“परमेश्वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्
“परमप्रभुले [यहोवाले, न्यु.व.] आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून्, र तिमीलाई शान्ति दिऊन्।”—गन्ती ६:२६.
१. आफ्नो मृत्यु हुनु भन्दा केही समय अघि, पावलले तिमोथीलाई के भनेर लेखि पठाए र यसबाट के प्रकट हुन्छ?
प्रेरित पावल, सा. यु. ६५ मा, रोममा एक जना कैदी थिए। चाँड़ै नै, एक जना रोमी हत्याराको हातमा तिनले हिंसात्मक ढङ्गमा मृत्यु दण्ड अनुभव गर्नै लागेको भए तापनि, पावल शान्त थिए। यो कुरा, तिनले आफ्ना जवान मित्र तिमोथीलाई लेखी पठाएका शब्दहरूबाट स्पष्ट हुन्छ: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड़ सिध्याएको छु, विश्वासलाई बचाइराखेको छु। अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायाधीश प्रभुले त्यस दिन मलाई . . . दिनु हुनेछ।”—२ तिमोथी ४:७, ८.
२. घटनायुक्त आफ्नो जीवनभरि, पावलको हृदयलाई, मृत्यु सम्मै, के ले सुरक्षित राख्यो?
२ मृत्यको सामुन्ने पनि पावल यति शान्त कसरी हुन सके? किनभने “सारा समझलाई माथ” गर्ने “परमेश्वरको शान्तिले” तिनको हृदयलाई सुरक्षित राखेको थियो। (फिलिप्पी ४:७) मसीही-धर्ममा परिवर्तित भए पछि, तिनका क्रियाशील गतिविधिहरूका वर्षहरूभरि नै यसै शान्तिले तिनलाई सुरक्षित राखेको थियो। भीड़हरूको आक्रमण, झ्यालखानमा कैद, कोर्राबाजी र ढुङ्गाहरू प्रहार गरिंदा, यो शान्तिबाट तिनले आड़ पाएका थिए। यो शान्तिले तिनलाई धर्मत्याग र यहूदी धर्मका प्रभावहरूसँग लड़ने शक्ति दिएको थियो। यसले तिनलाई अदृश्य प्रेत- आत्माहरूसित पनि सङ्घर्ष गर्ने सहायता दिएको थियो। स्पष्टतया, यसले तिनलाई अन्त सम्मै शक्ति दियो।—२ कोरिन्थी १०:४, ५; ११:२१-२७; एफिसी ६:११, १२.
३. परमेश्वरको शान्तिबारे के प्रश्नहरू उठदछन्?
३ पावलका लागि यो शान्ति कति शक्तिशाली थियो! के आज हामीले पनि यो के हो भनी सिक्न सक्ने छौं? यी “डर लाग्दा समयहरूमा” हामीले “उत्तम विश्वासको लड़न्त” लड़िरहेको बेलामा, के यो शान्तिले हाम्रा हृदयहरूलाई पनि सुरक्षित राख्दै हामीलाई बल दिन सक्नेछ?—१ तिमोथी ६:१२; २ तिमोथी ३:१.
परमेश्वरसँगको शान्ति—यो कसरी हरायो
४. बाइबलमा “शान्ति” शब्दका केही अर्थहरू के हुन्?
४ बाइबलमा, “शान्ति” भन्ने शब्दका धेरै अर्थहरू छन्। दी न्यु इन्टरनेशनल डिक्शनेरी अफ न्यु टेस्टामेन्ट थियोलोजीमा उल्लेख गरिए बमोजिम, निम्न लिखित केही अर्थहरू यी हुन्: “पुरानो नियमभरि, [शालोम] शान्ति शब्दबाट हर प्रकारको कुशलताको बोध हुन्छ (न्याय १९:२०); सम्पन्नता, (भजनसंग्रह ७३:३) ईश्वरहीन मानिसहरूका सम्बन्धमा पनि; शारीरिक स्वास्थ्य (यशैया ५७:१८, १९; भजनसंग्रह ३८:३); सन्तोष (उत्पत्ति १५:१५); राष्ट्रहरू र मानिसहरूको आपसमा हुने असल सम्बन्ध ( . . . न्याय ४:१७; १ इतिहास १२:१७, १८); मुक्ति ( . . . यर्मिया २९:११; यर्मिया १४:१३ सँग पनि तुलना गर्नु होस्).” सबै भन्दा महत्त्वपूर्ण हो, यहोवासँगको शान्तिमय सम्बन्ध, जसको बिना, अरू हर प्रकारको शान्ति क्षणिक र सीमित मात्र हुन्छ।—२ कोरिन्थी १३:११.
५. परमेश्वरको सृष्टिको शान्ति शुरूमा कसरी भङ्ग भयो?
५ प्रारम्भमा, सारा सृष्टि र यहोवा बीच शान्ति थियो। आफ्ना सारा सृष्टिका कार्यहरू अति नै राम्रा छन् भनी घोषणा गर्ने परमेश्वरसँग उचित कारण थियो। यथार्थमा, ती सबै कुरा देखेर, स्वर्गदूतहरूले पनि हर्षले गाए। (उत्पत्ति १:३१; अय्यूब ३८:४-७) तर दुःखको कुरा, सारा ब्रह्माण्डको त्यो शान्ति टिक्न सकेन। परमेश्वरको सबै भन्दा पछिल्लो निपुण सृष्टि, हव्वालाई, पछि गएर शैतान कहलिने आत्मिक व्यक्तिले परमेश्वर प्रति आज्ञाकारी हुने मार्गबाट बहकाउँदा, त्यो शान्ति भङ्ग हुन गयो। हव्वाको पति, आदम पनि उसको भनाइमा लाग्यो र यी तीन जना छाड़ा विद्रोहीहरू द्वारा ब्रह्माण्डमा अशान्ति आयो।—उत्पत्ति ३:१-६.
६. परमेश्वरसँगको शान्ति गुमाउँदा, मानिस जाति माथि परिणाम के भयो?
६ परमेश्वरसँगको शान्ति गुमाउनु आदम र हव्वाका लागि दुर्भाग्यपूर्ण थियो। तिनीहरूले बिस्तारै एउटा शारीरिक विकृति अनुभव गर्न थाले जसको परिणाम मृत्यु भयो। प्रमोदवनमा शान्ति अनुभव गर्नुको सट्टा, आदमले अदन बाहिर आफ्नो बढ़दो परिवारको पालन-पोषण गर्नका लागि बाँझो जमीनमा सङ्घर्ष गर्नु पऱ्यो। एउटा सिद्ध मानव परिवारकी आमा हुनुको सट्टा, हव्वाले पीड़ा र कष्टसाथ असिद्ध सन्तानलाई जन्म दिई। परमेश्वरसँगको शान्ति हरण हुनाकारण मानिसहरूका बीच ईर्ष्या र कलह शुरु भयो। कैनले आफ्नै भाइ हाबिलको हत्या गर्यो र जलप्रलयको समयसम्म सारा पृथ्वी नै हिंसाले भरिएको थियो। (उत्पत्ति ३:७–४:१६; ५:५; ६:११, १२) हाम्रा प्रथम आमा-बाबुको मृत्यु हुँदा, जरुर पनि, तिनीहरू चिहानमा “शान्ति” र सन्तोषसाथ गएनन् जसरी सयौं वर्ष पश्चात अब्राहाम गए।—उत्पत्ति १५:१५.
७. (क) सम्पूर्ण शान्तिको पुनःस्थापनालाई सङ्केत गर्दै, परमेश्वरले के अगमवाणी गर्नु भयो? (ख) परमेश्वरको शत्रु शैतान कतिको प्रभावशाली भयो?
७ आदम र हव्वाले शान्ति गुमाए पछि, हामी बाइबलमा प्रथम पटक दुश्मनीको चर्चा गरिएको पाउँदछौं। परमेश्वरले शैतानसँग कुरा गर्नु हुँदै, भन्नु भयो: “तेरो र स्त्रीको बीचमा, र तेरो र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउने छ र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५) समय जसै बित्दै गयो, शैतानको प्रभाव यस हदसम्म बढ़दै गयो कि प्रेरित यूहन्नाले भन्न सके: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) शैतानको अधीनमा परेको संसारको निश्चय नै परमेश्वरसँग शान्ति हुन सक्तैन। त्यसैकारण त, शिष्य याकूबले मसीहीहरूलाई उचित ढङ्गले यो चेताउनी दिए: “संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन?”—याकूब ४:४.
एउटा वैरी संसारमा शान्तिसित बस्नु
८, ९. आदमले पाप गरे पछि, मानिसहरूले परमेश्वरसँग शान्ति कसरी कायम राख्न सके?
८ अदनमा, परमेश्वरले प्रथम पटक “दुश्मनीको” चर्चा गर्नु हुँदा, उहाँले सृष्टिभरि सम्पूर्ण शान्ति कसरी पुनःस्थापित हुनेछ भनेर अग्रिमवाणी पनि गर्नु भयो। परमेश्वरकी स्त्रीबाट आउने प्रतिज्ञा गरिएका सन्तानले शुरूमा शान्ति भङ्ग गर्नेको शिर कुच्याउने थियो। अदन देखिन् यसो, त्यस प्रतिज्ञामा विश्वास गर्नेहरूले परमेश्वरसँग शान्तिमय सम्बन्धको आनन्द उठाउँदै आएका छन्। उदाहरणका लागि, अब्राहामका लागि यो सम्बन्ध मित्रतामै परिणत भयो।—२ इतिहास २०:७; याकूब २:२३.
९ मोशाको समयमा, अब्राहामका नाति, इस्राएलका सन्तानलाई यहोवाले एउटा राष्ट्रमा सङ्गठित गर्नु भयो। उहाँले आफ्नो शान्ति त्यस राष्ट्रलाई दिनु भयो र यो कुरा महा-याजक हारूनले तिनीहरूका लागि भनेका आशिष द्वारा बुझ्न सकिन्छ: “परमप्रभुले [यहोवाले, न्यु.व.] तिमीलाई आशिष दिऊन् र तिमीलाई रक्षा गरून्। परमप्रभुले [यहोवाले, न्यु.व.] आफ्नो मुख तिमीमाथि चम्काऊन्, र तिमीलाई अनुग्रह गरून्। परमप्रभुले [यहोवाले, न्यु.व.] आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिऊन्।” (गन्ती ६:२४-२६) यहोवाको शान्ति अति नै लाभदायक हुने थियो तर त्यो शान्ति प्राप्त गर्नका लागि केही शर्तहरू पूरा गर्न आवश्यक थियो।
१०, ११. इस्राएलका निम्ति, परमेश्वरसँगको शान्ति कुन शर्तमा भर पर्द थियो र यसको परिणाम के हुने थियो?
१० यहोवाले त्यस राष्ट्रलाई भन्नु भयो: “मेरा नियम अनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने, म ठीक ठीक समयमा झरी पठाउनेछु, र जमीनले उब्जनी दिनेछ, र खेत-बारीका रुखहरूमा फल-फूल लाग्नेछन्। म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कुनै खतरा हुने छैन। म देशबाट हिंसक पशुहरूलाई हटाइ दिनेछु, औ तिमीहरूको देशमा लड़ाइँ हुनेछैन। म तिमीहरूका बीचमा हिड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, औ तिमीहरू चाहिं मेरा प्रजा हुनेछौ।” (लेवी २६:३, ४, ६, १२) आफ्ना शत्रुहरूबाट केही खतरा बिना, भौतिक सम्पन्नता र यहोवासँगको एउटा घनिष्ठ सम्बन्ध अनुभव गर्दै, इस्राएलीहरूले शान्तिको आनन्द उठाउन सक्ने थिए।—भजनसंग्रह ११९:१६५.
११ त्यस राष्ट्रको इतिहासभरि यहोवाका आज्ञाहरू विश्वासी भएर पालन गर्ने कोशिश गर्ने इस्राएलीहरूले परमेश्वरसँग एउटा शान्तिमय सम्बन्ध कायम राख्न सके र यसले गर्दा अरू अन्य आशिषहरू पनि पाए। राजा सुलेमानका शासनकालका शुरू शुरूका सालहरूमा, परमेश्वरसँगको शान्तिको कारण, इस्राएलीहरूले भौतिक सम्पन्नता र आफ्नो छिमेकीहरूसँग हुने युद्धहरूबाट आराम अनुभव गर्न पाए। त्यस समयको वर्णन गर्दै, बाइबल भन्दछ: “तिनको [सुलेमानको, न्यु.व.] राजत्वकालभरि नै यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।” (१ राजा ४:२५) छिमेकी देशहरूसित शत्रुता भड़कँदा पनि, विश्वासी इस्राएलीहरूले सबै भन्दा महत्त्वपूर्ण शान्ति, अर्थात् परमेश्वरसँगको शान्ति चाहिं अनुभव गरी नै रहे। यसैकारण, एक जना प्रख्यात योद्धा, राजा दाऊदले लेखे: “शान्तिमा म पल्टूँला र निदाऊँला; किनकि हे परमप्रभु [यहोवा, न्यु. व.] तपाईंले मात्र मलाई सुरक्षित रहनदिनुहुन्छ।”—भजनसंग्रह ४:८.
शान्तिका लागि एउटा अझ उत्तम आधार
१२. अन्तमा गएर, इस्राएलले परमेश्वरसँगको शान्ति कसरी इन्कार गऱ्यो?
१२ अन्ततोगत्वा, सम्पूर्ण शान्ति पुनःस्थापित गर्नु हुने सन्तान येशूको रूपमा आउनु भयो र उहाँको जन्ममा स्वर्गदूतहरूले गाए: “परमधाममा परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँ प्रसन्न हुनु भएका मानिसहरूलाई शान्ति।” (लूका २:१४) येशू इस्राएलमा देखा पर्नु भयो र परमेश्वरको वाचाको अधीनमा भएर पनि, त्यस राष्ट्रले उहाँलाई इन्कार गऱ्यो र रोमीहरूका हातमा मृत्युका लागि उहाँलाई सुम्पिदिए। उहाँको मृत्यु हुनभन्दा केही समय अघि मात्र, येशूले यरूशलेमका निम्ति भन्नु हुँदै रुनु भयो: “तैंले आजको दिनमा शान्तिको कुरा जानेको भएता हुनेथियो! तर अब तेरो नजरबाट ती सब छिपेका छन्।” (लूका १९:४२; यूहन्ना १:११) येशूलाई इन्कार गरेको हुनाकारण, इस्राएलले परमेश्वरसँगको आफ्नो शान्ति पूर्णतया गुमायो।
१३. मानिसले यहोवासँग शान्ति पाउने कुन नया मार्ग उहाँले स्थापित गर्नु भयो?
१३ तथापि, परमेश्वरका उद्देश्यहरू विफल भएनन्। मृत्युबाट येशूको पुनरुत्थान भयो र उहाँले यहोवाका सामुन्ने आफ्नो सिद्ध जीवनको मूल्य, राम्रा हृदय भएका मानिसहरूका छुटकाराका निम्ति प्रस्तुत गर्नु भयो। (हिब्रू ९:११-१४) परमेश्वरसँग शान्ति कायम राख्न, मानिसहरूका लागि—अर्थात् दुवै प्राकृतिक इस्राएलीहरू र अन्यजातिहरूका निम्ति—येशूको बलिदान एउटा नया र अझ उत्तम मार्ग हुन गयो। पावलले रोमका मसीहीहरूलाई लेखेको पत्रमा भने: “हामी शत्रु छँदै, उहाँको पुत्रको मृत्युद्वारा हामीले मिलाप पायौं।” (रोमी ५:१०) प्रथम शताब्दीमा, यस प्रकार शान्ति स्थापित गर्ने व्यक्तिहरू, परमेश्वरका धर्म-पुत्रहरू हुन र “परमेश्वरका इस्राएल” कहलिने एउटा नया आत्मिक राष्ट्रका सदस्यहरू हुनका लागि पवित्र आत्मा द्वारा अभिषिक्त भए।—गलाती ६:१६; यूहन्ना १:१२, १३; २ कोरिन्थी १:२१, २२; १ पत्रुस २:९.
१४, १५. परमेश्वरको शान्तिलाई व्याख्या गर्नु होस् र मसीहीहरू शैतानको दुश्मनीको शिकार भएता पनि, यस प्रकारको शान्तिले तिनीहरूलाई कसरी सुरक्षित राख्तछ?
१४ यी नया आत्मिक इस्राएलीहरू शैतान र त्यसका संसारका वैरभावको शिकार हुने थिए। (यूहन्ना १७:१४) तथापि, तिनीहरूले “परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट . . . शान्ति” पाउने थिए। (२ तिमोथी १:२) येशूले तिनीहरूलाई भन्नु भयो: “ममा तिमीहरूलाई शान्ति होस् भनेर मैले तिमीहरूलाई यी कुरा भनेको हुँ। संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढाड़स गर, मैले संसारलाई जितेको छु।”—यूहन्ना १६:३३.
१५ यो त्यही शान्ति हो जसबाट पावल र तिनका सङ्गी मसीहीहरूले हर प्रकारका कठिनाइहरूका सामुन्ने धैर्य धारण गर्ने मदत पाए। यसमा यहोवासँगको एउटा शान्ति र मिलापको सम्बन्ध प्रतिबिम्बित हुँदछ जो येशूको बलिदान द्वारा सम्भव हुन सकेको छ। हामीमा यहोवाले चासो लिनु हुन्छ भन्ने कुराको ज्ञान जसै यस प्रकारको शान्ति प्राप्त भएको व्यक्तिमा बढ़दै जान्छ, तिनको मनोस्थिति नै शान्त हुन्छ। एक जना मायालु पिताको काखमा गुटमुटिएर बसेको बच्चाले पनि यसै प्रकारको शान्ति अनुभव गर्दछ, अर्थात् उसको चिन्ता गर्ने व्यक्तिले उसको हेर विचार गरिरहेको छ भनी उ निश्चिन्त रहन्छ। पावलले फिलिप्पीका मण्डलीकाहरूलाई प्रोत्साहन दिए: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.
१६. परमेश्वरसँगको शान्तिको कारण, प्रथम शताब्दीका मसीहीहरूको आपसी सम्बन्धमा के असर पर्यो?
१६ परमेश्वरसँग शान्ति गुमाउनाको एउटा परिणाम घृणा र फूट भयो। तर परमेश्वरसँग शान्ति प्राप्त गर्नाले, प्रथम शताब्दीका मसीहीहरूका निम्ति नतिजा ठीक विपरीत भयो: अथार्त्, आपसमा शान्ति र एकता हुन गयो, जसलाई पावलले “शान्तिको बन्धन” भने। (एफिसी ४:३) तिनीहरू ‘एकै मनका’ थिए र ‘शान्तिमा’ रहन्थे र ‘प्रेम र शान्तिका परमेश्वर’ तिनीहरूसँग हुनुहुन्थ्यो। यस बाहेक, तिनीहरू “शान्तिको सुसमाचार” प्रचार गर्दथिए जुन सुसमाचार विशेषगरी ‘शान्तिका सन्तान,’ अर्थात् सुसमाचार स्वीकार गर्नेहरूका निम्ति मुक्तिको सुसमाचार थियो।—२ कोरिन्थी १३:११; प्रेरित १०:३६; लूका १०:५, ६.
शान्तिको एउटा वाचा
१७. परमेश्वरले हाम्रा दिनमा उहाँका मानिसहरूसँग के गर्नु भएको छ?
१७ के त्यस प्रकारको शान्ति आज पाउन सकिन्छ? पाउन सकिन्छ। महिमीत येशू ख्रीष्टको अधीनमा परमेश्वरको राज्य १९१४ मा स्थापित भए देखिन्, यहोवाले परमेश्वरका इस्राएलका शेष जनहरूलाई यस संसारबाट बटुल्नु भएर तिनीहरूसँग शान्तिको एउटा वाचा गर्नु भएको छ। उहाँले यस प्रकार इजकिएल अगमवक्ता द्वारा गरिएको आफ्नो प्रतिज्ञा पूरा गर्नु भएको छ: “म तिनीहरूसित सुख-शान्तिको करार बाँध्नेछु, यो करार सदा सर्वदा तिनीहरूका निम्ति हुनेछ। म तिनीहरूको सङ्खया खूब बढ़ाउने छु, र मेरो पवित्र-स्थान तिनीहरूका बीचमा सधैंको निम्ति राख्नेछु।” (इजकिएल ३७:२६) यहोवाले यो वाचा अभिषिक्त मसीहीहरूसँग गर्नु भयो, जसले प्रथम शताब्दीका आफ्ना भाइहरूले झैं, येशूका बलिदानमा विश्वास गर्छन्। आध्यात्मिक प्रदूषणबाट चोखिएर, तिनीहरूले आफ्नो जीवन आफ्ना स्वर्गीय पितालाई समर्पण गरेका छन् र विशेषगरी परमेश्वरको स्थापित राज्यको सुसमाचार प्रचार गर्ने विश्वव्यापी कामलाई अघि सार्दै, पिताका आज्ञाहरू पालन गर्ने हर कोशिश तिनीहरूले गर्दछन्।—मत्ती २४:१४.
१८. परमेश्वरको इस्राएलमाथि परमेश्वरको नाउँ छ भनी थाह पाए पछि, विभिन्न जातिका केही मानिसहरूले के प्रतिक्रिया देखाएका छन्?
१८ अगमवाणी अझ भन्छ: “तिनीहरू मेरा बासस्थानका शरणमनि रहनेछन्। म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरो प्रजा हुनेछन्। जाति जातिहरूले यो जान्नेछन् कि म परमप्रभुले नै [यहोवाले नै, न्यु.व.] इस्राएललाई आफ्नै निम्ति पवित्र राख्तछु।” (इजकिएल ३७:२७, २८) यस अनुसार, “जाति-जातिहरू” बाट, सैकड़ौं हजारौं, हो, लाखौंले परमेश्वरको इस्राएलसँग यहोवाको नाउँ सम्बन्धित छ भनेर स्वीकारेका छन्। (जकरिया ८:२३) सबै राष्ट्रहरूबाट तिनीहरू त्यो आत्मिक जातिसँग मिलेर यहोवाको सेवा गर्न जम्मा भएर प्रकाशितवाक्यमा अग्रिम दर्शनद्वारा देखिएको “ठूलो भीड़” हुन गएका छन्। “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” हुनाकारण, तिनीहरूले महा सङ्कष्ट पार गरेर एउटा शान्त नया संसारमा प्रवेश पाउनेछन्।—प्रकाश ७:९, १४.
१९. परमेश्वरका मानिसहरूले आज कुन प्रकारको शान्ति अनुभव गर्दछन्?
१९ सुलेमान राजाको शासनकालमा इस्राएलले अनुभव गरेको शान्तिसँग तुलना गर्न सकिने प्रकारको आत्मिक शान्ति, परमेश्वरको इस्राएल र ठूलो भीड़ले एक साथ अनुभव गर्दछन्। तिनीहरूको विषयमा, मीकाले अगमवाणी गरेका थिए: “तिनीहरूले आफ्ना तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्। जाति जातिहरूले एका अर्काको विरुद्धमा तरवार चलाउने छैनन् नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्। तर तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:३, ४; यशैया २:२-४) यसै अनुरूप, तिनीहरूले युद्ध र कलह छाड़ेका छन्, अर्थात् लाक्षणिक रूपमा आफ्ना तरवारहरू पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाएका छन्। यस प्रकार, तिनीहरूको राष्ट्र, भाषा, जाति अथवा सामाजिक स्थिति जे भएता पनि, तिनीहरूले आफ्ना अन्तर्राष्ट्रिय सङ्गठन भरि, एउटा शान्तमय भ्रातृत्वको आनन्द उठाउँदछन्। साथै, यहोवाले निश्चित रूपमा दिनु हुने सुरक्षा र हेरचाहको कारण तिनीहरू आनन्द मनाउँछन्। ‘तिनीहरूलाई कसैले डर देखाउनेछैन।’ साँच्चै नै, ‘परमप्रभुले [यहोवाले, न्यु.व.] आफ्ना मानिसलाई शक्ति दिनु हुनेछ। परमप्रभुले [यहोवाले, न्यु. व.] आफ्ना मानिसलाई शान्तिको आशिष दिनु हुनेछ।’—भजनसंग्रह २९:११.
२०, २१. (क) परमेश्वरसँगको शान्ति कायम राख्ने हो भने, हामीले किन मेहनत गर्नु पर्नेछ? (ख) परमेश्वरका जनहरूको शान्ति भङ्ग गर्ने शैतानका प्रयासहरू बारे हामी के भन्न सक्छौं?
२० तथापि, सा. यु. प्रथम शताब्दीमा झैं, परमेश्वरका सेवकहरूको शान्तिले गर्दा, शैतानको दुश्मनी दन्किएको छ। १९१४ मा परमेश्वरको राज्यको स्थापना पश्चात्, स्वर्गबाट बहिष्कृत भए पछि, शैतानले त्यस समय देखिन् “[स्त्रीका] बाँकी सन्तानहरूसँग युद्ध” गरिरहेको छ। (प्रकाश १२:१७) पावलले आफ्नै समयमा पनि, यो चेताउनी दिए: “हाम्रो यो लडन्त मानिसहरूको विरुद्धमा होइन . . . तर स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) आज शैतानलाई पृथ्वीको इलाकामा सीमित पारेको हुनाकारण, त्यो चेताउनी अति आवश्यक छ।
२१ परमेश्वरका मानिसहरूको शान्ति भङ्ग गर्ने कोशिशमा, शैतानले आफ्नो बशमा भएको हर उपाय प्रयोग गरेको छ, तर त्यो असफल भएको छ। १९१९ मा, विश्वासी भएर परमेश्वरको सेवा गर्न कोशिश गर्ने मानिसहरूको सङ्खया १०,००० पनि थिएन। आज, ४० लाख भन्दा बढ़ी मानिसहरूले आफ्नो विश्वास द्वारा संसार माथि विजय प्राप्त गरिरहेकाछन्। (१ यूहन्ना ५:४) यिनीहरूले शैतान र त्यसको सन्तानको दुश्मनीको सामना गर्नु परेता पनि, तिनीहरूका लागि परमेश्वरसँगको शान्ति र एक अर्कासँगको शान्ति एउटा वास्तविकता हो। तर यो दुश्मनीको कारण, र साथै आफ्नै असिद्धताहरू र हाम्रा दिनका “डर लाग्दा समयहरूलाई” ध्यानमा राख्दै, हामीले हाम्रो शान्ति कायम राख्न कड़ा मेहनत गर्नु पर्दछ। (२ तिमोथी ३:१) यसो गर्नुमा के बिथोलित छ, हामी आउँदो लेखमा हेर्नेछौं। (w03/1/91)
के तपाईं व्याख्या गर्न सक्नु हुन्छ?
◻ मानिसले शुरूमा परमेश्वरसँगको शान्ति किन गुमायो?
◻ इस्राएलका लागि, परमेश्वरसँगको शान्ति कुन शर्तमा भर पर्द थियो?
◻ परमेश्वरसँगको शान्ति आज के मा आधारित छ?
◻ हाम्रा हृदयहरूलाई सुरक्षित राख्ने “परमेश्वरको शान्ति” के हो?
◻ परमेश्वरसँग हाम्रो शान्ति छ भने, हामी अरू के आशिषहरूको आनन्द उठाउन सक्छौं?