प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१ पृ. २५-३०
  • दन्केको आगोको भट्टीरूपी परीक्षाहरूमा जाँचिएको

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दन्केको आगोको भट्टीरूपी परीक्षाहरूमा जाँचिएको
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उच्च सपना बोकेको एक गरिब केटो
  • “उ त शैतान हो!”
  • विरोधको पहिलो अनुभव
  • निष्ठुर गिरोहहरूको हातमा
  • दन्केको आगोको भट्टीमा
  • आशै नगरेको एउटा आशिष्‌—त्यसपछि अझ धेरै कष्ट
  • नयाँ सुअवसर तथा चुनौतीहरू
  • यहोवाले हामीलाई थाम्नुभयो
  • यहोवा मेरो चटान हुनुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • म ख्रीष्टको सिपाही हुन चाहन्थें
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१ पृ. २५-३०

जीवनी

दन्केको आगोको भट्टीरूपी परीक्षाहरूमा जाँचिएको

पेरिक्लिज यानोरिसको वृत्तान्तमा आधारित

ढुसी परेको जेलको चिसोले मेरो जीउ लगलग काम्यो। एउटा पातलो कम्बल ओढेर एक्लै बस्दा दुई दिनअघि मेरा दुई जना नाबालक बिरामी छोराछोरी र पत्नीबाट छुटाएर छापामारहरूले मलाई घिसार्दै घरबाहिर लाँदा मेरी जवान पत्नीको भावशून्य अनुहार मैले अझै बिर्सन सकेको थिइनँ। पछि बेग्लै विश्‍वास भएकी मेरी पत्नीले मलाई हुलाकमार्फत एउटा पोको र सानो टिपोट पठाइन्‌, जसमा यस्तो लेखिएको थियो: “म तपाईंलाई यी रोटीहरू पठाउँदैछु र तपाईं पनि आफ्ना छोराछोरी जत्तिकै बिरामी होस्‌ भन्‍ने म आशा गर्छु।” मेरो परिवारको मुख हेर्न के म जिउँदै घर फर्कने थिएँ?

मसीही विश्‍वासको लागि लडेको लामो अनि कठिन लडन्तको यो एउटा प्रसंग मात्र थियो। एउटा यस्तो संघर्ष जसमा पारिवारिक विरोध, सामाजिक बहिष्कार, कानुनी लडन्त अनि भीषण सतावटहरू थिए। तर म जस्तो एक शान्त र ईश्‍वरभीरु व्यक्‍ति कसरी त्यस्तो कष्टदायी ठाउँमा पुगें? कृपया मलाई बताउन दिनुहोस्‌।

उच्च सपना बोकेको एक गरिब केटो

सन्‌ १९०९ मा क्रेटको स्टाभ्रोमिनोमा मेरो जन्म हुँदा देश युद्ध, गरिबी अनि अनिकालसित संघर्ष गर्दै थियो। पछि, मेरा साना भाइबहिनी र म स्पेनी ज्वरोको महामारीबाट धन्‍न कसो गरी बच्यौं। ज्वरो नसरोस्‌ भनेर कहिलेकाहीं हाम्रा आमाबाबुले हामीलाई हप्तौंसम्म घरमै थुनेर राखेको कुरा मलाई अझै याद छ।

बुबा एक गरिब कृषक हुनुहुन्थ्यो। उहाँ साह्रै धार्मिक प्रवृत्तिको हुनुभए तापनि खुला विचारको हुनुहुन्थ्यो। फ्रान्स र मडागास्करमा बसिसक्नुभएको कारण धर्मसम्बन्धी स्वतन्त्र विचारधारासित उहाँ राम्ररी परिचित हुनुहुन्थ्यो। तर अझै हरेक आइतबार मासमा उपस्थित भएर अनि स्थानीय बिशपको वार्षिक भ्रमणको दौडान तिनलाई हाम्रो घरमा बास बस्न दिएर मेरो परिवार ग्रीक अर्थोडक्स चर्चप्रति नै वफादार थियो। म चर्चको गायन टोलीमा थिए अनि पादरी बन्‍ने मेरो जीवनको धोको थियो।

सन्‌ १९२९ मा म प्रहरीमा भर्ती भएँ। बुबाको निधन हुँदा म उत्तरी ग्रीसको थिस्सलोनिकामा सेवारत थिएँ। मनोशान्ति र आध्यात्मिक ज्ञानको खोजीमा मैले अर्थोडक्स मसीहीहरूले “पवित्र डाँडा[को]” रूपमा श्रद्धा गर्ने धर्मपीठहरू भएको अनि पादरीहरू बस्ने समुदायको नजिकै पर्ने माउन्ट आथसको प्रहरी बलमा आफ्नो सरुवा मिलाएँ।a मैले त्यहाँ चार वर्ष जागिर खाएँ र पादरीहरूको जीवन शैलीलाई नजिकबाट नियालें। परमेश्‍वरसित नजिक हुनुको साटो पादरीहरूको खुलेआम अनैतिकता अनि भ्रष्टता देखेर म स्तब्ध भएँ। मैले आदर गरेको एक जना आर्किमान्ड्रिटले मसित अनैतिक सम्बन्ध राख्ने प्रयास गर्दा मलाई तिनीप्रति घृणा जागेर आयो। यस्ता निराशाहरूको बावजुद परमेश्‍वरको सेवा गर्ने र पादरी बन्‍ने मेरो निष्कपट चाहना थियो। सम्झनाको लागि भनेर मैले पादरीको पोसाक लगाएर एउटा फोटो पनि खिचें। अन्ततः म क्रेट फर्कें।

“उ त शैतान हो!”

सन्‌ १९४२ मा मैले एक सम्मानित परिवारकी फ्रोसीनी नाउँ गरेकी सुन्दरी केटीसित विवाह गरें। मेरो ससुराली खलक साह्रै धार्मिक प्रवृत्ति भएका हुनाले पादरी बन्‍ने मेरो निर्णयलाई विवाहले थप बल दियो।b म एथेन्सको एउटा धर्मपीठमा अध्ययन गर्न जान कटिबद्ध थिएँ। सन्‌ १९४३ को अन्ततिर म एथेन्स नगईकन क्रेटस्थित इराकलियोन बन्दरगाहमा उत्रें। म एथेन्स नजानुको कारण यसबीचमा मैले आध्यात्मिक स्फूर्तिको एउटा बेग्लै स्रोत भेट्टाएकोले पनि हुन सक्छ। आखिर, खास कुरा के हो त?

यहोवाका साक्षीहरूसित सरसंगत गर्ने एक जना जाँगरिलो युवा प्रचारक, इमान्वेल लिओनाडाकिसक केही वर्षदेखि सारा क्रेटमा प्रबुद्ध बाइबल सत्य सिकाइरहेका थिए।c साक्षीहरूले परमेश्‍वरको वचन स्पष्टसित बुझाइदिएपछि केही मानिसहरू बाइबल सत्यतर्फ आकर्षित भए र झूटो धर्म त्यागे। नजिकैको एउटा शहर सिटिआमा साक्षीहरूको एउटा उत्साही समूह गठन गरियो। यो देखेर स्थानीय बिशप खुसी थिएनन्‌ र तिनी संयुक्‍त राज्य अमेरिकामा बसिसकेका हुनाले प्रचारकहरूको रूपमा यहोवाका साक्षीहरू कत्तिको प्रभावकारी हुन सक्छन्‌ भन्‍ने कुरा तिनलाई राम्ररी थाह थियो। आफ्नो इलाकामा यस्तो “धर्मविरोधी काम”-को नामोनिसान मेटाउन तिनी कटिबद्ध थिए। तिनले उक्साएकै कारण प्रहरीले साक्षीहरूलाई बारम्बार घिसार्दै जेलमा लैजान्थे र विभिन्‍न झूटो अभियोगमा अदालतसमक्ष खडा गर्थे।

यिनै साक्षीहरूमध्ये एक जनाले मलाई बाइबल सत्य बुझाउने कोसिस गरे तर तिनले म जिज्ञासु नभएको अड्‌कल काटे। त्यसैकारण, तिनले मसित कुरा गर्न एक जना अझ अनुभवी सेवकलाई पठाए। मेरो रूखो प्रतिक्रिया देखेर दोस्रो साक्षी आफ्नो सानो समूहमा फर्केर यस्तो रिपोर्ट दिए: “पेरिक्लिज कुनै पनि हालतमा साक्षी बन्‍न सक्दैन। ऊ त शैतान हो!”

विरोधको पहिलो अनुभव

परमेश्‍वरले मलाई त्यस्तो दृष्टिकोणले नहेर्नुभएकोमा म खुसी छु। फेब्रुअरी १९४५ मा मेरो भाइ डेमोसथेनस, जो यहोवाका साक्षीहरूले सत्य सिकाउँछन्‌ भन्‍ने कुरामा विश्‍वस्त थिए तिनले मलाई कम्फर्ट अल द्यात माउर्नd शीर्षकको पुस्तिका दिए। यसका विषयवस्तुहरूबाट म प्रभावित भएँ। हामीले तुरुन्तै अर्थोडक्स चर्च जान बन्द गऱ्‍यौं र सिटिआको सानो समूहमा जान थाल्यौं अनि हामीले भेट्टाएको नयाँ विश्‍वासबारे आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि बतायौं। तिनीहरू सबैले बाइबल सत्य स्वीकारे। आशा गरेअनुरूप झूटो धर्म छोड्‌ने मेरो निर्णयले गर्दा म आफ्नी पत्नी र तिनका परिवारबाट तिरस्कृत हुनुका साथै मैले विरोध खप्नुपऱ्‍यो। केही समय त मेरो ससुरा मसित बोल्नुसमेत भएन। घर खिचलो र सधैं तनावले भरिएको हुन्थ्यो। यसको बावजुद, मे २१, १९४५ मा भाइ मिनोस कोक्किनाकिसले डेमोसथेनस र मलाई बप्तिस्मा दिनुभयो।e

अन्ततः मैले आफ्नो सपना साकार पार्न सकें र परमेश्‍वरको साँचो सेवकको रूपमा सेवा गरें! घर-घरको सेवकाईमा भाग लिएको पहिलो दिन मलाई अझै सम्झना छ। झोलामा ३५ वटा पुस्तिका लिएर म एक्लै बस चढेर एउटा गाँउतर्फ लागें। डराइ-डराइ घर-घर जान सुरु गरें। जति टाढा गएँ उति अझ साहसी भएँ। एक जना क्रोधित पादरीले उसँग प्रहरी चौकी जान ढिपी कस्दा मैले उनलाई पूरै गाउँमा प्रचार गरेपछि मात्र त्यहाँबाट जाने कुरा बताएँ र मैले त्यसै गरें पनि। म यति खुसी थिएँ कि बस नपर्खी म १५ किलोमिटर हिंडेरै घर फर्कें।

निष्ठुर गिरोहहरूको हातमा

सेप्टेम्बर १९४५ मा सिटिआमा भर्खरै स्थापना भएको मण्डलीमा मलाई थप जिम्मेवारी दिइयो। त्यसको लगत्तै ग्रीसमा गृह युद्ध मच्चियो। एकअर्काप्रति तीव्र घृणा लिएर पृथकतावादी समूह हिंसामा उत्रिए। यस परिस्थितिको फाइदा उठाउँदै बिशपले स्थानीय छापामार समूहलाई जसरी भए पनि साक्षीहरूको नामोनिसान मेटाउन आग्रह गरे। (यूहन्‍ना १६:२) छापामार समूह बस चढेर हाम्रो गाउँमा आउँदै गर्दा एउटी मित्रैलो युवतीले “परमेश्‍वरले दिनुभएको” कार्य पूरा गर्ने तिनीहरूको योजनाबारे सुने र तिनले हामीलाई सावधान गराए। हामी लुक्यौं र हाम्रा एक जना नातेदारले हामीलाई मदत गरे। हाम्रो ज्यान जोगियो।

यस घटनापछि धेरै दुःखहरू सहनुपऱ्‍यो। पिटाइ र धम्की हाम्रो दिनचर्याको भाग हुन थाल्यो। विरोधीहरूले हामीलाई चर्चमा लैजान, हाम्रा छोराछारीलाई बप्तिस्मा दिन अनि क्रसको चिह्न बनाउन जबरजस्ती गर्न थाले। एक चोटि तिनीहरूले मेरो भाइलाई यति साह्रो पिटे कि मऱ्‍यो भन्ठानेपछि मात्र तिनलाई छोडे। मेरा दुई जना बहिनीहरूलाई लुगा च्यातेर पिटेको हेर्दा मलाई ठूलो चोट पुग्यो। त्यसबेला चर्चले यहोवाका साक्षीहरूको आठ जना बच्चाहरूलाई जबरजस्ती बप्तिस्मा दिएर नाउँ दिए।

सन्‌ १९४९ मा मेरी आमाको निधन भयो। अन्त्येष्टिको अनुमतिको लागि कानुनी आवश्‍यकताहरू पूरा नगरेको आरोप लगाउँदै पादरीहरूले हाम्रो पिछा छोडेन। मलाई अदालतमा खडा गरियो अनि निर्दोष ठहऱ्‍याइयो। यसले एकदमै राम्रो साक्षी दियो किनभने मुद्दाको सुरुमै यहोवाको नाउँ सुनियो। अब हाम्रा शत्रुहरूको लागि “हाम्रो होस खुलाउने” एउटै मात्र तरिका बाँकी रहेको थियो अर्थात्‌ हामीलाई पक्रेर निर्वासनमा पठाउने। अप्रिल १९४९ मा तिनीहरूले यसो गरे।

दन्केको आगोको भट्टीमा

पक्राउ परेका तीन जना साक्षीहरूमध्ये म पनि एक थिएँ। मेरी पत्नी मलाई स्थानीय प्रहरी चौकीमा भेट्‌नसमेत आइनन्‌। हामीलाई पहिले इराकलियोन जेलमा लगियो। सुरुमा बताएझैं म एक्लो र उदास थिएँ। मैले बेग्लै विश्‍वास भएकी पत्नी र दुई जना नाबालक छोराछोरीलाई छोड्‌नुपरेको थियो। मदतको लागि मैले यहोवालाई खुरन्धार प्रार्थना गरें। हिब्रू १३:५ मा लिपिबद्ध परमेश्‍वरका वचनका शब्दहरू मेरो मनमा आयो: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” यहोवामाथि पूर्ण भरोसा राख्नुको महत्त्व मैले बुझें।—हितोपदेश ३:५.

हामीलाई ग्रीसस्थित आटिकाको सीमानामा रहेको उजाड भूमि, माक्रोनिससमा निर्वासनको लागि लगिने कुरा हामीले थाह पायौं। माक्रोनिससको नाउँ लिंदा मात्र पनि सबै डराउँथे किनभने त्यहाँको काराबासमा यातना दिइनुका साथै कठोरतासाथ काममा घोटाउने कुरा सबैलाई थाह थियो। जेलमा लगिंदै गर्दा हामी पिरायसमा रोकियौं। हाम्रो हातमा हतकडी भए तापनि केही सँगी विश्‍वासीहरू डुंगामा आएर हामीलाई अँगालो हाल्दा हामी प्रोत्साहित भयौं।—प्रेरित २८:१४, १५.

माक्रोनिससमा जीवन एकदमै भयावह थियो। सैनिकहरूले बिहानदेखि रातीसम्म कैदीहरूलाई सास्ती दिन्थे। धेरै गैर-साक्षी कैदीहरूले आफ्नो मानसिक सन्तुलन गुमाए, कतिपय मरे र धेरै जनालाई अंगभंग पारियो। राती हामीले यातना दिइएका व्यक्‍तिहरूको चिच्च्याहट र क्रन्दन सुन्थ्यौं। चिसा रातहरूमा मेरो पातलो कम्बलले अलिकता मात्र न्यानो दिन्थ्यो।

बिस्तारै शिविरमा यहोवाका साक्षीहरूलाई धेरैले चिन्‍न थाले किनभने हरेक बिहान हाजिरी लिंदा यही नाउँले उनीहरूलाई बोलाइन्थ्यो। यसप्रकार, हामीले साक्षी दिने थुप्रै अवसरहरू पायौं। मैले यहोवालाई आफ्नो जीवन समर्पण गर्ने हदसम्म प्रगति गरेका एक जना राजनैतिक बन्दीलाई बप्तिस्मा दिने सुअवसरसमेत पाएँ।

निर्वासनमा छँदा मैले मेरी प्यारी पत्नीबाट एउटै जवाफ नपाए तापनि तिनलाई चिठी लेखिरहें। तिनले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि तिनलाई कोमलतासाथ सान्त्वना दिएर, अहिलेको दुःखदायी परिस्थिति केही समयको लागि मात्र हो र हामी फेरि सुखी रहनेछौं भन्‍ने आश्‍वासन दिएर चिठी लेखिरहें।

यसबीचमा शिविरमा हाम्रो संख्या बढ्‌दै गयो। कार्यालयमा काम गर्ने क्रममा शिविरका सेना प्रमुखसित मेरो चिनजान बढ्‌दै गयो। तिनले साक्षीहरूलाई आदर गर्ने हुनाले एथेन्सस्थित हाम्रो कार्यालयबाट बाइबल साहित्यहरू प्राप्त गर्न सकिन्छ कि भनेर मैले तिनलाई साहस जुटाएर सोधें। तिनले भने, “यो असम्भव छ तर एथेन्सबाट तपाईंहरूका मानिसहरूले पठाउने साहित्यका पोकाहरूमा मेरो नाउँ लेखेर पठाए कसो होला?” यो सुनेर म तीन छक परें! केही दिनपछि हामी डुंगाका मालसामानहरू उतार्दै थियौं, एक जना प्रहरीले सेना प्रमुखलाई सलाम ठोकेर यसो भने: “सर, तपाईंको माल आइपुग्यो।” “कस्तो माल?” तिनले सोधे। त्यतिबेला म पनि त्यही छेउछाउमा भएको कारण तिनीहरूको कुरा सुने र मैले सेना प्रमुखलाई खुसुक्क यसो भने: “तपाईंले भन्‍नुभएअनुसार तपाईंको नाउँमा पठाइएको यो हाम्रो माल होला।” हामीलाई आध्यात्मिक रूपमा खुवाउनको लागि यहोवाले मिलाउनुभएको यो एउटा प्रबन्ध थियो।

आशै नगरेको एउटा आशिष्‌—त्यसपछि अझ धेरै कष्ट

सन्‌ १९५० को अन्ततिर मलाई मुक्‍त गरियो। म बिमारीले गर्दा कमजोर, पिलन्धरे, र मरन्च्याँसे भएर घर फर्कें र घरमा मलाई स्वागत गर्ने हो कि होइन त्यो मलाई थाह थिएन। मेरी पत्नी र छोराछोरीलाई फेरि देख्न पाउँदा म साह्रै खुसी भएँ! त्योभन्दा पनि खुसीको कुरा त फोरसिनीको मप्रतिको वैमनस्यता कम भएको पाउँदा म छक्क परें। मैले जेलमा छँदा पठाएका पत्रहरू प्रभावकारी साबित भयो। मेरो सहनशीलता अनि दृढताले फोरसिनीको मन छोयो। अनि केही समयपछि मैले तिनीसित लामो अनि शान्तपूर्वक छलफल गरें। तिनले बाइबल अध्ययन स्वीकारिन्‌ अनि यहोवा र उहाँका प्रतिज्ञाहरूमा विश्‍वास खेती गरिन्‌। मेरो जीवनका सबैभन्दा खुसीका दिनहरूमध्ये एक, सन्‌ १९५२ मा मैले तिनलाई यहोवाको समर्पित सेवकको हैसियतमा बप्तिस्मा दिएको दिन थियो!

सन्‌ १९५५ मा सबै पादरीहरूलाई क्रिश्‍चियनडम अर क्रिश्च्यानिटी—ह्वीच वान इज “द लाइट अफ द वर्ल्ड” शीर्षकको पुस्तिकाको एक-एक प्रति दिने अभियान सुरु गऱ्‍यौं। म अनि धेरै सँगी साक्षीहरू पक्राउ पऱ्‍यौं र हामीमाथि मुद्दा लगाइयो। यहोवाका साक्षीहरू विरुद्ध धेरै मुद्दा भएकोले ती सबैको फैसला सुनाउन अदालतले विशेष पेसी राख्नुपऱ्‍यो। त्यो दिन प्रान्तका सबै न्याय अधिकारीहरू उपस्थित थिए र इजलास पादरीहरूले भरिएको थियो। अदालत पस्ने बाटोमा हडबडाएर बिशप यताउता हिंडिरहेका थिए। एक जना पादरीले तिनलाई धर्म परिवर्तन गराउन प्रयास गरेको अभियोगमा मेरो विरुद्ध मुद्दा दायर गरेका थिए। न्यायाधीशले त्यस पादरीलाई यस्तो प्रश्‍न गरे: “एउटा पुस्तिका पढेको भरमा तपाईं आफ्नो धर्म परिवर्तन गर्न सक्नुहुन्छ, के तपाईंको विश्‍वास यति कमजोर छ?” यस प्रश्‍नले पादरी नाजवाफ भए। मलाई निर्दोष ठहराइयो तर केही भाइहरूलाई छ महिनाको जेल सजाय दिइयो।

त्यसपछिका वर्षहरूमा हामीलाई धेरै पटक पक्राउ गरियो र अदालतका मुद्दाहरू बढ्‌दै गए। मुद्दाहरू सम्हाल्ने क्रममा साक्षीहरूको प्रतिनिधित्व गर्ने वकिलहरू धेरै व्यस्त भए। मलाई जम्मा १७ पटक अदालतसामु खडा गरियो। विरोधको बावजुद हामी प्रचार गतिविधिमा नियमित रूपमा जान्थ्यौं। हामीले खुसीसाथ यो चुनौती स्वीकाऱ्‍यौं र अग्निमय परीक्षाहरूले हाम्रो विश्‍वासलाई खाऱ्‍यो।—याकूब १:२, ३.

नयाँ सुअवसर तथा चुनौतीहरू

सन्‌ १९५७ मा हामी एथेन्समा बसाइँ सऱ्‍यौं। छिट्टै मलाई भर्खरै स्थापना भएको मण्डलीमा सेवा गर्न नियुक्‍त गरियो। मेरी पत्नीको तनमनको समर्थनले गर्दा हामीले आफ्नो जीवन सरल बनाउन सक्यौं र आध्यात्मिक गतिविधिहरूलाई प्राथमिकता दियौं। यसरी हामीले आफ्नो अधिकांश समय प्रचार कार्यमा बिताउन सक्यौं। वर्षौंको दौडान हामीलाई आवश्‍यकता बढी भएका विभिन्‍न मण्डलीहरूमा बसाइँ सर्न आग्रह गरियो।

सन्‌ १९६३ मा मेरो छोरा २१ वर्ष पुग्यो र तिनी अनिवार्य सैनिक सेवाको लागि भर्ती हुनुपर्थ्यो। तटस्थताको कारण सैनिक सेवामा भर्ती हुनुपर्ने सबै साक्षीहरूले पिटाइ, गिल्ला अनि अपमान सहनुपर्थ्यो। मेरो छोराले पनि यी सबै भोगे। त्यसैकारण, पहिले निष्ठा कायम राख्नेहरूको उदाहरण अनुकरण गर्न लाक्षणिक तवरमा प्रोत्साहन दिनको लागि मैले तिनलाई माक्रोनिससमा आफूले ओढेको कम्बल दिएँ। सेनामा भर्ना हुन आदेश दिइएका भाइहरूको फैसला सैनिक अदालतले सुनाउँथ्यो र तिनीहरूले प्रायः दुईदेखि चार वर्षसम्म जेल सजाय पाउँथे। छुट्‌ने बेला तिनीहरूलाई फेरि सेनामा भर्ना हुन आदेश दिइन्थ्यो र फेरि सजाय सुनाइन्थ्यो। धार्मिक सेवक भएको कारण मैले विभिन्‍न जेलहरूको भ्रमण गर्न सक्थें र जेलमा रहेका मेरो छोरालगायत अन्य साक्षीहरूसित केही समय भेट्‌न पाउँथें। मेरो छोरालाई छ वर्षभन्दा धेरै समय जेलमा राखियो।

यहोवाले हामीलाई थाम्नुभयो

ग्रीसमा धार्मिक स्वतन्त्रताको पुर्नबहाली भएपछि मैले रोड्‌स टापुमा केही समयको लागि विशेष अग्रगामीको हैसियतमा सेवा गर्ने सुअवसर पाएँ। त्यसपछि मैले आफ्नो मसीही जीवन सुरु गरेको क्रेटको सिटिआमा सन्‌ १९८६ मा आवश्‍यकता खट्‌कियो। युवावस्थादेखि नै चिनेका प्रिय सँगी विश्‍वासीहरूसित फेरि सेवा गर्न पाउने यो कार्यभार स्वीकार्न पाउँदा म औधी खुसी थिएँ।

परिवारको सबैभन्दा जेठो व्यक्‍तिको हैसियतमा, वफादारीपूर्वक यहोवालाई सेवा गरिरहेका झन्डै ७० जना आफन्तहरू देख्न पाउँदा म खुसी छु। अनि यो संख्या बढ्‌दै छ। कसै-कसैले प्राचीन, सेवकाई सेवक, बेथेलाइट अनि परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गरेका छन्‌। अन्ठाउन्‍न वर्षभन्दा धेरै समय मेरो विश्‍वास दन्केको अगोको भट्टीरूपी कष्टहरूमा जाँचिए। अहिले म ९३ वर्षको भएँ अनि विगतलाई फर्केर हेर्दा परमेश्‍वरको सेवा गरेकोमा मलाई कुनै पछुतो छैन। उहाँको यस मायालु निमन्त्रणा स्वीकार्न उहाँले मलाई बल दिनुभएको छ: “हे मेरो छोरो, मेरा कुरा ध्यानसित सुन्‌, र मेरो उपदेश मन दिएर ग्रहण गर्‌।”—हितोपदेश २३:२६.

[फुटनोटहरू]

a प्रहरीधरहरा, डिसेम्बर १, १९९९, पृष्ठ ३०-१ हेर्नुहोस्‌।

b ग्रीक अर्थोडक्स चर्चका पादरीहरूलाई विवाह गर्ने अनुमति छ।

c इमान्वेल लिओनाडाकिसको जीवनीको लागि प्रहरीधरहरा, सेप्टेम्बर १, १९९९, पृष्ठ २५-९ हेर्नुहोस्‌।

d यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर हाल छापिंदैन।

e मिनोस कोक्किनाकिस मुछिएको एउटा कानुनी विजयको लागि द वाचटावर, सेप्टेम्बर १, १९९३, पृष्ठ २७-३१ हेर्नुहोस्‌।

[पृष्ठ २७-मा भएको पेटी]

माक्रोनिसस एउटा भयावह टापु

सुक्खा अनि उजाड टापु माक्रोनिससमा दश वर्षभन्दा धेरै समय अर्थात्‌ सन्‌ १९४७ देखि १९५७ सम्म १,००,००० भन्दा धेरै कैदीहरू राखियो। ती कैदीहरूमध्ये धेरैजसो मसीही तटस्थताको कारण कैद सजाय पाएका विश्‍वासी साक्षीहरू थिए। तिनीहरूलाई देश निकाला गराउनुमा मुख्य हात प्रायः ग्रीक अर्थोडक्स पादरीहरूको हुन्थ्यो, जसले साक्षीहरूलाई कम्युनिष्ट भएको झूटा अभियोग लगाए।

माक्रोनिससमा “सुधार[को]” लागि गरिने कार्यहरूबारे ग्रीक इन्साइक्लोपीडिया पापिरोस लारुस ब्रिटानिका यसो भन्छ: “त्यस टापुमा दिइने क्रुर यातना, . . . त्यहाँको जीउने तरिका र कैदीहरूप्रति सुरक्षाकर्मीहरूको तुच्छ व्यवहार एउटा सभ्य राष्ट्रको लागि स्वीकार्य छैन र यी ग्रीक इतिहासकै लज्जास्पद कुराहरू हुन्‌।”

केही साक्षीहरूलाई तिनीहरूले आफ्नो धार्मिक विश्‍वास नत्यागेको खण्डमा कहिल्यै मुक्‍त गरिनेछैन भनियो। तथापि, साक्षीहरूको निष्ठा ढलपल भएन। बरु, साक्षीहरूसितको सम्पर्कले गर्दा केही राजनैतिक बन्दीहरूले बाइबल सच्चाइलाई अँगाल्न पुगे।

[पृष्ठ २७-मा भएको चित्र]

दण्ड दिइने टापु माक्रोनिससमा मिनोस कोक्किनाकिस (दायाँबाट तेस्रो) र म (बायाँबाट चौथो)

[पृष्ठ २९-मा भएको चित्र]

मैले युवावस्थामा सेवा गरेको ठाउँ क्रेटको सिटिआमा एक जना सँगी साक्षीसित काम गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने