प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १२/१५ pp. १५-२०
  • “मसँग सिक”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मसँग सिक”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूले मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो
  • येशू र फरिसीहरूबीचको भिन्‍नता
  • येशूको दृष्टिकोण
  • येशूले कसरी समस्याहरू समाधान गर्नुभयो?
  • येशूका शिक्षाहरूको नतिजा
  • ‘फरिसीहरूको खमिरदेखि होसियार रहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • धार्मिकता मौखिक परम्पराहरू द्वारा होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • येसु विश्रामदिनमा निको पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १२/१५ pp. १५-२०

“मसँग सिक”

“मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [ “स्फूर्ति,” NW] पाउनेछौ।”—मत्ती ११:२९.

१. येशूबाट सिक्नु किन आनन्ददायी र अर्थपूर्ण हुनसक्छ?

येशू ख्रीष्टको सोचाइ, शिक्षा र कार्य सधैं उचित हुन्थ्यो। उहाँले यस पृथ्वीमा धेरै समय नबिताउनुभए तापनि उहाँले इनामदायी तथा सन्तोषदायी काम गर्नुभयो र उहाँ आनन्दित रहनुभयो। उहाँले चेलाहरू जम्मा गर्नुभयो र तिनीहरूलाई परमेश्‍वरको उपासना गर्न, मानिसजातिलाई प्रेम गर्न र संसारमाथि विजयी हुन सिकाउनुभयो। (यूहन्‍ना १६:३३) उहाँले तिनीहरूको हृदय आशाले भरिदिनुभयो अनि “जीवन र अविनाशलाई सुसमाचारद्वारा ज्योतिमा ल्याउनुभयो।” (२ तिमोथी १:१०) तपाईं पनि आफूलाई उहाँको चेला ठान्‍नुहुन्छ भने, तपाईंलाई उहाँको चेला हुनुको अर्थ के हो जस्तो लाग्छ? चेलाहरूबारे येशूले भन्‍नुभएका कुराहरू विचार गरेर हामी आफ्नो जीवनलाई अझ अर्थपूर्ण बनाउन सिक्नसक्छौं। यसो गर्न उहाँका विचारधाराहरू स्वीकार्नुपर्छ र केही आधारभूत सिद्धान्तहरू लागू गर्नुपर्छ।—मत्ती १०:२४, २५; लूका १४:२६, २७; यूहन्‍ना ८:३१, ३२; १३: ३५; १५:८.

२, ३. (क) येशूको चेला हुनु भनेको के हो? (ख) ‘म कसको चेला भएको छु?’ भनी आफैले आफैलाई प्रश्‍न सोध्नु किन महत्त्वपूर्ण छ?

२ मसीही युनानी धर्मशास्त्रमा “चेला” भनी अनुवाद गरिएको शब्दको मूल अर्थ केही कुरा गर्न वा सिक्न मन लगाउने व्यक्‍ति हो। यसैसँग सम्बन्धित शब्द हाम्रो मूल पद अर्थात्‌ मत्ती ११:२९ मा प्रयोग गरिएको छ: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [“स्फूर्ति,” NW] पाउनेछौ।” हो, चेलाले सिक्छ। सुसमाचारको पुस्तकमा अक्सर “चेला” भन्‍ने शब्दले येशूका घनिष्ठ अनुयायीहरूलाई बुझाउँछ, जो उहाँसँगसँगै प्रचारकार्यमा हिंडे र उहाँबाट सिके। कोही-कोहीले गुप्तमा येशूका शिक्षाहरू स्वीकारेका हुनसक्छन्‌। (लूका ६:१७; यूहन्‍ना १९:३८) सुसमाचारका लेखकहरूले “[बप्तिस्मा दिने] यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू” भनेर पनि उल्लेख गरेका छन्‌। (मर्कूस २:१८) येशूले आफ्ना अनुयायीहरूलाई “फरिसी[हरूको] . . . शिक्षाबाट होशियार बस्नू” भनी चेताउनी दिनुभएको कारण हामीले यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘म कसको चेला भएको छु?’—मत्ती १६:१२.

३ हामी येशूका चेला हौं र हामीले उहाँबाट सिकेका छौं भने, हाम्रो उपस्थितिमा अरूले आध्यात्मिक स्फूर्ति पाएको महसुस गर्नुपर्छ। तिनीहरूले हामी अझ विनयी र नम्र हृदय भएको महसुस गर्नुपर्छ। तपाईंको जागिरमा व्यवस्थापन जिम्मेवारीहरू छन्‌, तपाईं आमाबाबु हुनुहुन्छ वा मसीही मण्डलीमा तपाईं गोठालोको काम गर्नुहुन्छ भने के हाम्रो हेरचाहमा भएका मानिसहरूले येशूको हेरचाहमा भएका मानिसहरूले जस्तै महसुस गर्छन्‌?

येशूले मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो

४, ५. (क) समस्यामा परेका मानिसहरूसँग येशूले कस्तो व्यवहार गर्नुभयो भनी थाह पाउन किन गाह्रो छैन? (ख) येशू फरिसीको घरमा खानाको निम्ति जानुहुँदा कस्तो घटना भयो?

४ विशेष गरी गम्भीर समस्या भएका मानिसहरूसित येशूले कस्तो व्यवहार गर्नुभयो भनी हामीले थाह पाउनुपर्छ। त्यसबारे थाह पाउन गाह्रो नहुनुपर्ने हो किनभने बाइबलमा येशूले अरूसँग व्यवहार गर्नुभएका थुप्रै रिपोर्टहरू छन्‌ र त्यसमध्ये कतिपय व्यक्‍तिहरू कष्टमा परेका थिए। धर्मगुरुहरू, अझ त्यसमा पनि विशेष गरी फरिसीहरूले त्यस्तै समस्यामा परेका मानिसहरूसित कस्तो व्यवहार गरे, त्यो पनि हामी विचार गरौं। तिनीहरूको व्यवहारमा देखिएको भिन्‍नताबाट हामी थुप्रै कुरा सिक्नसक्छौं।

५ सा.यु. ३१ मा येशू गालीलमा प्रचार अभियानमा हुनुहुँदा “फरिसीहरूमध्ये एक जनाले [येशूलाई] खानामा निम्तो दिए।” तिनको निमन्त्रणा स्वीकार्न येशू हिचकिचाउनु भएन। “उहाँ त्यस फरिसीको घरमा पसेर खान बस्नुभयो। औ हेर, शहरको एउटी पापी आइमाईले उहाँ त्यस फरिसीको घरमा खान बस्नुभएको छ भन्‍ने सुनी, र एउटा सिङ्‌गमर्मरको भुँडुल्कोमा मलहम लिएर, पछिल्तिरबाट उहाँका पाउनेर उभिएर रूँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्‌तै उहाँका पाउलाई चुम्मन गरी, औ त्यो मलहम घस्नलागी।”—लूका ७:३६-३८.

६. “पापी” आइमाई कसरी फरिसीको घरभित्र छिर्न सकेकी हुनुपर्छ?

६ के तपाईं त्यो अवस्था कल्पना गर्न सक्नुहुन्छ? एउटा पुस्तक यस्तो दाबी गर्छ: “त्यतिबेलाको समाजमा गरिबहरूले भोजमा उब्रेको खाना लिन पाउने चलनको फाइदा उठाउँदै ती आइमाई (पद ३७) त्यहाँ गइन्‌।” निमन्त्रणा नपाए पनि भोजमा जान सक्नुको कारण यही हो। त्यो भोजमा उब्रेको खाना बटुल्न त्यहाँ अरू मानिसहरू पनि थिए होलान्‌। तथापि, यस आइमाईको व्यवहार असामान्य थियो। भोज कहिले सकिन्छ भनेर तिनी एउटा कुनामा पर्खिरहेकी थिइनन्‌। “पापी” भएको कारण तिनले राम्रो नाउँ कमाएकी थिइनन्‌ र त्यसैकारण, येशूले “त्यसका पाप . . . धेरै छन्‌” भन्‍नुभयो।—लूका ७:४७.

७, ८. (क) लूका ७:३६-३८ मा रिपोर्ट गरिएको परिस्थितिमा हामीले कस्तो प्रतिक्रिया देखाउने थियौं होला? (ख) शिमोनले कस्तो प्रतिक्रिया देखाए?

७ तपाईंले आफूलाई त्यति बेला येशूको ठाउँमा कल्पना गर्नुहोस्‌। तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुने थियो? तपाईंकहाँ ती आइमाई आउँदा के तपाईंले अप्ठ्यारो महसुस गर्नुहुने थियो? त्यस्तो परिस्थितिले तपाईंलाई कस्तो असर गर्ने थियो? (लूका ७:४५) के तपाईं के गर्ने, कसो गर्ने भनेर अन्योलमा पर्नुहुने थियो?

८ तपाईं पनि त्यहाँ उपस्थित पाहुनाहरूमध्ये हुनुभएको भए, के तपाईंको सोचाइ पनि केही हदसम्म फरिसी शिमोनको जस्तै हुने थियो? “[येशूलाई] निम्तो गर्ने फरिसीले मनमनै यसो भन्‍नलागे, ‘यिनी अगमवक्‍ता हुँदाहुन्‌ ता उनलाई छुने को र कस्ती आइमाई हो भनी यिनले जान्‍ने थिए।’ ” (लूका ७:३९) त्यसको ठीक विपरीत, येशू अनुकम्पाले भरिपूर्ण व्यक्‍ति हुनुहुन्थ्यो। उहाँले आइमाईको परिस्थिति र मर्म बुझ्नुभयो। तिनले कसरी यस्तो पापी जीवनशैली अपनाउन पुगिन्‌ भनेर त हामीलाई बताइएको छैन। तिनी साँच्चै वेश्‍या थिइन्‌ भने शहरका मानिसहरू अर्थात्‌ भक्‍तालु यहूदीहरूले तिनलाई कुनै मदत गरेका थिएनन्‌।

९. येशूले के गर्नुभयो र त्यसको सम्भवतः नतिजा कस्तो भयो?

९ तर येशू तिनलाई मदत गर्न चाहनुहुन्थ्यो। उहाँले तिनलाई यसो भन्‍नुभयो: “तिम्रा पाप क्षमा भएका छन्‌।” अनि उहाँले यसो भन्‍नुभयो: “तिम्रो विश्‍वासले तिम्रो उद्धार भएको छ, शान्तिसित जाऊ।” (लूका ७:४८-५०) विवरणले यति मात्र बताउँछ। येशूले तिनको निम्ति पर्याप्त गर्नुभएन भनी कसै-कसैले विरोध जनाउलान्‌। मुख्यतया, उहाँले तिनलाई आशिष्‌ दिएर पठाउनुभयो। के तिनी आफ्नो घृणित जीवनशैलीमै लागिरहिन्‌ होला? यसबारे हामी ठोकुवा गरेर भन्‍न त सक्दैनौं तर लूका अझ के भन्छन्‌, ध्यान दिनुहोस्‌। येशू “शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदै हिंड़नुभयो” भनी तिनी बताउँछन्‌। “कुनै कुनै स्त्रीहरू” येशू र उहाँका चेलाहरूसँग “आफ्ना [स्त्रीहरूको] धनले उहाँको सेवा गर्दथिए” भनेर पनि लूका बताउँछन्‌। यी पश्‍चात्तापी र कृतज्ञ आइमाई पनि ती स्त्रीहरूमध्ये हुनसक्ने सम्भावना छ अनि तिनले सफा अन्तस्करण, उद्देश्‍यपूर्ण जीवन तथा परमेश्‍वरप्रति गहिरो प्रेमसहितको ईश्‍वरीय जीवनशैली सुरुआत गरेकी हुनसक्छ।—लूका ८:१-३.

येशू र फरिसीहरूबीचको भिन्‍नता

१०. शिमोनको घरमा येशू र आइमाईको विवरणबारे विचार गर्नु किन लाभकारी हुन्छ?

१० यस जीवन्त विवरणबाट हामी के सिक्नसक्छौं? यसले हाम्रा भावनाहरूलाई छुन्छ, होइन र? तपाईंले आफूलाई शिमोनको घरमा कल्पना गर्नुहोस्‌। तपाईंले कस्तो महसुस गर्नुहुने थियो? के तपाईंले पनि येशूले जस्तै प्रतिक्रिया देखाउनुहुने थियो वा कता-कता त्यस भोजको फरिसी घरधनीले जस्तो महसुस गर्नुहुने थियो? येशू परमेश्‍वरको पुत्र हुनुभएको कारण उहाँले जस्तै हामी महसुस तथा काम गर्न सक्दैनौं। अर्कोतर्फ, हामी शिमोन फरिसी जस्तो पनि हुन चाहँदैनौं होला। फरिसी जस्तो भएकोमा कमैले मात्र गर्व गर्लान्‌।

११. हामी किन फरिसीहरू जस्तो हुन चाहँदैनौं?

११ फरिसीहरूले आफूलाई सर्वसाधारणको भलाइ र राष्ट्रिय हितको संरक्षक ठान्थे भनी बाइबल तथा अन्य प्रमाणहरू पढ्‌दा हामी थाह पाउनसक्छौं। परमेश्‍वरको व्यवस्था सामान्यतया स्पष्ट र सजिलै बुझ्न सकिन्छ भन्‍ने कुरामा तिनीहरूको चित्त बुझेको थिएन। व्यवस्था अलि अस्पष्ट जस्तो देखिएका ठाउँहरूमा तिनीहरू मानिसहरूले आफ्नो अन्तस्करण प्रयोग गर्न नपर्ने गरी थुप्रै नियमकानुन थपथाप गर्थे। यी धर्मगुरुहरूले स-साना कुराहरूदेखि लिएर सबै विषयमा नियमहरू बनाएर नियन्त्रण जमाउने कोसिस गरे।a

१२. फरिसीहरूले आफूबारे कस्तो सोचाइ राख्थे?

१२ फरिसीहरूले आफूलाई दयालु, भद्र, न्यायी र आफ्नो काममा पूर्णतया निष्पक्ष ठान्थे भनी प्रथम शताब्दीका यहूदी इतिहासकार जोसेफसले स्पष्ट गरी भनेका छन्‌। निस्सन्देह, कोही-कोही केही हदसम्म त्यस्तै थिए। सायद तपाईंले निकोदेमसलाई सम्झनुभयो होला। (यूहन्‍ना ३:१, २; ७:५०, ५१) समय बित्दै जाँदा, तिनीहरूमध्ये कोही-कोहीले मसीही धर्म अँगाले। (प्रेरित १५:५) मसीही प्रेरित पावलले केही यहूदीहरू अर्थात्‌ फरिसीहरूबारे यस्तो लेखे: “तिनीहरूसँग परमेश्‍वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन।” (रोमी १०:२) तथापि, सुसमाचारको पुस्तकमा सामान्य मानिसहरूले तिनीहरूबारे कस्तो धारणा राख्थे भनेर बताइएको छ। तिनीहरू घमण्डी, हठी, आत्म-धर्मी, अरूको गल्ती कोट्याउने, आलोचनात्मक र अरूलाई होच्याउने स्वभावका थिए।

येशूको दृष्टिकोण

१३. येशूले फरिसीहरूबारे के भन्‍नुभयो?

१३ येशूले शास्त्री र फरिसीहरूलाई कपटीहरू भनेर तिनीहरूको कटु आलोचना गर्नुभयो। “तिनीहरू गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्‌। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्‌।” हो, भारी गाह्रौं र मानिसहरूमाथि लादिएको जुवा कठोर थियो। येशूले शास्त्री र फरिसीहरूलाई “मूर्ख[हरू]” भन्‍नुभयो। मूर्ख मानिस समाजको निम्ति खतरा हुन्छ। येशूले शास्त्री र फरिसीहरूलाई “अन्धा अगुवा[हरू]” भन्‍नुका साथै तिनीहरूले “व्यवस्थाका . . . गहकिला कुराहरू, अर्थात्‌ न्याय, दया र विश्‍वास” छाडेका छन्‌ भन्‍नुभयो। येशूले आफूलाई फरिसीजस्तो ठानेको कसले चाहन्छ र?—मत्ती २३:१-४, १६, १७, २३.

१४, १५. (क) येशूले लेवी मत्तीसँग गर्नुभएको व्यवहारबाट फरिसीहरूको तौरतरिकाबारे के कुरा स्पष्ट हुन्छ? (ख) यस विवरणबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्नसक्छौं?

१४ सुसमाचारको पुस्तकका विवरणहरू पढ्‌ने कोही पनि मानिसले अधिकांश फरिसीहरूको आलोचनात्मक मनोभाव प्रस्टै देख्न सक्छन्‌। येशूले महसुल उठाउने, लेवी मत्तीलाई आफ्नो चेला बन्‍न बोलाउनु भएपछि लेवीले उहाँको निम्ति ठूलो भोज तयार गरे। विवरण यसो भन्छ: “फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, ‘तिमीहरू महसूल उठाउनेहरू र पापीहरूसित किन खान-पीन गर्दछौ?’ तर येशूले तिनीहरूलाई भन्‍नुभयो, ‘. . . म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चातापको निम्ति बोलाउन आएको हुँ।’ ”—लूका ५:२७-३२.

१५ त्यस अवसरमा येशूले भन्‍नुभएको अर्को कुरा स्वयम्‌ लेवीले मूल्यांकन गरे: “तर तिमीहरू गएर सिक, यसको अर्थ के हो? ‘म दया चाहन्छु, तर बलिदान होइन।’ ” (मत्ती ९:१३) फरिसीहरूले हिब्रू अगमवक्‍ताका लेखोटहरूमा विश्‍वास गरेको दाबी गरे तापनि तिनीहरूले होशे ६:६ मा उल्लेख गरिएको यस भनाइलाई भने स्वीकारेनन्‌। मानिसहरूले गल्ती नै गरे तापनि परम्परा नतोडियोस्‌ भन्‍ने तिनीहरू पक्का गर्थे। हामी प्रत्येकले आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हुनेछ: ‘के म केही नियमहरू जस्तै, व्यक्‍तिगत विचारधारा वा सुद्धिबुद्धि झल्किने कुरामा नियमपालक व्यक्‍तिको रूपमा चिनिन्छु? वा के अरूले मलाई कृपालु र असल मानिसको रूपमा चिन्छन्‌?’

१६. फरिसीहरूको मुख्य काम के थियो र हामी तिनीहरूजस्तो नहुन के गर्नसक्छौं?

१६ सधैं अर्काको गल्ती कोट्याइरहने। फरिसीहरूको मुख्य काम त्यही नै थियो। फरिसीहरूले साँचो होस्‌ वा कल्पित, सधैं गल्तीहरू मात्र खोज्ने गर्थे। ती मानिसहरूलाई फरिसीहरूले सधैं आफ्नो गल्ती भेट्टाउनेछ जस्तो लाग्थ्यो र फरिसीहरूले पनि हरबखत गल्तीहरू कोट्याइरहन्थे। पदीना, सूँप र जीराको समेत दशांश दिने गरेकोमा फरिसीहरू गर्व गर्थे। आफ्नो वस्त्रद्वारा तिनीहरू आफूलाई धर्मी देखाउँथे र राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गर्थे। साँच्चै, हाम्रो कार्य येशूको उदाहरणअनुरूप गर्ने हो भने, हामी सधैं अरूको गल्ती कोट्याइरहने र अरूको गल्ती देखाइरहने झुकाउदेखि होसियार हुनुपर्छ।

येशूले कसरी समस्याहरू समाधान गर्नुभयो?

१७-१९. (क) गम्भीर नतिजा हुनसक्ने समस्यालाई येशूले कसरी समाधान गर्नुभयो, व्याख्या गर्नुहोस्‌। (ख) परिस्थिति तनाउपूर्ण र अप्रिय हुनुको कारण के थियो? (ग) आइमाईले येशूलाई छोएको बेला तपाईं त्यहाँ हुनुभएको भए तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुने थियो?

१७ समस्याहरू समाधान गर्ने येशूको तरिका फरिसीहरूको भन्दा एकदमै भिन्‍न थियो। गम्भीर समस्या खडा हुनसक्ने परिस्थितिमा येशूले के गर्नुभयो, विचार गर्नुहोस्‌। एउटी स्त्रीलाई रगत बग्ने व्यथा लागेको १२ वर्ष भइसकेको थियो। तपाईं यो विवरण लूका ८:४२-४८ मा पढ्‌न सक्नुहुन्छ।

१८ मर्कूसको विवरणले बताएअनुसार ती आइमाई “डरले काम्दै” थिइन्‌। (मर्कूस ५:३३) किन? आफूले परमेश्‍वरको व्यवस्था तोडेको छु भनेर तिनलाई पक्कै थाह थियो। लेवी १५:२५-२८ अनुसार असामान्य रगत बग्ने स्त्री रगत बगुञ्जेल र थप सात दिनसम्म अशुद्ध हुन्थिन्‌। तिनले छोएको सबै थोक र व्यक्‍ति अशुद्ध हुन्थ्यो। येशूको नजिक पुग्नको लागि यो आइमाई भीडको बीचबाट जानुपर्ने थियो। त्यस घटनाको विवरण अहिले २,००० वर्षपछि पढ्‌दा पनि हामी त्यस आइमाईको दुःख देखेर दयाले भरिन्छौं।

१९ त्यस बेला तपाईं त्यहाँ हुनुभएको भए, तपाईंले त्यस परिस्थितिप्रति कस्तो दृष्टिकोण राख्नु हुने थियो? तपाईंले के भन्‍नुहुने थियो? नबिर्सनुहोस्‌, येशूले त्यस आइमाईसँग मायालु, दयालु ढंगमा व्यवहार गर्नुभयो र तिनका भावनाहरूको कदर गर्दै तिनले गर्दा खडा भएका समस्याहरू उल्लेखसमेत गर्नु भएन।—मर्कूस ५:३४.

२०. लेवी १५:२५-२८ आज पनि पालन गर्नु परेको भए हामीले कस्ता चुनौतीहरू सामना गर्नुपर्ने थियो?

२० के हामी यस घटनाबाट कुनै पाठ सिक्नसक्छौं? मानिलिनुहोस्‌, तपाईं मसीही मण्डलीको प्राचीन हुनुहुन्थ्यो। अनि यो पनि मानिलिनुहोस्‌ कि लेवी १५:२५-२८ मा उल्लिखित कुराहरू आज पनि मसीहीहरूले पूरा गर्नुपर्छ र एउटी मसीही स्त्रीले निस्सहाय अनि त्यागिएको महसुस गरेर व्यवस्था उल्लंघन गरिन्‌। यस्तो परिस्थितिमा तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुने थियो? के तपाईंले सबैको सामु तिनको आलोचना गरेर अपमान गर्नुहुने थियो? तपाईंले भन्‍नुहोला, “अहँ, म कहिल्यै त्यस्तो गर्दिनँ! बरु, येशूको उदाहरण अनुकरण गर्दै म दयालु, मायालु हुन र अर्काको भावनाको कदर गर्न हर प्रयास गर्नेछु।” धेरै राम्रो! तर चुनौतीको कुरा येशूले बसाल्नुभएको नमुना अनुकरण गर्नु अर्थात्‌ यो सल्लाहलाई व्यवहारमा उतार्नु हो।

२१. व्यवस्थाबारे येशूले मानिसहरूलाई के सिकाउनुभयो?

२१ मुख्यतया, मानिसहरूले येशूबाट स्फूर्ति पाएको तथा सुदृढ र प्रोत्साहित भएको महसुस गरे। परमेश्‍वरको व्यवस्था स्पष्ट भएको ठाउँमा के भन्‍न खोजिएको हो भनी प्रस्टै बुझिन्थ्यो। सामान्य कुराहरूमा मानिसहरूले आफ्नो अन्तस्करण प्रयोग गर्न सक्थे र आफूले गरेका निर्णयहरूद्वारा परमेश्‍वरप्रति प्रेम देखाउन सक्थे। व्यवस्थाअनुसार तिनीहरू लचकदार हुनसक्थे। (मर्कूस २:२७, २८) परमेश्‍वरले आफ्ना जनहरूलाई प्रेम गर्नुहुन्थ्यो, सधैं तिनीहरूको भलाइ हेर्नुहुन्थ्यो र तिनीहरूले गल्ती गर्दा कृपा देखाउन तयार हुनुहुन्थ्यो। येशू पनि त्यस्तै हुनुहुन्थ्यो।—यूहन्‍ना १४:९.

येशूका शिक्षाहरूको नतिजा

२२. येशूबाट सिकेर उहाँका चेलाहरूले कस्तो मनोवृत्ति विकास गर्न सिके?

२२ येशूको कुरा सुनेर चेला भएकाहरूले उहाँले गर्नुभएको यस घोषणाको सत्यता बुझे: “मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:३०) तिनीहरूले कहिल्यै गह्रौं बोझ बोक्नु परेको, हैरान वा वाक्क पारेको महसुस गरेनन्‌। तिनीहरूले आफू स्वतन्त्र, आनन्दित तथा परमेश्‍वर र एक-अर्कासितको सम्बन्ध अझै बलियो भएको महसुस गरे। (मत्ती ७:१-५; लूका ९:४९, ५०) आध्यात्मिक अगुवा हुनु भनेको अरूलाई स्फूर्ति दिनु, मन अनि हृदयमा विनयी हुनु हो भनेर तिनीहरूले बुझे।—१ कोरिन्थी १६:१७, १८; फिलिप्पी २:३.

२३. येशूसँगसँगै हिंड्‌दा चेलाहरूले कुन महत्त्वपूर्ण पाठ सिके र कस्तो निष्कर्षमा पुग्न सके?

२३ त्यसबाहेक, ख्रीष्टसँग एकतामा हुनु र उहाँले देखाउनुभएको मनोवृत्ति स्वीकार्नुको महत्त्व बुझेर थुप्रै मानिसहरू निकै प्रभावित भए। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो। मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।” (यूहन्‍ना १५:९, १०) परमेश्‍वरका सेवकहरूको हैसियतमा तिनीहरू सफल हुने हो भने, तिनीहरूले परमेश्‍वरको राज्यबारे अद्‌भुत सुसमाचार सबैलाई प्रचार गर्न र सिकाउन तथा येशूले सिकाउनुभएका कुराहरू परिवार तथा मित्रहरूसित व्यवहार गर्दा लागू गर्न लगनशील हुनुपर्ने थियो। चेलाहरूको संख्या वृद्धि भएर मण्डलीहरू स्थापना भएपछि तिनीहरूले आफूलाई बारम्बार येशूको मार्ग नै सही मार्ग हो भनेर सम्झाउनुपर्थ्यो। उहाँले जे सिकाउनुभयो त्यो सत्य थियो र उहाँको जीवनशैली साँच्चै अनुकरणीय थियो।—यूहन्‍ना १४:६; एफिसी ४:२०, २१.

२४. येशूको उदाहरणबाट हामीले कस्ता कुराहरू सिक्नसक्छौं?

२४ अहिलेसम्म छलफल गरेका केही कुराहरूमा विचार गर्दा, के तपाईंले आफूले उन्‍नति गर्नसक्ने केही पक्षहरू देख्नुभयो? येशूको सोचाइ, शिक्षा र कार्य सधैं उचित हुन्थ्यो भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? सहमत हुनुहुन्छ भने, हरेस नखानुहोस्‌। उहाँ हामीलाई यस्ता प्रोत्साहनजनक शब्दहरू भन्‍नुहुन्छ: “यदि तिमीहरूले यी कुरा जानेर गऱ्‍यौ भने, तिमीहरू धन्य हौ।”—यूहन्‍ना १३:१७.

[फुटनोट]

a “[येशू र फरिसीहरूबीचको] खास भिन्‍नता, तिनीहरूले परमेश्‍वरको वचन कसरी बुझेका छन्‌, त्यसबाट स्पष्ट हुन्छ। फरिसीहरूको विचारमा परमेश्‍वरले मानिसहरूबाट माग मात्र गर्नुहुन्छ। येशूले भने उहाँ कृपालु र अनुकम्पापूर्ण हुनुहुन्छ भन्‍नुभयो। निस्सन्देह, फरिसीले परमेश्‍वरको भलाइ र प्रेमलाई इन्कार गर्दैन तर तिनको लागि यी कुराहरू तोरहको [व्यवस्था] वरदानमा र त्यसमा भनिएको कुरा पूरा गर्ने सम्भाव्यतामा व्यक्‍त गरिएको थियो। . . . फरिसीहरूको विचारमा तोरह पालन गर्नु भनेको यसमा लिपिबद्ध मौखिक प्रचलन तथा सम्पूर्ण नीतिनियमहरू पालन गर्नु थियो। . . . येशूले प्रेमसम्बन्धी आज्ञाको (मत्ती २२:३४-४०) द्विपक्षीय भूमिका के हो भनी बताउनुका साथै मौखिक परम्परालाई इन्कार गर्नुभएकोले नै . . . फरिसीहरूको धार्मिक सिद्धान्तसित उहाँको मतभेद भयो।”— द न्यु इन्टरनेसनल डिक्सनरी अफ न्यु टेस्टामेन्ट थियोलोजी।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• तपाईंको निम्ति येशूको चेला हुनुको अर्थ के हो?

• येशूले मानिसहरूसँग कस्तो व्यवहार गर्नुभयो?

• येशूले सिकाउनुभएको तरिकाबाट हामी के सिक्नसक्छौं?

• येशू कसरी फरिसीहरूभन्दा भिन्‍न हुनुहुन्थ्यो?

[पृष्ठ १८, १९-मा भएका चित्रहरू]

मानिसहरूप्रति येशूको मनोवृत्ति फरिसीहरूको भन्दा कस्तो फरक थियो!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने