प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जनवरी पृ. ८-१३
  • तपाईँ नकारात्मक भावनाहरू काबूमा राख्न सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ नकारात्मक भावनाहरू काबूमा राख्न सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावललाई किन नकारात्मक भावनाहरूले सताउँथ्यो?
  • पावलले नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सके?
  • हामी नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सक्छौँ?
  • आशा नमार्नुहोस्‌!
  • नकारात्मक भावनासित तपाईं कसरी लड्‌न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जनवरी पृ. ८-१३

मार्च ९-१५, २०२६

गीत ४५ मेरो चिन्तन

तपाईँ नकारात्मक भावनाहरू काबूमा राख्न सक्नुहुन्छ

“हाय, म कस्तो लाचार मानिस!”—रोमी ७:२४.

सिक्न सकिने कुरा

नकारात्मक सोचाइ अनि भावनाहरू हामी कसरी काबूमा राख्न सक्छौँ?

१-२. पावल कहिलेकाहीँ कस्तो महसुस गर्थे? हामी किन तिनको भावना बुझ्न सक्छौँ? (रोमी ७:२१-२४)

प्रेषित पावल भन्‍नेबित्तिकै तपाईँको मनमा कस्तो व्यक्‍तिको चित्र आउँछ? साहसी मिसनरी? निपुण शिक्षक? अथवा बाइबलका थुप्रै किताबहरू लेखेको व्यक्‍ति? पावललाई यसरी वर्णन गर्नु सही हो। तर वास्तवमा तिनी पनि हामीजस्तै थिए। तिनलाई कहिलेकाहीँ निराशा र चिन्ताले सताउँथ्यो। हामीले जस्तै तिनले पनि नकारात्मक भावनाहरूसित लड्‌नुपरेको थियो।

२ रोमी ७:२१-२४ पढ्‌नुहोस्‌। पावलले रोमीहरूलाई लेखेको पत्रमा आफ्नो भावना व्यक्‍त गरेका छन्‌। तिनको भावना हामी बुझ्न सक्छौँ। हुनत तिनी वफादार ख्रिष्टियन थिए, तैपनि तिनीभित्र एउटा आन्तरिक द्वन्द्व चलिरहन्थ्यो। एकातर्फ तिनमा परमेश्‍वरको इच्छाअनुसार गर्ने तीव्र चाहना थियो। अर्कोतर्फ तिनलाई आफ्नो कुइच्छाहरू वशमा राख्न गाह्रो भइरहेको थियो। साथै विगतमा गरेको गल्तीले गर्दा तिनलाई दोषी भावनाले निकै सताउँथ्यो। आफूले भोगिरहेको एउटा समस्याले गर्दा पनि तिनी कहिलेकाहीँ निराश हुन्थे।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ? (“थप व्याख्या” पनि हेर्नुहोस्‌।)

३ हुनत तिनीभित्र आन्तरिक द्वन्द्व चलिरहेको थियो। तर तिनले नकारात्मक भावनाहरूलाईa कहिल्यै आफूमाथि हाबी हुन दिएनन्‌। यस लेखमा हामी यी प्रश्‍नहरू छलफल गर्नेछौँ: पावलले कहिलेकाहीँ किन लाचार महसुस गरे? तिनले नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सके? हामी पनि नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सक्छौँ?

पावललाई किन नकारात्मक भावनाहरूले सताउँथ्यो?

४. पावललाई किन नकारात्मक भावनाहरूले सताउँथ्यो?

४ तिनले विगतमा गरेका गल्तीहरू। ख्रिष्टियन बन्‍नुअघि पावलले (पहिला सावल भनेर चिनिन्थे) निकै खराब कामहरू गरे, जसले गर्दा पछि तिनलाई दोषी भावनाले सतायो। जस्तै, स्तिफनसको हत्यामा तिनको पनि समर्थन थियो। (प्रेषि. ७:५८; ८:१) तिनले ख्रिष्टियनहरूको घोर विरोध गर्नुका साथै तिनीहरूसित क्रूर व्यवहार गरे।—प्रेषि. ८:३; २६:९-११.

५. विगतमा गरेका कुराहरूले पावललाई कस्तो असर गऱ्‍यो?

५ ख्रिष्टियन भइसकेपछि पनि प्रेषित पावललाई आफूले विगतमा गरेका कुराहरूले पिरोलिरहन्थ्यो। समय बित्दै जाँदा तिनलाई त्यस्ता भावनाहरूले झन्‌झनै सताएको हुन सक्छ। उदाहरणको लागि, इस्वी संवत्‌ ५५ तिर कोरिन्थीहरूलाई पहिलो पत्र लेख्दा तिनले यसो भने: “म प्रेषित भनिन लायक पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्डलीको खेदो गरेँ।” (१ कोरि. १५:९) त्यसको लगभग पाँच वर्षपछि एफिसीहरूलाई लेखेको पत्रमा तिनले आफू ‘पवित्र जनहरूमध्ये सबैभन्दा सानो हुँ’ भने। (एफि. ३:८) पछि तिमोथिलाई लेखेको पत्रमा तिनले यसो भने: “पहिले म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ।” (१ तिमो. १:१३) पावल विभिन्‍न मण्डलीको भ्रमणमा जाँदा आफूले खेदो गरेकाहरूलाई वा तिनीहरूको परिवारका सदस्यहरूलाई भेटे होलान्‌। त्यतिबेला तिनलाई कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त!

६. अर्को कुन कुराले पनि पावललाई निकै दुःख दियो? (फुटनोट पनि हेर्नुहोस्‌।)

६ तिनको शरीरमा भएको छेस्को। पावलले आफूलाई निकै दुःख दिइरहेको एउटा कुरालाई ‘शरीरमा भएको छेस्को’ भने। (२ कोरि. १२:७) हुनत पावलले आफ्नो समस्या खुलाएका छैनन्‌। तर तिनले चलाएको “छेस्को” शब्दबाट त्यसले तिनलाई निकै पीडा दिइरहेको थियो भनेर बुझ्न सक्छौँ। त्यो कुनै स्वास्थ्य समस्या, भावनात्मक समस्या वा अरू नै कुरा हुन सक्छ।b

७. पावललाई सही काम गर्न किन सधैँ सजिलो भएन? (रोमी ७:१८, १९)

७ तिनको कमीकमजोरी। पावलले आफ्नो कमीकमजोरीसित निकै सङ्‌घर्ष गर्नुपरेको थियो। (रोमी ७:१८, १९ पढ्‌नुहोस्‌।) हुनत तिनी सही काम गर्न चाहन्थे तर त्रुटिपूर्ण झुकावले गर्दा तिनलाई त्यसो गर्न सधैँ सजिलो भएन। तिनले आफ्नो शारीरिक झुकाव अनि सही काम गर्ने इच्छाबीच द्वन्द्व चलेको कुरा स्विकारे। तर तिनले आफ्ना कुइच्छाहरूलाई वशमा राख्न सक्दो प्रयास गरे। तैपनि तिनी बेलाबेलामा चुके। (१ कोरि. ९:२७) यत्तिको प्रयास गरे पनि बेलाबेलामा दुर्गुणहरू देखा पर्दा पावल कत्ति निराश हुन्थे होलान्‌!

पावलले नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सके?

८. पावलले आफ्ना कुइच्छाहरू काबूमा राख्न के गरे?

८ कुइच्छाहरूविरुद्ध लड्‌न र त्यसलाई काबूमा राख्न पवित्र शक्‍तिले मदत गर्न सक्छ भन्‍ने कुरामा पावलले मनन गरेका थिए। यो कुरा तिनका पत्रहरूबाट थाह पाउन सक्छौँ। (रोमी ८:१३; गला. ५:१६, १७) यहोवालाई खुसी बनाउन ख्रिष्टियनहरूले के-कस्ता दुर्गुण र कुइच्छाहरू त्याग्नुपर्छ भनेर पावलले स्पष्टसित बताए। (गला. ५:१९-२१, २६) तिनले आफूमा पनि केही कमीकमजोरी छन्‌ र त्यसलाई हटाउन प्रयास गर्नुपर्छ भन्‍ने कुरामा मनन गरेका थिए। त्यसैले आफ्नो कमीकमजोरी हटाउन के गर्न सकिन्छ भनेर तिनले धर्मशास्त्रमा अनुसन्धान गरे र त्यसैअनुसार कदम पनि चाले। तिनले अरू ख्रिष्टियनहरूलाई कुइच्छाहरू काबूमा राख्न सल्लाह दिएको कुराबाट तिनी आफैले पनि त्यो सल्लाह लागू गरेका थिए भनेर बुझ्न सक्छौँ।

९-१०. पावललाई नकारात्मक भावनाहरू काबूमा राख्न केले मदत गऱ्‍यो? (एफिसी १:७) (चित्र पनि हेर्नुहोस्‌।)

९ हुनत पावल कहिलेकाहीँ निराश भए तर तिनले सकारात्मक मनोवृत्ति भने कायम राखिरहे। उदाहरणको लागि, विभिन्‍न मण्डलीहरूबारे राम्रो रिपोर्टहरू सुनेर तिनी रमाए। (२ कोरि. ७:६, ७) भाइबहिनीसित गहिरो मित्रता गाँसेकोले पनि तिनी आनन्दित थिए। (२ तिमो. १:४) साथै आफूले यहोवालाई खुसी बनाइरहेको छु भन्‍ने कुरामा तिनी ढुक्क थिए। हो, “सफा अन्तस्करणले” यहोवाको सेवा गर्न सकेकोमा तिनी खुसी थिए। (२ तिमो. १:३) रोमको झ्यालखानामा हुँदा समेत पावलले भाइबहिनीहरूलाई “प्रभुमा सधैँ रमाओ” भनेर प्रोत्साहन दिन सके। (फिलि. ४:४) पावलले लेखेका कुराहरू पढ्‌दा तिनी आफ्ना समस्याहरू र विगतमा गरेका गल्तीहरूमा घोरिएर बसेनन्‌ भन्‍ने कुरा बुझ्न सक्छौँ। बरु नकारात्मक सोचाइ आउनेबित्तिकै तिनी सकारात्मक कुराहरूमा ध्यान दिन प्रयास गर्थे। यसो गर्दा तिनी फेरि खुसी हुन सक्थे।

१० पावलले नकारात्मक भावनाहरू काबूमा राख्न सक्नुको अर्को कारण पनि थियो। तिनी फिरौतीको बलिदानलाई यहोवाले आफूलाई नै दिनुभएको उपहारको रूपमा हेर्थे। (गला. २:२०; एफिसी १:७ पढ्‌नुहोस्‌।) यही बलिदानको आधारमा यहोवाले विगतका पापहरू क्षमा दिइसक्नुभयो अनि भविष्यमा पनि दिनुहुनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त हुन सके। (रोमी ७:२४, २५) त्यसैले आफ्नो कमीकमजोरी अनि विगतका गल्तीहरूको बाबजुद पावलले खुसीसाथ परमेश्‍वरलाई “पवित्र सेवा” चढाइरहन सके।—हिब्रू ९:१२-१४.

११. पावलको उदाहरण हाम्रो लागि किन सान्त्वनादायी छ?

११ पावललाई जस्तै हामीलाई पनि कहिलेकाहीँ आफूभित्र आन्तरिक द्वन्द्व चलिरहेको जस्तो लाग्न सक्छ। एकातर्फ हामीमा यहोवालाई खुसी बनाउने तीव्र इच्छा छ। अर्कोतर्फ हामी बेलाबेलामा आफ्नो बोली, व्यवहार वा सोचाइमा चुक्छौँ। त्यसैले हामी कहिलेकाहीँ पावलजस्तै “लाचार” महसुस गर्छौँ होला! एलिजाc नाम गरेकी २६ वर्षीया बहिनीले पनि यस्तै महसुस गरेकी थिइन्‌। तिनी भन्छिन्‌, “पावलले गर्नुपरेको सङ्‌घर्षबारे सोच्दा मैले निकै सान्त्वना पाएकी छु। यस्तो महसुस गर्ने म मात्र होइनँ भनेर थाह पाउँदा निकै राहत मिलेको छ। यहोवालाई आफ्ना जनहरूको अवस्था राम्ररी थाह छ भन्‍ने कुरामा म ढुक्क हुन सकेकी छु।” हामी पनि नकारात्मक भावनाहरूको बाबजुद सफा अन्तस्करण कायम राख्न र आनन्दित भइरहन के गर्न सक्छौँ?

हामी नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सक्छौँ?

१२. राम्रो आध्यात्मिक तालिकाले हामीलाई नकारात्मक भावनाहरू काबूमा राख्न कसरी मदत गर्छ?

१२ राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्‌। यसो गऱ्‍यौँ भने हामी सकारात्मक कुरामा ध्यान दिन सक्नेछौँ। उदाहरणको लागि, स्वस्थकर जीवनशैलीले हामीलाई शारीरिक रूपमा तन्दुरुस्त रहन मदत गर्छ। पोसिलो खानेकुरा खान्छौँ, नियमित रूपमा व्यायाम गर्छौँ अनि पर्याप्त मात्रामा सुत्छौँ भने हामी फुर्तिलो महसुस गर्छौँ। हाम्रो आध्यात्मिक स्वास्थ्यको कुरा पनि त्यही नै हो। दिनहुँ बाइबल पढ्‌दा, सभाको लागि तयारी गर्दा, सभामा उपस्थित हुँदा, टिप्पणी दिँदा अनि साक्षीकार्यमा भाग लिँदा हामी स्फूर्ति पाएको महसुस गर्छौँ। यस्ता आध्यात्मिक गतिविधिहरूले हामीलाई नकारात्मक भावनाहरू काबूमा राख्न मदत गर्छ।—रोमी १२:११, १२.

१३-१४. राम्रो आध्यात्मिक तालिका कायम राख्दा केही भाइबहिनीले कस्तो मदत पाएका छन्‌?

१३ जोनको अनुभव विचार गरौँ। तिनी ३९ वर्षको छँदा तिनलाई एक प्रकारको क्यान्सर भयो। त्यतिबेला तिनको छोरा भर्खरै तीन वर्ष पुगेको थियो। सुरुमा तिनलाई नकारात्मक भावनाले निकै सतायो। तिनले यस्तो सोचे, ‘यो उमेरमै मलाई किन यस्तो रोग लागेको होला!’ तिनले नकारात्मक भावनाहरू कसरी काबूमा राख्न सके? तिनी भन्छन्‌: “हुनत रोगले गर्दा तागतै नभएको जस्तो हुन्थ्यो। तैपनि परिवारको आध्यात्मिक तालिका कायम राख्न मैले निकै प्रयास गरेँ। हामी सभामा सधैँ जान्थ्यौँ। प्रचारमा नियमित रूपमा भाग लिन्थ्यौँ। अनि हरेक हप्ता पारिवारिक उपासना गर्थ्यौँ। त्यसो गर्न सधैँ सजिलो हुँदैनथ्यो। तैपनि हामीले ती कुराहरू कहिल्यै छुटाएनौँ।” विगतलाई फर्केर हेर्दा जोन यसो भन्छन्‌: “परिस्थिति अचानक परिवर्तन हुँदा सुरुमा त निकै गाह्रो हुन्छ। अनि मनमा नकारात्मक कुराहरू खेल्न थाल्छ। त्यस्तो अवस्थामा पनि यहोवाले मलाई बल दिनुभएको अनि माया गर्नुभएको महसुस गरेँ। त्यसैले मैले नकारात्मक कुराहरूमा होइन, सकारात्मक कुराहरूमा ध्यान दिन सकेँ। यहोवाले तपाईँलाई पनि पक्कै मदत गर्नुहुनेछ।”

१४ अगाडि उल्लेख गरिएकी एलिजा यसो भन्छिन्‌: “हरेक चोटि सभामा उपस्थित हुँदा अनि व्यक्‍तिगत अध्ययन गर्दा यहोवा मेरो कुरा सुन्‍नुहुन्छ र मलाई साँच्चै माया गर्नुहुन्छ भनेर महसुस गर्छु। यसले मलाई आनन्दित हुन मदत गरेको छ।” नोलन आफ्नी श्रीमती डियनसँग अफ्रिकामा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्दै छन्‌। तिनी यसो भन्छन्‌: “निराश हुँदा पनि हामी आध्यात्मिक तालिका कायम राख्छौँ। यसो गर्दा यहोवाले हामीलाई सही मनोवृत्ति राख्न मदत गर्नुभएको महसुस गरेका छौँ। उहाँले हामीलाई मदत गर्नुहुनेछ र आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा ध्यान दिन हामी प्रयास गर्छौँ। उहाँले कसरी त्यसो गर्नुहुनेछ, त्यो त थाह छैन। तर उहाँले पक्कै मदत गर्नुहुनेछ भनेर हामी विश्‍वस्त छौँ।”

१५. नकारात्मक भावनाहरू हटाउन हामीले अरू के गर्नुपर्ने हुन सक्छ? उदाहरणसहित बताउनुहोस्‌

१५ नकारात्मक भावनाहरू हटाउन हामीले अरू पनि केही गर्नुपर्ने हुन सक्छ। मानौँ, तपाईँको ढाड दुखेको छ। मालिस गरेर मात्र दुखाइ कम नहुन सक्छ। सुरुमा तपाईँले दुखाइको कारण पत्ता लगाउनुपर्छ। त्यसको लागि के-कस्ता कारणले गर्दा ढाड दुख्छ भनेर खोज्नुपर्ने हुन सक्छ अनि डाक्टरकहाँ जानुपर्ने पनि हुन सक्छ। त्यसैगरि हामीलाई नकारात्मक भावनाले सताइरहेको छ भने हामीले त्यसको कारण पत्ता लगाउन बाइबल अनि बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्ने हुन सक्छ। साथै कोही परिपक्व भाइबहिनीसित सल्लाह लिनुपर्ने पनि हुन सक्छ। यसबाहेक हामीले गर्न सक्ने अरू कुराहरू पनि छन्‌।

१६. नकारात्मक सोचाइ आउनुको कारण पत्ता लगाउन हामी के गर्न सक्छौँ? (भजन १३९:१-४, २३, २४)

१६ आफूलाई कस्तो मदत चाहिएको छ भनेर बुझ्न प्रार्थना गर्नुहोस्‌। यहोवा आफूलाई राम्ररी चिन्‍नुहुन्छ भनेर राजा दाउदलाई थाह थियो। त्यसैले आफ्नो मनमा “बेचैनी” हुनुको कारण पत्ता लगाउन तिनले यहोवासित मदत मागे। (भजन १३९:१-४, २३, २४ र फुटनोट पढ्‌नुहोस्‌।) तपाईँ पनि आफूमा नकारात्मक सोचाइ आउनुको कारण पत्ता लगाउन अनि त्यसलाई काबूमा राख्न के गर्न सकिन्छ भनी थाह पाउन यहोवासित मदत माग्न सक्नुहुन्छ। तपाईँ आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ, ‘मेरो मन बेचैन हुनुको कारण के हुन सक्छ? के त्यस्तो केही कुरा छ, जसले ममा नकारात्मक सोचाइ जगाइहाल्छ? नकारात्मक सोचाइ आउँदा त्यसलाई हटाउनुको साटो के म त्यसमा डुबिरहन्छु?’

१७. सकारात्मक कुराहरूमा ध्यान दिन हामी कस्ता विषयहरूमा अध्ययन गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१७ आफ्नो आवश्‍यकताअनुसार व्यक्‍तिगत अध्ययन गर्नुहोस्‌। उदाहरणको लागि, प्रेषित पावलले पनि फिरौतीको बलिदान अनि यहोवाको क्षमाबारे मनन गर्दा निकै लाभ उठाए। तपाईँ पनि यहोवाको कृपा, क्षमा अनि अटल प्रेमजस्ता विषयहरूमा अध्ययन गर्न सक्नुहुन्छ। यस्ता विषयहरूमा अनुसन्धान गर्न तपाईँ यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी, ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू वा तपाईँको भाषामा उपलब्ध अन्य सामग्रीहरू प्रयोग गर्न सक्नुहुन्छ। आफूलाई मदत गर्न सक्ने लेखहरू खोज्नुहोस्‌ र त्यसको सूची बनाउनुहोस्‌। त्यो सूचीलाई आफूले सजिलै देख्ने ठाउँमा राख्नुहोस्‌। अनि नकारात्मक भावनाहरू आउनेबित्तिकै ती लेखहरू पढिहाल्नुहोस्‌ र लागू गर्ने प्रयास गर्नुहोस्‌।—फिलि. ४:८.

१८. केही भाइबहिनीले कस्ता विषयहरूमा अध्ययन गरेका छन्‌?

१८ अगाडि उल्लेख गरिएकी एलिजाले अय्युबबारे अध्ययन गरिन्‌। तिनी भन्छिन्‌, “मैले पनि अय्युबले जस्तै एकै चोटि विभिन्‍न परीक्षाहरूको सामना गर्नुपऱ्‍यो। अय्युबलाई निकै गाह्रो भएको थियो। तिनलाई आफ्ना समस्याहरूको कारण के हो भनेर समेत थाह थिएन। तैपनि तिनले यहोवामा भरोसा गर्न छोडेनन्‌।” (अय्यु. ४२:१-६) अगाडि उल्लेख गरिएकी डियन भन्छिन्‌: “म र मेरो श्रीमान्‌ यहोवासित नजिक हुनुहोस्‌ किताब अध्ययन गर्दै छौँ। आफूबाट गल्ती हुँदा हामी निराश हुन्छौँ। तर यहोवाले हामीलाई आकार दिँदै हुनुहुन्छ अनि अझ असल व्यक्‍ति बन्‍न मदत गर्दै हुनुहुन्छ भन्‍ने कुरा सम्झन्छौँ। यसले गर्दा उहाँसित अझ नजिक हुन सकेका छौँ। यहोवाले यसरी आकार दिइरहनुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ!”—यसै. ६४:८.

आशा नमार्नुहोस्‌!

१९. कहिलेकाहीँ हामीले कस्तो महसुस गर्न सक्छौँ? तर हामी कुन कुरामा ढुक्क छौँ?

१९ हुनत हामीले राम्रो आध्यात्मिक तालिका कायम गरिरहेका छौँ होला। अनि आफ्नो आवश्‍यकताअनुसारै व्यक्‍तिगत अध्ययन पनि गरिरहेका छौँ होला। तर त्यसो गर्दैमा नकारात्मक सोचाइ अनि भावनाहरू पूरै हट्‌छ भन्‍ने त होइन। यहोवाको मदत पाएर हामी सकारात्मक कुरामा ध्यान दिन सक्छौँ अनि शान्त महसुस गर्न सक्छौँ। हुनत नकारात्मक भावनाहरूले गर्दा हामी कहिलेकाहीँ लाचार महसुस गर्छौँ। तैपनि सफा अन्तस्करण कायम राख्न अनि रमाउँदै यहोवाको सेवा गर्न सक्छौँ भनेर ढुक्क छौँ!

२०. तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

२० हामीले विगतमा गरेका गल्तीहरू, अहिले भोगिरहेका समस्याहरू वा कमीकमजोरीले गर्दा नकारात्मक भावनाहरू त पक्कै आउँछन्‌। तर त्यसलाई आफूमाथि कहिल्यै हाबी हुन नदेऔँ! यहोवाको मदत पाएर हामी नकारात्मक भावनाहरू काबूमा राख्न सक्छौँ। (भज. १४३:१०) हामी त्यो दिनको प्रतीक्षामा छौँ, जब हामीले नकारात्मक भावनाहरूविरुद्ध सङ्‌घर्ष गर्नुपर्नेछैन। किनभने हाम्रो मनमस्तिष्क सकारात्मक कुराहरूले भरिनेछ। हरेक दिन बिहान उठ्‌दा हाम्रो मनमा कुनै बेचैनी हुनेछैन अनि हामी रमाउँदै यहोवाको सेवा गरिरहन सक्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • पावलले किन कहिलेकाहीँ लाचार महसुस गरे?

  • नकारात्मक भावनाहरूको बाबजुद पावलले कसरी सफा अन्तस्करण र सकारात्मक मनोवृत्ति कायम राख्न सके?

  • हामी कसरी नकारात्मक भावनाहरू काबूमा राख्न सक्छौँ?

गीत ३४ निष्ठामा हिँडौँ!

a थप व्याख्या: यस लेखमा प्रयोग गरिएको “नकारात्मक भावनाहरू” भन्‍ने अभिव्यक्‍तिले बेलाबेलामा निराश हुनु अनि मुड परिवर्तन हुनुलाई बुझाउँछ। तर यसले डिप्रेसनलाई चाहिँ बुझाउँदैन, जुन गम्भीर स्वास्थ्य समस्या हो र यसको लागि डाक्टरको परामर्श लिनुपर्छ।

b पावलले लेखेका कुराहरूबाट तिनको आँखाको समस्या थियो जस्तो देखिन्छ। यदि त्यसो हो भने तिनलाई पत्रहरू लेख्न अनि प्रचारकार्यको लागि विभिन्‍न ठाउँमा यात्रा गर्न निकै गाह्रो भएको हुनुपर्छ। (गला. ४:१५; ६:११) अथवा त्यतिबेलाका झूटा प्रेषितहरूले तिनीबारे भनेका कुराहरूले गर्दा पनि तिनलाई निकै तनाव र चिन्ता भएको हुन सक्छ। (२ कोरि. १०:१०; ११:५, १३) कारण जेसुकै भए पनि त्यसले गर्दा पावललाई निकै गाह्रो भएको थियो।

c केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने