यहोवा मेरो चटान हुनुभएको छ
इमान्वेल लिओनाडाकिसको वृत्तान्तमा आधारित
मेरी आमाले मलाई रिसले चूर हुँदै भन्नुभयो: “यदि तिमी आफ्नै निर्णयमा अडिग रहन्छौ भने यो घरमा बस्न पाउनेछैनौ।” मैले परमेश्वरको राज्यको पूर्ण-समय प्रचार गर्ने निर्णय गरिसकेको थिएँ। तथापि, पटक पटकको मेरो गिरफ्तारीले उहाँहरूको अपमान भएको मेरो परिवारलाई असह्य भइसकेको थियो।
मेरो आमाबुबा नम्र र ईश्वरभक्त हुनुहुन्थ्यो। उहाँहरू क्रेटको ग्रीस टापुको पश्चिमतिर पर्ने दुलियाना गाउँमा बस्नुहुन्थ्यो। मेरो जन्म पनि त्यहीं १९०८ मा भयो। मेरो बाल्यावस्थादेखि नै उहाँहरूले मलाई परमेश्वरको डर राख्न र सम्मान गर्न सिकाउनुभएको थियो। मैले आफ्ना शिक्षकहरू वा ग्रीक अर्थोडक्स पादरीहरूको हातमा बाइबल कहिल्यै नदेखे तापनि मलाई परमेश्वरको वचनचाहिं मनपर्थ्यो।
समयको दौडान, मेरो छिमेकीले सी. टी. रसलद्वारा लिखित धर्मशास्त्रको अध्ययन-का छवटै खण्डहरू र परमेश्वरको वीणा नामक पुस्तक पढे र मलाई थाहै नभएका कुराहरू धर्मशास्त्रबाट जोसका साथ सुनाए। यी पुस्तकहरू त्यतिखेर बाइबल स्टुडेन्ट्स भनेर चिनिने यहोवाका साक्षीहरूले प्रकाशित गरेका थिए। एथेन्समा भएको वाच टावर सोसाइटीको कार्यालयबाट बाइबल तथा थुप्रै पुस्तकहरू पाउँदा खुसी भएँ। म छिमेकीसित राति अबेरसम्म बसेको क्षण अझसम्म बिर्सेको छैन। त्यस्तो राति अन्धकारमा हामी मैनबत्तीको प्रकाशमा ती प्रकाशनहरूको सहायताबाट धर्मशास्त्रको गहन अध्ययन गर्नुको साथै परमेश्वरलाई प्रार्थना गर्थ्यौं।
भर्खरै पाएको बाइबलको ज्ञान अरूलाई बाँड्न सुरु गर्दा म २० वर्षको थिएँ र गाउँ नजिकै पाठशालाको शिक्षक थिएँ। केही समय नबित्दै हामी चार जनाले दुलियानामा बाइबल अध्ययन गर्न नियमित सभाहरूको आयोजना गर्नथाल्यौं। मानवजातिको एउटै आशा परमेश्वरको राज्यबारे मानिसहरूलाई बुझ्ने मदत दिन पर्चा, पुस्तिका, पुस्तक र बाइबलहरू पनि वितरण गऱ्यौं।
सन् १९३१ मा विश्वभरि हजारौंले बाइबलमा आधारित यहोवाको साक्षी भन्ने नाम पाए, त्यसमध्ये हामी पनि थियौं। (यशैया ४३:१०) त्यसपछिको वर्षको दौडान अख्तियारवालाहरूलाई हाम्रो नयाँ नाउँ र यसको महत्त्वबारे बताउन हामीले प्रचार-प्रसारको काममा भाग लियौं। यसै सिलसिलामा हाम्रो इलाकाका पादरी, न्यायाधीश, प्रहरी हाकिम तथा व्यापारीहरूलाई विषयवस्तुसित सुहाउँदो पुस्तिकाहरू वितरण गऱ्यौं।
हामीलाई सताउन पादरीले मानिसहरूलाई उस्काए, यस्तो होला भन्ने आशा गरेकै थियौं। मलाई पहिलो चोटि गिरफ्तार गर्दा २० दिन थुनामा राखे। जेलबाट छुटकारा पाएको धेरै समय नबित्दै फेरि मलाई गिरफ्तार गरिहाले र एक महिनासम्म थुनामा राखे। जब न्यायाधीशले हामीलाई प्रचार बन्द गर भनी आदेश दिए तब मैले प्रेरित ५:२९ मा उल्लिखित यस्तो जवाफ दिएँ: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” पछि सन् १९३२ मा वाच टावर सोसाइटीको प्रतिनिधिले दुलियानामा भएको हाम्रो सानो समूहलाई भेट्न आउँदा हामी चारै जनाले बप्तिस्मा लियौं।
आध्यात्मिक परिवार पाउँदा
प्रचारको काममा अझ धेरै भाग लिने विचारले मैले शिक्षण पेसाबाट अवकाश लिएँ। मेरी आमालाई यो असह्य भयो। उहाँले मलाई घर छोडिहाल भन्नुभयो। एथेन्सको वाच टावर सोसाइटीको शाखा कार्यालयबाट अनुमति पाएर क्रेटको इराक्लियन शहरमा जाँदा एक मसीही भाइले मलाई उनको घरमा खुसीसाथ स्वागत गरे। यसैले अगस्त, १९३३ मा मेरा गाउँका भाइहरू साथै सत्यप्रति चासो देखाउने अरू व्यक्तिहरू मलाई बिदावारी गर्न बस बिसौनीमा आए। यो क्षण औधी हृदयविधारक थियो किनभने हामी अब एकअर्कालाई कहिले भेट्ने हो केही थाह थिएन। यसैले हामीहरू सबै जना धुरुधुरु रोयौं।
मैले इराक्लियनमा एउटा मायालु आध्यात्मिक परिवार पाएँ। म र अरू तीन जना भाइहरू र एक जना बहिनी मिलेर नियमित तवरमा अध्ययन र उपासना गर्थ्यौं। मैले येशूको यो प्रतिज्ञा पूर्ति भएको आफ्नै आँखाले देख्न सकें, “जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दिदी-बहिनी, कि आमा कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड्छ, त्यसले सय गुणा बढता घरहरू, दाज्यू-भाइहरू, र दिदी-बहिनीहरू र आमाहरू अहिले यही समयमा पाउनेछ।” (मर्कूस १०:२९, ३०) मलाई यही शहर र नजिकको गाउँहरूमा प्रचार गर्न खटाइएको थियो। यस शहरमा प्रचारको कार्य पूरा गरेपछि म इराक्लियन र लेसिथियनको प्रशासकिय इलाकाहरूमा गएँ।
एक्लैले अग्रगामी गर्दा
म एकदेखि अर्को गाउँ पुग्न घण्टौं लामो बाटो लखरलखर हिंडेर जान्थें। त्यसबाहेक, साहित्यहरू ठीक ठीक समयमा आइ नपुग्ने हुँदा पुस्तक पुस्तिकाहरूको गह्रौं भारी बोकेर हिड्नु पर्थ्यो। मेरो सुत्ने ठाउँको पनि प्रबन्ध थिएन, म त्यही गाउँको एउटा चिया पसलमा जान्थें र त्यहाँको अन्तिम ग्राहक गइसकेपछि म सोफामा सुत्थें अनि बिहान त्यहाँको मालिकले काम थाल्न अघि नै उठेर गइहाल्थें। त्यो सोफामा उपियाँचाहिं स्याउँ स्याउँती हुन्थ्यो।
मेरो कुराप्रति मानिसहरूले चासो नै नदेखाए तापनि मेरो जवानीको जोस यहोवाको सेवामा चलाउन पाएकोमा खुसी थिएँ। बाइबल सच्चाइप्रति जिज्ञासु व्यक्तिहरू भेटाउँदा यो जीवन बचाउने सेवकाईमा लागिरहन झन् बढी कटिबद्ध हुन सकें। मेरो आध्यात्मिक भाइहरूको संगति पनि स्फूर्तिदायी थियो। मैले प्रचार गर्ने इलाका इराक्लियन शहरभन्दा निकै टाढा टाढा पनि हुन्थ्यो त्यसैकारण म उनीहरूलाई कहिलेकाहीं २० त कहिलेकाहीं ५० दिनपछि मात्र भेट्थें।
उता इराक्लियनमा भएका मेरा मसीही भाइ-बहिनीहरू भने सभाको निम्ति भेला भएको र आफूचाहिं यता एक्लै भएको साँझ कहिल्यै बिर्सिन्न। उनीहरूसँग भेट्ने मेरो तीव्र इच्छाले गर्दा २५ किलोमिटरभन्दा टाढो बाटो हिंड्न पनि पछि परिनँ। यतिबेला जत्तिको छिटो म पहिले कहिल्यै हिंडेको थिइनँ। त्यस साँझ आफ्ना भाइहरूसँग रमाइलो भेटघाट गर्न पाउँदा निकै सान्त्वना पाएँ। यतिखेर ममा आध्यात्मिकता फेरि भरिएजस्तो लाग्यो।
परिश्रमको फल चाख्न धेरै कुर्नु परेन। प्रेरितहरूको समयमा जस्तै ‘उद्धार पाउनेहरूलाई यहोवाले हामीहरूमा बढ्ती गराउनुभयो।’ (प्रेरित २:४७) क्रेटमा यहोवाका उपासकहरूको वृद्धि हुन थाल्यो। सेवकाईमा अरूले पनि साथ दिन थालेपछि फेरि एक्लो महसुस गरिनँ। हामीले शारीरिक कठिनाइ र अचाक्ली विरोधहरू सह्यौं। हाम्रो दैनिक भोजन पाउरोटी र त्यससँग खान अण्डा, जैतुन तथा तरकारीहरू हुन्थ्यो, जुन हामीले प्रचार गरेका मानिसहरूले हाम्रो साहित्यहरूको बदला दिन्थे।
क्रेटको दक्षिणपूर्वीय भेकमा अवस्थित इरापेट्राको शहरमा मिनोस कोकिनाकिस अर्थात् एक कपडा व्यापारीलाई साक्षी दिएँ। तिनीसँग बाइबल अध्ययन सुरु गर्ने लाख प्रयास गर्दा पनि तिनले फुर्सतै निकाल्न सकेनन्। तर पछि तिनले आफ्नो अध्ययनमा साँचो चासो देखाउन थालेपछि तिनले जीवनमा आमूल परिवर्तन गरे। तिनी पनि सुसमाचारको औधी नै जोसिलो र सक्रिय प्रचारक भए। कोकिनाकिसको जीवनमा यस्तो परिवर्तन आएको देखेर तिनको पसलमा काम गर्ने १८ वर्षीय इमान्वेल पाटरकिस साह्रै प्रभावित भए। त्यसपछि उनले पनि बाइबल साहित्यहरू मागे। उनले आध्यात्मिक प्रगति गर्दै गए र आखिरमा उनी मिसनरी भएको देख्न पाउँदा म अत्यन्तै खुसी भएँ!a
त्यसबेला मेरो गाउँको मण्डलीमा पनि वृद्धि भएर १४ जना प्रकाशकहरू भइसकेका थिए। म मेरी साक्खै बहिनी देस्पिनाले पठाएको पत्रमा ऊ स्वयम् र मेरा आमाबुबासमेत सच्चाइलाई अँगालेर यहोवाका बप्तिस्मा प्राप्त उपासकहरू भइसकेका छन् भन्ने खबर पढ्न पाएको दिन कहिल्यै बिर्सन्न!
सतावट र निर्वासनमा धीरज धर्दै
ग्रीक अर्थोडक्स चर्चले हाम्रो प्रचार कार्यलाई विध्वंसकारी सलहको विपत्तिकै रूपमा हेर्न थाले अनि हामीलाई खतम पार्ने हर प्रयास गरे। मार्च, १९३८ मा मलाई सरकारी वकिलको अगाडि हाजिर गराइयो, तिनले मलाई यो ठाउँ तुरुन्तै छोडेर जाने आदेश दिए। मैले तिनलाई हाम्रो प्रचार कार्यले कसैलाई हानि गर्दैन र यो सर्वोच्च अख्तियारवाला हाम्रा राजा येशू ख्रीष्टको आज्ञा हो भनेर जवाफ दिएँ।—मत्ती २८:१९, २०; प्रेरित १:८.
त्यसको भोलिपल्ट मलाई स्थानीय प्रहरी थानाबाट बोलाइयो। मलाई तिमी त्यहाँका मानिसहरूको निम्ति खतरा भएको छौ भनेर सुनाए अनि मलाई अमरगोसको एजियन टापुमा एक वर्ष निर्वासनमा राखियो। केही दिनपछि मलाई हतकडी लगाएर जहाजबाट त्यस टापुमा लगे। अमरगोसमा यहोवाका साक्षीहरूको नाम निसानै थिएन। त्यसको छ महिनापश्चात् त्यहाँ अर्को एक जना साक्षीलाई निर्वासित गरिएको कुरा सुन्दा म कत्ति छक्क परें होला कल्पना गर्नुहोस् त! उनी को होलान्? उनी त म क्रेटमा हुँदाको मेरो बाइबल विद्यार्थी, मिनोस कोकिनाकिस पो रहेछन्। म यस्तो आध्यात्मिक साथी भेट्टाउँदा असाध्यै खुसी भएँ। केही समयपश्चात् मैले उनलाई अमरगोसमा पानीको बप्तिस्मा दिने सुअवसर पाएँ।b
क्रेटमा फर्केको केही दिन नबित्दै फेरि मलाई गिरफ्तार गरियो। यतिखेरचाहिं मलाई त्यस टापुको सानो शहर नेपोलिसमा छ महिनाको लागि निर्वासित गरियो। छ महिनाको मेरो निर्वासनको अन्त भएपश्चात् फेरि मलाई गिरफ्तार गरियो। दस दिन थुनामा राखेपछि निर्वासित साम्यवादीहरूको निम्ति छुट्ट्याएर राखेको टापुमा चार महिनाको लागि पठाइयो। मैले प्रेरित पावलले भनेका यी शब्दहरू कति साँचो रहेछन् भनेर बुझें: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।”—२ तिमोथी ३:१२.
विरोधको बावजूद वृद्धि
सन् १९४०-४४ का वर्षहरूको दौडान ग्रीसमा जर्मनको शासन हुँदा हाम्रो प्रचार कार्य लगभग ठप्प भएको थियो। तरैपनि ग्रीसमा भएका यहोवाका साक्षीहरू पुनःसंगठित भए र हामीले हाम्रो प्रचार कार्यको नयाँ थालनी गऱ्यौं। प्रचार कार्य बन्द हुँदाको समयको क्षतिपूर्ति गर्न हामीले राज्यको काममा सक्रिय र जोसका साथ भाग लियौं।
फेरि पनि धर्म विरोध अचानक चर्क्यो र यस्तो होला भनेर हामीले नसोचेको चाहिं होइन। धेरै चोटि, ग्रीक अर्थोडक्स पादरीहरूले कानुनको नाजायज फाइदा उठाउँथे। एउटा गाउँमा पादरीले हामीविरुद्ध भीडलाई उक्साए। पादरीले मलाई कुट्न थाले साथै छोराले पनि उनलाई साथ दिए। आफ्नो बचाउको निम्ति म नजिकैको घरमा भागें तर मसँगै प्रचार जाने मेरो साथीलाई भने घिसार्दै घिसार्दै गाउँको चोकमा पुऱ्याए। त्यहाँ ती हुल्याहाहरूले तिनका साहित्यहरू च्यातचुत पारिदिए। त्यसैखेर वरण्डाबाट एक जना आइमाईचाहिं “त्यसलाई मार, मार!” भन्दै चिच्याइरहेकी थिई। त्यही बाटो गइरहेका डाक्टर र प्रहरीहरूले धन्न, हामीलाई बचाए।
पछि सन् १९५२ मा मलाई फेरि गिरफ्तार गरियो र क्रेट, कास्तेली कीस्समोसमा चार महिना निर्वासनमा राखियो। त्यसको लगत्तै मैले मण्डलीहरूमा भ्रमण गरेर आध्यात्मिक बल दिने कार्यको लागि प्रशिक्षण पाएँ। यस्तो परिभ्रमणको काममा दुई वर्ष बिताएपछि मैले मेरै बहिनीको जस्तै नाउँ भएकी विश्वासी मसीही बहिनी देस्पिनासँग विवाह गरें। उनी यहोवाको निष्ठावान् उपासक थिइन्। हाम्रो विवाह पश्चात् मलाई क्रेटको हेना शहरमा विशेष अग्रगामीको रूपमा खटाइयो र अझसम्म पनि म यहीं नै सेवारत छु।
मेरो लगभग ७० वर्ष लामो पूर्ण-समय सेवकाईको दौडान मैले ८,३०० वर्ग किलोमिटर भूभाग र करिब २५० किलोमिटर लम्बाइ भएको क्रेट टापुको प्रायजसो सबै ठाँउमा प्रचार गरें। सन् १९३० मा यस टापुमा भएको मुठीभर साक्षीहरू वृद्धि भएर आज १,१०० भन्दा बढी परमेश्वरको राज्यको सक्रिय प्रचारकहरू भएको देख्न पाउनु मेरोनिम्ति सबैभन्दा ठूलो आनन्दको कुरा भएको छ। धेरैलाई बाइबलको सही ज्ञान र भविष्यको अद्भुत आशा बाँड्ने सुअवसर पाएकोमा म यहोवाप्रति कृतज्ञ छु।
“छुटकारा दिनुहुने” यहोवा
मानिसहरूलाई साँचो परमेश्वर चिन्न मदत दिन सहनशीलता र धीरज चाहिन्छ भनेर आफ्नै अनुभवबाट सिकेको छु। हामीलाई चाहिने यी गुणहरू यहोवाले प्रचुर मात्रामा दिनुहुन्छ। मेरो ६७ वर्षको पूर्ण-समय सेवकाईको दौडान मैले प्रेरित पावलका यी शब्दहरू बारम्बार सम्झिने गर्छु: “तर हरेक कुरामा हामी आफैलाई परमेश्वरका सेवकजस्तो देखाउँछौं, ज्यादै धीरजमा, सङ्कटमा दरिद्रतामा, दुःखमा, कोर्राबाजीमा, कैदमा, हुल-दङ्गामा, परिश्रममा, जाग्राममा, उपवासमा।” (२ कोरिन्थी ६:४, ५) विशेष गरी मैले भर्खर भर्खर सेवकाई सुरु गर्दा मेरो आर्थिक अवस्था एकदमै कमजोर थियो। तर यहोवाले म र मेरो परिवारलाई कहिल्यै त्याग्नुभएन। उहाँ सधैंभरि मेरो महान सहायक हुनुभएको छ। (हिब्रू १३:५, ६) उहाँले सधैं आफ्ना भेडाहरू जम्मा गर्न र हाम्रो आवश्यकता पूरा गर्न मायालु साथ दिइरहनुभएको महसुस गऱ्यौं।
जब मैले पछाडि फर्कि हेरें तब आध्यात्मिक रूपमा मरुभूमि हराभरा भएको देखें। मेरो काम व्यर्थै गएन भनेर विश्वस्त छु। मैले मेरो जवानीको जोसको पूर्ण सदुपयोग गरें। अन्य पेसाहरू भन्दा मेरो पूर्ण-समय सेवा निकै अर्थपूर्ण भएको छ। अब म मेरो बुढेसकालमा जवानहरूलाई ‘युवावस्थामा आफ्नो सृष्टिकर्त्ताको सम्झना गर’ भनी भित्री हृदयबाटै प्रोत्साहन दिन्छु।—उपदेशक १२:१.
म अहिले ९१ वर्ष पुगिसकें तर अझ पनि हरेक महिना १२० घण्टाभन्दा बढी प्रचारको काममा बिताइरहेको छु। म हरेक बिहान ७:३० बजे उठ्छु। त्यसपछि मानिसहरूलाई सडक, पसल तथा पार्कहरूमा साक्षी दिने गर्छु। हरेक महिना करिब १५० वटा पत्रिका वितरण गर्छु। अबचाहिं सुन्ने र स्मरण शक्ति कम हुँदै गएकोले कठिनाइहरू सामना गर्नु परेको छ। तर मेरा दुई छोरीहरूको परिवार र मायालु आध्यात्मिक भाइबहिनीहरू अर्थात् ठूलो आध्यात्मिक परिवार मेरोनिम्ति सहारा भएका छन्।
सबैभन्दा मुख्य कुरा त, मैले यहोवामा भरोसा राख्न सिकेको छु। उहाँ सधैं “मेरो चटान, मेरो गढी र मलाई छुटकारा दिने” स्रोत हुनुभएको छ।—भजनसंग्रह १८:२.
[फुटनोटहरू]
a इमान्वेल पाटरकिसको जीवनी, नोभेम्बर १, १९९६ को प्रहरीधरहरा, पृष्ठ २२-७ मा हेर्नुहोस्।
b मिनोस कोकिनाकिसको जीवनसँग मुछिएको कानुनी विजयी, सेप्टेम्बर १, १९९३ को प्रहरीधरहरा, पृष्ठ २७-३१ हेर्नुहोस्। जनवरी १९९९ मा मिनोस कोकिनाकिसको मृत्यु भयो।
[पृष्ठ २६, २७-मा भएका चित्रहरू]
तल: मेरी पत्नीसँग; बाँया: १९२७ मा; अर्को पृष्ठमा: सन् १९३९ मा निर्वासनबाट फर्किनेबित्तिकै एक्रोपलिमा मिनोस कोकिनाकिससित (बाँया) र अर्को साक्षी