प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ४/१ पृ. ३०-३२
  • एक्लो आमा वा बुबाप्रति विचारशील हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक्लो आमा वा बुबाप्रति विचारशील हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विचारशील हुनुपर्ने कारणहरू
  • तिनीहरूको आवश्‍यकता बुझ्नुहोस्‌
  • परमेश्‍वरको त्रुटिरहित उदाहरण पछ्याउनुहोस्‌
  • तपाईंले देखाउनुभएको विचारशीलताको कदर गरिनेछ
  • आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!
    पारिवारिक आनन्दको रहस्य
  • “टुहुराहरूलाई” मायालु चासो देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • परिवारको हेरविचार गर्ने दायित्व वहन गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको मण्डलीमा अरूको स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ४/१ पृ. ३०-३२

एक्लो आमा वा बुबाप्रति विचारशील हुनुहोस्‌

एक्लो आमा वा बुबा जत्तिको कमै मानिस मात्र खट्‌नुपर्छ होला। तिनीहरूले असङ्‌ख्य चुनौतीहरूको सामना गर्नुपर्छ। परिवारको लालनपालनका थुप्रै जिम्मेवारी तिनीहरूले बहन गर्नुपर्छ। जागिरको अलावा तिनीहरूले किनमेल गर्ने, खाना पकाउने, सरसफाइ गर्ने, छोराछोरी हुर्काउने काम गर्नुपर्ने हुन्छ। त्यसमाथि छोराछोरीको स्वास्थ्य सेवा तथा मनोरञ्जनमा ध्यान दिनुका साथै तिनीहरूलाई भावनात्मक रूपमा समर्थन पनि दिनुपर्ने हुन्छ। अनि यी सबै काम भ्याएर समय बच्यो भने आफ्नो लागि दुई-चार मिनेट निकाल्ने त छँदैछ।

एक्लो आमा वा बुबा मात्र भएका परिवारहरू आज समाजमा बढ्‌दो भए तापनि तिनीहरूको सजिलै बेवास्ता हुन सक्छ। एक जना आमाले इमानदारी साथ यो कुरा मानिलिइन्‌, “म आफै एक्ली आमा नभएसम्म मलाई तिनीहरूको खासै वास्तै हुँदैनथ्यो।” एक्लो आमा वा बुबाप्रति तपाईं कसरी विचारशील हुन सक्नुहुन्छ? के तपाईंले तिनीहरूको चिन्ता गर्नुपर्छ? तिनीहरूको आवश्‍यकताप्रति ध्यान दिनुपर्ने तीन वटा कारण हामी विचार गरौं।

विचारशील हुनुपर्ने कारणहरू

थुप्रै एक्लो आमा वा बुबाले मदतको आस गर्छन्‌। दुई छोराछोरीकी ४१ वर्षीया विधवा आमा भन्छिन्‌, “कहिलेकाहीं के गर्ने, कसो गर्ने थाह पाउँदिनँ। तीन थुप्रो जिम्मेवारीहरूको बोझले दबिएको महसुस गर्छु।” विधवा वा विधुर हुँदा, त्यागिंदा वा अन्य प्रतिकूल परिस्थितिमा पर्दा थुप्रै एक्लो आमा वा बुबाले अर्को एउटी आमाले जस्तै महसुस गरेका छन्‌, जसले यसो भनिन्‌: “हामी गुहार मागिरहेका छौं र हामीलाई त्यो तुरुन्तै चाहिएको छ!”

तपाईं आफैलाई पनि आनन्दित हुन मदत गर्छ। के तपाईंले कहिल्यै कसैलाई एक्लैले बोक्न एकदमै गाह्रो हुने भारी बोक्न मदत गर्नुभएको छ? गर्नुभएको छ भने, ती व्यक्‍तिलाई व्यावहारिक तरिकामा मदत दिन सकेकोमा तपाईं सायद सन्तुष्ट हुनुभयो होला। त्यसैगरि भन्‍ने हो भने, एक्लो आमा वा बुबाले पनि त्यस्तै गह्रौं भारी बोक्छन्‌ र यो कहिलेकाहीं एक्लैले बोक्न एकदमै गाह्रो हुन सक्छ। तिनीहरू खाँचोमा परेको बेला मदतको हात बढाउँदा तपाईंले भजन ४१:१ मा उल्लिखित शब्दहरूको सत्यता अनुभव गर्नुहुनेछ: “त्यो धन्यको हो, जसले निर्धाहरूको चिन्ता गर्दछ।”

परमेश्‍वर खुसी हुनुहुनेछ। याकूब १:२७ यसो भन्छ: “हाम्रा परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु।” यसमा एक्लो आमा वा बुबाको हेरविचार गर्नु समावेश छ।a हिब्रू १३:१६ यसो भन्छ: “भलाइ गर्न अनि अरूसित बाँडचुँड गर्न नबिर्स, किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।”

एक्लो आमा वा बुबाप्रति विचारशील हुनुपर्ने यी तीन वटा कारणहरू मनमा राख्दै, अब हामी तिनीहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ र तपाईंले दिने मदत व्यावहारिक खालको हुनेछ भनेर कसरी सुनिश्‍चित गर्न सक्नुहुन्छ भनेर विचार गरौं।

तिनीहरूको आवश्‍यकता बुझ्नुहोस्‌

एक्लो आमा वा बुबालाई “म तपाईंलाई के मदत गर्न सक्छु?” भनेर सोध्नु नै सजिलो तरिका जस्तो देखिन सक्छ। तर व्यावहारिक भएर हेर्दा, यसरी सोध्दा आफ्ना आवश्‍यकताहरू के हुन्‌ भनेर कमैले मात्र बताउने गर्छन्‌। सुरुमा उल्लेख गरिएझैं भजन ४१:१ ले हामीलाई तिनीहरूको ‘चिन्ता गर्न’ अर्थात्‌ तिनीहरूप्रति विचारशील हुन प्रोत्साहित गर्छ। एउटा सन्दर्भ पुस्तकले बताएअनुसार यो हिब्रू पदावलीको अर्थ “विभिन्‍न तरिकामा सोचेर बुद्धिमानी निर्णय गर्नु” भन्‍ने हुन सक्छ।

त्यसैले मदत गर्ने सबैभन्दा उत्तम तरिका पत्ता लगाउन एक्लो आमा वा बुबाले सामना गरिरहेका चुनौतीहरूबारे तपाईंले गम्भीरता साथ सोच्नुपर्छ। अवस्थालाई सतहबाट मात्र हेर्ने नगरी गहिरिएर नियाल्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘म त्यो अवस्थामा भएको भए कस्तो मदत चाहन्थें?’ तर एक्लो आमा वा बुबाले कत्तिको चुनौतीपूर्ण अवस्था सामना गर्नुपर्छ, तपाईंले जत्ति नै कोसिस गरे तापनि आफै त्यस्तो अवस्थामा नपरेसम्म पूर्णतया बुझ्न सक्नुहुन्‍न भनेर थुप्रै एक्लो आमा वा बुबाले तपाईंलाई भन्‍नेछन्‌। तैपनि, तिनीहरूको अवस्थाप्रति समानुभूतिशील हुन सक्दो गर्दा, तिनीहरूको ‘चिन्ता गर्न’ अर्थात्‌ तिनीहरूप्रति विचारशील हुन तपाईंलाई अझ सजिलो हुनेछ।

परमेश्‍वरको त्रुटिरहित उदाहरण पछ्याउनुहोस्‌

मायालुपूर्वक र प्रभावकारी ढङ्‌गमा एक्लो आमा वा बुबाको हेरविचार गर्ने सन्दर्भमा यहोवा परमेश्‍वरको बराबरीमा कोही आउन सक्दैन। यहोवा परमेश्‍वरले विधवा र टुहुराटुहुरी, भन्‍ने हो भने, एक्लो आमाबाबुप्रति देखाउनुभएको चिन्ता र विचारशीलताका थुप्रै उदाहरणहरू बाइबलमा उल्लेख गरिएको छ। परमेश्‍वरले कसरी निर्धाहरूको हेरविचार गर्नुहुन्छ भनेर जाँच्दा तिनीहरूलाई साँच्चै फाइदा हुनेगरि व्यावहारिक तरिकामा मदत दिनेबारे धेरै कुरा सिक्न सक्छौं। हामीले विचार गर्न सक्ने चार मुख्य बुँदा छन्‌।

तिनीहरूको कुरा सुन्‍नुहोस्‌

प्राचीन इस्राएललाई दिनुभएको व्यवस्थामा निमुखाहरूले पुकार्दा “निश्‍चय तिनीहरूको पुकारा सुन्‍नेछु,” भनेर यहोवाले घोषणा गर्नुभयो। (प्रस्थान २२:२२, २३) तपाईं यो असल उदाहरण कसरी पछ्याउन सक्नुहुन्छ? कुराकानी गर्न अरू कोही वयस्क व्यक्‍ति नहुने भएकोले एक्लो आमा वा बुबाले अक्सर असाध्यै एक्लो महसुस गर्छन्‌। एउटी एक्ली आमाले यसरी बिलौना गरिन्‌: “बच्चाहरू सुत्न गएपछि कहिलेकाहीं म आँसु थाम्नै सक्दिनँ। समय-समयमा मलाई यो एक्लोपन असह्‍य लाग्छ।” मिल्छ भने, आफ्ना भावनाहरू कसलाई पोखाऊँ भइरहेका एक्लो आमा वा बुबाहरूको ‘पुकारा सुन्‍न’ तपाईंले आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ कि? उपयुक्‍त अवसरमा तिनीहरूको कुरा सुनिदिंदा एक्लो आमा वा बुबा हुँदाका चुनौतीहरू सामना गरिरहेकाहरूले ठूलो मदत पाउन सक्छन्‌।

प्रोत्साहन दिनुहोस्‌

उपासनाको समयमा इस्राएलीहरूले स्तुतिगान गाऊन्‌ भनेर यहोवाले पवित्र गीत वा भजन लेख्न प्रेरित गर्नुभयो। इस्राएलमा भएका विधवा र टुहुराटुहुरीहरूले यहोवा तिनीहरूका “बाबु” र “न्यायकर्त्ता” हुनुहुन्छ र उहाँले तिनीहरूलाई सम्हाल्नुहुन्छ भनी सम्झना दिलाउने ईश्‍वरप्रेरित भजनहरू गाउँदा कत्ति प्रोत्साहन पाए होलान्‌, कल्पना गर्नुहोस्‌। (भजन ६८:५; १४६:९) एक्लो आमाबाबुहरूले वर्षौंसम्म सम्झिरहने खालका प्रोत्साहन हामी पनि दिन सक्छौं। रूथ नाम गरेकी एउटी एक्ली आमालाई एक जना अनुभवी बुबाले २० वर्षअघि भनेका यी शब्दहरूको अझै पनि मीठो सम्झना छ: “दुई छोराहरू हुर्काउन तपाईंले असाध्यै राम्रो काम गरिरहनुभएको छ। अझै यसो गर्दै जानुहोस्‌।” रूथ भन्छिन्‌: “उहाँबाट सुनेका ती शब्दहरूले मलाई साँच्चै असर गऱ्‍यो।” साँच्चै, “दयालु वचन ओखती” हो र यसबाट एक्लो आमा वा बुबाले हामीले आसै नगरेको तरिकामा प्रोत्साहन पाउन सक्छन्‌। (हितोपदेश १५:४; कन्टेम्पररी इंग्लिश भर्सन) एक्लो आमा वा बुबालाई दिन सक्ने त्यस्तो कुनै खास निष्कपट प्रोत्साहन के तपाईं सम्झन सक्नुहुन्छ?

आवश्‍यक पर्दा भौतिक सहयोग दिनुहोस्‌

यहोवाले प्राचीन इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा विधवा र टुहुराटुहुरीहरूको मर्यादामा आँच नआउनेगरि तिनीहरूलाई आवश्‍यक पर्ने खानाको प्रबन्ध मिलाउनुभएको थियो। यो प्रबन्धको कारण यी निर्धाहरूले ‘तृप्त होउन्जेल खान’ पाउँथे। (व्यवस्था २४:१९-२१; २६:१२, १३) हामीले पनि विवेक चलाएर अनि एक्लो आमा वा बाबु मात्र भएको परिवारको मर्यादाको ख्याल राख्दै तिनीहरूलाई भौतिक सहयोग दिन सक्छौं। केही खानेकुरा वा दिनदिनै चाहिने चीजहरू किनेर तिनीहरूको घरमै पुऱ्‍याइदिन सक्नुहुन्छ कि? एक्लो आमा वा बुबा वा तिनीहरूका छोराछोरीले लगाउन सक्ने लत्ताकपडा तपाईंसित छ कि? वा तिनीहरूले आफ्नो परिवारलाई चाहिने कुनै कुरा किन्‍न सकून्‌ भनेर तपाईंले केही आर्थिक सहयोग दिन सक्नुहुन्छ कि?

सरसंगति गर्ने प्रबन्ध मिलाउनुहोस्‌

इस्राएलीहरूले वर्षेनी मनाउने चाडमा विधवा र टुहुराटुहुरीहरूलाई पनि समावेश गर्न यहोवाले आज्ञा दिनुभयो। त्यहाँ तिनीहरूले सँगी इस्राएलीहरूसितको संगतिबाट आनन्द उठाउन सक्थे। वास्तवमा तिनीहरूलाई यस्तो भनिएको थियो: “आनन्द मनाउनू।” (व्यवस्था १६:१०-१५) त्यसैगरि आज पनि ख्रीष्टियनहरूलाई “एक-अर्काको अतिथि-सत्कार” गर्न सल्लाह दिइएको छ र यसरी तिनीहरूले आनन्ददायी संगति गर्ने अवसर पाउँछन्‌। (१ पत्रुस ४:९) त्यसैले, एक्लो आमा वा बुबा मात्र भएको परिवारलाई खानाको लागि तपाईंको घरमा बोलाए कसो होला? चौरासी व्यञ्जन हुनुपर्छ भन्‍ने छैन। आफ्ना साथीहरूको घरमा संगतिको आनन्द उठाउँदा येशूले भन्‍नुभयो, “धेरै कुरा चाहिंदैन, एउटा मात्रै भए पनि पुग्छ।”—लूका १०:४२.

तपाईंले देखाउनुभएको विचारशीलताको कदर गरिनेछ

तीन छोराछोरी हुर्काएकी क्याथलिन नाम गरेकी एउटी एक्ली आमा आफूले यो उपदेश कहिल्यै नबिर्सिने कुरा बताउँछिन्‌: “कुनै कुराको आशा नगर्नू तर सबै कुराको मोल गर्नू।” क्याथलिनले जस्तै अन्य थुप्रै एक्लो आमाबाबुहरूले छोराछोरी हुर्काउने जिम्मेवारी आफ्नै हो भनेर मानिलिन्छन्‌। त्यसैले आफूले बहन गर्नुपर्ने जिम्मेवारीहरू अरूले पूरा गरिदेऊन्‌ भन्‍ने आशा तिनीहरू गर्दैनन्‌। तर अरूबाट कुनै मदत पाउँदा तिनीहरूले पक्कै पनि त्यसको कदर गर्छन्‌ भन्‍ने कुरामा कुनै दुई मत छैन। यहोवाले “भरिपूर्ण प्रतिफल दिनुहुन्छ” भन्‍ने कुरामा निर्धक्क हुँदै एक्लो आमा वा बुबाप्रति विचारशील हुँदा तपाईंले तिनीहरूको हितमा योगदान पुऱ्‍याउनुका साथै आफै पनि आनन्दित हुन सक्नुहुन्छ।—हितोपदेश १९:१७. (w10-E  12/01)

[फुटनोट]

a “एक्लो आमा वा बुबा” भन्‍ने अभिव्यक्‍ति बाइबलमा प्रयोग नगरिएको भए तापनि “विधवा” र “टुहुरा-टुहुरी” भन्‍ने पदावली बारम्बार प्रयोग गरिएको छ। यसबाट देखिन्छ, बाइबल समयमा पनि एक्लो आमाबुबाहरू थिए।—यशैया १:१७.

[पृष्ठ ३२-मा भएको चित्र]

आमा वा बुबा मात्र भएको परिवारलाई तपाईंले खाना खान बोलाउनुभएको कति भयो? अब छिट्टै फेरि बोलाए कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने