गन्ती
९ इस्राएलीहरू मिश्रबाट निस्केर आएको दोस्रो वर्षको पहिलो महिनामा सिनै निर्जनभूमिमा छँदा यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो:+ २ “तोकिएकै समयमा+ इस्राएलीहरूले निस्तार चाड* मनाऊन्।+ ३ तोकिएकै समयमा अर्थात् यसै महिनाको १४ औँ दिनको साँझ* यो चाड मनाउनू। यो चाड यसको सबै विधिविधानअनुसारै मनाउनू।”+
४ त्यसैले मोसाले इस्राएलीहरूलाई निस्तार चाड मनाउने आज्ञा दिए। ५ अनि तिनीहरूले पहिलो महिनाको १४ औँ दिनको साँझ सिनै निर्जनभूमिमा निस्तार चाड मनाए। यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै इस्राएलीहरूले गरे।
६ लास छोएर अशुद्ध भएको कारण केही मानिसले त्यो दिन निस्तार चाड मनाउन सकेनन्।+ त्यसैले तिनीहरू त्यही दिन मोसा र हारुनकहाँ आए।+ ७ अनि तिनलाई भने: “हुनत लास छोएकोले हामी अशुद्ध भएका छौँ तर हामी तोकिएकै समयमा अरू इस्राएलीहरूसँगै यहोवा परमेश्वरलाई निस्तार चाडको बलिदान चढाउन चाहन्छौँ। त्यसैले तपाईँ नै भन्नुहोस्, हामीले के गर्नुपर्छ?”+ ८ यो सुनेपछि मोसाले तिनीहरूलाई भने: “तिमीहरू यहीँ पर्खिराख! यहोवा परमेश्वरले तिमीहरूको विषयमा के भन्नुहुन्छ, म उहाँलाई सोधेर आउँछु।”+
९ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: १० “इस्राएलीहरूलाई यसो भन्नू, ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूको भावी सन्तानमध्ये कोही लास छोएर अशुद्ध भयो+ वा कतै टाढा गयो भने पनि उसले यहोवा परमेश्वरको लागि निस्तार चाड मनाओस्। ११ उसले दोस्रो महिनाको १४ औँ दिनको साँझ यो चाड मनाओस्।+ उसले खमिर* नहालेको रोटी र तीते सागसित निस्तार चाडको बलिदान खाओस्।+ १२ उसले त्यस बलिको कुनै पनि भाग बिहानसम्म रहन नदेओस्+ र त्यसको एउटै हड्डी नभाँचोस्।+ उसले सबै कुरा निस्तार चाडको विधिविधानअनुसारै गरोस्। १३ तर ऊ शुद्ध थियो र कतै टाढा गएको थिएन तैपनि उसले निस्तार चाड मनाउन हेलचेक्य्राइँ गऱ्यो र तोकिएको समयमा यहोवा परमेश्वरलाई बलिदान चढाएन भने उसलाई समुदायबाट हटाउनू।*+ उसले आफ्नो पापको नतिजा भोगोस्।
१४ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गरिरहेको छ भने उसले पनि यहोवा परमेश्वरको लागि निस्तार चाड मनाओस्।+ उसले निस्तार चाडको विधिविधानअनुसारै चाड मनाओस्।+ विदेशी र स्वदेशी दुवैको लागि एउटै नियम लागू हुनेछ।’”+
१५ वासस्थान* अर्थात् साक्षीपाटी राखिएको पाल स्थापना गरिएको दिन+ यसलाई बादलले ढाक्यो तर साँझ परेपछि भने त्यो बादल वासस्थानमाथि आगोजस्तो देखियो र बिहानसम्मै रह्यो।+ १६ त्यहाँ सधैँ यस्तो हुन्थ्यो: वासस्थानलाई दिउँसो बादलले ढाक्थ्यो र राती भने त्यो बादल आगोजस्तो देखिन्थ्यो।+ १७ जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू तुरुन्तै आफ्नो यात्रा अघि बढाउँथे।+ अनि जहाँ गएर त्यो बादल अडिन्थ्यो, इस्राएलीहरू त्यहीँ पाल टाँगेर बस्थे।+ १८ यहोवा परमेश्वरकै आज्ञामा इस्राएलीहरू यात्रा अघि बढाउँथे र यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे।+ वासस्थानमाथि बादल रहुन्जेल तिनीहरू यात्रा थाल्दैनथे। १९ वासस्थानमाथि धेरै दिनसम्म बादल रहँदा पनि इस्राएलीहरू यहोवा परमेश्वरको आज्ञा मान्दै यात्रा अघि बढाउँदैनथे।+ २० कहिलेकाहीँ वासस्थानमाथि केही दिनसम्म बादल रहिरहन्थ्यो। यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे र यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू यात्रा अघि बढाउँथे। २१ कहिलेकाहीँ साँझदेखि बिहानसम्म मात्र बादल रहन्थ्यो अनि बादल बिहान माथि उठेपछि तिनीहरू यात्रा अघि बढाउँथे। दिउँसो होस् वा राती, बादल माथि उठेपछि तिनीहरू यात्रा अघि बढाउँथे।+ २२ वासस्थानमाथि दुई दिन, एक महिना वा त्योभन्दा जति लामो समयसम्म बादल रहन्थ्यो, त्यतिन्जेल इस्राएलीहरू पाल टाँगेर बस्थे र यात्रा अघि बढाउँदैनथे। तर बादल माथि उठेपछि तिनीहरू यात्रा अघि बढाउँथे। २३ यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे र यहोवा परमेश्वरकै आज्ञामा तिनीहरू यात्रा अघि बढाउँथे। यहोवा परमेश्वरले मोसालाई भन्नुभएबमोजिमै तिनीहरूले यहोवा परमेश्वरको आज्ञा पालन गरे।