तपाईं खतरनाक टोलछिमेकमा कसरी बच्न सक्नुहुन्छ?
“मलाई सधैं डर लाग्थ्यो। मलाई लिफ्टमा चढ्दा पनि डर लाग्थ्यो। आफ्नै गाडीमा बस्न डराउँथें। घरभित्र पनि डराई डराई बस्थें। जताततै अपराध हुन्थ्यो। मानिसहरू लुटिन्थे,” मारिया बताउँछिन्। के तपाईं ब्राजिलकी यस स्त्रीले जस्तै महसुस गर्नुहुन्छ र आफ्नो टोलछिमेकमा विशेषगरि राती डराउनुहुन्छ?
जासुसी कथाहरू पढ्नु रोमाञ्चकारी होला तर वास्तविक जीवनमा नतिजा प्रायजसो रमाइलो हुँदैन। अपराधी पत्तो नलाग्नसक्छ। अनि नरहत्या हुँदा कसैले पति, पिता, छोरा, पत्नी, आमा वा छोरी गुमाउनुपर्ने हुन्छ। के तपाईंको इलाकामा हिंसात्मक अपराध बढिरहेको छ? के तपाईं आफ्नो परिवारको लागि सुरक्षित तथा शान्त ठाउँको तिर्सना गर्नुहुन्छ? तर तपाईं अपराधग्रस्त इलाकामा आफ्ना छोराछोरीहरू हुर्काउन बाध्य हुनुहुन्छ भने बच्न के गर्न सक्नुहुन्छ?
हो, अधिक हत्या नहुने शहरहरू अझै पनि छन्। अधिकांश मुलुकहरूमा मानिसहरू अझै ग्रामीण सुरक्षा वा शान्त गाउँहरूमा बसोबास गर्छन्। तर पहिले अपराधमुक्त ठानिएका क्षेत्रहरूमा समेत द्रुत गतिले परिस्थिति परिवर्तन भइरहेको छ। उदाहरणको लागि, ५० वर्षअघि ब्राजिलमा ७० प्रतिशत जनसंख्या गाउँमा बसोबास गर्थे। अहिले ७० प्रतिशत जनसंख्या शहरमा बस्छन्। शहरमा जागिर पाउने धेरै मौकाहरू उपलब्ध हुनुका साथै अपराध र हिंसाजस्ता शहरी समस्याहरू बढेका छन्। चाहे तपाईं खतरनाक इलाकामा बसिरहनुभएको होस् या नहोस्, काममा वा स्कूल जानुपर्छ र घरबाहिर निकै क्रियाकलापहरू गर्नुपर्छ।
“अतासिने लक्षण” व्याप्त भएको कुरालाई ध्यानमा राख्दै रियो दे जेनेरोका प्रहरी प्रमुखले त्यसका कारक तत्त्वहरूको रूपमा सामाजिक अन्याय तथा नियोजित अपराध उल्लेख गर्छन्। तिनको विचारमा समाचारपत्रहरू तथा टेलिभिजनले गर्दा “जनसाधारण दुःखदायी समाचार सुनेर तर्सिन्छन्” र डर अझ व्यापक तवरमा फैलिन्छ। लागू पदार्थको दुर्व्यसन, टुक्रिएको परिवार र त्रुटिपूर्ण धार्मिक शिक्षाले पनि अधर्म बढाउन योगदान पुऱ्याउँछ। अनि भविष्य कस्तो हुनेछ? नियमित तवरमा हिंसात्मक दृश्यहरूलाई मामुली कुराजस्तो गरी पुस्तक वा चलचित्र मार्फत मनोरञ्जनको रूपमा प्रस्तुत गर्दा के मानिसहरू एकअर्काप्रति असंवेदनशील हुनेछैनन् र? के अपराधमुक्त ठानिएका क्षेत्रहरू पनि खतरनाक हुनेछन्?
हिंसाको शिकार हुने व्यक्तिको लागि त्यो घटना प्रिय कुरा होइन। अतः हामी सुरक्षित हुने निकै इच्छा गर्छौं। यसकारण चिन्तित नागरिकहरू सडकमा बढी प्रहरी अधिकृतहरू हुनुपर्ने र कडा सजाय वा मृत्युदण्डसमेत लागू गर्नुपर्ने माग गर्छन्। कसै कसैले खतराको बावजूद आत्मरक्षाको लागि बन्दुक बोक्छन् भने केही चाहिं अधिकृतहरूले हातहतियारहरूको बेचबिखन निषेध गरेको चाहन्छन्। जताततै अपराध भइरहेको खराब समाचारको बावजूद निराश हुनुपर्ने कुनै कारण छैन। भनौं भने, जोहानेसवर्ग, मेक्सिको, न्यु योर्क, रियो दे जेनेरो र साऊ पाउलुजस्ता ठूलठूला शहरका थुप्रै बासिन्दाहरू कहिल्यै लुटिएका छैनन्। आउनुहोस्, त्यस्ता खतरनाक टोलछिमेकमा मानिसहरूले कसरी सफलतापूर्वक अपराधको सामना गर्छन्, हेरौं।
सकारात्मक मनोवृत्ति कायम गर्ने
एक अपराधग्रस्त इलाकाका “हजारौं ब्राजिलबासीहरूले कठिन जीवनस्तरको बावजूद केही हदसम्म मर्यादा र भद्रतासाथ जीवन बिताउन सकेकोमा तिनीहरूको चातुर्य र धैर्यताबारे” एक लेखकले टिप्पणी गरेका छन्। रियो दे जेनेरोमा ३८ वर्ष बिताइसकेका जोर्झे यसो भन्छन्: “म कुनै कुनै सडक तथा इलाकाहरूमा हिंड्दिनँ र त्यहाँका क्रियाकलापहरूमा कुनै चासो देखाउँदिनँ। म सकेसम्म राती सडकमा अबेरसम्म हिंड्डुल गर्दिनँ र अचाक्ली डर व्यक्त गर्दिनँ। टाठो भएर हिंडे तापनि हरेक मानिस इमानदार नै छन् भनेर सम्झन्छु र तिनीहरूप्रति मर्यादासहित आदरपूर्ण व्यवहार गर्छु।”
हो, अनावश्यक जोखिमबाट जोगिनुहोस्। अरू मानिसहरूका समस्याहरूमा नमुछिनुहोस्। आफूलाई विचलित तुल्याउने डरले तपाईंको स्नायु प्रणालीलाई असर गर्नसक्छ र सन्तुलित मानिसहरूसमेत अविवेकी कार्यहरू गर्न थाल्छन् भन्ने तथ्यलाई कहिल्यै नबिर्सनुहोस्। खतरनाक इलाकामा आफ्नो जागिरबारे ओदार यस्तो टिप्पणी गर्छन्: “म सकारात्मक हुन खोज्छु र खराब कुरा हुनसक्ने डरबारे सोचिरहँदिनँ किनभने त्यसले गर्दा अनावश्यक तनाव र त्रास पैदा हुन्छ। म सबै मानिसहरूप्रति आदर देखाउन खोज्छु।” चनाखो रहनु र शंकास्पद मानिसहरूदेखि टाढै बस्नुको साथै आफ्ना भावनाहरूमाथि नियन्त्रण राख्ने सन्दर्भमा तिनी अर्को सहायक यसप्रकार बताउँछन्: “सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यहोवाको नजरबाट कुनै कुरा लुक्न सक्दैन र उहाँकै अनुमतिद्वारा सबै कुरा हुन्छन् भन्ने सम्झेर म यहोवा परमेश्वरमा भरोसा बढाउँछु।”
यद्यपि, कोही पनि आजीवन डरै डरमा बाँच्न चाहँदैन। यसबाहेक, अत्यधिक डर र तनाउ भावनात्मक तथा शारीरिक स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने कुरामा सहमत नहुने को होला र? यसर्थ, आफूमाथि कुनै पनि बेला आक्रमण हुनसक्छ भनेर डराउनेहरूको निम्ति कस्तो आशा छ? सबैभन्दा घातक अपराध त हुन बाँकी नै छ भनी धेरै मानिसहरू डराउने भएको हुँदा के हामीले कहिल्यै हिंसाको अन्त देख्नेछौं? हामी तपाईंलाई यसपछिको लेख पढ्न निमन्त्रणा दिन्छौं, “डरको अन्त कहिले हुनेछ?”