प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १२/१५ pp. ९-१५
  • तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंको जीवन असाध्यै तनाउग्रस्त छ?
  • जुवा बोक्ने
  • तपाईंले पनि स्फूर्ति पाउन सक्नुहुन्छ
  • स्फूर्ति पाउने तरिका
  • मैले विचार गर्न सक्ने थप शिक्षाहरू:
  • मर्कूसद्वारा लिपिबद्ध थप बुँदाहरू:
  • अन्तमा, लूकाद्वारा लिपिबद्ध केही शिक्षाहरू:
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • येशूले स्फूर्ति दिनुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “मेरो जुवा तिमी आफैले बोक”
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १२/१५ pp. ९-१५

तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान

“हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [ “स्फूर्ति,” NW] दिनेछु।”—मत्ती ११:२८.

१, २. (क) तनाउ कम गर्न मदतको लागि बाइबलमा कस्तो सल्लाह पाइन्छ? (ख) येशूका शिक्षाहरू कत्तिको प्रभावकारी थिए?

अत्यधिक तनाउ हानिकारक हुन्छ भन्‍ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला। यो पीडा सरह हुन्छ। आज सम्पूर्ण मानवजाति अत्यन्तै बोझले दबिएको कारण तिनीहरू यस तनाउग्रस्त जीवनबाट छुटकारा पाउन उत्सुक छन्‌ भनी बाइबलले औंल्याउँछ। (रोमी ८:२०-२२) तर अहिले पनि पीडाबाट हामी कसरी धेरै हदसम्म छुटकारा पाउनसक्छौं भनेर धर्मशास्त्रले देखाउँछ। यो कुरा हामीले २० शताब्दीअघिका एक जना जवान व्यक्‍तिको सल्लाह र नमुना पालन गरेको खण्डमा मात्र पाउनसक्छौं। तिनी सिकर्मी थिए तर तिनले आफ्नो सिकर्मी कामलाई भन्दा मानिसजातिलाई असाध्यै प्रेम गर्थे। तिनले बोलेका हर शब्दले मानिसहरूको हृदय छुन्थ्यो र कमजोर अनि निराशामा परेकाहरूलाई दिलाशा दिंदै तिनीहरूका आवश्‍यकताहरू पूरा गर्थ्यो। अझ योभन्दा पनि महत्त्वपूर्ण कुरा त, तिनले थुप्रैलाई आध्यात्मिकतामा निपुण हुन मदत गरे। यसप्रकार तिनीहरूले अचाक्ली तनाउबाट छुटकारा पाए भने तपाईंले पनि पाउन सक्नुहुन्छ।—लूका ४:१६-२१; १९:४७, ४८; यूहन्‍ना ७:४६.

२ ती व्यक्‍ति नासरतका येशू हुनुहुन्थ्यो। उहाँ पुरातन रोम, एथेन्स वा एलेक्सजान्ड्रियामा सिकाइने सांसारिक ज्ञानबाट प्रभावित हुनुहुन्‍न थियो। तैपनि, उहाँका शिक्षाहरू प्रख्यात छन्‌। उहाँको शिक्षाको विषय थियो: परमेश्‍वरको सरकार जुन पृथ्वीमाथि शासन गर्न सफल हुनेछ। येशूले आज हाम्रो समयमा पनि जीवन बिताउन अत्यन्तै मूल्यवान्‌ आधारभूत सिद्धान्तहरू बताउनुभयो। येशूका शिक्षाहरू सिक्ने र पालन गर्ने मानिसहरूले प्रत्यक्ष लाभ उठाउँछन्‌ र यसबाट हुने लाभहरूमध्ये एउटा अचाक्ली तनाउबाट छुटकारा पाउनु पनि हो। के तपाईं पनि त्यस्तो आनन्द उठाउन चाहनुहुन्‍न र?

३. येशूले कस्तो महान्‌ निमन्त्रणा दिनुभयो?

३ तपाईंको मनमा प्रश्‍नहरू उठ्‌नसक्छन्‌। ‘आजभन्दा धेरै वर्षअघि बाँचेका मानिसले पनि के अहिले मेरो जीवनमा गहन प्रभाव पार्नसक्छ र?’ पहिला, येशूका यी मनमोहक शब्दहरू सुन्‍नुहोस्‌: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) उहाँले के भन्दै हुनुहुन्थ्यो? आउनुहोस्‌, हामी यी शब्दहरू एक-एक गरी केलाऔं र यसले तपाईंलाई बोझिलो तनाउबाट छुटकारा पाउन कसरी मदत गर्छ, हेरौं।

४. येशूले कोसँग कुरा गर्नुभयो र उहाँका श्रोताहरूलाई उहाँले भन्‍नुभएको कुरा गर्न किन गाह्रो लागेको हुनसक्छ?

४ व्यवस्थाअनुसार कामकुरा गर्न साँच्चै प्रयास गरिरहेका तर यहूदी धर्मगुरुहरूले धर्मलाई गह्रौं भारी बनाएको कारण “बोझले दबिएका” थुप्रैसँग येशूले कुरा गर्नुभयो। (मत्ती २३:४) जीवनको प्रायजसो सबै क्षेत्रमा तीन थुप्रो नियमहरू लादिएका थिए। जत्तिखेर पनि “यसो गर्नुहुँदैन,” “त्यसो गर्नुहुँदैन” भनेको मात्र सुन्‍नुभयो भने के तपाईंले तनाउ महसुस गर्नु हुन्‍न र? यसको ठीक विपरीत, येशूको निमन्त्रणा मानिसहरूलाई सत्य र धार्मिकतातर्फ डोऱ्‍याउने उत्तम जीवनको मार्ग थियो। हो, साँचो परमेश्‍वरलाई चिन्‍नको लागि येशू ख्रीष्टको कुरामा ध्यान दिनु आवश्‍यक थियो किनभने उहाँद्वारा नै मानिसहरूले यहोवा कस्तो हुनुहुन्छ भनी थाह पाउन सक्थे र अहिले पनि थाह पाउन सक्छन्‌। येशूले यसो भन्‍नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूहन्‍ना १४:९.

के तपाईंको जीवन असाध्यै तनाउग्रस्त छ?

५, ६. कामको बोझ र ज्यालाको सन्दर्भमा येशूको समय र आज हाम्रो समयमा कस्तो समानता पाइन्छ?

५ यो तपाईंको लागि चासोको विषय हुनसक्छ किनभने आफ्नो काम वा पारिवारिक अवस्थाले गर्दा तपाईंले असाध्यै तनाउ महसुस गरिरहनुभएको हुनसक्छ। वा अन्य जिम्मेवारीहरूका कारण चिन्तित हुनुहुन्छ होला। त्यसो हो भने, तपाईं येशूले मदत गर्नुभएका ती निष्कपट व्यक्‍तिहरूजस्तै हुनुहुन्छ। उदाहरणका लागि, जीविका चलाउने समस्यालाई लिनुहोस्‌। येशूको समयमा जस्तै आज पनि थुप्रै मानिसले आफ्नो जीविका चलाउन निकै संघर्ष गर्नुपर्छ।

६ त्यति बेला ज्यालादारीमा काम गर्ने मानिसले दिनभरि काम गरे बापत १ दिनार पाउँथ्यो र तिनले दिनको १२ घण्टाको दरले हप्ताको छ दिन काम गर्नुपर्थ्यो। (मत्ती २०:२-१०) तपाईं वा तपाईंका मित्रहरूले आज पाउने ज्याला के तपाईं त्यति बेलाको ज्यालासँग तुलना गर्न सक्नुहुन्छ? आधुनिक समयमा पाइने ज्यालासँग पुरातन समयको ज्याला तुलना गर्नु गाह्रो हुनसक्छ। तर तुलना गर्ने एउटा तरिका पैसाको क्रयशक्‍ति विचार गरेर हो। एक जना शास्त्रविद्‌का अनुसार येशूको समयमा चार कप गहुँको पीठोले बनाइएको पाउरोटी किन्‍न एक घण्टाको ज्याला खर्च हुन्थ्यो। अर्का शास्त्रविद्‌का अनुसार एक कप असल दाखमद्यको लागि दुई घण्टा बराबरको ज्याला खर्च हुन्थ्यो। त्यति बेलाका मानिसहरू आफ्नो जीविका चलाउन निकै खट्‌नुपर्थ्यो भनी हामी यी विवरणहरूबाट बुझ्नसक्छौं। हामीलाई जस्तै तिनीहरूलाई पनि छुटकारा र स्फूर्ति चाहिएको थियो। तपाईं जागिरे हुनुहुन्छ भने अझ बढी कमाउने दबाउ महसुस गर्नुहुन्छ होला। अक्सर हामी राम्ररी सोचविचार गरेर निर्णय गर्ने समय नै पाउँदैनौं। सायद तपाईं पनि छुटकारा पाउने इच्छा गर्नुहुन्छ होला।

७. येशूको सन्देशप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?

७ स्पष्टतः “बोझले दबिएका” सबैलाई येशूले दिनुभएको निमन्त्रणा त्यति बेलाका थुप्रै श्रोताहरूलाई पक्कै मनमोहक लागेको हुनुपर्छ। (मत्ती ४:२५; मर्कूस ३:७, ८) अनि येशूले गर्नुभएको यस प्रतिज्ञालाई पनि सम्झनुहोस्‌: “म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु।” यही प्रतिज्ञा आज पनि लागू हुन्छ। हामी “बोझले दबिएका” छौं भने हामीलाई पनि यो लागू हुन्छ। अनि हाम्रोजस्तै परिस्थिति भोगिरहेका प्रिय जनहरूलाई पनि लागू हुनसक्छ।

८. छोराछोरी हुर्काउनु र वृद्धावस्थाले कसरी तनाउ बढाउनसक्छ?

८ आज मानिसहरूले बोझले दबिएको महसुस गर्नुका अन्य कारणहरू पनि छन्‌। छोराछोरी हुर्काउनु एउटा ठूलो चुनौती हो। केटाकेटीले समेत चुनौतीको सामना गर्नुपर्छ। बेग्लाबेग्लै उमेरका थुप्रै मानिसहरूले मानसिक तथा शारीरिक समस्याहरू झेल्नु परिरहेका छन्‌। अनि मानिसहरूको आयु लामो भए तापनि र चिकित्सा क्षेत्रमा निकै प्रगति भए तापनि वृद्धहरूले आफ्नै प्रकारका समस्याहरू सामना गर्नुपर्छ।—उपदेशक १२:१.

जुवा बोक्ने

९, १०. पुरातन समयमा जुवाले केलाई चित्रण गर्थ्यो र किन येशूले मानिसहरूलाई उहाँको जुवा बोक्न आमन्त्रित गर्नुभयो?

९ मत्ती ११:२८, २९ मा येशूले भन्‍नुभएका यी शब्दहरूमा के तपाईंले ध्यान दिनुभयो: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक।” त्यति बेलाका सर्वसाधारण मानिसलाई आफूले जुवा बोकेर काम गरिरहेको छु जस्तो लागेको हुनसक्छ। पुरातन समयदेखि नै जुवा दासत्व वा बन्धनको चिह्न थियो। (उत्पत्ति २७:४०; लेवी २६:१३; व्यवस्था २८:४८) येशूले भेट्‌नुभएका अधिकांश मजदुरहरूले साँच्चै आफ्नो काँधमा जुवा अर्थात्‌ गह्रौं बोझ बोकिरहेका हुन्थे। काँधमा बोक्न सजिलो वा अप्ठ्यारो हुने कुराचाहिं जुवामा भर पर्थ्यो। येशू सिकर्मी हुनुभएकोले उहाँले थुप्रै जुवा बनाउनुभएको हुनुपर्छ र उहाँले बोक्न सजिलो हुने जुवा बनाउन पनि सिक्नुभएको हुनुपर्छ। सायद उहाँले काँधमा पर्ने जुवाको भागलाई छाला वा कपडाले बेर्नुहुन्थ्यो होला।

१० येशूले “मेरो जुवा तिमी आफैले बोक” भन्‍नुहुँदा उहाँले आफूलाई, कामदारलाई बोक्न “सजिलो” हुने गरी राम्ररी जुवा बनाउने मानिससित तुलना गरिरहनुभएको हुनसक्छ। अतः येशूले अझ यसो भन्‍नुभयो: “मेरो भारी हलका छ।” यसबाट जुवा प्रयोग गर्न अप्ठ्यारो थिएन र काम पनि असाध्यै गाह्रो थिएन भनी बुझ्नसक्छौं। हो, आफ्ना श्रोताहरूलाई जुवा बोक्न आमन्त्रित गर्नुभएर येशूले त्यति बेला विद्यमान सबै शोषणकारी अवस्थाहरूबाट छुटकारा दिने प्रतिज्ञा गरिरहनुभएको थिएन। यद्यपि, उहाँले प्रस्तुत गर्नुभएका भिन्‍न विचारधाराले निकै स्फूर्ति प्रदान गर्ने थियो। तिनीहरूले आफ्नो जीवनशैली तथा कामकुरा गर्ने तौरतरिकामा काँटछाँट गर्दा पनि केही विश्राम पाउनसक्ने थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा त, स्पष्ट तथा ठोस आशाले तिनीहरूको जीवनमा तनाउ कम गर्न मदत गर्ने थियो।

तपाईंले पनि स्फूर्ति पाउन सक्नुहुन्छ

११. येशूले किन जुवा साट्‌ने कुरा मात्र गरिरहनुभएको थिएन?

११ कृपया ध्यान दिनुहोस्‌, येशूले यहाँ मानिसहरूले जुवा साटफेर गर्नेछ भनिरहनुभएको थिएन। आज मसीहीहरू आफ्नो देशको सरकारको नियन्त्रणमा भएझैं रोमले पनि आफ्नो भूमिमा नियन्त्रण जमाउन छोड्‌ने थिएन। प्रथम शताब्दीमा रोमीहरूले लगाएको कर पनि हट्‌ने थिएन। स्वास्थ्य र आर्थिक समस्याहरू यथावतै रहने थिए। असिद्धता र पापको असर मानिसहरूमा परिनै रहने थिए। तैपनि, येशूका शिक्षाहरू ग्रहण गरेर तिनीहरूले स्फूर्ति पाउनसक्थे र त्यस्तै स्फूर्ति आज हामीले पनि प्राप्त गर्नसक्छौं।

१२, १३. कुन कुराले स्फूर्ति दिनेछ भनी येशूले प्रस्ट पार्नुभयो र कसै-कसैले कस्तो प्रतिक्रिया देखाए?

१२ जुवासम्बन्धी येशूको दृष्टान्तको महत्त्व चेला बनाउने कार्यको सन्दर्भमा स्पष्ट भयो। येशूको मुख्य काम अरूलाई सिकाउनु थियो भन्‍ने कुरामा कुनै शंका छैन र उहाँले परमेश्‍वरको राज्यलाई जोड दिनुभयो। (मत्ती ४:२३) त्यसैकारण उहाँले “मेरो जुवा तिमी आफैले बोक” भन्‍नुहुँदा निश्‍चय पनि त्यस कार्यमा भाग लिनु पनि समावेश थियो। सुसमाचारको पुस्तकको विवरणले देखाएअनुसार येशूले थुप्रै निष्कपट मानिसको जीवनको प्रमुख चिन्ताको विषय अर्थात्‌ तिनीहरूको पेसासमेत बदल्न उत्प्रेरित गर्नुभयो। उहाँले पत्रुस, आन्द्रियास, याकूब र यूहन्‍नालाई बोलाउनुभएको घटनालाई सम्झनुहोस्‌ त: “मेरोपछि लाग, र म तिमीहरूलाई मानिसहरूका जलाहारी तुल्याउनेछु।” (मर्कूस १:१६-२०) उहाँले जलाहारीहरूलाई आफूले प्राथमिकता दिइरहेको काम तिनीहरूले पनि उहाँको डोऱ्‍याइ तथा मदतमा गरे कत्ति सन्तोषजनक हुनेछ भनी देखाउनुभयो।

१३ येशूका कुरा सुन्‍ने कोही-कोही यहूदीहरूले उहाँको कुरा बुझे र त्यसलाई आफ्नो जीवनमा लागू गरे। लूका ५:१-११ मा लिपिबद्ध समुद्र किनारको दृश्‍य कल्पना गर्नुहोस्‌। चार जना जलाहारीले रातभरि मेहनत गरे तापनि एउटै माछा पक्रन सकेका थिएनन्‌। अकस्मात्‌ तिनीहरूको जाल टन्‍न भरियो! यो संयोगले भएको थिएन तर येशूले गर्दा भएको थियो। किनारतिर हेर्दा तिनीहरूले येशूको शिक्षामा चासो दिने मानिसहरूको भीड देखे। यसबाट येशूले ती चार जनालाई भन्‍नुभएको कुरा बुझ्न सजिलो भयो: “अब उपरान्त तिमी[हरू] मानिसहरू पक्रने हुनेछौ।” तिनीहरूले के गरे? ‘तिनीहरूले डुङ्‌गाहरू पाखामा ल्याएपछि ती सबै छोड़ेर उहाँका पछि लागे।’

१४. (क) आज हामी कसरी स्फूर्ति पाउनसक्छौं? (ख) येशूले कस्तो स्फूर्तिदायी सुसमाचार उद्‌घोषणा गर्नुभयो?

१४ साधारणतया, तपाईं पनि यस्तै प्रतिक्रिया देखाउन सक्नुहुन्छ। मानिसहरूलाई बाइबलको सत्य कुरा सिकाउने कार्य आज पनि भइरहेको छ। संसारभरि झन्डै ६० लाख यहोवाका साक्षीहरूले ‘मेरो जुवा बोक’ भन्‍ने येशूको निमन्त्रणा स्वीकारेर “मानिसहरूका जलाहारी” भएका छन्‌। (मत्ती ४:१९) कसै-कसैले यस काममा पूर्ण-समय बिताउँछन्‌ भने अरू कतिपयले चाहिं आफूले सकेजति गर्छन्‌। सबै जनाले यस कामबाट स्फूर्ति पाउने हुँदा तिनीहरूको जीवनमा तनाउ कम हुन्छ। तिनीहरू आफूलाई मनपर्ने काम गर्छन्‌ अर्थात्‌ अरूलाई “राज्यको सुसमाचार प्रचार” गर्छन्‌। (मत्ती ४:२३) अरूलाई सुसमाचार सुनाउनु सधैं रमाइलो हुन्छ र यो सुसमाचार त अझ विशेष छ। आफ्नो जीवनमा तनाउ कम गर्न सकिन्छ भनेर मानिसहरूलाई विश्‍वस्त गराउने आधारभूत विषयवस्तु बाइबलमा पाइन्छ।—२ तिमोथी ३:१६, १७.

१५. जीवनबारे येशूको शिक्षाबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

१५ परमेश्‍वरको राज्यबारे भर्खरै सिक्न थालेका मानिसहरूले समेत आफ्नो जीवनमा तनाउ कम गर्न येशूको शिक्षाबाट लाभ उठाएका छन्‌। येशूको शिक्षाले साँच्चै स्फूर्ति दिनुका साथै आफ्नो जीवनमा आमूल परिवर्तन गर्न मदत गरेको छ भन्‍ने कुराको पुष्टि थुप्रैले दिनसक्छन्‌। विशेष गरी मत्ती, मर्कूस र लूकाको सुसमाचारको पुस्तकमा लिपिबद्ध येशूको जीवनी र सेवकाईका विवरणहरूमा उल्लिखित जीवन बिताउने सन्दर्भमा दिइएका सिद्धान्तहरू तपाईं आफै पनि जाँचेर हेर्न सक्नुहुन्छ।

स्फूर्ति पाउने तरिका

१६, १७. (क) येशूका केही मुख्य शिक्षाहरू तपाईं कहाँ पाउन सक्नुहुन्छ? (ख) येशूका शिक्षाहरू व्यवहारमा उतारेर स्फूर्ति पाउन के गर्नु आवश्‍यक छ?

१६ सा.यु. ३१ को वसन्तऋतुमा येशूले दिनुभएको शिक्षा अहिले हाम्रो समयसम्म विश्‍व प्रख्यात छ। यसलाई साधारणतया डाँडाको उपदेश भनिन्छ। यसलाई मत्ती अध्याय ५ देखि ७ र लूका अध्याय ६ मा लिपिबद्ध गरिएको छ र यसले उहाँका थुप्रै शिक्षाहरू सारांशमा बताउँछ। तपाईंले येशूका अरू शिक्षाहरू सुसमाचारको पुस्तकका अन्य भागमा पाउन सक्नुहुन्छ। उहाँले भन्‍नुभएका अधिकांश कुराहरू सजिलै बुझ्न सकिन्छ तर त्यसलाई व्यवहारमा उतार्नु भने चुनौतीपूर्ण हुनसक्छ। ती अध्यायहरू होसियारीपूर्वक ध्यान दिएर अध्ययन गरे कसो होला? उहाँका शिक्षाहरूको शक्‍तिले तपाईंको मन अनि मनोवृत्तिमा प्रभाव पारून्‌।

१७ स्पष्टतः येशूका शिक्षाहरू विभिन्‍न तरिकामा लागू गर्न सकिन्छ। आउनुहोस्‌, उहाँका शिक्षाहरू आफ्नो जीवनमा लागू गर्ने लक्ष्य राख्दै महिनाको प्रत्येक दिन लागू गर्न उहाँका मुख्य शिक्षाहरूको समूह बनाऔं। कसरी? ती बुँदाहरूलाई सरसरती पढ्‌ने मात्र नगर्नुहोस्‌। येशूलाई यस्तो प्रश्‍न गर्ने धनी शासकलाई सम्झनुहोस्‌: “मैले के गरेदेखि म अनन्त जीवनको हकदार हुनेछु?” येशूले परमेश्‍वरको व्यवस्थाका महत्त्वपूर्ण बुँदाहरू पुनरावृत्ति गर्नुहुँदा आफूले ती सबै पालन गरिरहेको कुरा तिनले बताए। तैपनि, तिनले अझ बढी केही गर्नुपर्ने आवश्‍यकता महसुस गरे। येशूले तिनलाई सक्रिय चेला हुने हो भने, ईश्‍वरीय सिद्धान्तहरू व्यावहारिक ढंगमा लागू गर्न अझ बढी प्रयास गर्नुपर्छ भन्‍नुभयो। तर त्यो मानिस त्यतिसम्म गर्न तयार थिएनन्‌। (लूका १८:१८-२३) तसर्थ, आज येशूका शिक्षाहरू सिक्न इच्छुक व्यक्‍तिहरूले उहाँका शिक्षासँग सहमत हुनु र तनाउ कम गर्न त्यसलाई व्यवहारमा उतार्न अग्रसर हुनुमा भिन्‍नता छ भनी सम्झनुपर्छ।

१८. यसै लेखमा दिइएको पेटीलाई तपाईं कसरी लाभकारी ढंगमा प्रयोग गर्न सक्नुहुन्छ, व्याख्या गर्नुहोस्‌।

१८ येशूका शिक्षाहरू जाँच्न र लागू गर्न सँगैको पेटीको पहिलो बुँदालाई हेर्नुहोस्‌। त्यहाँ मत्ती ५:३-९ उल्लेख गरिएको छ। साँच्चै, हामी सबैले यी शास्त्रपदहरूमा प्रस्तुत गरिएको उत्तम सल्लाहलाई मनन गर्न निकै समय बिताउनसक्छौं। तथापि, ती पदहरूलाई समष्टिगत रूपमा हेर्नुहुँदा तपाईं आफ्नो मनोवृत्तिबारे कस्तो निष्कर्षमा पुग्नुहुन्छ? यदि तपाईं आफ्नो जीवनमा असाध्यै तनाउग्रस्त नहुन चाहनुहुन्छ भने कुन कुराले मदत गर्नेछ? आध्यात्मिक कुराहरूलाई बढी ध्यान दिएर त्यसैलाई प्राथमिकता दिनुभयो भने, तपाईंको अवस्थामा कस्तो सुधार आउनसक्छ? आध्यात्मिक कुराहरूमा बढी ध्यान दिन कतै तपाईंले आफ्नो जीवनका केही कुराहरूलाई कम महत्त्व दिनुपर्ने हो कि? त्यसो गर्नुभयो भने, तपाईं अझ बढी आनन्दित हुन सक्नुहुनेछ।

१९. थप अन्तरदृष्टि र समझ प्राप्त गर्न तपाईं के गर्न सक्नुहुन्छ?

१९ तपाईंले गर्नसक्ने अझ अर्को कुरा पनि छ। ती पदहरूबारे परमेश्‍वरका सँगी सेवक, हुनसक्छ तपाईंको पति वा पत्नी, नजिकको नातेदार वा मित्रसँग छलफल गरे कसो होला? (हितोपदेश १८:२४; २०:५) स्मरण रहोस्‌, धनी शासकले सम्बन्धित विषयबारे अरू कसैलाई अर्थात्‌ येशूलाई सोधे। प्राप्त जवाफले तिनको आनन्द र अनन्त जीवनको प्रत्याशा बढ्‌न सक्ने थियो। ती पदहरूबारे सँगी विश्‍वासीहरूसँग छलफल गर्नु येशूसँग छलफल गर्नु बराबर त हुनेछैन। तैपनि, येशूको शिक्षाबारे छलफल गर्दा तपाईं दुवैले लाभ उठाउनुहुनेछ। यसो गर्न ढिलासुस्ती नगर्नुहोस्‌।

२०, २१. येशूका शिक्षाहरू सिक्न तपाईं कस्तो तरिका अपनाउन सक्नुहुन्छ र तपाईं आफ्नो प्रगति कसरी जाँच्न सक्नुहुन्छ?

२० “तपाईंलाई मदत गर्ने शिक्षाहरू” भन्‍ने यसै लेखमा दिइएको पेटी फेरि एक चोटि हेर्नुहोस्‌। हरेक दिन कम्तीमा पनि एउटा शिक्षामा तपाईंले विचार गर्न सकोस्‌ भनेर यी शिक्षाहरू समूहमा राखिएका छन्‌। तपाईं सबैभन्दा पहिला उद्धरण गरिएको पदमा येशूले के भन्‍नुभयो पढ्‌न सक्नुहुन्छ। त्यसपछि उहाँले भन्‍नुभएका शब्दहरूलाई विचार गर्नुहोस्‌। तपाईंले ती आफ्नो जीवनमा कसरी लागू गर्न सक्नुहुन्छ सोच-विचार गर्नुहोस्‌। यदि तपाईंलाई आफूले ती बुँदाहरू जीवनमा लागू गरिरहेको छु जस्तो लागेमा त्यस ईश्‍वरीय शिक्षाअनुसार जीवन बिताउन अझ बढी के गर्न सक्छु भनी विचार गर्नुहोस्‌। त्यो शिक्षा दिनभरि प्रयोगमा ल्याउने कोसिस गर्नुहोस्‌। तपाईंलाई यो बुझ्न वा त्यसलाई आफ्नो जीवनमा लागू गर्न गाह्रो भयो भने, त्यस बुँदाबारे भोलिपल्ट पनि विचार गर्नुहोस्‌। तथापि नबिर्सनुहोस्‌, एउटा बुँदामा पोख्त भइसकेपछि मात्र अर्को बुँदालाई विचार गर्नुपर्छ भन्‍ने छैन। अर्को दिन तपाईं अर्कै शिक्षा विचार गर्न सक्नुहुन्छ। हप्ताको अन्तमा येशूका चार वा पाँचवटा शिक्षा लागू गर्न तपाईं कत्तिको सफल हुनुभयो, पुनरावलोकन गर्न सक्नुहुन्छ। दोस्रो हप्ता पनि त्यसरी नै हरेक दिन एउटा-एउटा गरेर बुँदाहरू थप्दै लैजानुहोस्‌। कुनै-कुनै शिक्षा लागू गर्न चुक्नुभएको रहेछ भने, निरुत्साहित नहुनुहोस्‌। सबै मसीहीले त्यस्तै अनुभव गर्नेछन्‌। (२ इतिहास ६:३६; भजन १३०:३; उपदेशक ७:२०; याकूब ३:८) अनि तेस्रो र चौथो हप्तामा पनि त्यसै गर्नुहोस्‌।

२१ एक महिना वा त्यस्तै केही समयपछि तपाईंले पूरा ३१ वटै बुँदालाई ध्यान दिइसक्नुभएको हुनेछ। जे होस्‌, परिणामस्वरूप तपाईंले कस्तो महसुस गर्नुहुनेछ? के तपाईंले पहिलेभन्दा बढी आनन्दित र कम तनाउ महसुस गर्नुहुने छैन र? तपाईंले अलिकति मात्र प्रगति गर्नुभएको रहेछ भने पनि तनाउ अलि कम भएको महसुस गर्नुहुनेछ वा तनाउ कम गर्न अझ बढी सक्षम र प्रगति कसरी गरिरहने भनेर सिक्नुभएको हुनेछ। येशूका शिक्षाहरूका अझ कतिवटा राम्रा बुँदाहरू त यस सूचीमा उल्लेख गरिएकै छैन भनी नबिर्सनुहोस्‌। ती खोजेर व्यवहारमा उतार्ने प्रयास गर्नुभए कसो होला?—फिलिप्पी ३:१६.

२२. येशूका शिक्षाहरू पालन गर्दा कस्तो नतिजा हुनसक्छ तर थप कुन बुँदामा विचार गर्नु महत्त्वपूर्ण हुन्छ?

२२ येशूको जुवाको पटक्कै वजन नभएको होइन तर कुरा के हो भने, यो बोक्न साँच्चै सजिलो छ। उहाँका शिक्षाहरू र उहाँको चेला हुने बोझ हल्का छ। येशूको असल मित्रको हैसियतमा साठी वर्षभन्दा बढी बिताइसकेपछि प्रेरित यूहन्‍नाले आफ्नै अनुभवबाट यसो भन्‍न सके: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।” (१ यूहन्‍ना ५:३) तपाईं पनि त्यसरी नै निर्धक्क हुन सक्नुहुन्छ। तपाईं जति बढी येशूका शिक्षाहरू लागू गर्नुहुन्छ त्यति नै तपाईंले आफ्नो जीवन कम तनाउग्रस्त पाउनुहुनेछ। तपाईंले निकै स्फूर्ति पाउनुभएको महसुस गर्नुहुनेछ। (भजन ३४:८) यद्यपि, हामीले विचार गर्नुपर्ने येशूको सजिलो जुवाको अर्को पक्ष पनि छ। येशूले “म विनयी, र नम्र हृदयको” छु पनि भन्‍नुभयो। येशूबाट सिक्नु र उहाँको अनुकरण गर्नुसित यो कसरी सम्बन्धित छ? अर्को लेखमा हामी यसबारे छलफल गर्नेछौं।—मत्ती ११:२९.

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• अचाक्ली तनाउबाट छुटकारा पाउने कोसिस गर्दा हामीले किन येशूको कुरा सुन्‍नुपर्छ?

• जुवाले केलाई चित्रण गर्थ्यो र किन?

• येशूले किन मानिसहरूलाई उहाँको जुवा बोक्न निमन्त्रणा दिनुभयो?

• तपाईं कसरी आध्यात्मिक स्फूर्ति पाउन सक्नुहुन्छ?

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २००२ को लागि यहोवाका साक्षीहरूको वार्षिक पद हुनेछ: “मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु।”—मत्ती ११:२८.

[पृष्ठ १२, १३-मा भएको पेटी/चित्र]

तपाईंलाई मदत गर्ने शिक्षाहरू

तपाईं मत्ती अध्याय ५ देखि ७ सम्म कस्ता राम्रा कुराहरू पाउन सक्नुहुन्छ? यी अध्यायहरूमा गालीलको डाँडामा महान्‌ शिक्षक येशूले सिकाउनुभएका शिक्षाहरू छन्‌। तल उद्धरण गरिएका पदहरू कृपया आफ्नै बाइबल खोलेर पढ्‌नुहोस्‌ अनि आफ्नो अवस्थासित मिल्दाजुल्दा प्रश्‍नहरू सोध्नुहोस्‌।

१. ५:३-९ यसले मेरो मनोवृत्तिबारे के बताउँछ? अझ बढी आनन्द प्राप्त गर्न म के गर्नसक्छु? म कसरी आफ्नो आध्यात्मिक आवश्‍यकताहरूमा अझ बढी ध्यान दिनसक्छु?

२. ५:२५, २६ थुप्रैको झगडालु मनोवृत्ति अनुकरण गर्नुभन्दा के गर्नु बेस हो?—लूका १२:५८, ५९.

३. ५:२७-३० अनैतिक यौनाकांक्षाको सन्दर्भमा येशूका शब्दहरूले कुन कुरालाई जोड दिन्छ? त्यस्ता कुराहरूबाट अलग बस्दा कसरी मेरो आनन्द र मनोशान्ति बढ्‌नेछ?

४. ५:३८-४२ आधुनिक समाजले बदला लिन सिकाए तापनि मैले किन त्यसो गर्नु हुँदैन?

५. ५:४३-४८ आफूले शत्रु ठानेका मानिसहरूसित अझ राम्ररी परिचित हुँदा मैले कसरी लाभ उठाउन सक्नेछु? तनाउ कम गर्न वा हटाउन यसले के गर्नेछ?

६. ६:१४, १५ म कहिलेकाहीं अरूलाई क्षमा गर्न तयार नहुनुको मुख्य कारण के ईर्ष्या वा द्वेष हुनसक्छ? म कसरी त्यसलाई परिवर्तन गर्नसक्छु?

७. ६:१६-१८ के मलाई आफ्नो भित्री रूपभन्दा बाहिरी रूपको बढी चिन्ता लाग्छ? म कुन कुराबारे बढी सजग हुनुपर्छ?

८. ६:१९-३२ धनसम्पत्तिबारे मैले बढ्‌तै सोच्न थालें भने कस्तो असर पर्नसक्छ? यस सन्दर्भमा सन्तुलित हुन मलाई कुन कुराले मदत गर्नेछ?

९. ७:१-५ अरूको सधैं आलोचना गर्ने र गल्ती कोट्याउने मानिसहरूसित बस्नुपर्दा म कस्तो महसुस गर्छु? म किन त्यस्तो हुनुहुँदैन?

१०. ७:७-११ मैले परमेश्‍वरलाई लगातार बिन्ती गर्नु सराहनीय कुरा हो भने जीवनका अन्य पक्षहरूमा के भन्‍न सकिन्छ नि?—लूका ११:५-१३.

११. ७:१२ मलाई सुनौलो नियमबारे थाह भए तापनि अरूसँग व्यवहार गर्दा म यो कत्तिको लागू गर्छु?

१२. ७:२४-२७ आफ्नो जीवनको लागि म नै जिम्मेवार भएकोले म कसरी आइपर्ने आँधीरूपी समस्या तथा कठिनाइहरूको लागि तयार हुनसक्छु? मैले किन यसबारे अहिल्यै विचार गर्नुपर्छ?—लूका ६:४६-४९.

मैले विचार गर्न सक्ने थप शिक्षाहरू:

१३. ८:२, ३ बिमारी परेकाहरूलाई म कसरी येशूले जस्तै अनुकम्पा देखाउन सक्छु?

१४. ९:९-३८ कृपा देखाउनु मेरोनिम्ति कत्तिको महत्त्वपूर्ण छ र म अझ कृपालु कसरी हुनसक्छु?

१५. १२:१९ भविष्यवाणीबाट येशूबारे सिकिसकेपछि के म झगडालु मनोवृत्ति हटाउने कोसिस गर्छु?

१६. १२:२०, २१ आफ्नो वचन वा कार्यद्वारा अरूलाई थिचोमिचो नगरी म कस्तो भलाइ गर्नसक्छु?

१७. १२:३४-३७ प्रायजसो म के विषयमा कुरा गर्ने गर्छु? सुन्तला निचोर्दा रस निस्कन्छ भनेर मलाई थाह छ, त्यसकारण मेरो मनमा के छ भनेर किन मैले विचार गर्नुपर्छ?—मर्कूस ७:२०-२३.

१८. १५:४-६ येशूको टिप्पणीबाट वृद्धहरूको मायालु हेरचाह गर्ने सम्बन्धमा म के सिक्न सक्छु?

१९. १९:१३-१५ मैले के गर्न समय निकाल्नुपर्छ?

२०. २०:२५-२८ आफ्नो फाइदाको लागि अधिकार जमाउनु किन बेकार हो? यस सन्दर्भमा म कसरी येशूको अनुकरण गर्न सक्छु?

मर्कूसद्वारा लिपिबद्ध थप बुँदाहरू:

२१. ४:२४, २५ मैले अरूसँग कस्तो व्यवहार गर्छु, त्यो कत्तिको महत्त्वपूर्ण छ?

२२. ९:५० असल मनयासले मैले केही भनें र गरें भने, कस्ता असल नतिजाहरू प्राप्त गर्न सक्नेछु?

अन्तमा, लूकाद्वारा लिपिबद्ध केही शिक्षाहरू:

२३. ८:११, १४ जीवनमा सधैं मैले चिन्ता, धनसम्पत्ति र सुखसुविधाबारे मात्र सोच्ने गरें भने परिणाम कस्तो हुनसक्छ?

२४. ९:१-६ येशूसित बिरामीहरूलाई निको पार्ने शक्‍ति भए तापनि उहाँले केलाई प्राथमिकता दिनुभयो?

२५. ९:५२-५६ के म चाँडै अपमानित महसुस गर्छु? के म बदला लिनदेखि टाढै बस्छु?

२६. ९:६२ परमेश्‍वरको राज्यबारे अरूलाई बताउने आफ्नो जिम्मेवारीप्रति मैले कस्तो दृष्टिकोण राख्नुपर्छ?

२७. १०:२९-३७ म पराई होइन, छिमेकी हुँ भनेर म कसरी प्रमाणित गर्नसक्छु?

२८. ११:३३-३६ आफ्नो जीवनलाई सरल बनाउन म अझ कस्ता परिवर्तनहरू गर्नसक्छु?

२९. १२:१५ जीवन र धनसम्पत्तिबीच कस्तो सम्बन्ध छ?

३०. १४:२८-३० समय लिएर निर्णयहरू गरें भने म कस्ता खतराहरूबाट बच्नसक्छु र त्यसको कस्तो फाइदा हुन्छ?

३१. १६:१०-१२ निष्ठावान्‌ जीवन बिताएँ भने मलाई कस्ता फाइदाहरू हुनसक्छ?

[पृष्ठ १०-मा भएका चित्रहरू]

येशूको जुवा बोकेर गरिने जीवनदायी कार्यले स्फूर्ति दिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने