावनाहरूले सताउनेछैन। साथै पृथ्वीलाई जोगाउन र शान्तिमा रहन हामीले गर्ने प्रयास व्यर्थ जानेछैन। किनभने त्यतिबेला “शान्तिका राजकुमार” येसु ख्रिष्ट स्वयम्ले शासन गर्नुहुनेछ, जसले फिरौतीस्वरूप आफ्नो ज्यान दिनुभयो।—यसै. ९:६, ७.
१३. स्मरणार्थ उत्सव नजिकिँदै जाँदा हामी अर्को कुन कुरामा पनि मनन गर्न सक्छौँ?
१३ पापपूर्ण अवस्थाबाट मुक्त भएपछि तपाईँको जीवन कस्तो होला, एकछिन सोच्नुहोस् त! हरेक बिहान उठ्दा तपाईँले स्वस्थ र फुर्तिलो महसुस गर्नुहुनेछ। अनि आफू र आफूले माया गर्ने व्यक्तिहरू भोकै बस्नुपर्ने हो कि, बिरामी पर्ने हो कि वा एक दिन मर्ने हो कि भनेर डराउनु पनि पर्नेछैन। हामीले “आफूसामु राखिएको आशालाई दह्रोगरि पक्रिराख्यौँ” भने अहिले पनि केही हदसम्म मनोशान्ति पाउन सक्छौँ, जुन “आशा हाम्रो जीवनको लङ्गर हो अनि यो पक्का र अटल छ।” (हिब्रू ६:१८, १९) लङ्गरले जहाजलाई स्थिर राखेझैँ आशाले तपाईँलाई विश्वासमा स्थिर रहन अनि अहिले भोगिरहेका परीक्षाहरू सहन मदत गर्छ। साथै यहोवाले “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ” भन्ने कुरामा तपाईँ विश्वस्त हुन सक्नुहुनेछ। (हिब्रू ११:६) फिरौतीको बलिदानले गर्दा नै हामीले भविष्यको आशा पाएका छौँ अनि अहिले पनि मनोशान्ति पाउन सक्छौँ।
परमेश्वरसित मिलाप गर्न सम्भव भएको छ
१४. पापले गर्दा परमेश्वरसितको हाम्रो सम्बन्धमा कस्तो असर पुग्यो र किन?
१४ आदम र हव्वाले पाप गरेदेखि नै परमेश्वरसित मानिसजातिको सम्बन्ध बिग्रिएको छ। बाइबलले मानिसजाति र सृष्टिकर्ताबीच दुस्मनी भएको छ भनेर समेत बताउँछ। (रोमी ८:७, ८; कल. १:२१) किन? किनभने यहोवा त्रुटिरहित हुनुहुन्छ र उहाँ पापलाई कुनै पनि हालतमा स्विकार्नुहुन्न। उहाँबारे बाइबल यसो भन्छ: “तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन् किनकि ती अत्यन्तै पवित्र छन्।” (हब. १:१३) हो, पापले गर्दा परमेश्वर र मानिसजातिबीचको सम्बन्धमा फाटो आयो। हामीमध्ये कसैले पनि त्यो सम्बन्धलाई जोड्न सक्ने थिएनौँ। त्यसैले परमेश्वरसित फेरि मिलाप गर्न फिरौतीको बलिदानको आवश्यकता पऱ्यो।
१५. फिरौतीको बलिदानले कुन कुरालाई सन्तुष्ट पाऱ्यो र नतिजा कस्तो भयो?
१५ “हाम्रा पापहरूका लागि [येसु] प्रायश्चितको बलिदान हुनुहुन्छ” भनी बाइबल बताउँछ। (१ युह. २:२) “प्रायश्चितको बलिदान” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “सन्तुष्ट पार्ने माध्यम” भन्ने अर्थ दिन्छ। फिरौतीको बलिदानले कुन कुरालाई सन्तुष्ट पाऱ्यो? यसले यहोवाको न्यायको स्तरलाई सन्तुष्ट पाऱ्यो अर्थात् उहाँको न्यायको मापदण्ड पूरा गऱ्यो। यसरी परमेश्वरले मानिसजातिसित फेरि सम्बन्ध गाँस्ने आधार तयार भयो। (रोमी ३:२३-२६) यहोवाले येसुको मृत्यु हुनुभन्दा अघिका वफादार सेवकहरूलाई समेत ‘धर्मी ठहराउन सक्नुभयो।’ (उत्प. १५:१, ६) केको आधारमा? येसुले चढाउनुहुने फिरौतीको बलिदानको आधारमा। आफ्नो छोरा येसुले फिरौतीस्वरूप आफ्नो ज्यान दिनेछन् भन्ने कुरामा यहोवालाई पक्का विश्वास थियो। (यसै. ४६:१०) फिरौतीको बलिदानले गर्दा नै परमेश्वरसित मिलाप गर्ने बाटो खुल्यो।
१६. स्मरणार्थ उत्सव नजिकिँदै जाँदा हामी अर्को कुन कुरामा पनि मनन गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१६ परमेश्वरसित मिलाप गरेकोले तपाईँलाई कस्तो फाइदा भएको छ, एकछिन सोच्नुहोस् त! जस्तै, येसुले सिकाउनुभएझैँ तपाईँ यहोवालाई “बुबा” भनेर पुकार्नुहुन्छ होला। (मत्ति ६:९) कहिलेकाहीँ तपाईँ उहाँलाई आफ्नो “साथी” पनि भन्नुहुन्छ होला। तर यहोवालाई “बुबा” वा “साथी” भनेर सम्बोधन गर्दा गहिरो आदर र नम्रता झल्किनुपर्छ। किन? किनभने हामी त्रुटिपूर्ण भए पनि यहोवासित घनिष्ठ महसुस गर्न सकेका छौँ। अनि यो हाम्रो आफ्नै प्रयासले गर्दा नभई फिरौतीको बलिदानले गर्दा सम्भव भएको हो। येसुले “यातनाको खम्बामा बगाउनुभएको रगतद्वारा” यहोवाले ‘सबैलाई आफूसित मिलापमा ल्याउनुभयो।’ (कल. १:१९, २०) त्यसैले हामी पापी भए पनि यहोवासित सम्बन्ध गाँस्न सकेका छौँ।
फिरौतीको बलिदानमा यहोवाको कृपा झल्किन्छ
१७. फिरौतीको बलिदानमा यहोवाको कृपा कसरी झल्किन्छ? (एफिसी २:४, ५)
१७ फिरौतीको बलिदानले यहोवा “कृपाका धनी” हुनुहुन्छ भनेर देखाउँछ। “हामी आफ्ना अपराधहरूले गर्दा मरेको भए तापनि उहाँले हामीलाई जीवित पार्नुभयो।” (एफिसी २:४, ५ पढ्नुहोस्।) “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका व्यक्तिहरूले मदतको लागि गुहारिरहेका छन् किनकि तिनीहरू पापको दलदलमा फसेका छन्। (प्रेषि. १३:४८) यहोवा तिनीहरूको गुहार सुन्नुहुन्छ अनि तिनीहरूले उहाँ र उहाँको छोरा येसुलाई चिन्न सकून् भनेर राज्यको सन्देश तिनीहरूसम्म पुऱ्याउनुहुन्छ। (युह. १७:३) आदम र हव्वाले पाप गरे भने परमेश्वरको उद्देश्य डामाडोल हुनेछ भनेर सैतानले सोचेको थियो तर त्यो गलत साबित भयो।
१८. फिरौतीको बलिदानबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?
१८ हुनत फिरौतीको बलिदानले गर्दा हामीलाई व्यक्तिगत रूपमा थुप्रै फाइदा भएको छ। तर परमेश्वरले फिरौतीको बलिदानको प्रबन्ध गर्नुको मुख्य कारण बिर्सनु हुँदैन। उहाँले अदनको बगैँचामा सैतानले उठाएको विवाद सुल्झाउन यसको प्रबन्ध गर्नुभएको हो। (उत्प. ३:१-५, १५) यस बलिदानमार्फत यहोवा आफ्नो नाम पवित्र पार्नुहुन्छ अर्थात् आफ्नो नाममा लागेको कलङ्क मेटाउनुहुन्छ। साथै हामीलाई पाप र मृत्युबाट छुटकारा दिनुहुन्छ किनकि उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। पापपूर्ण अवस्थामै भए पनि हामीले सैतानको दाबीलाई झूटो साबित गर्ने मौका पाएका छौँ र यो यहोवाले हामीलाई देखाउनुभएको असीम अनुग्रह हो। (हितो. २७:११) त्यसोभए फिरौतीको बलिदानप्रति कृतज्ञ भएको तपाईँ कसरी देखाउन सक्नुहुन्छ? यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।
गीत १९ प्रभुको साँझको भोज
a थप व्याख्या: फिरौती भनेको कसैलाई मुक्त गर्न तिरिने मोल हो। येसुले आफ्नो ज्यान दिनुभएर फिरौतीको मोल तिर्नुभयो। यसले गर्दा आज्ञाकारी मानिसहरू पाप र मृत्युको दासत्वबाट मुक्त हुन सम्भव भएको छ।