के तपाईं सन्तुलित अग्रगामी हुनुहुन्छ?
आफ्नी छोरीले प्रथम चोटि धरमराउँदै पाइला चाल्दा, आफ्नो हात फैलाउँदै पर्खिदाँ बुबा दंग पर्छन्। जब तिनी अकस्मात् लड्छिन् बुबाले तिनलाई फेरि कोसिस गर्ने प्रोत्साहन दिन्छन्। तिनले चाँडै शारीरिक सन्तुलन र बल प्राप्त गर्नेछिन् भनेर बुबालाई थाह छ।
त्यस्तैगरि परमेश्वरको राज्यको उद्घोषकको हैसियतमा सफलतापूर्वक सन्तुलन कायम गर्न नयाँ अग्रगामी सेवकलाई समय र प्रोत्साहन चाहिनसक्छ। धेरै अग्रगामीहरूले दशकौंदेखि आनन्दपूर्वक सेवा गरिरहेका छन्। आफ्नो परिस्थितिमा अप्रत्याशित परिवर्तन हुँदा केहीले आफ्नो सन्तुलन गुमाउँछन्। केहीले त आफ्नो आनन्दसमेत गुमाउँछन्। एउटा मुलुकमा पूर्ण-समय सेवा सुरु गरेको दुइ वर्षभित्रै २० प्रतिशतले अग्रगामी कार्य छाड्छन्। कुन कुराले गर्दा अग्रगामीले यस आनन्ददायी सेवा छोड्नुपर्ने हुन्छ? यस्ता अवरोधहरू पन्छाउन केही गर्न सकिन्छ कि?
अस्वस्थता, आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीहरूले गर्दा केहीले पूर्ण-समय सेवकाई छाडेका छन् भने केहीले विभिन्न मसीही दायित्वहरूबीच राम्रो सन्तुलन कायम गर्न नसकेकोले ठेस खान्छन्। सन्तुलन भनेको “यस्तो अवस्था हो जहाँ कुनै एउटा भाग, तत्त्व वा प्रभावले अर्कोलाई अधिक भार दिंदैन वा एकअर्काबीचको अनुपात तलमाथि हुन दिंदैन।”
प्रचार र चेला बनाउने कार्य कसरी गर्न सकिन्छ भनेर येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई देखाउनुभयो। सन्तुलन कसरी कायम गर्न सकिन्छ भनेर उहाँले आफ्नै सेवकाईमा पनि प्रदर्शित गर्नुभयो। येशूले यहूदी धर्मगुरुहरूसित सन्तुलनको अभाव भएको देखाउनुहुँदै यसो भन्नुभयो: “तिमीहरू पदीना र सूँप र जीराको दशौं भाग दिन्छौ, औ व्यवस्थाका तीभन्दा गहकिला कुराहरू, अर्थात् न्याय, दया र विश्वास छोड़दछौं। तर तिमीहरूले यो पनि गरेर ती पनि नछोड़नु पर्थ्यो।”—मत्ती २३:२३.
आज विशेषगरि अग्रगामी सेवकाईमा यो सिद्धान्त लागू हुन्छ। अग्रगामी सेवाको निम्ति पूर्णरूपले तयारी नगरि वा यसमा समाविष्ट सबै कुराहरूको विचारै नगरि केहीले उत्साह र असल मनसायले मात्रै प्रेरित भई अग्रगामी सेवा थालेका छन्। (लूका १४:२७, २८) अरू चाहिं क्षेत्र सेवकाईमा यति तल्लीन भएका छन्, तिनीहरूले मसीही धर्मका अन्य महत्त्वपूर्ण पक्षहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले कसरी सन्तुलन प्राप्त गर्न र कायम राख्नसक्छन्?
आध्यात्मिकतामा बलियो हुनुहोस्!
येशूले आफ्नो आध्यात्मिकताको कहिल्यै बेवास्ता गर्नुभएन। उहाँको कुरा सुन्न आएको र निको हुन आएको भीडले अत्यधिक मात्रमा उहाँको समय मागे तापनि उहाँ मननशील भएर प्रार्थना गर्न समय निकाल्नुहुन्थ्यो। (मर्कूस १:३५; लूका ६:१२) आज पनि एक सन्तुलित अग्रगामी हुन तिनले आध्यात्मिक तवरमा बलियो हुन प्रबन्ध गरिएका सबै कुराहरूको प्रचुर मात्रामा फाइदा उठाउनुपर्छ। पावलले यस्तो तर्क गरे: “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई सिकाउँदैनौ?” (रोमी २:२१) पर्याप्त व्यक्तिगत अध्ययन र नियमित प्रार्थनाको लागि समय निकाल्न वास्ता नगरेर सम्पूर्ण समय प्रचारकार्यमा बिताउनु निश्चय नै गल्ती हुनेछ।
कुमिकोले अग्रगामी गरेको दुइ दशक भइसक्यो। तिनका तीन छोराछोरी र भिन्दै विश्वास भएको पति भए तापनि राती सुत्नुअघि बाइबल पढ्नु र अध्ययन गर्नु सबैभन्दा बेस हो भन्ने अनुभव गरेकी छिन्। तिनले अध्ययन गर्दा विशेषगरि आफ्नो क्षेत्र सेवकाईलाई ताजा र चाखलाग्दो बनाउनको निम्ति उपयोगी हुने बुँदाहरूमा ध्यान दिन्छिन्। अन्य सफल अग्रगामीहरू चाहिं आध्यात्मिक स्फूर्तिको आनन्द उठाउन परिवारका अन्य सदस्यहरू उठ्नुअघि बिहान शान्त वातावरणमा अध्ययन गर्छन्। त्यस्तैगरि, तपाईंले सभाहरूका निम्ति तयारी गर्न र नविनतम मसीही प्रकाशनहरू पढ्न उपयुक्त समय छुट्याउनुभएको होला। तपाईं सेवकाईबाट प्राप्त आनन्दलाई कायम राख्न चाहनुहुन्छ भने व्यक्तिगत अध्ययन हतारिंदै वा बेवास्ता गर्नु हुँदैन।
पारिवारिक जिम्मेवारीहरूलाई सन्तुलित राख्ने
अग्रगामी आमाबाबुले यो कुरा पनि बिर्सनु हुँदैन, तिनीहरूले “प्रभुको इच्छा” गर्नुमा धेरै हदसम्म आफ्नो परिवारको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्यकताहरूको हेरचाह गर्नु पनि समावेश छ। (एफिसी ५:१७; ६:१-४; १ तिमोथी ५:८) पत्नी र आमाले अग्रगामी गर्न थालेपछि तिनीहरूले आराम र समर्थन पाउन सक्दैन भनेर कहिलेकाहीं विश्वासमा भएको पति र परिवारका सदस्यहरूसमेत चिन्तित हुन्छन्। यस्ता भावनाहरूले गर्दा तिनको अग्रगामी गर्ने जोश कम हुन्छ। तथापि, राम्रो योजना र पूर्वविचारले सन्तुलन कायम गर्न सकिन्छ।
प्रायजसो अग्रगामीहरूले परिवारका सदस्यहरू घरमा नहुँदा प्रचार कार्य गर्ने कोसिस गर्छन्। माथि उल्लिखित कुमिको आफ्नो परिवारसितै चिया-चमेना गर्छिन्, बिहान तिनको पति र छोराछोरीहरू बाहिर जाँदा बिदाइ गर्छिन् र तिनीहरू फर्कनुअघि नै घर आइपुग्छिन्। भान्छामा व्यस्त हुनुको साटो आफ्नो परिवारसँगै खाना खान तिनी सोमबारै विभिन्न परिकारहरू पकाउँछिन्। एकै समयमा जस्तो खाना पकाउँदै गर्दा अन्य घरायसी कार्य पनि गर्नु मदतकारी हुन्छ। यसो गर्दा कुमिकोले आफ्ना छोराछोरीका साथीहरूलाई बोलाएर खुवाउन विशेष परिकारहरू तयार पार्ने समयसमेत पाउँछिन्।
छोराछोरीहरू किशोरावस्थामा पुगेपछि नयाँ भावना, इच्छा, शंका, उपशंकाहरूको सामना गर्न तिनीहरूलाई साधारणतया आमाबाबुको बढी ध्यान चाहिन्छ। यसो गर्न अग्रगामी आमाबाबु सजग हुनुका साथै तालिकामा छाँटकाँट गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, तीन छोराछोरीकी आमा, आग्रगामी हिसाकोलाई लिनुहोस्। हिसाकोकी जेठी छोरीले सांसारिक साथीहरूको प्रभावमा परेर मसीही सभाहरू र क्षेत्र सेवकाईप्रति आनन्द र जोशको कमी देखाउँदा तिनले के गरिन्? तिनको छोरीको साँचो आवश्यकता सच्चाइलाई आफ्नै बनाउनु र संसारसित अलग हुनु नै सबैभन्दा उत्तम मार्ग हो भनेर पूर्णतया विश्वस्त हुनुथियो।—याकूब ४:४.
हिसाको यसो भन्छिन्: “मैले छोरीसित सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट आधारभूत सिद्धान्तहरूबारे दिनहुँ पुनः अध्ययन गर्ने निर्णय गरें। सुरुमा छोरीलाई अध्ययन गर्ने समय भयो कि त पेट र टाउको असाध्यै दुख्ने भएकोले केही मिनेट मात्र अध्ययन गर्नसक्थ्यौं। तर मैले नियमित तवरमा अध्ययन गरें। केही महिनापश्चात् तिनको स्वभाव निकै सुध्रियो र फलस्वरूप थोरै समयावधिमै तिनले समर्पण र बप्तिस्मा लिइन्।” अहिले हिसाको आफ्नी छोरीसँगै पूर्ण-समय सेवकाई गरेर आनन्द उठाइरहेकी छिन्।
अग्रगामी बुबाहरू क्षेत्र सेवकाईमा जिज्ञासु व्यक्ति र मण्डलीका जिम्मेवारीहरूमा तल्लीन भई आफ्नो हुर्कंदै गरेका छोराछोरीलाई चाहिं चाहिने बलियो भावनात्मक समर्थन र आवश्यक निर्देशन दिन नभ्याउने हुनदेखि होशियार हुनुपर्छ। यो पतिले पत्नीलाई सुम्पने जिम्मेवारी होइन। लामो समयदेखि अग्रगामी गरेका र सानो व्यापार सँभाल्ने एक व्यस्त मसीही प्राचीनले आफ्ना चार छोराछोरीहरू सबैसित पालैपालो अध्ययन गर्न समय निकाल्छन्। (एफिसी ६:४) यसबाहेक, तिनले आफ्नो परिवारसँगै बसेर साप्ताहिक सभाहरूको निम्ति तयारी गर्छन्। सन्तुलित अग्रगामीहरूले आफ्नो परिवारको भौतिक र आध्यात्मिक आवश्यकताहरू बेवास्ता गर्दैनन्।
आर्थिक सन्तुलन
राम्रो सन्तुलन कायम राख्न अग्रगामीहरूले कोसिस गर्नुपर्ने अर्को क्षेत्र दैनिक आवश्यकताहरूप्रति सही दृष्टिकोण राख्नु हो। पुनः हामीले येशूको असल उदाहरण र सल्लाहबाट धेरै कुराहरू सिक्नसक्छौं। उहाँले भौतिक कुराहरूको अचाक्ली फिक्री नलिन चेताउनी दिनुभयो। बरु उहाँले परमेश्वरको राज्यलाई प्राथमिकता दिन प्रोत्साहित गर्नुभयो र परमेश्वरले बाँकी सृष्टिलाई हेरचाह गर्नुभएझैं हाम्रो पनि हेरचाह गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। (मत्ती ६:२५-३४) यस असल सल्लाहलाई पालन गर्दा धेरै अग्रगामीहरू वर्षौंसम्म पूर्ण-समय सेवकाईमा लागिरहन सफल भएका छन्। अनि “दिनभरिको भोजन” प्राप्त गर्ने तिनीहरूको प्रयासमा यहोवाले आशिष् दिनुभएको छ।—मत्ती ६:११.
प्रेरित पावलले सँगी मसीहीहरूलाई ‘तिनीहरूको व्यवहारिकता सबै मानिसहरूलाई थाह होस्’ भनेर सल्लाह दिए। (फिलिप्पी ४:५) निस्सन्देह, आफ्नो स्वास्थ्यको उचित हेरचाह गर्नु पनि व्यवहारिक हुनुमा समावेश छ। सन्तुलित अग्रगामीहरूले आफ्नो जीवनशैली र भौतिक कुराहरूप्रति आफ्नो मनोवृत्तिमा व्यवहारिकता देखाउन हर प्रयास गर्छन् किनभने अरूले आफ्नो आचरण नियालिरहेका हुन्छन् भनेर तिनीहरूलाई थाह छ।—तुलना गर्नुहोस् १ कोरिन्थी ४:९.
अग्रगामी युवाहरूले आफ्ना आमाबाबुको उदारताको नाजायज फाइदा उठाउनु हुँदैन। आमाबाबुसितै बस्छन् भने घरायसी काम गर्न सघाउने र घर खर्च टार्न अर्ध-समय जागिरहरू गरेर सन्तुलन र मूल्यांकन देखाउनसक्छन्।—२ थिस्सलोनिकी ३:१०.
सन्तुलित अग्रगामीहरू साँचो आशिष् हुन्
तपाईं उचित सन्तुलन कायम गर्न कडा परिश्रम गरिरहनुभएको अग्रगामी हुनुहुन्छ होला। सन्तुलन कायम गर्नसक्छु भनेर विश्वस्त हुनुहोस्। सन्तुलन कायम राखेर हिंड्न सानो बालकलाई समय लागेझैं आफ्ना सबै जिम्मेवारीहरूमा सन्तुलन कायम राख्न समय लाग्छ भनी धेरै परिपक्व अग्रगामीहरू भन्छन्।
अग्रगामीहरूले सन्तुलित हुन प्रयास गर्ने केही क्षेत्रहरू व्यक्तिगत अध्ययन, परिवारका सदस्यहरूको हेरचाह र आफ्नै आधारभूत आवश्यकताहरू हुन्। धेरै अग्रगामीहरूले आफ्ना जिम्मेवारीहरू विशिष्ट ढंगमा पूरा गरेको रिपोर्टहरूले देखाउँछ। तिनीहरू साँच्चै आफ्नो समुदायको निम्ति आशिष् र यहोवा अनि उहाँको संगठनको निम्ति गौरव हुन्।