के परमेश्वरको नाम छ?
बाइबलको जवाफ
हामी सबैको आ-आफ्नै नाम छ। त्यसोभए के परमेश्वरको पनि नाम हुनु पर्दैन र? मानिसहरूबीच मित्रता गाँस्नको लागि व्यक्तिगत नाम र त्यसको प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। यो कुरा परमेश्वरसित मित्रता गाँस्ने सन्दर्भमा पनि लागू हुन्छ नि, होइन र?
बाइबलमा परमेश्वरले यसो भन्नुभएको छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:८) हुनत उहाँका थुप्रै पदवीहरू छन्। जस्तै: “सर्वशक्तिमान् परमेश्वर,” “सार्वभौम प्रभु” र “सृष्टिकर्ता।” तैपनि, उहाँले आफ्ना उपासकहरूलाई उहाँको व्यक्तिगत नाम प्रयोग गर्ने सम्मान दिनुभएको छ।—उत्पत्ति १७:१; प्रेषित ४:२४; १ पत्रुस ४:१९.
थुप्रै बाइबल अनुवादहरूमा परमेश्वरको नाम प्रस्थान ६:३ मा लेखिएको पाइन्छ। त्यस पदले भन्छ: “म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेको थिएँ। तर मेरो यहोवा नामले भने म तिनीहरूकहाँ प्रकट भइनँ।”
शताब्दियौँ अघिदेखि नेपाली भाषामा परमेश्वरको नाम “यहोवा” प्रयोग गरिँदै आएको छ। थुप्रै बाइबलविद्ले परमेश्वरको नामलाई “याहवे” भनेर उच्चारण गर्न रुचाउने भए पनि धेरैजसोले प्रयोग गर्ने नाम भने यहोवा नै हो। बाइबलको सुरुको भाग हिब्रू भाषामा लेखिएको थियो, जुन दायाँबाट बायाँतिर पढिन्छ। यस भाषामा परमेश्वरको नाम चार वटा व्यञ्जनवर्ण יהוה मिलेर बनेको छ। यी चार हिब्रू अक्षरलाई अङ्ग्रेजीमा YHWH लेखिन्छ, जसलाई टेट्राग्रामटन पनि भनिन्छ।